Monday, October 25, 2010

हिउँचितुवा पच्छ्याउँदै

- आनन्द गौतम
                       ताप्लेजुङको  घुन्सा बस्ने हिमाली चुन्दाकको बाल्यकाल हिउँचितुवाको हैरानी खेप्दै बित्यो । त्यो जन्तुबाट आफ्ना पशु जोगाउन चिन्ता र चितुवालाई कसरी मार्ने भन्ने उनलाई सधैं लागिरहयो । गोठ लिएर जंगल जाने चुन्दाकको पहिलो ध्यान चौरी र याकलाई हिउचितुवाको आक्रमणबाट बचाउनका केन्द्रित रहन्थ्यो । चरनमा लगेका चौरी,याक र तीनका बाछाबाछीलाई हिउ“ चितुवाले आक्रमण गर्थ्यो । उनी चितुवा मार्न बाटो ढुकेर बस्थे । खम्बाछेन छेउको नाकथुनमा गोठ लगेको बेला चितुवाले चौरीको बाछा खाइदयो । रीसको झोकमा उनले चितुवाका तीन बच्चा मारिदिएको एक दसक अघिको घटनाको सम्झना अहिले पनि ताजै छ ।   
'गोठ रुङन बसेको थिए, चौरीका तीन बाछा हराए, उनले अतित सम्झँदै भने 'खोज्दै जाँदा बिरालाका जस्ता तीनवटा चितुवाका बच्चा भेटेको थिएँ । त्यसको नजिकै तीनवटै बाछा चितुवाले मारेर लडाएको रहेछ ।'  बाछा मारिएको घटना थाहा भएपछि बुवाआमाको गाली खाने डरले उनले चितुवाका तीनैवटा बच्चा उठाए । 'मैले बोरामा हालेर लगेको थिएँ, उनले भने 'बुवालाई देखाएँ अनि घुन्सामा बगाइदिएँ ।' घटनाको रातभर गोठमा माउ चौरीहरु बाछो खोज्दै कराए । नजिकको भीरमा आफ्ना बच्चा हराएको जनाउ दिदै 'हुँ हुँ' गर्दै चितुवाको रोएजस्तो आवाज आइरहयो । 'त्यो रातभर चितुवाले बच्चा खोज्दै कराएको सुनेर मैले नकाम गरेछु भन्ने भइरहयो, उनले भने 'त्यसपछि यिनलाई कहिल्यै केही गर्दिन भन्ने लाग्यो । मैले कसम नै खाएँ ।' 
तीनै घुन्साका चुन्दाक अहिले हिउचितुवाको सबैभन्दा नजिकका साथी बनेका छन । उनको अध्यक्षतामा यहा घाङलुङ हिउचितुवा संरक्षण समितिसमेत गठन  गरिएको छ । उनीसगै समितिमा आबद्धको दिनचर्या अहिले हिउचितुवाको संरक्षणका काममा बित्ने गरेको छ ।  
               स्थानीयस्तरमा संरक्षण समिति बनाएर काममा जुटेका गाउलेले लामो समयदेखि अहिले चितुवालाई नजिकबाट  नियाल्न भने पाएका छैनन् । उनीहरुले मांसाहारी यो जन्तुको संख्या याक, नाक मारेको संख्या, पाइला गणना गर्दै र त्यसको पिसाबको गन्धले अनुमान गर्दै आएका छन ।  बर्सेनी जंगलमा अलिअलि हिउ जम्मा हुन थालेपछि उनीहरुको खोजी अभियान सुरु हुन्छ । 'हिउ जमेको बेला संख्या पत्ता लगाउन सजिलो हुन्छ, स्थानीय डण्डु सेर्पाले भने 'यो बेला पाइलाको छाप देख्न सकिन्छ ।' उनका अनुसार ओडारहरुका चितुवाको गन्ध भेटिन्छ । ढुङ्गैढुङ्गा भएको अग्लो ठाउमा बस्न मन पराउने चितुवा रातीराती आहाराको खोजीमा सक्रिय हुन्छ । 
             चालु वर्षको अनुगमनले घुन्सा र आसपासको क्षेत्रमा हिउचितुवा ४५ देखि ५० वटाको संख्यामा भएको अनुमान  समितिका सदस्यहरुको छ । अघिल्लो बर्ष ३० देखि ३२ वटासम्मको आकडा थियो । लाक्पा छेतेन सेर्पाले भने 'यो बर्ष १५ देखि २० वटासम्म बढेको हुनुपर्छ । हामीले गणना गर्दा त्यस्तै पायौं ।' सेर्पाका अनुसार यो बर्ष मात्रै दुधपोखरी क्षेत्रमा चितुवाले चारवटा वस्तु मारेको छ । रामजेल, याङमा, जिङसाङलापास नाकामा र माथिल्लो गिरिगिल्लामा उल्लेख्य हिउचितुवा रहेको अनुमान गरिएको छ । 'नजिक जान सकिदैन, उनले भने 'टाढाबाट हामीले खिचेका फोटामा चितुवा स्पष्ट छैन ।'  
                ३ हजार मिटरदेखि ५ हजार ४ सय मिटरसम्ममा यो जन्तुका लागि करीब ३० हजार वर्ग किलोमिटर क्षेत्रफल उपयुक्त वासस्थान मानिन्छ । हिमाली भेगका आठ वटा संरक्षीत क्षेत्रमा पाइने यो जनावर कञ्चनजंघा संरक्षण क्षेत्रमा भने याङमा, ओलाङचुङगोला, घुन्सा, लेलेप, याम्फुदिन क्षेत्रमा पाइने तथ्यांकमा उल्लेख छ । हिमालीका अनुसार संरक्षण क्षेत्रको रामजेल, खाम्वाछेन, नाक्छेन्दा, जानु वेसक्याम्प, थाङगाछेन, नाङगोला पास, सिसियर, गिरिगिल्ला, रामदान, रोनाक, पाङपेमा, जिम्वुबारी, पियुङ, लुम्बासाम्बा, फाङजाथुङसा, घुन्साछागा, थाङगाछेनलगायतका क्षेत्रमा पाइन्छ । साइटिस अनुसूचीमा सूचीकृत यो जनावर नेपालका उच्च हिमाली क्षेत्रहरु शे-फोक्सुण्डो, अन्नपूर्ण, सगरमाथा, लाङटाङ, कञ्चनजंघा संरक्षण क्षेत्रमा पाइन्छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची-१ तथा आइयूसीएन रेड डाटा बुकमा समेत उल्लेख गरिएको छ ।  मुलुकमा यसको संख्या ५ सयको हाराहारीमा रहेको अनुमान छ ।  
              आठदेखि नौ बर्षसम्म बाच्ने यो जनावर हल्का खैरो रङमा कालो थोप्ला भएको ठूलो टाउको लामो पुच्छर भएको हुन्छ । जंगली भेडा, बाख्रा, कस्तुरी मृग, र मुसा प्रजाति खाएर बाच्ने यो जन्तुका लागि चोरीसिकार र वासस्थान विनास मुख्य संकट बनेको छ ।
            कञ्चनजंचा संरक्षण क्षेत्र आसपासमा स्थानीयवासीका लागि यो जन्तु घरपालुवा पशुको शत्रु हो । पछिल्लोपटक हिउचितुवाले खाएका घरपालुवा जनावरका लागि पशु बीमाको कार्यक्रम ल्याइएको छ । चितुवाले नै मारेको ठहर भएका करिब ३५ वटा पशुलाई बीमाअन्तर्गत क्षतिपूर्ति पनि दिइएको स्थानीयवासीले बताए । 'एउटा याक मारिदा १५/२० हजारको क्षति हुन्छ, डुण्डुले भने 'व्यक्तिगत क्षति सहेर हिउचितुवा जोगाउने कुरामा कोही सहमत थिएनन् । बीमा कार्यक्रमपछि मान्छेको धारणा फेरिएको छ ।' 
तस्बिरमा 
- हिमाली चुन्दाक र डण्डु सेर्पा खम्वाछेन क्षेत्रमा हिउचितुवा खोज्दै ।
- हिउचितुवाले खाएको याक हेर्दै अनुगमन समिति सदस्य ।
- मृत भेटिएको चितुवाको छाला नाप्तै ।
तस्बिरहरु : लेखक र कञ्चनजंघा संरक्षण समिति

(जैविक विविधताको विषय रुचाउनेका लागि पठनीय होला भन्ने उदेश्यले यो स्टोरी कान्तिपुर दैनिक कोसेलीको ०६६ चैत ६/ मार्च २०, २०१० को पूर्वाञ्चल संस्करणको अंकबाट साभार गरिएको हो । )

हिउचितुवाका बारेमा अझ बढी जान्न मन लागे तलको लिंकमा जान सकिन्छ 


No comments: