Tuesday, March 3, 2026

खुसी

घरबाट निस्कँदा ब्यागको सानो पकेटमा इयरपड राखियो/राखिएन भन्ने अफिस छुटेपछि मात्रै थाहा लाग्छ। अफिसबाट घरको दुरी ७.५ किलोमिटर हो। जब साँझ ५ बज्छ, हात ब्यागका पकेटमा जान्छन्। इयरपड खोज्छन् र कानमा घुसार्छन्।

समस्या चाहिँ के हो भने मैले भर्खरै मोबाइल फेरेँ। यसमा मेमोरी कार्ड हालेको छैन। थोरै गीत छन्। पुरानोमा थुप्रै गीत थिए- जगजीत सिंह चित्रा सिंहको गजलदेखि सुजन चापागाईंसम्मका गीत। तर, नयाँ मोबाइलमा थोरै गीत छन्। जे होस् घर पुग्दा ४/५ वटा गीत सुनिभ्याइन्छ। 

म हिँड्ने रुट हो, धोबीखोला करिडोर। घर पुग्नलाई म त्यो रुटका चारवटा पुल क्रस गर्छु। दुइटा त खासै छैन। एउटा पुलमा मुनि आधा भाग पानी जमेको हुन्छ। अर्को चाहिँ मेरा लागि खास छ। कारण त्यो पुल आइपुग्न लागेपछि म साइकलका पाइडल बढी बल लगाउँछु। छिटो कुदाउँछु। त्यहाँ मैले तीनवटा कुकुर भेट्छु। 

पुलभन्दा करिब १०० मिटर वर कहिलेकाही दुइटा खैरा कुकुर भेटिन्छन्। एउटा भुक्छ, अर्को भुक्दै टोक्न पछ्याउँछ। सानो-सानो छुच्चो कुकुरको भुकाइ अत्याउने खालको, कर्कश छ। त्यसले भेटे पक्का टोक्छ भन्ने लागिरहन्छ। तर, यी कुकुरसँग सामना सातामा २/३ दिन मात्रै हुन्छ। 

ती दुइटालाई छलाएपछि पुलको आडैमा अर्को एउटा कुकुर भेटिन्छ। सेतो रङको। त्यो कहिले कता, कहिले कता ठाउँ सरेर बसिरहेको हुन्छ। आफ्नै सुरमा भुकिरहेको हुन्छ। बाटोमा आउजाउ गर्नेसँग बेफिक्री देखिन्छ त्यो। कोही आओस् या जाओस् त्यसले न भुक्छ न त प्रतिक्रिया जनाउँछ।

त्यसलाई हेरेर बेग्लै प्रकारको आनन्द लाग्ने। कहिले गाडीको मोबिलमा लडिबुडी गरेरजस्तो जिउमा काला टाटा लिएर सडकमा बसेको हुन्छ। कहिले कसैले नुहाइदिए जस्तो सफा, सेतो टलक्क देखिन्छ। म त्यो सेतो कुकुरलाई बोलाउँदिन। साइकलमा मेरो आफ्नै गति हुन्छ। तर, त्यसले जहिल्यै ध्यान खिच्छ। 

सडक र पुलको धेउछाउ देखिएन भने कहाँ गयो होला भन्ने लाग्छ। हेर्छु, एउटा घरको गेट अगाडि बसेको देखेपछि ढुक्क लाग्छ। सोच्छु - कहिलेकाहीँ त बिस्कुट बौकौँ, यसलाई दिएर जाउँ। तर, जहिल्यै बिर्सन्छु। त्यसले मलाई चिन्दैन। हजारौं मान्छेको दोहोरीलत्त चल्ने सडकमा म एउटामाथि त्यसले कसरी ध्यान राखोस्।

कसैको नजरमा पर्न कुनै खास घटना हुनुपर्छ। हामीबीच त्यस्तो केही भएको थिएन। ती परका दुइटा छुच्चाको सामना गरेपछि एउटा प्रतिक्रियाविहीन देखेर मलाई अनौठो लागेको हुनुपर्छ। त्यसैले यो सेतो कुकुर सम्झना भयो।

अफिस जाँदा तीनैवटासँग देखभेट हुन्न। फर्कँदा एउटा न एउटासँग सामना सधैंजसो हुन्छ। त्यसैले त्यो पुल नजिक आएपछि कानमा जुनसुकै गीत किन नबजोस्, ध्यान ती प्राणी कता के गर्दै होलान् भन्ने हुन्छ।

एक दिन तीनवटैसँग जम्काभेट भएन। देखादेख पनि भएन। भोलिपल्ट दुइटा छुच्चा भेटिए, तेस्रो देखिएन। तेस्रो दिन तीनवटै थिएनन्। चौथो दिन त्यो खेद्ने छुच्चो सानो कुकुर थियो, अरु दुइटा थिएनन्। 

करिब ८/१० दिन त्यो सेतो निस्फिक्री बस्ने कुकुर देखिएन। कौतुहल रह्यो- कहाँ गयो होला? गाडीको ठक्करले मर्‍यो की, कतै गयो? १४/१५ दिन बिते, अहँ त्यो देखिएन। त्यो नदेखिँदा नरमाइलो लागिरह्यो। केही दिन त अफिसमा पनि मेरो ध्यान त्यसले खिच्यो। आखिर कहाँ गयो होला? पक्कै दुर्घटनामा परेको हुनुपर्छ। 

जिज्ञासा यति बढ्यो की म एक दिन फर्किँदा घर आउन घर आउन हतार नगरी त्यसलाई खोज्न थालेँ। कसैलाई सोध्न चाहिँ अप्टेरो लाग्यो। तर, त्यहाँ निकैबेर वरिपरि चक्कर लगाउँदा पनि त्यो 'सेते'को नामनिसान थिएन। निराश भएर फर्किएँ। एकबाजी सोच्दा यो निराशा ममा किन आयो भन्ने अनौठो पनि लाग्यो।

एक महिना बित्यो। त्यो फेरि देखिएन। अब त ती दुई छुच्चा पनि देखिन छाडेका छन्। महानगरले भूस्याहा मार्न छाडेको छ। संख्या नबढोस् भनेर गर्भ निरोधक सुई लगाएर छाडिदिने गरेको छ। कतै सुई लगाउँदा त्यसको साइड इफेक्टले त मरेको होइन? 

मनमा अनेक कुरा खेले। 

डेढ महिना बित्यो। अब मैले सेतेलाई बिर्सिएँ। त्यो पुलमा आइपुग्दा पनि त्यो हुन्छ भन्ने आस हरायो। 

एक महिना २० दिनपछि त्यो फेरि देखियो। उस्तै। सफा सेतो। पुल छेउ उभिएर भुकिरहेको थियो। मलाई रोकिँए। हेरेँ। बेग्लै प्रकार हर्ष लाग्यो। खै किन हो आँखा रसाए।  साइकल रोकेर हेरिरहेँ। त्यो आफ्नै सुरमा भुकिरहेको थियो। लाग्यो, गएर अँगालो हालौँ र सोधौँ- यत्तिका दिन कहाँ हराएको थिइस् ? (कथा)  

No comments: