महिनाको बचत २० रूपैयाँ । हेर्दा-सुन्दा यति पैसाले के नै आउँछ भन्ने लाग्न सक्छ । तर, जीवनोपयोगी कृषि समुहमा आबद्ध महिलाका लागि मासिक बचतले थुप्रै काम गरेको छ ।'बचतको कारण हामी आमा दिदी बहिनीको भेटघाट हुन्छ,' अध्यक्ष गुमा पौडेल भन्छिन् 'कृषि विकाससँग कार्यक्रम माग्न सक्ने भएका छौं ।' ३२ सदस्यले गर्ने बचत आठ हजार पाँच सय रूपैयाँ पुगेको छ । समुहलाई सामुदायिक वन उपभोक्ता समुहले पनि सघाएको उनले बताइन ।
'गाउँमा १३ वटा सामुदायिक वनका उपभोक्ता समिति छन्,' उनले भनिन्, 'पहिले पहिले छलफलमा जान धक मान्ने आमा दिदीबैनी अब निर्धक्क आफ्ना कुरा राख्नसक्नु हुन्छ ।' वन समुहका कार्यसमितिमा रहने महिलाहरू पनि अधिकांश आफ्ना टोलका आमा, कृषि, वातावरण समुह र टोल संगठनमा आवद्ध रहेकाले नेतृत्वको अभ्यास निरन्तर रहेको उनले बताइन ।
फेवातालको पश्चिम-उत्तरमा अवस्थित कास्कीको ढिकुरपोखरी पोखरा-बागलुङ राजमार्गमा पर्ने गाविस हो । यहाँका बासिन्दाको मुख्य बजार पोखरा र हेम्जा हो भने उच्चशिक्षाका लागि उपमहानगरसम्म गाडीमा आउजाउ सजिलो नै छ । गाउँका कृषि उपज बिक्रीका लागि पोखरा नै पुग्छ भने उताबाट चाहिने सामान गाउँले लिइ आउँछन् । फेवातालमा मिसिने खोलाहरू ढिकुरपोखरी र भदौरेतामागी भएर बगेका छन् । फेवामा पुग्ने पानी ढिकुरपोखरीको वन क्षेत्र हुँदै जाने भएकाले सामुदायिक वन उपभोक्ता समुहहरू पनि अधिकार र चेतनाको क्रियाकलापमा सक्रिय छन् । यसको प्रत्यक्ष असर महिला समुहहरूमा परेको छ । १० हजार ८६ जनसंख्या रहेको गाविसमा महिला संख्या चार हजार आठ सय ६३ छ ।
यहाँ महिलामात्रै मिलेर चलाएको एउटा सहकारी पनि छ । शेयर पूँजीमात्रै एक करोड १९ लाख पुर्याएको दिगो महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष सगुन गुरूङ भन्छिन् 'सानो समुह थियो, हामीले ५८ सालदेखि त्यसलाई सहकारी बनाएका हौं ।' नौ सय ९३ सदस्य पुगेको सहकारीले गर्ने कर्जा लगानी कृषिमा आधारीत काममै रहेको उनले बताइन । 'महिला महिलामात्रै के पो गर्न सकौंला जस्तो लाग्थ्यो तर, कामले काम सिकाउने रहेछ,' उनले भनिन्, 'अहिले त हाम्रो सहकारीकै कार्यसमितिको चुनाव पनि गाविस वा नगरपालिकाको चुनावभन्दा कम हुँदैन ।' समुहहरूमा कार्यसमितिमा बस्न अनुरोध गर्दै हिड्नुपर्ने जमाना गएको उनले बताइन । 'महिलाले बोल्न जानेका छन्, आफ्नो गाउँका लागि गाविस र जिल्लासँग योजना माग्न पनि जानेका छन्,' उनले भनिन्, 'यसो हेर्दा त्यस्तो ठूलो के नै पो परिवर्तन आयोजस्तो लाग्छ तर, हाम्रो गाविसमा समुहले गर्दा महिलाको चेतनास्तर निकै बढ्यो ।'
सामाजिक परिचालक संगीता भण्डारीका अनुसार परिवारका सदस्यमध्ये अधिकांशको एक/एकजना घरघरै विदेशिएका भएपनि महिला संगठीत छन् । 'वनको बेग्लै, कृषिको बेग्लै अनि स्वास्थ्यको पनि वडापिच्छे ३०/३० जना सदस्य रहेका समुहहरू छन्,' उनले भनिन्, 'गाविसस्तरीय महिला सञ्जाल पनि छ ।' विभिन्न समय गैरसरकारी संस्थाहरूले आवधिक कार्यक्रम सञ्चालन गरेपनि अधिकांश महिला समुह आफैंमा आत्मनिर्भर रहेको उनले बताइन ।
'ठूला कुरा के गर्नु, हाम्रा समुह तरकारीखेती, बाख्रापालन आदिका पनि धेरै छन्,' गाविसस्तरीय महिला सञ्जालकी सदस्यसचिव चन्द्रा अधिकारीले भनिन्, 'जसलेसुकै गाविसमा कार्यक्रम ल्याओस् महिला समुहको सहभागिता भएन भने सफल नहुने अवस्था छ ।' सञ्जालले लघुउद्यमका तालिमहरू पनि सञ्चालन गरेर ब्युटीपार्लर, सिलाइकटाइ र बुट्टा भर्ने कामलाई व्यवसायका रूपमा थाल्न सघाएको उनले बताइन । 'महिला संगठीत त भएका छौं तर, हामीलाई चाहिने योजनामा जिविस र सांसदलाई अझै दबाब दिन सकेका छैनौं जस्तो लाग्छ,' उनले भनिन्, 'गाविसका योजनामा महिलाका लागि केके पार्ने र केके परे भन्नेमा बहस चाहि गर्न थालेका छौं ।' श्रीमान-श्रीमती घरैमा भएकाहरूमध्ये अधिकांशले कृषिमा आधारीत उद्यम गरेपनि श्रीमान विदेश गएका कतिपय महिलामा उद्यम नगर्ने बानी विकास भएको उनले बताइन । 'ढाँट्नु किन छ र, श्रीमान विदेश गएका परिवारमा महिला बजार सरेर डेरा बस्ने, छोराछोरी उतै पढाउने, आफू इलम नगर्ने बानी पनि बढ्दो छ,' उनले भनिन्, 'हामी जति गाउँ छाड्न नसकेर बसेका छौं, धेरैले समुहमा बचत, आम्दानी हुने कृषिको काम र महिला स्वास्थ्यका कुरामा सकेको गरेका छौं ।'
भकरजुङ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद पौडेल समुहमा आबद्धमध्येका विपन्न परिवारका लागि सहुलियत ऋणको व्यवस्था गरेको बताउँछन् । 'सहकारी र महिला समुहका आआफ्ना गतिविधि छन्,' उनले भने, 'हामीले वन समुहबाट पनि विपन्नलाई सहुलियत कृषि कर्जा दिन्छौं । कारोबार गर्न, ऋण तिन र समुहमा छलफल गर्न थालेपछि चेतनास्तर बढ्नु स्वभाविकै पनि हो ।' वडा नागरिक मञ्च र गाविसस्तरीय सञ्जालमा पनि महिला सहभागिताले योजनाहरूको निगरानी गर्न सजिलो रहेको उनले बताए । भकरजुङले चोरीसिकार नियन्त्रणका लागि गठन गरेको इकाइमा नेतृत्व महिलालाई दिइएको छ । इकाइ सदस्य पार्वती पौडेल भन्छिन् 'नौजनामध्ये हामी महिला सातजना छौं । हामीले राम्रो काम गर्यौं भनेर पुरस्कृत पनि हुन पाइयो ।' गाविस सचिव स्थानेश्वर ढुंगाना महिला समुहहरूको सक्रियताकै कारण गाउँमा आएका योजनाको कार्यान्वयन प्रभावकारी भएको बताउँछन् ।
(१९ माघ २०७३, कान्तिपुरको चितवन संस्करण पृष्ठमा प्रकाशित)
No comments:
Post a Comment