नतिजा अनपेक्षित आयो। हार ब्योहोरेको मन लिएर कक्षामा फिर्दा उत्साह सेलाएको थियो। दुई साताको रिहर्सलले नपुग्ने रहेछ कम्पिटिसनका लागि। नानीहरुले प्रतिष्पर्धीलाई उछिन्न त के टप थ्रीमा पनि पर्न सकेनन्। नतिजाले नजानिँदो पाराको तनाव भइरहेको थियो। राम्रो सिकाउँछु भन्ने क्षमताको घमण्ड चुर-चुर भएको अनुभूति थियो। सहकर्मी शिक्षकहरूले मुखेञ्जी केही भनेनन्। 'ब्याकबाइटिङ चाहिँ खुब हुने रहेछ, उनी सम्झन्छन्, 'पछाडि कुरा काटेको थाहा पाएपछि झन निराशा बढयो। फेरि क्लास गर्न मन मर्यो।'
पूर्वाञ्चलका कलाकर्मीबीच पछिल्ला केही वर्षयता प्रतिभाशाली देखिएका कोरियोग्राफर साइमन राजवंशी (३०) को मगजमा दसकअघिका संघर्षशील ती दिन स्मरणमा ताजा छन्। 'मैले सिकाएको नमुना स्कुलको टोली कम्पिटिशनमा सबैभन्दा लास्टमा आएको थियो,' उनी भन्छन्, 'त्यसले देखायो कल्चरल डान्सको कोरियोग्राफीमा म वीक थिएँ।'
कजेल पढ्न मोरङको सोराभाग-३ बाट नजिकको सहर विराटनगर आएको राजवंशी परिवारको केटो। पकेट खर्चका लागि घरलाई दुःख दिने मनशाय थिएन। त्यसैले तीनवटा स्कुलमा सातामा पालो मिलाएर नृत्यका कक्षा चलाउँथ्यो। 'अनि कल्चरल डान्स सिक्न म काठमाडौं हान्निएँ, त्यहाँ सिक्न पाइयो, इन्स्टिटयुटमा आफ्नो कक्षा सकेर पनि दिनभरि बस्ने गरेको सुनाउँदै उनी थप्छन्, 'दुई वर्षको कोर्स ६ महिनामै सिध्याइयो।' फिरेर आएपछि उनले पारंगत पारेको समूहले कल्चरल डान्समा प्रथम स्थानको पुरस्कार जित्यो।
०००
'उसले हामीलाई गुनासोको मौकै दिँदैनथ्यो, दाजु सुरज भन्छन्, 'स्कुलमा पढाइ राम्रो थियो। पढाइ राम्रो भएपछि उस्को डान्स क्रेजमा हामीले कसरी डिस्टर्ब गर्ने ?' साइमनका पिता पेसाले भेटेनरी चिकित्सक हुन्। उनले थोरै समयमात्र सरकारी जागिर खाए। पहाड सरूवा भएपछि जागिर छाडे, अनि गाउँको बजार कर्सियामा पसल राखेर काम गर्दै आएका छन्। 'साइमन र म दुई भाइ मात्र हौ, गाउँको बसाइ भए पनि पढेलेखेका बुवाआमाका कारण हामीलाई आफूले छानेको काम गर्न बाधा भएन,' सुरज भन्छन् 'त्यसैले साइमनलाई घरबाट कुनै बाधा थिएन। उ आफ्नो रूचिको काम गर्न स्वतन्त्र छ।'
सुरज सम्झन्छन् - भाइ सिनेमा हेर्न औधि रुचाउँथ्यो। गीत बजे नाच्न अघि सर्थ्यो। गाउँटोलका कार्यक्रम र पूजाआजामा साइमनको खोजी हुन्थ्यो। 'नाच्न नपाए उ हामीसँगै पनि रिसाउँथ्यो,' उनले भने 'ठीकै छ, उसको रूचि हो तर, यही पेसा गर्ला भन्ने लाग्दैनथ्यो। हामीले विचार गर्दा यसको स्कोप देखिन्नथ्यो।'
०००
०५४ मा एसएलसी दिएपछि विराटनगर आएर खोजी गर्दा उनले नृत्य प्रशिक्षक नवीन लुइँटेललाई भेटे। त्यसबेला वीरेन्द्र सभागृहमा हुन लागेको कार्यक्रम निम्ति रिसर्हल चल्दै थियो। एकजना कलाकारकी आमाको उपचारका लागि आयोजना गरिएको च्यारिटी कार्यक्रम थियो त्यो। 'उहाँले मलाई सिकाउने भन्दा पनि जानेको गीतमा नाच्नुपर्छ भन्नुभयो,' साइमन सम्झन्छन्, 'खिलाडियोका खिलाडीको मै हुँ सीधे साधे अक्षय अक्षय भन्ने गीतमा नाचेको थिएँ। स्टेप बिग्रिएन। सबैले राम्रो भनेका थिए। म फुरूक्क परेको थिएँ।'
'नवीन सर बितिसक्नुभयो, उहाँको भनाइ अहिले पनि सम्झन्छु, डान्स शोखका लागि गर्नु, पेसा चाहिँ नबनाउनु भन्नुभएको थियो,' उनी बताउँछन् 'तर, शोख नै आज पेसा भयो।' काठमाडौंमा तालिम लिएर विराटनगर फिरेपछि उनले डान्स इंस्टिटयुटको तयारी गरे। त्यही समय गोल्छा समूहले यहाँ फाइनआर्ट सम्बन्धी स्कुल खोल्ने तयारी गरिरहेको थियो। सञ्चालक राज्यलक्ष्मी गोल्छाले उनलाई बोलाइन्। त्यसपछि उनको यात्राका आरोह नै फेरिए।
इंस्टिटयुटका लागि उनको लागेको खर्च फाइनआर्टले दिने भएपछि बाटो फेरिएको थियो। गोल्छा समूहको स्कुल अहिले यूरो किड्सको नामबाट चलेको छ। यही स्कुलले उनलाई राम्रा शिक्षक बनाउन चेन्नई र सिंगापुरमा तालिमको व्यवस्था मिलाइदिएको हो। 'फाइन आर्ट ज्वाइन गरेपछि मैले चेन्नई र सिंगापुरमा तालिमको मौका पाएँ,' साइमन बताउँछन्, 'डान्सका प्रकार अनि त्यसका लागि गरिनुपर्ने तयारी, अनि के सिक्ने, कसरी सिकाउने भन्ने थाहा भयो।'
०००
जमाना फेरिए पनि जता जुन संस्कृतिको प्रभाव बढी छ, त्यहाँ त्यस्तै कुराका चाख राख्नेहरु बढछन्। धरानमा पाश्चात्य संगीतको मोह बढी छ भने विराटनगरका तन्नेरीको जमातमा हिन्दी सिनेमाका संगीतले बढता प्रभाव पारेको छ। धरानमा डान्स इस्टिट्युट चलाउने साइमनका साझेदार देवराज खड्का भन्छन्, 'विराटनगरजस्तो कहाँ हो र ! धरानका केटाकेटी ब्याले, ज्याज, साल्सा र कन्टेम्प्रोरी डान्स मन पराउँछन्।' साल्सा र ज्याजका लागि साइमनको खुबीलाई उनले नजिकबाट हेरेका छन्। 'हो, उसले वेस्टर्न चाहिँ राम्रो सिकाउँछ,' भन्छन्, 'उसले बाहिर गएर तालिम लिन पाएर पनि यस्तो भएको हो।'
नेपाली परम्परागत नृत्यमा रूचि एक प्रकारले अनिवार्य मानिए पनि विराटनगरमा जस्तो हिन्दीको प्रभाव धरानमा कम रहेको खड्काको बुझाइ छ। 'कल्चरल सबैतिर चल्छ, चाहिन्छ,' उनी थप्छन्, 'तर, वेस्टर्न मिक्स भयो भने कोरियोग्राफीको मजा नै छुट्टै छ। त्यसैले अहिलेका भाइबैनी साइमनको सिकाइमा रमाउँछन्।' धरानमा डान्स सिक्ने तन्नेरीको संख्या सयको हाराहारीमा छ भने विराटनगरमा डेढ सय छ।
त्यसो त धरानमा खड्का र राजवंशीले मिलेर चलाएकाबाहेक पनि आधा दर्जन डान्स इंस्टिटयुट छन्। तिनमा पुराना र अनुभवी प्रशिक्षकहरूले काम गरिरहेका छन्। विद्यालयहरूका लागि प्रशिक्षकको उत्पादनमा यिनै इंस्टिटयुटले सघाएका छन्। 'अरूभन्दा फरक हामीकहाँ केही छ भने त्यो वेस्टर्न थीममा सिकाउन सक्ने खुबी नै हो,' खड्काले भने, 'त्यसमा साइमनलाई सबैले रुचाएका छन्।'
मोरङको सोराभागजस्तो गाउँको केटोले ब्याले, साल्सा र ज्याज त्यसै सजिलै सिकेको भने होइन। साइमन सुनाउँछन्, 'चेन्नई र सिंगापुरको तालिमअघि मलाई डान्सको सिलेबस थाहा थिएन। नाच्थें तर, त्यसलाई कसरी के भन्छन् भन्ने थाहा थिएन। त्यसअघि तालमेलका तरिका मेरा आफ्नै रहेछन्।'
०००
'ज्याज भन्नलाई मात्र सजिलो, पुरा कोर्स सिध्याउन १२ वर्ष नै लाग्ने रहेछ,' साइमन भन्छन्, 'चार वर्ष मद्रासको कोर्स गरियो, २ वर्षे कोर्स सिंगापुरको।' चेन्नई र सिंगापुरमा प्रशिक्षण गर्दा बडी ल्याङवेज केही फरक महसुस भयो। मुम्बईका तुलनामा चेन्नईमा बन्ने चलचित्रमा डान्सको स्तर र प्रयोग धेरै अघि रहेको उनले देखे।
शरीरमा लचकता चाहिन्छ। खानेकुरामा ध्यान दिनुपर्छ। एउटा डान्सरले शरीर फूर्तिलो राख्न चनाखो जीवनशैली जरूरी रहेको उनले चेन्नई प्रशिक्षणका क्रमबाट बुझेका हुन्। 'दिउसो सुत्न हुँदैन, खानामा कार्बोहाइटे्रड हुने चामल र पिठोको मात्रा कम सेवन गरेको जाती,' उनी प्रशिक्षार्थीका लागि हुनुपर्ने तयारीका कुरा बताएर आफ्ना कुरा भन्छन्, 'मेरो हाइटले मात दियो नि। ५ फीट १ इन्च मात्रै हो, तर, डान्सलाई हाइटले बाधा गर्दैन। सिकाउन चाहिँ छेकेको छैन।'
चलचित्रमा अभिनय गर्ने मनशाय राखेर यो क्षेत्रमा फाल हाल्नेहरुले डान्स सिक्नैपर्ने उनलाई लाग्छ। 'कोरियोग्राफी गर्ने अग्रजहरु भन्छन् हिरो-हिरोइन नै मान्दैनन्, आफूलाई जसरी सजिलो लाग्छ त्यसरी कुनै कुनै स्टेपमा नाच्छन्,' उनले भने, 'यस्तो भयो भने नेपाली डान्समा प्रयोग कसरी गर्न सकिन्छ?'
निर्माणधीन नेपाली चलचित्र 'मिस यु' को एउटा गीतमा कोरियोग्राफी गरेर विराटनगर फिरेका उनलाई आफूले चाहेजसरी गीतमा गर्न नपाएजस्तो लाग्छ। भन्छन् 'हामीकहाँ अझै ट्रेडिसनल पारा गएको छैन। राम्रो डान्स कम्पोज गरेर फिल्ममा उतार्न जति पोख्त कोरियोग्राफर हुनुपर्छ, त्यति नै मेहेनत हिरो-हिरोइनले पनि गर्नुपर्छ।' त्यसका लागि गीत-संगीत पनि सुहाउँदो हुन जरूरी उनले बताए। ठमेलको भीभा डिस्कोमा दिलिप रायमाझी र नम्रता श्रेष्ठका लागि 'मिस यु' मा कोरियोग्राफी गरेका उनी सन्तुष्ट भने छैनन्।
०००
यी तन्नेरी कोरियोग्राफर अहिले व्यस्त छन्। दुई ठाउँका इंस्टिटयुट, एउटा स्कुल, बेला बेलाका स्टेज प्रोग्राम अनि चलचित्र र म्युजिक भिडियोका लागि उनले काम गरिरहेका छन्। तन्नेरी टोलीका लागि भारतको लखनउ, दिल्ली र मुम्बईमा आयोजना भइरहने कार्यक्रमका लागि आउजाउको मेसो व्यस्त पार्ने अर्को काम भएको छ। काठमाडौंका कोरियोग्राफरहरूले पनि राजवंशीलाई बोलाएर गीतहरूमा काम लिइरहेका छन्। नेपाली टोली लिएर दिल्ली, लखनउ र मुम्बई आउजाउको क्रम निरन्तर छ। तर, उनलाई लाग्छ नेपाली चलचित्रमा डान्समाथि प्रयोगपरक विषय भए काम देखाउन सकिन्छ।
परम्परागत शैलीभन्दा भिन्न केही काम हुनसक्छ। निर्माणाधीन 'मिस यु' र लक्ष्मीनाथ शर्माको 'सुनको बिहानी' का लागि काम गरेका उनले नेपाली चलचित्रका सम्भावनाहरु देखेका छन्। 'हामीकहाँ कथाले मागोस् नमागोस् प्रयोगभन्दा बढी परिस्थितिसँग सम्झौता गर्ने चलन रहेछ। त्यो हट्नुपर्छ,' भन्छन् 'अनि फिल्मको गीत जिम्मा दिएपछि कोरियोग्राफरले भनेजस्तो गरिनुपर्छ।'
(कान्तिपुर कोसेलीको ०६७ पुस १७ शनिवार पूर्वाञ्चल संस्करण पेजबाट साभार )

