'दुर्घटना आफैं भोगेर सिक्ने पाठ होइन,' मुग्लिनबाट पोखरा जाँदा बाटामा कतै ठड्याइएको बोर्डमा पढेका यी वाक्यले गन्तव्य नआउन्जेल मगजमा फन्को मार्यो। स्टेरिङ आफ्नो नियन्त्रणमा भए सावधानीका यस्ता वाक्य सम्झँदै सवारीको गति र आफ्नो मति सुधार गर्न हुन्थ्यो। चालक कस्ता मुडमा छन् भन्ने थाहै थिएन। कारण, खुला आकाशको मुन्तिर, जगेडा टायरमाथि हुटमा हाम्रो सिट जो पर्यो।
***
२२ माघ सोमबार बेलुकी गोरखाको ताक्लुङ गाविसमा पर्ने अर्चले-ठेउवाटारबाट झोलुंगेपुल तरेर कुरिनघाट हुँदै मोटरसाइकलमा पोखरा आइपुग्दा बेलुकी साढे ११ बजेको थियो। ठाउँ-ठाउँ नियन्त्रित गतिमा सवारी चलाउन आह्वान गर्दै राखिएका सूचक पढ्दै आइयो।
'स्याङ्जामा घुमाउरो मोडहरू धेरै छन्। त्यता जाने हो भने बाइकमा नजानु। गाडीमै जानु,' राम्चेको भीरमा अफिसको गाडी पल्टिँदा घाइते भएर उपचाररत मेरा गाउँले दाइ गौतम योञ्जनले अघिल्लो साता भनेका थिए, 'सर्टकट टर्निङमा बानी नपरेकाले त्यता ड्राइभिङ नगरेकै राम्रो।' दाइ पोखरास्थित बागलुङ बसपार्कनजिकको सहारा अस्पतालमा भर्ती रहेको थाहा पाएर म भेट्न पुगेको थिए। अहिले उनी स्वस्थ हुने क्रममा छन्।
उनीसहित पाँचजना सवार पिकअप गाडी घुमाउरो मोडमा दुर्घटना भएको रहेछ। घटना सुनाउँदै उनले भनेका थिए, 'गाडी भीरबाट लडेर रूखमा अल्झिएछ। मलाई त्यहीँ अल्झेको ठाउँबाट गाउँलेले तानेर झारेका रे।' क्षति पुग्ने सवारी दुर्घटनाजस्तो आवरणमा पनि प्रिय हुँदैन। दाइको सल्लाह मानियो। मंगलबार स्याङ्जा जानुपर्दा सार्वजनिक सेवाकै सवारीको यात्रा जिन्दावाद।
***
रत्नराज्य क्याम्पसमा पत्रकारिताको स्नातकोत्तर तहका विद्यार्थी अजय बुढाथोकी र म २४ माघ बुधबार साँझ स्याङ्जाको गल्याङबाट चापाकोटको यात्रामा थियौं। यात्राको विषय थियो- 'कुलोसँग जोडिएको जीवन।' हामी पोखराबाट मंगलबार दिउँसो ७८ किलोमिटरको यात्रापछि गल्याङ पुगेका थियौं।
स्याङ्जालीका लागि सुख दुःखसँग जोडिएको आँधीखोला धेरैले सुनेको नाम हो। चर्चित लोकभाका 'आँधीखोला उर्लेर आयो, आउने थिन मायाले बोलायो' सुनेकाहरूले स्याङ्जाको यात्रा नगरे पनि खोलाको नाम सुनेकै हुनुपर्छ। पुतलीबजार, वालिङ होस् वा गल्याङ, सबैका छेउ भएर यो खोला यात्रारत छ।
गल्याङमा आँधीखोलाको धेरै पानी दुई प्रकारले उपयोग हुन्छ। एउटा बुटबल पावर कम्पनीले विद्युत् उत्पादनका लागि, दोस्रो किसानले खेतीमा। हाम्रो अहिलेको चासोको विषय दोस्रो हो। खोलाबाट ल्याइएको पानीको तीन भागमध्ये दुई विद्युत् र एक भाग सिँचाइमा उपयोग गरिएको छ। सिँचाइको व्यवस्थापन गर्दै आएको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का कार्यालय व्यवस्थापक खगेन्द्र भट्टराईले भने, 'नौला मान्छे छक्क पर्छन् हामीकहाँ अचम्मको भूमिसुधार कार्यक्रम छ। हुनेहरूबाट लिएर नहुनेलाई जग्गा दिने।'
उनले भनेकै 'अचम्म' लाई नजिकबाट बुझ्नैका लागि हामी गल्याङ पुगेका थियौं। कार्यान्वयनमा रहने जटिलता र इमानदारी अभावको पाटो एकछिन बिर्सने हो भने भूमिसुधारका कदमको अन्तर्निहित उद्देश्य धेरै भएकाहरूबाट केही नभएकाहरूलाई थात-बास दिलाउने भन्ने हो। यस्ता कार्यक्रम धेरै आए पनि मुलुकमा भूमिहीन समाप्त भएका छैनन्।
अब गल्याङ सन्दर्भमा फिरौं- आक्वाले आफैंमा गरेको प्रयोग कुनै क्रान्तिकारी कदमभन्दा कम रहेनछ। विसं २०४१ मा निर्माण भएको कुलो बनाउँदाताका श्रमदान गर्नेलाई संस्थाले पानी उपयोग अधिकारको सेयर प्रमाणपत्र दिएको रहेछ। अध्यक्ष अर्जुन श्रेष्ठले बताए, 'यो योजना नर्वेको आर्थिक-प्राविधिक सहयोगमा युनाइटेड मिसन टु नेपालले कार्यान्वन गर्यो। हामी गाउँलेले श्रमदान गर्यौं। भूमिसुधारको सिद्धान्त कसरी-कसरी सबैलाई मन परेर पारित भयो। कतिलाई सुरुमा नियम सम्झाउन गाह्रो पनि भयो।' बढी जमिन भएका सेयर सदस्यले आफ्नो जग्गा संस्थालाई दिने र संस्थाले ती जमिन भूमिहीन सदस्यलाई किस्ताबन्दीमा तिर्नेगरी उपलब्ध गराउने नियम कार्यान्वयन गरियो।
'त्यो बेला यहाँका जग्गाको उतिसारो भाउ थिएन। एउटा परिवारमा १० सदस्य छन् भने तिनलाई वर्षको तीन बाली उब्जनी गरे सात रोपनी माटोले पुग्छ भन्ने हिसाब आयो,' उनले भने, 'त्यहीअनुसार बढी जमिनमध्येको १० प्रतिशत रोपनीको ३/४ हजारका दरले धनीबाट लिँदै भूमिहीनलाई बाँडियो। पाउनेले खेती गर्दै संस्थालाई किस्ता तिर्दै गए।'
स्याङ्जाको जगत्रदेवी, तुलसीभञ्ज्याङ र पाल्पाको हुँगी गाविस सिँचाइको कमान्ड एरिया रहेको संस्थाले २५ हजार सेयर प्रमाणपत्र तयार पार्यो। ४५ सय सेयर आफैंमा राखेको संस्थासँग प्राप्त जमिनमध्ये पानीको सेयर भएका ७१ भूमिहीनले माटो पाए।
राजधानीमा बस्ने तर, स्याङ्जामा जग्गा भएका एकाध प्रभावशालीबाट भने संस्थाले जमिन पाउन सकेन। २०४७/४८ देखि थालिएको अभियान ५ वर्षसम्म कार्यान्वयन हुँदा करिब २३० रोपनी जमिन धनीहरूले संस्थालाई दिए । पहाड, खोला-नाला र उब्जनी नहुने २०/२५ रोपनीबाहेक सबै भूमिहीनमा वितरण भइसकेको रहेछ। २ रोपनी १० आना पाएका जगत्रदेवी-६ का जोतबहादुर कामी, ४ रोपनी २ आना पाउने तुलसीभञ्ज्याङ-४ दिमिकका बुद्धबहादुर जीटी र २ रोपनी २ आना पाउने पाल्पाको हुँगी-२ की खगीसरा गुरुङ ७१ परिवारमध्येका केही प्रतिनिधि नाम हुन्।
आँधीखोलाभन्दा ठूलो सिँचाइ प्रणाली चापाकोटमा पनि रहेको जानकारी भट्टराईले दिए। उनले भने, 'यहाँको सिस्टम हेरेपछि तपाइँहरू चापाकोट पनि पुगेको राम्रो। त्यहाँ हाम्रोभन्दा ठूलो योजना छ।' उनले यति भनेपछि हामी त्यसतर्फ पनि जान लालायित भयौं। आखिर के छ त्यस्तो चापाकोटमा ?
***
गल्याङबाट पोखरा र बुटवल जाने बाटोबाहेक अर्को रुट चापाकोटका लागि थियो। हामी दिउँसो करिब अढाइ बजे त्यसतर्फ जान चोकमा आइपुग्यौं। लामो प्रतीक्षापछि एउटा जिप आयो। मैलो सेतो लुगाजस्तो रंगको लु१प १४७३ नम्बरको महिन्द्रा जिप। दिनभरिमा आधा दर्जन जिप र तीनवटा बस चल्ने बाटामा एउटामात्रै जिपले गुड्ने दुस्साहस गरेको थियो।
अघिल्लो दिनदेखि परेको हिउँदे झरीले हिलाम्य बनाएको बाटामा जिपको टायर घिस्याउने जोसलाई दुस्साहस नै भनेको ठीक होला। साँझ सवा ६ बजे हुटमै पनि बसेर जान तयार भइयो। दह्रा र जवानका लागि यही आसन उपयुक्त थियो। अजयले गाडी आइनपुग्दै भनेका थिए, 'धेरै मान्छे छन्। भित्र सिट पाइँदैन होला। गाडी आउनेबित्तिकै हुटमा चढ्नुपर्छ।'
उनले भनेजस्तै भयो। सडकमा उभिन दिक्क भएर सिमसिमे पानी छेल्न धेरै यात्रु वरपरका पसलमा बसेका रहेछन्। चिसोसँगै कुहिरो लाग्न सुरु भएको छ। पानी मध्यम गतिले पर्दैछ। यात्रुका हूल कमिलाको गोलो जसरी गाडीमा झुम्मियो। म पछाडि बस्न खोजेँ। त्यहाँ पहिल्यै बसेर आएका दुई-दुई टाउकाले एकै स्वर बोल्यो, - 'यो सिट रिजब हो। हाम्रा मान्छे छन्।' अब गाडीको छतमा चढ्नुको विकल्प थिएन। त्यहाँ पनि बस्न नपाइएला जस्तो भयो।
हामीसँग छाता वा रेनकोट थिएन। मैले ल्यापटप र क्यामेरा बोकेको ब्याग पानी नछेल्ने थियो। आफ्नोभन्दा यी साधनको चिन्ता। त्यसैले मलाई छतमा बस्न मन थिएन। सार्वजनिक यातायातको सवारी, त्यसमाथि पनि विपद्का बेलाको साधन। रोजीछाडी कसले गर्न दिने ! छतमा चढियो। मैले एक घन्टाअघि त्यो ठाउँको एउटा पसलबाट ऊनीका दुइटा टोपी किनेको थिएँ। अजयले बोलेको पुग्ने अवस्थामा चिसोबाट बच्न मद्दत गर्छ भन्ने हेतुले।
गाडीअघि बढ्नै लाग्दा बाटामा ती पसले साहुनी देखिइन्। म हुटबाटै चिच्याएँ, 'ए दिदी, मेरो ब्याग अँट्ने प्लास्टिकका झोला भए दिनुस्न्। यसमा भिज्न नहुने सामान छन्।' ठूला झोला नभएको प्रस्टीकरणसहित उनले स-साना दुइटा प्लास्टिक तुरुन्तै ल्याएर दिइन्।
एउटाले ल्यापटप र अर्कोले क्यामेरा पोको पार्न पुग्यो। मैले लगाएको छालाको ज्याकेट दिउँसैदेखि भिजेको थियो भने छालाकै जुत्ता पनि पानीले ढाडिएको थियो। गाडी अघि बढ्यो। मैले टाउको गणना गरेँ। हुटमा १३ जना रहेछौं। सिमसिमे पानी थामिएको छैन। अँध्यारो बढ्दो छ। भीरको बाटो गाडी अघि बढ्दै लर्याङबर्याङ गर्छ। म एउटा हातले हुटको फलामे पाइप र अर्को हातले आफ्नो ब्याग समात्छु।
***
गाडी कुर्ने क्रममा चिनजान भएका भारतको पटनाका हीरा कुमाल र नेपालगञ्जबाट घर जान आएका स्याङ्जा रत्नपुरका राजेन्द्र डोटल हुटमा सँगै परे। साथमा चापाकोटका हुमबहादुर विश्वकर्मासँग पनि चिनजान भयो। कतारमा ६ वर्ष काम गरेर फर्किएका हुमबहादुर आएको १० दिन भएको रहेछ। 'कम्पनी नै बन्द भएर पो। ममात्रै हो र ३६ जनाको जागिर गयो,' उनले सुनाए, 'फेरि जान्छु। यहाँ बसेर के गर्नु ? त्यहाँ महिनाको ३६ हजार हुन्थ्यो। यहाँ ३६ पैसा पनि नाइँ।'
वालिङ र चापाकोटमा ठेकेदारसँग मिलेर निर्माणाधीन घरका काठ र पक्की जोडाइको काम गर्दै आएका कुमाल गाडी नपाए वालिङ फर्कने सुनाइरहेका थिए। तर, गाडी पाएपछि उनलाई फोन आइरहेको थियो। उनी रिसाउँदै उत्तर दिँदै थिए, 'गाडी मे बानी। आ रहल बा।'
एकजना चिनजानको मान्छेमार्फत नेपालमा काम गर्न आएपछि कहिल्यै खाली बस्नु नपरेको अनुभव सुनाएका कुमालले भने, 'यहाँ धेरै घर बन्दै छन्। काम गर्न सिपालु मान्छे रहेनछन्। एउटाको काम सक्तासक्तै अर्को कन्ट्रयाक्ट पाइहालिन्छ।' थोरै कुरा गरेर कुमालले मोबाइलमा गीत बजाए। इयरफोन जोडेर कानमा घुसारे। चुप्प लागे।
उकालो-ओह्रालो हिलाम्य बाटोमा बेला-बेला टायरको छाप भएको रुटबाट जिप बहकिन्थ्यो। मानौं मदिराले लठ्ठ मान्छे सोझो हिँड्न सकेको छैन। मुन्टो घुमाएर जिपको हेडलाइटको प्रकाशले देखिने बाटो हेर्दा लाग्थ्यो, 'अहिल्यै लडिन्छ, भरे लडिन्छ। बाँचिँदैन होला।'
विश्वकर्माले भने, 'यो त बाटो धेरै राम्रो भएको हो। बिहान यही गाडीमा म घरबाट आएको बडो गाह्रोले गल्याङ लगेको हो। अरूले आज हिँड्न हिम्मत गरेनन्।'
गाडी रोकियो। कन्डक्टर बनेर हिँडेका गाडीधनी नारायण खनाल चिच्याए, 'लौ माथिका सबै उत्रनुस्। यो उकालोपछि चढ्नुहोला।' उत्रेर झन्डै डेढ सय मिटर हिलोमा हिँडियो। हलुका वर्षा जारी छ। चिप्लो बाटोमा सबैका टर्चलाइटले काम पाएको थियो।
टर्चको प्रकाश परेपछि बाटामा एउटा बोर्ड पढ्न पाइयो- 'खुला दिसामुक्त वडा।' हुटबाट उत्रिएर पैदल हिँडेमध्येका एक अधबैंसे बोले, 'खै कसले लाउँछ र यस्ता बोर्ड लाउँछन् ! मुक्त हो भने बाटामा सार्वजनिक शौचालय बनाउनु नि। मान्छेका ट्वाइलेट छिरे हपार्छन्। लु जा म त बाटामै सु गरिदिन्छु।' उनलाई कसैले जवाफ दिएन। बरु 'सु' गर्न आधा दर्जन पुरुष यात्रुले साथ दिए।
जिप चढेको एक किलोमिटर नपुग्दै खनाल फेरि उत्रिए र भने, 'लौ गाडी फँस्यो । सबै मिलेर ठेलौं।' सडकमा परेको खाडलमा परेको जिप निस्कन सकेन। निस्कने प्रयासमा वातावरण डढेको टायरको गन्धमय बन्यो। आखिर सबै यात्रुले ओर्लेर ठेलेपछि बल्ल निस्कियो।
***
गल्याङबाट चापाकोटको सडक दूरी २७ किलोमिटर हो। वर्षामा यहाँको बाटो हेर्दा तिहारका देउसेले भन्ने गरेको 'रातोमाटो चिप्लो बाटो, आयौं हामी लड्दै पड्दै' यहाँ सार्थक देखिन्थ्यो। २०५२/५३ देखि यो रुटमा गाडी चल्न थाले पनि सडक सुधार कछुवा गतिमा रहेछ। बाटामा पर्ने चार खोलामध्ये बुङ्दीमा मात्रै सानो पुल छ। त्योबाहेक ढाडे, जोई र छिपे खोला धेरै पानी नआएसम्म गाडी मजाले वारपार गर्दा रहेछन्।
पाल्पा सिमानाको स्याङ्जाली गाविस रत्नपुरसम्म पुग्नका लागि यो बाटोमा यात्रा गर्ने धेरै हुँदा रहेछन्। 'धेरै दुःख पानी परेका बेला मात्रै हो,' कुमालले बताए, 'गल्याङ नआई वालिङबाट पनि सोझै चापाकोट पुग्न सकिन्छ। तर, त्यो बाटो पानी परेका बेला गाडी कुद्दैनन्।'
पहिलो, दोस्रो र तेस्रोपटकसम्म गाडीले हुटबाट उत्रन लगाएर हिँड्न र ठेल्न लगाएका पालोहरूमा यात्रु अभ्यस्त थिए। अजय र मैले पनि यो उपक्रममा साथ दिँदै अघि बढ्यौं। विपरीत दिशाबाट आएको ३०४६ नम्बरको जिपबाट चालक विनय विकले हाम्रा चालक अशोक कुमाललाई कराए, - 'हुटका सबै मान्छे ठाउँ-ठाउँमा ओराल्दै लैजा है। नभए उत्तानो होलास्, सबै चित खालान्।' कुमालले उत्तरमा के भने हामीले स्पष्ट सुनेनौं। तर, विकको भनाइले यात्रा धेरै जोखिमको रहेछ भन्ने लाग्यो।
त्यसपछि जिपले रोक्यो भने हामी माथिबाट कराउँथ्यौं, 'ओ गुरु ! हामी उत्रिनुपर्ने हो ?' कुनै ठाउँ उनी 'हो हो' भन्थे। कतै गाडीको करतल ध्वनिले बोले-बोलेनन् थाहा हुँदैनथ्यो।
बजार क्षेत्रमा गाडीका हर्न, इन्जिन, बल परेका साइलेन्सरका आवाज र नाक पोल्ने धूवाँको सामना गर्नुपर्दा प्रतिक्रिया जनाइहाल्ने बानीको यहाँ सेखी झरेको थियो। मनमा लागिरहेथ्यो, 'जसरी होस् जति समय लगाएर होस् सुरक्षित पुर्याओस्। जान बची तो लाख उपाए।' चढेको साढे ४ घन्टापछि राति १०:४५ बजे चापाकोटको बजार आइपुग्दा बल्ल मन शान्त भयो। उत्रेपछि थाहा पाइयो, बजारका सबै होटल-पसल बन्द भएको करिब तीन घन्टा भइसकेको छ। अब बास खोज्ने कसरी ? भोक पनि लागेको छ।
अलमलमा रहेकै बेला हुटका सहयात्री डोटेल देखिए। उनले भने, 'अब तपाईंहरूले यहाँ बास पाउनुहुन्न। हिँड्नुस् बरु मेरै घर जाउँ। घन्चमञ्च बसौंला।' उनको घर चापाकोटबाट पूर्व रत्नपुरमा रहेछ। चिप्लो बाटो र निकै तल ओर्लेर एउटा खोला तरेर जानुपर्ने। करिब आधा घन्टाको बाटो। उनको प्रस्ताव स्वीकार गर्नुको विकल्प पनि थिएन। झरीमा रुझ्दै टर्च बालेर अजय र म उनका पछि लाग्यौं।
***
(२०६९/११/५ को कान्तिपुर कोसेली)



