- सात कक्षामा पढाइ राम्रै थियो। गीत गाउनमा सिपालु पनि थिइन। बाबुका तीन श्रीमतीमध्ये माहिलीकी छोरी। घरमा कचमच पर्यो। सुदूरपश्चिमको एउटा जिल्लाबाट भागेर घर छाडेपछि उनी नजिक एउटा शहरमा आफन्तकहाँ केही महिना बसिन्। त्यहाँबाट पढाइको साटो काम गरिखाने रहरले काठमाडौं पुर्यायो। रेस्टुराँको जागिरबाट संगतले यौनकर्मी बनायो। केही वर्षपछि पोखरा आइन्। यहाँ पनि केही वर्ष बिते। दिनहुँ आफ्नै शरीरको व्यापारले वाक्क बनायो। सही बाटो बताउने भेटिएपछि उनले घर फिर्ने निधो गरिन्। गइन पनि। तर, बस्न मन अडिएन। नौ महिनापछि फेरि पोखरा आएर उनी धन्दामा छिन्।
- तनहुँको खैरेनीटारबाट साथीहरूसँग पोखरा आइपुगेकी विपन्न परिवारकी एउटी छोरीले होटलमा काम थालिन्। वेटर भनेर राखिएको थियो। सञ्चालकले ग्राहक पनि रिझाउन दबाब दिए। गर्दागर्दै उनी यौनकर्मी भइन्। केही वर्षपछि उनलाई दौतरी शिक्षकले भेटे। सुरक्षित यौनव्यवहारबारे बताए। दिनदिनै धेरैसँगको यौन व्यवहारले वाक्क उनले विस्तारै त्यो बाटोबाट आफ्नो सक्रियता घटाइन। अहिले पेसा परिवर्तन गरेर अरू नै काम गर्छिन्।
पर्यटकीय शहर फेवाताल र माछापुच्छ्रे हिमालका दृश्यले जति सुन्दर र उज्यालो छ, उति नै यहाँ यौनव्यापारको अँध्यारो जीवन बाँच्नेहरू पनि छन्। माथिका यौनव्यापारसँग जोडिएमध्येका दुई जनाको भोगाइका सारांश हुन्। आफ्नै योजनामा तालको शहर घुम्न आउनेहरूले झट्ट खोज्दा दृश्यमा तुरन्तै भेट्न गाह्रो पर्ने यी अँध्यारोका पेसाकर्मी यहाँ अनुमानभन्दा धेरै छन्।
'छोरीजस्तो उमेरकी केटी वन्ली वन थाउजेन्ट रूपीज भनेर अगाडि आउँछे। म पहिले त झसंग भएँ,' उनले भने, 'बाटो छेक्न खोज्दै बारम्बार त्यही कुरो भनेपछि एकपटक हकारेँ। अनि म काम दिन्छु, आउ काम गरेर खाउ भनेको उल्टै गाली गरेर गइन।' यहाँको लेकसाइडका पर्यटन व्यवसायी हरि पहारीले एक साँझ फेवा किनारमा डुल्दाको घटना यसरी सुनाएका हुन्। उनले भने, 'त्यस्तो पेसामा लागेर छिनमै आम्दानी गर्न थालेकोलाई मेहनतको काम किन पो गर्न मन लाग्दो होला !'
यहाँ जहाँ धेरै पर्यटक रिझाउन धेरैथरि होटल-रेष्टुराँ छन्, उति नै व्यवसायका तरिकाहरू पनि धेरै प्रकारका छन्। विभिन्न मुलुकबाट यहाँ आइपुग्ने पर्यटकलाई खान बस्नमात्रै होइन, प्याराग्लाइडिङ र अल्ट्राइटमा उड्न दिने उडाउनेदेखि लामो-छोटो दुरीका पदमार्गको यात्रा गराउने, पर्वतारोहणका लागि बाटो देखाउने काम गर्ने लेकसाइडमा धेरै छन्। यहीँ अर्को अदृश्य पेसा वेश्यावृत्तिको हो।
गत फागुनको अन्तिम साता यहाँको वडा प्रहरी कार्यालय बगरले तीन दर्जन यस्ता पेसेवरलाई पक्राउ गरेको थियो। पक्राउको तेस्रोपटक २८ हजार धरौटीमा छुटेकी महिलाले भनिन् 'बाध्यताको पेसा हो। रहरले कसले गर्छ ?' बाबुले सौता हालेपछि कान्छीआमाको प्रताडना, त्यसपछि एक युवकसँगको सम्बन्धले पोखरा आइपुगेको बताएकी उनले यस्तो पेसामा रहेका धेरैजना बाध्यताले आएको उनले बताइन।
यौनकर्मीलाई एचआइभीको जोखिमबारे सचेत गराउँदै वैकल्पिक पेसामा जान सल्लाह दिने संस्था 'नयाँ गोरेटो' की अध्यक्ष लक्ष्मी रानाभाट भन्छिन्, 'यिनीहरूमाथि जति जति कडाइ हुन्छ, उति नै जोखिम समाजका लागि बढ्छ।' खास-खास ठाउँमा बढी भेटिने सूचना पाएर प्रहरीले कडाइ गर्दा जथाभावी फैलिएर बसाइ सर्दै देहव्यापार गर्नेहरूबाट समाजलाई यौनरोगको जोखिम हुने उनले बताइन।
प्रहरीमा जब जब उच्चअधिकारी फेरिन्छन्, यहाँको बागलुङ बसपार्कसँगै आधा दर्जन ठाउँमा धरपकड सुरू हुन्छ। यसपटक पनि गत फागुनमा जिल्लाका प्रहरी उपरीक्षक फेरिए। क्षेत्रमा प्रहरी नायव महानिरीक्षक अर्का आएर महिनाभर निगरानी र छापा मार्ने अभियानलाई तीव्रता दिएका प्रहरीका युनिटहरूले ५० जनाको हाराहारी महिलालाई नियन्त्रणमा लिए। केही भोलिपल्टै छुटे। केही पक्राउको एक सातापछि जिल्ला प्रशासनमा धरौटी बुझाएर छुटे।
मुद्दाको प्रक्रिया जारी रहेकाले आधा दर्जन अझै हिरासतमा छन्। यहाँको लेकसाइडस्थित वडा प्रहरी बैदामका इञ्चार्ज नमराज भट्टराई भन्छन् 'पेसेवर हेर्दै चिनिन्छन्। धेरै पटके छन्। पक्राउ गरेर ल्यायो, जरिवाना तिर्छन् छुट्छन्। फेरि उनै समातिन्छन्।' उनका अनुसार पटक-पटक पक्राउ परिरहनेहरूमा अधिकांश विपन्न परिवारका महिला हुन्छन्।
'बुबाले कान्छीआमा ल्याएपछि खप्न नसकेर हिडेका, केटाले पोखरा ल्याएर अलपत्र पारेका र कुनै न कुनै कारणले घर बिग्रेकाहरू नै धेरै पर्छन्,' उनले भने, 'सोखले यो पेसामा लागेकाहरू नभएका होइनन्, उनीहरू निकै थोरै समातिन्छन्।' पटक-पटकका पक्राउमा देहव्यापार गर्नेभन्दा गराउनेलाई कार्वाही गर्नुपर्ने भएकाले यौनव्यापार निरुत्साहित हुन चुनौती रहेको उनले बताए।
रेडक्रस र जागृति महासंघमार्फत प्राप्त कार्यक्रम चलाइरहेको नयाँ गोरेटोमा ३० जना दौतरी शिक्षक छन्, जसले यौनकर्मीको खोजी गरि उनीहरूलाई सुरक्षित व्यवहार सिकाउने काम गरिरहेका छन्। शिक्षकको काम पनि गर्दै रहेकी संस्था उपाध्यक्ष श्रीमाया गुरूङ भन्छिन्, 'यौनकर्मीका समस्या यति अप्ठ्यारो छ कि बाहिरबाट देखिँदैन, भित्र बुझेर यो बाटो छुटाइदिन कसैले काम गर्दैन।' लामो समयदेखि सुरक्षित यौनव्यवहारमा रहन परामर्श दिने गरेपछि कण्डम र सल्लाह लिन आउने भएपनि पेसाकर्मी माथिको धरपकडले असुरक्षा समाजमा नजानिँदो पाराले फिँजिएको उनले बताइन। हाल यो संस्थाको सम्पर्कमा रहेकाहरू तीन सयजना हाराहारी संख्यामा छन्। 'धेरै डुलुवा छन्, एक ठाउँबाट अर्को ठाउँ जान्छन्, खोज्दा भेटिँदैनन्,' उनले भनिन्, 'कतिपय यही शहरको विभिन्न भागमा छन्।' बागलुङ बसपार्क लगायतका केही क्षेत्रमा प्रहरीको निरन्तरको निगरानी र धरपकडबाट उनीहरू बस्ने र भेटिने ठाउँहरू परिवर्तन भएको उनले बताइन। 'धेरै दिदीबैनी यो पेसा छाड्न चाहेको भेटिन्छन् तर, समाजमा गतिलो काम गरेर खान सजिलो नभएर फेरि यही बाटो आएको सुनाउँछन्,' उनले भनिन्, 'हामीले पनि भेट्न, चिन्न र उनीहरूको विश्वास जितेर परामर्श दिन सजिलो छैन।'
केही स्थानमा पटकको तीन सय लिएर आधा पैसा होटल र आधा पैसा आफूले पाउने यौनकर्मी त्यही होटलमा खानेबस्ने गर्दा दासको जीवन बिताउन बाध्य भएको पाइएको उनले बताइन। नयाँ गोरेटोकी अध्यक्ष रानाभाटले भनिन्, 'त्यस्तालाई पक्राउ गरेर लगेको छ। भेट्न, कुरा गर्न जाँदा हामीलाई समेत प्रहरीको व्यवहार राम्रो हुन्न। मनपरि भन्छन्। त्यही पेसाकर्मी हुन् भनेर अपशब्द बोल्छन्।' यौनकर्मी भएको आशंकामा पक्राउ गरिएकाहरूविरूद्ध प्रहरीले सार्वजनिक अपराधका मुद्दा चलाउने गरेको छ। केहीलाई त्यस्तो पेसामा लाग्न बाध्य पार्ने होटल, रेस्टुरा सञ्चालकविरुद्ध बयान दिन लगाइ मानवबेचबिखन मुद्दा पनि चलाउने गरिएको छ। तर, पक्राउ परेकाहरूले भोलि उही सञ्चालकसँग मिलेर पेसालाई निरन्तरता दिने चाहना राख्दा बयान दिन मान्दैनन्।
प्रहरीमा गरिएका प्रारम्भिक बयान न्यायिक निकाय पुग्दा फेरिएका छन्। प्रहरी निरीक्षक भट्टराईले भने, 'त्यस्तो पेसामा लाउनेविरुद्ध बयान दिए पो कार्वाही चलाउन सक्नु ! प्रहरीले बल गरेर समाजको सहयोग नभए कसरी काम गर्ने ?' कास्की जिल्ला प्रशासनमा गत वर्ष सार्वजनिक अपराधका १ हजार ६ सय ८५ मुद्दा थिए भने चालु वर्ष साउनदेखि माघसम्ममा ५२४ मुद्दा छन्।
मुद्दा शाखाका नायब सुब्बा केदारनाथ लामिछानेले भने, 'महिला पक्राउ परेर ल्याइएका मुद्दाको संख्या अधिक छन्। तर, अपराध पुष्टि नभइ यस्तो उस्तो पेसाका भन्न पाइँदैन।' यौनकर्मी भएको शंकामा ल्याएर सार्वजनिक अपराधमा मुद्दा चलाइएकालाई कम्तीमा ४/५ हजार र बढीमा २८ हजारसम्म धरौटी लिइ तारेखमा छाड्ने गरिएको उनले बताए।
प्रत्येक पटक कास्कीका प्रहरी प्रमुखको परिवर्तनलगतै यौनकर्मीमाथि धरपकडका घटना भएका छन्। केही स्थानमा गरेको धरपकडको विरोधमा स्थानीयले प्रहरी कार्यालयमै आएर आक्रोश पोखेका घटना पनि छन्। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको केहीअघिको र्सर्वेक्षणअनुसार यहाँ यौनकर्मीको पेसामा रहेकामध्ये ८० प्रतिशत बाहिरबाट आएकाहरू छन्।
सामुदायिक सहयोग समूहमा रहेर लामो समयदेखि कास्कीका लागूऔषध प्रयोगकर्ताका लागि काम गर्दै आएका दिलीप गुरूङका अनुसार यौनकर्मी महिलाहरूबाट एचआइभीको जोखिम उच्च तहमा छ। 'यो नापेर यति नै भनेर भन्न सकिंदैन तर, जो ड्रग्स लिन्छन्, उनीहरू डोजका लागि जे गर्न पनि तयार हुन्छन्,' उनले भने, 'उनीहरू आफैं पनि असुरक्षित छन्।' तीन सय हाराहारी महिला लागूऔषध प्रयोगकर्तामध्ये ५५ प्रतिशत यौनकार्यमा संलग्न रहेको पाइएको उनले बताए। लागूऔषधको तलतल मेट्न जोसुकै गर्न तयार हुनेदेखि लगातार आफ्नो ज्यानसँग अरूलाई खेल्न दिनेले दुखाइ-पीडा बिर्सन दुर्व्यसनमा परेको अवस्था पनि रहेको उनले बताए।
लागूऔषध प्रयोगकर्ता केटा साथीको संगतले सिकेर लत लागेपछि महिलाको बाटो यौनकर्मी हुनुको दिशातर्फअघि बढ्ने उनले बताए। 'यो आफैंमा जटिल छ। केही यो पेसामा सुरक्षित तरिका अपनाउन सचेत छन्। धेरै तलतलका अगाडि आजित भएर जे गर्न पनि तयार छन्,' उनले भने, 'यो सेक्टरमा पक्रने, यातना दिनेभन्दा पनि फँसेकालाई निकाल्ने र विकल्प दिने, नयाँलाई पस्न नदिने काम आवश्यक छ।'
यौनकर्मीका पोखरेली ग्राहक सवारीचालक, सहयोगीदेखि विभिन्न पेसाका छन्। यिनमा अलि बढी राम्रो पैसा दिनेमा पर्यटक पर्छन्। गत वर्ष यहाँकी सामाजिक कार्यकर्ता कमला रिमालले 'यौनव्यवसायीका अवस्था र मनोविज्ञान' बारे लामो शोध गरेकी थिइन। स्नातकोत्तरको त्यो शोधका क्रममा भेटिएकाहरूले पेसा छाड्न चाहे पनि नसकेको, रुग्ण आर्थिक अवस्था र समाजको कारण उनलाई बताएका थिए।
उपमहानगरका यौनकर्मीमा ५२.४ प्रतिशत १५ देखि २४ वर्षका, यिनमा ३६.४ प्रतिशत दलित, ३६ प्रतिशत गुरूङ समुदायका र ६५ प्रतिशत विद्यालय शिक्षा नै पुरा नगरेकाहरू भेटिएको शोधमा उल्लेख छ। यो पेसामा रहेमध्येका ६७ प्रतिशत अविवाहित छन्। बेरोजगारी, विपन्नता, यौन तथा प्रजनन शिक्षाको कमी, जीवनशैली र घरायसी समस्यालगायतले यो पेसामा आएको पाइएको रिमालले उल्लेख गरेकी छन्।
पर्यटकको आवागमन भइरहने भएकाले यहाँको यौन व्यापार जतिसुकै कडाइका बाबजुद पनि पुरै हराउने अवस्था छैन। तर, सुरक्षित क्षेत्र तोकेर यस्ता पेसाकर्मीलाई काम गर्न दिइनुपर्छ भन्ने आवाज उठाउन पर्यटन व्यवसायी मान्दैनन्।
पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष भरतरात पराजुलीले भने, 'हामी कुनै हालतमा त्यस्तो व्यापारको पक्षमा छैनौँ। होटलमा त्यस्ता पेसाका मान्छे आएको थाहा भए हामी नै प्रहरीलाई भनिदिन्छौं।' प्रहरीले गरेको कडाइमा आफूहरू सकारात्मक रहे पनि रातविरात छापाका नाममा परिचय दिएर दम्पती बसेका ठाउँमा प्रहरीले केरकार गरि दुःख दिन नहुने उनले बताए।
पोखराको लेकसाइडमा मात्रै विभिन्नस्तरका करिब चार सय होटल-रेस्टुरेन्टहरू छन्। यिनमा काम गर्नेहरू ७० प्रतिशतमा महिला संख्या अधिक छ। केहीले यौनजन्य व्यवहारमा आफ्ना कर्मचारीको संलग्नता हुन नदिन निगरानी गर्ने र कामबाटै निकाल्ने पनि गरेका छन्। तर, केहीले ग्राहक रिझाउन उनीहरूको दुर्व्यवहारको जवाफ मौन भएर बस्न आदेश दिने गरेका छन्।
समाज र कानूनले बन्देज लगाएको हुनाले यौन पर्यटन पोखरेली व्यवसायीको प्राथमिकतामा नरहेको दाबी अध्यक्ष पराजुलीले गरे। 'हामीलाई कसैले त्यसरी होटल रेष्टुराँ चलाएको थाहा भयो भने पनि निको मान्दैनौँ। कार्वाही गर्न प्रहरीलाई सघाउँछौं,' उनले भने।
यहाँका अबेरसम्म चल्ने दोहोरी रेष्टुरा, डिस्को र बारमा भेटिने यौनकर्मी अहिले धेरैले डेरा लिएर बस्न थालेको र सम्पर्कमार्फत ग्राहकलाई आफ्नै डेरामा बोलाउने क्रम बढेको छ। होटल र सडकमा राती हुने प्रहरीको चेकजाँचको कडाइले उनीहरूको बानी फेरिएको हो।
कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले भने, 'समाजलाई अपराधमुक्त बनाउन हामीले यौन अपराधलाई निस्तेज पार्नैपर्छ। यो कडाइको अभियान नौलो होइन र, म आएर कडा भएको भन्ने पनि होइन।' प्रहरीको नियमित काम गराइमा पर्ने भएका यौन अपराध र गुण्डागर्दी नियन्त्रणलाई प्रमुखता दिएको उनले बताए।
***
यौनकर्मीका २१ कुरा
शोधकर्ता कमला रिमालले यौनकर्मीसँग कुरा गर्दा उनीहरूले आफ्नो पेसा, मान्छेका व्यवहार र समाजबारे धेरै खुलेर बताएका छन्। पेसामा छोटो समय रहेर छिटै कमाइ बाटो फेर्न चाहनेहरू पनि सक्रिय छन्।सोधाइका दौरान उनीहरूले जे भने त्यसलाई बुँदामा टिप्दा यस्ता छन् -
- यौनकर्मीको पेसा आवश्यकताभन्दा आर्थिक बाध्यताको उपज हो ।
- भारतीय पर्यटक, अन्य विदेशी, घुम्न आउने पोखरा बाहिरका मान्छे, डेरा बस्ने मजदुर, ड्राइभर, प्रहरी र स्थानीय बुढाहरु ग्राहकका रूपमा आउँछन् ।
- अपशब्द बोल्ने, पिट्ने, जबर्जस्ती रक्सी पिउन लगाउने र टोकेर शरीरभरि डाम बसालीदिन्छन् ।
- बुढाहरू आउँदा खुसी लाग्छ । पैसा थपेर दिन्छन्, माया पनि गर्छन् ।
- प्रहरीले समाए झैँ गर्ने हो । साहुसँग पैसामा कुरा नमिलेपछि र नयाँ हाकिम आएपछि चिनाजानी गर्न हो भन्दा पनि हुन्छ ।
- हामीले कसैलाई निमन्त्रणा कार्ड दिएर बोलाउने होइन क्यारे । यहाँ आउँदा पिसाबै खान तयार हुन्छन् । बाहिर सभ्यता देखाउँदै रण्डी भन्दै हिड्छन् सालाहरु ।
- मानसम्मानपूर्वक जीवन जिउने इच्छा कसलाई हुँदैन र ! बिहे गर्ने केटाहरु दाइजो खोज्छन् । धनी भए पुग्छ अरू केही हेर्दैनन् ।
- अरू राम्रो काम, जीवन धान्ने पैसा कमाइ हुने हो भने एक सेकेण्ड पनि यो नरकमा बस्ने इच्छा छैन ।
- हामी पनि त मान्छे नै हौँ। घरजम गरेर परिवारसँग बस्ने इच्छा छ । हामीलाई जसरी अरू मानिसहरुले विशेष महिलाहरुले गाली बेइज्जती गर्छन्, हामी उनीहरूजस्ता नैतिक हराम छैनौँ। यदि हामीले हामीसँग सुत्न आउनेहरुको पोलपट्टी खोलिदिने हो भने एकै दिनमा हजारौंको घरवार चौपट हुन्छ । तर, त्यस्तो अपराध गर्नु छैन ।
- धन हुनेसँग थोरै बार्गेनिङ गरेर के हुन्छ र ! नयाँ नयाँ बहिनीहरुले हो एक दुई पटकमै सिक्री, घडी, पैसा लुटेर भाग्ने । किनकी यो पेसा गर्न उनीहरु चाहदैनन् । लुटेको धनले अन्त कतै गइ केही न केही व्यवसाय गरेका छन् ।
- एक खालका युवा जमात हामीकहाँ आउदैनन् । जस्तै तपाई जस्तै आए त पैसा पनि लिन्थिन् सायद राम्रा राम्रा गर्लफ्रेण्डहरू भएर होलानी है ।
- घरगाउँमा बाउआमा, दाजुभाइलाई हामीले के काम गरेका छौँ केही पनि थाहा छैन । सधैं झुट बोल्नुपर्छ । दिक्क लाग्छ ।
- भोलि आफ्ना छोरीहरु भए भने यो पेसामा लागेको थाहा पाए खुट्टै भाँचिन्छ । जानीजानी यो नरकको यात्रामा कहाँ जान दिइन्छ र !
- काल नआइ मरिँदो रहेनछ । बाहिरबाट हेर्दा धेरैसँग सुत्दा मजा आउँछ जस्तो लाग्ने । मलाई त एउटैसँग मात्रै मजा आउछ जस्तो लाग्छ ।
- कोही कोहीले त फिट्टु भएपछि स्वास्नीको कुरा गर्दै जान्छन् र उल्टै हामीलाई पिट्न थाल्छन्।
- साला पुरुषहरु बिस्तारामा बसुन्जेल 'रानी हौं' भन्छन् । ढोका बाहिर निस्केपछि 'पागल भालु 'भन्दै हिड्छन् थुक्क कुकुरहरु !
- सुरु सुरुमा त गाली सुन्नै सकिँदैनथ्यो । समय भयो कि रुँदै बसियो । अहिले त बानी परिसक्यो ।
- हामीलाई दुनियाँको बाल मतलब ! हामीलाई गाली गर्ने आइमाईहरुले आफ्नो पोइलाई घरमै सन्तुष्ट पारेर राखे हुन्छ ।
- यहाँमात्र होइन बाहिर ठूला ठूला होटलमा पनि बोलाउँछन्। प्राय सबै विवाहित पुरुष ४०/४५ नाघेका हुन्छन्। नेपाली र विदेशी, अनि टीभीमा देखिने ठूलै मान्छेहरू त होलान् नि। थप पैसा दिँदै कसैलाई नभन्नु है भन्छन्।
- रक्सी त पानी पिए जस्तो हो। अरू लागूपदार्थ पनि खाइन्छ। नत्र कसरी एकै दिनमा १०/१५ जनासँग कसरी सुत्न सकिन्छ ? कतिपटक त को आयो, को गयो पत्तैसमेत हुँदैन
- भविष्यको चिन्ता कति गर्ने ? के हुन्छ र चिन्ता गरेर। जे पर्छ त्यही टर्छ।
***
('उज्यालो शहरमा अँध्यारोको व्यापार' शीर्षकमा कान्तिपुर दैनिकमा २०७१/१२/११ मा प्रकाशित भीम घिमिरे र शिव शर्माको रिपोर्ट) पत्रिकामा प्रकाशित समाचारको लिंक नभेटेकाले यो छाप्नअघि पठाउँदाको असम्पादित नै ब्लगमा छ।








