Sunday, September 22, 2013

उसले पेस्तोल किन देखायो ?

इलामबाट काठ ल्याएर सुनसरी-मोरङमा सप्लाई गर्ने मान्छे । ५ ट्रक काठ ल्याएर सुनसरीको नर्सिङमा रहेको स-मिललाई दिए । मैले नौ लाख पाउनुपर्ने । मलाई चार लाख मात्रै दिएर अरु पछि दिने बताइयो । पैसा पाइएन, बरु तीनजना एकाबिहानै मेरो घरमा आए । एउटा बाटो देखाउन भनेर आएको केटा थियो, जसको बाउसँग मैले पैसा पाउनुपर्ने थियो । दुई जनाले आफूलाई 'प्रहरी' बताए । उनीहरू सादा पोसाकमा थिए ।  बेलबारी थानामा बोलाइएको छ भने । मैले पत्याइँन । 

'पुलिस भए प्रमाण के ? कसरी पत्याउनु ?' भन्दा एउटाले कम्मरमा भिरेको पेस्तोल देखायो र, भन्यो - 'यो हेर्नुस । पत्याउनुस् हामी प्रहरी नै हो ।'

घरबाट निस्किएर नजिकको चौकीमा गएँ । त्यहाँका सइलाई भने, 'पुलिस भन्छन् । मलाई लैजान आएका रे । हुन होइनन् एकपल्ट बुझिदिनुस ।' सइले बेलबारी थानामा फोन लायो । आएका दुईजना प्रहरी नै रहेछन् । अनि थाना गइयो । दुवै पक्ष राखेर मलाई कागज गराइयो । मैले उल्टै ५ लाख तिर्नुपर्ने । त्यो दिन फिरियो ।

मैले करकापविरुद्ध जिल्ला अदालतमा मुद्दाको निवेदन हालें । पछि फेरि मलाई बोलाइयो । थानाले भन्यो - 'प्रशासनमा निवेदन परेको छ रे । दुवै पक्ष उतै जानुस ।'

प्रशासनमा आएपछि पनि कुरा मिलेन । हामीले दुइपटक कागज गरिसकेका थियौं । अदालतले म्याद दिएको थियो । कुरा अदालतमा पुगेकाले दुवै पक्षले अब उतै गएर आ-आफ्नो कुरा राख्नुपर्ने भनाई सहायक सिडिओको थियो । तर, पत्रकारजी, तपाइँले मेरो कुरा छापिदिनुस् । उसले किन मकहाँ पेस्तोल लिएर आयो । परिचय माग्दा किन पेस्तोल देखायो ?

०००
 
अफिसमा दुईजना आएका थिए । अलि अग्लो मान्छेको कुरा यस्तो थियो, जो माथि उल्लेख छ । उसले पहिले अफिसको सबैभन्दा ठूलो मान्छे खोजेको थियो । ठूलो मान्छे आइपुग्न केही समय लाग्छ भनेपछि उसले आफ्ना कुरा सुनाएको थियो । एउटा प्रेस विज्ञप्ति पनि दियो । त्यसका उही बेहोरा थियो, जो उसले भनेको थियो । 

लेनदेनका यस्ता विवादलाई समाचार बनाउनु अघि सम्बद्ध दुवै पक्षको कुरा सुन्न जरुरी हुने । थाना र सहायक सिडिओसँग सोध्नैपर्ने प्रक्रियाका कुरा मैले बताउँदा ऊ सन्तुष्ट देखिएन । 

ऊ छिटो समाचार छापिएको हेर्न चाहन्थ्यो । उसका कुरा मात्रैले समाचार बन्थेन । आफूले बताएका प्रक्रिया पुरा नगरी समाचार लेख्न नसक्ने मैले बताएँ । उसले आफ्नो फोन नम्बर दियो । तर, दोस्रो पक्षको नम्बर थाहा नभएको भनेर पन्छियो । घटना पनि एक महिना अघिको थियो । 

उसले भनेको थानाबाट इन्चार्ज सरुवा भइसकेका थिए । अब उसको केस जसलाई थाहा थियो, उसलाई कसैगरि सम्पर्क गर्न जरुरी देखियो । 

उसले हतार गर्‍यो । धरान र अन्यत्रबाट स्थानीय अखबारमा उसका समाचार छापिइसकेको बतायो । र, आफ्ना कुरा पत्याएर एकतर्फी भए पनि जसरी हुन्छ तुरुन्त समाचार आउनु पर्नेमा उसको जोड थियो । आफ्ना कुरा सुनाएपछि मैले पुरा गर्नुपर्ने प्रक्रियाबारे ऊ निष्फिक्री थियो । उ त्यसका लागि सहयोग गर्न तयार थिएन । 

नरम भएर उसका कुरा सुन्दै जाँदा उसले मलाई नै यस्तो कुरा गर्न थाल्यो, मानौँ मैले उसको ऋण खाएको छु । मैले कुनै पनि हालतमा उसका कुरा पत्याएर लेख्नैपर्छ । मैले मानिन । 

०००
मेरो मूल्यवान एक घण्टा नाश गरेपछि उसले भन्यो - 'मैले फोटोकपी गर्न पाइन । मेरो प्रेस विज्ञप्ति यहाँ कपी गरेर राख्नुस् । यो मलाई दिनुस् । एउटामात्रै छ । मलाई चाहिन्छ । कुरा सुनिहाल्नु भो । यही आधारमा तपाइँको समाचार भइहाल्छ नि ।' 

मलाई लाग्दैथ्यो 'कतै यो मान्छे खुस्केको छ होइन !' तर, उसका सबै कुरा होसकै भान हुन्थे । समाचार कर्ममा यस्ता मान्छे भेटिनु नौलो पटक्कै होइन । तर, यो मान्छेले धेरै किचकिच गरिरहेको छ । मलाई कतिखेर जाओस् जस्तो हुन थालिसकेको थियो ।

अफिसमा फोटोकपी मेसिन छैन । फोटोकपी गर्न डेढ किलोमिटर पर पुग्नुपर्छ । ऊ फोटोकपी गरेर ल्याइदिने मुडमा पनि थिएन । उसको विज्ञप्ति फिर्ता नदिइ सुख थिएन ।

मैले भने 'तपाइका विषयको समाचार खोज्न र लेख्नका लागि पहिलो आधार तपाइँको विज्ञप्ति, दोस्रो कुराकानी, तेस्रो सम्बद्ध सबै पक्षको कुरा बुझ्नु र चौथो प्रशासनमा भएका कुरा जिम्मेवार मान्छेबाट सुन्नु हो । विज्ञप्ति लैजानुहुन्छ भने लैजानुस् । पछि जहिले आउनु हुन्छ तहिले समाचार लेखौँला ।' 

उसले आफ्नै मात्र कुरा गर्‍यो । भन्यो 'तपाइँलाई मैले यत्रा कुरा भनिसकें अरु के आधार चाहियो ? मलाई किन घरमा आएर पेस्तोल देखाइयो ? चित्त नबुझेको कुरा यही हो । खै विज्ञप्ति दिनुस् ।'

०००
अन्ततः ऊ सँगै आएको अर्को युवकले उपाय सुझायो । विज्ञप्ति इटहरी पुगेर इमेल गरिदिने । उसले मेरो भिजिटिङ कार्ड माग्यो । मैले दिएँ । दुई घण्टाभित्र विज्ञप्ति इमेलमा पठाइदिने भनेर निस्केको मान्छेको न फोन आयो, न त इमेल । चार दिन अघिको कुरा थियो ।

मेरो कार्यकक्षबाट निस्कने बेलामा दुवैले समाचार जसरी पनि कान्तिपुरमै आउनुपर्छ भन्नेमा जोड दिएका थिए । लोकल अखबारले लेखेकोभन्दा बढी बल पुग्ने दुवैको तर्क थियो । उसको फोन नम्बर मैले त्यो विज्ञप्तिको कागजमै टिपेको थिए । विज्ञप्ति फिर्ता दिदा मलाई उसको नम्बर मेरो डायरीमा टिप्न जाँगर चलेन । कारण, उसले मलाई लामो चाट्यो । उस्तै भए कपाल सकिएर टाउको चिल्लो तालुमा परिणत हुनेगरी ।
 
व्यक्तिगत लेनदेनका मामिला उति चाखलाग्दा समाचार बन्न गाह्रो छ । प्रमाण नभएका घटनामा एक पक्ष लाग्न पनि बेठीक हो । फेरि उसले त्यो व्यक्तिको न नम्बर दियो, न त क्लियर ठेगाना । उनीहरू गए । अरु कामको चापले त्यो घटनाबाट मेरो पनि ध्यान हट्यो । 

०००
हिजो बिहान ८ बजे सहायक सिडिओ र म एउटा कार्यक्रममा सँगै पर्‍यौं । मैले त्यो मान्छे सम्झें । अनि सोधें 'वास्तवमा भएको के हो ?' सहायक सिडिओलाई त्यो विज्ञप्ति निकाल्ने मान्छेमाथि नै शंका रहेछ । उनले भने 'लेनदेनको मामिला हो । अदालत पुगेपछिका कुरा हामीले छिनोफानो गर्न नमिल्ने भएकाले उतै जाओ भनियो । त्यो मान्छे नै शंकास्पद लाग्यो ।'

थानामा दुईपटक कागज भएको रहेछ । काठ लेनदेन गर्दा कुनै भरपाइ गरिएको देखिएन । कागज गर्दा दुवै पक्ष मिलेर थाना गएको बुझियो । कसैले कसैलाई करकाप नगरेको बुझियो । दुवै आएर हामी कागज गर्छौ भनेपछि थानाले सहजीकरण मात्रै गरिदिएको भन्ने मैले बुझें । अहिले उसले 'त्यो सादा पोसाकमा आएको पुलिसले मलाइ किन पेस्तोल देखायो भनेर हिँडदैछ रे ।

सहायक सिडिओका उपरोक्त भनाइपछि समाचार लेख्न हतार नगरेर ठीकै गरियो कि भन्ने लाग्यो । अदालत पुगेर विचाराधीन मुद्दालाई प्रभाव पर्ने गरि हतारमा लेख्नु उचित पनि थिएन । तर, एउटा कुरा हरदम सम्झना भइरहेको छ - प्रहरीले परिचय दिने तरिका पक्कै बेठीक थियो ।