Friday, September 25, 2009

अनुदार सोचको नियति

सशस्त्र प्रहरीका सहायक हवल्दार आफ्नै परिवारकी सदस्यको हत्याको आरोपमा पक्राउ परेका छन् । अपराधीलाइ रकम दिएर आफ्नै भाइकी पत्निलाई हत्या गर्न लगाएको आरोपमा विराटनगरमा सशस्त्रका विनोद साह पक्राउ परेका हुन् । गत भदौ २७ गते मध्यरात विराटनगर-१८ स्थित आफ्नै घरमा सुतिरहेकी ३२ वर्षीया बसन्तीदेवीको गोली प्रहारबाट हत्या भयो । बसन्तीका पति मनोज सिरहाको मिर्चैयामा कार्यरत नेपाल प्रहरीका जवान हुन् ।
अनुसन्धानका क्रममा हत्यामा मनोजका दाजु विनोदको हात भएको थाहा पाएपछि प्रहरीले उनलाई पक्रिएको छ । बिनोदले आपराधिक समूहलाई पैसा दिएर हत्या गर्न लगाएको खुल्न आएको छ । उनले बयानमा एकल महिला (विधवा)लाइ भाइले विवाह गरेको परिवारका सदस्यलाई मन नपर्नु हत्या जस्तो अपराध गर्नमा कारण रहेको बताएका छन् । पक्राउ परेका उनी पेशाले सुरक्षाकर्मी हुन् । उनी कारागार सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सुरक्षा बेसमा कार्यरत जिम्मेवार पदाधिकारी हुन् । तर, उनको अनुदार सोचले परिवारभित्रै अपराधकर्म गराएको छ ।
रंगरोगनको काम गर्ने लोग्ने दिवंगत भएपछि एक्ली भएकी बसन्तीका लागि मनोज सहारा बनेका थिए । उनीबाट सन्तानसमेत भएको छ । पछिल्लो घरजमको करीव तीन वर्षपछि बसन्तीले दुर्घटनाको सिकार हुनुपर्‍यो । बितेका केही वर्षमा एकल महिलाले विवाह गर्न र रातो सारीचोलो,टीका लगाउन हुने बहसहरु निकै चलेका हुन् । एकल महिलाले रातो पहिरन लगाएका खबरलाई सञ्चारमाध्यमहरुले समाज परिवर्तनको घटना भन्दै प्रमुखता दिएका हुन् । लोकगायक बद्री पंगेनीले 'लाउ चेली सिंदुर लाउ निको पार हृदयको घाउ' भन्दै यसमा गीत नै बनाए ।
आधुनिकतातर्फ लम्केको समाजले रुढीवादी सोच फाल्नुपर्छ । निर्दोषहरुको समान्यसरह बाच्न पाउने अधिकार सुनिश्चित गर्न असजिला सामाजिक मान्यता फेरिनुपर्छ भन्नेमा कसैको दुइ मत नहोला । तर, बसन्ती हत्याको घटनाले हाम्रो समाजमा त्यो सोच फेरिएको रहेनछ भन्ने देखाएको छ । यो अनुदार सोचको परिणाम हो । युवावस्थामै एकल जीवन बिताउन बाध्य भएका वा पारिएकाहरुमाथि यो खबर निश्चय पनि दुखद हो । यस्तो दोहोरिनु हुदैन ।
बसन्ती हत्याको घटनामा अपराधीसम्म प्रहरी पुग्ला । र, सजाय दिलाउनतर्फ लाग्नेछ । तर, यो घटनाबाट समाजले पाठ सिक्न जरुरी छ । युवावस्थामै एकल जीवन बिताइरहेकाहरुले उनीहरुको चाहना र अवस्था अनुसारको जीवन जिउन पाउनुपर्छ । समाजले उनीहरुलाई छुट्याउने होइन । सहज जीवनयापनमा सहयोग गर्नुपर्छ । आफ्नै चाहनाले एकल बनेका महिलाका घटना विरलै होलान् । तर, अधिकांश अवस्थामा उनीहरुको चाहनाले एकल हुने होइन । दुर्घटनाको सिकार जो पनि हुन सक्दछ । श्रीमतिको देहान्त भए अर्की विवाह गर्न सक्ने पुरुषका लागि समाजले कुनै प्रश्न गर्दैन । यस्तै एकल जीवन बिताइरहेका महिलाका लागि विवाह भए त्यसमा पनि प्रश्न उठ्नु हुदैन । अन्यथा अझै धेरैको नियति बसन्तीजस्तै हुनसक्छ । यस्तो अनुदार सोचमा परिवर्तन आउनुपर्छ ।

No comments: