'विराटनगर बुझाउने फोटो चाहियो, तुरुन्त उपलब्ध गराउनु पर्यो।' २०६२ मंसिरमा हो सम्भवतः मलाई बुद्ध एयरले आफ्ना यात्रुलाई वितरण गर्नेगरी प्रकाशित गर्ने 'यात्रा' पत्रिकाका डिजाइनर साथीले फोन गरेको। त्यसबेला मैले उनीसँग एक हप्ताको समय मागेको थिएँ। अनि सोचें, विराटनगर बुझाउने तस्बिर के हुन सक्ला ?
विराट दरबारको भग्नावशेष, ,रोडशेषको पञ्चायत रजत स्तम्भ, विराटनगर जुट मिल, रानी भन्सार, बुधहाट चोकबाट देखिने विराटनगर बजार र यहाँ चल्ने बग्रेल्ती रिक्सा। अप्सन धेरै भए। तर, केहीमा पनि चित्त बुझेन।
विराट दरबारको भग्नावशेष भनिने ठाउँमा तस्वीरजन्य बुझाउने सामाग्री सहजै देखिने अवस्था थिएन। रातो माटोको ढिस्को देखाएर त्यसलाई उपमहानगरको प्रतीक बनाउन सकिन्छ भन्ने लागेन। पञ्चायत हटेर बहुदलीय व्यवस्थाले चलखेल गर्दै रहेका बेला रोडशेष चोकको रजत स्तम्भको तस्बिर पठाउनु आफैंलाई पञ्चायतको समर्थक रहेछ भनिदेलान भन्ने त्रास। मेरो बुझाइमा त्यो पठाउनु विराटनगरका लागि पनि अन्याय हुन्थ्यो।
विराटनगर जुट मिल, मुलुकको जेठो उद्योग। तर, सधैं बन्द भइरहन्थ्यो। मजदुरले आन्दोलन गरिरहन्थे। हडताल शब्दको पर्याय बनेको कारखानाको तस्बिरलाई विराटनगरको पहिचान भनेर पठाउँदा यो बन्दको सहर हो भनेजस्तै हुने थियो। यो पनि भएन।
रानी भन्सार क्षेत्रमा नेपालतर्फ बुझाउने त्यस्तो कुनै प्रतिमा छैन। कुनै त्यस्ता प्रतीक छैनन् जसले सहरको प्रतिनिधित्व तस्बिरमा गरोस्। पारि विहारको जोगबनीतर्फ जयप्रकाशनारायण द्धार छ, त्यो त पठाउनु पनि भएन।
बुधहाट चोकलाई त्यहाँको सात तले अग्लो घरमा चढेर हेर्दा गुद्री बजारका टिनका टहरामात्र देखिने रहेछ। टीनका टहरा देखाएर विराटनगरको पहिचान पुरानो कुनै गल्लीभन्दा ठूलो नदेखिने होला भन्ने मलाई लाग्यो।
अनि, बाँकी रह्यो रिक्सा। मलाई लाग्छ, रिक्सा सम्पन्नता र उत्साहको प्रतीक होइन। यहाँका कुनै रिक्साचालक कसैका लागि प्रेरणाका स्रोत बनेको पढ्न-सुन्न पाएको छैन। रिक्सा मान्छेले चलाउने हो। मान्छेले श्रम गरे चल्ने त्यो साधनको तस्बिर सहरको सम्पन्नताको प्रतिनिधित्व गर्न सक्ने दृश्य हुन सक्दैन। त्यसो त विराटनगरमा करिब आठ हजार रिक्सा छन्। बरु छोटो दूरीका सार्वजनिक सवारीका नाउमा रोडशेष चोक-पहडगछढाट र पुष्पलालचोक-कोशीअञ्चल अस्पताल चल्ने टेम्पोको रुप दिइएको चाइनिज मोटरसाइकलबाहेक वैकल्पिक भनेको रिक्सामात्र हो।
रिक्साचालकलाई यात्रुले सम्मान गरेको विरलै सुन्न पाइएला। अनि यी चालकहरुलाई ठाउँ दिने हो भने सहरमा उनीहरु मात्र छैनन्। त्यसमाथि विराटनगर भनेर रिक्साका तस्वीर पठाउने हो भने नेपालगञ्ज, वीरगञ्ज र जनकपुरभन्दा फरक नै के रह्यो र !
साता बित्न लागेको थियो। मैले तस्बिरमा विराटनगर बुझाउने दृश्य भेट्न सकेको थिइनँ। जसलाई सोधे पनि चित्तबुझ्दो सुझाव पनि फेला परेको थिएन। अन्त्यमा केही भएन, महेन्द्रचोकको अग्लो घरमा चढेँ। त्यहाँबाट तल महेन्द्रको सालिक र देखिएको सडकलाई खिचेँ। अनि त्यही इ-मेल गरेँ। बरु त्यसको साथमा मैले केहीअघि कोशीटप्पुमा खिचेका चराका तस्बिर पनि पठाएँ । त्यही छापियो।
चार वर्ष बितेको छ। यहाँ माघ ५-११ मा विराट एक्स्पो व्यापार मेला हुँदैछ। फेरि तस्वीरमा विराटनगर पहिचानको खोज्नुपर्ने अलमल आएको छ यो साता। जनआन्दोलन-२ पछि महेन्द्र चोकमा सालिक छैन। ठूटो छ।
भएको भए पनि अब फेरि राजाका सालिक विराटनगरको पहिचान जनाउने तस्वीर भन्दै पठाउन हुने कुरा भएन।
विराटनगरको इतिहास बखान गर्नुपरे इतिहासकार नथाक्लान। उद्योगी-व्यापारी नथाक्लान। अनि नेताहरू त थाक्ने कुरै भएन। विराटनगरले कयौंपटक देशलाई प्रधानमन्त्री र मन्त्री दिएको छ। यहाँबाट उद्यम सुरु गरेर गोल्छा, दुगड र सारडा लगायत दर्जन व्यापारी घरानाले मुलुकभर सञ्जाल विस्तार गरेका छन्।
ती घराना, जसले विराटनगरबाट सुरु भएर मुलुकका अन्यत्र उद्यमको सञ्जाल विस्तार गरेका छन्, उनीहरुले विराटनगरका लागि के गरेका छन् ? उनीहरुले आफ्ना लागि उद्यम गरेपनि राजस्वमार्फत फाइदा देशलाई भएको पक्कै होला। तर, उनीहरुका ठूला महल अघिको सार्वजनिक सडकमा एउटा फूल-पात र बिरुवा पनि छैन। उनीहरुका घरमा आफ्नै बाउ, काका पुस्ताका इतिहास सुरक्षित छैन।
उनीहरुले व्यावसायिक सामाजिक दायित्व (कर्पोरेट सोसियल रेस्पोन्सिबीलीटी) का नाउँमा धेरै गरेका होलान्। तर, तस्बिरमा सहरको पहिचान बारे उनीहरुमा गम्भिरता भएको लेन्सले भेट्दैन। गोल्छा समूहका संस्थापक स्व. रामलाल गोल्छाका बारेमा खोजी गर्न परे एउटा किताब हेर्नुपर्छ। त्यसबाहेक हेर्न सकिने भनेको रामलाल आँखा अस्पताल हो। लहानको अर्को अस्पतालले विराटनगरमा गोल्छाको भन्दा ठूलो परियोजना ल्याएपछि पुरानो अस्पतालका लागि पनि साख जोगाउन चुनौती बढेको छ। गोल्छाको आँखा अस्पतालको तस्बिर कसरी उपमहानगरको पहिचान बनोस् ! दुगड,सारडा, मुरारका, राठी, धनावत, सुराना, अग्रवाल लगायत नाम खोज्यो भने व्यापारिक घराना दुई दर्जन नाघ्लान तर उनीहरुले आफ्नै अग्रजका नाउँमा सार्वजनिक स्थानमा केही राखेका भेटिँदैन। मन्दिर र धर्मशाला नभएका होइनन्। तर ती अरू सहरमा भएभन्दा किञ्चित पनि फरक पहिचान र शैली बोकेका छैनन्।
अनि मुलुक हाँक्ने जिम्मेवारीसम्म पुगेका नेताले विराटनगरका लागि के गरेका छन् ? कोइराला परिवारको जग्गा बेचबिखन भएको थाहा पाएका कांग्रेस कार्यकर्ताले त्यसो हुन नदिन बल गरे। शैली उही माओवादीले सिकाएको कब्जाकै थियो। इतिहास बोकेको पिताजी कृष्णप्रसाद कोइरालाको घर सिर्जना भविष्यमा रहन्छ/ रहन्न ? यसै भन्न सकिने अवस्था छैन। भाउजु नोनाको निधनपछि गिरिजाप्रसादले विराटनगर आउने क्रम पातलो भएको छ।
विराटनगरलाई प्रतिनिधित्व गरेर कोइरालाका पछिल्ला पुस्ता डा. शेखरले अझै पार्टीभित्र आफ्नो पकड मजबुत बनाइसकेका छैनन्। सुजातालाइ राष्ट्रिय भन्नुपर्ला। किनभने उनलाई सत्तामा पुग्नअघिसम्म विराटनगरभन्दा बढी मोह सुनसरीको निर्वाचन क्षेत्र थियो। भलै हालैको निर्वाचनमा त्यो मोहले उनलाई लाभ गराएन।
पार्टी कार्यकर्ताका लागि तीर्थस्थलको उपमा पाएको कोइरालाका सिर्जना जोगाउन त उनीहरु गम्भीर छैनन्, विराटनगरलाई के गरून?
मधेस आन्दोलनले कर्सियास्थित बिपीको सालिकमा आक्रोस पोख्यो। कांग्रेसले त्यसलाई फेरि बनाएन। बरु पोखरियास्थित पार्टी कार्यालय परिसरमा ल्याएर सीमित गरियो।
एमालेमा शीर्षस्थ नेता स्व. मनमोहन अधिकारीको इतिहास विराटनगरसँग जोडिएको थियो। उनलाई खोज्न वा अध्ययन गर्न यहाँ कोही शोधकर्ता आयो भने केही भेटिहाल्ने कुरा यहाँ कतै केही नै छैन। एमालेले पार्टीको जिल्ला कार्यालयको भवन राम्रो बनाएको छ। तर, एउटा पार्टीको कार्यालय यो सहरको पहिचान बनाउन हुने कुरा पक्कै होइन। यदि त्यो बल्खु दरबारजस्तो भएको भए पनि लौ ! जेसुकै होस भन्दिउँ, छैन। पछिल्ला समय फस्टाएका माओवादी सहरको प्रतीक बनाउने फुर्सदमा छैनन्। उनीहरुले भत्काएका संरचना नै पुनःनिर्माण भइसकेको छैन। अनि बनाउने ध्यान कताबाट आउनु ?
महेन्द्रको सालिक ढाले। पञ्चायत रजत स्तम्भ पनि फुटाउने प्रयास गरे। पुरै नढालेका कारण त्यो चाहि बिचरो देख्न पाइन्छ।
अनि रहे मधेसवादी दल। यिनमा फोरम अग्रपंक्तिमा छ। फोरमले त्यस्तो केही बनाएको छैन, जसलाई तस्बिरमा देखाएर यो उसकै सहर हो भनेर चिनाइदिउँ। उपेन्द्र यादवलाई फुर्सद छैन विराटनगरका विषयमा सोच्न। पार्टी चिरा परेपछि मधुमेहका रोगी उनलाई आफ्नै कलहमा मलम र नुनचुक लगाउँदै व्यस्तता छ। सामाजिक क्षेत्रमा योगदान गर्नु मानवीय धर्मभित्र पर्छ। तर, सहर चिनाउने जिम्मेवारीप्रति पनि कसैको ध्यान पुग्न जरूरी छ।
यहाँ सडक,अस्पताल,बजार र न दाहसंस्कारस्थल। व्यवस्थित गर्न क्षमता भएकाहरुले केही गरेका होलान् भन्ने सम्भावनाको फेर समात्दा पनि पहिचान बुझाउने प्रतीक क्यामेराले भेटेन। पोखरियामा परोपकारघाट बनेको छ। सुन्दर र व्यवस्थित छ। यसका लागि जस-जसले योगदान गरेका हुन्, तिनको सराहना गरिनु उपयुक्त हुन्छ। तर, परोपकारघाटभन्दा हाटखोलानजिकको सिंघिया व्यस्त छ। यहाँ गोल्छा परिवारको पनि दाहसंस्कारस्थल छ। गोल्छा परिवारका कुनै सदस्य दिवंगत हुँदा शव यहाँ ल्याएर दाहसंस्कार गर्ने पराम्परा बसाइएको छ। तर, यहाँ उनीहरुको केही चिन्हबाहेक व्यवस्थित भनिने केही देखिन्न।
अहिले पूर्व क्षेत्रमा रहेर मैले धरान देखाउनुपर्दा सिरिजंघाको सालिक, बिपी प्रतिष्ठान, घण्टाघर र बुढासुब्बा। जेको तस्वीर खिचे पनि पुग्छ। हेर्नेले भन्छ - यो धरान हो। अनि नागबेली बाटाका घुम्ती काटेर बेला बेला कुहिरोले घुम्टो हाल्ने ठाउँ देख्दा हेर्नेले भन्छ यो भेडेटार हो। अग्लो घरबाट चौरस्ता, नगरपालिका परिसरको पोखरी वा बिक्रमश्रीका सिर्जना, जे खिचे पनि देख्नेले भन्छ यो इटहरी हो। कंकालनी भगवती वा छिन्नमस्ताको तस्बिर खिचे भन्न असजिलो छैन तस्बिर सप्तरीको हो। भुटानी शरणार्थी वा काँकडभिट्टाको गेट होस वा दमकको गणतन्त्र चोक, केचना, धिमाल-राजवंशी संस्कृति। सजिलै भन्न मिल्छ तस्बिर झापाका हुन्।
मधेस आन्दोलनपछि सिरहा र सप्तरीबाट बसाइ सर्दै विराटनगर आउने जमात बढेको छ। सुविधाका लागि मान्छे बसाइ सर्नु नियमित प्रक्रियाभित्र पर्छ। गाउँबाट सहर र सहरबाट ठूला सहरमा बसाइ जाने क्रम मान्छेको नियति हो। परिवर्तन भएको भनिएको अवस्थामा यहाँ कुनै जातजातिले आफ्नो सांस्कृतिक पहिचानको दाबा गर्ने केही बनाइसकेका छैनन्।
जेठो भनिएको विराटनगर जुट मिल सदाका लागि बन्द भएको छ। कुनैबेला गुलजार मिल्सएरिया क्षेत्र अहिले सुनसान छ। बजारमा बैंक थपिएका छन्। दुई दर्जनको संख्यामा पुगेका बैंकले पनि आ-आफ्नो कार्यालयमात्र सिंगारेका छन्। लगानीको क्षेत्र संकुचित भएको भनिदै आएपनि लगानी २० अर्ब नाघेको छ भनिन्छ। न कारखाना बढेका छन् न त रोजगारीका लागि विदेशिने लर्को कम भएको छ। तस्बिरमा विराटनगर देखाउने कुरा के हो - अझै अलमल छ।
महेन्द्रको सालिक भत्काउनु समयको माग भन्दै आउनु दलहरुको बाध्यतामा पर्ला। इतिहास भत्काएर त्यसमाथि वर्तमानको मोहर लगाउनु पर्छ भन्नेहरुले सहरलाई कस्तो बनाएका छन् लेन्सले प्रतीक भेट्दैन।
अहिले जनजिब्रोमा नबसे पनि महेन्द्र चोकलाई सञ्चारकर्मीले जनआन्दोलनचोक लेख्ने गरेका छन्। यो जनआन्दोलनचोकदेखि बरगाछीसम्मको १ हजार ८ सय मिटर सडकलाई तीन लेन निर्धारण गर्न एक दसकअघि डिभाइडर बनाइएको थियो। ढुंगा छापेर बनाएको सो डिभाइडर अहिले पुसमा महिना लगाएर भत्काइएको छ। भनियो, सडक अब ६ लेनको बनाउने रे। तर, उपमहानगरपालिकासँग न योजना छ, न त बजेट। जे होस डिभाइडर भत्काइयो। सफाइ भइसकेको छैन, त्यसैले अहिले सडकमा धुलो नै धुलो छ। धुलो यो सहरको पहिचान बन्न सक्दैन।
विराटनगर पुरानो सहर-ऐतिहासिक सहर। धेरै प्रधानमन्त्री र मन्त्री जन्माउने सहर। तर, खोइ तस्बिरमा दिने पहिचान ? न सालिक छन्, कुनै पार्क, घण्टाघर न चिडियाघर।
पहडगछ ढाटमा बनाएको एउटा प्रवेशद्धार अहिले हाम्रो लाज ढाक्ने मेलो बन्न सक्छ। तर, विराटनगरलाई दीर्घकालीन योजना चाहिन्छ। व्यवस्थित सडक, बसपार्क,बालबालिकाका लागि पार्क र मेला लगाउने ठूलो ठाउँ अहिले उपमहानगरको आवश्यकता हो। पटक-पटक शिलान्यास भयो। चरालाई चारो फाले झैँ साना किस्तामा बजेट विनियोजन गरिए। तर, विराटनगर चक्रपथको योजना थाती रहयो। ढलनिकासका लागि एडीबीसँग ऋण लिएर उपमहानगरले बल्ल तरखर गर्दैछ। सरकार र कर्मचारी फेरिँदै सहरका प्राथमिकता फेरिनु हुँदैन। कसले भन्छ- तस्वीरमा विराटनगरको पहिचान के हो ?