जनसंख्याको अनुपातमा खाद्यान्नको उपलब्धता भएन भने अभाव बढ्छ, त्यहाँ आहारा र अवसरका लागि लुछाचुँडी चल्छ । यहाँका तीन ठूला तालमा यतिबेला 'टिलापिआ' नामको माछाको बृद्धिदरले यस्तै अवस्था हुन थालेको छ । जसलाई बुझेका माछा-व्यापार आश्रित जलारी मख्ख छन्, यहीँ अनुसन्धान गर्नेहरूका लागि यो आश्चर्यको विषय भएको छ ।
टिलापिआ फेवा, बेगनास र रूपातालमा पाइने माछाको रैथाने प्रजाति भने होइन, न त कृषि अनुसन्धान परिषदले पाल्न सिफारिस गरेको जात नै हो । हिजोआज तालमा जाल हान्दा होस् वा बल्छी खेल्दा यो माछा नै पहिले हात पर्छ ।
फेवाका जलारीको सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले भने 'हामी त खुसी छौं । जाल हान्ने कसैको हात खाली हुँदैन । टिलापिआ नै परे नि आम्दानी भइराछ, गुजारा सजिलो भाको छ ।' उनका अनुसार तालमा यो माछा देखिन थालेको ९/१० वर्ष भयो । त्यसअघि टिलापिआ यहाँ थिएन । यहाँ पाइने माछा रेवा, फकेट, काँडे, बिग हेड, बाम, कत्ले, सहर र भित्ता आदि हुन् । 'हामीलाई मत्स्य अनुसन्धानले पाल भनेर सिफारिस गर्ने जात पनि होइन', उनले भने, 'हामीले अरु माछाका भुरा पालेको केजमा टिलापिआ आफैं पसेर हुर्कन्छ । अरु माछासँगै परेर जालमा आउँछ ।'
फेवामा मात्रै माछामा आश्रित जलारीका ९१ घरपरिवार छन् । उतिकै हाराहारी बेगनास र आधा संख्या रुपामा छ । अरु माछाका तुलनामा वर्षा सरदर तीनपटक फुल पार्ने र भुरा निस्केको २/३ महिनाकै पनि मार्न मिल्ने भएकाले टिलापिआ सजिलो मात्रै होइन, व्यापारका लागि सुलभ पनि भएको छ ।
मत्स्य अनुसन्धान केन्द्रको फेवातालस्थित कार्यालयका प्राविधिक अधिकृत रामप्रसाद ढकालले भने 'यहाँका रैथाने प्रजातिका माछाको तुलनामा टिलापिआको बृद्धिदर छक्क लाग्दो छ । कालान्तरमा यसले अरु माछाका लागि समस्या ल्याउँछ भन्ने संकेत गर्छ ।' उनका अनुसार यो माछाका भुरा बौद्धमार्गीले तालमा छाडेको अनुमान छ । वर्षमा एकपल्ट माछाका भुरा जलाशयमा छाडेर बौद्धमार्गी माछाको जस्तो आयु र स्वतन्त्र जीवनको कामना गर्छन् । 'कतिले हाम्रा केन्द्रबाटै भुरा किनेर तालमा छाड्छन्', उनले भने, 'तर, टिलापिआ तराइतिर कतैबाट भुरा ल्याएर तालमा छाडेका होलान् भन्ने हाम्रो अनुमान छ । यसरी भुरा अरुले छाड्दैनन् ।' टिलापिआ थाइल्याडहुँदै नेपाल आइपुगेको प्रजाति भएको उनले बताए ।
सरदर अरु माछा खानाका लागि योग्य हुन एक वर्षहाराहारी समय लाग्छ । तर, फुल पारेर मुखमा राखी भुरा निस्केपछि छाड्ने अनौठो बानी भएको टिलापिआ सय/डेढ सय ग्राम तौलको हुँदाहुँदै जालमा पारिन्छ । बिक्री हुन्छ । एउटा भुरा सरदर ४ देखि ६ महिनाको भएपछि फुल पार्न थाल्छ । 'यसको अनुसन्धान त्यति जरुरी छैन तर, एउटाले सरदर ३ देखि ८ पल्टसम्म फुल पार्ने, ४/५ सय भुरा निकाल्ने भएकाले तुलनात्मकरूपमा अरुभन्दा धेरै छिटो संख्या बढेको बढेकै भएको छ', उनले भने, 'मुलत शाकाहारी हो तर, खान जेसुकै खाने भएकाले अरु माछाको आहारा यसले घटाएको छ । यस्तै रहे अरु प्रजाति संकटमा नपर्लान् भन्न सकिँदैन ।' समुहमा घुम्ने, अरु माछालाई तर्साउने बानी यसको रहेको उनले बताए । 'यसले अरु माछालाई आक्रमण गर्ने, खाने गर्दैन तर, आहारा घट्दाको असर त अरु प्रजातिलाई सोझै परिहाल्छ नि', उनले भने, 'त्यसैले हामीले जलारीलाई जति-जत्रो जालमा पर्छ मार्नुस्, नछाड्नुस् भन्छौं ।' 'वार्म वाटर फिस' मध्येको प्रजाति मानिएको टिलापिआ १५ ड्रि्रीभन्दा बढि तापक्रम रहने खोला, जलाशय वा पोखरीमा फस्टाउने उनले बताए । 'एक्टिभ माछा स्वादिलो हुन्छ, यो त्यहीमध्येको अत्यधिक नै सक्रिय हुने माछा हो । वातावरणमा बाँच्न आफूलाई अनुकुल बनाउने क्षमता यसमा अधिक पाइयो', उनले भने, 'तर, छिटो छिटो आफ्नो बढाएर जताततै फैलिने यसलाई साम्राज्यवादी भन्दा पनि फरक नपर्ला ।'
काँडा हुने यो माछाका कत्ला र भित्री भागका कालो मिल्काउन जान्नेले मात्रै स्वाद लिने यो माछा मूल्या हिसाबले बजारमा महंगो पर्दैन । जहाँ अरु माछा न्युनतम प्रतिकिलो चार सय रूपैयाँसम्ममा बिक्री हुन्छ, त्यहीँ टिलापिआ २ सय ६० देखि ८० प्रतिकिलो बिक्री हुन्छ । निकै ठूलो हुँदा पनि एउटा तीन किलोभन्दा बढि तौलको नहुने यसलाई बजारमा जलारीले डेढ सय ग्रामदेखि आधा किलोसम्मको जालमा पारेर बजार लैजान्छन् । जलारीको सहकारीका अनुसार फेवातालको खपौंदीबाट दैनिक कम्तीमा ५० किलो माछा झिकेर बेच्दा टिलापिआमात्रै २० किलो हाराहारी हुने गरेको छ । खपौंदीमै वर्षौदेखि माछाकै परिकार बेच्दै आएका अमृत सिकेले भने 'स्वादका हकमा यो पकाउन जान्नेले मात्रै मिठो दिन सक्छन् । सबैले अरु माछा जसरी पकाएर उस्तै स्वाद पाउन सकिँदैन ।' ५/६ वर्षता अत्यधिक पाइन थालेको यो माछाले अरुथरि पाइएन भनेपनि बजार र होटलरेस्टुराको माग धानेको छ । 'यो गरिबको माछा भनेको सही हो', उनले भने, 'दान दिनु नपर्ने, आफैं हुर्किने र जसले जाल थापेपनि एउटा न एउटा सजिलै पर्ने भएपछि जसले पनि बेच्न ल्याउने टोकरी हेर्नुपर्छ टिलापिआ हुन्छ हुन्छ ।'
( २०७२/११/६ मा कान्तिपुर दैनिकमा 'आगन्तुक प्रजातिले रैथाने माछा संकटमा' शिर्षकमा प्रकाशित)
No comments:
Post a Comment