आमाबुवाका कुरा कति मान्ने - तन, मन धन दिनुपर्ने कामका लागि अझ कसमै खुवाए सन्तानले गर्ने कि नगर्ने ? अरूका लागि दुविधाका विषय होलान् तर, पोखरा बृद्धाश्रमका अध्यक्ष ७८ वर्षीय वसन्तकेशव पराजुलीका लागि ढुंगामा लेखिएका अक्षर जतिकै छन् ।
उनको दिनरात ४८ बृद्धबृद्धा र कर्मचारीसहित ६० जना आश्रित आश्रमलाई सक्षम बनाउने कोशिशमै बितेका छन् । पोखराका शैक्षिक संस्थाहरूको स्थापनाका लागि सक्रिय केही थोरै नाममध्ये छुटाउनै नमिल्ने नाम हो ऋषिकेशव पराजुलीको । कांग्रेसी राजनीतिकै खातिर उनले केही वर्ष निर्वासित जीवन पनि गुजारे । कांग्रेसको दिन फर्किएपछि भने उनले पार्टीबाट केही लाभ लिएनन् । कुनै सरकारी ओहदाको मोह राखेनन् ।
उनैका जेठा छोरा हुन् बसन्त । बाबुभन्दा राजनीतिक विचारमा फरक । उर्जाशील उमेर शिक्षण पेशामा गुजारेपछि अवकाशको जीवन बसन्तलाई आफ्नै सुरले जिउने ध्याउन्ती थियो । पञ्चायतकालमा अभिभावकको निर्वासित जीवनलाई उनले फरक पाठ सिकाएको थियो । 'मलाइ लाग्थ्यो, राजनीति मैले जाने बाटो होइन', उनले भने, 'त्यसैले मैले कहिल्यै राजनीति गरिँन । तर, त्यसको छर्कोबाट मुक्ति पनि मिलेन । कतै न कतै खरो भएर बोल्दा पनि फरक अर्थ निकाल्ने रहेछन् ।'
२९ वर्ष प्राध्यापन पेशामा उनले ६ ठाउँ पढाए । तीन ठाउँ प्रधानाध्यापकको जिम्मेवारीमा रहे । अवकाशपछि उनले २०५२ मा सेवानिवृत्त शिक्षकको संगठन बनाए । आफू अध्यक्ष भए । हकहितको कुरा गर्नु राजनीति नै भन्ने बुझियो । २०१४, २०३६ र २०३८ का विद्यार्थी र शिक्षक संघर्षका दौरान तीनपटक थुनामा पनि परे । पढाउने पेशाअघि उनले २०१२ देखि तीन वर्ष किराना पसल पनि गरि हेरे । २०१५ देखि नेपाल एयरलाइन्सको एउटा एउटा एजेन्सीमा भैरहवा र जनकपुर पुगी जागिरे भएर अढाइ वर्ष बिताए ।
'५२ सालमा बुवाले मेरो एउटा कुरा मान भनेर वाचा गराउनु भयो', उनले भने, 'त्यो वाचा यो पोखरा बृद्धाश्रम चलाउने भन्ने थियो ।' बृद्धबृद्धाले परिवारबाट परित्यक्त जीवन बिताउने क्रम सुरू हुनुलाई बुवाले दूरदृष्टिबाट देखेको उनले बताए । बाबुले दिएको २६ हजार ७ सय रूपैयाँबाट पोखरा-१७ सीतापाइलामा आश्रम सुरू गर्दा यसको दीर्घकालीन सञ्चालनको कुनै योजना थिएन । सञ्चालक समितिका अध्यक्ष रहेका उनका पिताजी २०५३ मा ७९ वर्षमा उमेरमा दिवंगत भए । जिम्मेवारी पुरै काँधमा आयो । 'मैले सुरूमै भनेको थिएँ, आश्रम आफ्नो खुट्टामा उभिने भएपछि मैले स्वतन्त्र हुन पाउनुपर्छ', उनले सुनाए, 'अहिलेको उपक्रम यही छ कहिले आश्रम सक्षम होला भन्ने ।'
आफूले धर्मकर्मको मार्गमा हिड्न स्वतन्त्र हुन पाउनुपर्छ । तीर्थाटनका लागि समय मिल्नुपर्छ । 'तर, म वचनले बाँधिएको छु', उनले भने, 'यो आश्रममा आश्रित बढेका छन् । भवन बनाउन थालियो । पुगनपुगकै चिन्तामा दिन जान्छ ।' बसन्तकेशव नेतृत्वको आश्रम पोखरेलीका लागि अहिले नौलो तीर्थ भएको छ । जन्म दिन, दिवंगतका पूण्यतिथिका दिन यहा“ आउने, भेला भएर आश्रतिलाई खाना खुवाउने, दान दिने चलन बसेको छ ।
आफ्नो घर, परिवारलाई समय नदिएर बसन्तले बृद्धाश्रममा बाबुलाई दिएको वचनको मान राखेका छन् । यहाँ सबै आश्रित उमेरका ६० वसन्त नाघेकाहरू छन् । आधा दर्जन असी नाघेकाहरू पनि छन् । खानपान, रोगव्याधि र उनीहरूको सजिलो बसाइँको व्यवस्थापन सजिलो छैन । 'मैले आफ्नो घरपरिवारलाई समय नदिएर आश्रमलाई दिएको छु', उनले भने, 'यो एउटा तपस्याकर्मभन्दा कम छैन । तपस्याकर्म कहिल्यै सजिलो हुँदैन भन्ने पनि थाहा छ ।' सानो झुप्रो, पाँच बृद्धबृद्धाबाट थालेको आश्रम अहिले करीब डेढ करोडको भौतिक संरचना भएको बनेको छ । यद्यपि निर्माणका काम अझै जारी छन् । अब केही स्वास्थ्यकर्मीको ध्यान यहाँ पुगेकाले आश्रितको सञ्चो-बिसञ्चो १५/१५ दिनमा चेकजाँचको व्यवस्था मिलेको छ । दान दिन आउनेका मायाले मात्रै यहाँको दैनिकीलाई खर्च यथेष्ट छैन । उनले भने 'सुरूमा दुइ सहयोगीले भवन बनाउन सघाए, पछि गायक कर्ण दासले २ महिनाका लागि बुढाबुढीको खानेकुरामा सहयोग गरिदिएर सजिलो बाटो खुलेको थियो । अझै पनि जहाँ जहाँ सकिन्छ हात फैलाएर माग्दै यहाँ ल्याउँछु । सुनेर मन पग्लिएकाहरूले विदेश पुगेर पनि सम्झेका छन् ।'
बाबुको एउटा वचनको मानका खातिर आफ्नो जीवनको अवकाशको समय आफूजस्तै बृद्धबृद्धाका बीच बिताउनु अब भने बन्धन जस्तो नलाग्ने उनले सुनाए । 'यो आश्रम कुन दिन आफै दिनदिनैको खर्च धान्ने होला भन्नेमात्रै ध्याउन्ती छ', उनले भने, 'खासमा बृद्धबृद्धा आफ्नै परिवारका बीच आफूले आर्जेको घरमै बाँचेको राम्रो भन्ने लाग्छ । तर, जसका लागि त्यस्तो सम्भव भएन, उनीहरूलाई यो ठाउँ जहिल्यै आश्रय दिनसक्ने भइरहनु पर्छ ।'
(नेपाल म्यागजिनको 'जीवनका रंग 'स्तम्भमा ०७२ मा प्रकाशित लेखोट संग्रहका लागि ब्लगमा राखिएको)
No comments:
Post a Comment