![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg69PbWTpqXvt9XVOwvo9I3vJYLbI1sTeEI-pyeODyJJo_-AeyQI6iPEw2PuyPui1rcri8PB3TdXwSzrIpOUPcY9kJEO3a6xdIaNyD5Uvdyo-xbuT1jC3rM0l5vLA6IJ7Ygs3QP_Bt53fM/s1600/IMG_3646_hugu+01.jpg)
भीरमौरी काढ्नेका कथा, वृत्तचित्र र तस्बिरहरूमा चर्चा पाएका मेजा गुरूङकी जीवनसंगिनी नै नौमाया हुन् । ३ छोरा, २ छोरीमध्ये चार वर्षदेखि जेठो छोरा प्रकाश फिरेर उनलाई सघाउन थालेका छन् । मेजा अब गोठमा त्यतिधेर बस्दैनन् । गोठमा भेटिने नौमाया र प्रकाश भनिने तुलबहादुर र सहयोगी माइला भनिने मानबहादुर तामाङलाई हो ।
सिक्लेसका ७५ वर्षीय भीमबहादुर गुरूङका अनुसार ४० वर्षअघि गुरूङ गाउँमा दुइ चलन थिए । 'सम्पन्नताको प्रतीक धेरै गोठ हुनु र सिकार गर्न सक्नु', उनले भने, 'म पनि पहिलेको सिकारी हो । अहिले संरक्षक भएको छु ।' त्यसो त सिक्लेस १ सय १५ किलोवाटको आफ्नै लघुजलविद्युत, सामुदायिक संरक्षणका कार्यक्रमले सधैं चर्चा पाउने गाउँ हो । यसपटक संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको ५ हजार डलरको इक्वेटर पुरस्कार जितेको गाउँ भएकाले यहाँ भीमबहादुरले भनेको जमानाका कुरा कथा भएका छन् । अब सिक्लेस सिकार गर्दैन । विस्तारै धेरै पशुपालन गर्ने चलन घट्दो छ । पालेका वस्तुभाउका लागि डालेघाँस लगाउन गाउँलेले सिकिसके । अब टाढा गोठ राखेर पशु पाल्ने चलन छैन बराबर भएको छ ।
हुगूमा रहेको एउटैमात्र गोठले अहिले पुरानो कथालाई थामेको छ । पशुपालनको यो संस्कार पनि आधुनिकतासँगै हराउने तरखरमा छ । आखिर कति दिनसम्म विकटमा स्थानीयले प्रकृतिसँगको कष्टकर काम गराइको दैनिकी गुजार्लान् ?
'घरघरै लाहुरे भए । कसले गर्ने गोठ र वस्तुभाउको काम ?' समुदाय संरक्षण समिति अध्यक्ष मनबहादुर गुरूङले भने, 'अहिले हाम्रो गोठको इतिहास बताउने हुगूको मेजाको गोठमात्रै हो ।' अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने हुगू चार खोलाका दुइ दोभानको छेउमा अवस्थित छ । हिमश्रृंखला भएर आउने खरिया, क्यातु, कफु र नौला खोलाका दोभानले हुगूमा पहाडबाट पानी खसेको आवाज गुञ्जायमान बनाउँछन् । यहाँ आइपुग्ने बाटामा धेरै ठाउँ पहिरो खसेको छ । खोलामा बहाव कम भएमात्रै मान्छे आउजाउ गर्न सानो फड्केले काम दिन्छ ।हुगु यस्तो पडाव हो जहाँ कफुचे हिमतालको यात्रा गर्नेहरू वास बस्छन् ।
स्याउ र नासपाति फल्ने यो ठाउँमा अब न पुराना गोठ छन्, न त पहिले जसरी खेती र घाँस दाउरा गर्न आउनेहरू नै हुन्छन् । मेजा पनि भीरमौरी काढ्ने बेलामा मात्रै आइपुग्छन् । उनका छोराहरू जेठा प्रकाश गोठ फर्केपनि माहिला आयरल्याण्ड र कान्छा हङकङ पुगेका छन् । मेजाको गोठ पनि वर्षमा चार ठाउँ सर्छ । हुगूको बसाइँ कात्तिकदेखि बैशाखसम्मको हो । 'जैविक विविधता अध्ययन र साहसिक पदयात्राका लागि यो ठाउँ उत्कृष्ट छ', मनबहादुरले भने, 'तर, दुःख सधैं बाटोकै छ ।'
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhw_7yLTcj-t9L2MmzUCyvI7SC-loS36A5qtJze33-Wvcv0MRkneZQiOd7D9TyQrqBontMYr4zXz_DPK9qdcuumJivXxsffbw2hs-QuXT0c5LEOtn3xwUIziENJniCYccwmnVDcpL-XHP8/s1600/15454695_hugoo.jpg)
(२८ चैत २०७१ को कान्तिपुर, पृष्ठ १४ मा प्रकाशित)
No comments:
Post a Comment