Thursday, April 8, 2010

फेरि बन्द आज

आज ०६६ चैत २६ बिहीबार। तराई भनौं वा मधेसका जिल्ला। आज र भोलि बन्द छ। कुनै बेलाका शिक्षक उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल भन्ने पार्टीले बन्द आह्वान गरेको हो। उनीहरुले हिजो बिहान विराटनगरस्थित पत्रकार महासंघमा पत्रकार सम्मेलन गरेका थिए। पहिले नेपाली कांग्रेसमा सक्रिय राजनीति, मन्त्रीसम्म भएपछि बाहिरिँदै अहिले फोरमका योजनाकार बनेका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले बन्दको घोषणा गरेका हुन्।

हामी सञ्चारकर्मी। बितेका केही वर्षदेखि 'सेल्फ सेन्सरशिप'को एउटा अभ्यासमा छौं, त्यो भनेको बन्दको आह्वान गरिए त्यसको खबर नदिने। आशय, त्यो दिइए बन्द गर्ने प्रोत्साहित हुन्छ भन्ने हो रे ! जे होस, बन्द गर्नेले छाडेका छैनन्। उनीहरुका आह्वानका खबर फैलिन परम्परागत सञ्चारमाध्यम पनि नचाहिने। हामीले आफ्ना सञ्चारमाध्यममा फलानो दिन फलानोले बन्द गर्ने भने भनेर समाचार नदिएपनि जनताले थाहा पाएकै छन्। थाहा नपाउनेले पहिले दुःख पाएका छन्। अनि मजाले थाहा पाएका छन्।
 
दलहरुका लागि बन्द शक्ति परीक्षणका लागि एउटा फरक एडभेञ्चर हो। यसको अभ्यासका चुक्ने कमै छन्। सबैलाई आफू बडेमान आकार भएको लाग्ने रहेछ। अनि बेला न कुबेला बन्द गरें भनिदिए पुग्छ। युग बितेको छ। अहिले बन्दको आह्वान जसले गरोस्, गाडी फुटाउने समूह अर्कै छ। उसलाई नौलो बहादुरीको अनुभव गर्नु परेको छ। सिकार हुनेहरुको नाता बन्द गर्ने र गराउनेसग पर परसम्मको हुँदैन। तर, समय चलेकै छ।
 
कुनै समय। मलाई साल याद भएन। विनोद खन्ना लामो समयपछि पुनः हिन्दी चलचित्रमा आए। फिल्म थियो - इन्साफ। त्यसका सह-खलनायक दिलीप ताहिललाइ जब जब पर्दा देखाइन्थ्यो। उनले भन्थे - 'दिल करता है कि सुट कर दुँ' यो संवाद क्लिष्ट हो। तर, यथार्थ यस्तै छ। मन विद्रोही हुन खोज्छ। सबै थोक छाडेर कहिलेकाही फरक अभियानमा सामेल हुन मन लाग्छ। यो गलत विचार हो। तर, लाग्छ बजारको बढेको महँगीलाई धान्न सक्ने मानिसको आयस्ता बढेको छैन। आम नेपाली जेमा व्यस्त छन् तिनको वास्ता नेताहरुलाई छैन। 

नेताहरुलाई जसरी पनि कमाउनु छ। कमाउनका लागि सत्तामा जानु छ। सत्ता पाउनका लागि कुनै पनि दलका नेता हुनै पनि हत्कण्डा अपनाउन तयार देखिन्छन्। कुरा ठूला गर्छन्। आकाश पाताल जोडेर मुलुकको कायपलट गरौंला झैँ। 

वास्तविकता यस्तो छैन। सञ्चारमाध्यमहरु कारखाना जस्ता छन्। जे बिक्छ त्यो लेख्ने। समाचारको प्रभाव हुन्छ हुन्न, त्यसको खोजी नगर्ने। कहिलेकाही लाग्छ, मुलुक यसरी कहिलेसम्म चल्छ होला ?

देश एउटा क्लब जस्तो छ। पदाधिकारी आउँछन्, आसन ग्रहण गर्छन्। भाषण गर्छन्। जसरी चल्न हो भगवान भरोसा चलेको छ। जनतालाई भ्रष्टाचारमुक्त प्रशासन चाहिएको छ। रोजगारी चाहिएको छ। परिश्रमको मूल्य चाहिएको छ। संघीयता अनि प्रदेशका कुरा नेताका लागि हुन्। बगैंचामा थरि-थरि जातका फलफूल लगाएमात्र त्यसको परिभाषासार्थक हुन्छ। तर, नेता जातीयताका कुरा गर्छन्। संघीयताका कुरा गर्छन्।

मुलुकको अहिलेको आवश्यकता भुलेर विदेशीको आडमा सत्ता टिकाउने र भत्काउनेमा व्यस्तता छ। यो देशलाई विदेशी रुचिको क्रिडास्थलभन्दा फरक नबनाउनेमा नेताको तल्लीनता अनुभव हुन्छ। कुरा नमिठो हो। तर, यस्तै छ। आज बन्द छ। बन्द गरिएको छ। बन्द भइरहनु हाम्रा लागि नौलो होइन। सत्तामा जाने र पुगेकाले टिकाउने अभ्यासमा जनता बेरोजगार छन्। सबैसँग समूह छ। बल छ। जसले जे चाहेको छ त्यो पाएको छ।

बन्द जनताका लागि होइन। जसले गरोस् त्यसले हित अवश्य गर्दैन। तर नेता थाकेका छैनन्। बन्द गरेको गरेकै छन्। हामी उनीहरुको भाषणलाई लागू गराउन तल्लीन छौँ। म्युजिकल चियरको खेलजस्तो सत्ता छिमेकीको इसारामा कुर्सी पाउनले पाएकै छ। यो देशको कसरी पो भलो होला ?