Sunday, June 19, 2011

दानावती

दुई साता बिते। क्यामेरा झिकेका बेला फेरि त्यो अनुहार लेन्सले देखेको छैन। विराटनगरका बसपार्कछेउ, गुद्री र बुधहाट चोकमै कतै स्टीलको लोटा सडकमा 'ट्वाक ट्वाक' पार्दै बटुवाका ध्यान आकृष्ट पार्ने दानावती देखिन्नन्।
 
सामान्य घटनामा पनि सडकमा प्रदर्शन नौलो छैन। कहिले प्रहरीका अघि, कहिले प्रशासन। सामान्य ठानेका बेला कुनै जुलुसले बितण्डा गर्छ। त्यसैले अखबारका लागि उपयोगी ठहर हुन वा नहुन्, जुलुसका तस्बिर खिचेकै जाती हुन्छ। 

यस्तै एउटा दिन थियो, मध्यान्ह १२ बजेको घाममा लालटिन बोकेको जुलुस मोरङको जिल्ला प्रशासन जाँदै गरेको खबर आयो। 
जुलुस पच्छ्याउँदै प्रशासन पुगियो। मोटरसाइकल पार्किङ गरेर झोलाबाट क्यामेरा झिक्दैगर्दा चर्को स्वरमा एउटी वृद्धाको प्रश्न कानमा ठोक्कियो - 'पत्रकार छी ?' हो भन्ने संकेत मिलेपछि भनिन् 'पहिने एकरा खिच। पत्रिका मे निकाल।' उनका भाषामा आक्रोश, निराशा र आदेशका मिश्रित भाव थिए। नजिकै भुइँमा देखाइन।

त्यहाँ उनकी छोरी थिइन। करिब दुई/अढाइ फुटकी। टाउको र जीउ एकै ठाउँ डल्लो परेजस्तो देखिने। कतिपय जुलुसको बानी पत्रकारले फोटो खिच्लान भनेर पर्खिरहने हुँदैन।  खिच्ने बेला बितेपछि फेरि पाइदैन। मैले एकपटक जुलुसतिर हेरेँ, अनि फेरि ती वृद्धाकी छोरीतिर। लगालग दुई/तीन फ्रेम उनकी छोरीको तस्बिर खिचेर जुलुसतिर लम्किएँ।
 
त्यो साता विराटनगरको ठाकुरवाडी रोडस्थित एक ज्वेलरीमा चोरी भएको थियो। अनुसन्धानका क्रममा प्रहरीले समातेका विराटनगर-१७ का कबाडी व्यवसायी रहमत अलि (३४) लाई चार दिनपछि छाडेको रहेछ। हिरासतमा राखेर अनुसन्धान गरेपनि चोरीमा अलिको संलग्नता पुष्टि हुन नसकेपछि हाजिर जमानीमा उनी छुटे। मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताले जुलुस निकालेका थिए। लालटिन उज्याएर नारा लगाउनेका भीडबाट अलि बाहिर आए। उनले पाइन्ट खोलेर देखाए। तिघ्रामा काला-नीला डाम थिए।  भने, 'मलाइ छोड्नु अगाडि बेस्सरी कुट्यो। नगरेको अपराधमा थुनेर यसरी कुट्न पाइँदैन। मैले बाहिर आएर भनेपछि प्रहरीको विरोधमा जुलुस निकालेका हौँ।' यातनाविरूद्धको प्रदर्शनको तस्बिर खिचियो।
 
त्यसपछि अघिकी ती वृद्धालाई खोजियो। भेटियो। उनी प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिन आएकी रहिछन्। जुलुसले गेट धर्ना छाडेमात्र उनले पालो पाउने थिइन। त्यस अवधिमा सप्तरीको राजविराज-९ राजदेवी टोलाकी शोभादेवी मुखियाले आफ्नी छोरीका बारेमा बताइन, 'यो जन्मैदेखि यस्तै हो। कम्मरमुनिको भाग जोडिएको छ। हिडडुल गर्न सक्दिन। सहारा चाहिन्छ। ज्वाइँ भनाउदोले बिचल्ली पार्‍यो।' 

उनको नाम दानावती रहेछ। अनुहार सामान्य सपांगभन्दा फरक छैन। जिले मुखिया र शोभाका ६ सन्तानमा दानावती र कान्छो भाइ अपांग रहेछन्। उनले बताइन, 'हामीले यो छोरीका लागि उपचारमा धेरै हिँड्यौ। आर्थिक हैसियत थिएन। तर, उपचार पनि नलाग्ने रहेछ। यो २८ वर्ष लागी होली।' 

सानैदेखि दानावती माग्दै हिड्न थालिन्। कहिले राजविराज, इटहरी र कहिले विराटनगर। मागेर हिड्दा राम्रै दाम जुट्न थाल्यो। विराटनगर आएका बखत उनलाई सघाउने रिक्शावाल घर पुग्यो। र, बिहेको प्रस्ताव राख्यो। 'उसको जेठी स्वास्नी थिइ। तैपनि हामीले छोरीको घर हुन्छ भनेर बिहे गरिदियौँ। विराटनगर आएपछि ४० हजार पैसा लिएछ। घरबाट निकाली दिएछ,' आमा शोभाले भनिन्, 'अहिले हेर्दैन। म कहाँ भन्न जाउ ?' 

आमासँगको वार्तालाप सुन्दै गरेकी दानावती अलि रिसाइन्। भनिन्, 'के हुन्छ पत्रिकामा निकालेर ? पुलिसले कतिपल्ट बोलाएर मिलापत्र गराइ पठाउँछ। एक/दुई महिना राख्छ। फेरि निकाल्छ। के हुन्छ ?'
 
धेरै दिनदेखि उनको बास सडकमै थियो। आफैं हिड्न नसक्ने उनलाई सहारा भेटे घाम पानीका ओत मिल्थ्यो। नभेटे तिनको सामना गरिआएको सुनाइन्। भनिन्, 'म कति दिन भोको बसेकी छु कसलाई वास्ता छ ?'
 
कुरा गरिरहँदा मुहारका भाव फेरिन्थे। क्षणमा अनुहार रिसाएको देखिन्थ्यो, क्षणमा प्रसन्नता। कुनैबेला भावशून्य। अब उनी मुस्काइन्। 'मैले उसलाई १३ हजारको मोबाइल किनिदिएको थिएँ,' फेरि भाव फेरियो। केही रिसाएजस्तो देखियो। मलिन मुहारले उनी बोलिन्, 'अहिले मलाई हेर्दैन।' 

दानावती र शोभाका तस्बिर लिएपछि अफिस फिरेर राजविराज फोन गरेँ। त्यहाँका मित्रले जिले मुखियाको घर पुगेर जानकारी पठाउने जवाफ दिए। उनले बिर्सिए शायद, त्यही भएर जानकारी पठाएनन्।
अहिले कतै फेरि दानावती देखिन्नन्। शायद आमासँगै घर गइन वा अन्तै कतैको सडकमा लोटा 'ट्वाक ट्वाक' पार्दै होलिन्।

***
(कान्तिपुर कोसेली ०६८/०३/०४ पूर्वाञ्चल संस्करण)

Friday, June 17, 2011

सामान्य/असामान्य

बिहानै एकजना मलाई चिन्ने , मैले नचिन्ने भाइको फोन आयो। उनले जनविकास स्कुल आउन डाकेका थिए। मन नलाग्दा नलाग्दै पनि जानु पर्‍यो। उनी लिनै आए। ६ कोठा बनाउन ठेक्का लिएका एक ठेकेदारले विद्यार्थी कुट्ने गरेका रहेछन्। एउटा फुचेलाई चोट लागेको रहेछ। त्यहाँ बसियो। जिम्मेवार गुरूहरू भेटिएनन्। अभिभावक, केटाकेटी र मेराज भनिने ठेकेदारका कुरा सुनियो। ठेकेरदारलाई कुनै गम थिएन। उनले भने - 'यहाँ टीचर हुँदैनन्। म आठ वटासम्म क्लास लिन्छु। बदमासी गर्छन् अनि कुटछु पनि।'

अभिभावकले हकारे। ठेकेदार भएर कोठा बनाउने कि पढाउने ? अनि विद्यार्थी कुटने अधिकार कसले दियो ? कुटपिट गर्छस् ?

उ अलि स्वाँठ पाराको सुकिलो रहेछ। हच्किएन। भन्यो - 'गर्छु। जस्ता मेरा केटाकेटी यहाँका पनि उस्तै हुन्।' 
उसका जवाफमा मायाको अधिकार जनाउन खोजिए पनि प्रस्तुति हपारेजस्तो थियो। शिक्षकहरू जनगणनामा खटिएछन्। क्लासमा १७ जना आउनुपर्नेमा ९ जना अनुपस्थित भएका रहेछन्। अनि घटना भएको रहेछ। प्रधानाध्यापक भेटिएनन्। उनीसँग नभेटी समाचार लेख्न सूचनाको अंग पुरा हुने भएन। उनको फोन नम्बर टिपेर  फिरियो। 
०००  

बिहान ६ देखि बेलुकी ६ बजेसम्म स्थानीय प्रशासनले जारी गरेको भनेको निषेधाज्ञाको अनुभव सडकमा देखिएन। युवा संघ समर्थकले तीनवटा सवारीमा क्षति पुर्‍याइएको सुनियो। एउटा देखियो। जनपथ टोलमा बा५प ७५६ठ नम्बरको मारूती ओम्नी भ्यान जलाइएको रहेछ। 

हिजो राती साढे १० बजे घर फिर्दा मेरो मोटरसाइकल पंचर भएको थियो। वडा प्रहरी परिसरमा छाडेर हिडेको थिएँ। सञ्चारकर्मी साथी कमल रिमालले घर छाडिदिएका थिए। हिँड्न आफ्नो साधन थिएन। त्यसैले आज म रिक्शामा थिएँ। बाटामा फोन आयो - युवा संघ अध्यक्ष महेश बस्नेतलाई प्रहरीले तालिम केन्द्रबाट एमाले मोरङको पार्टी कार्यालयमा लगेर छाडेको छ। 

उनको तस्बिर खिच्नु थियो। रिक्शा त्यता मोडन लगाइयो। खिचियो। उनका आक्रामक कुरा सुनियो। अघि बढियो। बाटामा जलेको भ्यान भेटियो।

तस्बिर लिएर अघि बढेपछि बाटामा ती भ्यानका गुरूजी भेटिए। सुकुमार सेन दाइले ती गुरूजी चिनाए। लक्ष्मण शर्मा, वर्ष ३०। डराएका रहेछन्। उनले बताए। बाटैमा रोकेर पेट्रोल खन्याएका थिए। आगो लाग्दालाग्दै निस्केर भागेका रहेछन्। उनको पनि जीउमा पेट्रोल परेको रहेछ। सुन्नेले भने - 'उ यदि उ जवान थिएन। लारेलुरे थियो भने गाडीबाट डढेको कंकाल निस्कन्थ्यो।' उनी हतास देखिए। उनलाई सान्त्वना दिइयो। ठूलो हिम्मतले ज्यान बचाएका उनलाई कम्पनीले कसो गर्ला थाहा भएन। 
०००
साँझ महेश बस्नेत राजधानी फिरे। उनले विराटनगर छाडनुअघि जे-जे भने, ती आक्रमक थिए। उनी नागरिक पत्रिका, सम्पादक र पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलाप्रति धेरै रूष्ट थिए। यी दुईका विरूद्ध नै उनले धेरै बोले। अन्तर्वार्ता लिने पत्रकारले पश्न गरेको थिएन। एकोहोरो उनी बोल्दै रहे। निन्दावाद र जिन्दावादका नारा लगाउने समर्थको हुलसँगै उनी पार्टी कार्यालय पसेपछि म बाहिर लागेँ। 

एक जना भाइले बोलाए। उनले केही बोल्न पत्रकार खोज्दैछन्। अघि उनले बोलेका कुरा सुनेर दोहोरो संवादमा मन लागेन। अनि त्यहाँ उनलाई निरन्तर नजिक फलो गरिरहेको एकजना टेलिभिजनकर्मी भाइबाहेक अरू थिएनन्। म बसिन। 'भैगो पर्दैन' भन्दै बाहिरिएँ।
 
काठमाडौं रहँदाका कुनै समय एक जना मित्रले कोसेलीको कभर स्टोरीको विषय बस्नेत र वाइसीएलका अध्यक्ष गणेशमान पुनलाई बनाएका थिए। ती मित्रका लागि मैले तस्बिर लिइदिनुपर्ने थियो। सो उनीसँगै हिँडियो। पुन भेटन गाह्रो भएन। बस्नेतले निकै कुराएका थिए। बागबजारको एउटा होटलमा टप फ्लोरमा लगेर भेट दिए। त्यसबेला मलाई लागेको थियो- यी मान्छे कुनै नामुद गिरोहका नाइके पो हुन् कि। कारण, उनको दलबल। निगरानीका तरिका। कुरा गर्ने शैली। 

प्रहरी-सेना अघिपछि रहे हामीले त्यस्ता मान्छे मन्त्री वा त्यस्तै कुनै खास सरकारी मान्छे ठान्नु स्वाभाविक छ। तर, पल्सर बाइक अघिपछि मसलदारहरू देख्ता गिरोहको भान हुनु अस्वाभाविक थिएन। उनले बताएका थिए, 'एक्लै हिँड्न सजिलो छैन।' कारण, भर्खर युथ फोर्सले गतिविधि थालेको थियो। माओवादीको वाइसीएललाई चुनौती दिएका हुनाले सुरक्षामा सतर्क छु भनेका थिए। त्यसबेला पुष्पकमल दाहाल प्रधानमन्त्री थिए। उनी विपक्षी पार्टीका एउटा बलिया क्याडर।

अहिले उनकै पार्टीका प्रधानमन्त्री छन्। उनी अहिले झनै बलिया छन्। पत्रकार खिलानाथ ढकालमाथि कुटपिटका आरोपी युथ फोर्स मोरङ संयोजक पर्शुराम बस्नेतलाई उनले संरक्षण दिएका छन्। छापा र टेलिभिजनमा उनका भनाइ आए। निर्दोषलाई फसाइएको हो। दोष प्रमाणित भएमात्र पर्शुलाई बुझाउने रे। उनै पर्शुका लागि विराटनगर आइपुगेका बस्नेतले यहाँ सभा गर्न पाएनन्। 

उनले सभा गर्ने भनेका दिन विराटनगरमा सभा, जुलुस, धर्ना गर्न र ५ जनाभन्दा बढी भेला हुन नपाइने निषेधाज्ञाको आदेश जारी गर्‍यो। १९ किलोमिटर उत्तर इटहरीमा पनि उनले भेला बोलाउन पाएनन्। समातेर विराटनगर ल्याइयो। जे होस्, उनी छुटे, छुटाइए। सरकारले अनुनय विनय गरेर काठमाडौं बोलायो। गए। उनी विमानस्थल जाँदा पुर्‍याउन हिडेका झण्डाधारी नाराबाजहरूलाई  अफिसको झ्यालबाटै देखेँ। समाचार अप्डेट गरियो। 
०००

दुई साता भएको छ, विराटनगरमा नागरिक दैनिकका संवाददाता खिलानाथ ढकालमाथि आक्रमणको। साथीहरू उनी एमालेसम्बद्ध सञ्चारकर्मीको संगठन प्रेस चौतारीमा आस्थावान हुन् भन्छन्। उनलाई आक्रमण गरेका आरोपितहरू एमाले कार्यकर्ता नै हुन्। 

त्यस दिन बिहान जब रातमा ढकालमाथि आक्रमण भएको सुनियो, एक मनमा लागेको थियो - उनी किन रातमा जसबाट खतरा छ, उही समूहका मान्छेले बोलाउँदा गएका होलान् ? फेरि लाग्यो, सञ्चारकर्ममा धेरैले स्रोतका माध्यमबाट सूचना लिन्छन्। रातबिरात सञ्चारकर्मी हिँड्छ भने उ कामकै सिलसिलामा हिडेको हुन्छ। निकै थोरै यस्ता होलान्, जो मजाका लागि रात्रि विचरण गर्छन्।

घटना भइसकेपछि बिहान हामी पत्रकार महासंघमा भेला भएका थियौँ। आकस्मिक छलफल डाकिएको थियो। दोस्रो दिन, तेस्रो दिन र निरन्तर कुनै न कुनै प्रकारका दोषी पक्राउ अनि कारवाहीमा सरकारको ध्यान खिच्ने कार्यक्रम चलिरहेको छ। 

दिन बित्दै जादा पनि मुख्य दोषी भनेर आरोप लगाइएका पर्शुराम समातिएका छैनन्। कुनै पनि पार्टीमा बलियो पकड नभएको जनता हुँदो हो भने अहिले पक्राउ मात्र होइन, उसलाई बकाउन प्रहरीका अनेक यातनाका सिकार भइसक्थे होलान्। तर, पर्शु बलिया रहेछन्। उनी राजधानी बसेर टेलिभजनलाई अन्तर्वार्ता दिइरहेका छन्। सरकारलाई चुनौती दिइरहेका छन्, दोष प्रमाणित गर्नसक्ने भए देखाउ भनेर। पत्रकार साँच्चै निरीह रहेछन् भन्ने पनि लाग्छ। अनि दलहरूले मात्र चलाए देशमा प्रजातन्त्र रहन्छ भन्ने कुरामा शंका पनि लाग्छ।

सक्नेले जे गरे पनि हुने भनेको यही घटनाले देखाएको छ। उनी निर्दोष हुन् भने प्रहरीलाई अनुसन्धानमा सघाएर आफूलाई साबित गर्न सक्नुपर्ने हो। तर, जसको सरकार छ, जसले सरकारको नेतृत्व गर्ने दलका लागि काम गर्छ, उसलाई कसरी त्यही सरकारले  समात्न सक्छ ? प्रश्न धेरै छन्। 

केही नेताका भनाइ पढ्न मिलेको छ। घटनामा पार्टीलाई मुछेर अतिरञ्जित बनाइयो भनेर। के यो अतिरञ्जित होला त ? आन्दोलनमा गोली लागेर इहलीला सकिएका मान्छेको शवमा पार्टीका झण्डा ओढाइन्छ। अनि सहिद करार दिइन्छ। पार्टी र केही पछि बल पुगे देशैले उसको तस्बिर राख्छ। पार्टीका नेता हुंकार गर्छन् - हाम्रा वीर सहिद फलाना। अनि कुनै कार्यकर्ताले बिझ्याइँ गरे उसको दोष व्यक्तिलाई मात्र जाने हो कि ? हाम्रो सामाजिकीकरणको फेरिएका नियम मगजमा पस्दैन। कारण, समाजशास्त्र रूचिकर नलागेर पनि हुनसक्छ।
०००

आज महेश बस्नेतका कुरा सुनेपछि मलाई पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष साथी विक्रम निरौलाको व्यक्तिगत सुरक्षासम्बन्धी चिन्ता लागेको छ। कारण, पत्रकार हतियार बोक्दैन। सुरक्षा गर्ने जमात साथ लिएर पनि हिँड्दैन। उसका कुरा राज्यले सुन्नुपर्छ। उ नियमका कुरा गर्छ। कानुनी शासनका कुरा गर्छ। चिन्ता र चासो सबैलाई हुनुपर्ने हो। तर, खिलानाथ आक्रमण प्रकरणमा अहिलेसम्म खिला स्वयंको जाहेरी प्रहरीमा पुगेको छैन। 

पत्रकारका आवरणमा नेता साथीहरूले हिम्मत बढाएर एमालेका जुझारू कार्यकर्ताविरूद्धको आरोपको उजुरी महासंघका तर्फबाट निरौलाजीका नामबाट गएको छ। महासंघको नेतृत्वका नाताले उहाँले गर्दिन भन्न मिल्ने ठाउँ पनि रहेन। तर, परिस्थिति आज केपी ओलीले श्रीलंकाबाट एउटा टेलिभिजनसँग गरेको कुरा जुझारूलाई अझ बल मिल्ने संकेत गर्छ। जे होस् न्यायका पक्षधर कसैको कुभलो नहोस्।