Saturday, July 1, 2017

जाने बाटो

के तपाइँले सेकुवा खानुभएको छ ?
धत्तेरी
पहिले जान्नुपर्ने कुरा बुझ्दै नबुझी सोधिएछ
हजुर शाकाहरी की मांसाहारी ?
मांस भक्षण नगर्ने तर, कुखुराको अण्डाहारी
वा पानीफल उचितको तर्क गर्ने माछाहारी ?
भैगो, आउनुस् मुल प्रश्नमा फर्कम्
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?

घाटका कोइला सेकुवा पोल्न प्रयोग
त्यो राजधानीको खबर थियो
सुन्नु-पढ्नु भएको हुनुपर्छ
हामी यतिबेला रामघाटमा छौं
रामघाटको पनि तुलसी तारिणी घाटमा छौं
हाम्लाई त्यो आर्यघाटको कोइला के मतलब
राजधानीको सेकुवा के मतलब भन्न सक्नुहुन्छ
भन्नुस् भन्नुस् भने हुन्छ
तर, म फेरि सोध्छु
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?

उ त्यहाँ सेतीको पानी नजिकै मुर्दा पोलेको देख्नुभो ?
त्यहीँ पर्तिर तातो घामको फिक्री नगरी बालुवा चालेको देख्नुभो ?
खसी, कुखुराका मासु र मान्छे पोल्दाको गन्धमा
मेरा नाकले पटक्कै विभेद खुट्याउँदैन
तपाइँ सक्नुहुन्छ की
म परिस्थितिले बनाउने सेकुवाको कुरा गर्दिन
त्यो अमुर्त  सेकुवा
अँ गन्धमा विभेदका कुरा गर्दै थिएँ
खसी, कुखुरो, मान्छे
के पोलिँदै के सेकाइँदै हो !
म चिन्दिन
नरिसाउनु होला फेरि सोधेँ है
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?

रामघाटको बाटो आर्यघाटको बाटो
भन्नेहरू भन्लान् स्वर्ग पुगिन्छ
हामी आधुनिक युगका मान्छे नदेख्ने कुरा कसरी गर्नु
अनुभव लिन नपाइने कुरा कसरी गर्नु
घाटको बाटो वास्तवमा स्वर्ग होइन सेकुवा बन्न पुग्ने हो
हामी पशुपंछीको सेकुवा बनाउँछौं
समयले हाम्रो सेकुवा बनाउँछ
सेकुवा खानु र बन्नुको नियति निश्चित छ
भागेर कहाँ जानुहुन्छ ?
अब म सोध्दिन
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?

सबै इच्छा, आका‌क्षा र बाध्यता बिसाएर
जानुपर्ने बाटो सेकुवा नै भएर जान्छ
मलाइ त गाड्छन्
मलाइ बगाउँछन्
मलाइ पोल्दैनन् भन्नुहोला
म सेकुवा हुँदिन भन्नेहरू पनि हुनुहोला
ठीकै छ
कफी सम्झनुस् कोल्ड कफी
तातोमात्रै होइन चिसो पनि पाइन्छ
दौडधूपको दैनिकीबाट बाहिर निस्केर
जिन्दगीको म्याराथनमा ट्रयाक छाडेर जान्छु भन्दा
हाम्रा बाटोहरू घाट भएरै निस्केका छन्
महत्वाकांक्षाको फेर समात्दै जुन गोरेटो जान्छु भनौं
लोभ, मोह, घृणा छाडेँ अब सन्त बन्छु भनौं
हामी दुनियाँलाई पटकपटक ढाँट्न सक्छौं
ढाँट्न नसक्ने घाटलाई मात्रै हो
बिश्रामको यात्रा जहाँबाट सुरू हुन्छ
आउनुस् चुनढुंगा मिसिएर बगेको सेती हेरौं
किनारमा बल्दै गरेको चिता हेरौं ।

१७ असार २०७४
रामघाट, पोखरा
(घाटमै बसेर लेखेर घाटमै अक्षरयात्राको १४३ औं श्रृंखलामा वाचन गरेको कविता )



No comments: