माघको दोस्रो साता पोखरेली खेलप्रेमीका लागि बर्सेनि चल्ने पर्व जस्तै हुन्छ आहा-रारा गोल्डकप फुटबल । दिउँसो २ बजे मैदान धुइरिने, आ-आफूले पक्ष लिएका टिमका लागि हौसला बढाउने र खेलको मजा लिने क्रम चल्छ ।
मुलुकका अन्य शहरको दाँजोमा पोखरेलीलाई खेलकुदको पूर्वाधारमा सजिलो छ । यसको कारण एउटै ठूलो मैदान हो, जहाँ फुटबलका लागि मात्रै नभइ क्रिकेट, भलिबल, बास्केटबल, लन-टेनिस, आर्चरीका लागि छुट्टाछुट्टै ठाउँसँगै 'इनडोर' खेलहरूका लागि कभर्ड हल पनि छ । १४ करोड ३२ लाखको लागतमा 'इनडोर' खेलकै लागि अर्को ठूलो बहुदेश्यीय भवन निर्माणाधीन छ ।
सेती नदीको किनार रंगशालाका लागि २०३९ सालमा ४१७ रोपनी जग्गा अधिग्रहण भएको थियो । त्यसको अर्को वर्ष फुटबलका लागि मैदान तयार पारियो । प्यारापिट निर्माण भयो । २०५९ मा खेलप्रेमीकै सक्रियतामा मैदान तारबार गरिएको थियो ।
'फुटबलको जमाना फेरिएकै हो, पहिले एक्लाएक्लै रहरले खेलिने खेललाई सहाराले बर्सेनि प्रतियोगिता गर्न थालेपछि व्यविस्थत भएको हो,' पुराना फुटबल खेलाडी एवं सहारा क्लबका सल्लाहकार शम्भु कार्कीले भने, 'हामीले २४/२५ सालतिर खेल्दा न कोच हुन्थे, न राम्रो जर्सी न बुट ।' तीसको दसकसम्म पोखरामा फुटबल खेल्नेहरूले आफ्ना लागि चाहिने सामान र तालिमको व्यवस्था नै नभएको उनले बताए । 'पछि बिस्तारै टोल र क्लबहरूले फुटबल आयोजना गर्ने चलन बढ्यो,', उनले भने, 'सहारा क्लब गठन भएपछि मात्रै पोखरामा फुटबल खेलको आयोजना व्यवस्थित र गतिविधि नियमित भएको हो ।'
सहारा क्लबको आयोजनामा बर्सेनि हुने आहा-रारा गोल्डकप फुटबलको यसपटकको १५ औं संस्करण सुरू हुनु दुई दिनअघिको पत्रकार सम्मेलनमा उद्योगी सूर्यबहादुर केसी अलि भावुक देखिएका थिए । पोखराका पूर्वमेयर तथा रारा र आहा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुड्सका सञ्चालक केसी प्रतियोगिताको सुरुवातदेखिका मुख्य प्रायोजक हुन् । 'म मरे पनि मेरो परिवारले सकेसम्म यो प्रतियोगितालाई पछिसम्म प्रायोजन गरिरहने छ,' उनले भने, 'हामी सबै उद्यमीले खेलकुदलाई सघाएमात्रै समाजका लागि काम गरेको ठहर्छ ।'
सहारा क्लबको इतिहास खोतल्दा स्मारिकाहरूमा रमाइला प्रसंग छन् । २०५० अघिसम्म पोखरामा खेलकुदका आयोजनाहरू हुँदै आए पनि ती निरन्तर हुन गाह्रो परिरहेको थियो । फुटबल रुचाउने एउटा जमातलाई अग्रजहरूले हौस्याए । टिम बन्यो । फुटबल खेल्न र सामाजिक काममा अगुवाइ लिन अघि सरेको समूहले बसपार्कमा शौचालय बनाउन पहल गर्यो ।
सहारा क्लबका संस्थापक अध्यक्ष वसन्त थकाली भन्छन् 'हाम्रो टिम कोकाकोला कपको क्वाटर फाइनलमा पुगेको थियो । त्यही जोसलाई आफैं फुटबल टुनामेन्ट किन नगराउने भन्ने सल्लाह भयो ।' २०५७ मा जिल्लाका क्लबस्तरीय प्रतियोगिता आयोजना गरेको क्लबले २०५८ मा क्याराभान गोल्डकपको आयोजना गर्यो । त्यसको अर्को वर्षदेखि नै आहा गोल्डकपका नामबाट प्रतियोगिता आयोजनाको सिलसिला सुरू भयो । फुटबल आयोजना र प्रशिक्षणको कामलाई व्यवस्थित बनाएको सहारालाई स्थानीय र विदेशिएका पोखरेलीले सहयोग गर्ने क्रम सुरू भयो ।
'खासमा बलियो टिम बनाउनका लागि व्यवस्थित क्लब, नियमित अभ्यास र खटेर खेल्ने खेलाडी चाहिने महसुस भयो,' उनले भने, 'त्यसपछि आफ्नै टिमका लागि खेलाडी उत्पादन गर्न एउटा एकेडेमी चाहिन्छ भन्ने सल्लाह भयो ।' ०६१ देखि एकेडेमी सञ्चालन थालेको सहाराले पोखराको दोबिल्लामा २६ रोपनी जग्गा खरिद गर्यो । एकेडेमीको सुरुवाती चरणमा खेलाडी घरैबाट धाएर प्रशिक्षणका लागि जान्थे ।
'एउटा अनुभव के भयो भने सम्पन्न घरका छोराहरू पढाइ बिग्रियो भनेर बहानाबाजी गरेर ट्रेनिङमा आउन छाड्ने, गरिब घरकाहरू बुट र प्याड आफैंले किन्न नसकेर बीचैमा छाड्ने,' पूर्वअध्यक्ष थकालीले भने, 'हामीले घरघर गएर कारण बुझेपछि अब गरिब घरका २० जना छोराहरू ल्याउने, उनीहरूलाई खानबस्न, पढ्न दिएर फुटबलको तालिम दिने, आठ/दसजना प्रोफेसनल खेलाडी टिममा लिने सल्लाह गर्यौं ।' यही सल्लाहपछि क्लबले एकेडेमीलाई व्यवस्थित रूपमा चलाउन सकेको उनले बताए ।
हाल दोबिल्लास्थित सहारा एकेडेमीमा १६ जिल्लाका २८ बालकहरू छन् । उनीहरूलाई आवासीय सुविधासहित शिक्षा र फुटबलको दीक्षा दिइएको छ । क्लबमा सुरूदेखि नै सक्रिय फोटोपत्रकार सुदर्शन रञ्जित भन्छन् 'सहारा क्लब यसका पदाधिकारीको मात्रै होइन, पोखरेलीको सम्पत्ति हो । सबैको माया र सहयोग पाएकाले नै यो टिकेको छ ।'
एकेडेमी दिगो र दीर्घकालसम्म निर्वाध सञ्चालनका लागि सहाराले अक्षयकोष जुटाउने अभियान चलाएको छ । उक्त कोषमा बचतसँगै खेलप्रेमीले आफूले सकेको रकम योगदान गरेका छन् ।
क्लबले वर्षैवर्ष आयोजना गर्ने आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीको खर्चका लागि मुख्य स्रोत रहिआएको छ । त्यसो त पोखराभित्र आयोजना गरिने फुटबलका प्रतियोगिताहरू दर्जन हाराहारी छन् । तर, सबै प्रतियोगितामध्ये भव्य र प्रतिष्ठित भने सहाराकै आयोजना मानिन्छ । पोखरा रंगशालामा सर्वाधिक दर्शक भित्र्याउने सहारा क्लब नै हो ।
पश्चिमाञ्चल खेलकूद विकास समिति अध्यक्ष खगराज पौडेलले भने, 'पोखरेलीको खेलप्रतिको लगावलाई सहाराले संगठित आकार दिएको छ ।' विदेशमा रहेका नेपाली र पोखरेलीको सहयोग हेर्दा देशका अरु शहरका क्लबले खेलका लागि यस्तो संगठित आकार बनाउन सकेको उदाहरण नपाइने उनले बताए ।
सहाराले क्याराभानको नामबाट पहिलो प्रतियोगिता गर्दा विजेताका लागि ५० हजार नगद पुरस्कार राखेको थियो । यतिबेला त्यो राशि ५ लाख पुर्याइएको छ । 'आयोजना सहाराले गरेको देखिएकोमात्रै हो, यो सबै पोखरेलीको आयोजना हो । हामी स्वयंसेवकमात्रै हौं,' क्लब अध्यक्ष वीरभद्र आचार्यले भने, 'फुटबल सबैको रोजाइको खेल हो । जसले जहाँ इमानदारीपूर्वक आयोजनाको प्रयास गर्छन् तिनलाई कसले नसघाउला जस्तो लाग्छ ।'
सहारामा खेलप्रेमी र खेलका लागि चिन्ता गर्नेहरूको विचार मिलेको उनले बताए । 'हामीले संगठित हिसाबले आफ्ना प्रयास गरेका हौं, सरकारको मुखमात्रै ताकेर हामीले आफूले गर्नसक्ने कोसिस छाड्न भएन,' उनले भने, 'पहिलो, दोस्रो, तेस्रो गर्दै १५ वर्ष बित्यो । अब त हाम्रो टुनामेन्ट गराउने सिस्टम पनि बस्यो । सबैको माया र सहयोगले यो सम्भव भएको हो ।'
आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताका फाइनलहरू
क्रम | वर्ष | विजेता टिम | उपविजेता टिम | फाइनल गोल |
---|---|---|---|---|
१ | २०५९ | पुलिस क्लब | फ्रेण्ड्स | १-० |
२ | २०६० | एमएमसी | पुलिस | ३-१ |
३ | २०६१ | एमएमसी | पुलिस | ३-२ |
४ | २०६२ | अफ्रिकन युनाइटेड | पुलिस | २-० |
५ | २०६३ | थ्री स्टार | एमएमसी | १-१ (४-३) |
६ | २०६४ | पुलिस | एपीएफ | २-० |
७ | २०६५ | पुलिस | त्रिभुवन आर्मी | ५-० |
८ | २०६६ | पुलिस | आर्मी | १-० |
९ | २०६७ | थ्री स्टार | एमएमसी | १-० |
१० | २०६८ | एमएमसी | जावलाखेल युथ | २-० |
११ | २०६९ | थ्री स्टार | सहारा | १-० |
१२ | २०७० | सहारा | एमएमसी | १-० |
१३ | २०७१ | थ्री स्टार | एमएमसी | १-० |
१४ | २०७२ | आर्मी | एमएमसी | १-० |
१५ | २०७३ | एमएमसी | सहारा | १-० |
* तस्बिरमा पहिलो प्रतियोगिता (माथि) र सहारा आयोजनाको क्याराभान कपको एउटा खेल ।
***
(२०७३/१०/८ मा कान्तिपुरको खेलकुद पृष्ठमा प्रकाशित। सामान्य अप्डेटपछि ब्लगमा जतन गरिएको)
No comments:
Post a Comment