Monday, April 16, 2012

सेवाग्राहीलाई सास्ती सधैं


विराटनगर- यहाँको मालपोत र जिल्ला अदालत पस्नका लागि मुख्य द्धार एउटै छ । मुलद्धारबाट करीव तीस मिटर उत्तर पसेपछि यी दुवै कार्यालय पस्न फेरि दुइ द्धार पार गर्नुपर्छ । बाहिर सेवाग्राहीका लागि सशुल्क पार्किङको ठाउँ छ । तर, मालपोत कार्यालयका मुल भवनमा पस्दा कोठैभित्र पनि मोटरसाइकल र साइकल पार्किङ गरेको देखियो । 
दुइवटा तले भवनमा मालपोतका मुद्दा, आन्तरीक प्रशासन, कम्प्युटर, लेखा, मोठ, रजिष्ट्रेशन र तामेलीका गरि सातवटा फाँट छन् । विराटनगर उपमहानगर र जिल्लाका ६५ मध्ये तीन दर्जन गाविस  हेर्ने गरेको यो कार्यालयका मोठ फाँटमात्रै १० वटा रहेछन् । ११ बजे यहाँ पुग्दा धेरै फाटमा कर्मचारी उपस्थिति पातलो थियो । प्रमुखको कार्यकक्ष जानुपर्ने तलाको भर्‍याङसम्मै भित्र मोटरसाइकल जथाभावी पार्किङ गरिएका थिए । 
लक्षमण ढकाल, प्रमुख लेखिएको ढोका बाहिरको जनाउ बोर्डमा 'भित्र' भन्ने संकेत थियो । कोठा खुलै भएकाले भित्र पसेर हेरियो । कोही थिएन । 
तल ओर्लिएर सोधपुछ शाखाकी महिला कर्मचारीलाई सोध्दा उनले  ढकालको सरुवा भैसकेको बताइन । 'उहाँले बिहीवारै रमाना लिइसक्नुभो । मंत्रालयले अर्को पठाएको छैन' उनले भनिन् 'निमित्त सर पनि उदयपुरबाट आइपुग्नुपर्ने ।' निमित्त भनिएका उपसचिव तहका कर्मचारी खड्गबहादुर कार्कीको कुर्सी कार्यालय समयभर खाली थियो । 'अनि यहाँका मुख्य जिम्मेवार कसरी भेट्नु ?' प्रश्नमा उनले ढोकै छेउको कोठामा बस्ने शाखा अधिकृत यादव पोखरेलको नाम दिइन । 
पोखरेलको कार्यकक्ष पस्ने कोठाको ढोकासम्मै भित्रै ३/४ वटा मोटरसाइकल पार्किङ गर्ने गरिएको रहेछ । उनले भने 'सबै फाँटमा गरेर हामी ४४ कर्मचारी छौ । सरुवा मिलान चलिरहेकाले कुनै-कुनै फाँटमा मात्रै कर्मचारी अपुग छन् । काम कुनै रोकिएको छैन । हाकिम नभएर अडकिने काम आएको छैन ।' 
जग्गा किनेबेचको रजिष्टे्रशन पास, नामसारी, बकस, किचोला, रोक्का-फुकुवा बिभिन्न काम भइरहने यहाँ बडापत्र हेर्ने सेवाग्राही भेटिएनन् । सप्तरीको वैरवा-७ का सर्वेन्द्रकुमार साह मोरङ थलाहा-४ को १ बीघा ४ कठ्ठा ३ धुर जग्गा सुनसरी सत्तेरझोरा-३ का साधुचरण साहलाई बेचेपछि रजिष्ट्रेशन पास गरिदिन आएको भेटियो । पोखरेलले रजिष्ट्रेशन नामसारी कागजमा हस्ताक्षर गरिदिनअघि रकम पाए-नपाएको सोधे । उनले पाइसकेको बताए । नगदमा लेनदेन भएको बताएकाले कागजमा लेनदेन जनाउ दिने चेकका प्रतिलिपी संलग्न थिएन । 
काम सकेर गएका साधुचरण फर्किएर आए र, संवाददातालाई भने 'दिनभरि खेतमा काम गर्दा दुइ सय हुँदैन । यहाँ लेखनदासले एकैछिनमा हजार लिन्छन् । के यो अन्याय होइन ' प्रश्न शाखा अधिकृत पोखरेलतिर फर्काइदा उनको भनाइ थियो 'कागजी काम पढेका मान्छेले आफै गरेर फाँट-फाँटमा लगेपनि हुन्छ । तर, कोही पनि त्यसो गर्दैनन् । सबै लेखन्दासलाई नै अघि लगाएर आउँछन् । अनि लेखनदासले पारिश्रमिक त मागिहाल्छन् नि ।' 
मालपोतमा झोक्राएर बसेको दुइ समूह भेटियो । एउटा जग्गा किनबेच गरेर बसेका र अर्को नाम फरक परेर दुःख पाएकाको रहेछ । छोरीको विवाहका लागि खर्च जुटाउन दर्वेशा-४ को जग्गा दादरवैरिया-६ का मोतीलाल राजवंशीलाई ५ कठ्ठा सवा लाखमा बेचेका राधेश्याम राजवंशीले भने 'एक घण्टामा काम भयो । चिनेको लेखनदास थियो । काम फटाफट ।' पौने दुइ कठ्ठा जग्गा मगनीराम कामतसग खरिद गरेकी कटहरी-७ खयरवनाकी बुची काम झोक्राइरहेकी थिइन । उनका श्रीमान देवुले भने 'मगनीरामको नाम कर्मचारीले फिल्डबुकमा काशीराम लेखिदिएछन् । एक महिना धाएपछि आज बल्ल सच्चिने भयो । धेरै दुःख पाइयो ।' कर्मचारीले छिटो काम नगरिदिदा धेरै दिन भौतारिनु परेको दुखेसो उनको थियो । उनले भने 'कुन कुर्सीका को भेटिदैन, कुन कुर्सीका को । कति कुदाए कुदाए, अब बल्ल सच्याउने प्रक्रियामा आइपुगियो ।'
गत वर्ष १८ करोड ३० लाख ७७ हजार र चालु वर्ष फागुनसम्ममा १२ करोड ८५ लाख १६ हजार राजस्व असुली गरेको कार्यालयका फाटहरु कारागारको कैदी भेटघाट गर्ने पिकेट कोठाभन्दा स्तरीय रहेनछन् ।  सरुवा आएका केही कर्मचारी विदा लिएर डेरा खोज्न निस्किए । केही फाट छाडेर अन्यत्र गफिन निस्कनु सरकारी कार्यालयको रोगभन्दा फरक थिएन । करोडौको राजस्व असुली गर्ने कार्यालय परिसरमा सेवाग्राहीले गर्ने उजुरीका लागि स्पष्ट फाट, संकेत र सूचना रहेनछ । खानेपानी र शौचालयको उचित प्रबन्धमा कसैको ध्यान पुगेको देखिएन । 
मालपोत प्रांगणमा भेटिएका कानूनव्यवसायी जनक पुरीले भने 'काममा ढिलाई गरेर कर्मचारीले असुली गर्छन् । मेरै एकजना भाइको आमाको बकसपत्रबाट जग्गा नामसारी गर्ने बेलामा मोठमा अस्ति २५ हजार घुस मागेछन् । म पुगेपछि मेरो भाइ भन्ने चिने, अनि पैसा दिन परेन । काम छिटै गरिदिए ।' 
विराटनगर मालपोतको दिनभरको बसाइमा सेवाग्राही लाग्ने दस्तुरबाहेक अतिरिक्त पैसा तिरेर काम गराएको नामसहित बताउन मान्ने भेटिएनन् । एक जनाले भने 'फेरि फेरि काम पर्छ किन कर्मचारीलाई रीस उठाउनु । हतार हुन्छ । थोरै लेनदेनमा काम बनिहाल्यो । भैगो नसोध्नोस् ।' 
कार्यालयको गेटैमा लेखापढी व्यवसायी एसोसिएसनको अफिस छ । यसलाई मालपोतले आवश्यक फारम बेच्ने जिम्मेवारी दिएको छ । २३ वर्षदेखि यहा लेखापढीको काम गर्दै आएका उमेश श्रेष्ठले भने 'हामीले संगठनबाट तोकेको रेटमै लेखापढीको काम गराउँछौ ।' सेवाग्राहीले अतिरिक्त दस्तुर तिर्नै नपर्ने दावी उनको थियो । एसोशिएसन विराटनगर इकाइ अध्यक्षसमेत रहेका श्रेष्ठले भने 'संगठनभन्दा बाहिरका मान्छेले कागजभित्र लिएर जान्छ भने लेनदेनको काम अवश्य गर्छ । त्यसलाई हामीले केही दावी गर्ने अवस्था हुन्न ।' 

No comments: