अमेरिका बस्ने भारतको गुजराती मुलका लेखक मधु रेको पुस्तक 'किम्बल्स् रेभेन्सउड' मा एकजना सूत्रधार छन्। जसले कथाका पात्रको चरित्र र अघिल्ला घटनाक्रम वर्णन गर्छन्। सिकागोबाट भारत बोलाइएका युवकलाई घरसल्लाहले विवाहको दबाब पर्छ। मान्छन् तर, सर्त उनी सबै राशिका कन्याहरु भेटेरमात्रै आफ्ना लागि जीवन साथी चयन गर्नेछन्। १२ वटै राशिका कन्यालाई भेटेपछि पनि उनले भनेजस्तो जुर्दैन। अन्त्यमा सूत्रधारकै घरकी चेली ताक्छन्। त्यसबेला सूत्रधारलाई समस्या पर्छ। किम्बल्स् रेभेन्सउडको कथालाई सन् १९८० मा केतन मेहताले 'मिस्टर योगी' धारावाहिक टेलिशृंखला र २००९ मा आशुतोष गोवारिकरले 'व्हाट्स योर राशि' नामबाट फिल्म बनाए। धारावाहिकले चर्चा बटुल्यो, फिल्म व्यावसायिक रूपमा सफल भएन।
कथामा सूत्रधार र उनको चरित्र 'म' पात्रले लिन सक्दैन। सूत्रधार प्रसंगहरु जोड्छ । 'म' पात्र आफैं कुनै भूमिकाभित्र कथाका आरोह-अवरोहमा देखिन्छ। पात्रको अनुभवलाई पाठक आफैं त्यही भएर अनुभव गराउने क्षमता 'म' पात्रले राख्छ। अहिले बजारमा आएको 'कान्छो सार्की' मा सूत्रधार छैन। १९ वटा फरक प्रसंग छन्। र, यिनमा कथाकार कृष्ण अधिकारी धेरैपल्ट 'म' पात्रका रुपमा कथाभित्रै उभिन्छन्।
***
भूमिका लेख्ने चलन नटेरेको संग्रहमा शीर्ष कथा पहाडको बसाइमा घरेलु सहयोगी पात्रलाई 'म' पात्रले सम्झन्छ। रोग काट्नका लागि बाहुनको छोरोलाई गोरुको मासू ख्वाउने कान्छो सार्कीमा कतै छलछाम छैन। एउटा बलिष्ठ सहयोगीलाई तराई झरेर लामो अन्तरालपछि 'म' पात्रले सम्झना गर्दागर्दै उ बितेको खबर पाउँछ। कथाका शृंखलामा सार्की कान्छो तेस्रोमा परेको छ। पहाडी परिवेश, गाउँले बोली, रीति र खेतीमा अहिलेसम्म जनजिब्रोबाट हराउने तरखरमा रहेका धेरै शब्दलाई कथाकार पुनः ज्यान दिने प्रयास गरेका छन्।
२०५६ मा 'जर्मनी यात्रा स्मृति' लेखेका उनले करिब अढाइ दशक इटहरीमा रहेर साप्ताहिक पत्रिका चलाए। छापाखाना खोलेर व्यवसाय थाले। व्यवसायलाई विराटनगर सारेपछि स्थानीय एक दैनिक पत्रिकाको अन्तिम पानामा साताका एक दिन उनले समसामयिक प्रसंग लेख्न थालेको धेरै भएको छैन। हिउँ परेजस्तो केश भएका ५८ वर्षीय अधिकारी इन्टाइसर मोटरसाइकलमा इटहरी-विराटनगर गर्दै पूर्वेली साहित्यिक कार्यक्रमहरुमा सहभागिता जनाउन पुग्छन्। कविता सुनाउँछन्। तर, नजिकबाट चिन्नेहरुले उनका कथाको पुस्तकाकार रुप स्वयंम अधिकारीकै साहित्यमा दरिलो पदार्पण मानेका छन्।
***
लोग्नेले सौता हालेपछि घर छाडेकी 'एउटी आइमाई' बाट सुरु हुने कथाका श्रृङ्खला सुनुवारको छोरो बज्रधन र भुजेलकी छोरी कालीबीचको अन्तरजातीय विवाहमा आएर टुंगिन्छ। दशक लामो सशस्त्र द्वन्द्वका आरोह-अवरोह अहिले पुस्तकाकार रुपमा आइरहेका छन्। द्वन्द्वले समग्र समाजलाई पार्ने प्रभाव निमिट्यान्न हुन लामो समय लाग्न सक्छ।
अधिकारीको कथा 'त्यो कुकुर पनि अब रहेन' ले द्वन्द्वको दशकमा निर्दोष मारिएपछि उजाडिएको परिवार र सहयोगी जन्तुको मनोविज्ञान केलाएको छ। सुराकीको अरोपमा सत्यतथ्य छानबिन नगरी मान्छे कसरी मारिन्थे भन्ने प्रश्न उठाएको कथामा महिला पात्र पछि तिनै द्वन्द्वरतहरुका साथी बनेर लिएको प्रतिशोधपछिको अन्त्य कारुणीक छ।
***
सडकमा ट्राफिक प्रहरी उभिएर चालकलाई नियम सिकाउँछन्। एउटी महिला ट्राफिकले अधवैंसे 'म' पात्रलाई मोटरसाइकल रोक्न लगाएर हेलमेटको बेल्ट बाँध्न लगाउने प्रसंगबाट 'छोरी' शीर्षकको कथा अघि बढेको छ। आफूलाई सुरक्षित हुन सिकाउने केटीलाई अधबैंसे पात्र छोरीको रुपमा हेर्छ।
सकारात्मक सोच राख्नेहरुका भाावुक क्रिया-प्रतिक्रिया धेरैपल्ट गाढा सम्बन्ध बनाउन प्रेरक हुन्छन्। 'अर्काको छोरो' कथाले यौन मनोविज्ञानलाई केलाएको छ भने 'अतृप्त यात्रा' ले धनमोहमा बिग्रिएको घरलाई चित्रण गरेको छ।
***
भाषाशास्त्री बालकृष्ण पोखरेलका शब्दमा अधिकारीका कथा समाजका विभिन्न चरित्रको मनोविज्ञान केलाउन सक्षम देखिएको छ। शीर्षकले सुरुमा नौलो लागेको बताएकी स्रष्टा मिश्र वैजयन्ती भन्छिन्, 'महिलालाई हेर्ने पुरुष मनोविज्ञानका फरक आयामहरु कथाका बलिया पक्ष लागे।'
कथाकार विवश पोखरेल भन्छन्, 'सस्ता मूल्यका किताबलाई अहिले शंकाले हेर्ने पाठक धेरै छन्। तर, कान्छो सार्की ती सबै शंका निवारणमा सक्षम छ।' उनका अनुसार संस्मरणात्मक शैलीमा लेखिएका कथा यथार्थवादी धारका छन्। उनले भने, 'भोगाइ, आध्यात्मिकता, फेरिएको समाज, गाउँले जीवनका कुरा आदि धेरै चरित्रलाई कथाले समेटेका छन्।
स्रष्टा उपेन्द्र पागल भन्छन्, 'हरेक उमेरका मान्छेका मनोविज्ञान सूक्ष्म तरिकाले कथामा केलाइएको छ। यसमा धेरै प्रयोग भएपनि सामान्यीकरण गरेजस्ता लाग्छन्।'
***
(कान्तिपुर कोसेलीमा प्रकाशित मिति: २०६९ जेष्ठ ६)






