गर्भ बोकेकी कसैले 'यसैले मलाई जबर्जस्ती करणी गरेको हो' भनिदिए औंल्याइएको पुरुष पक्राउ पर्छ। महिला अधिकारका पक्षमा न्यायिक उपचारको पहल गर्ने धेरै छन्। उनीहरू अघि बढ्छन्, पक्राउ परेकाको जोड चल्दैन। उसले आफैं निर्दोषिताको प्रमाण पेस गर्नुपर्छ।
थुनिएको लामो समयपछि ऊ निर्दोष सावित भएर छुटे के होला ? मोरङको रंगेली-२ मा यस्तै एउटा घटना भएको छ। त्यहाँस्थित एउटा निजी विद्यालयकी छात्राको गर्भ पाँच महिनाको भएपछि 'शिक्षक मुकेशकुमार साहले जबर्जस्ती करणी गरेर भएको हो' भन्ने आरोप लागेको थियो। घटनालाई साहका गाउँले मान्न तयार भएनन्। एक सातापछि १३ वषया छात्राका अभिभावकको गुहार विराटनगरका अधिकारकर्मीले सुने। लामो बैठक चल्यो। उनीहरूले प्रशासनलाई दबाब दिएपछि साहलाई गत असार १२ मा पक्राउ गरियो।
किशोरीले बयानमा स्कुलको प्रार्थना समयमा पानी खान गएका बेला साहले जबर्जस्ती गरेको आरोप लगाइन्। शिक्षक साहले आरोप सकारेनन्। उनले बयानमा भने, 'मेरो डीएनए परीक्षण गरियोस्।' सरकारवादी उक्त मुद्दामा न्यायाधीश मेघनाथ भट्टराईको इजलासले साउन ४ मा 'अवस्था हेरेर शिक्षक साहलाई पुर्पक्षका लागि थुनामा राखेर उनको र छात्राको गर्भ वा जन्मने शिशुको डीएनए परीक्षण गराउनू' भन्ने आदेश गर्यो। अदालतकै आदेशमा छात्रालाई विराटनगरमा महिला पुनःस्थापना केन्द्रको आवधिक गृहमा राखियो।
मंसिरमा उनले छोरा जन्माइन्। प्रहरीले साहसँगै दुवैलाई खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठायो। गत चैत ८ मा उक्त प्रयोगशालाले साह र नवजात शिशुको डीएनए 'म्याच' नभएको रिपोर्ट दियो। १० महिनापछि बल्ल आरोपित शिक्षक साहले मुक्ति पाए। चैत २८ मा न्यायाधीश चण्डीराज ढकालको इजलासले जबर्जस्ती करणी मुद्दामा सफाइ दिए पनि साहलाई आफ्ना नियमित दिनचर्यामा फर्कन गाह्रो भइरहेको छ।
गत बुधबार उनी र उनका आफन्तले रंगेलीमा दुई घन्टा सडक अवरुद्ध पार्दै थुनिएको आक्रोश पोखे। निराधार आरोप लगाएर थुनाउनेमाथि कारबाही हुनुपर्ने माग उनले राखे। उनको मागलाई कसैले सुनुवाइ गरेन। 'त्यस्तो संगीन आरोप लगाएर मेरो क्यारिअर समाप्त पार्नेमाथि कारबाही त हुनैपर्ने तर कोही सुन्दैनन्,' साह भन्छन्, 'मलाई नखाएको विष लाग्यो।' अधिकारकर्मीले उक्साएर आफूमाथि झूटो आरोप लगाएकोमा उनले गुनासो गरे । भने, 'कुरा खुल्दा ५ महिनाको पेट रहेछ, म त्यो स्कुल पढाउन थालेको चार महिनामात्रै भएको थियो।' अधिकारकर्मीले कुरै नबुझी आफूलाई सिकार गरेको उनको आरोप छ।
साहले सफाइ पाएपछि महिला अधिकारकर्मी भने तनावमा छन्। महिला पुनःस्थापना केन्द्र (ओरेक)की विराटनगर संयोजक नीतु पोखरेल भन्छिन्, 'बच्चा जन्मिएको छ। अब ऊ होइन भने दोषी कोही न कोही त पक्कै हो। अगाडिको बाटोका लागि हामी छलफलमा छौं।'
जिल्ला अदालतका शाखा अधिकृत मोहन घिमिरेका अनुसार जबर्जस्तीकरणीको मुद्दामा शिशु र आरोपितको डीएनए परीक्षण गराएको घटना मोरङमा यो पहिलो हो। सरकारवादी उक्त मुद्दामा छात्रा पक्षबाट बहस गरेका जिल्ला सहन्यायाधिवक्ता गोकुल निरौलाले भने फैसलाविरुद्ध पुनरावेदन गर्न सकिने बताए। पीडितले बयानमा साहलाई मात्रै दोष लगाएको उनले बताए। 'अरू कसैको दोष भनेकै छैन। बरु साहले गर्भ उनको मामाको हुन सक्ने सुनेको बयानमा बोलेका छन्। त्यसको आधार पुष्टि हुँदैन।' फैसलाको प्रतिलिपि अध्ययन गर्न नभ्याएकाले साहविरुद्धको मुद्दामा अघिल्लो कदम के हुने भन्ने निर्क्यौल बाँकी रहेको उनले बताए।
***
आफ्ना कुरा
यो समाचार कान्तिपुर दैनिकमा २०६९/०१/१४ मा 'झूटो आरोपमा १० महिना थुना' शीर्षकमा प्रकाशित भएको हो। महिला र बालबालिका पीडित हुन्छन्, उनीहरुका लागि बोल्नु लेख्नुपर्छ भन्ने हाम्रो सिकाइ हो। यो फगत सिकाइ मात्रै नभइ ठूलो सञ्जाल छ जसले हाम्रो देशका विभिन्न क्षेत्रलाई महिलाका विषयमा वकालत गर्न लगाउँछ।
तर यो समाचार फरक थियो। सुरुमा पीडित छात्रा थिइन, पछि पीडित मास्टर पनि देखिए। ती छात्राका विषयमा पहिले लेखेकै हो। पछि मुद्दा छिनोफानो भएपछि मास्टरको कोणबाट लेखियो। यस्तो समाचार प्रकाशित भएकोमा सहकर्मीले 'नयाँ विषय भेट्नुभएछ' भनिरहेका बेला आफ्नै अफिसबाट भने भनाइ खाइयो।
मलाई हाम्रा जिल्ला ब्युरो संयोजकले फोन गर्नुभो। भन्नुभो- 'तपाइँले यसरी समाचार लेख्नुहुन्थेन। ती केटी पीडित हो नि। हो की होइन? उनको पक्षबाट लेख्नुपर्थ्यो। त्यो पुरुषको पक्ष लिएर लेखेको ठिक भएन। योपल्टलाई ठिकै छ, आइन्दा ख्याल गर्नुहोला।'
उहाँका कुरा सुन्दा कसैले उहाँलाई आगो दिएको थियो, जो ममाथि खन्याइरहनुभएको थियो। मैले सुनिरहेँ। सुनिरहनु, जवाफ नदिनु वा थोरै बोल्नुको एउटा गज्जबको मज्जा छ - उताबाट बोल्नेलाई एकोहोरो बोल्न आफैं झर्को लाग्छ, कुरा छोट्याउँछ। कुरो छोट्टियो। अर्ति, उपदेश, महिला अधिकार, पुरुषप्रधान मानसिकता, समाचार लेख्ने तरिका, स्पष्टीकरण दिनुपर्ने अवस्था। एकै मेसोमा धेरै ज्ञान पाइयो। मैले - 'हस्। हुन्छ' भनिरहँदा कुरो टुंगियो।
खासमा समाचारमा पक्षधरता थिएन। मैले उहाँका कुरा सुनिरहेँ। महिलाका नाताले महिला सवालमा उहाँको चासो गलत पनि थिएन। ती छात्राका लागि ओरेक थियो, पुनःस्थापना गृह थियो। अब उनका लागि बोलिदिने, सुनिदिने गैसस र सामाजिक कार्यकर्ताको दरिलो साथ थियो।
उता सफाइ पाएपछि थुनामुक्त ती मास्टर कसरी सामान्य दैनिकीमा फर्किए होलान् भन्ने मलाई धेरै दिनसम्म चासो लागिरह्यो। उनको जागिर खुस्किएको थियो, उनी पक्राउ परेपछि समाजमा छिछि दुर दुरले परिवार पुरानो थलोबाट विस्थापित भएका थिए। रंगेली आउजाउमा मलाई मुकेशकुमार साहका विषयमा बुझौँ, फेरि केही लेखौं भन्ने नलागेको होइन। तर, मैले ब्युरो संयोजकको भनाइ सम्झिरहेँ - आइन्दा ख्याल गर्नुहोला।

