Wednesday, March 30, 2011

अकबरे आकर्षण


विराटनगरबाट ४१ किलोमिटर उत्तरको दूरिमा पर्छ धरान । धेरैपटक गइन्छ । आउजाउकै क्रममा पालिका बजारमा खिचेको तस्बिर हो यो । यहाँ अकबरे खुर्सानी बेच्न बसेकी महिला तराजु समातेर ग्राहक हेर्दैछिन् । तस्बिरलाई फोटोसपबाट केही चलाइएको छ । खुर्सानीलाई प्राकृतिक रंग छाडिदिएर अरू भाग श्यामश्वेत बनाइएको हो । मलाई यस्तै गर्न मजा लाग्यो । खिचिने सबै तस्बिर अखबारमै पठाउनका लागि हुँदैनन् । त्यसैले यो तस्बिर पठाइएन । 
फेसबुकको क्लिक फोल्डरमा अपलोड गर्नेबितिकै एक जना दिदीको कमेन्ट पढन मिल्यो । उनलाई अति मन पर्छ रे । मलाई पनि मनपर्छ । तर, यसको पीरो जिब्रोमारा जस्तै लाग्छ । अति पीरो । तर, यसको पीरो जिब्रोले अनुभव गरेपनि पीँधले गर्नुपर्दैन । पेट पोल्दैन । भनिन्छ यो गुणकारी हो । त्यसैले अरूका तुलनामा महँगो पनि छ । अनि उस्तै देखिने खुर्सानीका अरू प्रजातिलाई ग्राहकले चिनेनन् भने अकबरेकै भाउमा किन्न बाध्य हुन्छन् । घर पुगेरमात्रै स्वाद लिएपछि सक्कली नक्कली थाहा लाग्छ । पहाडी क्षेत्रमा उत्पादन हुने भएकाले यो पहाडी बजारमै पाइन्छ । यदाकदा मात्र खाइन्छ । धरानका खान्की बजारमा दुइ कुरा अधिक विक्री हुदोरहेछ माछाका सिद्रा र अकबरे । अर्थोक पनि बिक्दो हो । तर, भानुचोकसँगै उत्तर-पश्चिमतर्फको पालिका बजारमा जहिल्यै अकबरेको थुप्रो ग्राहक कुरिरहेको देखिन्छ । उस्तै देखिने सबै खुर्सानी अकबरे हुँदैनन् । अकबरेजस्तो अरू हुँदैनन् । 

Tuesday, March 29, 2011

लाग्छ मन हेरिरहुँ


एकैछिन आँखा चिम्लेर हिडन खोजे धेरै असजिलो अनुभव हुन्छ । देख्ता देख्तै ज्योति कम हुँदै समस्यामा परेकाहरू कस्तो अनुभव गर्लान् । अनि फेरि ज्योति फिर्दा कस्तो अनुभव होला ।  
रबाज रेहान(१२) ले देख्न सक्ने भएपछि हस्त रेखा देखाएर बुबालाई भने 'हातमा यसरी कटेको हुँदोरहेछ, मलाइ पहिल्यै किन नभनेको ? मलाई लाग्थ्यो हात पुरै प्लेन हुन्छ होला ।' उनी भारत, मुंगेरको परहमका हुन् । बुवा महमद अबु रेहान (५२) भन्छन् 'यो मेरो छैटौं सन्तान हो । जन्मैदेखि देख्तैनथ्यो । उपचारमा धेरै कुदियो । बल्ल देख्न सक्ने भयो ।' शल्यक्रियाको ४० दिनपछि पुनः देखाउन ल्याउन चिकित्सकले दिएको सल्लाहपछि उनी बाबु-छोरा विराटनगरमा अस्पताल आएका भेटिए । 
'देख्न पाउँदा कुरै अर्को हुँदोरहेछ, पहिले म धेरै कुरा छाम्थें अनि यस्तो होला भन्ने ठान्थे, अरबाज भन्छन् 'आफ्नै काम पनि सहारा लिनुपर्थ्यो । अब त्यस्तो पर्दैन । अब म मजाले खेल्छु कुद्छु । म धेरै खुसी छु' जन्मदै दुवै आँखामा मोतियाबिन्दु भएका छोराको उपचारपछि पिता अबु अहिले उपचारको शिविर आयोजनाका सहयोगी बनेका छन् । भन्छन् 'म धेरै टाढा आएर, धाएर छोराको ज्योति फर्काउन सफल भएँ, गाउमा धेरै आमा-बाबु म जति भाग्यमानी छैनन् ।' आठ सन्तानमा पछिल्ला तीन जनालाई शारीरिक समस्याहरू छन् । छैटौं नम्बरका अरबाजलाई दृष्टि र अरूका खुट्टा लुला हुने समस्या छन् । भन्छन् 'धेरै सन्तान जन्माइयो, अनि गर्भवतीलाई त्यो बेला चाहिने पोषिला खानेकुराको ध्यान पुगेनछ । अहिले यी कुरा म गाउँलेलाई भन्दैछु ।' अस्पताल आएपछि हरिया सागसब्जी, फलफूलजस्ता पोषिला कुरा गर्भवतीले खान पाएमात्र सन्तान निरोगी जन्मने कुरा बुझेको उनले बताए । 
०००
भारत, कटिहार बनबलुवाकी रूबेदा खातुन (६०) लाई दृष्टिविहीन भएर बस्दा सबैभन्दा पीर लाग्ने कुरा निजी काम हुन् । भन्छिन् 'नदेखेपछि सहारा लिनुपर्छ, सानो कामका लागि पनि सहयोगी नभइ हुन्न । सधै घरका मान्छेले सघाउने भए पो सजिलो ।' उनको आँखाले काम गर्न छाडेको तीन महिना भएको छ । 'आँखा अध्यारो लिएर बाँच्न गाह्रो रहेछ, उनले भनिन् 'काल नआञ्जेल मान्छेलाई सुखसँग बाँच्न मन हुँदोरहेछ ।' आँखा भएर पनि देख्न नसक्नुले निराशाको मात्रा बढाउने र आफैप्रति क्रोध बढाउने अनुभव उनको छ । अबको साता शल्यक्रियापछि उनले पुनः ज्योति पाउनेछिन् । उपचारमा रहेकी रूबेदा भन्छिन् 'मलाई आफ्ना काम आफै गर्नु छ । कसैमाथि बोझ बन्नु छैन । त्यसैले लाग्छ हेर्न पाइरहियोस् ।'
०००
नन्दीकेशर ढकाल (७५) औधी हर्षित भेटिए । इलाम साखेजुङ ६ सुवेदीगाउँका यी बृद्ध फेरि संसार देख्न पाएकोमा खुसी भएका हुन् । विराटनगर आँखा अस्पतालमा गत वर्ष भेटिएका ढकालले भनेथे 'अर्को जुनी पाएजस्तो भएको छ । खै के भन्नु के भन्नु ।' 
नानी प्रत्यारोपण गरेर पुनः दृष्टि पाएका यिनी जन्मजात दृष्टिविहीन थिएनन् । एक दसकअघि चियाको बोटमा लगाउन पानी हाल्दा पडकिएको चुन आँखामा परेको थियो । दुवैका ज्योति गुमे । ज्योति फिराउन एक वर्ष उपचारपछि राजधानीको तीलगंगाबाट एउटाले देख्न सक्ने भए । उमेर र कामले धोका दियो । प्रत्यारोपणपछि एउटामा ज्योति आउछ, एक/दुइ वर्ष काम गर्छ । फेरि अँध्यारै । उनको चौथोपटकको प्रत्यारोपण विराटनगरमा भयो । भन्छन् 'देख्न नपाउनु कस्तो हुन्छ भन्न सकिदैन, अनुभव गर्न सकिन्छ ।' सबै कामका लागि स्पर्श र श्रवण क्षमतामा निर्भर भएर अनुमानका भरमा जीवनयापन निकै कठीन रहने उनको भोगाइ छ । नानी प्रत्यारोपण गरेर चौथोपटक घर गएपछि उनी पुनः अस्पताल आएका छैनन् । 
०००                                                         ०००                                
  • ' अब म मजाले खेल्छु कुद्छु । म धेरै खुसी छु'
  • 'देख्न नपाउनु कस्तो हुन्छ भन्न सकिदैन, अनुभव गर्न सकिन्छ ।'
  • 'नत्र संसारै अँध्यारो थियो । कस्तो सास्ती ।'

***                                   ***                                          
ताप्लेजुङको मेहलेकी धनमाया श्रेष्ठ (६५) अब एउटा आँखाले  भएपनि देख्न सक्ने भएकी छन् । मोरङको डागीहाट, लक्ष्मीमार्ग बस्ने छोरी ताराले उनलाई उपचारका लागि अस्पताल पुर्‍याइन । भन्छिन् 'अब दाहिनेले देख्छु । नत्र संसारै अँध्यारो थियो । कस्तो सास्ती ।' देख्न नपाउदा हिडडुलमा निकै समस्या पर्ने गरेको उनी बताउँछिन् । मोतियाबिन्दुले उनलाई सताएको हो । उमेरसँगै लाग्ने मोतियाबिन्दुको उपचारमा ढिलाइ भएपछि उनको ज्योति गुमेको हो । बेलैमा उपचार पाएको भए उनले सास्ती व्योहोर्नु पर्ने थिएन । 
०००
एमबीबीएस सिध्याएका एक विद्यार्थी आइटी अफिसर भए । काठमाडौंमा विहानै कार्यालय जाँदा सेतो तुवाँलो लागेको देख्थे । लाग्थ्यो 'धेरै गाडी छन् । भ्यालीमा प्रदुषण छ । त्यसैले वातावरण यस्तो भएको होला ।' एकाबिहानै उनले स्वयम्भुबाट देखिने उपत्यकाको दृश्य हेर्ने मुड बनाए । त्यहाँ उभिएर हेर्दा पनि उस्तै तुवाँलोभित्र काठमाडौ । त्यहाँ उभिएर हेरिरहेका अरूसँग अनुभव साटे 'काठमाडौंमा कस्तो तुवालो । वातावरण ब्रि्रेर होला ।' उनको कुरा सुन्नेले जवाफ दियो 'खै म त त्यस्तो देख्तिन । तुवाँलो कता छ खोइ ? सबै खुल्ला छ । क्लियर छ त ।' मनमा चिसो भयो । फिरेर उनी नेत्र चिकित्सकको सम्पर्कमा पुगे । थाहा भयो 'तुवाँलो वातावरणमा होइन, आँखामा रहेछ । टाढाका कुरा ठम्याउन चश्मा दिइएपछि तुवाँलो  देखिएन । 
विराटनगर आँखा अस्पतालका प्रमुख एवं सर्जन डा. संजय सिंह भन्छन् 'धेरैलाई परीक्षण गरेपछिमात्र आँखाको अवस्था थाहा लाग्छ ।' आँखाका सामान्य समस्याहरूमा मान्छेले अरू बाधालाई कारण मानेर हिडिरहेको हुन्छ । 'मलाइ पनि २० वर्षको भएपछि मात्र चश्मा लगाउनुपर्ने भएको थाहा भयो, उनले सुनाए 'सजिलोसँग हेर्न पाइयोस भन्ने रहर सबैको हुन्छ । यसका लागि खानपान र दैनिकीमा समान्य ध्यान दिएपुग्छ ।' 
उनका अनुसार बच्चा जन्मेपछि केही समयमा अभिभावकले नेत्र चिकित्सकलाई उसको आँखाको अवस्था जाँच गराउनु जरूरी छ । नानीहरू बिद्यालय जाने उमेरका भएपछि पनि एकपटक जाँच गराउनु राम्रो हुन्छ । भन्छन् 'आँखाका कतिपय शिकायतको उपचार जति छिटो हुनसक्यो, त्यति छिटो ज्योति गुम्नबाट जोगाउन सकिन्छ ।'समस्या केही वंशाणुबाट सरेर आउने र धेरैजसो दैनिकी, मधुमेह,रक्तचाप, रोगको निदान गर्नु-नगर्नु र उमेरको असरमा भर गर्छ । डा. सिंह भन्छन् 'आँखाभित्रका नशामा चाप समान्यतया १० देखि २० हुन्छ, त्योभन्दा बढि भए जलविन्दु हुने समस्या आउँछ । समय समयमा जाँच गराइराख्नु राम्रो हो ।' हामीकहाँ उपचारपद्धति अत्याधुनिक हुँदै आएको बताएका उनी भन्छन् 'अहिले जाँच गराउन चाहनेका लागि बेलाबखत हुने शिविर, अस्पताल र आखा केन्द्रमा सुविधा छन् । आँखाको हेरचाहमा खेलाँची गरिनुहुँदैन ।' मान्छेका कामको व्यस्तताले शारीरिक व्यायाम कममात्र पर्ने, आँखालाई बढि श्रम पर्ने र खुराकीमा ध्यान कम दिने प्रवृति बढदो भएका शहरीयालाई उनी शैली परिवर्तनको सुझाव दिन्छन् । भन्छन् 'सफा पानीले आँखा राम्ररी पखाल्ने, एकैनासको बसाइलाई फेरबदल गर्ने र खानेकुरामा सागपातको मात्र बढाउनु ठीक हुन्छ ।' 
सामान्यतया ४० वर्ष पुगेका वा नाघेकाहरूले जाँच गराइरहनु राम्रो भएपनि सबै उमेरकाले खानेकुरामा हरिया सागपात, तरकारी, पहेला फलफूल, दुध र माछामासू खानु उत्तम हुने सल्लाह उनी दिन्छन् । भन्छन् 'खानेकुरा र जीवनयापनका शैलीले हाम्रो शरीरका धेरै अंगलाई प्रभाव पारिरहेका हुन्छन् । तिनमा आँखा निकै संवेदनशील छ ।'  

Friday, March 25, 2011

फेरि यात्राका मौसम


धेरै भएछ ब्लग अप्डेट नगरेको। आज हेर्दा पो यस्तो भएछ जस्तो भयो। यतिखेर म भोलि बिहानै फेरि सप्तकोशीको जलयात्रामा जाने तयारीमा छु। खानेकुरा, क्यामेरा, लेन्स, ट्राइपोर्ट र पानी पस्ने डुंगा भए उप्छिदै फाल्न बटुकोजस्तो भाँडोसहित हाम्रो यात्रा हुनेछ। केही घण्टाअघि सुनसरीको प्रकाशपुरमा रबिन दाइसँग फोनमा कुरा पनि भयो। हामी १०/१५ जना काठको लामो डुंगामा हुनेछौं। अहिले म क्यामेराको ब्याट्री र मेमोरी कार्डमा स्पेसको अवस्था हेरिरहेको थिएँ। अचानक ब्लगमा केही लेखौं भन्ने भयो।

०००
यस वर्षका लागि एसएलसी परीक्षा सुरू भएको आज दोस्रो दिन हो। हिजो परीक्षाअगावै प्रश्नपत्र आउट भएपछि प्रहरीले विराटनगर-१७ स्थित स्टार बोर्डिङ केन्द्रबाट त्यहाँका सञ्चालक/अध्यक्ष तथा केन्द्राध्यक्ष डा. उद्धव पोखरेल, सहायकद्धय उनका भाइ प्रिन्सिपल तथा प्राध्यापक डिल्ली पोखरेल र रवि रोका सरलाई पक्राउ गरेको थियो। विराटनगरमा विभिन्न प्रतिष्ठान स्टार नाम दिएर एक दसकदेखि सञ्चालन गर्दै आएका डा. उद्धव र डिल्ली सर चिनिएका नाम हुन्। उनीहरू सफल मानिएका व्यक्ति भएकाले धेरैको चासोको समाचार बने। 

स्टार केन्द्रबाट आउट भएको प्रश्नपत्र भूमिप्रशासन रोडस्थित एक्सेल एकेडेमी भन्ने ट्युसन सेन्टरबाट प्रहरीले बरामद गरको थियो। त्यहाँ पनि घेरा हालेर चीट फोटोकपी गर्दै रहेको अवस्थामा १६ जना समातिए। स्टार स्कुलमा यसपटक प्राइभेटमा एलएलसी दिनेको सेन्टर परेको रहेछ। अनि ती प्राइभेट दिनेलाई सघाउने ट्युसन सेन्टरहरूले प्रश्नपत्र आउट गराएर चीट पुर्‍याउने गरिरहेको भन्ने प्रहरीको शंका हो। हामीले एक्सेलमा प्रहरीको छापामारी हेर्न पाए पनि डा. उद्धवलाई पक्राउ गरेको भेट्न सकिएन। स्कुलमा पुग्दा प्रहरीले उनलाई लगिसकेको रहेछ। जे भेटियो, तिनको फोटो खिचियो। बिहीबारको दिन यसैले धपेडीको रह्यो। 
०००
आज मिल्स स्कुलमा दिवंगत पिताको किरिया बसेका एक जना भाइले परीक्षा दिँदै गरेको तस्वीर खिचियो। तलबसुविधा वृद्धिको माग राखेर आन्दोलित मजदुरका संगठन र उद्योगीबीच राजधानीमा सहमति भयो। मजदुरले १५ सय थप पाउने भए भन्ने समाचार आज उद्योग वाणिज्य महासंघ अध्यक्ष कुशकुमार जोशी र जीफन्ट अध्यक्ष विष्णु रिमालले  हात मिलाएको तस्बिरसहित छापिएको छ। तर, बिहानैदेखि सुनसरी-मोरङ करिडोरका कारखाना बन्द गराइएका छन्।
 
दुहबी पुगेर मधेसी ट्रेड युनियनका एक जना नेतालाई भेटियो। आन्दोलन गर्दा ५ पार्टीका ट्रेड युनियन मिलेर गरे, वार्ता गर्दा मधेसीलाई बोलाइएन रे। अनि गरिएको सहमति पनि अपुरो र सन्तोषजनक नभएको उनले तर्क राखे। जे होस बिहानभर उनीहरूले उद्योग कारखाना डुली-डुली बन्द गराएछन्। मधेसी मजदुरका नेता विपिन कर्णले भने 'माग पुरा नभएसम्म हामी मान्दैनौ। बन्द अनिश्चित हुन्छ।'

०००

विराटनगरको दैनिकी जहिल्यै छोटकरी समाचारका पछि लाग्दा लाग्दै श्रम पर्ने खालको रहन्छ। अनि केही सातासम्म म बाहिर जान नपाए छटपटिन्छु। साताका एक दिन कसैगरि यो उपमहानगर बाहिर गाउँ टेक्नैपर्छ। सबै बहाना समाचारका लागि हुन्छ कि नयाँ खालका तस्बिर खिच्नेगरी। शायद सञ्चारकर्मीको दैनिकी यस्तै हो।

भोलि फेरि यात्राको अवसर जुटेको छ। दुई दिनका लागि। कोशीमा जलविहार मेरा लागि नौलो होइन। बितेका एक दसकमा म कतै धेरै गएको छु भने त्यो कोशीटप्पु हो। जो दसकौंदेखि फेरिएको छैन। र, अहिलेसम्मका अवस्थाले कुनै खास परिवर्तनको संकेत पनि देख्तिन। 

तैपनि यो बहाना मेरा लागि विराटनगरभन्दा बाहिर पुगेर केहीबेर टहलिने कारण हो। म सहरबाट केहीबेर टाढा हुन चाहन्छु। नदिको पानी छोएर डुंगामा बस्न चाहन्छु। तातो घाम, चिसो हावा, अनि क्यामरालाई सटर स्पीड हाइ मोडमा राखेर उडिरहेका चराको छाप मेमोरी कार्डमा लिन चाहन्छु। केहीबेर दैनिकीका तनाव, देशको राजनीति, अनि धपेडी समय बिर्सन चाहन्छु।
 
मैले यसरी हराउन मिल्दैन। मेरो मन यसमा धेरैबेर हराउने भने होइन। लाग्छ, संन्यासीलाई पनि खानैपर्छ। परिश्रम नगरी मुखसम्म हात पनि पुग्दैन। हराउनु जीवन होइन। केहीबेर हराएर यो जीवनको दैनिकीमा संघर्षलाई निरन्तरता दिनु नै सार्थकता हो। फेरि पनि कहिलेकाही लाग्छ - 'सोचो साथ क्या जायेगा।'  
०००
२०३२ सालमा आरक्ष घोषित सुनसरी,सप्तरी र उदयपुरमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष सप्तकोशी नदिकै भंगालो बीच र छेउछाउ छ। यहाँ भैंसीका जंगली पुर्खा र चरा देख्न सकिन्छ। सकिन्थ्यो। चरिचरनमा अतिक्रमण, माछा मार्नेको आवतजावतले दुवै कुरा दुर्लभ हुँदै आएको अवस्था छ। 

अर्ना हेर्न गए भैंसीको हुलभित्र कुन होला भनेर खुटयाउन गाह्रो भएको छ। वर्षैभरि माछा निर्वाध मारिँदा चराले सजिलै खान पाउँदैनन्। बेलाबखतका घटनाले कोशीको धार सरिरहन्छ। फिरन्ते प्रजातिका चरा देखिन घटेका छन्। चोरी सिकार पनि उतिकै छ।
 
संरक्षणका चिन्ता व्यक्त गर्नेमध्ये निकै थोरैमात्र व्यवहारमा गम्भीर भेटिन्छन्। मान्छे बाँचे पुग्छ, अरू जीवका लागि किन कसले चासो राख्ने भन्ने प्रवृत्ति बढेको अवस्था हो। 
०००


मेरो यात्रा यस क्षेत्रका लागि नौलो होइन। तैपनि कुनै समय कुनै चरा वा नौला जीवका तस्बिर भेटिएलान् वा वर्तमान अवस्थाको जानकारी हुन्छ भन्ने रूचिले घुमाइरहन्छ। बर्सेनि घुम्दा फरक अनुभव हुन्छ। अवस्थाले चिन्तित बनाउँछ। अनि कुनैबेला देखिने चराका नौला प्रजाति, बथान र प्राकृतिक विविधताले मन रमाउछ पनि। 

चिन्ता, रोमाञ्च अनि केही गर्नुपर्छ भन्ने सन्देश मैले अखबारमा पस्कने प्रयास गरिआएको हो। जारी पनि छ। पुनः यात्रा निरन्तरताको योजनामा म फिरेको छु। गत पुसमा गोरखा, तनहुँ, लमजुङ, माघमा काठमाडौं, कास्कीका पोखरा, हेमजा, लुम्ले र चितवनको शक्तिखोर घुमेको मेरा यात्रा माघपछि थामिएका थिए। पुसको यात्राको बहाना माओवादीको पालुङटार बैठकको फोटोग्राफीको जिम्मेवारीले दिलाएको थियो। काठमाडौंबाट कास्की र चितवनको यात्रामा म एक्लै थिएँ। फिरेर आएपछि कोसेलीलाई 'चमेरो बिचरो' लेख्न सकियो। 

यात्रा त्यसैका लागि थियो। भलै यी अवधिमा सुनसरी, मोरङ, झापा र इलामका केही गाउँ घुमियो। तर, यी घुमाइ छोटकरी समाचारमा सीमित भए। छोटो समयको यात्रा अनि यस्तो समूह जसले जहिल्यै हतार लगाउँछ। भनेजसरी लेख्ने र खिच्ने सामाग्री बटुल्न सकिदैन। अब म फेरि यात्रा थाल्ने संघारमा छु। तीनजुरे मिल्के गुफापोखरी, इलामको सन्दकपुर, चितवन र कास्कीका लागि। 

एउटा विषयका लागि यात्राले मुलुक बाहिर पनि लैजान सक्छ। तर, यी मेरा योजनामै सीमित छन्।  यसपटकको यात्रामा त्यस्तो केही नयाँ होस, जो पाठक र स्वयं मेरा लागि जायज चिन्तामा काम गर्ने ऊर्जा देओस्।

***
०६७ चैत ११ शुक्रवार/विराटनगर