भीडहरुमा फरक लाग्ने ती मान्छे। नजिक गएर दुई स्न्याप खिचेपछि उनले सोधे - भाइ पत्रकार हो ? हो भन्ने जवाफमा उनले भने - 'अलि टिवी विभीमा आउनेगरी खिच्नोस्।' म मुस्कुराएँ। उनले टोपी फुकाले। अनि अलि सजिलोसँग उनको स्टुडियो पोज लिइयो।
२०६५ कात्तिक ९ गते शनिबार। हाटखोलामा कांग्रेसले गरेको आमसभामा मैले जुँघे मान्छेको फोटो लिँदाका बेला बताएको हुँ। तीन वर्षदेखि विराटनगर-१८ को नयाँ बस्तीमा घर बनाएर परिवारलाई नेपालमा थान्को लगाएका उनको नाम हरिबहादुर क्षेत्री रहेछ। वर्ष ४० । जुँघा पालेको पाँच वर्ष भएछ।
१५ वर्षदेखि कोलकाताको टाटिया कन्स्ट्रक्सन नामक ठेकेदार कम्पनीमा सुरक्षागार्ड काम गर्दै आएको बताएका उनले भने - 'बुझनुभो भाइ, मेरो जुँघालाई कम्पनीले महिनाको पाँच सय भत्ता दिन्छ। इण्डियाको पत्रिका, च्यानलहरुले पनि खबर बनाएको छ।'
उनको जवाफ थियो - 'फुल्न थालेको छ दाह्री अलिअलि। हेर्नुस मेरो चुल (कपाल) फुलेको छ र ! छैन नि ?' उनी मज्जाले हाँसे। अनि भने, 'घ्यु दल्छु भाइ जुँघामा घ्यु।'
क्या मज्जा सोख थरि-थरिका छन्। जेहोस बाघजुँघे भेटदा रमाइलो लाग्यो। म प्राय साथीहरुलाइ भन्छु र, आफू पनि सतर्क हुन्छु। तस्बिर लिँदा त्यो विषयले क्यामराको उपस्थिति थाहा नपाओस्। अनि नेचुरल खिच्न सकियोस्।
कांग्रेसका सभामा खिचिएका भिडका तस्बिरहरुमध्ये यिनै जुँघेको फोटो जानी जानी खिचियो। सुरुमा दुई स्न्याप भनिएन। तैपनि स्टुडियोमा खिचेजस्तैगरी खिचियो।
उनलाई जानकारी नदिइ नेचुरल पोज खिच्न नपाउँदा मन खल्लो छ यी सट हेरेर। तर, रमाइलो पनि लागेको छ। यस्ता पनि मान्छे छन्। रहर छ। जीवन छ। अनि जुँघा छ।