विराटनगरमा मालपोत र जिल्ला अदालत पस्नका लागि मुख्य द्धार एउटै छ। मूलद्धारबाट करिब ३० मिटर उत्तर पसेपछि यी दुवै कार्यालय पस्न फेरि दुई द्धार पार गर्नुपर्छ। बाहिर सेवाग्राहीका लागि सशुल्क पार्किङको ठाउँ छ। तर, मालपोत कार्यालयका मुल भवनमा पस्दा कोठैभित्र पनि मोटरसाइकल र साइकल पार्किङ गरेको देखियो।
दुईवटा तले भवनमा मालपोतका मुद्दा, आन्तरीक प्रशासन, कम्प्युटर, लेखा, मोठ, रजिष्ट्रेशन र तामेलीका गरी सातवटा फाँट छन्। विराटनगर उपमहानगर र जिल्लाका ६५ मध्ये तीन दर्जन गाविस हेर्ने गरेको यो कार्यालयका मोठ फाँटमात्रै १० वटा रहेछन्। ११ बजे यहाँ पुग्दा धेरै फाटमा कर्मचारी उपस्थिति पातलो थियो। प्रमुखको कार्यकक्ष जानुपर्ने तलाको भर्याङसम्मै भित्र मोटरसाइकल जथाभावी पार्किङ गरिएका थिए।
लक्ष्मण ढकाल, प्रमुख लेखिएको ढोका बाहिरको जनाउ बोर्डमा 'भित्र' भन्ने संकेत थियो। कोठा खुलै भएकाले भित्र पसेर हेरियो। कोही थिएन।
तल ओर्लिएर सोधपुछ शाखाकी महिला कर्मचारीलाई सोध्दा उनले ढकालको सरुवा भैसकेको बताइन। 'उहाँले बिहीबारै रमाना लिइसक्नुभो। मन्त्रालयले अर्को पठाएको छैन,' उनले भनिन्, 'निमित्त सर पनि उदयपुरबाट आइपुग्नुपर्ने ।' निमित्त भनिएका उपसचिव तहका कर्मचारी खड्गबहादुर कार्कीको कुर्सी कार्यालय समयभर खाली थियो। 'अनि यहाँका मुख्य जिम्मेवार कसरी भेट्नु ?' प्रश्नमा उनले ढोकै छेउको कोठामा बस्ने शाखा अधिकृत यादव पोखरेलको नाम दिइन।
पोखरेलको कार्यकक्ष पस्ने कोठाको ढोकासम्मै भित्रै ३/४ वटा मोटरसाइकल पार्किङ गर्ने गरिएको रहेछ। उनले भने 'सबै फाँटमा गरेर हामी ४४ कर्मचारी छौँ। सरुवा मिलान चलिरहेकाले कुनै-कुनै फाँटमा मात्रै कर्मचारी अपुग छन्। काम कुनै रोकिएको छैन। हाकिम नभएर अड्किने काम आएको छैन।'
जग्गा किनेबेचको रजिष्ट्रेशन पास, नामसारी, बकस, किचोला, रोक्का-फुकुवा बिभिन्न काम भइरहने यहाँ बडापत्र हेर्ने सेवाग्राही भेटिएनन्। सप्तरीको वैरवा-७ का सर्वेन्द्रकुमार साह मोरङ थलाहा-४ को १ बिघा ४ कट्ठा ३ धुर जग्गा सुनसरी सत्तेरझोरा-३ का साधुचरण साहलाई बेचेपछि रजिष्ट्रेशन पास गरिदिन आएको भेटियो। पोखरेलले रजिष्ट्रेशन नामसारी कागजमा हस्ताक्षर गरिदिनअघि रकम पाए/नपाएको सोधे। उनले पाइसकेको बताए। नगदमा लेनदेन भएको बताएकाले कागजमा लेनदेन जनाउ दिने चेकका प्रतिलिपि संलग्न थिएन।
काम सकेर गएका साधुचरण फर्किएर आए र, संवाददातालाई भने, 'दिनभरि खेतमा काम गर्दा दुई सय हुँदैन। यहाँ लेखनदासले एकैछिनमा हजार लिन्छन् ! के यो अन्याय होइन ?' प्रश्न शाखा अधिकृत पोखरेलतिर फर्काइदा उनको भनाइ थियो, 'कागजी काम पढेका मान्छेले आफैं गरेर फाँट-फाँटमा लगेपनि हुन्छ। तर, कोही पनि त्यसो गर्दैनन्। सबै लेखन्दासलाई नै अघि लगाएर आउँछन्। अनि लेखनदासले पारिश्रमिक त मागिहाल्छन् नि।'
मालपोतमा झोक्राएर बसेको दुई समूह भेटियो। एउटा जग्गा किनबेच गरेर बसेका र अर्को नाम फरक परेर दुःख पाएकाको रहेछ। छोरीको विवाहका लागि खर्च जुटाउन दर्वेशा-४ को जग्गा दादरवैरिया-६ का मोतीलाल राजवंशीलाई ५ कट्ठा सवा लाखमा बेचेका राधेश्याम राजवंशीले भने, 'एक घण्टामा काम भयो। चिनेको लेखनदास थियो। काम फटाफट।'
पौने दुइ कठ्ठा जग्गा मगनीराम कामतसग खरिद गरेकी कटहरी-७ खयरवनाकी बुची काम झोक्राइरहेकी थिइन। उनका श्रीमान देवुले भने, 'मगनीरामको नाम कर्मचारीले फिल्डबुकमा काशीराम लेखिदिएछन्। एक महिना धाएपछि आज बल्ल सच्चिने भयो। धेरै दुःख पाइयो।' कर्मचारीले छिटो काम नगरिदिँदा धेरै दिन भौँतारिनु परेको दुखेसो उनको थियो। उनले भने, 'कुन कुर्सीका को भेटिदैन, कुन कुर्सीका को। कति कुदाए कुदाए, अब बल्ल सच्याउने प्रक्रियामा आइपुगियो।'
गत वर्ष १८ करोड ३० लाख ७७ हजार र चालु वर्ष फागुनसम्ममा १२ करोड ८५ लाख १६ हजार राजस्व असुली गरेको कार्यालयका फाटहरु कारागारको कैदी भेटघाट गर्ने पिकेट कोठाभन्दा स्तरीय रहेनछन्। सरुवा आएका केही कर्मचारी विदा लिएर डेरा खोज्न निस्किए। केही फाँट छाडेर अन्यत्र गफिन निस्कनु सरकारी कार्यालयको रोगभन्दा फरक थिएन। करोडौंको राजस्व असुली गर्ने कार्यालय परिसरमा सेवाग्राहीले गर्ने उजुरीका लागि स्पष्ट फाँट, संकेत र सूचना रहेनछ। खानेपानी र शौचालयको उचित प्रबन्धमा कसैको ध्यान पुगेको देखिएन।
मालपोत प्रांगणमा भेटिएका कानूनव्यवसायी जनक पुरीले भने, 'काममा ढिलाइ गरेर कर्मचारीले असुली गर्छन्। मेरै एकजना भाइको आमाको बकसपत्रबाट जग्गा नामसारी गर्ने बेलामा मोठमा अस्ती २५ हजार घुस मागेछन्। म पुगेपछि मेरो भाइ भन्ने चिने, अनि पैसा दिन परेन। काम छिटै गरिदिए।'
विराटनगर मालपोतको दिनभरको बसाइमा सेवाग्राही लाग्ने दस्तुरबाहेक अतिरिक्त पैसा तिरेर काम गराएको नामसहित बताउन मान्ने भेटिएनन्। एक जनाले भने, 'फेरि फेरि काम पर्छ किन कर्मचारीलाई रिस उठाउनु। हतार हुन्छ। थोरै लेनदेनमा काम बनिहाल्यो। भैगो नसोध्नोस्।'
कार्यालयको गेटैमा लेखापढी व्यवसायी एसोसिएसनको अफिस छ। यसलाई मालपोतले आवश्यक फाराम बेच्ने जिम्मेवारी दिएको छ। २३ वर्षदेखि यहा लेखापढीको काम गर्दै आएका उमेश श्रेष्ठले भने, 'हामीले संगठनबाट तोकेको रेटमै लेखापढीको काम गराउँछौ।' सेवाग्राहीले अतिरिक्त दस्तुर तिर्नै नपर्ने दाबी उनको थियो। एसोशिएसन विराटनगर इकाइ अध्यक्षसमेत रहेका श्रेष्ठले भने, 'संगठनभन्दा बाहिरका मान्छेले कागजभित्र लिएर जान्छ भने लेनदेनको काम अवश्य गर्छ। त्यसलाई हामीले केही दाबी गर्ने अवस्था हुन्न।'

No comments:
Post a Comment