गाउँमा जन्मेको शिशुको न्वारनका लागि बिजोर दिन छानियो । १, ३, ५ वा ७ यस्तै कुनै । टोलभरिका सबैलाई निम्तो । ठूलो भाडामा उसिना चामलको भात । धेरै घरमा सधै पाक्नेभन्दा पृथक स्वाद छ । परिकारको नाम- निमदामणि । कारण हो, निमको तीतो हुनु । निमका हरिया पात भुटेर पिसेपछि बनाइएको धूलो यसमा मिसाइएको छ ।
'संस्कारको प्रसाद हो, सबैले खानै पर्छ, मोरङको रंगेली-८ आमतोलाका परमेश्वर मुर्मु भन्छन् 'हाम्रो यो परम्परागत खाना हो । यो यस्तै सांस्कृतिक विधिका दिनमात्रै पाक्छ । पेट सफा हुन्छ ।'

निमको परिचय धेरैलाई गराइरहनु पर्दैन । कारण, हरिया पात, साना दाना फल्ने यो वनस्पति गुणकारीमा पर्छ । अधिक जानकारी नराख्नेहरुलाई पनि थाहा हुन्छ, बेग्लै प्रकारको तीतो हुने नीमका हाँगा टुक्रा पारेर 'दतिवन' गरे मुख र दाँतका रोग हट्छ । पातलाई बालीमा रोगकीरा हटाउन ओखतीका रूपमा चलाइन्छ । यसले धेरै प्रकारका रोगमा ओखतीको काम गर्छ ।
इन्टरनेटमा सर्च गरे भेटिने वीकीपेडियाको पृष्ठमा लेखिएको छ- औषधीय गुण भएको नीमसँग धेरैका परम्परागत संस्कार जोडिएको छ । कतिलाई यो संस्कारमा नभइ नहुने वनस्पतिमध्ये पर्छ । सन् १९९५ मा यूरोपियन पेटेन्ट अफिसले 'एन्टी-फंगल' उत्पादनका लागि निमको पेटेन्ट अधिकार अमेरिकी कृषि विभाग र डब्ल्युआर ग्रीस एण्ड कम्पनीलाई दिएको थियो । तर, यसलाई भारतले चुनौती दिँदै आफूकहाँ २००० वर्ष पहिलेदेखि प्रयोग हुँदै आएको दाबी गर्यो। पेटेन्ट अफिसले भारतलाई अग्राधिकार दिएपछि डब्ल्युआर ग्रीस असन्तुष्ट रहेको वीकीपेडियामा उल्लेख छ।
कथा जैविक अधिकारका मामिला केलाउन लक्षित छैन। अब फर्कौं मुर्मुको गाउँमा। सतार परम्परालाई परिष्कृत गर्दै आएको परमेश्वरको परिवारको अभ्यास धेरैका लागि नौलो छ।
०००
भारत, विहारको बथनाहाका ३३ वर्षीय अजय हेमरम नसोचेको दुर्घटनामा परे। सधैं टेम्पोमा चालकसँगैको सीटमा उनलाई बस्न मन पर्थ्यो। घर फर्किरहेका बेला विपरीत दिशाबाट आएको टेम्पो जुध्यो। दुर्घटनामा उनको दायाँ तीघ्रामा दख्खल पर्यो। 'हाड नै भाँचिएछ, पटनामा उपचार गराउन पुगेँ,' उनी भन्छन्, 'तीघ्रामा स्टील त हालिदिए, बारम्बार फिजियोथेरापीको चक्कर छुटेन।' उपचारका आठ महिनापछि पनि तंग्रिन नसक्दा उनी अहिले मोरङ आमतोलाको मुर्मु उपचार केन्द्रमा छन्। चार वर्षको छोरा र श्रीमतीसहित उपचारमा बसेका उनी भन्छन्, 'यहाँ आएको अढाइ महिना भयो। अहिले बिसेक हुँदै आएको छ।'
वीरगंज-६ कुमाल टोलका ६० वर्षीय भक्ति गेलाल एक वर्षदेखि नसासम्बन्धी रोगले पीडामा छन्। भन्छन् 'वीरगंजमा मात्रै हो र, पटना-बनारससम्म उपचार लाउन पुगेँ। बीसको उन्नाइस भएन।' हेर्दा सामान्य देखिने उनलाई बेला बेला हिँड्न समस्या हुन्छ। गोडा चल्दैनन्। उनी रक्सौलको कस्टम कोलोनीमा सुरक्षा गार्डको काम गर्थे। एक प्रकारको बाथ रोगले च्यापेका उनले नाम चलेका अस्पतालका न्युरोलोजी, अर्थोलगायत विभाग धाए पनि सुधार नभएपछि खोज्दै मुर्मुकहाँ आइपुगेको बताए। भन्छन्, 'चार महिनादेखि यहाँ छु, अब केही सुधार महसुस हुन थालेको छ।'
सवारीचालक काम गर्ने मोरङ सिसवनी जहदा-५ का २४ वर्षीय सन्तोसकुमार मुखियाको बायाँ गोडा मारुती भ्यानको पछाडि चक्काले च्यापियो। विराटनगरको कोइराला निवास गेट अगाडि उनी उभिएका थिए। पार्किङका लागि ब्याक गरेको गाडी हुत्तिएर पछाडि आएपछि उनको गोडा कर्याप्पै पार्यो। धेरै बिरामीलाई धरान-विराटनगरका अस्पताल लैजाने-ल्याउने गरेका उनी भने अस्पताल गएनन्। 'ठूलो कुरा खर्चको हो। गरिबले अस्पतालको महँगो शुल्क तिर्न गाह्रो छ,' उनी भन्छन्, 'मलाई यहाँको उपचार विधि थाहा थियो। त्यसैले यहाँ आइपुगेँ।' आठ/आठ दिनमा पट्टी फेर्दै उनी अहिले निको हुने चरणमा वैशाखी टेकेर आउजाउ गर्छन्।
०००
उपचारको केन्द्र भन्नेबित्तिकै चिल्लो बाटो, सुकिलो भवन, सेतो एप्रोन लगाएका स्वास्थ्यकर्मी झट्ट मगजमा आउँछ भने मुर्म उपचार केन्द्र त्यो भन्दा भिन्न छ। कतै विज्ञापनजन्य सामाग्री भेटिँदैन। विराटनगरबाट १८ किलोमिटर पूर्व। कालोपत्रे सडक छाडेर ग्राभेलको झण्डै एक किलोमिटर दक्षिण-पश्चिम। आमतोलामा अंग्रेजी 'एल' आकारको झुप्रो देखिन्छ। वरपर बजार-पसल छैन। न त सहरिया विकास बुझाउने केही यो टहरोमै देखिन्छ। बास-कर्चीको बेरा, माटोको भित्तो। गाईभैंसी बाँध्ने थलोजस्तो देखिने घरको आँगन अलि फराकिलो छ। यही हो मुर्मु (सतार,सञ्थाल) उपचार केन्द्र।
'सधैं भीड हुँदैन, कहिले हामी खाली बस्छौँ,' ६० वर्षीय लखीराम मुर्मु भन्छन्, 'कहिले भ्याइनभ्याइ हुन्छ।' लखीराम नै यहाँका मूल उपचारक हुन्। बिरामीलाई टहरोको आवसीय सेवा दिनुपरे एक दर्जनभन्दा बढीलाई राखिँदैन। कारण, त्यो भन्दा बढीको क्षमता छैन। तर, टहरोमा बिरामी निमिट्यान्न भएका दिन हुँदैनन्। उनी भन्छन् 'सबै जाति परम्परामा जडीबुटीबाट गरिने उपचार बुढाहरुलाई थाहा थियो। कतिका नयाँ पुस्ताले सिके। धेरैले सिकेनन्, हामीले थोरै भए पनि सिक्यौँ। यो त्यसकै निरन्तरता हो।'
उनको परिवारमा छोराहरु कुमार, परमेश्वर र कृष्णसँगै छोरी सोनुले सघाएकी छन्। कुमार नसा र हाडजोर्नीको उपचार योगविधिबाट गर्छन् भने कृष्ण र परमेश्वर फिजियोलोजिस्ट जस्तो काम गर्छन्। भर्खरै सीएमएको पढाइ सिध्याएकी सोनुले अब सघाउन थालेकी हुन्।
आमतोलामा बिरामीलाई राख्नैपर्ने भए एउटा खाट र चुलो दिइन्छ। ओढ्ने-ओच्छ्याउने, खाने र इन्धनका सामान बिरामी आफैंले लिएर पुग्नुपर्छ। भूइँमा तीनवटा माटामा चुला छन्। दाउरा-गुइँठा बालेर खाना पकाउन सकिन्छ। लामो अवधि यहाँ राखिनेमा हाड र मेरुदण्डका निकै धेर समस्या भएकाहरुमा पर्छन्।
०००
इटहरी र विराटनगरको बरगाछीमा साना कोठा लिएर चलाइएका केन्द्रको मूल रंगेलीको आमतोला हो। ओखती सबै घरेलु जडिबुटी। योगविधिबाट उपचार गर्ने कुमार भन्छन्, 'हामीले सक्ने काममात्रै जिम्मा लिन्छौं। धेरैजना धेरै ठाउँ उपचार गराएर हरेस खाएपछि हामीकहाँ आइपुगेका हुन्छन्।'
कुमार स्वास्थ्य शिक्षाका ज्ञाता होइनन्। थोरै आफ्नै जातीय, संस्कार र केही तालिमपछि उनी उपचार गर्न सक्ने भएका हुन्। हाडजोर्नीका समस्या भएकाहरुले एक्स-रे रिपोर्ट लिएर पुगे उनलाई काम गर्न सजिलो हुन्छ। ग्रामीण उपचार प्रविधिमा केही फ्युजन पनि छ। जस्तो कि केही आधुनिक ब्याण्डेज, औजार र एक्स-रे रिपोर्टको उपयोग।
सञ्थाल अल्पसंख्यक जातिमा पर्छन्। यीमध्ये पनि जातीय परम्परालाई निरन्तरता दिने परिवार विरलै भेटिन्छ। लखीराम भन्छन्, 'अहिले हाम्रो तेस्रो पुस्ताले उपचारको परम्परा थामेको छ। हामी धेरै केही गर्न सक्दैनौ भने पनि बुढाहरुका ज्ञानलाई सिक्ने प्रयास गरे घरैमा उपचारका विधि छन्।' विकासले मान्छेको श्रम घटाएको बताउने लखीराम आउदा दिन अझ धेरै बिरामी बढिरहने देख्छन्। भन्छन्, 'हुँदाहुँदा हामी शारीरिक कसरत पर्ने काम निकै कम गर्न थालेका छौँ, खानपान बिग्रिएको छ। ज्यान रोगी हुने मूल कारक नै यही हो।'
सञ्थाल परम्परामा गुरु थापेर दसैंमा युवाले बुढाका कुरा सिक्ने परम्परा छ। लखिरामका भनाइमा यसरी दिइने दीक्षालाई प्रयोगमा निरन्तरता दिनेका मात्रै हात उपचारमा पोख्त हुन्छन्। चलाइने सबैजसो ओखती गाउँघरमै पाइने अन्न, झार, रुखका पात, फल, फूल, बोक्रा जरा आदि। केही सामाग्री भारतको झारखण्डबाट ल्याउने गरिएको छ।
'अब गर्मी सिजनदेखि हामी आफैं चाहिने जडीबुटीको खेती गर्ने सोचमा छौँ,' लखीरामले योजना सुनाए, 'हामीले नचिनेर धेरै बिरुवा मासिँदै गएका छन्। चिन्नेहरु नै सकिएपछि घाँस हो कि काम लाग्ने कुरा भनेर कसरी थाहा पाउने ?'
लखीरामका पिता बड्का मुर्मु सर्पको विषको व्यापार गर्थे । २०२४ सालमा ७० वर्षको उमेरमा दिवंगत बड्का सर्पको विष लिएर कोलकाता पुग्थे। गाउँमा बिरामीको उपचार गर्थे। उनको निधनपछि लखिरामले उपचारको कामलाई नै पेसा बनाए। अहिले छोराहरुले सघाउन थालेका छन्। भारतको जमसेदपुर, राँची र दुम्कीका केही स्थानमा सञ्थालका यस्तै उपचार केन्द्रहरु भएको लखीरामलाई थाहा छ। त्यहाँ बेलाबखत हुने उपचारकको भेलामा अहिले छोराहरु प्रतिनिधित्व गर्छन्। जान्छन्, साथमा चाहिने ओखतीका सामान पनि ल्याउँछन्।
सुनसरी-मोरङमा चार दर्जन हाराहारी अस्पताल र नर्सिङ होम भएपनि मुर्मु उपचार केन्द्र बिना कुनै प्रचार चलेको छ। 'मान्छेले बिरामी नहुन आफ्नो दैनिकी र खानपानमा सुधार गर्नुपर्छ,' लखिराम भन्छन्, 'फेरिएको समय छ, हामीले जीउ, हातगोडा र आँखालाई कसरत दिनुपर्छ। पेटले पचाउन सक्ने खानेकुरामात्रै खानुपर्छ।'
उनले दिने प्रेस्क्रीप्सनको बायाँ कोष्ठमा बार्नुपर्ने भनि लेखिएका छन् - लौका, फर्सी, अदुवा, बैगुन, लहरे सिमी, कालो दाल, खेसारी, रहर, बयममा राखेका अचार, कटहर पापड। रोगको लक्षणका आधारमा यीमध्येका कुनै कुरा बार्ने सल्लाहपछिमात्रै उपचार सुरु हुन्छ।
***
(२०६८ फागुन १३ शनिवारको कान्तिपुर कोसेलीमा प्रकाशित)