Thursday, January 28, 2010

प्रचण्डको पुत्लामा 'सु'

देखाउन नहुने अंग विरोधका नाउँमा कसैले प्रदर्शन गर्छ भने यसलाइ कुन स्तरको विरोध भन्ने । विराटनगरसँग सीमा जोडिएको भारतीय नाका जोगबनीमा गत मंगलवार माघ १२ मा यस्तो भयो । ब्लगमा लेख्न मन हुदा हुदै मैले समय जुटाउन सकिन । ढिलो भएपनि लेख्दैछु ।
प्रधान सेनापति कटवाल प्रकरणपछि सरकार छाडेको माओवादीको आन्दोलन अझै जारी छ । उ अहिले चौथो चरणको आन्दोलनमा छ । कोइराला नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको गठनपछि माओवादीको अहिलेको मुद्दा सीमा अतिक्रमणका विषयमा भारतसँग छलफल गर्नुपर्छ भन्नेमा केन्द्रित छ ।
छिमेकीहरु साँध मिचेर नाला राख्दैनन् । सधियारको जग्गा मिच्छन् । यो चलन नौलो छैन । भारतले लगातार सीमामा मिचेका समाचार नौला छैनन् । ठुलाले विभिन्न बहानामा आफुभन्दा साना आकार भएकालाइ प्रभाव र शक्तिको आडमा हेप्छ । भारतले गरेको पनि यही हो । यद्यपि नेपालका सीमानामा उ मात्र छैन उत्तरतर्फचीन पनि छ ।
भाषा-संस्कृति र आवागमनले हामी बढि भारतको नजिक छौ । भारतले नेपालमा विभिन्न परियोजनामा लगानी सहयोग गरेको छ । उसको आकार जस्तै आम्दानी छ । आकारमा नेपाल उसको विहार प्रान्त जत्रो पनि छैन । तर , छिमेक भएकाले उसले सम्मान गर्नुपर्छ भन्ने हाम्रो तर्क हो । सन् १९५० को सन्धी पुनरावलोकनको मुद्दा उठयो । थाँति रहयो । उही सन्धी खारेज हुनुपर्ने आवाज माओवादीले उठाएको छ ।
उसको आवाज नाजायज छैन । तर, राष्ट्रियताका सवालमा नेपालीका आवाज समान छैनन् । हामी मुद्दाहरुमा बाडिएका छौ । कलह छ । मुलुक परिवर्तनका लागि नयाँ संविधानको पर्खाइमा छ । अहिले माओवादीले सीमा अतिक्रमण देखाउन एउटा पोष्टर निकालेको छ । त्यसमा नेपाली नक्शाभित्र अतिक्रमणको विरोध भएको चित्र छ । सीमानालाई कालो बुटले कुल्चिएको छ । बुट भारतको हो भन्ने जनाउन सो पोष्टरमा बुटमाथि भारतीय झण्डा तिरंगाको निशान छ ।
त्यही पोष्टरलाइ आधार बनाइ भारतीइ हिन्दी अखवार आज र जागरणका स्थानीय संकरणहरुले भित्री पनामा चार कोलमको समाचार निकाले । समाचारमा माओवादीले भारतीय प्रतिकको अपमान गरेको छ भनिएको छ । त्यो समाचार पढेकाहरुलाइ राष्ट्रिय भावना उम्लियो । उनीहरु विरोधमा निस्किए ।
गत मंगलवार विहान ती पत्रिका बजारमा आएपछि जोगबनी नाकामा उनीहरुले दिनभर अवरोध गरे । प्रचण्डको पुतला बनाए । जुत्ता र झाडुले हिर्काए । अनि जलाए । पुत्ला जल्दै गर्दा केहीले त्यसमा 'सु' गरे । मुखमा आएजति र जानेजति, सकेजति फोहार गाली गरे । जीप रोकेर त्यसमाथि उभिएका प्रदर्शनकारीले माओवादी द्वन्द्वका समयमा नेपालीले पाएको दुख सम्झेर प्रचण्डलाइ सजाय दिन जोड दिए । अनि मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पठाए ।
बुधवार विरोध भएन । ती अखवारले अघिल्लो दिनको त्यो विरोधलाइ समाचारमा स्थान दिएनन् । समाजमा सदभाव विथोल्न ठूलो बहाना चाहिदैन । शायद यही बढावा दिन हुदैन भन्ने आशयले विरोधका ती समाचारले स्थान नपाएका होलान ।
नेपाली अखबार केहीले मुख र केहीले भित्र त्यो समाचार छापे ।
यो विरोधका सवालमा माओवादीको भनाइ सुन्न पाइएको छैन । उच्चस्तरका असहमतिको असर सीमामा देख्न पाइन्छ । नेताहरुले सदभावना विथोल्ने कामलाइ बढावा दिनु हुदैन । दुइ देशको सम्बन्ध उच्चस्तरमा जे होला ,
तर जनताबीचको
आवागमन र सम्भन्धमा त्यसले प्रत्यक्ष असर पार्छ । यसमा सबै सचेत भएकै बेस हुन्छ । सन्धी सम्झौता र अतिक्रमणका मुद्दा माओवादीको पेवा हुन सक्दैन । जायज कुरामा सबै दलको आवाज एउटै हुनुपर्छ । राष्ट्रिय मुद्दामा आवाज एक भएन भने त्यो हाम्रालागि हितकर हुनसक्दैन ।

Sunday, January 24, 2010

एक्लै हुनुहुन्छ - देखाइदिऊ ?

जीमेल भनिने गुगलको इ-मेलमा अन्य कामसँगै छेवैमा 'च्याट' को अप्सन हुन्छ । यदि जीमेलबाटै इ-मेल चलाउन सिकेर विद्युतीय पत्र आदानप्रदान गर्न अघि बढेकाहरू छन् भने ती भाग्यमानी हुन् । कारण, यिनीहरूले इ-मेल चलाउन सिक्दासिक्दै च्याट भनेको के हो भन्ने सजिलै थाहा पाउछन । अहिले याहूमा पनि जीमेलजस्तै च्याट आइकन साथमा छ । हामीले साथी बनाएकाहरू उही समय अनलाइन भए भने तुरून्त कुरा गर्न मिल्छ ।
पाच वर्ष अघिसम्म यसरी जीमेल, याहू र अहिले फेसबुक भन्ने साइटले दिएजस्तो च्याटको सजिलो अप्सन थिएन । हटमेलको आइडी बनाएकाहरूका लागि एमएसएनको म्यासेन्जर र याहूको युजर बनेकाहरूका लागि त्यसकै म्यासेन्जरमा पुगेर च्याट गर्नुपर्थ्यो । अहिले यी दुवै म्यासेन्जर धेरैका कम्प्युटरमा निकै कममात्र देख्न पाइन्छ । अहिले च्याट यति आधुनिक भएको छ कि हामी वेवक्याम अन गरेर अनुहार हेरेर मात्र टाइप गर्दै कुरा गर्नेमात्र होइन, स्पीकर अन गरी भ्वाइस च्याट नै गर्न सक्छौ ।
यी दुवै साइटमा मैले युजर बनाएको छु । यिनको उपयोग पहिले इ-मेलका लागि हुन्थ्यो , अहिले यदाकदा च्याटमा बस्न । फेसबुकको सञ्जाल जस्तै ट्याग्ड डटकम भन्ने साइटको लिंक कुनै मित्रले पठाउनु भयो । त्यहा मैले मेरो घरमा बोलाउने नामबाट युजर बनाएको छु । र, यो साइटमा मैले मेरो पेजभित्र पुग्न छुट्टै युजर र पार्सवर्ड टाइप गर्नुपर्दैन । कारण, हटमेलको इनबक्समा यो साइटले फेसबुकले पठाएजस्तै सूचना पठाइरहन्छ । जस्तै : आज तपाईंको व्यक्तिगत विवरण हेन भ्रमण गर्नेहरू फलाना-फलाना हुन्, के गर्नु हुन्छ - ' सन्देश पाएलगतै त्यसलाई एउटा क्लिक गर्दा त्यो फलानोको व्यक्तिगत विवरणमा पुग्न सकिन्छ ।
यो साइटमा आफूलाई उमेर, देश र रूची मिल्ने साथी छान्न र तिनलाई मित्रता तथा प्रेमको प्रस्ताव पठाउन मिल्छ । यसका उपयोगी पक्ष जति धेरै छन् , त्यति नै बिग्रिन चाहनेका लागि बाटोहरू पनि छन् । यसलाई राम्ररी चलाउन जान्नेहरूले आफ्नो व्यक्तिगत विवरणभित्र पस्न चाहनेलाई 'प्राइभेट' को संकेत देखाएर निराश पार्छन । नजान्नेहरूको पेज छ भने त्यहाँ सोझै पसेर के-के राखेको र कस्ता कुरा खोज्ने मान्छे हो भन्दै जानकारी लिन सकिन्छ ।
खोज्दै जाँदा यसमा काठमाडौंबाट राना थरमा एक युवतीको पेज भेटियो । यो नाम खोज्न राजधानीकै एक मित्रले मलाई मेल पठाएका थिए । उनको पेजमा भनिएको छ 'आफूले खिचेका यौनजन्य तस्वीर मलाइ पठाउनुस् । म संग्रह गरिरहेकी छु ।' सन्देश पढ्नेले उनको पेजलाई पूरा हेर्ने रहेछ । यहाँ त्यस्ता केही तस्वीरको संग्रह पनि देखियो । यद्यपि यो मेरो रूचिको विषय नभएपनि इ-गफका लागि रमाइलो प्रसङ्ग थियो । उनको पेजबारे मैले साथीहरूलाई सुनाएँ । फेरि र्सच गर्दा त्यो पेज कहिले भेटिन्छ, कहिले भेटिँदैन ।
ट्याग्डकै साइटभित्र मेरो सन्देश बक्समा एक युवतीको नामबाट मित्रताको प्रस्ताव आयो । पूरा विवरण पठाए उनलाई प्रेम गर्न जात, वर्ग, देश र उमेरले नछेक्ने भनाइ त्यसमा थियो । अन्त्यमा उनले भनेकी थिइन् 'म तपाईंसँग एमएसएनको लाइभ म्यासेन्जरमा भेट हुनेछु ।' इ-मेलमार्फ आउने यस्ता धेरै पत्र र प्रस्ताव जालसाजी पनि हुन्छन् । तैपनि उनले आफू भनेर पठाएको तस्वीरमा देखिएकी युवती निकै राम्री र मादक थिइन् । दुइ/चार दिन त्यसै बित्यो ।
फेरि प्रस्ताव र तस्वीर सम्झना भयो । छद्म नामको मेरो आइडीमा आएको प्रस्ताव । मैले ठाने -'मेरो पनि के जाला र †' उनलाई भेट्ने भनिएको ठाउँ हटमेलको म्यासेन्जर थियो । हतार-हतार साइटबाट अफिसको कम्प्युटरमा च्याटको त्यो सफ्टवेयरलाई हाल्न खोजें, प्रोग्राम डाउनलोड हुनै मानेन । त्यसो त सञ्चारगृहमा यस्ता च्याट टाउको दुखाई मानिन्छन् । त्यसमाथि केटीसँग गर्नुपर्ने च्याटका लागि आइटी हेर्ने साथीलाई 'लौ न बनाइदेउ' भन्न पनि मिलेन । उपाय सोच्दासोच्दै मलाई आफ्नै फुच्चे नोटबुकको सम्झना भयो । लाग्यो 'यसमा कसरी डाउनलोड नहोला -'
नोटबुकमा डिस्क ड्राइभ हुँदैन । त्यसैले मैले एउटा ट्रायल भर्सन बाहेक यसमा भाइरस रिमुभ गर्ने राम्रो प्रोग्राम हाल्न पाएको छैन । ट्रायल भर्सन सफ्टवेयरले काम गर्न छाडेको छ महिना पुगेको थियो । यस्ता प्रोग्राम नराखी इन्टरनेटबाट कुनै डाटा डाउनलोड गर्दा भाइरस आउने सम्भावना प्रबल रहन्छ । तर, च्याटको सुर थियो । फुच्चेमा लाइभ म्यासेन्जर डाउनलोड भयो ।
युजर र पार्सवर्ड थिचेर अनलाइन भएलगतै तिनै युवतीको मित्रताको प्रस्ताव त्यहाँ देखियो । हतपत उनलाई 'एलाउ' थिचेर साथी बन्ने अधिकार दिइयो । उनी अनलाइनमै थिइन् । कुराकानी सुरू भयो ।
उनी : हाय के छ ?
म : ठीक छ । तपाईंको के छ ?
उनी : के तपाइ एक्लै हो ?
म : हो ।
उनी : त्यसो भए वेवक्याम अन गर्नुस् ।
सम्वाद चल्दाचल्दै आफू बसेको कोठामा र्सरर हेरेँ । अलिक पर्तिर कान्तिपुरको पूर्वाञ्चल ब्यूरोका समाचार संयोजक माधव घिमिरे हुनुहुन्थ्यो । उहाँले तन्किएर हेरे पनि बुझिहाल्ने अवस्था थिएन । उहाँको टेबुल र मेरो फुच्चेको सानो स्क्रीनबीच दूरी फराकिलो थियो । संवाद बुभिँदैन होला भन्दै अलि ढुक्कजस्तो भयो । अनि कोही झवाट्ट पसेर नोटबुक हेरिदिए भने के भन्लान् भन्ने पनि भयो । तैपनि वार्तालाप अघि बढ्यो ।
म : किन नि ?
उनी : तपाईं के-के हेन चाहनुहुन्छ । त्यही देखाइदिन्छु ।
म : हो र !
उनी : हो । तर, एक्लै बस्नुस् है ।
लामो सोच्ने कुरा थिएन । वेवक्याम अन गरियो । मेरो चित्र उनले देखिन् । झुस्स दाह्री भएको, टोपी लगाएको जाडो ठाउँको मान्छेजस्तो । उनको तस्वीर .......। जीउमा कतै लुगा थिएन । प्रस्तावमा आएकी भन्दा पृथक स्वरूप त्यहाँ देखियो ।
अचानक कास्परस्कीको म्याद गुज्रिएको ट्रायल भर्सन एन्टी भाइरस प्रोग्राम सक्रिय भयो । सन्देश आयो 'यो सन्देशले तपाईंको कम्प्युटरमा खराबी आउनसक्छ ।' च्याटभन्दा प्यारो कम्युटर । हतार-हतार बन्द गरियो । अनि मैले फेसबुकको स्टाटसमा लेखे 'एमएसएनको च्याटमा अब बसिँदैन । देखाइदिउँ भनेपछि हुँदैन त टेन्सन ।'

Wednesday, January 20, 2010

सरस्वती पुजा


बिद्याकी देवीका कृपाले लेख्ने र पढने बानी सधै रहोस भन्नेहरुका लागि समर्पित आजको दिन । विद्यालय र बजार आज चहलपहल रहयो । विद्यार्थीहरु स्कुले पोशाक छाडेर थरी थरी पोशाकमा रमाएका देखिए ।
विराटनगरका विद्यालयहरुमा यो दिनका लागि दुइ खालको व्यवस्था छ । बिद्यालयमै सिमेन्टेड मुर्ति राखेर पुज्ने चलन र श्रीपञ्चमीका दिन माटोका मूर्ति ल्याएर पुजापछि सेलाउने । दुवै , जसो गरेपनि देवी सम्झनु हो । पुजा र पर्व मानिसका जीवनमा महत्व राख्ने रुटीनमा पर्छन । इश्वर सम्झने दिन भनिएपनि यसले पुराना थकान मेटेर पुनः काममा जुटने प्रेरणा दिन्छ । पर्वको महत्व पुनर्ताजगीका लागि हो । यस्तै होस ।
देउता सम्झेर मात्र विद्या बढने भन्ने होइन । यसका लागि हाम्रो लगन र परिश्रम पनि अनिवार्य रहन्छ । परिश्रम नै नगरी पुजाले मात्र मानिसलाइ विद्याको धनी बनाउने कल्पना पनि व्यर्थ छ । त्यसैले वर्षेनी आउने यो पर्वका बहानामा हामीमा पढने बानीको विकास भएमात्र मनाएको सार्थक हुन्छ ।

Sunday, January 17, 2010

चन्दा संस्कृति

अहिले चालकहरुले गर्ने गुनासो हो- सरस्वती पुजाको चन्दाले हैरान पार्‍यो । चन्दा माग्नु नौलो होइन । कारण, मुलुक नै चन्दाका भरमा चलेका बेला जे सुकैका लागि जनताले चन्दा माग गर्नु नौलो कसरी हुनसक्छ । यहाँ मैले नबुझेको कुरा हो, पुजाका लागि चन्दा माग गरिनु ।
हिन्दु धर्मावलम्वी । त्यसमाथि नेपाली । हामी सबैलाइ बन्धन मन पर्दैन । मन लागे मन्दिर जान्छौ । मन नलागे परैबाट एउटा हात उज्याएर देउतालाइ नमन गर्छौ । हामीले साता, महिना वा कुनै दिन मन्दिर जानैपर्छ भन्ने रुटीनभित्र छैन । त्यसैले मन्दिरहरु सञ्चालन गर्नेलाइ सजिलो असजिलो कस्तो होला त्यो हाम्रो सरोकारमा कमैमात्र पर्ने विषय भएको छ । हाम्रो बुझाइ उमेर ढल्केपछि धर्मकर्ममा लाग्ने भन्ने छ । सानोछँदा जानी नजानी इश्वर सम्झने बानी हुर्कदै गएपछि हटने रहेछ ।
म आफुलाइ हेर्छु । साह्रै साह्रै मन्दिर टेक्दिन । गइहाले पनि टीका यदाकदामात्र लगाउँछु । पुगेका दिन कहिले आज नुहाएको छैन किन भगवानको अपमान गर्नु भन्ने लाग्छ । अनि कहिले भगवान भनेको आत्मा हो । यसलाइ खुसी पारे देउता खुसी नहुने कुरै छैन भन्ने आफ्नै तर्कमा गर्व गर्छु । धेरैपटक मनले भनेको मान्छु । मन जेमा खुसी हुन्छ । त्यसलाइ ठीक हो भन्छु ।
अनि चन्दा दिने कुरामा पर सर्छु । आस्था भएपनि देखाउन हतार गर्दिन ।
तर, पुस अन्तिम सातादेखि सुनसरी-मोरङका ग्रामीण रुटहरुको यात्रामा मैले बाटोमा सवारी रोकेर चन्दा लिदै गरेका भुरा बग्रेल्ती देख्न पाएको छु । यसपटक सरस्वती पुजा माघ ६ गते बुधवार परेको छ । सरस्वतीलाइ हामी विद्याकी देवी मान्छौ । पुजा गर्नुपर्छ । गच्छे अनुसार गर्नुपर्छ । तर, चन्दा उठाउन बसेका कतिपय समूहको लवज, पोशाक र शैलीले उनीहरु विद्यार्थी भएको परिचय खुलेन । मलाइ पनि अचम्म लाग्यो । सवारी रोक्ने अनि जबरजस्ती गर्ने । सभ्यता सिक्नलाइ विद्यालय जाने हो । तर, शिक्षक पुजनीय हुने देशमा उनीहरु कुटिएका र कालोमोसोको सिकार नभएका पनि होइनन् । यसले नै हामी कस्तो शिक्षा लिइरहेका छौ भन्ने प्रश्न जागिरका लागि भ्याकेन्सी हेर्ने बेलामा बेरोजगारहरुले गरिरहेका भेटिन्छन् ।
चन्दा माग गर्ने अनौठो शैलीले त्यसै बढावा पाएको होइन । दल र तिनका भ्रातृ संगठनले सिकाएका छन । विद्यार्थी र युवालाइ चन्दाको माग यसरी गर्नुपर्छ भन्ने सिकाएका छन् । देशले विदेशसँग मागेको छ । नेता र तिनका अनुयायीले हुनेहरुसँग मागेका छन । अवस्था यस्तो आएको छ , रोकिएकाहरुले दिन्न भन्न पाउदैनन् । चन्दा भनेको इच्छाले दिने दान हो । तर, अब यसलाइ चन्दा उठाउनेले अधिकारका रुपमा प्रयोग गरेका छन् । भगवानले सद्धबुद्धि प्रदान गरुन ।

तस्बिरमा विराटनगर

'मलाइ विराटनगर बुझाउने फोटो चाहियो, मलाइ त्यो फोटो तुरुन्त उपलब्ध गराउनु पर्‍यो ।' २०६२ मंसिरमा हो सम्भवत, मलाइ बुद्ध एयरले आफ्ना यात्रुलाइ वितरण गर्नेगरि प्रकाशित गर्ने 'यात्रा' पत्रिकाका डिजाइनर साथीले फोन गरेको । त्यसबेला मैले उनीसँग एक हप्ताको समय मागेको थिए । अनि सोचें , विराटनगर बुझाउने तस्बिर के
हुन सक्ला ?
विराट दरवारको भग्नावशेष, ,रोडशेषको पञ्चायत रजत स्तम्भ, विराटनगर जुट मिल, रानी भंसार, बुधहाट चोकबाट देखिने विराटनगर बजार र यहाँ चल्ने बग्रेल्ती रिक्शा । अप्सन धेरै भए । तर, केहीमा पनि चित्त बुझेन ।

विराट दरवारको भग्नावशेष भनिने ठाउँमा तस्विरजन्य बुझाउने सामाग्री सहजै देखिने अवस्था थिएन । रातो माटोको ढिस्को देखाएर त्यसलाई उपमहानगरको प्रतीक बनाउन सकिन्छ भन्ने लागेन । पञ्चायत हटेर बहुदलीय व्यवस्थाले चलखेल गर्दै रहेका बेला रोडशेष चोकको रजत स्तम्भको तस्बिर पठाउनु आफैलाइ पञ्चायतको समर्थक रहेछ भनिदेलान भन्ने त्रास ।
मेरो बुझाइमा त्यो पठाउनु विराटनगरका लागि पनि अन्याय हुन्थ्यो ।
जुट मिल सधैं बन्द भइरहन्थ्यो । मजदुरले आन्दोलन गरिरहन्थे । हडताल शब्दको पर्याय बनेको कारखानाको तस्बिरलाइ विराटनगरको पहिचान भनेर पठाउँदा यो सहर बन्दको सहर हो भनेजस्तै हुने थियो । यो पनि भएन । रानी भंसार क्षेत्रमा नेपालतर्फ बुझाउने त्यस्तो कुनै प्रतिमा छैन । कुनै त्यस्ता प्रतीक छैनन् जसले सहरको प्रतिनिधित्व तस्बिरमा गरोस् । भारत विहारको जोगबनीतर्फको जयप्रकाशनारायण द्धार पठाउनु पनि भएन ।
बुधहाट चोकलाइ त्यहाँको सात तले अग्लो घरमा चढेर हेर्दा गुद्री बजारका टिनका टहरामात्र देखिने रहेछ । टीनका टहरा देखाएर विराटनगरको पहिचान पुरानो कुनै गल्लीभन्दा ठूलो नदेखिने होला भन्ने मलाइ लाग्यो ।

अनि, बाँकी रह्यो रिक्शा । मलाइ लाग्छ, रिक्शा सम्पन्नता र उत्साहको प्रतीक
होइन । कुनै रिक्शाचालक कसैका लागि प्रेरणाका स्रोत बनेको समाचार मैले पढ्न सुन्न पाएको छैन । रिक्शा मान्छेले चलाउने हो । मान्छेले श्रम गरे चल्ने त्यो साधनको तस्बिर सहरको सम्पन्नताको प्रतिनिधित्व गर्न सक्ने दृश्य हुन सक्दैन । त्यसो त विराटनगरमा करीव आठ हजार रिक्शा छन् । बरु छोटो दूरिका सार्वजनिक सवारीका नाउमा रोडशेष चोक-पहडगछढाट र पुष्पलालचोक-कोशीअञ्चल अस्पताल चल्ने टेम्पोको रुप दिइएको चाइनिज मोटरसाइकलबाहेक वैकल्पिक भनेको रिक्शामात्र हो । रिक्शाचालकलाई यात्रुले सम्मान गरेको विरलै सुन्न पाइएला । अनि यी चालकहरुलाई ठाउँ दिने हो भने सहरमा उनीहरु मात्र छैनन् । त्यसमाथि विराटनगर भनेर रिक्शाका तस्विर पठाउने हो भने नेपालगञ्ज , वीरगञ्ज र जनकपुरभन्दा फरक नै के रह्यो र ।

साता बित्न लागेको थियो । मैले तस्बिरमा विराटनगर बुझाउने दृश्य भेट्न सकेको थिइन । जसलाई सोधेपनि चित्तबुझ्दो सुझाव पनि फेला परेको थिएन । अन्त्यमा केही भएन, महेन्द्रचोकको अग्लो घरमा चढें । त्यहाँबाट तल महेन्द्रको सालिक र देखिएको सडकलाई खिचेँ । अनि त्यही इ-मेल गरें । बरु त्यसको साथमा मैले केहीअघि कोशीटप्पुमा खिचेका चराका तस्बिर पनि पठाए । त्यही छापियो ।
चार वर्ष बितेको छ ।
यहाँ माघ ५-११ मा विराट एक्स्पो व्यापार मेला हुँदैछ । फेरि तस्विरमा विराटनगर पहिचानको खोज्नुपर्ने अलमल आएको छ यो साता । जनआन्दोलन-२ पछि महेन्द्र चोकमा सालिक छैन । ठूटो छ ।
भएको भएपनि अब फेरि राजाका सालिक पठाउन हुने कुरा भएन । विराटनगरको इतिहास बखान गर्नुपरे इतिहासकार नथाक्लान । उद्योगी-व्यापारी नथाक्लान । अनि नेताहरू त थाक्ने कुरै भएन । विराटनगरले कैयौपटक देशलाई प्रधानमन्त्री र मन्त्री दिएको छ । यहाँबाट उद्यम सुरु गरेर गोल्छा, दुगड र सारडालगायत दर्जन व्यापारीक समूहका उद्योगी घरानाले मुलुकभर सञ्जाल विस्तार गरेका छन् ।
ती घराना, जसले विराटनगरबाट सुरु भएर मुलुकका अन्यत्र उद्यमको सञ्जाल विस्तार गरेका छन् । उनीहरुले विराटनगरका लागि के गरेका छन् ? उनीहरुले आफ्ना लागि उद्यम गरेपनि राजस्वमार्फत फाइदा देशलाइ भएको पक्कै होला । तर, उनीहरुका ठूला महल अघिको सार्वजनिक सडकमा एउटा फूल-पात र विरुवा पनि छैन ।
उनीहरुले व्यवसायिक सामाजिक दायित्व (कर्पोरेट सोसियल रेस्पोन्सिबीलीटी) का नाउँमा धेरै गरेका होलान् । तर, तस्बिरमा सहरको पहिचान बारे उनीहरुमा गम्भिरता भएको लेन्सले भेट्दैन । गोल्छा समूहका संस्थापक स्व. रामलाल गोल्छाका बारेमा खोजी गर्न परे एउटा किताब हेर्नुपर्छ । त्यसबाहेक हेर्न सकिने भनेको रामलाल आँखा अस्पताल हो । लहानको अर्को अस्पतालले विराटनगरमा गोल्छाको भन्दा ठूलो परियोजना ल्याएपछि पुरानो अस्पतालका लागि पनि साख जोगाउन चुनौति बढेको छ । गोल्छाको आँखा अस्पतालको तस्बिर कसरी उपमहानगरको पहिचान बनोस् ! दुगड,सारडा, मुरारका, राठी, धनावत, सुराना, अग्रवाललगायत नाम खोज्यो भने व्यापारीक घराना दुइ दर्जन नाघ्लान । तर, उनीहरुले आफ्नै अग्रजका नाउँमा सार्वजनिक स्थानमा केही राखेका भेटिँदैन । मन्दिर र धर्मशाला नभएका होइनन् । तर ती अरू सहरमा भएभन्दा किञ्चित पनि फरक पहिचान र शैली बोकेका छैनन् ।
अनि मुलुक हाँक्ने जिम्मेवारीसम्म पुगेका नेताले विराटनगरका लागि के गरेका छन् ? कोइराला परिवारको जग्गा बेचबिखन भएको थाहा पाएका कांग्रेस कार्यकर्ताले त्यसो हुन नदिन बल गरे । शैली उही माओवादीले सिकाएको कब्जाकै थियो । इतिहास बोकेको पिताजी कृष्णप्रसाद कोइरालाको घर सिर्जना भविष्यमा रहन्छ/ रहन्न ? यसै भन्न सकिने अवस्था छैन । भाउजु नोनाको निधनपछि गिरिजाप्रसादले विराटनगर आउने क्रम पातलो भएको छ ।

विराटनगरलाई प्रतिनिधित्व गरेर कोइरालाका पछिल्ला पुस्ता डा. शेखरले अझै पार्टीभित्र आफ्नो पकड मजबुत बनाइसकेका छैनन् । सुजातालाइ राष्ट्रिय भन्नुपर्ला । किनभने उनलाइ सत्तामा पुग्नअघिसम्म विराटनगरभन्दा बढी मोह सुनसरीको थियो । भलै निर्वाचनमा त्यो मोहले लाभ गराएन ।
पार्टी कार्यकर्ताका लागि तीर्थस्थलको उपमा पाएको कोइरालाका सिर्जना जोगाउन त उनीहरु गम्भिर छैनन् , विराटनगरलाइ के गरून ? मधेस आन्दोलनले कर्सियास्थित वीपीको सालिकमा आक्रोश पोख्यो । कांग्रेसले त्यसलाई फेरि बनाएन । बरु पोखरियास्थित पार्टी कार्यालय परिसरमा सालिक सीमित गरियो ।
एमालेका शिर्षस्थ नेता स्व. मनमोहन अधिकारी विराटनगरसँग जोडिएको इतिहास भएका थिए । उनलाइ खोज्न वा अध्ययन गर्न यहाँ कोही शोधकर्ता आयो भने केही भेटीहाल्ने कुरा केही छैन । एमालेले पार्टीको जिल्ला कार्यालयको भवन राम्रो बनाएको छ । तर, एउटा पार्टीको कार्यालय यो सहरको पहिचान बनाउन हुने कुरा पक्कै होइन । यदि त्यो बल्खु दरवारजस्तो भएको भएपनि लौ ! जेसुकै होस भन्दिउँ,  छैन । पछिल्ला समय फस्टाएका माओवादी सहरको प्रतीक बनाउने फुर्सदमा छैनन् । उनीहरुले भत्काएका संरचना नै पुननिर्माण भइसकेको छैन । अनि बनाउने ध्यान कताबाट आउनु ?
महेन्द्रको सालिक ढाले । पञ्चायत रजत स्तम्भ पनि फुटाउने प्रयास गरे । पुरै नढालेका कारण त्यो चाहि बिचरो देख्न पाइन्छ । अनि रहे मधेसवादी दल । यिनमा फोरम अग्रपंक्तिमा छ । फोरमले त्यस्तो केही बनाएको छैन । जसलाई तस्बिरमा देखाएर यो उसकै सहर हो भनेर चिनाइदिउँ । उपेन्द्र यादवलाइ फुर्सद छैन विराटनगरका विषयमा सोच्न । पार्टी चीरा परेपछि मधुमेहका रोगी उनलाइ आफ्नै कलहमा मलम र नुनचुक लगाउँदै व्यस्तता छ । सामाजिक क्षेत्रमा योगदान गर्नु मानवीय धर्मभित्र पर्छ । तर, सहर चिनाउने जिम्मेवारीप्रति पनि कसैको ध्यान पुग्न जरूरी छ ।
यहाँ सडक,अस्पताल,बजार र न दाहसंस्कारस्थल । व्यवस्थित गर्न क्षमता भएकाहरुले केही गरेका होलान् भन्ने सम्भावनाको फेर समात्दा पनि पहिचान बुझाउने प्रतीक क्यामेराले भेटेन । पोखरियामा परोपकारघाट बनेको छ । सुन्दर र व्यवस्थित छ । यसका लागि जस-जसले योगदान गरेका हुन् , तिनको सराहना गरिनु उपयुक्त हुन्छ । तर, परोपकारघाटभन्दा हाटखोलानजिकको सिंघिया व्यस्त छ । यहाँ गोल्छा परिवारको पनि दाहसंस्कारस्थल छ । गोल्छा परिवारका कुनै सदस्य दिवंगत हुँदा शव यहाँ ल्याएर दाहसंस्कार गर्ने पराम्परा बसाइएको छ ।
तर, यहाँ उनीहरुको केही चिन्ह बाहेक व्यस्थित भनिने केही देखिन्न । अहिले पूर्व क्षेत्रमा रहेर मैले धरान देखाउनुपर्दा सिरिजंघाको सालिक, वीपी प्रतिष्ठान, घण्टाघर र बुढासुब्बा । जेको तस्विर खिचेपनि पुग्छ । हेर्नेले भन्छ - यो धरान हो । अनि नागबेली बाटाका घुम्ती काटेर बेला बेला कुहिरोले घुम्टो हाल्ने ठाउँ देख्दा हेर्नेले भन्छ यो भेडेटार हो । अग्लो घरबाट चौरस्ता, नगरपालिका परिसरको पोखरी वा बिक्रमश्रीका सिर्जना, जे खिचेपनि देख्नेले भन्छ यो इटहरी हो । कंकालनी भगवती वा छिन्नमस्ताको तस्बिर खिचे भन्न असजिलो छैन तस्बिर सप्तरीको हो । भुटानी शरणार्थी वा काँकडभिट्टाको गेट होस वा दमकको गणतन्त्र चोक, केचना, धिमाल-राजवंशी संस्कृति । सजिलै भन्न मिल्छ तस्बिर झापाका हुन् ।
मधेस आन्दोलनपछि सिरहा र सप्तरीबाट बसाइ सर्दै यहाँ आउने जमात बढेको छ । सुविधाका लागि मान्छे बसाइ सर्नु नियमित प्रक्रियाभित्र पर्छ । गाउँबाट सहर र सहरबाट ठूला सहरमा बसाइ जाने क्रम मान्छेको नियति हो । परिवर्तन भएको भनिएको अवस्थामा यहाँ कुनै जातजातिले आफ्नो सांस्कृतिक पहिचानको दावा गर्ने केही बनाइसकेका छैनन ।
जेठो भनिएको विराटनगर जुट मिल सदाका लागि बन्द भएको छ । कुनैबेला गुलजार मिल्सएरिया क्षेत्र अहिले सुनसान छ । बजारमा बैंक् थपिएका छन् । दुइ दर्जनको संख्यामा पुगेका बैंकले पनि आ-आफ्नो कार्यालयमात्र सिंगारेका छन । लगानीको क्षेत्र संकुचित भएको भनिदै आएपनि लगानी २० अर्ब नाघेको छ भनिन्छ । न कारखाना बढेका छन् । न त रोजगारीका लागि विदेशिने लर्को कम भएको छ । तस्बिरमा विराटनगर देखाउने कुरा के हो - अझै अलमल छ । महेन्द्रको सालिक भत्काउनु समयको माग भन्दै आउनु दलहरुको बाध्यतामा पर्ला । इतिहास भत्काएर त्यसमाथि वर्तमानको मोहर लगाउनु पर्छ भन्नेहरुले सहरलाइ कस्तो बनाएका छन लेन्सले प्रतीक भेटदैन ।

अहिले जनजीब्रोमा नबसेपनि महेन्द्र चोकलाइ सञ्चारकर्मीले जनआन्दोलनचोक लेख्ने गरेका छन् । यो जनआन्दोलनचोकदेखि बरगाछीसम्मको १ हजार ८ सय मिटर सडकलाइ तीन लेन निर्धारण गर्न एक दसकअघि डिभाइडर बनाइएको थियो । ढुङ्गा छापेर बनाएको सो डिभाइडर अहिले पुसमा महिना लगाएर भत्काइएको छ । भनियो, सडक अब ६ लेनको बनाउने रे । तर, उपमहानगरपालिकासँग न योजना छ , नत बजेट । जे होस डिभाइडर भत्काइयो । सफाइ भइसकेको छैन, त्यसैले अहिले सडकमा धुलो नै धुलो छ । धुलो यो सहरको पहिचान बन्न सक्दैन । विराटनगर पुरानो सहर-ऐतिहासिक सहर । धेरै प्रधानमन्त्री र मन्त्री जन्माउने सहर । तर, खोइ तस्बिरमा दिने पहिचान ? न सालिक छन् । न कुनै पार्क । न घण्टाघर । न चिडियाघर ।
पहडगछ ढाटमा बनाएको एउटा प्रवेशद्धार अहिले हाम्रो लाज ढाक्ने मेलो बन्न सक्छ । तर, विराटनगरलाई दीर्घकालीन योजना चाहिन्छ । व्यवस्थित सडक, बसपार्क,बालबालिकाका लागि पार्क र मेला लगाउने ठूलो ठाउँ अहिले उपमहानगरको आवश्यकता हो। पटक-पटक शिलान्यास भयो । चरालाइ चारो फाले झै साना किस्तामा बजेट विनियोजन गरिए । तर,विराटनगर चक्रपथको योजना थाँती रहयो। ढलनिकासकालागि एडीबीसँग ऋण लिएर उपमहानगरले बल्ल तरखर गर्दैछ । सरकार र कर्मचारी फेरिदै सहरका प्राथमिकता फेरिनु हुँदैन। कसले भन्छ- तस्विरमा विराटनगरको पहिचान के हो ?

Saturday, January 16, 2010

स्वाथ्यकर्मीको साहित्ययात्रा


महिनाभरि प्राप्त निबन्धमध्ये उत्कृष्ट प्रसारण हुने बेला थियो । उदघोषकले पढे 'यो हामीलाई ताप्लेजुङको हाङपाङमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा आठमा पढने विद्यार्थी भाई नवराज सुब्बाले पठाउनु भएको हो ।' विद्यालयमा गरिने अतिरिक्त क्रियाकलापमा आधारीत उक्त निबन्ध रेडियोमा वाचन भएलगतै उनलाई आफन्त र गुरुहरुले बधाइ दिए । अतित स्मरण गर्दै उनले भने 'शायद त्यहीँबाट लेखन यात्रा सुरु भयो ।'
गाउँमा मातृभूमी र नया सन्देश पत्रिका प्रकाशित भएको करीव दुइ सातापछि हुलाकहुँदै पुग्थ्यो । 'तिनमा बेलाबखत छापिएका रचना काटेर राखिन्थ्यो, पुराना कुरा सम्झदै उनले सुनाए 'पत्रिकामा नामसहित रचना छापिएको पढन पाउँदा आनन्द लाग्थ्यो ।' स्वास्थ्य सेवाको अवस्था नाजुक देखेर चिकित्सा पेशामा लाग्ने धोको हुन्थ्यो । अनि धेरैले पल्टनमा जानु ठीक हुने सुझाव दिएकोले कहिलेकाही मन बहकिन्थ्यो पनि । 'लाहुर जान पल्टनको बाटो खुला थियो तर, मलाइ जान मन लागेन' उनले भने । स्वाथ्यकर्मी बन्ने रहर बोकेर राजधानी हान्निएका सुब्बाले चिकित्साशास्त्र अध्ययन संस्था, अमृत साइन्स, इन्जिनियरिङ र भेटेनरी पढनका लागि लगालग प्रवेश परीक्षा दिए । 'डाक्टर बन्नका लागि पढाइ खर्चिलो अनि डाक्टरहरु गाउ चलन नदेख्दा त्यो पढाइमा लागिएन' उनले भने । बनेनन् । चिकित्साकै क्षेत्रमा काम लाग्ने एचए -स्वास्थ्य सहायक) को पढाइमा लागे ।
'त्यसबेला एचए पढेर पनि एमबीबीएस ट्राइ गर्न सकिन्थ्यो तर, पढाइ सकेर जागिर खान सजिलो थियो, त्यसैमा ट्राइ गर्न थालियो ।' पढाइका क्रमको अभ्यासमा उनी आफ्नै गाउ गएका थिए । पछि उनले २०४० सालमा लोकसेवा उतीर्ण गरेपछि पहिलो नियुक्ति पाचथरको इम्बुङ हेल्थपोष्टका लागि पाए । जागिरे जीवनका मुलुकका विभिन्न भाग घुमेका उनलाई रचनामा भाषिक शुद्धतासगै गहन शब्दशैलीको संयोजनमा आफु केही पछि रहेको अनुभव भयो । 'त्यसैले नेपाली विषय लिएर पढन थालियो' उनले थपे 'भाषा बुझेमात्र शब्द चयन गहकिलो हुने रहेछ ।' नेपाली विषयमा स्नातकोत्तर सिध्याएपछि कविता संग्रह 'जीवन मेरोशब्दकोष-२०६३, 'बीच बाटोमा ब्युझेर-२०६५ र निबन्ध संग्रह 'मनको मझेरी'-२०६४ प्रकाशित गरेका उनलाइ सूचनाप्रविधिको मोहले पनि गाजेको छ । आफ्नो वेबसाइट बनाउन लगाएर त्यसलाई अप्डेट गर्न उनले सिकेका छन् । भन्छन् 'ठेगाना दिनैपर्दैन भन्छु गुगलमा एनआर सुब्बा ( http://www.nrsubba.com.np/) सर्च गर्नुस , म फेला पर्छु ।'
'जागिरको दौरान लेखेका कविता/निबन्धलाइ किताबको रुप दिने सोच बनेको थिएन, उनी भन्छन् 'पछि पछि त्यसो गर्न सकिने रहेछ भन्ने भयो ।' जनआन्दोलन-२ पछि सबैले आ-आफ्नो जातीय र भाषिक अधिकारको चासोलाइ सडकसम्म ल्याएका छन् । मुलुक संघीय संरचनामा जाने प्रतिबद्धता अन्तरीम संविधानमै उल्लेख भएपछिका विभिन्न आन्दोलनले समुदायको समावेशी बसोबासमा केही चिसोपना आएको महसुस भयो । उनले लेखे -
नेपाली नेपाली हामी नेपाली
मधेसी होस् या जनजाति हामी नेपाली
दलित होस या तागाधारी, हामी नेपाली ।।
उनको यो रचना स्वदेश गानका रुपमा अहिले एफएम रेडियोहरुका बेला बेला बज्ने गरेको छ । देश प्रेमको भावना ओतप्रोत रचनाहरुलाई सांगीतिक एल्बमको स्वरुपमा निकाल्ने जमर्को साथीहरुको प्रेरणाले सफल भएको उनी सुनाउछन् । 'देशको माया' नामको उनको रचना संग्रहीत एल्बम गत भदौ दोस्रो साता कान्तिपुर एमएमबाट बिमोचन भएपछि ४८ वर्षे यी स्रष्टाको सक्रियता बढेको छ । राजवंशी जातिका महिला र बालबालिकाको स्वास्थ्य विषयमा विद्यावारिधी पनि गर्दै रहेका उनले भने 'अहिले म शहीदलाई सलाम' भन्ने गजल संग्रह तयार पार्दैछु ।'

Wednesday, January 13, 2010

टपरामा हर्र हर्र


छाता भिरेर पाठो च्यापेका गोठालाहरु काँसघारीमा घरीघरी हर्र हर्र' को आवाज निकाल्छन् । बलौटे जमिनमा हुलका हुल भेडाहरु राम्रो घाँसको खोजी गरिरहेका छन् । एउटा हुल जता लाग्यो पछिपछि सबै लागेका छन् । घुम्रो परेको सिङ भएको भाले भेडा हुलमा आकर्षक देखिन्छ । गोठालाभन्दा निकै अघि पुगेको हुललाइ दुइवटा भुस्याहा कुकुरहरु अघि गएर छेक्छन् । हुल टक्क अडिन्छ । गोठाला आइपुग्छन् अनि अघि बढने बाटो निश्चित हुन्छ ।
ख्याउटे भएपनि आज्ञाकारी कुकुरहरु गोठालाको भर भएको देखिन्छ । सप्तकोशीले बहाव परिवर्तन गरेपछि बनेको यो 'टपरा' हो । श्रीलंका टप्पु पनि भनिने यो ठाउ सुनसरीको प्रकाशपुर ४ र ५ अनि महेन्द्रनगर गाविसको ५ नम्बर वडाको यो भुभाग खुला चरिचरन भएकाले चौपायाका लागि वरदान जस्तै छ ।
यहा आइ पुग्ने एकमात्र साधन डुङ्गा हो । सदरमुकाम इनरुवाबाट १२ किलोमिटर दक्षिणमा पर्ने हरिनगराबाट भेडीगोठ घासको खोजीमा डुङ्गा चढेर यहा आइपुगेको हो । 'हामी सधै फिरन्ते जस्तै भएका छौं' भेडी गोठ हाकेर हिडेका चन्देश्वर पाल भन्छन् ।

हरिनगरा-४ मा गडेरीहरुको बस्ती छ । थरमा 'पाल' लेखाउने यहाका गडेरीहरुको पुस्तैनी व्यवसाय भेडापालन हो ।
'हामीले बाबु-बाजेको पालादेखि नै भेडा पाल्दै आएका हौ' उनले भने 'जता घास भेटिन्छ हुल हाकेर त्यतै पुग्छौ ।' चन्देश्वरसगै कुलानन्द र खिलानन्द पनि छन् ।
उनका अनुसार कोशी टप्पुसग जोडिएको सप्तकोशीको भंगालोबीचको टपरामा भेडीगोठ वर्षका चार महिना रहनेछ । 'घास खोज्दा खोज्दै हामी ठाउ फेरिरहन्छौ' कुलानन्द भन्छन् 'कोशी वारि हरिपुरमा हामी कात्तिकदेखि चैतसम्म घुम्छौं ।' भेडासगै उनीहरु डेरा पनि खोजेर हिड्छन् ।
तराइको मौसम भेडापालनका लागि उपयुक्त होइन भन्ने धारणा छ । कारण यहाको मौसम । तराइमा पनि हुने भेडा लामपुच्छ्रे जातको हो । 'उन निकाल्न पनि हामी गोठैमा काम गर्छौ' खिलानन्दले भने 'घरमा तान छ । एउटा भेडाले वर्षमा एक पाउ उन दिन्छ ।' आफुहरुले हाकेको हुलमा चार सयवटा भेडा रहेको उनले बताए । भेडीगोठ लिएर
हिडनेहरुमा सबै आफ्नै भने छैनन् । उनी भन्छन् 'एकदुइ सय आफ्नो हुन्छ, बाकी आफन्तको ।' सबैले गोठालाको काम गरि हिड्न नसक्ने उनी गर्वले सुनाउछन् । भन्छन् 'यो सारै दुखी काम हो,सबैले कहा गर्न सक्छन् र ।'
हरिनगराका गडेरीहरुले बनाएको भेडाको उनको राडी बजारमा कम्तिमा आठ सय रुपैया गोटाको बिक्री हुन्छ । एउटा राडीमा सरदर चार किलो उन लाग्ने सुनाउदै भन्छन् 'चरन घट्दैछ,हामीजस्ता भेडा चराउनेका लागि दुःख बढ्दैछ ।'


उत्खननपछि उपेक्षा

बिराटनगरको नाम कसरी रहयो ? यहाँ आएर प्रश्न गर्नेहरुले उतर पाउँछन् - महाभारतकालमा राजा बिराटको दरवार भएकाले । तर बिराट दरवारको भग्नावशेष रहेको भनिएको ठाउ हेर्नेलाई सहजै पत्यार लाग्ने वस्तुस्थिति छैन । भग्नावशेष बिराटनगर-२२ रानी क्षेत्रबाट दुइ किलोमिटर दक्षिण बुधनगर गाविस-५ भेडियारीमा छ ।
सुरक्षाका लागि भन्दै भग्नावशेष रहेको पाँच कठ्ठा जग्गा कुनै बेला घेरेर राखिएको रहेछ भन्ने यहाँ बाँकी रहेका पक्की खम्बाले बताउँछन् ।
खाबाहरु ठाउँ-ठाउँमा भाँचिएका छन् । लगाइएको पुराना काँडे तार पनि धेरै ठाउँ चुँडिएका छन् । तीनवटा रुख र बाँसको सानो झयाङ रहेको दरवारको भग्नावशेष भनिने ठाउँ रातो माटोको ढिस्को जस्तो देखिन्छ । ढिस्कोमा पुराना टायल र इटाका टुक्राहरु देखिन्छ । जग्गाभित्र एकातर्फ गोबरका गुइठा सुकाइएको छ । बिराटनगरको परिचयसँग जोडिएको बुधनगर-५ भेडियारी टोल पुग्नेहरु ऐतिहासिक बिराट दरवार भग्नावशेष भनिने ठाउँको दशा देखेर छक्कमात्र पर्दैनन् ,दिक्क पनि मान्छन् ।
बिराटनगरको नाउँका पछाडि रहेको किवदन्तीका आधार यो ठाउँको भग्नावशेषसँग जोडिएको छ । बिराट दरवार सम्बन्धि प्रकाशित शोधपत्र तथा समाचार सामाग्रीमा महाभारतकालमा बिराट राजाको दरवार रहेको यो ठाउँमा पाण्डवहरु गुप्तवास बसेको उल्लेख छ । त्यसबेला दुर्योधनले उनीहरुको भेद जान्न गुप्तचर (भेदिया) पठाएपछि भेदियारीबाट अपभ्रंस हुदै यो ठाउको नाउ भेडियारी भएको हो । बि.स.२०२६ सालमा तत्कालीन पुरातत्व विभाग महानिर्देशक तारानाथ मिश्रको नेतृत्वमा भग्नावशेषको उत्खनन गरिएको थियो । त्यसबेला यहाँ मन्दिर,गर्भगृह रहेको भन्ने तथ्य सार्वजनिक भएको थियो । त्यसबेला पंचमार्क भएको ४० वटा चाँदीका मुद्रा पनि भेटिएको थियो । इटाले बनेको सात फीट अग्लो चौतारीमाथि ४५ र ४७ फीट लामो गर्भगृहहरु पाइएको पुरातात्विक अध्ययनका प्रकाशित सामग्रीमा उल्लेख भएको पाइन्छन् । पुरातत्व विभागले यहाँको भग्नावशेषमा पाइएका पाको इटाको प्रयोग मुलुकको अन्य स्थानमा तीलौराकोटमा मात्र भेटिएको जनाएको छ । अनुसन्धाकर्ता मिश्रले आफ्नो लेखमार्फत बिराट दरवार भग्नावशेषको जानकारी प्रकाशित गरेपनि औपचारिक रुपमा विभागले उक्त उत्खननको प्रतिवेदन हालसम्म प्रकाशित गरेको छैन । समाजशास्त्रमा स्नातकोत्तर तहकी छात्रा सुनीता पोखरेलले २०५५ सालमा गरेको शोध अनुसार बिराट
भग्नावशेष क्षेत्रमा रहेका आधा दर्जनभन्दा बढि पोखरीको आफ्नै ऐतिहासिक महत्व छ ।
'मान्छे घुम्न आउछन् जान्छन् यो ठाउँको विकास त गफ मात्रै भो' बिराट दरवारको भग्नावशेष नजिक घर भएका लक्ष्मण यादवले भने । ७५ वर्षीय यादवलाइ उत्खनन हुँदाको बेलाका सम्झना अझै ताजा छन् । 'हामीलाइ त हेर्न पनि दिएनन् जो जो हेर्न गए उनीहरुले कुटाइ खाएका थिए ।' भग्नावशेषबाट निस्किएका इटाका टुक्राहरु नजिकको बिराट प्राविमा भवन निर्माणका समयमा प्रयोग भएको स्थानीय उपेन्द्र यादवले बताए । यहाँ रहेको फुल नफुल्ने एउटा रुख काटता रगतजस्तो पदार्थ निस्कने गरेको उनी बताउँछन् । 'यो के को रुख हो अझै कसैलाई थाहा छैन' उनले भने । उत्खननका क्रममा बहुमुल्य वस्तुहरु पाइएको र तीनलाइ हात पार्नेहरुले वेपत्ता पारेको स्थानीयवासीको आरोप छ । उत्खनन पछि उपेछित अवस्थामा रहेको भग्नावशेषबाट भेटिएका पछिल्ला सामान हेर्न स्थानीय कमलकिशोर यादवको घरमा पुग्नु पर्छ ।
२०५४ सालमा गठित बिराट राजा प्रचीन दरवार खोज तथा संरक्षण समितिका सदस्य रहेका यादवले भग्नावशेषबाट पछिल्लोपटक भेटिएका सामाग्री घरैमा संग्रह गरेर राखेका छन । यहाँको अध्ययन-भ्रमण गर्न आउनेले धातु , ढुङ्गा र माटोले बनेका ती सामाग्री हेर्न उनको घर पुग्नै पर्छ । यसरी आउनेलाइ उनले देखाउने गरेका छन् ।
ऐतिहासिक ठाउँको विकासका लागि चिन्तित रहेका बुवालाइ सघाउने ओमप्रकाश यादव भन्छन् 'झापामा जसरी किचकवधको उत्खनन भयो त्यसरी नै यहाँको खोजी हुनुपर्ने हो तर कसैले ध्यान दिएका छैनन् ।' पर्यटन मंत्रालय ,जिल्ला विकास समिति मोरङ र बिराटनगर उपमहानगरपालिकाले भेडियारी चोकमा सुचना केन्द्र राख्न तीन कोठे भवन निर्माण गरेका छन् । तर भवनको समुचित उपयोग अझै शुरु भएको छैन । ' बिकास गर्नै पर्ने ठाउँमा जस्ता अधिकारी आएपनि कामलाइ निरन्तरता दिने बानी विकास भएन त्यसैले यो क्षेत्र पछि परेको हो ।' जीवन घिमिरेले भने । हाल लगभग निष्किय रहेको संरक्षण समितिमा उनी अध्यक्ष छन् । गठनको शुरुआतसँगै समितिले यस क्षेत्रको बिकासका लागि कुरा उठाएको उनको भनाइ छ । 'बिराटनगरको पहिचानका लागि पनि यो ठाउको बिकास हुनै पर्छ , नभए बाहिरबाट आउनेले यहाँ हेर्ने विशेषता भनाउँदो केही फरक कुरा नै छैन' उनी भन्छन् । समितिले प्रस्ताव गरेपछि नै भेडियारीमा संग्रहालय राख्न सुचना केन्द्र भवनको निर्माण भएको उनले सुनाए ।
मोरङका पर्यटकीय क्षेत्रको विकासलाइ निरन्तरता दिने बताउँदै आएको स्थानीय निकायसँग यहाँको बिकासका लागि कुनै अल्प र दीर्घकालीन योजना हालसम्म छैन । स्थानीय निकायको नेतृत्वमा फेरबदल र राजनैतिक अस्थिरता पनि पर्यटकीय क्षेत्रको विकासमा बाधा भएको छ । भेडियारी क्षेत्र भारतीय सीमानासग जोडिएको छ । जिल्ला बिकास समितिमा यस क्षेत्रको पुरातात्विक महत्वको खोजी र प्रचारका कुनै कार्यक्रम छैन । मोरंगभित्र पर्यटकीय महत्वका क्षेत्र बिकासको लागि जिविसले वर्षेनी वजेट विनियोजन गर्छ । तर, काम भने कागजमै सीमित छन् ।
(२०६०को मेरो समाचारको डायरीबाट)


Tuesday, January 12, 2010

परनिर्भरताको पराकाष्ठा

भारतको कटैयामा सिटी भन्ने उपकरण जल्यो रे । मंगलवार दिउसो २ बजेदेखि कोसी पूर्व विजुली छैन । आउने ठेगान छैन । नो लाइट शाखाले फोन पनि रिसिभर उठाएर राखिदिएको जस्तो टोन सुन्न पाइन्छ । क्या मज्जाको मुलुक भयो यो ।

शैली



इटा कारखानाका कामदारमा शैली नौलो रहेछ । जुन गाउँमा भट्टा छ , त्यहा स्थानीय बासिन्दा करीव भनौ वा नेपाली , उनीहरु २५प्रतिशतभन्दा कम छन । भारतबाट आउनेहरुको संख्या बग्रेल्ती छ । किन यस्तो ? भट्टा सञ्चालक भन्छन् 'नेपालीले काम गरे पो लाउनु ? घर गएपछि फिर्दैनन् ।
सुनसरी-मोरङमा ३१ वटा भट्टा रहेछन । सबैमा ताल यस्तै । १० हजारको संख्यामा कामदार छन । तिनमा नेपालीहरु न्युन । कामको पारिश्रमिक नराम्रो भएको भने होइन । काम गर्न आएका भारतको कुचविहारका कामदारसग सोध्दा उनीहरुले बताए । आफ्नो गाउमा उनीहरु पनि यस्तै विन्दास छन रे । नजिक काम नगर्ने । टाढा आएर अरब आए झै काम गर्ने । यही नै भएको होकि बलको काम गर्न विदेश जाने हाम्रा दाजुभाइमा ।

Wednesday, January 6, 2010

गरुड गाउँ



करमका अग्ला रुखको टुप्पामा गुँड बनाएका अग्ला चरा । चुचाले माछा र सर्प उडाउदै पुर्‍याउँछन् । एकोहोरो आवाजले कराउँछ । घरि घरि आकाशमा फन्को मार्छ । अनि फेरि गुँडमा फर्किएर बचराको स्याहारमा जुट्छ । मोरङको उर्लावारी-६ मंगलवारेको चन्दनेमा गाउँले यसलाई 'टङर्‍याङ' भन्छन् ।
गरुड प्रजातीको यो भुँडीफोर (लेसर एटजुटेन्ट स्टोर्क) हो । सेता लामा खुट्टा, जीउ र चुच्चो । अनि काला पखेटा र पँहेलो घाँटी । यसको आकृति आफ्नै प्रकारको छ । धेर हल्ला र बाधा सबै पशुपंछीका लागि रमाइला छैनन् । यसलाई पनि त्यस्तै हो । तर, बस्तीको छेउ भएपनि छेडखानी गर्नेहरु नहुँदा यो दुर्लभको सुचीमा परेको चराको ठूलो झुण्ड चन्दनेमा वर्षौंदेखि बसेको छ ।
'हाम्लाई केही गर्दैन विचरो चरो' स्थानीय भगवती खडकाले भनिन् । उनका अनुसार यहाँ दुइ दसकदेखि यी चराका गुँड छन् । जोडीले जोडी बचरा हुर्काएर उडाउन्जेल माउहरु शिथिल हुने र मर्ने उनले बताइन । सिमसार र नजिकका खेतबाट माछा, सर्प र अन्य सरिसृप खोजेर गुँडमा ल्याउँदै बचरा हुर्काउदा कमजोर भएका माउहरु रुखबाट खसेर मर्ने गरेको उनले सुनाइन । एउटा जोडीले वर्षमा दुइ-तीनवटा बचरा हुर्काउछन् ।
चन्दनेवासीका लागि नौलो नभएपनि यो चरो भारतीय क्षेत्रबाट यदाकदा पस्ने 'किचक' भनिने फिरन्तेहरुको सिकार हुने गरेको छ । गत वर्ष यहाँ आइपुगेका चरा सिकारी फिरन्तेहरुले सातवटा यस्ता चरा रुखबाट खसालेको गाउँलेले बताए । लगतै थाहा पाएपछि जुटेका गाउँलेले उनीहरुलाई कुटपिट गरि धपाएका थिए ।
चरा संरक्षणका लागि यहाँ त्यस्तो कुनै औपचारिक अभियान र कार्यक्रम छैन । र, गाविस वा कुनै सरकारी निकायले पनि ध्यान दिने गरि यहाँ केही गरेको देखिदैन । तीन वर्षअघि पंछी संरक्षण संघलगायत विभिन्न संस्थाले आएर गाउँलेसँग समान्य कुराकानीपछि दुइवटा चेतनामुलक बोर्ड राखिदिएका छन् । जसबाट यो चराको प्रजाति , बानी, आहारा र महत्वबारे जान्न चाहनेले थाहा पाउन सजिलो भएको छ ।
चन्दनेमा यही बोर्ड राखिएपछि पनि चरालाई छेडखानी गर्न नहुने रहेछ भन्ने भान गाउँलेमा परेको छ । विराटनगरको स्नातकोत्तर क्याम्पसका प्राणीशास्त्रका प्राध्यापक डा. भरतराज सुब्बा भन्छन् 'लेसरले यहाँ बाधा नभएरै बास नछाडेको हो ।' उनका अनुसार दुर्लभ चराका लागि एकपटकमात्र कसैले गरेको चेतनाका कुराले संरक्षण बलियो भएको छ । बन क्षेत्रको मासिँदा अग्ला रुखहरुबाट विस्थापित भएका भुँडीफोर जोडीहरु यहा आइबसेका हुन् । डा. सुब्बा भन्छन् 'हामीले यहाँ ५० वटा लेसर भेट्यौ, एकै ठाउँमा यत्रो संख्या भेटिनु ठूलो कुरा हो ।' उनका अनुसार सिमसार क्षेत्रको व्यवस्थापन हुन सके यस्ता प्रजातिका चरा संरक्षण हुनसक्दछ । यसले वातावरण सन्तुलित राख्न मद्दत गर्छ ।
चन्दनेमा गाउँलेलाई चरा नौलो नलागेपनि यहाँ आउने आगन्तुकका लागि यसको क्रियाकलाप हेरिरहुँ जस्तो लाग्छ । नेपालमा गरुडका सात प्रजातिहरु चराविदहरुले रेकर्ड गरेका छन । यिनमा लेसर, ओपनविल, वुलीनेक्ड,ब्ल्याक नेक्डलगायत छन ।

(यो फिचर कान्तिपुरको कोसेलीमा दुइ वर्षअघि प्रकाशित भइसकेको हो । मलाइ चाहिने बेलामा पढ्न छिटो भेटियोस भनेर ब्लगमा अपलोड गरेको हु । -भीम)

Tuesday, January 5, 2010

चरासँग यात्रा

साना नानीहरुलाई प्रश्न गरिन्छ 'ठूलो भएर के बन्ने ?' उतर आउँछ, 'डाक्टर बन्छु, म त इन्जिनियर बन्छु ,
अनि म नर्स बन्छु ।' उनीहरु जे बनुन तर, बालापनमा भनिएका कुराले क्यारियर त्यही बन्छ भन्ने छैन । अधिकांश युवा धेरै क्षेत्रमा हात हालेर
'ज्याक अफ अल' बनेको अनुभव गर्छन । केही 'मास्टर अफ
वन' बन्ने मार्गमा लाग्छन् ।
राजधानीभन्दा करीव ५०० किलोमिटर पूर्व सुनसरीको तरहरामा रहेका युवा फोटोपत्रकार यात्रा थुलुङ विस्तारै मुलधारको फोटो पत्रकारिताभन्दा आफ्नो क्षेत्रलाइ 'मास्टर अफ वन' बनाउने बाटोमा छन् ।
'मलाइ वाइल्ड लाइफ फोटोग्राफी औधि रुची लाग्छ' उनी भन्छन् । यस्तो रुचीले नै वितेका पाँच वर्षमा कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका क्षेत्रमा पाइने चराका तस्बिर संग्रहमा उनलाइ धनी बनाएको छ । उनीसँग अहिले यस क्षेत्रका चराका थरि थरि तस्बिर छन् । कुनै बेला राजधानीमा कानूनमा स्नातक पढन पुगेका यात्राको फोटो यात्रा यस क्षेत्रका अन्यभन्दा
केही फरक छ ।
'काठमाडौं बसेको ५२/५३ सालतिर पढदा पढदै रुचीले क्यामरा समाउने बनायो' उनी भन्छन 'तालिमपछि पत्रिकामै काम गर्नु थियो त्यो रहर पनि पुरा गरियो, पछि राजधानी बसिरहने स्थिति भएन ।' तीन भाइमध्येका
माहिला हुन उनी । भाइ पनि पढ्न अष्ट्रेलिया गएपछि तरहरा फर्केर घर सम्हाल्नुपर्ने जिम्मेवारी भयो । 'काठमाडौंको काममा पनि एक प्रकारको मजा थियो, उनी सम्झन्छन् 'जनआस्थामा काम गरिन्थ्यो,त्यो साथीहरुसँग फोटो गर्न कालापानी पनि पुगेको हो ।'
घर फिरेर आएपछि आफ्नो कामलाई एउटा क्षेत्रमा केन्द्रित गर्ने रहर आएपनि तीन वर्ष त्यसै वितेको उनी सुनाउँछन् । धराने सञ्चारकर्मीका साथ मुलधारको पत्रकारिताका लागि तस्बिरको काम पनि हेर्दै गरेका उनी फरक खालको रुचीकै कारण क्षेत्र फेरिएको अनुभव गर्छन । 'साथीहरुको सल्लाह थियो, टप्पु नजिक भएकाले चराको फोटो गर्न थाल्नु' उनले भने 'तर, यो कुरा अरु खालको फोटो गरेजस्तो सजिलो रहेनछ ।' चराका बारे अध्ययन गर्न किताबहरु संग्रह पनि थालेका उनी फोटो खिचेर फिरेपछि पनि त्यसको आनीबानी बारे जानकारी जुटाउन निकै कसरत पर्ने बताउछन् ।
'चाहिने कुरा
क्यामरा, लेन्स, ट्राइपोट र पेसेन्स, उनी भन्छन् 'सजिलो छैन चराको फोटो गर्न । मैले प्रयास थालेको मात्र छु ।' तस्बिरका लागि काम गर्नेहरु माझ आफुलाई केन्द्रित गराउने विभिन्न क्षेत्र रहेको उनी बताउछन् । भन्छन् 'एउटा क्षेत्र चाहि आफुले खास दख्खल राखेको क्षेत्र हुनुपर्छ, अनि मात्र काम गरेकोमा सन्तोष
हुन्छ , मेरो त्यही अभियान छ ।'
घरमा स्टुडियो खोलेपनि हिडिरहने उनको बानीलाई बाधा छैन । उनी भन्छन् 'मिसेजले स्टुडियोको काम हेर्छिन, अनि मात्र मलाइ डुल्न सम्भव भएको हो ।' पूर्व क्षेत्रमा
यतिखेर कोशीटप्पुका चराको तस्बिर खोज्ने जो कोही यात्रा थुलुङको सम्पर्कमा पुग्छन् । यात्रालाई चराको फोटोग्राफीमा जादा जानकारीमा सघाउने दुइ प्रँध्यापक छन् - केपी लिम्बू र डा. भरतराज सुब्बा । लिम्बू भन्छन् 'यात्रासँग रुची मिल्छ, उ फोटो खिचेर हिड्दैन, जे को फोटो गर्‍यो त्यसको जानकारी जुटाउछ ।' परिश्रमी बानीका कारण यात्रासँगका हिडाइहरु चरा अवलोकनमा सहयोगी भएको उनको अनुभव छ । प्राणीशास्त्रका प्राध्यापक डा. सुब्बा भन्छन् 'यात्रासँग यात्रा गर्नुको मज्जा अर्कै छ , उसले एकै ठाउँमा उभिएर फोटो खिच्न धेरैबेर लगाउछ, मलाइ पनि चराको जानकारी खोज्न नम्बर काउन्ट गर्न सजिलो हुन्छ ।'
पछिल्लोपटक मोरङको उर्लाबारीस्थित मंगलवारे पुगेको यो टोलीले त्यहाँका करमका अग्ला रुखमा गुँड लगाएका भुडीफोर गरुडको बानी र गुडबारे अध्ययन गरे । डा. सुब्बा भन्छन् 'चराको संसारबारे जानकारी संकलन गर्नुको रमाइलो बेग्लै खालको हुन्छ , यसले हाम्रा वरपरका अरु टेन्सन बिर्साउन मद्दत गर्छ ।' यात्राको चरा यात्रा आफैमा युवाहरुले एउटा क्षेत्रमा दख्खल बनाउन उदाहरणीय भएको उनको भनाइ छ ।

सिंघिया किनारको एउटा अभियान

कथामा बताइने देवीदेवताका लीलालाइ मूर्तिमा आकार दिनेहरु व्यस्त छन । केही ज्यावल लिएर सिमेन्टका प्रतिमामा टुक-टुक पार्दै । केही गिलो माटो र औजार लिएर मूर्तिका आँखीभौ,हात र टाउको मिलाउदै । दृश्य कुनै हस्तकला कारखाना वा संग्रहालयको होइन । विराटनगर-१ स्थित सिंघिया खोलासगै परोपकारघाटछेउको खुला मैदानमा यो एउटा अभियानले आकार पाइरहेको अवस्था हो । अभियान हो - एक हजार आठ मूर्ति तयार पार्ने ।
यहा एक/दुइ वा दस-
बीस होइन सयौं मूर्ति छन । र, यिनका बीचमा माटोको ३१ फीट अग्लो
शिवजीको मूर्तिमा आँखीभौं मिलाइ रहेका ४६ वर्षे पण्डित तपस पाल मुस्काउँछन् । 'यो त साँचो बनाउनलाइ हो, दुइ सहयोगीसगै जुटेका उनले भने 'बनेपछि प्लास्टोपेरिसको साँचो बनाउछु, अनि त्यसमा सिमेन्टको ढलाइ गरेपछिमात्र खास मूर्ति बन्छ ।' जातैले मूर्तिकार पाल । ध्यान अन्य मुरि्तमा छैन । 'सबैभन्दा ठूलो मूर्ति बनाउने मेरो जिम्मा हो, मेरो यसमै ध्यान छ' उनले सुनाए ।
भारतको पश्चिम बंगालबाट बाबुका साथ आठ वर्षको छदा नेपाल पसेको बताउने पालका लागि यसपटक सिंघिया किनारमा लगाउने मेलामा सबैभन्दा आकर्षक मूर्ति बनाएर दिनु कम चूनौतिको काम भने
होइन । धरान प्रवेशद्धारमा रहेको सिरिजंघा, लहानमा मधेस आन्दोलनका सहीद रमेश यादवलगायतका सालिक बनाइसकेका पालले भने 'यहा म पैसाको मुख हेरेर काम गर्न आएको होइन, यो मूर्ति नै मूर्ति भएको ठाउ बन्छ भनेर आफ्नो पनि
कृति रहोस भनेर आएको हो ।'
राजधानीमा मेटल क्राफ्टसका दुइ कारखाना चलाउने यी कलाकार भगवानका मूर्ति बनाउने जिम्मा पाएकोमा मख्ख मात्र छैनन । 'यसमा मेरो धेरै सपना छ, अर्धकदको आकारमा बनाइने मूर्ति राख्ने ठाउ देखाउदै भन्छन 'उदघाटन गर्नलाइ यसले माला लगाइदेओस यस्तो बनाउने सपना छ ।'
आफुहरुको कृति राम्रोमा दरियोस भन्ने सपना बोकेकाहरुमा पाल अग्रणी भएपनि यो भेला गगनशिव त्रिनेत्रेश्वर महादेव १००८ मूर्ति निर्माण समितिले जुटाएको हो । सचिव अमितकुमार चौधरी भन्छन 'यसको लागत धेरै ठूलो हुने भएको छ । तर, सबै दानमा चलाउने हाम्रो अभियान हो ।'
समितिले गत साउन दोस्रो सातादेखि यहा मूर्ति बनाउन सुरु गराएको हो । आगामी माघ अन्तिम सातामा सबै तयार पारेर एक महिने मेला लगाउनु समितिको पहिलो उदेश्य छ । 'सबै मूर्ति सिमेन्टका बलिया हुन भनेर बनाउन थालिएको छ, चौधरीले भने 'यसपालि एक सय आठवटा सिमेन्ट र अरु माटोका हुनेछन ।' सिंघिया किनारको करीव डेढ बिघामध्ये आधा जमिनमा बासका खर-परालले छाएका झुप्रामा मूर्ति राखिनेछन । अभियानका लागि समितिले तीन वर्षे योजना बनाएको छ । 'पहिलो वर्ष शिवरात्रीलाई ध्यानमा राख्दै मेला लगाउने, पछि सधैंका लागि यो ठाउलाइ तीर्थस्थलको रुप दिने, समिति सह-सचिव रामु कामतले भने 'अहिले दाताहरुले आ-आफ्नो
नाममा लागत दिएर सिमेन्टका मूर्ति राखिदिनोस भन्न थालेका छन ।'

उत्तरी डुबानदेखि दक्षिणी डुबान


स्तनधारी जीव डल्फीन नेपालमा कर्णाली र सप्तकोसी नदिमा पाइन्छ । कोसीमा डल्फीनका संख्या र अवस्था थाहा पाउन दुइ दिन डुंगा यात्राको मौका मिल्यो । राजावासदेखि ब्यारेज पुग्न दुइ दिन लाग्यो । त्यो यात्रापछि कोसेलीका लागि लेखिएको थियो । यो त्यही पाना हो ।  

Monday, January 4, 2010

कोसी ब्यारेजमा एउटा साँझ ।

धेरैपटक पुगेको यो सप्तकोसी नदिमाथि सुनसरी र सप्तरी जिल्ला जोडने पुलमा साँझ यसरी हेरेको थिएन । १२५० आइएसओ राखेर म्यानुअल लेन्सले हेर्दा यस्तो देखिने रहेछ ।

कसले सुन्छ कसका कुरा

यो तस्बिर १९ मंसिर आइतवार विहान विराटनगरको ट्राफिक चोकमा खिचेको हो । 'गरि खान पाउनु पर्ने अभियान' नाम दिइएको हस्ताक्षर संकलनलाइ केहीबेर उभिएर हेरियो । देश यस्तो भयो- विस्तारै बोलेको कसैले सुन्दैन । जेमा पनि आन्दोलनको सहारा । धर्ना, जुलुस र हडताल नभइ माग राख्नेहरुका आवाज त्यतिकै मत्थर पारिन्छन । गरि खान सबैले पाउनुपर्छ भन्नेमा दुइ मत छैन । मुलुक चलेकै त्यही आश्वासनमा छ । तर, यसरी हस्ताक्षर संकलन गरेर कसले कसलाइ दिने होला । सरकार फेरिएसँगै दलका आवाज र एजेण्डा फेरिने मुलुकमा यसरी हस्ताक्षर संकलन गर्नेको भलो होस ।

फेरिएका दैनिकी र फोस्रा संकल्प


अहिले दैनिकी केही फेरिएको छ । फेरिनु रहर रहेन । आफै हुन थाल्यो । ३१ डिसेम्बर बेलुकी विराटनगरको उदघोष दैनिकको कार्यालयमा अंग्रेजी नया वर्षको स्वागतका लागि 'खान्तेपिन्ते' को कार्यक्रम थियो । सुरु हुनु केही घण्टाअघि एउटा हिन्दी दैनिकको सप्लिमेन्ट्रीमा छापिएका कुरा मलाइ उदघोषका सम्पादक मोहन भण्डारीले देखाउनुभयो । त्यसमा नयाँ वर्षमा मान्छेले के के गर्छु भन्छ , अनि गर्दैन भन्ने लेखिएको रहेछ । विहान छिटै उठछु, व्यायाम गर्छु , मन्दिर जान्छु । धुम्रपान-मध्पान गरि्दन । खराब कुरा बोल्दिन । राम्रा संगतमा बस्छु । लगायत एउटा सादा जीवन उच्च विचार भन्ने भनाइलाइ सार्थक राख्न मानिसले सुधार गर्नुपर्ने आचरणका कुरामा संकल्प लिन्छ । अनि गर्दैन भनेर लेखिएको थियो । खबर रमाइलो र मननीय थियो ।
मलाइ लाग्यो , हो म पनि त्यस्ता संकल्प गरेर अडिग रहन नसक्नेमध्येको रहेछु । त्यो दिन मैले एक महिनापछि 'पिउने' जमघटमा भाग लिएको थिएँ । मान्छेले वाचा गर्नु हुदैन । संकल्प मात्र गर्नुपर्छ । अनि हल्ला होइन । मनन गर्नुपर्छ भन्ने मलाइ लाग्छ । तर, लागेका सबै कुरामा आफुले नियन्त्रण राखिरहन सजिलो छैन । मैले सकेको छैन । विहानमा चार घण्टा घरमा बितोस । मलाइ दिनमा तीन/चार घण्टा कतै गएर कुनै नयाँ विषयमा फिचर हुने कुराका टिपोट र तस्बिर गर्न मन लाग्छ । तिनलाइ लिएर फिरेपछि अफिसमा दुइ घण्टा कम्प्युटरमा बसेर त्यसलाई छाप्न योग्य बनाएर पठाउन मन लाग्छ । अनि साझ मैले जान मन पराउने बेकरीमा एक कप कफी पिउन मन लाग्छ । अनि घर गएर टेलिभिजनमा फिल्म हेर्न मन लाग्छ ।
मन लाग्नु र त्यसलाइ दैनिकी बनाएर चल्नु फरक हुन्छ । अहिले मेरो दैनिकी विहान १० बजे घरबाट निस्किएपछि राती ११ बजे फिर्छु । यसबीचमा समाचारजन्य सामाग्रीको खोजीमा लागेपछि अफिस पुग्छु । साँझ ७ बजे निस्कन्छु । अनि घर जान अघिको समय उदघोषमा पेजको डिजाइन बनाउदै बित्छ । अबेर पुग्दा पनि निन्द्रा छिटो आउदैन । अनि आँखालाइ काम दिन मोवाइलमा गेम खेल्नु नियमित बनेको छ । विहान साँढे छ बजे उठछु । टेबुलमा पत्रिका हुन्छ । कफी हालेर एक गिलास चिया पकाएपछि पत्रिका पढछु । अनि लोकल एफएम अन गरेर नित्य करम्मा लाग्छु । घरमा रहँदा मलाइ आफुले पकाएको खाना रुचीअनुसारको बनाउन मन पर्छ । र, बनाउँछु पनि । विराटनगर आएका केही महिना मैले काठमाडौंमा रहेका छोरा-श्रीमतिलाइ नियमित फोन गर्थे । अहिले उनीहरुले गरे भने मात्र गर्छु । लाग्छ, कुरा मात्र हुन्न । काम गरे पो उनीहरुका लागि पनि हुन्छ ।
दिउसो मेल चेक गर्न बस्दा अधिकांश समय मेरो जीमेलको च्याटमा म इनभिजिबल भएर बसेको हुन्छु । पाँच वर्षअघि जस्तो च्याटमा बस्ने अभिलाषा अहिले हराएको छ । साथीहरुको ब्लग हेर्छु । सिनेमा हेर्न हल नपुगेपनि तिनको समीक्षा पढन मन लाग्छ । फेसबुकमा साथीहरुको स्ट्याटस हेरेपछि पुग्छ ।
मलाइ भविष्यको त्यस्तो चिन्तालाग्दैन । बरु प्रत्येक बिहान आजको दिन कसरी ठीकसग बित्छ भन्ने मात्र लाग्छ । आज राम्रो बित्यो भने भोली अवश्य नै सजिलो हुन्छ । अफिसमा साथीहरुले कामका विषयमा नया केही एङगल ल्याउन, मैले फुराएका विषयमा पनि आफुलाइ लागेका कुरा भनुन । अनि विषयहरु गहकिला कसरी बनाउने
भन्नेमा मन लाग्छ । यद्यपि लागेजस्तो अलि भए झै लाग्दैन ।
अहिले केही सातादेखि स्नातोत्तरका सर डा. भरतराज सुब्बा, केपी लिम्बू र फोटोपत्रकार साथी यात्रा थुलुङसँग बाहिर कतै जाने योजना छैन । यसकारण म विराटनगरबाट बाहिर निस्केको छैन । उनीहरुसँग गत मंसिरमा कोसीटप्पुको सेरोफेरो घुमेपछि अब हामी माघमा बर्दिया जाने भनेको हो । तर, मिति तय भएको छैन । त्यो समूहमा हिडदा नयाँ केही तस्बिरको खोजी गर्न मिल्छ । क्यामरा, ट्राइपोर्ट,ल्यापटप र चरा साथी हुन्छन् । अरु ध्यान रहन्न ।
१९ पुस अर्थात हिजो विहान । युवा अभियानसग सम्बद्ध भाइ विशाल राइको फोनलाइ मैले टार्न सकिन । उनीहरुले गरिखान पाउनुपर्ने अभियानका लागि चलाएको हस्ताक्षर अभियानका तस्बिर खिच्न आउनै पर्‍यो । आए । अनि फेरि त्यो चिसोमा ७ किलोमिटर परको घर गएर खाना खान जान मन लागेन । मोहन दाइको फोन आयो । मोरङ-सुनसरीको सीमा नदि केशलियाको पुल भास्सियो भन्ने सुनेको बताउनुभयो । 'खाना खुवाउने भए म आए, जाउ, मैले भने । अनि उहाँलाइ लिएर केशलियाको पुलमा पुग्दा त्यस्तो केही थिएन । फेरि फोन गरेपछि थाहा भयो । चिमडीमा चन्दा-मोहनाको पुल पो रहेछ । त्यहाबाट फेरि पश्चिम लागियो । चन्दा मोहना सिंचाइको पुल जोड्ने बाटो भास्सिएको रहेछ । फोटो गरियो । फिरियो । अफिस फिरेर तस्बिर मेल गरियो । बाटोमा खिचेको आगो ताप्दै बालकहरुको तस्बिर ब्लगमा पनि राखियो । चिसोमा करीव ४० किलोमिटर यात्रा गरेर ल्याएका समाचारजन्य तस्बिरले मेरो अखबारमा स्थान पाएनछन । आज विहान हेरे । बाटोमा सजिलै खिचेको भुराहरुले आगो तापेको तस्बिर पूर्वाञ्चल संस्करण पृष्ठमा आएछ । यो नियमितता हो । पठाएका सबै तत्काल छापिनपर्छ भन्ने पनि होइन ।
दैनिकीमा असर गर्ने कुराहरुमा अहिले मलाइ मद्यपान गर्न मन लाग्दैन । निरुदेश्य हिडन मन लाग्दैन । बाइक कुदाइरहन मन हुदैन । खाने-पिउने बेलामा मैले भारतीय ट्रकका पछाडि धेरैमा लेखेको देखिने शब्द 'सोचो क्या जायेगा' पनि भन्न मन लाग्दैन ।


Sunday, January 3, 2010

COOL weather

This photo taken in 9 am today, at the route of southern village of Sunsari District, from Biratnagar. Child was burning lady's sandle for heat.

चिसो सबैलाइ समस्या पार्ने गरि भएको छ । आज यो फोटो सुनसरीको राजगञ्ज सिनवारी जाने क्रममा बाटोमा खिचेको हो । यी बालकहरुले तराइको भाषामा घुर भनिने आगो बालेर ताप लिइरहेका थिए । तर, बलिएको घुरमा साधन थियो-महिलाका हिलयुक्त पुराना सेण्डिल । रब्बर, प्लाष्टिक र यस्ता बाल्न नहुने कुराले सासलाई समस्या पार्छ । यिनले आरामले ताप्दै थिए । ठुला मान्छेहरु पर बसेर हेरिरहेका थिए ।


Friday, January 1, 2010

इ-मेलभन्दा पर्तिर

दार्जिलिङको कालिङपोङ गर्ल्स हाइस्कुलमा भौतिकशास्त्र पढाउने समिरन पालले क्यामेरा भएको मोवाइल किने । त्यसले खिचेका तस्बिर इ-मेलबाट आफन्तलाइ आदानप्रदान गर्दागर्दै विचार आयो - 'यसलाई ब्लगमा किन नराख्ने
?' जीमेलको च्याटमा भेटिएका उनले भने 'राख्दै गइयो,साथी पनि बन्दै गए । उनीहरुको हौसलाले पनि अझै धेरै फोटो गर्ने जागर बढदो रहेछ ।' सन २००७ मार्चदेखि
फोटोब्लगर बनेका यी शिक्षकले
आफ्नो पेजमा हालसम्म २ सय २० पटक तस्बिरहरु राखेका छन । उनका तस्बिरहरु हेरेर भिजिटरहरुले
गरेको 'कमेन्ट' को संख्या १ हजार ३ सय पुगेको छ । 'मलाइ ब्लगले नौलो संसारसग परिचित गराउछ, उनी भन्छन 'साथीहरुका तस्बिर हेर्दा आफुले केही फरक गर्नु उपयुक्त हुन्छ भन्ने लागिरहन्छ ।' उनले राखेका तस्बिरहरुमा दार्जिलिङका दृश्यमात्र छैनन ,
फुल-पात र तिनलाइ प्रकाशको अवस्था अनुसार फरक फरक समयमा हेर्दा कस्तो मोहक देखिन्छ भन्ने पनि छ ।
वेब पेज डिजाइनरलाइ सम्पर्क नगरी, डोमेन र होस्टका लागि रकम पनि खर्च नगरी आफुलाइ राम्रा लागेका कुरा इन्टरनेटमा राख्न चाहने भिजिटरका लागि ब्लग सजिलो माध्यम बनेको छ । धेरै वेबसाइटहरुले आफ्ना भिजिटरका लागि सितैंमा यो सुविधा दिएका छन । आफ्ना लेख,दैनिकी होस वा तस्बिरहरु । थरि-थरिका साइटले थरि-थरि सुविधा दिएका छन । फोटोब्लग, फेसबुक,
ट्याग्ड,फ्लीकर र ब्लगरडटकमलगायत यस्ता सयौं यस्ता साइट छन , जसमा रुची अनुसारको
छनोटको सुविधा भिजिटरलाइ छ । इमेलबाट आफ्ना कुरा र तस्बिर आदानप्रदान गर्न जानेकाहरुका लागि अलि अघि बढ्ने बाटो ब्लगले खुला गरेको छ । हटमेल र याहूका म्यासेन्जर, अनि गुगलको च्याटमा पनि बस्नेहरु घटबढ भइरहेका बेला नया खुल्दै गरेका साइटले दिएका यस्ता सुविधाले नेट ब्राउजरको बाटो फराकिलो हु“दै आएको हो । ब्लगहरुमा युजर बनाउनेका लागि आफ्ना कुरा लेख्ने मात्र होइन फोटो, रुचीका साइट र भिडियोका लिंक राख्ने सुबिधा पनि छन । फोटोब्लगरका लागि पेज बनाउन दिने
साइटले साथी बनाउन,प्रतिक्रिया दिन, आफुले मन पराएका अरुका तस्विर आफ्नो सूचीमा राख्न र पाहुना पुस्तिकामार्फत सल्लाह
दिन सकिने सुविधाका अप्सन पनि समावेश गरेको पाइन्छ ।
समीरनकै हाराहारी मितिदेखि फोटोब्लगर बनेकी मेडिकल जर्नलहरुमा लेख लेख्ने पोल्याण्डकी क्रिष्टिना नाइपलको पेज निरन्तर 'अप्डेट
' छ ।
पछिल्लोपटक गत सोमबार उनले पेरिसको फेशन कता पुगेको छ भन्ने देखाउन जुत्ताका तस्बिर ब्लगमा राखिन ।
मोटा ठूला हिलयुक्त जुत्ताका तस्बिर मुन्तिर उनले लेखेकी छन -पत्याउनु हुन्न भने हेर्नुस मात्र यसले काम गर्छ । 'ब्लग फरक खालको टेष्ट रहेछ, मैले जब थाले, निरन्तरता दिएकी छु ।' क्रिष्टिना भन्छिन ,'फोटोको ब्लगमा लेख लेख्दिन, यो ठाउ मान्छेलाइ बोर हुने कुरा राख्ने होइन ।' फरक स्वादका लागि फरक साइटहरुको उपयोग आवश्यक रहेको उनको बुझाइ छ । उनले युजर बनाएदेखि हालसम्म ९ सय ८९ पटक अप्डेट गरेर भिजिटरका ८ हजार ७ सय
५३ वटा प्रतिक्रिया प्राप्त गरेकी छन ।
कान्तिपुर एफएमका फोन-इन कार्यक्रमहरुमा कुनै समय विराटनगरबाट 'रामभरोस चुलबुले'को उपनाममा धेरै फोन गरेर छुट्टै पहिचान बनाएका पंकजहरि शर्माको पनि फोटोब्लग छ । पेजमा उनले मुलुकका अग्ला राजन अधिकारीसग खिचाएको तस्बिर देखिन्छ । तर, उनले करीव डेढ वर्षदेखि अप्डेट गर्न छाडेका छन । 'अहिले फेसबुक हेरिन्छ, उनले भने 'त्यही भएर त्यो ब्लग अप्डेट हुन छाडेको हो । कतिवटा साइट हेरेर सक्नु -' इटहरीको नमस्ते एफएममा सांगीतिक प्रतिभाको खोजी सम्बन्धी कार्यक्रम पनि चलाउन थालेपछि ब्लगबाहेक आफ्नो गजगज डटकम भन्ने साइट पनि चाहेजसरी उपयोगी बनाउन समय अपुग भएको उनी सुनाउछन ।
भारतको मुम्बइमा सिभिल इन्जिनियरिङमा स्नातक पढदै गरेका जोधपुरका आशिष समदरिया भन्छन् 'छनोटको
बाटो खुला भएपछि उपयोग किन नगर्ने -' रहरले सुरु गरेको फोटोग्राफीले उनलाइ तस्बिर संकलनमा धनी बनाएको अनुभव हुन्छ । उनी भन्छन् 'फोटो सबैले गर्नुपर्छ, अनि त्यो फोटो कहा कसरी र किन खिचिएको हो भन्ने जानकारी पनि अप्डेट गर्नुपर्छ ।' पाचवटा छुट्टाछुट्टै ब्लग बनाएका भारतको बेंगलोरका गोपाल एमएसले पुरानो फोटोब्लग अप्डेट गर्न छाडेका छन । बिज्ञापन एजेन्सी चलाउने गोपाल भन्छन् 'दिनहु कामको लोडले ब्लगमा फोटो अप्डेटको ध्यान हटदो रहेछ ।' इन्टरनेटको रुची कामको अनिवार्य तालिकाभित्र परेपछि मान्छेले छनोट गरेर हिड्नुपर्ने उनको बुझाइ छ । कामको बोझका कारण धेरैपटक इमेलको च्याटमा बस्दा पनि अरुले नदेख्ने 'इनभिजिबल' अप्सनमा आफुलाइ राखेर बस्नुपर्ने भएको बताउदै उनले भने 'साथीहरु आए भने कुराकानी सुरु हुन्छ, कामको मेलो हटछ ।' च्याटमा नियमित हुन नसकेपनि कुनै न कुनै ब्लग पेजलाई अप्डेट गर्ने रुचीलाइ निरन्तरता दिएको उनी बताउछन ।
झापाका कुमार लुइटेल र सुव्रत न्यौपानेले चलाएको ब्लग दुवैको दैनिकी भन्दा फरक छैन । कारण, दुवैले ब्लगमा जिल्लाका समाचार अप्डेट गर्ने गरेका छन । इटहरीस्थित सप्तकोसी एफएमको समाचार शाखामा कार्यरत शेखर ढकालले ब्लगलाइ कामभन्दा केही फरक बनाएका छन । उनले कविता र मुक्तक राखेर ब्लगमा आफ्नो साहित्यिक रुचीलाइ समेटेका छन । फोटोपत्रकार शैलेन्द्र खरेलले आफ्नो ब्लगपेजलाई नौलो रुपमा पस्केका छन । उनले सामान्यभन्दा अलि पृथक शैलीमा खिचिएका तस्बिरलाई जानकारीसहित राख्ने गरेका छन् । अंग्रेजी राम्रो जानिदैन भनेर मन मार्ने नेपाली इ-मेल युजरहरुका लागि नेपाली भाषाका विभिन्न फन्टलाइ युनिकोडमा रुपान्तर गर्न सकिने प्रविधि उपयोगी बनेको छ । फेसबुक चलाउने धेरै नेपालीले अहिले कान्तिपुर वा प्रितीलगायतका फन्टलाइ सजिलै नेपाली युनिकोडमा रुपान्तर पाएको सुविधा उपयोग गर्दै आएका छन ।
दुबइमा रहेका छोरा र धनगढीमा रहेकी छोरीको ढिपीले इ-मेल चलाउन सिकेका विराटनगरको स्नातकोत्तर क्याम्पसका नेपाली विषयका प्राध्यापक कृष्ण वस्ती फेसबुकको यात्रामा रमाएका छन् । 'रहरले सिकियो, उनले भने 'धेरै उपयोगी रहेछ ।' प्राध्यापनका २९ वर्षमा फेसबुकका माध्यमले धेरै बाहिर गएका आफ्ना विद्यार्थीलाइ भेटेको उनको भनाइ छ । 'नेपाली युनिकोडले काम गर्न धेरै सजिलो बनाएको छ, इ-मेल आदानप्रदान निरन्तर भएपछि साहित्यका साइट र ब्लग हेर्न पनि जान्ने भएको उनको भनाइ छ । 'ब्लग बनाउन जानिसकेको छैन तर, त्यति गाह्रो पनि रहेनछ, तयारीमा रहेका उनले भने 'अहिले इ-मेलबाटै नेपालीका धेरै कुरा सम्पादनका लागि मकहा आउन थालेकाले ब्यस्त भएको छु ।' सकारात्मक उदेश्यका लागि इन्टरनेट चलाउन चाहने सबैले उपयोगी कुरा पाउने उनी बताउँछन् ।