धेरै भएछ ब्लग अप्डेट नगरेको। आज हेर्दा पो यस्तो भएछ जस्तो भयो। यतिखेर म भोलि बिहानै फेरि सप्तकोशीको जलयात्रामा जाने तयारीमा छु। खानेकुरा, क्यामेरा, लेन्स, ट्राइपोर्ट र पानी पस्ने डुंगा भए उप्छिदै फाल्न बटुकोजस्तो भाँडोसहित हाम्रो यात्रा हुनेछ। केही घण्टाअघि सुनसरीको प्रकाशपुरमा रबिन दाइसँग फोनमा कुरा पनि भयो। हामी १०/१५ जना काठको लामो डुंगामा हुनेछौं। अहिले म क्यामेराको ब्याट्री र मेमोरी कार्डमा स्पेसको अवस्था हेरिरहेको थिएँ। अचानक ब्लगमा केही लेखौं भन्ने भयो।
०००
यस वर्षका लागि एसएलसी परीक्षा सुरू भएको आज दोस्रो दिन हो। हिजो परीक्षाअगावै प्रश्नपत्र आउट भएपछि प्रहरीले विराटनगर-१७ स्थित स्टार बोर्डिङ केन्द्रबाट त्यहाँका सञ्चालक/अध्यक्ष तथा केन्द्राध्यक्ष डा. उद्धव पोखरेल, सहायकद्धय उनका भाइ प्रिन्सिपल तथा प्राध्यापक डिल्ली पोखरेल र रवि रोका सरलाई पक्राउ गरेको थियो। विराटनगरमा विभिन्न प्रतिष्ठान स्टार नाम दिएर एक दसकदेखि सञ्चालन गर्दै आएका डा. उद्धव र डिल्ली सर चिनिएका नाम हुन्। उनीहरू सफल मानिएका व्यक्ति भएकाले धेरैको चासोको समाचार बने।
स्टार केन्द्रबाट आउट भएको प्रश्नपत्र भूमिप्रशासन रोडस्थित एक्सेल एकेडेमी भन्ने ट्युसन सेन्टरबाट प्रहरीले बरामद गरको थियो। त्यहाँ पनि घेरा हालेर चीट फोटोकपी गर्दै रहेको अवस्थामा १६ जना समातिए। स्टार स्कुलमा यसपटक प्राइभेटमा एलएलसी दिनेको सेन्टर परेको रहेछ। अनि ती प्राइभेट दिनेलाई सघाउने ट्युसन सेन्टरहरूले प्रश्नपत्र आउट गराएर चीट पुर्याउने गरिरहेको भन्ने प्रहरीको शंका हो। हामीले एक्सेलमा प्रहरीको छापामारी हेर्न पाए पनि डा. उद्धवलाई पक्राउ गरेको भेट्न सकिएन। स्कुलमा पुग्दा प्रहरीले उनलाई लगिसकेको रहेछ। जे भेटियो, तिनको फोटो खिचियो। बिहीबारको दिन यसैले धपेडीको रह्यो।
०००
आज मिल्स स्कुलमा दिवंगत पिताको किरिया बसेका एक जना भाइले परीक्षा दिँदै गरेको तस्वीर खिचियो। तलबसुविधा वृद्धिको माग राखेर आन्दोलित मजदुरका संगठन र उद्योगीबीच राजधानीमा सहमति भयो। मजदुरले १५ सय थप पाउने भए भन्ने समाचार आज उद्योग वाणिज्य महासंघ अध्यक्ष कुशकुमार जोशी र जीफन्ट अध्यक्ष विष्णु रिमालले हात मिलाएको तस्बिरसहित छापिएको छ। तर, बिहानैदेखि सुनसरी-मोरङ करिडोरका कारखाना बन्द गराइएका छन्।
दुहबी पुगेर मधेसी ट्रेड युनियनका एक जना नेतालाई भेटियो। आन्दोलन गर्दा ५ पार्टीका ट्रेड युनियन मिलेर गरे, वार्ता गर्दा मधेसीलाई बोलाइएन रे। अनि गरिएको सहमति पनि अपुरो र सन्तोषजनक नभएको उनले तर्क राखे। जे होस बिहानभर उनीहरूले उद्योग कारखाना डुली-डुली बन्द गराएछन्। मधेसी मजदुरका नेता विपिन कर्णले भने 'माग पुरा नभएसम्म हामी मान्दैनौ। बन्द अनिश्चित हुन्छ।'
०००
विराटनगरको दैनिकी जहिल्यै छोटकरी समाचारका पछि लाग्दा लाग्दै श्रम पर्ने खालको रहन्छ। अनि केही सातासम्म म बाहिर जान नपाए छटपटिन्छु। साताका एक दिन कसैगरि यो उपमहानगर बाहिर गाउँ टेक्नैपर्छ। सबै बहाना समाचारका लागि हुन्छ कि नयाँ खालका तस्बिर खिच्नेगरी। शायद सञ्चारकर्मीको दैनिकी यस्तै हो।
भोलि फेरि यात्राको अवसर जुटेको छ। दुई दिनका लागि। कोशीमा जलविहार मेरा लागि नौलो होइन। बितेका एक दसकमा म कतै धेरै गएको छु भने त्यो कोशीटप्पु हो। जो दसकौंदेखि फेरिएको छैन। र, अहिलेसम्मका अवस्थाले कुनै खास परिवर्तनको संकेत पनि देख्तिन।
तैपनि यो बहाना मेरा लागि विराटनगरभन्दा बाहिर पुगेर केहीबेर टहलिने कारण हो। म सहरबाट केहीबेर टाढा हुन चाहन्छु। नदिको पानी छोएर डुंगामा बस्न चाहन्छु। तातो घाम, चिसो हावा, अनि क्यामरालाई सटर स्पीड हाइ मोडमा राखेर उडिरहेका चराको छाप मेमोरी कार्डमा लिन चाहन्छु। केहीबेर दैनिकीका तनाव, देशको राजनीति, अनि धपेडी समय बिर्सन चाहन्छु।
मैले यसरी हराउन मिल्दैन। मेरो मन यसमा धेरैबेर हराउने भने होइन। लाग्छ, संन्यासीलाई पनि खानैपर्छ। परिश्रम नगरी मुखसम्म हात पनि पुग्दैन। हराउनु जीवन होइन। केहीबेर हराएर यो जीवनको दैनिकीमा संघर्षलाई निरन्तरता दिनु नै सार्थकता हो। फेरि पनि कहिलेकाही लाग्छ - 'सोचो साथ क्या जायेगा।'
०००
२०३२ सालमा आरक्ष घोषित सुनसरी,सप्तरी र उदयपुरमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष सप्तकोशी नदिकै भंगालो बीच र छेउछाउ छ। यहाँ भैंसीका जंगली पुर्खा र चरा देख्न सकिन्छ। सकिन्थ्यो। चरिचरनमा अतिक्रमण, माछा मार्नेको आवतजावतले दुवै कुरा दुर्लभ हुँदै आएको अवस्था छ।
अर्ना हेर्न गए भैंसीको हुलभित्र कुन होला भनेर खुटयाउन गाह्रो भएको छ। वर्षैभरि माछा निर्वाध मारिँदा चराले सजिलै खान पाउँदैनन्। बेलाबखतका घटनाले कोशीको धार सरिरहन्छ। फिरन्ते प्रजातिका चरा देखिन घटेका छन्। चोरी सिकार पनि उतिकै छ।
संरक्षणका चिन्ता व्यक्त गर्नेमध्ये निकै थोरैमात्र व्यवहारमा गम्भीर भेटिन्छन्। मान्छे बाँचे पुग्छ, अरू जीवका लागि किन कसले चासो राख्ने भन्ने प्रवृत्ति बढेको अवस्था हो।
०००
मेरो यात्रा यस क्षेत्रका लागि नौलो होइन। तैपनि कुनै समय कुनै चरा वा नौला जीवका तस्बिर भेटिएलान् वा वर्तमान अवस्थाको जानकारी हुन्छ भन्ने रूचिले घुमाइरहन्छ। बर्सेनि घुम्दा फरक अनुभव हुन्छ। अवस्थाले चिन्तित बनाउँछ। अनि कुनैबेला देखिने चराका नौला प्रजाति, बथान र प्राकृतिक विविधताले मन रमाउछ पनि।
चिन्ता, रोमाञ्च अनि केही गर्नुपर्छ भन्ने सन्देश मैले अखबारमा पस्कने प्रयास गरिआएको हो। जारी पनि छ। पुनः यात्रा निरन्तरताको योजनामा म फिरेको छु। गत पुसमा गोरखा, तनहुँ, लमजुङ, माघमा काठमाडौं, कास्कीका पोखरा, हेमजा, लुम्ले र चितवनको शक्तिखोर घुमेको मेरा यात्रा माघपछि थामिएका थिए। पुसको यात्राको बहाना माओवादीको पालुङटार बैठकको फोटोग्राफीको जिम्मेवारीले दिलाएको थियो। काठमाडौंबाट कास्की र चितवनको यात्रामा म एक्लै थिएँ। फिरेर आएपछि कोसेलीलाई 'चमेरो बिचरो' लेख्न सकियो।
यात्रा त्यसैका लागि थियो। भलै यी अवधिमा सुनसरी, मोरङ, झापा र इलामका केही गाउँ घुमियो। तर, यी घुमाइ छोटकरी समाचारमा सीमित भए। छोटो समयको यात्रा अनि यस्तो समूह जसले जहिल्यै हतार लगाउँछ। भनेजसरी लेख्ने र खिच्ने सामाग्री बटुल्न सकिदैन। अब म फेरि यात्रा थाल्ने संघारमा छु। तीनजुरे मिल्के गुफापोखरी, इलामको सन्दकपुर, चितवन र कास्कीका लागि।
एउटा विषयका लागि यात्राले मुलुक बाहिर पनि लैजान सक्छ। तर, यी मेरा योजनामै सीमित छन्। यसपटकको यात्रामा त्यस्तो केही नयाँ होस, जो पाठक र स्वयं मेरा लागि जायज चिन्तामा काम गर्ने ऊर्जा देओस्।
***
०६७ चैत ११ शुक्रवार/विराटनगर