पाल्पाको बर्तुङबाट पोखराको बसयात्रामा मैले गत साता झ्यालबाट मिल्काइदिऊँ जस्तो–जस्तो लागेको पानीको खाली बोतल फालिनँ। सहचालकलाई सोधेँ, ‘भाइ यो कता फाल्ने ?’ उनले सिटमाथिको सामान राख्ने ठाउँ (लगेज र्याक) देखाए, त्यसमै राख्न इसारा गरे। त्यसै गरेर गाडीले खाना खान गल्याङ रोकेपछि सोधें, ‘त्यस्तो प्लास्टिक बोतल कहाँ फाल्नुहुन्छ?’ उनले हाँसेर टारे। भने, ‘के ठट्टा गर्नुहुन्छ ! त्यस्तो जाबो चीज फाल्न जता मन लाग्यो त्यतै नि। कल्ले पो सोध्छ।’
सामान्यतः यो ठूलो कुरा कहाँ हो र ! तर, दिनमा हजारौं सवारीसाधन गुड्छन्। लाखौं लिटर पानी खपत हुन्छ। अनि धेरै प्लास्टिकका बोतल मिल्काउने बेला हामी गाडी स्टाफलाई सोध्दैनौं। गाडीहरूले पनि भित्रै ‘डस्टबिन’ व्यवस्था गरेर यात्रुका खानेकुराका खाली प्याकेट, फलफूलका बोक्रा र पानीका बोतल भेला पार्दै तह लाउने चलन बसेकै छैन।
गत मंसिरको अन्तिम साता सञ्चारमाध्यमहरूले ‘बसबाट बाहिर फोहोर फाले जरिवाना हुने’ खबर प्राथमिकतासाथ दिएका थिए। सभ्य व्यवहारका लागि राम्रो मानिएको उक्त खबरमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरिसकेको उल्लेख थियो। गत पुसदेखि लागू हुने भनिएको उक्त नियमअनुसार सबै यात्रुवाहक सवारीसाधनले भित्रै ‘डस्टबिन’ व्यवस्था गर्ने र पहिलो चरणमा सहचालकमार्फत यात्रुलाई बाहिर फोहोर नफाल्न सचेत पारिने भनिएको थियो। अभियानका रूपमा सुरु गरिने भनिएको नियम उल्लंघन गरी बाहिर फोहोर फाल्नेलाई पाँच सयदेखि पाँच हजारसम्म जरिवाना गर्न सकिने खबरमा उल्लेख थियो।
राजधानीबाट मुलुकभर लागू हुने भनिएको खबर आयो। त्यसको फलोअप हरायो। हाम्रो व्यवहार जस्तो थियो, त्यस्तै छ। सरसफाइका लागि लागू गर्न कुनै भार नपर्ने यो नियमबारे चासो बोलेको देखिँदैन। सवारीसाधनले ‘डस्टबिन’ व्यवस्था गरी संकलन हुने फोहोर कुनै निश्चित स्थानमा लगेर तह लगाउन नसक्ने पनि होइनन्। यात्रुले पनि ‘बाहिर नफाल्नुस्, ऊ त्यो भाँडोमा हाल्नुस्’ भनिदिए प्रतिवाद गर्नुपर्ने पनि कारण हुँदैन। लोकप्रिय लाग्ने अभियान घोषणामा रमाउनेहरूले अनुगमन गरे निश्चय पनि यो व्यवहारमा लागू हुने नै छ।
लामो दूरिका सवारीसाधनले बीच बाटोमा कतै रोकेर यात्रुलाई दिसापिसाब गराउने चलन पनि हट्न सकेको होइन। त्यसमाथि खानेकुराका प्याकेट र पानीका बोतल जथाभावी फाल्न हुँदैन कसरी भन्लान् ! सरसफाइका लागि हेर्दा–सुन्दा सामान्य लाग्ने यो चलन बसाउन तामझामका साथ मन्त्री, सरकारी अधिकारी वा यातायात व्यवसायी–मजदुरका अगुवाले उद्घाटन गरिरहनु अवश्य पर्दैन।
प्लास्टिक र कागज पुनर्प्रयोग हुनसक्छन्। फलफूलका बोक्रा सड्ने भएकाले निश्चित स्थानमा तह लगाउन सकिन्छ। पुनःप्रयोग हुनसक्ने वस्तु सहरबजारमा संकलकहरू दिन–रात खोजी हिँडेका छन्। सवारी आउजाउ गरिरहने चोक–चौरस्ता र बसपार्कहरूमा सवारीसाधनले आफ्ना ‘डस्टबिन’ खन्याउन मिल्ने व्यवस्थाका लागि स्थानीय तहले पहल गर्नसक्छ। फोहोर बाहिर नमिल्काऊँ भनेर यात्रुलाई यातायातकर्मीले अनुरोध गरेमात्रै पनि पुग्छ।
बढ्दो सहरीकरणसँगै यतिबेला गाउँहरू बजारमा रूपान्तर भइरहेका छन्। सबैजसो ठाउँमा सवारी आवागमन भई नै रहेको छ। जहाँ–जहाँ यात्रु लिएर सवारी पुग्छन्, त्यहाँ प्याकेटका खानेकुरा र पानीका बोतल पुगेकै छन्। तर, वस्तु उपभोगपछि फालिने चीजबिजका लागि निश्चित स्थान तोकेर राख्ने चलन सुरु हुन सकेको छैन।
गाडी रोकिने ठाउँहरू र बसपार्कहरूमा सार्वजनिक शौचालयको प्रबन्ध हुनुपर्छ। शौचालय भएका स्थानमा सरसफाइ नियमित हुनुपर्छ। सवारीसाधनले रोकेर बीच बाटामा कतै त्यस्तो व्यवहार नगर्न/नगराउन सामान्यरूपमा सचेत गराउन जरुरी छ। लामो तथा छोटो दूरीका सवारी आउजाउ भइरहने क्षेत्रमा सार्वजनिक शौचालयमै मलमूत्र त्याग गर्न लगाउने चलन बसाउन कुनै ठूलो आन्दोलन पनि खाँचो हुने कुरा होइन।
एक महिनामात्रै यो विषयमा सरकारको सम्बद्ध निकाय, यातायातकर्मी र यात्रुले सचेत भइदिए हाम्रो व्यवहार बस्छ। यतिबेला सार्वजनिक सवारीभित्र धूमपान गरेको भेटिँदैन। कसैले भित्र धूमपान गरे यातायातकर्मी र अन्य यात्रुले पनि ‘नगर्नुस्’ भनेकै देख्न पाइन्छ। एक दशकअघिसम्म यात्रामा सवारीसाधनभित्रै धूमपान गर्नेहरू भेटिन्थे। त्यो व्यवहार अहिले परिवर्तन भएको छ भने फोहोर निश्चित स्थानमा तह लगाउने बानी पनि बसाउन सकिन्छ। कुनै ठूलो जरिवानाको त्रास देखाएर नियम लागू गर्नु/गराउनुको साटो सामान्य प्रयासबाट यो अपनाउन सकिने व्यवहार हो।
***
(२०७४/३/१६ मा कान्तिपुरको विविधा पृष्ठमा प्रकाशित विचार)