Friday, March 23, 2012

त्यो अन्तिम ' कमेन्ट '



इन्टरनेटका सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा बीबीसी नेपाली सेवा रेडियोका नेपाल प्रमुख रवीन्द्र मिश्र लेखिरहन्छन्। धेरैपल्ट उनका स्टाटसमा कमेन्ट लेख्न मन लाग्दैन, लेखिंदैन। मंगलबार उनले आफ्नो फेसबुके भित्तोमा आफ्नै नयाँ तस्बिर अपलोड गरे र, यस्तो लेखे - 'नेपाली-नेपाली बीच मन फाटेका बेला साना-साना सदभावका कदमले पनि ठूलो अर्थ राख्छ। म पुस्तौंदेखि काठमाण्डुमा बसोबास गरेको हुनाले चलनचल्तीको गलत परिभाषा अनुसार म पहाडे हुँ। तर, मधेसको मन दुखिरहेका बेला मैले अब 'मधेसी पहिरन'लाई आफ्नो 'फ्याशन' को नियमित अंश बनाउने निर्णय गरेको छु। यस्ता कदमले पनि दुखेको मनमा मल्हम लगाउन सहयोग नै पुग्छ भन्ने मेरो विश्वास छ।'

सञ्चारमाध्यम र पुस्तकमा चाख दिनेले लामो समयदेखि रेडियो पत्रकारिता गर्दै रहेका मिश्रलाई आरामले चिन्छन्। बीबीसीमा उनले नेता, मन्त्री वा त्यस्तै जिम्मेवारलाई हक्की र चोटिलो पाराले प्रश्न सोध्ने शैली गजबको छ। उनको उपरोक्त स्टाटसलाई बुधबार साँझ दोहोर्‍याएर हेर्दा ७९१ जनाले 'लाइक' गरेछन्। १४१ जनाले 'कमेन्ट' लेखेछन्। 
०००
मंगलबार साँझ अफिसबाट निस्कने बेलामा फेसबुकको सन्देश बक्समा मेरो सानीमाको छोरा (भाइ) ले केही पठाएछ। उ दुइ वर्षदेखि लण्डनमा छ। श्रीमान/श्रीमती पढदै काम गर्दै। उसले रोमनमा नेपाली लेखेको रहेछ 'रवीन्द्र मिश्रको मधेसी पोसाकसहितको स्टाटसमा मेरो कमेन्ट पढ्नु दाजु ...तपाइँलाई कस्तो लाग्छ।' मैले जवाफमा लेखें, 'मेरो पढिस् ' उसको जवाफ तत्काल आएन। म मिश्रको फेसबुके भित्तोमा गएँ।
 
उसले यस्तो लेखेको रहेछ- 'मेरो बुझाइमा भित्री मनैदेखि जसले आफूलाई नेपाली भन्न रुचाउँछ साथै नेपालको भलो चाहन्छ भने त्यो जहाँसुकैको मान्छे किन नहोस् उ नेपाली हो। तर, केवल आफ्नो स्वार्थपूर्तिका लागि मात्र आफूलाई नेपाली ठान्नेहरुलाई नेपाली मानिनु हुँदैन। त्यसैले मेरो विचारमा कानुनी हिसाबले स्वीस नागरिक भए पनि स्वर्गीय टोनी हेगनले आफूलाई नेपाली भन्न रुचाएका थिए भने उनलाई हामीले नेपाली भन्न हिचकिचाउनु पर्ने देखिँदैन। त्यस्तै स्वर्गीय गोपाल भुटानी जसको नेपाली नागरिकता थिएन। तर, त्यत्रो वर्ष नेपालमा बसेर नेपाली चलचित्रको लागि धेरै योगदान दिए। अनि भित्री मनैदेखि नेपाली भन्न रुचाए, त्यसैले साँचो रुपमा उनी नेपाली हुन्। उता नेपाली नागरिकता भए पनि केवल नेपाली श्रोताबाट प्रशंसा पाउन अनि तत्कालीन श्री ५ बाट गोरखा दक्षिणबाहु पाउने लोभले मात्र आफूलाई नेपाली हुँ भन्ने गायक उदितनारायन नेपाली होइनन्।'

मिश्रको स्टाटसमाथिका सबै कमेन्ट सर्सती पढ्न निकै समय चाहिन्थ्यो। केही पढियो, धेरैले उनको भनाइमा समर्थन, केहीले सिर्जनात्मक आलोचना र केहीले नकारात्मक टिप्पणी लेखेका रहेछन्। तैपनि भद्र विचारलाई समर्थन गर्ने मिश्र तस्बिरमा खुशी नै देखिन्छन्। भाइ सुवास भण्डारी (फेसबुकमा भण्डारीजी) को भनाइमा सहमति वा असहमति केलाउन खोजेको होइन। उसले सन्देश पठाएपछि उसको विचार पढियो। मैले अपलोड गर्ने तस्बिर र स्टाटसमा पनि उ बेलाबखत कमेन्ट गरिरहनेमध्येको उ एक थियो।
 
मैले सन्देश लेखें - 'गजब कान्छा। राम्रो झटारो। मैले पढें।' तर, उसको जवाफ आएन। अनलाइन नै रहेको संकेत थियो तैपनि उसले जवाफ फिराएन। 

०००
पत्रकारिताका गुरुहरु भन्छन्, 'समाचारमा विचार आउनु हुँदैन। विचार लेखमा आउनुपर्छ।' विचारविहीन मान्छे हुँदैनन्। राम्रो, नराम्रो वा कुनै पनि राय दिन नचाहने, थरीथरीका मान्छे भेटिन्छन्। स्टाटसमाथिका प्रतिक्रिया केवल विचारमा मात्र आधारित हुन्नन्, धेरैपल्ट क्षणिक सनकमा पनि लेखिएका हुन्छन्।
 
गत आइतबार तस्बिरमा वाटरमार्क (पानी संकेत) राख्न सिक्दै गर्दा मैले जालमा माछा भएको एउटा तस्बिर अपलोड गरें। सुवासले कमेन्ट लेख्यो, 'दाजु, फोटो त राम्रो छ। तर, यो नामचाहिं अलि सानो साइजमा यसो साइडतिर राख्नु भए फोटोको सुन्दरता बिग्रिन पाउने थिएन कि...।' मैले उसलाई जवाफ लेखे 'मुला, यहाँ फोटो चोरले ढुटो पार्छन्। अनि यसरी राखेको हो।' 

फेसबुकको भितो सार्वजनिक ठाउँ भएकाले मेरो 'मुला' थेगो अरुलाई अपच लाग्ला भनेर तुरुन्तै डिलिट गरें। उसले सन्देशमा लेखेछ, 'दाजु, कमेन्ट त मेटनु भो नि?' मैले जवाफ दिए, 'हेर भाइ, फोटो खिच्न सजिलो छैन। खिच्ने क्यामरामा परेको दाम, अनि सही समय र भाग्यले भएका सुन्दर क्लिकलाई चोरले कपी गरेर आफ्नो काममा उपयोग गर्छन्। फोटो खिच्नेको श्रम-पसिना मर्छ। त्यसैले वाटरमार्क राख्नु उत्तम हो। फोटो हेरेर जसलाई चाहिन्छ उसले इ-मेल वा फोन गरिहाल्छन्। समस्यै हुँदैन नि।' 
०००
उसले पनि फेसबुकमा एउटा अभियान चलाएको थियो 'मातृभूमिको पर्यटन प्रवर्द्धनप्रति समर्पित' शीर्षकमा। धेरै राम्रा तस्बिर संग्रह गरेको थियो। उसले बतायो, 'मैले त राम्रा फोटा संकलन गरेर कलेजमा प्रदर्शनी नै गरें। कस-कसले खिचेका हुन् के थाहा ?' संवाद अलि लामो चल्यो।
 
बुधबार साँझ थाहा भयो, उसले मिश्रको स्टाटसमा लेखेको कमेन्ट अन्तिम रहेछ। उसले त्यसपछि 'सुसाइड' गरेछ। पत्याउन गाह्रो भयो। आफन्तहरुसँग फोन संवादपछि थाहा भयो- उ केही दिनदेखि डिप्रेसनको सिकार थियो। आफूलाई सम्हाल्न सकेन। प्रहरीले उसको शव झुण्डिरहेको अवस्थामा नर्थहेम्टनमा फेला पारेछ। अब उता बुहारी र यता बृद्ध मातापिता कसरी सम्हालिएलान्। आलोपालो लेखिसिध्याउँदा म उसँग भएका सन्देश संवाद, अपलोड तस्बिर र उसका कमेन्ट खोजी-खोजी हेर्दैछु। थाहा छ मलाई,  अब उ फेसबुकको दोहोरो संवादमा आउने छैन। सोच्दैछु, 'कान्छा, तैँले आफ्नो अन्तरंग कुरा किन भनिनस् ? किन यस्तो गरिस् ? जीवन फेरि-फेरि पाइँदैन।'

***

(विराटनगरको उदघोष दैनिकको आलोपालो स्तम्भमा ०६८/१२/०९ बिहीबार प्रकाशित)

Wednesday, March 14, 2012

चड्कन


'पाँच बज्यो' मोबाइलको अलार्म चिच्यायो। 
उठेँ। उसको कोठाको ढोका खुलै थियो। उ थिएन। काउन्टरको केटो टेबलमै निदाएको थियो। बोलाएपछि उठ्यो। बिल तिरेँ। बिस्तारै तल झरेँ।
 
सोचें - 'रात गइ बात गइ, आउने हो कि।' तर, उ देखिएन। ड्राइभिङ सीटमा एउटा सेतो चिर्कटोमाथि चाबी थियो। त्यो कागज अलि पर सारेर बसेँ। स्टार्ट गरेँ। डम्म कुहिरो छ। गाडी बिस्तारै अघि बढाएँ।

रातको बातले मगजमा फन्को मार्‍यो। एक्लै फत्फताएँ - 'रामबहादुरले के गरेको त्यस्तो ? यतिका वर्षको विश्वास एकै झ्वाँकमा भत्कायो। मत्थु मोरो।' 

'सरको ड्राइभर झगडा गर्दैछ' भन्दै राती ११ बजे वेटरले उठाएपछि मेरो पारो तातेको थियो। काउन्टरमा उ लठ्ठ थियो। होटल मालिक्नीले उसको सटको कलर समातेकी थिइ। दुवै तँतँ मम गर्दै अपशब्द बोलिरहेका। छुट्याउन एक चड्कन लगाएँ।
 
'सर पनि कुरै नबुझी...' भन्दै ऊ रोएको थियो।
 
दिउँसै भनेथें - 'रक्सी नखाउ है। ५ बजे नै फर्कनु पर्छ।' 
रेडियोको रिपिटर टावर राख्न डाँडामा ठाउँ छनोट गर्ने काम। जडान थाल्ने जोहो गर्न बिहान ७ बजे नै विराटनगरबाट काठमाडौं उड्नु थियो। 

***
भेडेटार-धरानको १६ किलोमिटर नागबेली घुम्तीमा ओह्रालो असजिलो लाग्छ। ब्रेकबाट खुट्टा हटाउनै मिल्दैन। सोच्छु -'छिटो कुदाएर केही जित्नु छैन-बिस्तारै गए अवश्य पुगिन्छ।' एक्लै बोलें -'ब्रेक अलि लुज भएछ कि क्या हो ! यस्तो गाडी कसरी कुदाउँछ रामबहादुर ?' 

ध्यान त्यो अघिको सेतो चिर्कटोमा पुग्यो। उठाएँ। उसले लेखेको रहेछ।
 
सर, 
त्यस्तो चिसो कोठामा सिरक थिएन। सोध्न झरेको थिएँ। होटल मालिक्नीले मनपरी बोली। पैसा तिरेरै बसेको हो, कसरी सहने ? मैले पनि जवाफ दिएँ। भनाभन भयो। उसले हात हाली। अनि तपाइँले आएर कुरै नबुझी मलाई चड्काउनु भो।

धेरै रीस उठेको थियो। त्यही झोँकमा मैले दुवै ब्रेक खोलेर पुर्जा छुट्याएँ। टुल बक्ससँगै डाँडाबाट हुर्‍याइदिएँ। पछि मलाई गल्ती गरेँ भन्ने चेत भयो। अनि खोजेँ, भेटिँन। सर, गाडी नचलाउनु होला। अरु कुनै रिजर्भ लिएर जानुहोला। म मर्मत गरेर दिउँसो लिएर फर्कन्छु। मलाई माफ गर्नुहोला। 
हजूरको आज्ञाकारी 
रामबहादुर 

***
(लघुकथा) 

Sunday, March 11, 2012

साथी हुने अधिकार


-'तिमीले चरा देखेनौ ?' 
- 'अहँ, खोइ कहाँ छ चरा ?' 
सेतो रंगको पर्खाल, तार जेलिएका बिजुलीका खाबा, सुर्यास्त सांकेतिक पहेलो आकाश खिचेको उसको लो एंगल तस्बिरलाई धेरैबेर हेरिरहेँ । उ त्यसमा चरा खोज्न आग्रह गरिरहेको थियो । म चराका कुनै आकृति ठम्याउन सकिरहेको थिइँन ।
 
धेरैबेर कुनै भित्तो हेरिरहे, उक्किएका रंग, चर्किएका धर्का र झिँगाले बिष्ट्याएका दागहरु आकृति देखिन्छन् । तर, न म एकोहोरिन सकिनँ वा ऊ मलाई उल्लु बनाउन उद्दत थियो । ठम्याउन सकिएन । मनोविज्ञानको 'अब्सेसन कम्पल्सन' को पाठ मगजमा घुम्यो । त्यसमा थियो 'यो रोगी उसले सोचेजस्तै भएको ठान्छ । गुडिरहेको गाडी पल्टिन्छ जस्तो, सोचेजस्तो आकृति देखेजस्तो । मात्रा बढ्दै गए उ डराएरै मर्न पनि सक्छ । त्यस्तालाई उसका कुरा प्रतिवाद होइन समर्थन गर्दै सहानुभूतिको उपचार थाल्नुपर्छ । 

मनले भन्यो, 'ऊ मनोरोगी हुनसक्दैन, उ दर्शनको छात्र पनि त होइन । उसले झुक्याउन सक्दैन । कारण, उ फोटोग्राफर, जे खिच्छ, त्यही पस्कन्छ । जस्ताको तस्तै ।'

उसको पोस्ट मुन्तिर दिनेभए सोझै प्रतिक्रिया, 'लाइक' को अप्सन थिएन । शीर्षक थियो -'आकाश र चरा ।' एकले 'तस्बिर मन पर्‍यो', दोस्रोले 'क्या दामी' लेखेका, मैले 'खोइ, चरा त देखिन है ।'
  
फोटोब्लगमा उसका पाना किन हेरिएछ ? हेरे पनि प्रतिक्रियामा किन हतार ? भित्रभित्रै छटपटी भयो । ऊ म्यासेन्टरको च्याटमा अनलाइन, बारम्बार चरा खोज्न आग्रह गरिरहेको थियो । सबै सोधाइमा मैले सुरुकै प्रतिक्रिया दोहोर्‍याइरहेँ । डर थियो, देखे भन्दिदा कहाँ छ लौ देखा भन्ला । हो, उसका तस्बिरमा चरा थिएनन् । 'सीआरटी मनिटर' मा करिब आधा घण्टा चराको खोजी गर्दा मेरा आँखा टट्टाएका थिए ।
 
उसले संवाद अन्त्यको संकेत गर्‍यो, 'तँ आजबाट मेरो साथी होइन । म तँलाइ मेरो मित्रसूचीबाट हटाउँदैछु ।' अफलाइन भयो । 

इ-मेल आयो। उसको थियो - 'हो, तस्बिरमा वास्तवमै चरा छैन। तर, के चरा भौतिक रुपमै देखिनुपर्छ ? तस्बिरले समेटेको क्षितिजमा म अनगिन्ती चराहरु गुँड फर्किरहेको देख्छु। म जसरी नदेख्नेलाई मेरो साथी हुने अधिकार छैन।' (लघुकथा)

Friday, March 9, 2012

बिरामी कुरुवा


फुच्चे साँचो दिदै मुस्काउँछ । बोल्दैन । बुझेको छ जोडीलाई उसँग संवाद गर्ने समय छैन । उसले देखेका ग्राहकको यो महिना तेस्रोपटकको आगमन हो । 

हँसिलो, छरितो देखिने युवकका हातमा हेलमेट छ । युवतीले सलले टाउको छोपेकी छ । पहिरन हेर्दा उ कुनै प्लस टू की छात्रा वा कुनै अफिस कर्मचारी हुनुपर्ने लख काट्छ फुचे । तर, उसलाई व्यक्तिगत परिचयको चासो छैन । यसपटक पनि जोडीले भनेका छन् 'बिरामी इमर्जेन्सीमा भर्ना छ । राती कुनै पनि बेला उठेर जानुपर्छ ।'

एक रातको बासका लागि अस्पतालअघिको त्यो लज सुरक्षित छ । कारण, धेरैलाई लाग्छ यहा बस्ने सबै बिरामीका कुरुवामात्रै हुन्छन् । काउन्टरमा बसेको अर्को केटोको मुहार हँसिलो हुन्छ । एक/दुई सय बढी भन्दिदैमा ग्राहक पक्कै अन्त जाने होइनन् । बढी आए आफूलाई गोजी खर्च जुट्छ । उ बोल्छ, 'सर, चार्ज बढेको छ । अब एक रातको ५ सय लाग्छ ।' अघिल्लो साता २ सय ५० तिरेको युवक नाइनास्ती गर्दैन । 'ल ठीकै छ । लिइहाल,' उ भन्छ, 'हामी खाना खाएर आएको हो । केही चाहिँदैन । डिस्टर्ब नगर्नु । अनि गेटमा भन्दिनु ।'

बेलुकी ८ बजे कोठा पसेको जोडी दुई घण्टापछि निस्कन्छन् । गेट खुलै भएकाले केटो बोलाउनु परेन । मोटरसाइकलको प्रकाशमा बाटामा उभिएको फुच्चे देखिन्छ । उ भन्छ, 'दाइ अस्पतालको बाटो त उता हो नि ।' हेलमेटको सीसा अलिकतिमाथि सारेर युवक सयका नोट फुचेलाई थमाउँछ । अब फुचेलाई जवाफ चाहिएन । उ सोच्दैछ 'टिप्स दिइरहने यसरी नै आइरहुन् ।' (लघुकथा)

Saturday, March 3, 2012

फेरिएका परिदृश्य र पूर्व राजा

गत बिहीबार पूर्व राजा ज्ञानेन्द्र शाह भविष्य पुराणका अतिथि भएर सुनसरीको झुम्का पुगे। बुद्ध एयरको एटीआर-७२ विमानबाट विराटनगर विमानस्थल ओर्लदा उनको धेरै वर्ष पहिलेजस्तो तस्बिर लिन समस्या थिएन। पत्रिकाले छाप्ने ग्यारेन्टी थिएन, तापनि विराटनगरसँग जोडिने भएकाले उनको तस्बिर खिचिराख्दा घाटा हुने देखिएन।
 
त्यसैले म विमानस्थल पुगेको थिएँ। पुग्दा म दोस्रो सञ्चारकर्मी भएँ। झापाली टेलिभिजन हिमशिखरका संवाददाता भाइ यज्ञ मात्र एकजना पुगेका थिए। बिस्तारै साथीहरुको संख्या थपियो। संख्या थपिनुको अर्को कारण रहेछ एसएमएस। पत्रकार महासंघ शाखाका कार्यालय सचिव दीपक भाइले अवतरणको आधा घण्टाअघि राप्रपा नेपालले विमानस्थलमा गरेको निम्तोको एसएमएस सन्देश पठाएका थिए। मैले त्यो सन्देश विमानस्थलमै हेरेँ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मी साथीहरुले कहिलेकाही गजब गर्छन्। कोही चढ्न-उत्रन नभ्याउदै पुग्छन्। यो आयो, उ गयो, यसले ख्वाक्क गरो, उसले प्वाक्क लाग्ने बोल्यो। फलानो चुप लाग्यो। फलानोले हुंकार र चिलानोले डकार गर्‍यो। अनि तातो-तातो समाचार बनाउँछन्। 

मलाई अघोषित एयरपोर्ट सञ्चार क्लबको उति चासो रहन्न। जानैपर्ने गतिलो कारण भएमात्रै पुगिन्छ।
 
०००
यसपटक मलाइ हेर्नु थियो, माघ १९ को 'कु' पछि पूर्वाञ्चलवासीका तर्फबाट राजारानीलाई अभिनन्दन भन्दै आएका बेला ज्ञानेन्द्रको तस्बिर लिन हम्मे परेको थियो। उनी कोसीअञ्चल अस्पताल पसेका थिए। म तस्बिर लिन भित्र जान खोजेको शरद चन्द नामका डीएसपीले 'भाइले नेपाली टोली लगाउनु भएको छैन । भित्र जान मिल्दैन' भनेर पस्नै दिएनन्। 

अस्पतालको मुल गेटबाट हाडजोर्नी विभागको गेटको दूरि झण्डै पाँच सय मिटर। बाटामा सर्वसाधारणलाई आउजाउमा रोक लगाइएको थियो। सुरक्षाकर्मीलाई परिचयपत्र देखाउदै, अनुरोध गर्दै बल्ल पुगियो। त्यो गेटमा सइ मोहन बोगटी भेटिए। उनलाई मैले तीन वर्षअघि चिनेको थिएँ। परिचय राम्रै थियो। उनलाई समस्या बताएपछि चोर जसरी भीडबाट लुसुक्क पस्न सिकाए। त्यसै गरियो । भित्र पसेर तस्बिर लिन सक्दा युद्ध जिते बराबर भएको थियो।

ज्ञानेन्द्र गेटबाहिर उनको सवारीमा बसेनन्। लुरुलुरु हिडे, मानौँ चुनाव प्रचारमा भोट माग्न आएका नेता हुन्। त्यसबेला बाटामा फोटो लिन पनि हम्मे पर्‍यो। सेनाले छेकेको छेकेकै। लिइयो, समाचार पनि लेखियो 'राजा सडकमा' भनेर।

०००
दोस्रोपटक गत वर्ष गणेश पूजामा उनी आउँदा अघिल्लोपटक जस्तो सकस भएन। बरु असारे झरीको बेला थियो। मेरो क्यामेरा बिग्रेको थियो। एक जना साथीको मागेर काम चलाइयो। झरीमा आफू भिज्दा क्यामेरा चाहिँ केही नहोस् भन्ने चिन्ता थियो।
 
कृष्णजन्माष्टमीका भोलिपल्ट रथमा मूर्ति राखेर नगर घुमाइने चलन विराटनगरको ठूलो सार्वजनिक पर्व मानिन्छ। यो ६ दसक पुरानो चलन अझै निरन्तर छ। यसबेला विराटनगरमा धेरै भीड हुन्छ। यस्तै कुनै रथयात्राका बेला रथ तान्ने र हेर्नका लागि बाटामा पानी र सर्बत वितरण गर्ने एउटा जमातको चित्त बुझेन। रथयात्रा आयोजकसँग मनमुटाव भएछ। त्यसपछि उनीहरुले पनि त्यस्तै अर्को कार्यक्रम डिजाइन गरे। यही हो गणेश चौथीमा गणेशको मूर्ति राखेर पूजा गर्ने चलन।
 
राधाकृष्ण रथयात्रा पोखरियास्थित मन्दिरबाट सुरु हुन्छ। गणेशपूजा बजारस्थित सरस्वती हाइस्कुल परिसरमा। गणेश पूजाका लागि सक्रिय हुने जमातका केही प्रभावशाली राप्रपानजिकका छन्। त्यसैले ज्ञानेन्द्र आउने चाँजो मिलेको थियो। 

जे होस् गणतन्त्र घोषणापछि ज्ञानेन्द्र घुमफिर गर्दा तस्बिर लिन समस्या छैन। तैपनि उनको तस्बिर लिनसक्नु आफैंमा सजिलो हुँदैन। उनको सुरक्षा घेरा। प्रहरीको आवश्यकताभन्दा बढी नै सतर्कताको बनावटी पारा। त्यसबेला तस्बिर लिइयो। अघिल्लोपटकजस्तो समाचार लेख्न अघि सरिएन। मलाई कभरेज शैलीको भान थियो। पेपरले महत्त्व दिँदैन वा कम महत्त्वको समाचारको श्रेणीमा राख्छ। त्यसैले अघि सर्न उचित भएन। 

०००
यसपटक झुम्कामा भविष्य महापुराणका अतिथि भएर आएका ज्ञानेन्द्र विमानस्थलबाट करिब दुई सय मिटर पैदल हिँडे। आप्ना लागि शुभेच्छुकले लगाएका नारा सुने। अनि झुम्का गए। 

फिरेर आएपछि पत्रकार भेटघाट भनिएको होटल रत्नामा हामीलाई बोलाइएको थियो । गइयो, उनका संक्षिप्त कुरा सुनियो। उनी केही गलेकाजस्ता देखिए। उनले देशभक्तिका कुरा गरे। गर्नै नपाइने भने होइन। तर, ',,, दैला देख्यो'को उखान सम्झना हुन्छ। समय बित्यो। 

उनका तस्बिर खिचियो। यसपटक ज्ञानेन्द्रका तस्बिर खिच्नु प्रचण्डभन्दा सजिलो देखियो। बेला-बेला प्रचण्डका सुरक्षामा खटिएकाहरुले नजिक जान रोक्छन्। खिच्न खोज्दा अघि आइदिन्छन्। परिदृश्य कसरी फेरिँदो रहेछ भन्ने तस्बिर हेरेर सोच्छु।