इन्टरनेटका सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा बीबीसी नेपाली सेवा रेडियोका नेपाल प्रमुख रवीन्द्र मिश्र लेखिरहन्छन्। धेरैपल्ट उनका स्टाटसमा कमेन्ट लेख्न मन लाग्दैन, लेखिंदैन। मंगलबार उनले आफ्नो फेसबुके भित्तोमा आफ्नै नयाँ तस्बिर अपलोड गरे र, यस्तो लेखे - 'नेपाली-नेपाली बीच मन फाटेका बेला साना-साना सदभावका कदमले पनि ठूलो अर्थ राख्छ। म पुस्तौंदेखि काठमाण्डुमा बसोबास गरेको हुनाले चलनचल्तीको गलत परिभाषा अनुसार म पहाडे हुँ। तर, मधेसको मन दुखिरहेका बेला मैले अब 'मधेसी पहिरन'लाई आफ्नो 'फ्याशन' को नियमित अंश बनाउने निर्णय गरेको छु। यस्ता कदमले पनि दुखेको मनमा मल्हम लगाउन सहयोग नै पुग्छ भन्ने मेरो विश्वास छ।'
सञ्चारमाध्यम र पुस्तकमा चाख दिनेले लामो समयदेखि रेडियो पत्रकारिता गर्दै रहेका मिश्रलाई आरामले चिन्छन्। बीबीसीमा उनले नेता, मन्त्री वा त्यस्तै जिम्मेवारलाई हक्की र चोटिलो पाराले प्रश्न सोध्ने शैली गजबको छ। उनको उपरोक्त स्टाटसलाई बुधबार साँझ दोहोर्याएर हेर्दा ७९१ जनाले 'लाइक' गरेछन्। १४१ जनाले 'कमेन्ट' लेखेछन्।
०००
मंगलबार साँझ अफिसबाट निस्कने बेलामा फेसबुकको सन्देश बक्समा मेरो सानीमाको छोरा (भाइ) ले केही पठाएछ। उ दुइ वर्षदेखि लण्डनमा छ। श्रीमान/श्रीमती पढदै काम गर्दै। उसले रोमनमा नेपाली लेखेको रहेछ 'रवीन्द्र मिश्रको मधेसी पोसाकसहितको स्टाटसमा मेरो कमेन्ट पढ्नु दाजु ...तपाइँलाई कस्तो लाग्छ।' मैले जवाफमा लेखें, 'मेरो पढिस् ' उसको जवाफ तत्काल आएन। म मिश्रको फेसबुके भित्तोमा गएँ।
उसले यस्तो लेखेको रहेछ- 'मेरो बुझाइमा भित्री मनैदेखि जसले आफूलाई नेपाली भन्न रुचाउँछ साथै नेपालको भलो चाहन्छ भने त्यो जहाँसुकैको मान्छे किन नहोस् उ नेपाली हो। तर, केवल आफ्नो स्वार्थपूर्तिका लागि मात्र आफूलाई नेपाली ठान्नेहरुलाई नेपाली मानिनु हुँदैन। त्यसैले मेरो विचारमा कानुनी हिसाबले स्वीस नागरिक भए पनि स्वर्गीय टोनी हेगनले आफूलाई नेपाली भन्न रुचाएका थिए भने उनलाई हामीले नेपाली भन्न हिचकिचाउनु पर्ने देखिँदैन। त्यस्तै स्वर्गीय गोपाल भुटानी जसको नेपाली नागरिकता थिएन। तर, त्यत्रो वर्ष नेपालमा बसेर नेपाली चलचित्रको लागि धेरै योगदान दिए। अनि भित्री मनैदेखि नेपाली भन्न रुचाए, त्यसैले साँचो रुपमा उनी नेपाली हुन्। उता नेपाली नागरिकता भए पनि केवल नेपाली श्रोताबाट प्रशंसा पाउन अनि तत्कालीन श्री ५ बाट गोरखा दक्षिणबाहु पाउने लोभले मात्र आफूलाई नेपाली हुँ भन्ने गायक उदितनारायन नेपाली होइनन्।'
मिश्रको स्टाटसमाथिका सबै कमेन्ट सर्सती पढ्न निकै समय चाहिन्थ्यो। केही पढियो, धेरैले उनको भनाइमा समर्थन, केहीले सिर्जनात्मक आलोचना र केहीले नकारात्मक टिप्पणी लेखेका रहेछन्। तैपनि भद्र विचारलाई समर्थन गर्ने मिश्र तस्बिरमा खुशी नै देखिन्छन्। भाइ सुवास भण्डारी (फेसबुकमा भण्डारीजी) को भनाइमा सहमति वा असहमति केलाउन खोजेको होइन। उसले सन्देश पठाएपछि उसको विचार पढियो। मैले अपलोड गर्ने तस्बिर र स्टाटसमा पनि उ बेलाबखत कमेन्ट गरिरहनेमध्येको उ एक थियो।
मैले सन्देश लेखें - 'गजब कान्छा। राम्रो झटारो। मैले पढें।' तर, उसको जवाफ आएन। अनलाइन नै रहेको संकेत थियो तैपनि उसले जवाफ फिराएन।
०००
पत्रकारिताका गुरुहरु भन्छन्, 'समाचारमा विचार आउनु हुँदैन। विचार लेखमा आउनुपर्छ।' विचारविहीन मान्छे हुँदैनन्। राम्रो, नराम्रो वा कुनै पनि राय दिन नचाहने, थरीथरीका मान्छे भेटिन्छन्। स्टाटसमाथिका प्रतिक्रिया केवल विचारमा मात्र आधारित हुन्नन्, धेरैपल्ट क्षणिक सनकमा पनि लेखिएका हुन्छन्।
गत आइतबार तस्बिरमा वाटरमार्क (पानी संकेत) राख्न सिक्दै गर्दा मैले जालमा माछा भएको एउटा तस्बिर अपलोड गरें। सुवासले कमेन्ट लेख्यो, 'दाजु, फोटो त राम्रो छ। तर, यो नामचाहिं अलि सानो साइजमा यसो साइडतिर राख्नु भए फोटोको सुन्दरता बिग्रिन पाउने थिएन कि...।' मैले उसलाई जवाफ लेखे 'मुला, यहाँ फोटो चोरले ढुटो पार्छन्। अनि यसरी राखेको हो।'
फेसबुकको भितो सार्वजनिक ठाउँ भएकाले मेरो 'मुला' थेगो अरुलाई अपच लाग्ला भनेर तुरुन्तै डिलिट गरें। उसले सन्देशमा लेखेछ, 'दाजु, कमेन्ट त मेटनु भो नि?' मैले जवाफ दिए, 'हेर भाइ, फोटो खिच्न सजिलो छैन। खिच्ने क्यामरामा परेको दाम, अनि सही समय र भाग्यले भएका सुन्दर क्लिकलाई चोरले कपी गरेर आफ्नो काममा उपयोग गर्छन्। फोटो खिच्नेको श्रम-पसिना मर्छ। त्यसैले वाटरमार्क राख्नु उत्तम हो। फोटो हेरेर जसलाई चाहिन्छ उसले इ-मेल वा फोन गरिहाल्छन्। समस्यै हुँदैन नि।'
उसले पनि फेसबुकमा एउटा अभियान चलाएको थियो 'मातृभूमिको पर्यटन प्रवर्द्धनप्रति समर्पित' शीर्षकमा। धेरै राम्रा तस्बिर संग्रह गरेको थियो। उसले बतायो, 'मैले त राम्रा फोटा संकलन गरेर कलेजमा प्रदर्शनी नै गरें। कस-कसले खिचेका हुन् के थाहा ?' संवाद अलि लामो चल्यो।
बुधबार साँझ थाहा भयो, उसले मिश्रको स्टाटसमा लेखेको कमेन्ट अन्तिम रहेछ। उसले त्यसपछि 'सुसाइड' गरेछ। पत्याउन गाह्रो भयो। आफन्तहरुसँग फोन संवादपछि थाहा भयो- उ केही दिनदेखि डिप्रेसनको सिकार थियो। आफूलाई सम्हाल्न सकेन। प्रहरीले उसको शव झुण्डिरहेको अवस्थामा नर्थहेम्टनमा फेला पारेछ। अब उता बुहारी र यता बृद्ध मातापिता कसरी सम्हालिएलान्। आलोपालो लेखिसिध्याउँदा म उसँग भएका सन्देश संवाद, अपलोड तस्बिर र उसका कमेन्ट खोजी-खोजी हेर्दैछु। थाहा छ मलाई, अब उ फेसबुकको दोहोरो संवादमा आउने छैन। सोच्दैछु, 'कान्छा, तैँले आफ्नो अन्तरंग कुरा किन भनिनस् ? किन यस्तो गरिस् ? जीवन फेरि-फेरि पाइँदैन।'
***
(विराटनगरको उदघोष दैनिकको आलोपालो स्तम्भमा ०६८/१२/०९ बिहीबार प्रकाशित)






