Monday, October 24, 2011

साहित्य, संगीत र चित्र


'भूगोलका सीमा रेखाहरूले मात्रै मुलुक सिंगो हुने होइन । सिंगो हुनका लागि जनताका विविधतायुक्त मन जोडिनुपर्छ । एक-अर्काका संस्कृतिको प्रवर्द्धन र भावनाको सम्मान गरिनुपर्छ ।' साहित्यमा पनि उत्तिकै दख्खल छवि बनाएका पूर्व मुख्यसचिव डा. विमल कोइरालाले यस्तो भनिरहँदा सभाहल तालीले गुञ्जायमान भयो । 'राष्ट्र बलियो हुन कला, संस्कृति र भाषासाहित्य बलियो हुनुपर्छ । राजनीतिले ल्याएको विभाजनलाई साहित्यले जोड्नुपर्छ,' उनी भन्दै थिए, 'अहिले हामी त्यही अभियानमा छौं ।'

नेपाली कला साहित्य डटकम प्रतिष्ठान र पूर्वाञ्चल साहित्य प्रतिष्ठानले गरेको 'मेरो राष्ट्र मेरो ध्येयः सिर्जना उत्सव' का लागि भेला भएका साहित्य पारखीले एक पटक विराटनगर फेरि सिर्जनामय अनुभव गरे । कार्यक्रमको भिन्न विशेषता के थियो भने साहित्यिक जमघटमा सांगीतिक सिर्जनाको प्रस्तुति र चित्र प्रदर्शनी एकसाथ भइरहेको थियो । साहित्य, संगीत र चित्रकलालाई एकसाथ अघि बढाउने अभियान अन्तर्गत सिर्जना उत्सव गरिएको थियो, सुकर्म ब्यान्डले 'मेरा राष्ट्र मेरो ध्येय' शीर्षकमा हालै कम्पोज क्लासिकल धुनसँगै तीनवटा अरू सेमी क्लासिकल धुनहरू पस्किए । डा. ध्रुवेशचन्द्र रेग्मीको सितार, श्याम नेपालीको सारंगी र प्रमोद उपाध्यायको तबलाबाट निस्केको सांगीतिक सिर्जना विराटनगरबासीका लागि भिन्न स्वाद थियो । 

'अब तिहारलाई पनि जोडौं है,' झन्डै ४५ मिनेटको प्रस्तुतिमा ध्रुवेशले 'देउसी-भैली' धुनका लागि श्याम र प्रमोदलाई आँखाले संकेत गरेपछि कार्यक्रम हलमा झन् खुसीको तरंग फैलियो । यसपछि गुन्जिएको 'देउसी रे...' र 'तिहारै आयो लौ झिलिमिली...'लाई दर्शकले खुलेर साथ दिए । कार्यक्रमको अर्को आकर्षण थियो कवि कृष्णभूषण बल । यस वर्षको योगेश्वर कलासाहित्य पुरस्कार ग्रहणका लागि स्टेज उक्लेका उनले 'नदी किनारको जून' शीर्षकको कविता पनि सुनाए । 

कवि-गीतकार तथा कार्यक्रमका प्रमुख अतिथि दिनेश अधिकारीबाट १५ हजार रुपैयाँ सहितको पुरस्कार थापेपछि बलले नै कविता वाचन शृंखला उद्घाटन गरेका थिए, उनलाई पछ्याउँदै उषा शेरचन, डा. विमल कोइराला, धीरेन्द्र प्रेमर्षि, विमल वैद्य, सुदीप पाखि्रन, ठाकुर बेलबासे, चंकी श्रेष्ठ, राधिका गुरागाईं, मणि लोहनी, नवराज सुब्बा, अरुणा वैद्य, रिता खत्री, कविराज पोखरेल, बद्री पलिखे, गण्डकी पुत्र, मीनकुमार नवोदित, मधु पोखरेल, शुभलक्ष्मी लम्साल, शिवनारायण पण्डित, दीपक शम्चु, पुनम अधिकारी, कोरियाली कवि किम यिङ लगायतले कविता सुनाए ।
  
  पुनम, दीपक र शिवनारायण गत साता विराटनगरमै आयोजित प्रतियोगितात्मक कविता गोष्ठीमा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए, सिर्जना उत्सवकै अवसर पारेर उनीहरूले पनि पुरस्कार थापे । भाषाशास्त्री बालकृष्ण पोखरेलको समेत आतिथ्य रहेको कार्यक्रमको तेस्रो आकर्षण थियो, भित्तामा सजिएका चित्रहरू । 'चरा चित्र' मा स्थापित छवि बनाएका जीवनाथ पोखरेलका चित्रहरू साँच्चिकै लोभलाग्दा थिए । उनले सिमसार क्षेत्रका चरा र दृश्यलाई क्यानभासमा उतारेका थिए, कविता सुनिरहँदा दर्शकहरू बारम्बार उनका चित्रतिर नजर डुलाउँथे । 

वाचित कवितामाथि समालोचक डा. ज्ञानु पाण्डेले र कृष्णभूषणको व्यक्तित्व र कृतित्वमाथि डा. कुमार कोइरालाले बोलेका थिए । आयोजक दुई संस्थाका अध्यक्षहरू मोमिला र विवश पोखरेल चाहिँ व्यवस्थापनको चुस्ततामै केन्द्रित थिए । 

निर्धारित ६ घन्टामै सकिएको कार्यक्रमले 'चित्र, साहित्य र संगीत'लाई एउटै थलोमा उभ्याएर 'राष्ट्र र राष्ट्रियता'को पक्षमा चेतना निर्माण गर्न सघाएको मोमिलाले दाबी गरिन्, विवशले चाहिँ पहिलो पटक भिन्न स्वादको कार्यक्रम आफ्नो थलोमा गर्न पाउँदा खुसी प्रकट गरे ।

(कान्तिपुर/कला र शैली पृष्ठमा ०६८ कात्तिक ०७ सोमबार प्रकाशित )

Saturday, October 22, 2011

मालबाहकका पुच्छर चहारेर



टाटाका ट्रक होस् हजार बीसका लागुन् नयाँ टायर
भारी होस् दस या कि नौ टन मिलोस् बाटो सफा डामर 
साथी हुन् कविजी चलोस् सुकविता शृंगारको सागर 
त्यो आनन्द सरी कहीँ अरू कुनै आनन्द के हुन्छ र ?
 (रमेश खकुरेलको बिदाइ कवितासंग्रहबाट)

'राष्ट्रपति डाक्टर, प्रधानमन्त्री पनि डाक्टर भए, चिन्ता नमान्नु अब राष्ट्रको उपचार चाँडै हुन्छ' को१ख १६६९ नम्बरको ट्रकको पुछारमा यस्तो लेखिएको छ। ट्रकका पछिपछि नजर दौडाउने एक दशकदेखिको सनकलाई जब पुस्तकाकार रूप  दिइयो, उनले नसमेटेको एउटा अंशअंकित तस्बिर भेटियो। त्यही ट्रकको पुछारको।  जसमा त्यसमा यस्तो पनि छ -

जय शिवशंकर भोला
हाम्रो नयाँ संविधान कस्तो होला
संघीय लोकतान्त्रिक गणतन्त्र
कसरी जोगाउने होला ।। 

सबैलाई थाहा छ- मुलुक हाँक्ने मुख्य जिम्मेवारीमा दुई व्यक्ति डाक्टर हुँदैमा देशले सजिलै उपचार पाउने अवस्था छैन। तर, जनताले अपेक्षा राख्न पाउँछन्। राष्ट्रपति र प्रधानमन्त्रीमाथिका अपेक्षाका पंक्ति पनि लेखिए। 'ट्रक साहित्य : संकलित सिर्जनाहरू' पुस्तकका सम्पादक सुविद गुरागाइँ भन्छन्, 'त्यो ट्रक मैले धरानमा देखें, रगंरोगन चलिरहेको थियो। असोज १ देखि अहिले सडकमा कुदिरहेको होला।' उनको संकलन सनकलाई फोटोग्राफीमा नवीन गड्तौलाले सघाएपछि यात्रा पुस्तकसम्म आइपुगेको हो। जोडी जता पुग्छ, ट्रकका पुछारमा लेखेका कुरामा नयाँपन के छ भन्दै खोज्छ। ट्रक, अनि त्यसमा लेखिएका शब्द लहर।

हिमाल छ पहाड छ, विभिन्न ताल छ,
बुद्ध जन्मेको देशमा बुद्धिको अनिकाल छ ।।

दशकअघि ना४ख ६२९० नम्बरको ट्रकका पछाडि लेखिएका यी हरफले संकलनको जिज्ञासा फुरेको सुनाएका गुरागाइँ इटहरीमा रहेर शिक्षण र पत्रकारिता गर्छन्। केही वर्ष राजधानी बसेर पत्रकारिता गरेपछि घर फिरेर केही नयाँ गर्ने सोच राख्ने उनी सामान्य रिपोर्टिङको दिनचर्याभन्दा भिन्न गर्न रुचाउँछन्। पृथक् गर्न खोज्ने बानीले नै उनलाई धेरैपटक एक्लो बनाउँछ।

सामान्य मान्छेका दिनचर्यादेखि माया-प्रीति, विरह, परिवार, समाज, आस्था, मोजमज्जा, ठट्टा, जिम्मेवारी, चिन्ता, दिक्दारी, महँगी, ट्राफिक नियम, सडकका जोखिम, देशप्रेम, राजनीति, पत्रकारिता, पर्यटन, सावधानी र जानकारी। गुरागाइँ भन्छन्, 'मान्छेले देख्ने, भोग्ने, सोच्ने र बेहोर्ने धरै खालका भाव ट्रकमा भेटिन्छन्। जति खोज्दै गयो, त्यति रमाइलो रहेछ।' 

उनले ना३ख ६०२४, बा २ ख ७४६५ र ना २ ख ७२६४ नम्बरका तीनवटा ट्रकमा एउटै सायरी भेट्टाए।

उकाली होस् या ओराली होस्
बीचमा एउटा ससुराली होस्
गोरी होस् या काली होस्
ससुरालीमा एउटा साली होस् ।। 

सामान ढुवानी गर्दै एक ठाउँबाट अर्को गन्तव्यका लागि हिँड्ने सवारी थरीथरीको बाटोमा यात्रा गर्छ। चालक, सहचालक, मिस्त्री र डेन्टिङ-पेन्टिङ गर्नेहरूका मानसिकता एकै खालका हुँदैनन्। उनीहरूका मुकाम र बाटामा रोकिने ठाउँ बसचालक र यात्रुभन्दा फरक छन्। स्टेरिङ, ब्रेक, बाटाका घुम्ती र यात्रारत जीवनका भोगाइ आफैंमा नौला छन्। ट्रक साहित्य तिनै भाषा बोल्छ। गुरागाईको पुस्तकमा ३१५ वटा मुक्तक, कविता, सायरी, मननीय भनाइ र विभिन्न अभिव्यक्ति समेटिएका छन्। 

साथमा सवारीसँग सरोकार राख्ने चालक, पेन्टर र ट्राफिक प्रहरीका भनाइ आफ्नै पाराका छन्। वीरगन्जका पेन्टर सीताराम साहले भनेका छन्, 'म पढेको छैन, सायरी आउँदैन। तपाई जस्तो दिनुहुन्छ, म त्यस्तै लेखिदिन्छु।' उनका भनाइमा सवारीका पछाडि लेख्नेहरू आफैंले आफ्ना भावना लेखेको भन्दैन। गाडी तयार पारेपछि साहुजी चालक र सहचालक खोज्छन्। अर्काको गाडीमा कर्मचारी भएर आएपछि यी दुईले सके थप्लान्, नसके जहाँ गाडीको डेन्टिङ-पेन्टिङ गरिन्छ, सर्जक अमूक हुन्छ। 

२०३० सालदेखि सवारीचालक रामहरि केसी अहिले १५ वर्षअघिबाट आफ्नै ट्रक कुदाउँछन्। उनले भनेका छन्, 'घर छाडेर बाहिर हिँड्दा अरूले भनेजस्तो रमाइलो हुँदैन। यो लाइनमा हिँड्नेहरू सबै ठीक छन् भन्न सकिन्न। कतिको गाडी कुदाउने चाल ठीक हुँदैन, कसैको बोलीवचन मीठो हुँदैन। तर, सबै खराब हुन्छन् भन्ने होइन।' 

कवि कृष्णभूषण वलका विचारमा ट्रकमा भेटिने शब्दजाल साहित्यमा नयाँ स्वाद हुन्। भन्छन्, 'कसले लेख्छ भन्ने थाहा हुँदैन। तर, धेरैमा मन छुने सामयिकताका लेखाइ भेटिन्छन्।' कलाकार विक्रम श्रीका भनाइमा ट्रकमा मुक्तक र सायरी मात्र होइन कलाको पुरातन इतिहास नै भेटिन्छ। यसका उपयोग गरिने रंग र चित्रले विभिन्न समय र भावलाई बोल्छ। 

कवि मनु मञ्जिल भन्छन्, 'ट्रक साहित्यमा समेटिएका भावहरूमा जीवनका विविधता छन्।' उनको भनाइमा कतै महाकवि लक्ष्मीप्रसाद देवकोटा त कतै भूपी शेरचनका शब्द पनि पैंचो लिइएका भेटिन्छन्। चिन्नेहरूले फलानोका कविता अंश भनिदेलान् तर, धेरै मालबाहकका पछिल्तिर ना४ख २५८२ र ना४ख ४८३६ मा लेखिएजस्तो सुर भेटिन्छ।
 
बिन्दास गाडी बिन्दास टुर
लभ्ली ड्राइभर आफ्नै सुर ।।
***
(२०६८ कात्तिक ५ शनिवार/कान्तिपुर कोसेली पृष्ठ घ)

Sunday, October 9, 2011

प्रयोगपरक गेडी


एउटा प्रयोगमाथि रूचि राख्नेहरूले इन्टरनेटको समाजिक सञ्जाल फेसबुकमा भेटघाट नियमित बनाए। एक-अर्काको 'स्टाटस' मा प्रतिक्रिया लेख्दै। आपसमा लेखाइ कसरी सुधार्ने र साहित्य सिर्जनाका विधाहरूमा दख्खल कसरी बनाउनेमा ध्यान केन्द्रित गरे। रहरलाई पुस्तकाकार रूप कसले दिने भन्नेमा विराटनगर रहेर कलम चलाउँदै गरेका टेकेन्द्र अधिकारी अघि सरे।

नटेरेकै चाम्रो भो, नभेटेकै राम्रो भो
दुनियाँले नबुझ्ने, मायाप्रीति हाम्रो भो
खोलीले,
फुट्यो बाँध, रूखो बोलीले ।।

'यो एकदमै नयाँ विधा भएकाले पहिलो काम आफैं थाल्ने रहर लाग्यो,' उनले भने, 'विधाका नाम सुन्नेहरू पहिले अचम्म मान्छन् अनि अलिपछि त्यसको गहिराइ नापजोख गर्छन्।' यो नौलो विधा रह्यो, गेडी। 'हुँदैन यसरी। तीन अक्षरको भए राम्रो होला। बरु गेडीका भन्नुस्,' प्राडा टंक न्यौपानेले सल्लाह दिए। अधिकारी मानेनन्। तर्क अघि सारे, नेपाली भाषामा मौलिक नयाँ विधा हो, नाम गेडी नै भएको ठीक। फेसबुके समूहमा चर्चा निरन्तर चल्यो। रोजगारी र अध्ययन सिलसिलामा विभिन्न देशमा रहेकाको जमातले अधिकारीलाई यसरी हौसला दियो, उनले डेढ महिनामै सयवटा गेडी तयार पारे। रोजगारीका लागि विदेश हान्निएकाहरूलाई गेडीमा यसरी उतारे।

किसानको छोरो म, विदेशमा बस्या छु
पराईको भूमिमा, काममा घुँडा धस्या'छु
रहरै,
बाध्यताले पार्‍यो ठहरै ।।

यी युवा सर्जकलाई हौस्याउनेमध्येकी संखुवासभाको शीतलपाटी-६ की मनु लोहोरुङ केही वर्षदेखि इजरायलमा छिन्। उनले गेडीलाई अर्थ्याइन् - 'सानो आकारको दाना अथवा फलहरूको बिउ। संवाद र नेपाली साहित्यको सानो तर महत्त्वपूर्ण। यसको संरचना र भावतत्वले नामको पूर्णता दिन्छ।' उनका भनाइमा गेडीका विशेषता यसको संरचनात्मक पक्ष हो। टेकेन्द्र गेडीमा बारम्बार म्याद थपिए पनि नबनेको संविधानको अवस्था लेख्छन्।

गोरु पनि ब्याएन, खुसी पनि ल्याएन
शान्ति कता हरायो, त्यसले टुंगो पाएन
तीरैमा,
संविधान, पर्‍यो भीरैमा ।।


थाइल्यान्डको बैंककमा रहेका खगेन्द्र पन्धाक लिम्बूले गेडी परिकल्पना गरे। गएको वैशाख ९ गते फेसबुकमार्फत उनले गेडी विधा परिकल्पना सार्वजनिक गरे। उनीसँग समाजिक सञ्जालमा जोडिएकाहरूले आ-आफ्नै पारामा अर्थ लगाए। लेख्न थाले। साइट, ब्लग र पत्रिकामा प्रकाशनको प्रयास थालियो। कतिले यसलाई नक्कल पनि भनिदिए। उनका शब्दमा कुनै ठेट लोकगीतको नक्कल होइन। तर, यसको संरचनाले झल्को दिन्छ। किनभने नेपाली मौलिकता र नश्ल यसको पृष्ठभूमि हो। 

पन्धाकका भनाइमा यो संरचनाको हिसाबले चतुस्र्पदीय आन्तरिक, मध्यानुप्रासीय तथा अन्त्यानुप्रासीय गेयात्मक लेखन विधा हो । प्रथम र दोस्रो पदको अन्त्यानुप्रास तथा तेस्रो र चौथो पदको अन्त्यानुप्रास मिल्नुपर्छ। उनका आफ्नै सूत्र र तिनका हिसाब छन्। प्रथम पद उठान, दोस्रो कथन, तेस्रो थेगो र चौथो बिट। संग्रहको जमर्कोलाई साकार बनाएर टेकेन्द्रले 'सय पाइला गेडीका' मा प्रेम, विरह, गाउँघर, जागिरे जीवन राम्रैसँग उतारेका छन्। दिक्कलाग्दो राजनीति र भ्रष्टाचारलाई पनि उनले तीखो व्यंग्य कसेका छन्।
 
देश पछि पर्दै छ, कुमतिले साँचो हो 
तल-तल झर्दै छ, सुमतिको खाँचो भो
गरौँ न,
मिलीजुली, भुँडी भरौँ न ।।

नेपाली विषयको प्राध्यापनमा अढाई दशक बिताइसकेका कृष्ण वस्ती भन्छन्, 'टेकेन्द्रका गेडी अनौठा छन्।' वस्तीका शब्दमा 'गेडीको धर्म र मर्ममा कविताका किरणहरू सबैजसो अभिव्यक्तिमा पाइनु प्रशंसायोग्य छ।' उनलाई मन परेको गेडी यस्तो छ - 

डाँडामाथि द्यौराली, हावा चल्यो सिरिरी
मायालुले बोलाको, बजाउँदै पिपिरी
पीपल,
माया भेटे, मनै शीतल ।।

हङकङ बस्ने विष्णुनन्द चाम्लिङ भन्छन्, 'म साहित्यकार होइन, न म गीतको विशेषज्ञ। तर, गेडीलाई लघु गीत भन्न मन लाग्छ।' ४३ वर्षअघि हिमाली साहित्यमार्फत् दिउल काव्यको प्रस्ताव गरेको सम्झेका भाषाशास्त्री बालकृष्ण पोखरेल गेडी पुस्ततकाकार स्वरूपमा देख्न पाएकोमा हर्षित छन्। पहिलो कृतिमै प्रयोगपरक लेखन समेटेका अधिकारी भन्छन्, 'यो फेसबुकमा सिर्जनशीलहरूलाई साथी बनाउन सकेको परिणाम हो। उनीहरू हौस्याइरहे। म लेखिरहेँ।' 

सयवटा उनका लेखोट पुस्तकमा नेपाली युनिकोड फन्टमा छापिएका छन्। किन ? 'युनिकोड तिनै फेसबुक साथीहरूलाई ध्यानमा राखेर हो। संग्रह डिजिटल फाइल पठाउँदा उनीहरूलाई पढ्न सजिलो होस् भनेर हो।'

***
(०६८ भदौ ३१ को कान्तिपुर कोसेलीमा प्रकाशित)