दुबईबाट मेरा एक मित्रले घरमा फोन गरेछन्, -'टेलिभजनमा मेरो साथीलाई देख्दा खुसी लाग्यो ।' संविधानसभा निर्वाचनको बेला थियो त्यो। मैले कान्तिपुर टेलिभिजनका लागि त्यसबेला राजधानीबाट आएका साथी भुवन केसीसँगै 'लाइभ रिर्पोटिङ' को मौका पाएको थिएँ। उसले दुबईबाट हेरेछ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मत खसाल्दै गरेको हामीले 'लाइभ' प्रसारण भ्याएका थियौँ। आमाले फोन आएको कुरा सुनाएपछि मैले साथी सम्झेँ। उसले फोनमा मेरी आमालाई भन्यो रे - 'आमा मैले त देशमा बाँच्न जानिनँ। फेरि विदेशिएँ। मेरो साथीलाई टीभीमा हेर्दा आँसु आयो। खुसी लागेर फोन गरेको। उसको मोबाइल लागेन।'
अनि मैले सम्झेँ बाल्यकालको मेरो त्यो स्कुले साथी। हरि प्रधान । उ आफूलाई 'हरिश' भन्न मन पराउँथ्यो। जोसँग १६ वर्षदेखि काम गर्ने बाटो अलग छ। अहिले पनि मैले भेट्ने ठाउँमा छैन। शायद, ऊ इमेल चलाउँदैन होला। जति 'सर्च' गरे पनि फेसबुकजस्ता इन्टरनेट सञ्जालमा उसलाई भेटेको छैन। मसँग फोन नम्बर छैन। के काम गर्छ होला? उसले पढ्न सकेन। यहाँ रहेर कुनै खास पेसा पनि गर्न सकेन। अन्ततः साउदी अरब हान्निएको थियो। १० वर्ष भएछ पछिल्लो भेटको। ऊ त्यसबेला ६ वर्षपछि घर आएको थियो।
घरमा आएका बेला उसले धेरै कुरा गरेको थियो। घरमा दुःखका आँधी चल्दा पनि आउन नसकेकोमा उ अत्यधिक दुःखी थियो। भन्थ्यो - 'आमालाई प्यारालाइसिस हुँदा म घरमा हुनुपर्थ्यो। त्यसबेला पैसा होइन छोरो चाहिने बेला थियो। म थिइँन। ईश्वरलाई धन्यवाद छ मेरी आमाको मुख देख्न पाएँ।' उसका कुराले अब विदेश नजाने, यहीँ बसेर केही गर्ने आभास मैले पाएको थिएँ।
फिरेर आएपछि उसले विवाह गरेको थियो। त्यसबेला पत्रकारितामा म भर्खर अभ्यासको क्रममा थिएँ। जागिरको खोजीले मलाई यो क्षेत्रमा ल्याएको थियो। चिनी कारखानाको जागिर मिल बन्दसँगै सकियो। अनि म स्नातक पढ्दै लोकसेवालगायत विभिन्न जागिरे परीक्षा दिँदादिँदै पत्रकारितातर्फ हान्निएको थिएँ।
मसँगै कलेजमा आइए पढेको मेरो साथीले पढाइ बीचैमा छाडेको थियो। कारण, प्रथम वर्षको परीक्षामा उसको अन्तिम एउटा पेपरको जाँच दिँदै गर्दा उ चिटसँग समातिएको थियो। निरीक्षकले सो दिनको उसको पेपर क्यान्सिल मात्र गरिदिएनन्, अघिल्ला सबै पेपर रद्द गरिदिएका थिए। युवावस्था। तातो रगत, हामीले ३/४ जना साथी मिलेर त्यो निरीक्षकलाई भेटियो भने काट्ने भन्दै धेरै दिनसम्म खोजेका थियौँ। भेटिएन।
रिजल्ट आएपछि उसको एउटामात्र पेपरको नम्बर मार्कसीटमा थियो। पढाइबाट उ यति निराश भयो कि दोस्रो वर्ष पुरा नगरी कलेज छाड्यो।
उसको विवाहमा जन्ती जाँदा मेरो भूमिका फोटोग्राफरको थियो। रील लाग्ने एनालग एसएलआर क्यामेरा मैले धक मानेर चलाएको थिएँ। कारण, त्यसबेलासम्म मैले एसएलआर चलाउन जानेको थिइनँ। पत्रिकाका लागि फोटो खिच्न थालेको थाहा पाएकाले उसले मलाई बिहेमा पनि त्यो काम गर्न आग्रह गरेको थियो।
त्यसबेलासम्म मैले चलाउने क्यामरा अटोफोकस थिए। अटोफोकस चलाउन सजिलो छ। एन्टी-लाइट नपारी विषयवस्तुतिर सोझयाएर सटर लिभर थिच्यो। फोटो राम्रै आउँछ। तर, एसएलआरमा सटर स्पिड, एपरेचर र फोकस तीन कुराको ज्ञान अनिवार्य हुनुपर्छ। उसले हातमा थमाएको क्यामेरा अझ असजिलो थियो। कतिपयमा एसएलआर भइकन अटोफोकसका अप्सन पनि हुन्छ। तर, त्यसमा थिएन। सबै म्यानुअल खिच्नुपर्ने।
सामान्य केही जानकारी भएकाले मैले उसको आग्रह टार्न सकिनँ। त्यसबेला तस्बिरहरू राम्रै आए। गाली खाइएन। मन लगाएर उमेरमा बिहे मान्छेले एकपटक गर्छ। संस्कारले क्यामेराम्यानका लागि ठाउ सुनिश्चित गर्दैन, जहाँबाट उसले पोज बनाइ बनाइ स्मरणीय तस्बिर खिचोस्। यद्यपि दुलहा-दुलही र उनीहरूका आफन्तका लागि तस्बिरमा यी क्षण संग्रहणीय मानिन्छन्।
त्यसबेला सुनसरीको चक्रघट्टी भन्ने ठाउँ महेन्द्रनगर गाविसमा पर्छ भन्ने मलाइ थाहा थिएन। त्यो बिहेमा समय निकालेर चक्रघट्टीमा काठको इनार र सुकुल बुन्दै गरेका दृश्य भएका दुई तस्बिर पत्रिकामा छापिएपछि आएका प्रतिक्रियाबाट ठेगाना लेख्नमा मेरो गल्ती थाहा भएको थियो। मैले त्यो गाविसलाई चक्रघट्टी लेखेछु। पाठकले त्यो महेन्द्रनगर गाविस हो भन्दै प्रतिक्रिया पठाएका थिए।
साउदीबाट फिरेपछि घरजम गरेर बसेको मेरो साथीले कमाएको उडाएन। तर, यहाँ रहँदा दिगो पेसा गर्न नसक्दा भएको पैसा सबै घरका लागि खर्च गर्यो। शायद सिध्यायो। यदाकदा भेट हुदा ऊ भन्थ्यो 'मैले तँ जसरी नेपालमा बाँच्न जानिनँ। अब फेरि बाहिरै नगई भएन।' अहिले दुबई पुगेको छ। वर्षौ भयो भेट छैन।
यसै साता मेरा अरु दुई स्कुले छिमेकका साथीहरु फरक-फरक दिन भेट भए। बहराइनबाट ६ वर्षपछि तीन महिनाका लागि भन्दै फिरेको सुकु बज्राचार्यलाई भेट्दा मलाई उस्तो केही लागेन। कारण, सुकु पित्तलको मूर्ति बनाउने काम गर्थ्यो। उ धेरै वर्ष पाटन बसेर त्यही कामको जागिरमा बहराइन पुगेको थियो। उ विराटनगर धेरै बसेन। स्कुल छाड्नेबित्तिकै कामका लागि राजधानी हान्निएको थियो।
तर छिमेकको स्कुले रवि श्रेष्ठलाई भेटेपछि मैले हरिलाई सम्झिएँ। रवि सात वर्षपछि फिरेको थियो। उसको घर मेरो नजिकै भएपनि आउजाउ थिएन। म उसका परिवारलाई त्यसति सारै चिन्दिन। उसको बुवा र भाइलाई चिन्छु। उसका केस फुल्न थालेछन्। मोटाएर अलि पाको उमेरको भएजस्तो देखिएको थियो रवि।
मैले सोधेँ- 'के छ रवि । फेरि जाने गरि आको हो ?,' उसले भन्यो- 'हो। यहाँ बसेर के गर्न पो सकिन्छ र ! जाने नि' उसले सजिलो उत्तर दियो। अनि मैले यसरी भेट हुनेहरुलाई सुनाउने पुरानै कुरा भनेको थिएँ। उमेर छउन्जेल बाहिर गएर पछि आउँदा चाहिँ के नै गर्न सकिएला र ! अलि समय गयो। आएपछि बसेर यही केही गर्नुपर्छ। सधैं यसरी गइरहनु हुँदैन। युवा यसरी विदेशिएर हुन्छ ? उसले आलटालको उत्तर फिरायो।
उसले मलाइ प्रस्टीकरण दिइरहनु र मैले लिइरहनु उचित थिएन। तापनि श्रम गर्न कै लागि बाहिर जाने हो भने निश्चित केही समय बसेर फिरेपछि यतै बाँच्ने बाटो खोज्नुपर्छ भन्ने मेरो राय हो। तर, उसले 'ल यहाँ बसेर म के गरुँ त ?' भनेर सोध्दा मैले यस्तो चाहिँ उचित भनी उसलाई सुझाउन सकिनँ।
मुलुकको अर्थतन्त्रमा विदेश गएर काम गरिरहेकाहरूको ठूलो भर छ। विदेश जानु हुँदैन भन्ने होइन। तर, काम गर्ने उमेरकाहरू बाहिर गएपछि मुलुकमा दक्ष कामदारको अभाव हरेक क्षेत्रमा खड्किएको अनुभव हुन्छ। कामका क्रममा म धेरै यस्ता ठाउँ पुग्न पाएको छु- जो आफ्नै मुलुकका राम्रो आयका क्षेत्र हुन्। तर, यहाँ काम गर्नेहरू धेरै संख्यामा बाहिरबाट ल्याइएका छन्। कामका लागि विदेशिने क्रमले नै उनीहरूलाई पनि यहाँ ल्याएको हो। तर, कुनै एक क्षेत्रमा सीप बनाउने हो भने देशभित्रै काम गर्न नसकिने भन्ने छैन।
आज मुलुकका धेरै क्षेत्रमा नेपालीको उपस्थिति घट्दो छ। सहभागिता घट्दो हुनुका पछि काम नगर्नेभन्दा पनि राम्रो दामका लागि कामको खोजीमा बाहिरिएकाहरूकै कारण यस्तो भएजस्तो लाग्छ। मानिसले काम गर्ने आफू र परिवारका लागि हो। उनीहरूको खुसीमा साथ रहनुको रमाइलो भिन्न छ। निश्चित समय बाहिर बसेर आएपछि घरमा रहेर यहीँ कतै केही गर्ने जाँगर हुँदा कति जाती हुन्थ्यो होला।