Monday, March 30, 2015

पोखराको यौन पर्यटन


  • सात कक्षामा पढाइ राम्रै थियो। गीत गाउनमा सिपालु पनि थिइन। बाबुका तीन श्रीमतीमध्ये  माहिलीकी छोरी। घरमा कचमच पर्‍यो। सुदूरपश्चिमको एउटा जिल्लाबाट भागेर घर छाडेपछि उनी नजिक एउटा शहरमा आफन्तकहाँ केही महिना बसिन्। त्यहाँबाट पढाइको साटो काम गरिखाने रहरले काठमाडौं पुर्‍यायो। रेस्टुराँको जागिरबाट संगतले यौनकर्मी बनायो। केही वर्षपछि पोखरा आइन्। यहाँ पनि केही वर्ष बिते। दिनहुँ आफ्नै शरीरको व्यापारले वाक्क बनायो। सही बाटो बताउने भेटिएपछि उनले घर फिर्ने निधो गरिन्। गइन पनि। तर, बस्न मन अडिएन। नौ महिनापछि फेरि पोखरा आएर उनी धन्दामा छिन्।
  • तनहुँको खैरेनीटारबाट साथीहरूसँग पोखरा आइपुगेकी विपन्न परिवारकी एउटी छोरीले होटलमा काम थालिन्। वेटर भनेर राखिएको थियो। सञ्चालकले ग्राहक पनि रिझाउन दबाब दिए। गर्दागर्दै उनी यौनकर्मी भइन्। केही वर्षपछि उनलाई दौतरी शिक्षकले भेटे। सुरक्षित यौनव्यवहारबारे बताए। दिनदिनै धेरैसँगको यौन व्यवहारले वाक्क उनले विस्तारै त्यो बाटोबाट आफ्नो सक्रियता घटाइन। अहिले पेसा परिवर्तन गरेर अरू नै काम गर्छिन्।
पर्यटकीय शहर फेवाताल र माछापुच्छ्रे हिमालका दृश्यले जति सुन्दर र उज्यालो छ, उति नै यहाँ यौनव्यापारको अँध्यारो जीवन बाँच्नेहरू पनि छन्। माथिका यौनव्यापारसँग जोडिएमध्येका दुई जनाको भोगाइका सारांश हुन्। आफ्नै योजनामा तालको शहर घुम्न आउनेहरूले झट्ट खोज्दा दृश्यमा तुरन्तै भेट्न गाह्रो पर्ने यी अँध्यारोका पेसाकर्मी यहाँ अनुमानभन्दा धेरै छन्। 

'छोरीजस्तो उमेरकी केटी वन्ली वन थाउजेन्ट रूपीज भनेर अगाडि आउँछे। म पहिले त झस‌ंग भएँ,' उनले भने, 'बाटो छेक्न खोज्दै बारम्बार त्यही कुरो भनेपछि एकपटक हकारेँ। अनि म काम दिन्छु, आउ काम गरेर खाउ भनेको उल्टै गाली गरेर गइन।' यहाँको लेकसाइडका पर्यटन व्यवसायी हरि पहारीले एक साँझ फेवा किनारमा डुल्दाको घटना यसरी सुनाएका हुन्। उनले भने, 'त्यस्तो पेसामा लागेर छिनमै आम्दानी गर्न थालेकोलाई मेहनतको काम किन पो गर्न मन लाग्दो होला !'

यहाँ जहाँ धेरै पर्यटक रिझाउन धेरैथरि होटल-रेष्टुराँ छन्, उति नै व्यवसायका तरिकाहरू पनि धेरै प्रकारका छन्। विभिन्न मुलुकबाट यहाँ आइपुग्ने पर्यटकलाई खान बस्नमात्रै होइन, प्याराग्लाइडिङ र अल्ट्राइटमा उड्न दिने उडाउनेदेखि लामो-छोटो दुरीका पदमार्गको यात्रा गराउने, पर्वतारोहणका लागि बाटो देखाउने काम गर्ने लेकसाइडमा धेरै छन्। यहीँ अर्को अदृश्य पेसा वेश्यावृत्तिको हो। 

गत फागुनको अन्तिम साता यहाँको वडा प्रहरी कार्यालय बगरले तीन दर्जन यस्ता पेसेवरलाई पक्राउ गरेको थियो। पक्राउको तेस्रोपटक २८ हजार धरौटीमा छुटेकी महिलाले भनिन् 'बाध्यताको पेसा हो। रहरले कसले गर्छ ?' बाबुले सौता हालेपछि कान्छीआमाको प्रताडना, त्यसपछि एक युवकसँगको सम्बन्धले पोखरा आइपुगेको बताएकी उनले यस्तो पेसामा रहेका धेरैजना बाध्यताले आएको उनले बताइन।

यौनकर्मीलाई एचआइभीको जोखिमबारे सचेत गराउँदै वैकल्पिक पेसामा जान सल्लाह दिने संस्था 'नयाँ गोरेटो' की अध्यक्ष लक्ष्मी रानाभाट भन्छिन्, 'यिनीहरूमाथि जति जति कडाइ हुन्छ, उति नै जोखिम समाजका लागि बढ्छ।' खास-खास ठाउँमा बढी भेटिने सूचना पाएर प्रहरीले कडाइ गर्दा जथाभावी फैलिएर बसाइ सर्दै देहव्यापार गर्नेहरूबाट समाजलाई यौनरोगको जोखिम हुने उनले बताइन।
 
प्रहरीमा जब जब उच्चअधिकारी फेरिन्छन्, यहाँको बागलुङ बसपार्कसँगै आधा दर्जन ठाउँमा धरपकड सुरू हुन्छ। यसपटक पनि गत फागुनमा जिल्लाका प्रहरी उपरीक्षक फेरिए। क्षेत्रमा प्रहरी नायव महानिरीक्षक अर्का आएर  महिनाभर निगरानी र छापा मार्ने अभियानलाई तीव्रता दिएका प्रहरीका युनिटहरूले ५० जनाको हाराहारी महिलालाई नियन्त्रणमा लिए। केही भोलिपल्टै छुटे। केही पक्राउको एक सातापछि जिल्ला प्रशासनमा धरौटी बुझाएर छुटे। 

मुद्दाको प्रक्रिया जारी रहेकाले आधा दर्जन अझै हिरासतमा छन्। यहाँको लेकसाइडस्थित वडा प्रहरी बैदामका इञ्चार्ज नमराज भट्टराई भन्छन् 'पेसेवर हेर्दै चिनिन्छन्। धेरै पटके छन्। पक्राउ गरेर ल्यायो, जरिवाना तिर्छन् छुट्छन्। फेरि उनै समातिन्छन्।' उनका अनुसार पटक-पटक पक्राउ परिरहनेहरूमा अधिकांश विपन्न परिवारका महिला हुन्छन्।

'बुबाले कान्छीआमा ल्याएपछि खप्न नसकेर हिडेका, केटाले पोखरा ल्याएर अलपत्र पारेका र कुनै न कुनै कारणले घर बिग्रेकाहरू नै धेरै पर्छन्,' उनले भने, 'सोखले यो पेसामा लागेकाहरू नभएका होइनन्, उनीहरू निकै थोरै समातिन्छन्।' पटक-पटकका पक्राउमा देहव्यापार गर्नेभन्दा गराउनेलाई कार्वाही गर्नुपर्ने भएकाले यौनव्यापार निरुत्साहित हुन चुनौती रहेको उनले बताए।
 
रेडक्रस र जागृति महासंघमार्फत प्राप्त कार्यक्रम चलाइरहेको नयाँ गोरेटोमा ३० जना दौतरी शिक्षक छन्, जसले यौनकर्मीको खोजी गरि उनीहरूलाई सुरक्षित व्यवहार सिकाउने काम गरिरहेका छन्। शिक्षकको काम पनि गर्दै रहेकी संस्था उपाध्यक्ष श्रीमाया गुरूङ भन्छिन्, 'यौनकर्मीका समस्या यति अप्ठ्यारो छ कि बाहिरबाट देखिँदैन, भित्र बुझेर यो बाटो छुटाइदिन कसैले काम गर्दैन।' लामो समयदेखि सुरक्षित यौनव्यवहारमा रहन परामर्श दिने गरेपछि कण्डम र सल्लाह लिन आउने भएपनि पेसाकर्मी माथिको धरपकडले असुरक्षा समाजमा नजानिँदो पाराले फिँजिएको उनले बताइन। 

हाल यो संस्थाको सम्पर्कमा रहेकाहरू तीन सयजना हाराहारी संख्यामा छन्। 'धेरै डुलुवा छन्, एक ठाउँबाट अर्को ठाउँ जान्छन्, खोज्दा भेटिँदैनन्,' उनले भनिन्, 'कतिपय यही शहरको विभिन्न भागमा छन्।' बागलुङ बसपार्क लगायतका केही क्षेत्रमा प्रहरीको निरन्तरको निगरानी र धरपकडबाट उनीहरू बस्ने र भेटिने ठाउँहरू परिवर्तन भएको उनले बताइन। 'धेरै दिदीबैनी यो पेसा छाड्न चाहेको भेटिन्छन् तर, समाजमा गतिलो काम गरेर खान सजिलो नभएर फेरि यही बाटो आएको सुनाउँछन्,' उनले भनिन्, 'हामीले पनि भेट्न, चिन्न र उनीहरूको विश्वास जितेर परामर्श दिन सजिलो छैन।'

केही स्थानमा पटकको तीन सय लिएर आधा पैसा होटल र आधा पैसा आफूले पाउने यौनकर्मी त्यही होटलमा खानेबस्ने गर्दा दासको जीवन बिताउन बाध्य भएको पाइएको उनले बताइन। नयाँ गोरेटोकी अध्यक्ष रानाभाटले भनिन्, 'त्यस्तालाई पक्राउ गरेर लगेको छ। भेट्न, कुरा गर्न जाँदा हामीलाई समेत प्रहरीको व्यवहार राम्रो हुन्न। मनपरि भन्छन्। त्यही पेसाकर्मी हुन् भनेर अपशब्द बोल्छन्।' यौनकर्मी भएको आशंकामा पक्राउ गरिएकाहरूविरूद्ध प्रहरीले सार्वजनिक अपराधका मुद्दा चलाउने गरेको छ। केहीलाई त्यस्तो पेसामा लाग्न बाध्य पार्ने होटल, रेस्टुरा सञ्चालकविरुद्ध बयान दिन लगाइ मानवबेचबिखन मुद्दा पनि चलाउने गरिएको छ। तर, पक्राउ परेकाहरूले भोलि उही सञ्चालकसँग मिलेर पेसालाई निरन्तरता दिने चाहना राख्दा बयान दिन मान्दैनन्।
 
प्रहरीमा गरिएका प्रारम्भिक बयान न्यायिक निकाय पुग्दा फेरिएका छन्। प्रहरी निरीक्षक भट्टराईले भने, 'त्यस्तो पेसामा लाउनेविरुद्ध बयान दिए पो कार्वाही चलाउन सक्नु ! प्रहरीले बल गरेर समाजको सहयोग नभए कसरी काम गर्ने ?' कास्की जिल्ला प्रशासनमा गत वर्ष सार्वजनिक अपराधका १ हजार ६ सय ८५ मुद्दा थिए भने चालु वर्ष साउनदेखि माघसम्ममा ५२४ मुद्दा छन्। 

मुद्दा शाखाका नायब सुब्बा केदारनाथ लामिछानेले भने, 'महिला पक्राउ परेर ल्याइएका मुद्दाको संख्या अधिक छन्। तर, अपराध पुष्टि नभइ यस्तो उस्तो पेसाका भन्न पाइँदैन।' यौनकर्मी भएको शंकामा ल्याएर सार्वजनिक अपराधमा मुद्दा चलाइएकालाई कम्तीमा ४/५ हजार र बढीमा २८ हजारसम्म धरौटी लिइ तारेखमा छाड्ने गरिएको उनले बताए। 

प्रत्येक पटक कास्कीका प्रहरी प्रमुखको परिवर्तनलगतै यौनकर्मीमाथि धरपकडका घटना भएका छन्। केही स्थानमा गरेको धरपकडको विरोधमा स्थानीयले प्रहरी कार्यालयमै आएर आक्रोश पोखेका घटना पनि छन्। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको केहीअघिको र्सर्वेक्षणअनुसार यहाँ यौनकर्मीको पेसामा रहेकामध्ये ८० प्रतिशत बाहिरबाट आएकाहरू छन्।

सामुदायिक सहयोग समूहमा रहेर लामो समयदेखि कास्कीका लागूऔषध प्रयोगकर्ताका लागि काम गर्दै आएका दिलीप गुरूङका अनुसार यौनकर्मी महिलाहरूबाट एचआइभीको जोखिम उच्च तहमा छ। 'यो नापेर यति नै भनेर भन्न सकिंदैन तर, जो ड्रग्स लिन्छन्, उनीहरू डोजका लागि जे गर्न पनि तयार हुन्छन्,' उनले भने, 'उनीहरू आफैं पनि असुरक्षित छन्।' तीन सय हाराहारी महिला लागूऔषध प्रयोगकर्तामध्ये ५५ प्रतिशत यौनकार्यमा संलग्न रहेको पाइएको उनले बताए। लागूऔषधको तलतल मेट्न जोसुकै गर्न तयार हुनेदेखि लगातार आफ्नो ज्यानसँग अरूलाई खेल्न दिनेले दुखाइ-पीडा बिर्सन दुर्व्यसनमा परेको अवस्था पनि रहेको उनले बताए।
 
लागूऔषध प्रयोगकर्ता केटा साथीको संगतले सिकेर लत लागेपछि महिलाको बाटो यौनकर्मी हुनुको दिशातर्फअघि बढ्ने उनले बताए। 'यो आफैंमा जटिल छ। केही यो पेसामा सुरक्षित तरिका अपनाउन सचेत छन्। धेरै तलतलका अगाडि आजित भएर जे गर्न पनि तयार छन्,' उनले भने, 'यो सेक्टरमा पक्रने, यातना दिनेभन्दा पनि फँसेकालाई निकाल्ने र विकल्प दिने, नयाँलाई पस्न नदिने काम आवश्यक छ।'

यौनकर्मीका पोखरेली ग्राहक सवारीचालक, सहयोगीदेखि विभिन्न पेसाका छन्। यिनमा अलि बढी राम्रो पैसा दिनेमा पर्यटक पर्छन्। गत वर्ष यहाँकी सामाजिक कार्यकर्ता कमला रिमालले 'यौनव्यवसायीका अवस्था र मनोविज्ञान' बारे लामो शोध गरेकी थिइन। स्नातकोत्तरको त्यो शोधका क्रममा भेटिएकाहरूले पेसा छाड्न चाहे पनि नसकेको, रुग्ण आर्थिक अवस्था र समाजको कारण उनलाई बताएका थिए। 

उपमहानगरका यौनकर्मीमा ५२.४ प्रतिशत १५ देखि २४ वर्षका, यिनमा ३६.४ प्रतिशत दलित, ३६ प्रतिशत गुरूङ समुदायका र ६५ प्रतिशत विद्यालय शिक्षा नै पुरा नगरेकाहरू भेटिएको शोधमा उल्लेख छ। यो पेसामा रहेमध्येका ६७ प्रतिशत अविवाहित छन्। बेरोजगारी, विपन्नता, यौन तथा प्रजनन शिक्षाको कमी, जीवनशैली र घरायसी समस्यालगायतले यो पेसामा आएको पाइएको रिमालले उल्लेख गरेकी छन्। 

पर्यटकको आवागमन भइरहने भएकाले यहाँको यौन व्यापार जतिसुकै कडाइका बाबजुद पनि पुरै हराउने अवस्था छैन। तर, सुरक्षित क्षेत्र तोकेर यस्ता पेसाकर्मीलाई काम गर्न दिइनुपर्छ भन्ने आवाज उठाउन पर्यटन व्यवसायी मान्दैनन्। 

पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष भरतरात पराजुलीले भने, 'हामी कुनै हालतमा त्यस्तो व्यापारको पक्षमा छैनौँ। होटलमा त्यस्ता पेसाका मान्छे आएको थाहा भए हामी नै प्रहरीलाई भनिदिन्छौं।' प्रहरीले गरेको कडाइमा आफूहरू सकारात्मक रहे पनि रातविरात छापाका नाममा परिचय दिएर दम्पती बसेका ठाउँमा प्रहरीले केरकार गरि दुःख दिन नहुने उनले बताए। 

पोखराको लेकसाइडमा मात्रै विभिन्नस्तरका करिब चार सय होटल-रेस्टुरेन्टहरू छन्। यिनमा काम गर्नेहरू ७० प्रतिशतमा महिला संख्या अधिक छ। केहीले यौनजन्य व्यवहारमा आफ्ना कर्मचारीको संलग्नता हुन नदिन निगरानी गर्ने र कामबाटै निकाल्ने पनि गरेका छन्। तर, केहीले ग्राहक रिझाउन उनीहरूको दुर्व्यवहारको जवाफ मौन भएर बस्न आदेश दिने गरेका छन्। 

समाज र कानूनले बन्देज लगाएको हुनाले यौन पर्यटन पोखरेली व्यवसायीको प्राथमिकतामा नरहेको दाबी अध्यक्ष पराजुलीले गरे। 'हामीलाई कसैले त्यसरी होटल रेष्टुराँ चलाएको थाहा भयो भने पनि निको मान्दैनौँ। कार्वाही गर्न प्रहरीलाई सघाउँछौं,' उनले भने।

यहाँका अबेरसम्म चल्ने दोहोरी रेष्टुरा, डिस्को र बारमा भेटिने यौनकर्मी अहिले धेरैले डेरा लिएर बस्न थालेको र सम्पर्कमार्फत ग्राहकलाई आफ्नै डेरामा बोलाउने क्रम बढेको छ। होटल र सडकमा राती हुने प्रहरीको चेकजाँचको कडाइले उनीहरूको बानी फेरिएको हो। 

कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले भने, 'समाजलाई अपराधमुक्त बनाउन हामीले यौन अपराधलाई निस्तेज पार्नैपर्छ। यो कडाइको अभियान नौलो होइन र, म आएर कडा भएको भन्ने पनि होइन।' प्रहरीको नियमित काम गराइमा पर्ने भएका यौन अपराध र गुण्डागर्दी नियन्त्रणलाई प्रमुखता दिएको उनले बताए। 

***
यौनकर्मीका २१ कुरा
शोधकर्ता कमला रिमालले यौनकर्मीसँग कुरा गर्दा उनीहरूले आफ्नो पेसा, मान्छेका व्यवहार र समाजबारे धेरै खुलेर बताएका छन्। पेसामा छोटो समय रहेर छिटै कमाइ बाटो फेर्न चाहनेहरू पनि सक्रिय छन्।सोधाइका दौरान उनीहरूले जे भने त्यसलाई बुँदामा टिप्दा यस्ता छन् -
  •  यौनकर्मीको पेसा आवश्यकताभन्दा आर्थिक बाध्यताको उपज हो ।
  •  भारतीय पर्यटक, अन्य विदेशी, घुम्न आउने पोखरा बाहिरका मान्छे, डेरा बस्ने मजदुर, ड्राइभर, प्रहरी र स्थानीय बुढाहरु ग्राहकका रूपमा आउँछन् । 
  •  अपशब्द बोल्ने, पिट्ने, जबर्जस्ती रक्सी पिउन लगाउने र टोकेर शरीरभरि डाम बसालीदिन्छन् ।
  • बुढाहरू आउँदा खुसी लाग्छ । पैसा थपेर दिन्छन्, माया पनि गर्छन् ।
  • प्रहरीले समाए झैँ गर्ने हो । साहुसँग पैसामा कुरा नमिलेपछि र नयाँ हाकिम आएपछि चिनाजानी गर्न हो भन्दा पनि हुन्छ ।
  • हामीले कसैलाई निमन्त्रणा कार्ड दिएर बोलाउने होइन क्यारे । यहाँ आउँदा पिसाबै खान तयार हुन्छन् । बाहिर सभ्यता देखाउँदै रण्डी भन्दै हिड्छन् सालाहरु ।
  • मानसम्मानपूर्वक जीवन जिउने इच्छा कसलाई हुँदैन र ! बिहे गर्ने केटाहरु दाइजो खोज्छन् । धनी भए पुग्छ अरू केही हेर्दैनन् । 
  • अरू राम्रो काम, जीवन धान्ने पैसा कमाइ हुने हो भने एक सेकेण्ड पनि यो नरकमा बस्ने इच्छा छैन ।
  • हामी पनि त मान्छे नै हौँ। घरजम गरेर परिवारसँग बस्ने इच्छा छ । हामीलाई जसरी अरू मानिसहरुले विशेष महिलाहरुले गाली बेइज्जती गर्छन्, हामी उनीहरूजस्ता नैतिक हराम छैनौँ। यदि हामीले हामीसँग सुत्न आउनेहरुको पोलपट्टी खोलिदिने हो भने एकै दिनमा हजारौंको घरवार चौपट हुन्छ । तर, त्यस्तो अपराध गर्नु छैन ।
  • धन हुनेसँग थोरै बार्गेनिङ गरेर के हुन्छ र ! नयाँ नयाँ बहिनीहरुले हो एक दुई पटकमै सिक्री, घडी, पैसा लुटेर भाग्ने । किनकी यो पेसा गर्न उनीहरु चाहदैनन् । लुटेको धनले अन्त कतै गइ केही न केही व्यवसाय गरेका छन् । 
  • एक खालका युवा जमात हामीकहाँ आउदैनन् । जस्तै तपाई जस्तै आए त पैसा पनि लिन्थिन् सायद राम्रा राम्रा गर्लफ्रेण्डहरू भएर होलानी है ।
  • घरगाउँमा बाउआमा, दाजुभाइलाई हामीले के काम  गरेका छौँ केही पनि थाहा छैन । सधैं झुट बोल्नुपर्छ । दिक्क लाग्छ । 
  • भोलि आफ्ना छोरीहरु भए भने यो पेसामा लागेको थाहा पाए खुट्टै भाँचिन्छ । जानीजानी यो नरकको यात्रामा कहाँ जान दिइन्छ र !
  • काल नआइ मरिँदो रहेनछ । बाहिरबाट हेर्दा धेरैसँग सुत्दा मजा आउँछ जस्तो लाग्ने । मलाई त एउटैसँग मात्रै मजा आउछ जस्तो लाग्छ ।
  • कोही कोहीले त फिट्टु भएपछि स्वास्नीको कुरा गर्दै जान्छन् र उल्टै हामीलाई पिट्न थाल्छन्।
  • साला पुरुषहरु बिस्तारामा बसुन्जेल 'रानी हौं' भन्छन् । ढोका बाहिर निस्केपछि 'पागल भालु 'भन्दै हिड्छन् थुक्क कुकुरहरु !
  • सुरु सुरुमा त गाली सुन्नै सकिँदैनथ्यो । समय भयो कि रुँदै बसियो । अहिले त बानी परिसक्यो ।
  • हामीलाई दुनियाँको बाल मतलब ! हामीलाई गाली गर्ने आइमाईहरुले आफ्नो पोइलाई घरमै सन्तुष्ट पारेर राखे हुन्छ ।
  • यहाँमात्र होइन बाहिर ठूला ठूला होटलमा पनि बोलाउँछन्। प्राय सबै विवाहित पुरुष ४०/४५ नाघेका हुन्छन्। नेपाली र विदेशी, अनि टीभीमा देखिने ठूलै मान्छेहरू त होलान् नि। थप पैसा दिँदै कसैलाई नभन्नु है भन्छन्।
  • रक्सी त पानी पिए जस्तो हो। अरू लागूपदार्थ पनि खाइन्छ। नत्र कसरी एकै दिनमा १०/१५ जनासँग कसरी सुत्न सकिन्छ ? कतिपटक त को आयो, को गयो पत्तैसमेत हुँदैन 
  • भविष्यको चिन्ता कति गर्ने ? के हुन्छ र चिन्ता गरेर। जे पर्छ त्यही टर्छ।
***
('उज्यालो शहरमा अँध्यारोको व्यापार' शीर्षकमा कान्तिपुर दैनिकमा २०७१/१२/११ मा प्रकाशित भीम घिमिरे र शिव शर्माको रिपोर्ट) पत्रिकामा प्रकाशित समाचारको लिंक नभेटेकाले यो छाप्नअघि पठाउँदाको असम्पादित नै ब्लगमा छ। 

Saturday, March 14, 2015

अनि बाटो मोडियो


गत सोमबार एउटा औपचारिक कार्यक्रमको निम्तो अलि पृथक थियो। मलाई सहकर्मी शिव शर्माले देखाए -'एउटा डाकु साधुको जीवन बाँचिरहेको छ। उसैको पत्रकार सम्मेलन।' म अहिले पोखरामा छु। 

जिज्ञासा स्वाभाविक थियो। ब्रम्हकुमारी राजयोग सेवा केन्द्र गइयो। करिब एक घण्टा उनका कुरा सुनियो। सवालजवाफ गरियो। केही स्न्याप फोटा खिचियो। मैले अरू सहकर्मीका समाचारहरू सम्पादन गर्नुपर्ने थियो। त्यसैले ती पूर्वडाकुको समाचार शिवजीले लेखे। करिब तीन सय शब्दको। साथमा उनले भने - 'यो मान्छेको बारेको समाचार हाम्रो पत्रिकामा शायद कपिलवस्तुबाट हुनुपर्छ, छापियो।'  मैले त्यो समाचार हेरेको रहेनछु। धेरै विचार गरिएन। समाचार पनि औपचारिक पाराको सानो आकारको प्रकाशित भएको रहेछ।
 
साँझ हामी केन्द्रलाई समाचार इमेल गर्न केही ढिला भइरहेका थियौं। शिवजीले लेखेको समाचार सामान्य सम्पादनपछि केन्द्रमा पठाइयो। भोलिपल्ट बिहानै अखबार हेरियो, छापिएनछ। लाग्यो- यी मान्छे एउटा सामान्य समाचारमा मात्रै अँटाउने पात्र होइन। केही लेख्न पर्छ, विस्तृत नै लेख्नपर्छ। 

मैले हिजोका आफूले गरेका नोट डायरीमा हेरेँ। एउटा पठनीय कोसेली स्टाइलको रिपोर्ट हुनसक्ने विषय बन्छ भन्ने लाग्यो। सामान्यभन्दा केही पृथक कुरा थिए, जसलाई हामी अनौपचारिक समाचारमा समेट्न सक्थ्यौ‌ँ। त्यसपछि जे लेखियो, त्यो यस्तो भएर आयो। छापिएका कुरा अब तल छन्। 

पूर्वडाँका सरदारको बयान
यसमा कुनै शंका छैन, जब उमेर ढल्कन्छ, ज्यान कमजोर हुन्छ, मुहारमा मुजा पर्छन्, युवावस्थाजस्तो जोश रहन्न। ती बेला मान्छे लड्नेभिड्ने कुरा पटक्कै गर्दैन। उनका पनि कुरा लड्ने-भिड्ने छैनन्। युवावस्था डाकाको सरदार भएर बिताएका पञ्चमसिंह चौहान अहिले कुनै पनि कोणबाट अतितको झल्को दिने खालका छैनन्।

सन् १९७२ मा आफ्ना ५ सय ५० जनाको जत्थासहित तत्कालीन भारतमा इन्दिरा गाँधी सरकारसँग आठ सर्तसहित आत्मसमर्पण गरेका उनी गत सोमबार नेपाल भ्रमणका क्रममा पोखरामा भेटिए। ९२ वर्षका यी मनुवाले आफ्ना अनुभव एक घण्टा धाराप्रवाह सुनाएर अन्तिममा भने 'त्रास र अपरोधबोधमुक्त जीवननै सार्थक हुन्छ। मैले यही बुझेको छु।'
   
सिनेमाका कथा घटनाप्रेरित हुन्छन्। केही यथार्थका अंश, केही कल्पनाशीलता। कथाअनुसार पात्रका पोसाक र परिवेश। डाकु कस्ता हुन्छन् ? लुटेर खाने, हत्याहिंसा गर्ने खलपात्रलाई हिन्दी सिनेमा राम्रो स्वरुपमा चित्रण गर्दैन। काँधमा बन्दुक, छातीमा गोलीगठ्ठा भिरेका, तेज गतिमा घोडा दौडाउँदै लुटपाट र आतंक मच्चाउने डाकाको चित्र हामीलाई सिनेमाले देखाएका छन्। तर, भुक्तभोगी चौहानले भने 'सिनेमाले डाकाको सबै कुरा ठीक-ठीक चित्रण गर्दैन।' 

उनका अनुसार सन् १९६० देखि ७० को दसकसम्मका डाकाहरू घोडा होइन जीप कुदाउँथे। प्रहरी र हुनेखानेका सवारीसाधन खोस्थे। इन्धन खोस्थे। दिनहुँ राम्रो धनमाल हाल पर्ने गाउँबस्ती चियो गरेर लुटपाटका योजना बनाउँथे। प्रतिकार हुन नसक्ने वातावरण बुझेपछि घेरा हाल्थे र, अन्न, धनमाल लुट्थे।

सन् ६० दसक नजिक आफ्नो पिहोवा गाउँ बीबीपुरको पञ्चायत निर्वाचनताका विपक्षकाहरूले उनलाई बेस्सरी कुटे। अस्पतालमा २० दिन भर्ती भएर डिस्चार्ज भइ आएको दिन त्यही समूहले फेरि उनका बाबुलाई उसैगरि कुटे। 'मलाई खपीनसक्नु भयो। बदलाको भावना यतिबिघ्न बढ्यो कि म जे पनि गर्न सक्थेँ,' उनी फ्ल्यासब्याकमा गए, 'म चम्बलघाटीका डाकुका सरदार मानसिंहकहाँ पुगेँ। उनले मेरो कुरा सुने। अनि आफ्नो समूहमा बस्न दिने भए।'

उनले आफू उक्त समूहका लागि योग्य भएको टेष्ट दिनुपर्ने भयो। मान सिंहले आफ्नो जत्थाका १२ साथी उनको साथ लगाएर हतियारसहित पठाए। आफ्नो गाउँ आएका उनमा रीस उस्तै थियो। पहिले कुट्नेहरू छानी-छानी ६ जनाको हत्या गरे। र, फेरि त्यही जत्थामा फर्किए। घर आउने, सामान्य दिनचर्या बिताउने जीवनको बाटो फेरियो। 

नाइकेको खास विश्वासपात्र बनेकाले उनी छिटै कुख्यात डाका बने। समय आयो सरदार पनि भए। 'हामी पढेलेखेकालाई समूहमा लिँदैनथ्यौं,' उनले भने, 'पढेलेखेकाहरू धेरै सोच्छन्। असल-खराब छुट्याउँछन् र, इनामको लोभमा परेर हामीलाई सिध्याउन लागिपर्छन् भन्ने बुझाइ थियो।' समाजसँग बदलाको भावना राख्ने, पढलेख नगरेका, बलिया ज्यान परेकाहरू डाका समूहमा सदस्य हुन योग्य मानिन्थे।

जजसको परिवारका लोग्नेमान्छे लुटेराको समूहमा पसेका थिए, उनीहरूको पारिवारिक जीवन भने जोखिममा रहन्थ्यो। प्रहरी आउने पक्रने। केरकार गर्ने, दुःख दिने। समाजले पनि टाढै राख्ने, मन नपराउने। 'हामीमध्ये धेरैका परिवार आफ्नो घर छाडेर आदिवासीका बस्तीमा गएर लुकी बस्थे,' उनले भने, 'हामी लुटपाटबाहेक त्यस्तालाई दुःख दिन्थ्यौं जसले हाम्रो परिवारलाई सताउँछ। सिलसिला निरन्तर चलिरहने थियो।' डाका समूहभित्र पनि समाजबाटै गएका मान्छेहरू। बानीबेहोरामा माया, मोह, काम र क्रोध।

***

उनी आफूले विपन्नमाथि अत्याचार नगर्ने, महिलालाई दुर्व्यवहार नगर्ने भए पनि केही तत्वमाथि आफ्नो सधैं नियन्त्रण रहँदैनथ्यो। केही हतियारको बलमा किसान परिवारका छोरीचेलीमाथि कुकृत्य पनि गर्थे। आफूहरूले नगर्ने भनेको कर्म गर्नेहरूलाई समूहभित्रै सजाय गरिन्थ्यो। सजाय यति क्रुर हुन्थ्यो कि त्यसका प्रत्यक्षदर्शीले त्यस्तो कर्मबारे सोचाइ आए पनि हच्किनु परोस्। 

'एकपल्ट त्यस्तै घटना आयो। मेरो समूहको एउटा साथीले किसानको छोरीलाई बलात्कार गरेको रहेछ,' उनले सुनाए, 'उसले रुँदै आएर मलाइ भनेपछि त्यो साथीलाई बाँधेर ज्यूँदै जलाइयो।' अपराधकर्ममा कुनै पछुतो थिएन। डाकाहरू देवीको पूजा गर्थे। हुनेखानेलाई लुट्थे। लुटको पैसाले गाउँमा देवीको मन्दिर बनाउन लगाएका चौहान एकपल्ट निकै हतास भए। 'अपराधको बाटोमा धेरै मान्छेलाई परिस्थितिले पुर्‍याउँछ। म पनि त्यसकै सिकार थिएँ,' उनले भने, 'म जानेर नहुनेको नलुट्ने, चेलीको इज्जत गर्ने। नहुनेलाई दिनपर्छ भन्ने। तर, मेरै परिवार ज्यान जोगाएर भागीभागी हिड्नुपर्ने अवस्थामा थियो।'

हिन्दी चलचित्रमा देखाइने चम्बल क्षेत्र नदिको नामले बनेको थियो। यमुना नदिमा मिसिने यो सहायक नदिले जसरी राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशका विभिन्न भूभाग छोएको छ। त्यसरी नै किनार आसपासका गाउँ लुटेराको आतंकले आजित क्षेत्र थिए। जसरी डाँकाबाट स्थानीय प्रशासन र सरकार हैरान थियो, त्यसरी नै डाँका आफैं पनि असहज जीवनले हैरान थिए।

***

'एक दिन मलाइ लाग्यो भगवान भनेको अन्धविश्वास रहेछ,' उनले सुनाए, 'त्यसपछि मैले आफ्नो जत्था जुन गाउँ पुग्छ मन्दिर भत्काउन लगाएँ। मूर्ति फुटाएँ।' आफ्नो आतंक रहेका क्षेत्रमा पूजापाठमा बाधा पारे पनि न मन शान्त भयो, न त जीवन सहज। छटपटीको अवस्था यस्तो बन्यो कि उनलाई कतै भागेर जान मन भयो। जहाँ परिवारका साथ शान्तिको सास फेर्न सकियोस्। यो अवस्था उनले सहकर्मी लुटेरालाई सुनाउन पनि सकेनन्। सरदारबाट उनीहरू कुशल नेतृत्व चाहन्थे। आफूहरूको दबदबा नघटोस् भन्ने चाहन्थे। सरदार मनबाट केही लाचार भएको र शान्तिको जीवन चाहेको बताउन मिल्ने अवस्था पनि थिएन। कारण, कमजोर हुनेबितिकै आफ्नै साथीबाट मारिने डर।
 
एकातिर सरकारले डाका समूह जिउँदो या मृत भेटे, सूचना दिए ठूलो धनराशिको पुरस्कार राख्यो। अर्कातिर लुक्दै भाग्दै, परिवारको चिन्दा गर्दै बाँच्नु जोखिमले भरिपूर्ण थियो। त्यहीबेला तत्कालीन इन्दिरा गाँधी नेतृत्वको सरकारका विपक्षी नेता जयप्रकाश नारायण (जेपी)ले चौहानलाई सन्देश पठाए। रतन दासको  'जयप्रकाश नारायण : हिज लाइफ एण्ड मिसन' नामको पुस्तकमा पनि यो प्रसंग छ। गाँधीवादी नेता नारायणले आत्मसमर्पण गरे तत्कालीन सरकारबाट सजायमा सहुलियत दिलाउने खबर पठाएपछि डाँका समूहले एउटा बैठक डाक्यो।
 
'खासमा हामीमध्येका धेरैजना लुटेर खाँदै बाँच्नका लागि डाका बनेका थिएनौ,' चौहानले भन्छन्, 'अन्यायमा परियो, प्रतिशोधको भावना आयो। बदला लिँदालिँदै यस्तो दलदलमा पुगियो जहाँबाट जिउँदो फिर्न सकिन्छ भन्ने आस कसैलाई थिएन।' समूह छाडेर गए आफ्नै समूहको जोखिम। नछाडी बसे सरकारी गोलीको सिकार हुने भय। पंचममाथि दुई सय जनाको हत्या र अढाइ सय जनाको अपहरण गरेको मुद्दा थियो। करिब पाँच सयको समूहमा धेरैको टाउकाको मोल इनामी थियो। 'हामीले आठ सर्त राख्यौं,' पंचमले सुनाए, 'हामीबाट पीडित परिवार र हाम्रा परिवारलाई ३०/३० बिघा जमिन दिनुपर्ने, खुला जेलमा राखिनुपर्ने, फाँसी दिन नपाइने लगायत थिए । सरकारले सबै सर्त मान्छ भन्ने विश्वास जेपीले दिलाए।' 

यो भारतीय लुटेराको इतिहासमै अनौठो घटना थियो। सन् १९७२ को यो घटना संसारकै आतंकको इतिहासमा नौलो थियो। पाँच सयजना बढीले आत्मसमर्पण गरे। त्यसबेला अमेरिकी पत्रिका टाइम्समा संवाददाता विलियम स्ट्रेवार्टले लेखेका छन् - हत्या हिंसाको मार्गमा रहेकाहरूका लागि शान्तिको मार्गमा ल्याउन यो ठूलो घटना थियो।

'तर, मलाइ अदालतले फाँसीको सजाय दिने सुनायो। सर्तअनुसार नारायणले राष्ट्रपतिलाई अपील गरे,'  चौहानले भने, 'मेरो सजाय आठ वर्षमात्रै हुने भयो।' सरकारका लागि डाँकाभित्रको अपराधीलाई सज्जन बनाउनु ठूलो चुनौती थियो । अन्ततः राजयोग सेवा केन्द्रका अगुवालाई आग्रह गरियो, जेलमा गएर डाँकालाई साधु बनाउ ।
 
'मैले राजयोगका तालिमहरू लिएँ। जीवनमा शान्तिको मार्ग बुझेँ,' उनले भने, 'मभित्रको आपराधिक मान्छे आत्मसमर्पण गर्दाताका नै गलिसकेको थियो। जेलबाट निस्कँदा म पुरै साधु भएँ।' १४ वर्षम्म जंगल, गुफा र पहाडी क्षेत्रमा लुक्दै भाग्दै आतंकको जीवन बिताएका उनी आठ वर्षे जेल जीवनपछि पुरै फेरिए। प्रजापिता ब्रम्हकुमारी ईश्वरीय विद्यालयको उनी एक साधक भएर निस्किए।

त्यसयता उनी प्रवचन दिँदै हिडेका छन्। उनको समूहका करिब दुई सयजना यो विद्यालयका स्वयंसेवक भएर क्रियाशील छन्। उनले भने 'अपराधकर्मविहीन जीवन नै सार्थक जीवन हो। हामीलाई धेरैपल्ट आवेश, लोभ र क्रोधले असल मार्गबाट पर धकेल्छ। असल जीवन बाँच्ने हो भने बेलैमा फर्कन सक्नुपर्छ।'

***
(कान्तिपुर कोसेलीमा २०७१ फाल्गुन ३० मा पृष्ठ 'ख' मा प्रकाशित)

Saturday, March 7, 2015

लाटोकोसेरोको सकस

उखुमा फट्याङ्ग्रा लाग्यो । कसरी लागेको रहेछ भनेर हेर्न पुगेका मोरङका जिल्ला कृषि विकास प्रमुख राजेन्द्र उप्रेतीले फिर्दै गर्दा एउटा छोटो भिडियो खिचे । त्यो थियो- उखु खेतमा डांग्रे रुप्पीका बथान रमाउँदै गरेको । उनले भने 'रुप्पीले फट्याङ्ग्रा खाने रहेछ । त्यसैले ठूलो झुण्ड खेतमा रमाइरहेको थियो ।' गएको साउनको बेला थियो । पानी परेको थिएन । सुख्खा जमिनमा फुल पार्न र हुर्कन सजिलो भएरै फट्याङ्ग्रा फस्टाएको थियो ।

बालीमा कीरा लागिरहनुको कारणबारे उनको भनाइ अलि फरक छन् । 'हामीकहाँ सानो-सानो टुक्रामा खेती गर्ने चलन बढ्यो । कीराले एउटापछि उस्तै लाग्ने अरु बालीमा सर्ने मौका पाएका छन्,' उनले भने, 'कुनै एउटा याममा हुने बाली ठूलो क्षेत्रफलमा भए कीरा सबैमा फैलिएर सक्दैन । उसको पनि जीवनचक्र छ ।' शत्रु नास पार्ने चक्करमा मित्रजीव नास भइरहँदा खेतीमा विषादीको प्रयोग अत्यास लाग्दो भएको उनको तर्क मुसासम्म आइपुग्छ । 

भन्छन्, 'खेतमा लाग्ने मुसा अब पहिलेजस्तो छैन । धेरै बाठो भएको छ ।' पानी टिलपिल पारिएको खेतमा पौडन्छ । हरिया बाला पनि काटेर नास पार्छ । तीखा दाँत र तिक्ष्ण वुद्धि भएको यो स्तनधारी जीव वैज्ञानिक प्रयोगका लागि रोजाइको पहिलो श्रेणीमा पर्छ ।

किसानले खेतमा हाल्न थालेका विषादीले कीरा-फट्याङ्ग्रामात्रै होइन, मुसालाई पनि तह लगाएको छ । यसको सोझो असर यी जीवलाई आहारा बनाउने पन्छीमाथि परेको छ । यिनै पन्छीमध्ये अन्न बालीको शत्रु मुसालाई सिकार गरेर बाँच्ने किसानको साथी मानिने लाटोकोसेरो अहिले संकटमा छ । 

०००

आज अमलटारीमा मेरो नयाँ नामले बोलाइयो 'उल्लु सर ।' सामाजिक सञ्जालमा राजु आचार्यको यो स्टाटस बडो रमाइलो थियो । डेढ दसकदेखि जैविक विविधता संरक्षण सरोकारका मुद्दामा काम गर्दै आएका उनी फ्रेण्ड्स अफ नेचरमा आबद्ध छन् । लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि कार्यक्रम चलाउँछन् । महोत्सव गर्न थालेको तीन वर्ष बित्यो ।  धादिङ, चितवनहुँदै नवलपरासीको अग्यौलीमा तेस्रो महोत्सवको टुंगो लागेकाले गत वर्षमलाइ पनि त्यता सामेल हुने निम्तो आएको थियो । मैले सामाजिक सञ्जालमा आचार्यका पोस्ट हेरिरहेको थिएँ ।
 
एउटा टोलीले गाउँ पस्नेबित्तिकै स्कुलको सूची बनायो । र, एक सातासम्म गाउँ चहार्दै, शिक्षकहरूलाई आग्रह गरेर एउटा कक्षा लिदै गयो । एक दर्जन स्कुल पुगेर विद्यार्थीलाई बताउने कुरा थियो - 'लाटोकोसेरो र हुचीललाई जोगाउनु पर्छ । यिनले मुसा खान्छन् । अन्न जोगाउन किसानलाई सघाउँछन् ।' गत फागुन तेस्रो साता बाघखोरमा पुगेको टोलीका संयोजक यिनै उल्लु सर थिए ।
  

उनलाई चार वर्षअघि इमेलबाट चिनेको हो । सन् २०११ मार्चमा उनी अमेरिकाको मिनेसोटामा पुरस्कृत भएको खबर अनलाइनमा पढ्न मिल्यो । त्यहाँ आयोजित विश्व लाटोकोसेरो सम्मेलनमा उनलाई 'स्पेशल एचीभमेन्ट अवार्ड' दिइएको थियो । एशियाली मुलुकबाट यस्तो पुरस्कार पाउने उनी पहिलो हुन् भनेर समाचारमा उल्लेख थियो । काम गरेको दुइ दशक पुगेकाहरूलाई दिइने अवार्ड उनले लाटोकोसेरोमा ध्यान एकाग्र गर्न थालेको तीन वर्ष पाएका थिए । फेसबुकको प्रोफाइलमा पनि उनले अनुहारमा लाटोकोसेरोको टाटु बनाएको फोटो राखेका थिए । त्यसपछि लाग्यो 'लाटोकोसेरोबारे जानकारी बढाउन उनी मेरा लागि स्रोत व्यक्ति हुन सक्छन् ।'

दुई वर्षअघि उनी काठमाडौंमा भेटिए । पहाडी जिल्लामा अध्ययनको योजना बनाइरहेका थिए । मनाङ र मुस्ताङमा लाटोकोसेरोको खोजी गरेका समयका कथा उनले सुनाए । रातीमात्रै सक्रिय हुने चराका कुरा धेरैलाई जान्न मन लाग्छ । गाउँघरमा राती यसले कराएको सुने साना नानीहरु डराउँछन् । अनौठो आवाज निकाल्ने यो निशाचरका धेरै कुरा अनौठा छन् । चरामध्ये यसका मात्रै आँखा मान्छे जसरी अघिल्तिर फर्किएको हुन्छ । 'जोगाउनका लागि प्रभावकारी शैक्षिक कार्यक्रम चाहिन्छ भन्ने लाग्छ', आचार्य भन्छन् 'चोरीसिकारले, अवैध ओसारपसार र वासस्थान विनासले लाटोकोसेरोको संख्या निरन्तर घट्दो छ ।' यिनै उल्लु सर यसपटक यो फागुनको तेस्रो साता गोरखाको बारपाकमा हुनेछन् । तरिका उही स्कुल-स्कुल पस्ने, गाउँलेसँग कुरा गर्ने । रोशन भण्डारी र मनोज शाक्य कुची र रंग बोकेर पुग्नेछन् । र, इच्छुकका अनुहारमा लाटोकोसेरोको चित्र कोर्ने उपक्रमलाई जारी राख्ने काममा लाग्ने क्रम सुरू हुनेछ ।

'खासमा हामी थोरै बजेटबाट कार्यक्रम चलाउनुपर्ने अवस्थामा छौं', आचार्यले भने, 'त्यसैले यस्तो गाउँठाउँ खोज्छौं, जहाँ होमस्टे भर्खर सुरू भएको होस् ।' यस्तो खोजी गर्दा कार्यक्रम आयोजनाले आफ्नो गाउँको प्रचार चाहने स्थानीयले बराबरको योगदान गर्ने उनले सुनाए । 'हामीले आफ्ना कुरा भन्न पाउँछौ । कार्यक्रममा पुग्नेले त्यो ठाउँका बारेमा पनि बुझ्न पाउँछन्', उनले भने, 'यो तरिका खर्चको मितव्ययिताका हिसाबले पनि सजिलो हुने रहेछ ।' 

०००

इन्टरनेटका सर्च इञ्जिनले देखाउँछ - संकटमा परेको भनिने यो निशाचरका संसारभर करिब दुई सय प्रजाति पाइएका छन् । नेपालमा २१ प्रजाति पाइने हालसम्मको अनुसन्धानबाट खुलेको छ । हामीले हाप्सिलो भन्ने यूरासियन इगल अउल सबैभन्दा ठूलो र एल्फ सानो आकारका हनु् । हाप्सिलो नेपालमा पनि पाइन्छ । रातमा मात्रै सक्रिय हुने यी सिकारी पंछी मुसामात्रै खाने नभइ साना स्तनधारी, सरिसृप, चरा, माछा, भ्यागुता, चिप्लेकिरा, माकुरा र विभिन्न प्रकारका किरा-फट्याङ्ग्रा पनि खान्छन् । 

नवलपरासीको थारु गाउँ अग्यौलीको बाघखोरका ८० वर्षीय शिवराम थनेत भन्छन् 'थारू भाषामा हामी लाटोकोसेरोलाई उरुवा भन्छौ ।' उनले आफू सानोछँदा सुनेको कथा सुनाए । गाउँमा एकजना सिकिस्त विरामी थिए । उसको उपचार झारपात जडिबुटी खुवाएर गरिने भयो । नजिकै रुखमा बसेको धोबी चरा भनिने ओरिएन्टल म्यानपाइ-रबिनले भन्यो 'पिसेर ख्वाउ पिसेर ख्वाउ ।' लाटोकोसेरोले भन्यो 'मसिनो गरि पिँध ।' लोककथामा सुनिएको भएकाले लाटोकोसेरो जोगाउनु पर्ने चरो हो भन्ने थनेतलाई लाग्छ । भन्छन् 'त्यो उरुवालाई हामी केही गर्दैनौ । अरू चरा मारेर खानेले पनि यो चाहि मार्दैनन् ।' पूर्व-पश्चिम राजमार्गमा नारायणघाटबाट बुटबलतर्फयात्रा गर्दा ३६ मिलोमिटरमा डण्डा आइपुग्छ । त्यहाँबाट ८ किलामिटर दक्षिण गएपछि बाघखोर गाउँ आउँछ । यो गाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ ।

चितवन राष्ट्रिय निकुञ्ज ९ सय ३२ किलोमिटरमा फैलिएको छ । निकुञ्ज जोडिने चितवन, नवलपरासी, पर्सा मकवानपुरका गाविसका भुभाग समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति बनाइएको छ । मध्यवर्ती क्षेत्रका ३७ गाविसमध्ये नारायणी नदि पारी नवलपरासीका कुमारवर्ती, कोल्हुवा र अग्यौली पर्छन् । यी गाउँ गुन्द्रही ढकना सामुदायिक वनका उपभोक्ताहरूको हो । अग्यौलीको बाघखोर टोलका २० घरमा होमस्टे सञ्चालनमा छ । बाघ, गैडा र चरा हेर्न जाने पर्यटकले सोझै सौराहा जाँदा धेरै कुरा थाहा पाएपछि नयाँ ठाउँ खोज्छन् । चितवन राष्ट्रिय निकुञ्जका पशुपंछीलाई नारायणी पारीबाट हेर्न अग्यौली पुगे हुन्छ । यो क्षेत्रबाट पनि जंगल सफारी सुगम छ । 

०००

संसारभर र्सवाधिक बिक्रीमा रेकर्ड बनाएको बेलायती लेखिका जेके रोलिङको 'ह्यारी पोट्टर' माथि चलचित्र पनि बनेर आयो । सन् २०१० नोभेम्बर पहिलो साता भारतका तत्कालीन पर्यावरण मन्त्री जयराम रमेशले यो चलचित्रमाथि लगाएको आरोप त्यहाँका सञ्चारमाध्यममा चर्चाको विषय बन्यो । लाटोकोसेरोमाथि बढेको संकटका विषयमा 'ट्राफिक' नामक संरक्षणकर्मीको संस्थाले तयार पारेको रिर्पोट सार्वजनिक गर्दै उनले भनेका थिए 'भारतमा ह्यारी पोट्टरले विचित्रको चलन भित्र्यायो । बच्चाहरूलाई उपहार दिने निहुँमा लाटोकोसेरो समात्न, मार्न थालिएको छ । यो चिन्ताको विषय हो ।' रिपोर्ट अबरार अहमदले तयार पारेका थिए । सञ्चारमाध्यमहरूका अनुसार उनको साथीको छोराको जन्मदिन परेको थियो । साथीले छोरालाई उपहार दिनका लागि 'एउटा उल्लु ल्याउनु' भनेर पार्टी नाम नै 'ह्यारी पोट्टर' दिएका थिए । त्यसपछि अहमदले खोजे, शहरमा यो चलनले तीव्रता पाएको अवस्थालाई ।

मन्त्रीको भनाइमाथि पुस्तक प्रकाशन संस्थाले कुनै टिप्पणी गर्न मानेन । तर, उक्त कृति र चलचित्रमा मुख्य बालकलाकारको साथीका रूपमा 'हेडबिग' नामले लाटोकोसेरोलाई देखाइएको छ । यसलाई पढेर/हेरेर लाटोकोसेरो समातेर दिने चलन बढेको त्यसबेला बीबीसीले उल्लेख गरेको थियो ।
 
हिन्दु जनविश्वासअनुसार लाटोकोसेरोलाई लक्ष्मीको वाहन मानिन्छ । सञ्चारमाध्यमहरूका अनुसार भारतका केही भागमा लाटोकोसेरोलाई औंसीको रातमा बलि दिए तान्त्रिक विद्या सफल हुने अन्धविश्वास पनि छ । त्यसैले पनि लाटोकोसेरो समातेर बेच्ने चलन भित्रभित्रै चलिआएको छ । भारतमा ३० प्रजाति पाइनेमध्ये आधालाई किनबेचमा पल्केकाहरू समात्छन् । अहमदले आफ्नो रिर्पोटमा भनेका थिए 'लाटोकोसेरोको संरक्षण कानुन बनाएर गरिनुपर्छ । यो पन्छी पर्यावरणीय चक्रका लागि त्यति नै महत्त्व राख्छ, जति हामी बाघ बाँच्नुपर्छ भन्छौँ ।'


उच्चशिक्षा अध्ययनका लागि राजधानी आएकी लमजुङ, धनपोखराकी सबिता गुरूङलाई शोधका लागि यस्तो विषय छनोटको मन थियो, जो गाउँ फर्किएर गर्न सकियोस् । 'तर, मैले बार्न अउल-गोठे लाटोकोसेरो) छानेँ, जसको खोजी गर्न गाउँ जाँदा अलि खर्चिलो हुने देखियो,' उनले भनिन् 'म अहिले काठमाडौं भ्यालीमै त्यसको बासस्थान खोज्ने र देखिएका ठाउँको गतिविधि नोट गरिरहेकी छु ।' उनका अनुसार लाटोकोसेरोमध्येको सुन्दर मानिने गोठे राजधानीका केही पुराना भवन र टुँडालहरूमा देखिएका छन् । जहाँ मुसा बाहिर निस्केर गतिविधि कम गर्छन्, ती ठाउँ लाटोकोसेरो पनि कमै पाइन्छन् ।
 
आफ्नो शोधको तयारीका क्रममा विदेशीका सन्दर्भ सामाग्री बटुलेर पढेकी गुरूङ भन्छिन्, 'विदेशमा खेतको ठूलो एरियामा एउटा फार्म हाउस हुने, त्यसै आसपास बढी पाइने रहेछ । हामीकहाँ उनीहरू जस्तो फार्म हाउस कल्चर निकै कम छ ।' राजधानीको बढ्दो शहरीकरणले क्रंक्रीटका घर थपिएर भँगेरोले गुँड लगाउने ठाउँसमेत अभाव हुन थाल्दा उनले लाटोकोसेराका गुँड भेट्नुमा धेरै परिश्रम आवश्यक छ । अग्ला घरका छत, सिलिङ र टुँडालमा गुँड भेटिएपनि कतिपय ठाउँ यसको बसाइले पार्ने फोहरबाट मान्छे आजित भएका भेटिन्छन् । त्यसैले यसलाई गुँड लगाउन दिइँदैन ।
 
'जसरी जसरी अन्न उब्जनी हुने क्षेत्र घट्छ, त्यसरी नै लाटोकोसेरोमात्रै होइन अरू पशुपन्छी पनि घट्छन्,' उनले बताइन, 'भ्यालीको सन्दर्भ करीब करीब घट्दो अवस्थाको हो ।' आहारा र बासमा बाधा हुँदा लाटोकोसेरोको बसाइ पनि काठमाडौंमा पातलिएको उनले बताइन ।
 
०००
लाटोकोसेरोका विषयमा समाजमा अनेक अन्धविश्वास पनि छन् । अझै पनि संसारका कतिपय संस्कारमा यो घरको छतमा बसे संकट आउने संकेत हुने मानिन्छ । तर, यसका फाइदा बारे जान्नु जरुरी छ । भाले-पोथी र चल्ला भएको लाटोकोसेरोको एउटा परिवारले चार महिनामा ३ हजार मुसा खान्छन् । धान खाएर मुसाले किसानलाई हैरान पार्छ । यसलाई सिकार बनाएर लाटोकोसेरोले अन्न जोगाउन सघाउँछ । 

धेरैजसो लाटोकोसेरो एउटै साथीसँग आफ्नो जीवन बिताउँछन् । एउटादेखि सातवटासम्म फुल पार्ने यिनले बढीमा ४० दिनमा चल्ला कोरल्छन् । लाटोकोसेरोको समूहलाई संसद् भनिन्छ । आफ्नो टाउको २७० डिग्रीमा घुमाउन सक्तछन् । बर्ड कन्जरभेसन नेपालका अनुसार नेपालमा हालसम्म ८६७ प्रजातिका चरा पाइएको रेकर्ड छ । यो संख्या संसारभर पाइने चराकाका प्रजातिमध्ये ८ प्रतिशत हो । हामीकहाँ पाइने लाटोकोसेरोका केही प्रजाति संकटमा छन् । तराइदेखि हिमाली भेगसम्म पनि विभिन्न हावापानीमा बस्ने लाटोकोसेरोका प्रजाति पाइन्छन् ।
 
एकपटक पूर्वी नेपालको तेह्रथुम जिल्लामा बसमा लैजान लागेको अवस्थामा तीनवटा लाटोकोसेरो बरामद भयो । प्रहरीले केही दिन राखेपछि ती लाटोकोसेरोलाई साँझको समय जंगलमा छाडिदिए । मान्छेको बस्तीका आसपास बस्न रुचाउने भएपनि धेरै लाटोकोसेरोको प्रजाति मानवीय सम्पर्कबाट दूरी राखेर बाँच्न मन पराउँछन् । 

( २०७१/११/०९ मा कान्तिपुर कोसेलीमा प्रकाशित)

बहनाको चालमा समावेशी सम्मान


बेगनासतालमा महिला डुंगाचालक पुरूष बराबरी नै काम गर्छन् । यो पेसामा कुनै विभेद नभएको उनीहरूको अनुभव छ । धेरैले आफूले बहना थामेर घरका अरू सदस्यलाई वैकल्पिक पेसाको बाटो खोज्न सघाएका छन् । 

'मलाई थाहा थिएन आधा घण्टा पुग्यो/पुगेन', उनले भनिन् 'भित्तामा लगेर डुंगा ठोक्काएँ । पसिनाले निथ्रुक्क भिजेकी थिएँ ।' लेखनाथस्थित बेगनासतालमा आइतवार स्थानीय माया पाण्डेले एक दशकअघिको आफ्नो पहिलो व्यवसायिक डुंगाचालनका दिनको अनुभव सुनाइन । चितवनको माडीबाट विवाह गरेर यहाँ आइपुगेकी उनका लागि तालको पानीसँग डुंगामा बहनाको चाल मिलाउन निकै समय लाग्यो । '१५ मिनेट मात्रै भएको रहेछ तर, पेसेन्जर भाइले फेरि घुमाइदिन्छु भन्दा पर्दैन भने', उनले भनिन् 'पहिलो दिनको अनुभव त जीवनमै नबिर्सिने छ ।'
 
२०६१ देखि डुंगा चलाउन थालेकी उनले अहिले श्रीमान शिवप्रसादलाई तालबाट सडकको पालो दिएकी छन् । 'हामी भदौमा ट्याक्सी किन्यौं', उनले भनिन् 'उहाँ (श्रीमान) गाडी चलाउनु हुन्छ । म डुंगा ।' चार छोरीका अभिभावक पाण्डे दम्पतीमा श्रीमान/श्रीमती नै आआफ्नो जिम्मेवारीको काममा जुटेका छन् । महिलाका लागि बढी शारीरिक श्रम पर्ने काम भए पनि बेगनासमा मायाजस्ता तीन दर्जन महिना डुंगामा बहना खियाउन तल्लीन भेटिन्छन् ।
 

'गरिखान्छु भन्दा कुनै विभेद नभएकैले हामी महिलालाई यहाँ अलि सजिलो भएको हो', अर्की डुंगाचालक शारदारानाभाट भन्छिन्, 'हामीले काम महिलाको हो कि पुरूषको भनेर छुट्टयाउँदैनौ । जसको पालो परेको छ उसले गर्छ । उसलाई सहयोग चाहियो, सबै जुट्छौं ।' रानाभाट बेगनास डुंगा सञ्चालन समितिकी कोषाध्यक्षसमेत हुन् । उनको अनुभवमा यहाँ दुइ प्रकारका चेलीबेटी डुंगाचालकको पेशा गरिरहेका छन् । यहीँ आसपास हुर्केबढेका र अन्तबाट विवाह भइआएर श्रीमानको पेशालाई विस्तारै आफूले भर दिएकाहरू हुन् । 

'यहाँ हुर्केकाहरूले त सजिलै गर्न सक्ने नै भए, बाहिरबाट आएकाले पनि बिस्तारै यो कामलाई सिकेर गरिखाएका छन्', उनले भनिन् 'केही अप्ठ्यारो छ भने फरर अंग्रेजी बोल्न नजान्नु मात्रै हो । पानीसँग पौठेजोरी खेल्न त गरिखानका लागि हात हालेपछि गर्नैपर्छ ।'

कास्की जिल्लाको लेखनाथ नगरपालिकामा पर्ने बेगनासताल पोखराको फेवाका तुलनामा भीड निकै कम हुनेमा पर्छ । फेवाको भीडबाट अलि खुला र छुट्टै विचरणको मन भएकाहरू यहाँ आइपुग्छन् । र, डुंगा सयर गर्छन् । जहाँ फेवामा थोरै समय बिताएकाहरू होलान्, यहाँ भने उनीहरू ४/५ घण्टा बिताउँछन् ।

समिति उपाध्यक्ष विश्वनाथ कँडेलका अनुसार यहाँ २ सय ५७ वटा डुंगा छन् । 'एकै दिन सबैका डुंगाले पालो पाउने होइनन् । मान्छेको भीड आएअनुसारको पालो पर्छ', उनले भने, 'जसजसको पालो पर्छ उसलाई बोलाएर समितिले पठाउँछ ।' डुंगाचालक महिला/पुरूष विभेद छैन । पालोअनुसार जानेहरू जो कसैलाई तालका बीचमा पुगेर हावा चल्यो, अप्ठ्यारो भयो भने तत्काल उद्धारका लागि सबै जुट्ने उनले बताए । 

'अहिले केही घर यस्ता छन् जहाँ महिला यहाँ डुंगा चलाउँछन्, लोग्नेमान्छे अरु पेशामा वा विदेश गएका पनि छन्', उनले भने, 'यसो हेर्दा महिलाचालकलाई यहाँको वातावरणले इज्जतसाथ पेशा गरेर खानसक्ने बनाएको छ ।' २०३५ सालदेखि तालको पानीमा बहना खियाएर हातमा ठेला पारेका उनको अनुभवमा पछिल्लोसमय नयाँ छोरा/छोरी पुस्ताभन्दा गृहणीले डुंगाचालकको कामलाई थामिदिन थालेका छन् । 'यहाँ थोरै अप्ठेरो विदेशी आउँदा उनीहरूको भाषा बोल्न नजानेर हुन्छ । तर, काम गरिखाने मामिलामा महिला जुझारु छन्', उनले भने, 'पहिले पहिले निकै कममात्र महिला थिए । अब पो बढ्दै छन् ।' 

समुद्र सतहको ६ सय ८० मिटर उचाइमा अवस्थित बेगनासतालको ३ सय २३ हेक्टर क्षेत्रफलमध्ये ३ सय ९ हेक्टरमा पानीले ओगटेको छ । साढे १० मिटर गहिराइ भएको यो तालमा धेरै चल्ने भनेका चालकसहित ५ जना बस्ने क्षमताका डुंगा हुन् । यी साना डुंगा तराइका सालका काठ ल्याएर बनाउँदा एउटाको सरदर खर्च ८० देखि ९० हजार रूपैयाँसम्म पर्छ । रंगाउनका लागि समितिले पेन्ट्स् कम्पनीसँग सम्झौता गरेकाले सितैंमा उपलब्ध छ । समितिले इजाजत दिएकोबाहेक नयाँ नम्बरको डुंगा हाल्न पाइँदैन । 

एउटा डुंगाको आयु २५ वर्ष हाराहारी हुने चालक बताउँछन् । त्यसपछि त्यही नम्बरका नयाँ बनाएर खियाउने काममा हालिन्छ । मर्मत र रंगरोगनको काम पुरूषले नै गर्छन ।


'हामीले अहिले ८ जना बस्न मिल्ने चारवटा ठुला पाइडलवाला डुंगा पनि ल्याएका छौं,' समिति उपाध्यक्ष कँडेलले भने, 'यहाँ करिब ७०/८० जना डुंगाधनी छन् । समितिमा मिलेर चलाएका छौ ।' यहाँ लागिपरेका धेरै परिवारको मूल पेसा कृषि र व्यापार भएकाले डुंगा खियाउने काम वैकल्पिक पेसाको रूपमा रहेको उनले बताए । 

लेखनाथ-११ भन्ज्याङका बलराम तिवारीले भने 'डुंगामा पालो पर्खेरमात्रै घर चल्दैन । त्यसैले खेतीपाती गर्नैपर्छ ।' डुंगा चलाउनेहरूले पारिवारिक समन्वय बिना यो पेसामा टिकिरहन नसक्ने देखिएको उनले बताए । 'घरपरिवारको साथ भएन भने लोग्नेमान्छे एक्लैले के पो गर्न सक्छन् र !', उनले भने, 'त्यसैले हामी आफूजसरी नै डुंगा चलाउने चेलीबेटीलाई आदर र सहयोग गर्छौ । जे गर्‍यो त्यही व्यवहार आफूले पनि त पाउने हो ।'
*** 

(२०७१/११/१८ मा कान्तिपुर दैनिकमा 'डुंगा खियाउँदै ...' शीर्षकमा प्रकाशित)