महिनाभरि प्राप्त निबन्धमध्ये उत्कृष्ट प्रसारण हुने बेला थियो । उद्घोषकले पढे 'यो हामीलाई ताप्लेजुङको हाङपाङमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा आठमा पढने विद्यार्थी भाई नवराज सुब्बाले पठाउनु भएको हो ।' विद्यालयमा गरिने अतिरिक्त क्रियाकलापमा आधारित उक्त निबन्ध रेडियोमा वाचन भएलगतै उनलाई आफन्त र गुरुहरुले बधाइ दिए । अतित स्मरण गर्दै उनले भने 'शायद त्यहीँबाट लेखन यात्रा सुरु भयो ।'
गाउँमा मातृभूमि र नयाँ सन्देश पत्रिका प्रकाशित भएको करिब दुई सातापछि हुलाकहुँदै पुग्थ्यो । 'तिनमा बेलाबखत छापिएका रचना काटेर राखिन्थ्यो, पुराना कुरा सम्झदै उनले सुनाए, 'पत्रिकामा नामसहित रचना छापिएको पढ्न पाउँदा आनन्द लाग्थ्यो ।'
स्वास्थ्य सेवाको अवस्था नाजुक देखेर चिकित्सा पेसामा लाग्ने धोको हुन्थ्यो । अनि धेरैले पल्टनमा जानु ठीक हुने सुझाव दिएकाले कहिलेकाही मन बहकिन्थ्यो पनि । 'लाहुर जान पल्टनको बाटो खुला थियो तर, मलाइ जान मन लागेन,' उनले भने । स्वाथ्यकर्मी बन्ने रहर बोकेर राजधानी हान्निएका सुब्बाले चिकित्साशास्त्र अध्ययन संस्था, अमृत साइन्स, इन्जिनियरिङ र भेटेरिनरी पढ्नका लागि लगालग प्रवेश परीक्षा दिए । 'डाक्टर बन्नका लागि पढाइ खर्चिलो, अनि डाक्टरहरु गाउँ जाने चलन नदेख्दा त्यो पढाइमा लागिएन,' उनले भने । बनेनन् । चिकित्साकै क्षेत्रमा काम लाग्ने एचए -स्वास्थ्य सहायक) को पढाइमा लागे ।
'त्यसबेला एचए पढेर पनि एमबीबीएस ट्राइ गर्न सकिन्थ्यो तर, पढाइ सकेर जागिर खान सजिलो थियो, त्यसैमा ट्राइ गर्न थालियो ।' पढाइका क्रमको अभ्यासमा उनी आफ्नै गाउँ गएका थिए । पछि उनले २०४० सालमा लोकसेवा परीक्षा उत्तीर्ण गरेपछि पहिलो नियुक्ति पाँचथरको इम्बुङ हेल्थपोष्टका लागि पाए ।
जागिरे जीवनका मुलुकका विभिन्न भाग घुमेका उनलाई रचनामा भाषिक शुद्धतासँगै गहन शब्दशैलीको संयोजनमा आफू केही पछि रहेको अनुभव भयो । 'त्यसैले नेपाली विषय लिएर पढन थालियो' उनले थपे 'भाषा बुझेमात्र शब्द चयन गहकिलो हुने रहेछ ।' नेपाली विषयमा स्नातकोत्तर सिध्याएपछि कविता संग्रह 'जीवन मेरो शब्दकोष-२०६३, 'बीच बाटोमा ब्युझेर-२०६५ र निबन्ध संग्रह 'मनको मझेरी'-२०६४ प्रकाशित गरेका उनलाइ सूचनाप्रविधिको मोहले पनि गाँजेको छ । आफ्नो वेबसाइट बनाउन लगाएर त्यसलाई अप्डेट गर्न उनले सिकेका छन् । भन्छन् 'ठेगाना दिनैपर्दैन भन्छु गुगलमा एनआर सुब्बा ( http://www.nrsubba.com.np/) सर्च गर्नुस , म फेला पर्छु ।'
'जागिरको दौरान लेखेका कविता/निबन्धलाइ किताबको रूप दिने सोच बनेको थिएन,' उनी भन्छन् 'पछि पछि त्यसो गर्न सकिने रहेछ भन्ने भयो ।' जनआन्दोलन-२ पछि सबैले आ-आफ्नो जातीय र भाषिक अधिकारको चासोलाई सडकसम्म ल्याएका छन् । मुलुक संघीय संरचनामा जाने प्रतिबद्धता अन्तरिम संविधानमै उल्लेख भएपछिका विभिन्न आन्दोलनले समुदायको समावेशी बसोबासमा केही चिसोपना आएको महसुस भयो । उनले लेखे -
नेपाली नेपाली हामी नेपाली
मधेसी होस् या जनजाति हामी नेपाली
दलित होस या तागाधारी, हामी नेपाली ।।
उनको यो रचना स्वदेश गानका रुपमा अहिले एफएम रेडियोहरुका बेला बेला बज्ने गरेको छ । देशप्रेमको भावना ओतप्रोत रचनाहरुलाई सांगीतिक एल्बमको स्वरुपमा निकाल्ने जमर्को साथीहरुको प्रेरणाले सफल भएको उनी सुनाउँछन् । 'देशको माया' नामको उनको रचना संग्रहीत एल्बम गत भदौ दोस्रो साता कान्तिपुर एमएमबाट विमोचन भएपछि ४८ वर्षे यी स्रष्टाको सक्रियता बढेको छ । राजवंशी जातिका महिला र बालबालिकाको स्वास्थ्य विषयमा विद्यावारिधि पनि गर्दै रहेका उनले भने 'अहिले म शहीदलाई सलाम' भन्ने गजल संग्रह तयार पार्दैछु ।'
No comments:
Post a Comment