Tuesday, January 19, 2021

फूल बुट्टा


 गएको चैतदेखि कोरोना आतंकका बीच हाम्रा १० महिना बिते । हामी अब 'न्यु नर्मल' तिर जाने प्रयासमा छौं । मान्छे सधैं डराएर बस्न सक्दैन । डरले भोकलाई नजित्ने रहेछ भन्ने मान्नुपर्छ। काम नगरी चुल्हो नबल्ने वर्गको संख्या ठूलो छ। 

'मुख्य जिम्मेवार' बन्न नारा लगाउन आह्वान गर्नेका पछि पछि कुदेर आग्रह-अनुग्रहमा सरकारी पद र सुविधा हात पार्न नसक्ने/नचाहनेहरूले पनि बाँच्नु पर्छ । 

यी १० महिनामा २/३ वटा कुरा बडा नौला र रमाइला लागेका हुन्। 

१। ज्यान जोगाउनु पर्छ

मान्छे मर्छ । मृत्यु निश्चित छ । तर यति भनेर चल्दैन । भोलि आउँछ, सुख भोग गर्नै छ, राम्रा कुरा देख्नै छ भनेर बाँच्नै पर्छ। कोरोनाले डर देखायो । हामी डरायौं । तर मन डराउँदैमा भुँडीले मान्दैन । भोक मेट्नै पर्छ । त्यसैले काम गर्नै पर्छ । रोग लागे उपचार गर्नुपर्छ, त्यसैका लागि डाक्टर हुन्, अस्पताल हुन् ।  यति भनेर यो विषय सकौं । 

२। इन्टरनेट र सोसल साइटको उपयोग 

कोरोनाकालले 'अफिस फ्रम होम' सिकायो । अनलाइन काम कसरी गर्ने भन्ने हामीजस्ता कामकाजीलाई मात्रै सिकाएन, थरी थरीका व्यापार गर्नेले आफ्नो सामानको अर्डर लिन र बेच्न अनलाइनबाट यसरी सम्भव हुने रहेछ भन्ने सिके ।

हामीले अझै पनि इन्टरनेटको समुचित उपयोग जानिसकेका छैनौं । व्यवहारमा त्यो अनुभव हुन्छ । तैपनि कोरोनाकालले इन्टरनेट माथिको निर्भरता बढायो । यो अवधिमा बिजुलीले साथ दिएकाले काम गरी खानपानमा बाधा परेन । अफिस फ्रम होम चल्यो/चलाइयो ।  

३। मोबाइल फ्रेण्ड्ली

अघिपछि जति चलाइन्थ्यो, त्यो भन्दा कयौं गुणा बढी मोबाइल चलाउनु पर्‍यो । सबै कामकै लागि । मोबाइलमै सबैथोक छ। डिजिटल वालेट, क्यालकुलेटर र विभिन्न एप्सहरू ।

क्युआर कोडबाट भुक्तानी गर्ने, नोट नभए पनि काम चल्छ भन्ने सिकायो । भलै यसका लागि अनिवार्य चाहिने इन्टरनेट सस्तो र सहज छैन । तर काम चलेको छ । 

***

(१९ जनवरी २०२१ को पोस्ट)  

Wednesday, January 13, 2021

एटीएम

हिजो राति एक जनाले अनलाइनमा रिवल्विङ चियर सेलमा राखेका थिए । कुर्सीको फोटो हेर्दा दाम अलि अपत्यारिलो तरिकाको सस्तो लाग्यो । बजारमा पाइनेमा आधाभन्दा पनि सस्तो । 

च्याटमा सोधेँ - तपाइँले भनेकै दाम हो ?

धेरैबेर उत्तर आएन । उनले टाइप गरेको जस्तो संकेत बुझिन्थ्यो, निकैबेर उत्तर भने आएन। मलाइ लाग्यो उताको मान्छेलाई मोबाइलमा टाइप गरेर जबाफ दिन गाह्रो परेको हुनुपर्छ। अनि लेखेँ- तपाइँको नम्बर दिनुस् ।

उनले दिएको नम्बरमा कुराकानी भयो । उनले पाइने ठेगाना बताए।

आज छोरालाई मोसामा पछाडि राखेर म कुर्सी किन्न जाने भएँ । राम्रो पाए अरु साथीहरूका लागि पनि लिइदिने गरी । 

बैंक पुगेँ। कार्ड छिराएपछि एटीएममा सूचना देखियो - 'तपाइँले सीमाभन्दा बढी कारोबार गरेकाले अब पैसा दिन सक्दिन।'

जिन्नगीमा कैल्यै नदेखेको सूचना ! 

बाहिर निस्केँ । गार्डलाई सोधेँ - बैंकले खातामा होल्ड गर्ने पैसाको अंक बढाएको हो ? मलाइ त सीमा नाघ्यो भन्छ एटीएम !

गार्ड- सीमा ५ लाखको हो । तपाइँले एक महिनामा त्यति झिकिसक्नु भो होला ।

म - छैन । कहाँ झिक्नु त्यति ! 

गार्ड -  भित्र स्टाफलाई सोध्नुस् ।

बैंक पसेँ । सामाजिक दुरीको लफडाले बैंकभित्र तीन हात परै रोकियो । परैबाट महिला कर्मचारीलाई भनेँ - मलाइ एटीएमले सीमा नाघ्यो भन्यो । खातामा कतिसम्म राखेर एटीएमले पैसा दिन्छ ?

उनी बडो रुखो पारामा बोलिन् - ५ लाख झिकिसक्नु भो होला । त्यो भन्दा बढी एक महिनामा निकाल्न मिल्दैन एटीएमबाट ।

म- मैले झिकेको छैन । अनि मिनिमम ब्यालेन्स कति हुनुपर्छ ?

बैंक कर्मचारी - ५ सय राखेर बाँकी निकाल्न मिल्छ ?

म - मैले सीमा नाघ्ने झिकेकै छैन । अनि मेरो कार्डमा किन एटीएमले त्यसो भनेको ? चेक गर्दिनु हुन्छ ? 

बैंक कर्मचारीले रिसाएको पारामा हेर्नुभो, रिप्लाउनु भएन ।

उहाँको मुद्रा देखेर फेरि सोध्न मन लागेन।

बाहिर निस्कँदै गर्दा देखियो, भित्रबाट प्राविधिकहरूले त्यो एटीएम खोलखाल पर्दै रहेछन्। अनि भित्रको गार्डलाई सोधेँ - के हुँदै हो?

उनी बोले - एटीएमले काम गरिरहेको छैन । मर्मत चल्दैछ ।

काम त गर्दै थियो, त्यो सूचना दिने ! कारण त्यस्तो रहेछ ।

अनि दुई किमि पर्तिरको एटीएम पुगियो । त्यसले अघिल्लो जस्तो सूचना देखाएन ।