Wednesday, February 22, 2017

मुस्ताङसम्मै मोटरमा सरर ...

विराटनगरबाट आफ्नै जिप लिएर मुक्तिनाथसम्मको यात्रामा निस्केका जयेश बोहोराले पोखरा आइपुगुञ्जेल पनि इन्टरनेटमा हिमालपारिको जिल्लाको सडकमार्गको अवस्था 'सर्च' गरिरहेका थिए । पोखरा बस्ने साथीभाइसँग पनि आफ्नै गाडी जान सजिलो-अप्ठ्यारो बारे जानकारी लिइरहे ।
बेनीबाट घाँसा, मार्फा, जोमसोम र त्यहाँबाट मुक्तिनाथ अनि छुक्साङ पुगेर आनन्दले दुर्इ रातको बसाइँपछि पोखरा फिरेका उनले भने 'अब मेरा साथीहरू धेरैजना यताको यात्रामा आउने छन् ।' यही यात्रामै रहेका विराटनगरका सुकुमार सेनले पनि कोलकातामा रहेका भाञ्जालाई मुस्ताङ आउजाउका फोटा 'ह्वाट्स एप' पठाए । 'मैले अब भाञ्जालाई घुमाउन नल्याइ नहुने भयो,' उनले भने, 'यति सजिलो यात्रा होला भन्ने सोचेकै थिइँन ।'


यतिबेला मुस्ताङ उक्लने सिजन होइन । तर, यात्रुको चाप भने घटेको छैन । यो जिल्ला प्रवेश गर्दाको पहिलो गन्तव्य घाँसामा प्रहरी चौकीले आउने सवारीको रेकर्ड राख्छ । चौकी इञ्चार्ज योगेन्द्र यादवका अनुसार सार्वजनिकभन्दा निजी सवारी आगमनको दर निकै उच्च छ । 'सिजनमा सरदर महिनाको बस, ट्रक, ट्याक्टर र साना गाडी १५ सय जति र मोटरसाइकल दुइ हजारवटा जति मुस्ताङ आउँछन्,' उनले भने, 'भिरालो बाटो भएपनि यहाँ दुर्घटना नहुनु चाहि अचम्म लाग्दो छ ।' उनका अनुसार गत असोज र कात्तिकमा घाँसा भएर मुस्ताङ पुगेका गाडीहरूमा बस ६३४, जिप-कार १७१३, ट्रक १७९ र ट्याक्टरको संख्या ९९ वटा रह्यो । यो अवधिमा पुगेका मोटरसाइकलको संख्या ६०३५ रहेको रेकर्ड छ । 'इन्ट्री गराएर मात्रै जाने भएकाले हामीले कुनै गाडी नफर्के वा केही सामान हराए खोजी गर्छौ,' उनले भने, 'मुस्ताङ घुम्न आउनेहरू नेपालको अरु ठाउँ यसरी भीड भएर जाँदैनन् होला ।' सडक सहज भएकै कारण हिमाल पारिको जिल्ला हेर्न रहर लाग्नेहरू आउने गरेको उनले बताए ।
कोवाङ-६ का अशोक गौचन गोठभरि खच्चड पाल्थे । यिनै खच्चडलाई पोखराबाट सामान बोकाएर जोमसोम ल्याउँथे । 'पोखरा ओहोरदोहोर गर्न महिना दिन बिताउनु पर्थ्यो,' ६० वर्षपार गरेका गौचन अतित सम्झँदै भन्छन्, 'यति छिटै जोमसोममा मोटर आउला भन्ने मैले सोचेकै थिइँन ।' २०४९ सालतिर बागलुङमा मोटर चल्यो । २०५२ देखि बेनीबाटै बस चल्न सुरु भयो । 'पछि महिनाभरिको पोखरा आउजाउ सात दिनमै भ्याउन थालियो,' उनले भने, 'हिंड्दा-हिड्दै हाम्रो जीवन बित्यो तर, अब सुविधा देख्न पाइयो ।' ०६३ सालपछि जोमसोमसम्म नै मोटर चल्न थालेपछि खच्चड पाल्न छाडिएको उनले सुनाए । 'अब त मुस्ताङीको लाइफस्टाइलमै ठूलो परिवर्तन आइसक्यो, पोखराबाट खच्चडमा सामान बोकाएर ल्याएको सम्झिँदा-सुनाउँदा एकादेशको कथा जस्तै लाग्छ,' उनले भने ।
सडकले नेपालीको पहुँच चीनको सिमाना कोरला नाकामा सोझै जोडिदिएको छ । नवलपरासीको गैंडाकोटदेखि कोरलासम्म ४ सय ३५ किमी कालीगण्डकी कारिडोरको यो उत्तर-दक्षिण राजमार्गले जोमसोम बजार मुग्लिन जस्तै खाना खाने केन्द्र बन्न पुगेको छ । पोखराबाट बिहानै निस्केको मोटर बाटोमा अवरोध भएन भने दिउँसै जोमसोममा खाजा खान आइपुग्छ । 
यहाँको सडक निर्माणको इतिहासमा नेपाली सेनाको ठूलो भुमिका छ । कुनै समय बेनीदेखि जोमसोम सडक खन्न सरकार पनि तयार थिएन । यो खण्डमा ठूला पहराले कामदारलाई निकै जोखिम थियो । तर, देशमा सशस्त्र द्वन्द्व चर्कंदै गर्दाको समय सेनाले जोमसोम सडक खन्ने जिम्मा लियो । ५ वर्ष लगातार मिहिनेतले बेनीदेखि जोमसोम ट्रयाक खोल्न सफल भयो । २०६३ बैशाखमा गणतन्त्र घोषणा भयो, यही महिनादेखि जामसोममा सेनाले मोटर बाटो बनाएरै छाड्यो । 
'जोमसोम, लोमान्थाङ, कोरलामा मोटर चलेको देख्दा एउटा सपनाको क्षण जस्तै लाग्छ,' धौलागिरि बोर्डिङ स्कुलका प्रिन्सिपल तथा पूर्व सांसद चन्द्रबहादुर गुरुङ भन्छन्, 'अब मुस्ताङ र पोखरामा कुनै भिन्नता रहेन । ६० सालसम्म यहाँको जनजीवन निकै फरक थियो, वर्ष लाग्दा पनि घर छोड्नुपर्ने, हिउँदमा पनि घर बस्न नसकिने । खच्चडलाई भारी बोकाएर परिवारसहित खुला चौरमा बसिन्थ्यो ।' हिउँदको चिसो र वर्षाको पानी छल्ने मेसोमा आम्दानी पनि गर्न खच्चडलाई सामान बोकाएर सपरिवार हिंडेर बेंसी झर्नुपर्ने बाध्यता अब हटेको उनले बताए । ४० साल अघिको त्यस्तो थियो । पछि यहाँको जनजीवनमा केही परिवर्तन आयो । वर्षायाममा घरमै बस्ने, हिउँद लागेपछि पोखरातिर झर्ने । तर, अहिले यो पनि बदलिएर यहाँका स्थानीय वर्षभरि नै घरमा बस्ने क्रम बढेको उनले सुनाए ।  
अहिले म्याग्दीको गलेश्वरदेखि कोरलासम्म कच्ची सडक छ । अबको ५ वर्ष भित्र जोमसोमसम्म कालोपत्रे सडक बन्ने निश्चित भएको छ । बागलुङ मालढुंगा-गैंडाकोट र बेनी-कोरला दुइ भागमा बिभाजन गरेर निर्माण सुरु गरिएको सडक बिभागले जनाएको छ । कच्ची सडकमै भएपनि जोमसोमदेखि काठमाडौंसम्म रात्री बस संचालन भइसकेको छ ।
सडकलाई स्तरोन्नति गर्न गैंडाकोटदेखि कोरलासम्म ४ सय ३५ किमी सडक निर्माणमा पछिल्ला सरकारले निकै प्राथमिकता दिएका छन् । सडक विभागले जोमसोम-कोरला सडकलाई उच्च प्राथमिकता दिएको छ । यो सडकको निर्माण दुइ बर्ष भित्रै सकिने विभागले जनाएको छ । यसका लागि विभागले मंसिरदेखि जोमसोम बजारमा कालीगण्डकी करिडोर कार्यालय संचालनसँगै बेनी-जोमसोम र तेस्रो चरणमा मालढुंगा-गैंडाकोट सडकको निर्माण पुरा गर्न सरकारले योजना ल्याएको छ ।
 उत्तर-दक्षिण राजमार्ग आयोजनाका निर्देशक गोपालप्रसाद सिग्देल भन्छन्, यो उच्च प्राथमिकतामा परेको उत्तर-दक्षिण मार्ग हो ।' जोमसोमदेखि कोरलासम्मको १ सय १० किमी सडक खन्न २ अर्ब ५० करोड विनियोजन भइसकेको छ । विनियोजित बजेटअन्तर्गत यो वर्ष ३९ करोड निकासा भइसकेको छ । बेनी-जोमसोम ७६ किमी सडक पुरै कालोपत्रे गर्न अब काम सुरु हुने विभागले जनाएको छ । कालीगण्डकी करिडोर सडकमा कोरलादेखि गैंडाकोटसम्मका मुस्ताङ, म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा र नवलपरासी जिल्ला पर्छन् । यो सडकले नवलपरासीको तर्राई क्षेत्रबाट सोझै चीनको कोरला सिमानासम्म जोड्ने छ । उत्तर-दक्षिणको यो सडक गैंडाकोट-मालढुंगा २ सय ३५, मालढुंगा-वेनी १४, वेनी-जोमसोम ७६ र जोमसोम-कोरला १ सय १० किमी छ । ४ सय ३५ किमी लामो यो सडक मुलुकको उत्तर-दक्षिण जोड्ने सबैभन्दा छोटो राजमार्ग हो ।
कुनै समय थियो, राजधानीबाट मुस्ताङ आउँदा कम्तीमा सातादिनको भ्रमण तालिका चाहिन्थ्यो । पोखरासम्म आउन सुविधा थियो तर, मुस्ताङ पुग्न ठूलो सकस । गत माघदेखि जोमसोम-काठमाडौं रात्रीबस संचालनले मुस्ताङको यात्रा सहज बनाइदिएको छ । पोखराबाट जोमसोम पुग्न बसमा एक हजार भाडा तिरे विहान चढेर साँझ उत्रन सकिने भएको छ । बस संचालनले काठमाडौंबाट एकै रातमा जोमसोम आउन पाइन्छ । पोखरा र बेनीबाट मिनीबस तथा जीप परिवर्तन गर्नुपर्ने झन्झट रात्री बस संचालनले अन्त्य गरिदिएको छ ।  
गत वर्षसम्म 'सिण्डकेट'ले बदनाम बेनी-जोमसोम सडकमा अहिले कुनै पनि सवारीसाधनलाई रोकछेक छैन । यात्रुहरू आफ्नो सुविधाअनुसारको सवारीसाधन लिएर आउजाउ गर्न सक्छन् । सिण्डिकेट पूर्णरुपमा हटेपछि यो रुटमा सवारी संञ्चालन खुला प्रतिष्पर्धामा भइरहेको छ । यहाँ मुस्ताङ, म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका समेत सातवटा ब्यवसायी समितिहरूले सार्वजनिक यातायातको सेवा  दिइरहेका छन् ।
'सिण्डिकेट छैन । सबैका गाडी कम्पिटिसनमा चलेका छन्,' म्याग्दी बस तथा जीप ब्यवसायी समिति कोषाध्यक्ष मोहन केसीले भने, 'मौसमी ब्यवसाय भएकोले सजिलो-अप्ठ्यारोमा जनतालाई बोक्ने हामी मात्र हौं ।' मापदण्ड पुरा नभएकोले सडक विभागले हिउँदे अस्थायी 'रुट' कायम भएको छ । रुट कायम भएपछि बेनी-जोमसोम सडकमा पोखराको पृथ्वीराजमार्ग, मुस्ताङका दुइ समिति, म्याग्दीका तीन र बागलुङका एक बस ब्यवसायी समितिका सवारीसाधनले यात्रु बोक्ने गरेका छन । बेनीबाहेक बागलुङ, पोखरा र काठमाडांैबाट जोमसोमका लागि सोझै गाडी पाइन्छ । आन्तरिक यात्रु बोक्न छुट्टै स्थानीय सवारीसाधन पनि चल्ने गरेका छन् । 
'बेनी-जोमसोम सडकमा हल्ला जस्तो अवरोध छैन । सडक पहिलेभन्दा धेरै सुध्रिएको रहेछ,' काठमाडौंको कोटेश्वरका तीर्थयात्रु बोकेर आएको बा३ख ४८३४ नम्बर बसका चालक नारायण कार्कीले भने, 'आफ्नो गाडी कन्डिसनमा छ भने मुस्ताङ आउन सजिलै लाग्यो ।' मुस्ताङमा मंसिर, पुस, माघमा हिउँ पर्ने र असार, साउन, भदौ र असोज वर्षाले सडक अवरुद्ध पार्ने भएकाले फागुनदेखि जेठका चार र कात्तिकको महिना बेनी-जोमसोम सडकमा सवारी चाप रहन्छ ।  
देशभरबाट बौद्ध तथा हिन्दुको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न आन्तरिक पर्यटक आउने क्रम गत वर्षाबाट निकै बढेको छ । सडकको अवस्था स्तरोन्नति भएकाले छोटो समय र न्युन खर्चमा हिमालपारीको जिल्ला सहजै पुग्न सकिने भएपछि आन्तरीक पर्यटकको ओइरो लाग्ने गरेको हो ।

(भीम घिमिरे, विनोद त्रिपाठी र घनश्याम खड्काको ७ फागुन २०७३ मा कान्तिपुर दैनिकमा प्रकाशित रिपोर्ट) 

No comments: