काठमाण्डु एक्लैले अब काठमाण्डु बोक्न सक्दैन
काठमाण्डु एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन
काठमाण्डु भित्रभित्रै गुम्सिसकेको छ
मञ्जुश्रीको अर्को तरवारको विकास खोजिरहेछ ऊ,
युगका गह्रौ पाइलाहरू अब धेरै बोक्न सक्दैन
यसैले बग्ने निकास खोजिरहेछ उ ।।
जागिरे कामका सिलसिलामा जब काठमाडौं खाल्डो पुगेका थिए, कृष्णभुषण बलको यो कविता त्यसबेलाको मातृभुमि साप्ताहिकले छापेको थियो । 'हरिहर दाहाल सम्पादक थिए, उनले सम्झे 'छापेकै दिन अञ्चलाधीशले बयानका लागि बोलाएछन् । त्यो बेलाको व्यवस्थाको अलिकति पनि विरोधका गन्ध आउने केही लेख्न छाप्न पाइन्नथ्यो ।' उनलाई मिति झट्ट याद भएन । भन्छन् '३२/३३ सालतिरको घटना थियो, म त्यसैबेला विराटनगरतिर आएकाले बयान दिन जान परेन ।'

आगामी शुक्रवार हुने उनको कवितावाचन कार्यक्रम विराटनगर गुरूकुलको यस्तो पहिलो कार्यक्रम हो, जसमा दर्शकले टिकट काटेर एकल कविता सुन्नेछन् । मुलुकले चिनेका कवि बललाई विराटनगरले अझ नजिकबाट चिनेको छ । सरल व्यक्तित्वका धनी कवि सजिला मानिन्छन् । निम्त्याएका कार्यक्रममा उनी उपस्थित हुन गाह्रो मान्दैनन् । पूर्वाञ्चलको अग्रणी साहित्यिक प्रकाशन संस्था वाणी प्रकाशनका उनी अध्यक्ष हुन् ।
प्रकाशित पुस्तकको सूची लामो नभएपनि उनका काव्यचेतलाई नेपाली साहित्यमा विशिष्ट मानिन्छ । तीन पुस्तकपछि उनका फुटकर रचना प्रकाशित छन् । प्रकाशोन्मुख कृति उनले कहिले सार्वजनिक गर्ने भन्ने टुंगो छैन ।
पत्रकार सम्मेलनमा संयोजक खेम नेपालीले भनेका थिए 'हाम्रो आग्रहलाई विशिष्ट कविले सहर्ष स्वीकार गर्नुभयो, त्यसैले उत्साहित भएर तयारीमा जुटेका छौ ।' हाटखोलास्थित २२० सीट क्षमताको नाटकघरमा हालसम्म नाटकबाहेक साहित्यिक कार्यक्रम, कलाप्रदर्शनी र कला कार्यशालाहुँदै आएका छन् । 'सशुल्क कविता काठमाडौंबाहिर हामीलाई नौलो लाग्ने कुरा हो, नाटकघर कार्यसमिति अध्यक्ष भैरव क्षेत्रीले भने 'तर, भुषण दाइको कार्यक्रमका लागि बाहिर जिल्लाबाट धमाधम टिकट बुक भइरहेको छ । अब त भुइमा बस्न व्यस्था मिलाएर पनि दर्शक अटाउने तयारी छ ।' यही मेलोमा आयोजकले १५ जनाले कवि बलका विषयमा भनेका कुरा संक्षिप्तमा छाप्दै सानो लेखोट पनि प्रकाशनमा ल्याएको छ ।
स्रष्टा कृष्ण धरावासी लेख्छन् - तीसको दसकका समकालीन कविहरूभन्दा अलग्गै रूपमा बललाई उनका कविताले उभ्याउछन् । उनका कवितामा प्रयोग भएका वाक्य संयोजन, बिम्ब, प्रतीक आदि समेतबाट उनी अलग्गै देखिन्छन् । निरंकुशताप्रतिको विद्रोह र स्वतन्त्रताको चेतना उनका कविताको मुल स्वर हो ।
युवा कवि सुमन पोखरेलले लेखेका छन् - बल भट्ट हेर्दा ल्याङस्टन ह्युज र मार्टिन लुथर किङका साझा भतिज लाग्दछन्, तर यिनी हाम्रै इलामबाट अमिलो, धमिलो बग्दै आएर विराटनगरमा थिग्रिइ जगतभर चम्किएका मोती हुन् । यिनले वाचन गर्दा चैतको हुरी पनि यिनको कविता सुनेर मात्र दौडिने निधो गरी मन्द-मन्द बहन थालेझै अनुभूत हुन्छ मलाइ ।
गुरूकुललेे जारी गरेको लेखोटमा कृष्णभुषणलाई प्राडा गोविन्दराज भट्टराइ, प्राडा टंक न्यौपाने, अनिरूद्र तिम्सिना, डा. तुलसी भट्टराइ, विष्णुविभु घिमिरे, कुमारप्रसाद कोइराला, कृष्णचन्द्रसिंह प्रधान, डा. तारानाथ शर्मा, दधिराज सुवेदी, विवश पोखरेल र ज्योति जंगललगायतले आ-आफ्नै पारामा अर्थ्याएका छन् ।
दाज्यु तिमो हात चाहिन्छ (खण्डकाव्य), भोली वस्ने विहान र द फुल मुन एट रिभर ब्याङ आदि बलका प्रकाशित कृति हुन् ।
तीन दसकको जागिरे जीवनमा शासन व्यवस्थाका कारण स्रष्टाले धेरै उतारचढाव भोगेका बताउने बल भन्छन् 'लेख्दा धेरैपटक समस्या आइरहे । कवितावाचन गरेकै भोलीपल्टै नक्सलाइडको आरोप लगाएर विराटनगरबाट काठमाडौ तानेर दुःख दिएका दिन पनि भोगियो ।' युवा सर्जकहरूलाई हौसला दिने क्रममा आयोजना गर्न लागिएको सशुल्क कविता कार्यक्रमप्रति उनी उत्साहित छन् । भन्छन् 'पहिले कविता लेखेर तुरून्तै सुनाउन मिल्ने मञ्च निकै थोरै हुन्थे ।'
update :
वरिष्ठ कवि कृष्णभूषण बलको २०६९ असार ११ गते सोमबार साँझ सवा ७ बजे निधन भएको छ । ब्रेन ह्याम्रेजको एट्याक आएपछि चार दिनअघि उहालाई विराटनगरको न्यूरो अस्पताल भर्ना गरिएको थियो । शव विराटनगर-१३ स्थित घर लगिएको छ । मंगलवार दुइ घण्टा विराटनगरको हाटखोला गुरुकुलमा अन्तिम श्रद्धान्जलिपछि परोपकारघाटमा अन्तिम संस्कार गरिने कवि सुमन पोखरेलले बताउनुभयो । आत्माले चीर शान्ति पाओस् । परिवारमा धैर्य धारणको शक्ति मिलोस् ।