.JPG)
मंसिर ११-१५ का चार दिन भारतको कलकता घुम्ने अवसर मिल्यो । यो यात्रामा धेरै अविस्मरणीय अनुभवहरु छन्। विराटनगरबाट जोगबनी हुँदै रेलमा १२ घण्टामा पुगिने रहेछ।
महँगो बजार। भेटिने अधिकांशले नयाँ भन्ने जानेमा ठग्ने बानी। सार्वजनिक र सामरिक महत्त्वका स्थलमा तस्बिर खिच्न प्रतिबन्ध। बंगाली भाषाको बाहुल्य।
यात्रा समग्रमा रमाइलो रहयो। धेरै कुरा त्यहाँ देख्दा हामीकहाँ किन कसैले यस्तो ध्यान दिँदैनन ? सरकार किन जनताका लागि सुविधा पुग्ने र दर्शनीय स्थल बनाउन ध्यान दिँदैन भन्ने लाग्यो। ती सबै फुर्सदमा लेखौंला। अहिलेलाई केही तस्बिरमात्र अपलोड गरेको छु।
***
हाम्रा र भारतका सहरहरुमा एउटा खास फरक भनेको दुरीको प्रष्ट अनुभव हुने। भारतलाई रेलले जोडेको छ। सहरतहरु फराकिला र लामो दुरी यात्राबाट मात्रै यताउता पुगिने। कोलकाता नै करिब २०० किमिको रहेछ। जता गए पनि ट्याक्सी, सार्वजनिक यातायात।
यहाँ एउटा अनुभव हुन्छ- कति धेरै मान्छे, कति फोहोर। घुम्ने ठाउँ छन्। ब्रिटिसले शासन गर्दाताकाका संरचनाहरु संरक्षण गरेर राखिएका छन्। ती संरचना नै अहिले घुमन्तेका लागि दर्शनीय स्थल छन्।
केही ठाउँ पछि बनाइएका छन्। जता पनि पैसा लाग्ने, ठगहरुको जगजगी भएको सहर।
***
त्यो फोटो
माथि एउटा फोटो छ - पुलमा बस। यो कोलकाताको हावडा पुलमा सार्वजनिक यातायात हो। यो फोटो लिँदाको कहानी रमाइलो छ।
हामी हावडा पुल नजिकै थियौं। ओम्नी भ्यानमा म पछाडि सिटमा थिएँ। चालकलाई मैले सोधेँ - ये ब्रिज का फोटो ले सकते हैं?
- हाँ हाँ क्यों नही
- रेक्ट्रिक्सन होगा तो ?
- शौक से लिजिए । कौन क्या बोलेगा।
मसँग क्याननको अटोफोकस डिजिटल क्यामरा थियो। एलसीडी घुमाउन मिल्ने क्यामरा। मैले अन गरेँ। २/४ स्न्याप खिचेँ। अनि गाडीमा साथीहरुसँग कुराकानीमा व्यस्त भएँ। हामीलाई कोलकातामा विराटनगरकै कसैले गाडी व्यवस्था गरिदिएका थिए। ती को थिए भन्ने हाम्रो समूहका अग्रज मोहन दाईलाई थाहा थियो। कोलकातामा रेलबाट उत्रेपछि लिन आएको थियो त्यो भ्यान।
चालक गफाडी थिए। केहीबेरमै पुरानो चिनजान जसरी कुराकानी भएको थियो। उनले आफू कोलकातामा २०/२२ वर्षदेखि गाडी चलाइरहेको बताएका थिए। उनले जहाँ-जहाँ लैजान्थे, गाइड जसरी बताउँथे।
अचानक पछाडि एम्बुलेन्सजस्तो साइरन बज्यो। हेरेँ, प्रहरीको गाडी थियो। त्यो गाडीले हाम्रो गाडीलाई ओभेरटेक गर्यो। अनि केही अगाडि गएर बाटो छेक्यो। हाम्रो गाडीलाई प्रहरीले रोकिन संकेत गरे।
दुई प्रहरी ओर्लिए। हाम्रो गाडीमा आए, मेरो क्यामरा खोसे। ड्राइभरलाई भने - तु बाहर आ।
चालक बाहिर निस्किए। हामी पनि बाहिर निस्कियौँ। मलाई एउटा प्रहरीले हपार्ने पारामा सोधे - फोटो क्यों लिया?
मैले भनेँ- यहाँ लेना मना था क्या ? हम तो बाहर से आएँ है, पता नहीं था।
उनले मलाई उत्तर दिएनन्। रिसाएको भने देखियो। हाम्रो चालकतिर फर्कियो। उसको सटको कलर पक्रिएर थर्कायो - तेरे को तो पता था। बोला क्यों नहीं?
चालक उत्तर दिनै नसक्नेगरी आत्तिएको थियो। पाहुना टोलीसँग कम्फर्टेबल हुन शायद चालकले लापरवाही गरेको थियो। उसले हामीलाई ढाँटेको थियो। उसले प्रहरीलाई हात जोड्यो र, भन्यो - बाहर का गेस्ट है साब। छोड दिजिए।
-फाइन लगेगा, थाना चलना होगा
-छोड दिजिए साब, ये नये लोग है
-चल चल गाडी चला। तु हमारे पिछे आ।
हाम्रा टोलीका अग्रज मोहन दाईले प्रहरीलाई भन्नुभयो - देखिए हम लोग प्रेस से हैँ।
त्यसपछि भने प्रहरी केही नरम भए।
- आप को पता होना चाहिए, ये जगह फोटो लेना मना है
- पता नही था, मगर प्रेस को तो रेट्रिक्सन नही होना चाहिए।
- आप लोगों का आइडी है ?
मैले मेरो प्रेस पास देखाएँ। ती प्रहरीले लिए, ओल्टाइपल्टाइ हेरे।
- ठिक है आप लोग हमारी गाडी के पिछे फलो करते आओ।
-क्यो ?
- क्यों क्या ! कुछ प्रोसिजर है जो थाने मे होगा।
हामीहरु उनीहरुका पछि जान तयार भयौँ। गाडी अघि बढ्यो। केही अघि बढेपछि फेरि रोक्ने संकेत भयो। अघिपछि दुवै गाडी रोकिए। एउटा प्रहरी उत्रिएर आयो, मेरो आइडी कार्ड फिर्ता दियो।
अनि भन्यो - आप लोग जाओ।
यति गलफतीपछि सवालजवाफका लागि कसैको मुड थिएन। हामी बोलेनौँ। ट्याक्सीचालकलाई भन्यौँ- चलिए आगे लिजिए।
खासमा त्यो बेला लिएका फोटा कुनै विशेष प्रयोजना प्रयोगका लागि थिएनन्। नखिचेको भए पनि केही जान्थेन। खिचे पनि ती कतै अर्थपूर्ण तवरले प्रयोगमा आएनन्।
***
कोलकाता घुमघामका लागि रमाइलो रहेछ। साइन्स सिटी, इको पार्क, इन्डियन म्युजियम, कालीघाट देवी मन्दिर, भिक्टोरिया मेमोरियल, हुगली नदी किनारमा अवस्थित बेलुर मठ, पार्क स्ट्रिट। यी ठाउँ घुमघामका लागि रमाइलो हो।