Wednesday, December 28, 2011

'बुधियार छौडा आ राक्षस'



धेरैपटक सजिला विषयहरु मञ्चन हुन्छन् । ती हेर्दा पनि रमाइला लाग्छन् । गत मंगलवार विराटनगरमा यस्तै एउटा नाटक हेर्न मिल्यो । जनकपुरको मिथिला नाटय परिषद् (मिनाप) को प्रस्तुति 'बुधियार छौडा आ राक्षस' अर्थात बुद्धिमान केटो र राक्षस । लोककथाको सामान्य लाग्ने विषय । 


मञ्चको सज्जा पनि सरल। भूमि प्रशासन चोकछेउको खुला मैदानमा भएको नाटक बालबालिकाका लागि थियो। त्यसैले दर्शकमा उनीहरुकै बाहुल्य थियो। डेनिस परियोजना डानिडाको सहयोगमा दुइटा टोलीले नाटक प्रदर्शनको काम पाएका रहेछन्। मिनापले जनकपुर, नारयणी, कोसी र मेचीका विभिन्न जिल्लाका १५ स्थानमा देखाउन यो नाटक र मण्डला थिएटरले पश्चिम नेपालका जिल्लामा देखाउन 'घुम्रिएको कपाल'। त्यसैले मिनाप इटहरीपछि विराटनगर आइपुगेको रहेछ।

 

नाटक हेरेपछि मिनापका सूनील मल्लिकसँग केहीबेर कुरा गरियो । धेरैपटक कुनै खास प्रकारको दवाव रहने प्रदर्शनमा यसपटक लोकथा , अनि बालबालिकाका लागि गर्दा त्यस्तो केही छैन । रमाइ-रमाइ गरिरहेका छौ भन्ने उनको भनाइ रमाइलो लाग्यो । हामीकहा अवस्था यस्तो आएको छ, कोही दाता निस्केन भने केही पनि नहुने । नाटक पनि दाताले सघाएमात्रै देखाउने चलन आएछ । यो सोच्दा मन अमीलो हुन्छ । तैपनि विराटनगर गुरुकुल सुस्ताएका बेला मिनापको नाटक हेर्न पाउनु रमाइलै मान्नु पर्‍यो ।


 खुला ठाउमा नाटक देखाउ“दा मञ्च मिलाइरहेका कलाकार परैबाट चिन्न सकिन्छ । उनीहरु पालो मिलाएर आफ्नो भागको काम गर्छन् र साथीका लागि मञ्च व्यवस्थापन सघाउँछन् । मैथिली भाषा बुझन असजिलो छैन । हेरियो, अनि केही लेखियो, जसले यो टोलीलाई नाटक प्रदर्शनमा हौसला मिलोस् । हेरियो, लेखियो । जो यस्तो थियो-


चौरमा कौडाको खेल


विराटनगर - धेरैपटक कुनै खास विषय देखाउने तनावले काम गराउँछ । भाषा, अधिकार र सचेतनाका मुद्दा बोकेर हिँड्ने मिथिला नाटय परिषद् (मिनाप) मंगलबार केही फरक देखियो । फरक यस अर्थमा कि कलाकर्मी विराटनगरको खुला चौरमा थिए । दर्शकदीर्घामा स्कुले बालबालिका । भुइँमा एउटा ल्यापटप, साउन्ड मिक्सचर र डिभिडी प्लेयर ।
मञ्च भनेर छुट्याइएको ठाउँमा मिथिला संस्कृति झल्काउने चित्र अंकित एक मान्छे अग्ला छ-सात वटा साना पर्दा छन् । केहीमा रूखको नक्सा पनि कोरिएका छन् । ग्रामीण क्षेत्रको एउटा घरबाट दृश्य सुरु हुन्छ । घरको एक्लो लाठे छोरो कम्मरको रातो थैली फुकाउँछ । आँगनमा कौडा फाल्छ, अनि गन्ती गर्छ- 'एक, दुई, तीन, चार ।'
आमा आउँछिन् र कान निमोठछन् । गाई बाँध्न, दुहुन र परालको कुटी काटेर हाल्न लगाउँछिन् । आमा यताउता लागेको देख्यो कि ऊ घरि कौडा खेल्छ घरि दलिनमा झुन्ड्याइएको धनुबाण खेलाउँछ । नेपथ्यबाट चर्को आवाज सुनिन्छ, मानौं कुनै ठूलो संकटको संकेत हो । एउटा बलिष्ठ राक्षस आउँछ । केटो भाग्छ । राक्षस गाईलाई जुरुक्क बोक्छ र स्वादिलो हुने संकेत गर्दै काँधमा बोकेर लैजान्छ । केही बेरपछि मञ्चमा देखिएकी आमालाई अक्क न बक्क भएको छोरो राक्षसले गाई लगेको बताउँछ । आमा बिलौना गर्छिन् ।
अब छोरो गाईको खोजीमा निस्कन्छ । उसले जंगलमा राक्षसकी एउटी सुन्दरी भान्जी भेट्छ । राक्षसले उसलाई बन्धक बनाउँछ । कौडा खेल्ने राक्षसलाई ऊ आफूसँग खेल्न चुनौती दिन्छ । कौडा उसले इनारमा मिल्काउँछ र भन्छ 'मैले जितें ।' राक्षस इनारमा खसेको कौडा हेर्न थाल्दा केटाले उसैलाई त्यसमा लडाइदिन्छ । मिनापको 'बुधियार छौडा आ राक्षस' कथा मञ्चन देखेर बालबालिका ताली पिट्छन् ।
४५ मिनेटको नाटकलाई नारायणी, कोसी र मेचीका १५ स्थानमा मञ्चनको अभियान लिएर निस्केको टोलीका लागि विराटनगर १३ औंमा परेको उल्लेख गर्दै मिनाप अध्यक्ष सुनील मल्लिकले भने, 'यसपटक हाम्रो अभियान लोककथालाई बालबालिकाका लागि देखाउने मात्रै हो । अहिले हामी कुनै विशेष प्रयोजनका अभियानले हुने दबाबमा छैनौं ।' नाटक रमेशरञ्जन झाले लेखेका हुन् । यसमा प्रमेश झा, रवीन्द्र झा, पि्रयंका झा र रीना रिमालले अभिनय गरेका छन् ।
आफैं संगीत संयोजन गरेका सुनीलले भने, 'हामीले सडक नाटक र मञ्चमा गरिने नाटकमा धेरै अन्तर हुँदोरहेछ । खुलामा गर्दा प्रकाशको खेल गर्न नपाइने, सबै खुला खुला हुने ।' राजधानीको रसियन कल्चर सेन्टरबाट थालेर महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सुनसरी र मोरङसम्म आइपुग्दा मैथिली भाषाको यो नाटकलाई राम्रो प्रतिक्रिया आएको उनले बताए । झापाको भद्रपुरमा मञ्चनपछि जनकपुर पुगेर यसपटकको अभियानले विश्राम लिनेछ । 'दन्त्यकथालाई कसरी नाटय रूपान्तर गर्न सकिन्छ भन्ने यो अभ्यास पनि हो,' सुनीलले भने ।
***
प्रकाशित मिति: २०६८ पुस १३

Tuesday, December 27, 2011

दुःखी मान्छेहरु

        बेलाबखत अचम्म लाग्छ, समले किन लेखेका होलान् 'दुःखीको घरमा मात्रै तेरो वास हुने भए हे ईश्वर दया राखी मलाई अझै दुःख दे ।' के उनले दुःख नदेखेका हुन् ? साँच्चै त्यस्तो पनि हुन सक्ला। तर, जीवनको एउटा यात्रा अवधिमा मान्छेले दुःख अनुभूति गरेकै हुनुपर्छ। गच्छेअनुसार त्यसको भोगाइका तरिका फरक होलान्।
 
हिजो पत्रकार महासंघ मोरङले एउटा संक्षिप्त पत्रकार सम्मेलन गर्‍यो। पत्रकार सम्मेलन के भन्नु, एक जनालाई उभ्याएर उनका कुरा झण्डै ५/६ जना पत्रकारले सुने। आफ्ना कुरा बताउनेले असहज मानिरहेका थिए। उनी रहेछन् मोरङ उर्लावारी-६ का गोविन्द भण्डारी। भन्दै थिए, 'अस्ति नै पनि पत्रकार सम्मेलन गरेको। खोइ केही भएन। कति आफ्ना दुखेसो पोख्नु ?' 

पुरा कुरा सुन्दा उनलाई झिँझो लाग्नु अस्वाभाविक रहेनछ। उनका तीन भाइ छोरामा सबैका मिर्गौला काम नलाग्ने भएका रहेछन्। जेठो छोरोको मृत्यु भएछ। कान्छालाई श्रीमतीको एउटा मिर्गौला गत असोज २९ गते प्रत्यारोपण गरिएको रहेछ। अहिले माहिला छोरा सिकिस्त रहेछन्। सातामा दुईपटक राजधानीको वीर अस्पतालमा डाइलासिस गराइँदै रहेछ।
 
उपचार थालेपछि यी किसानले भएको एक बिघा जग्गा बेचेछन्। केही सहयोग जुटेछ, सकेजति ऋण पनि लिएका रहेछन्। करिब २५/२६ लाख सकिएछ। प्रत्यारोपण गर्न एक लाख भए पुग्ने रहेछ। तर, त्यसका लागि तयारी र पछि गरिने औषधोपचार निकै नै महँगो रहेछ। उनी अब २८ वर्षका माहिला छोरालाई आफ्नो एउटा मिर्गौला दिएर बचाउन चाहन्छन्। तर, खर्च छैन।
 
उनी निराश थिए। अघिल्लोपटक पत्रकार सम्मेलन गर्दा सहयोगको आशा रहेछ। त्यसो भएनछ। मैले उनलाई सान्त्वना दिएँ। आफूले पनि अघिल्ला घटना सम्झिएँ। करिब १० वर्षअघि सुनसरीको प्रकाशपुरको कटान क्षेत्रमा  चाइँ(स्थानीय जाती)को एउटा परिवारमा जन्मेकी बालिकाको नाक लामो थियो। सानो-सानो सुँड जस्तो मासुको डल्लो झुण्डएको। हल्ला आयो - सुँड भएकी बच्ची जन्मेकी छे। हेर्न गइयो। 

अहिले सम्झन्छु, त्यो ओठ-तालु फाटेको भनिने क्लेप्टोलिप्टको केस थियो। विपन्न आर्थिक अवस्थाको परिवार। नानीको मुख र नाकको नली एउटै थियो। मैले उनीहरुको अवस्था र उपचार चाहेका कुरा समाचारमा तस्बिरसहित लेखेपछि छापियो। त्यसको दुई दिनपछि काठमाडौंमा एउटा संस्थाका कर्मचारीले उपचार खर्च पठाइदिएछन्। मैले उनीहरुलाई लगेर दिए । पछि ती बालिकाको उपचार भएछ।
 
दोस्रो घटना एउटा ट्राफिक हवल्दारको थियो। उनका दुवै मिर्गौला काम नलाग्ने भएर सिकिस्त। वीर अस्पतालमा उपचार चलिरहेको थियो। आफन्तमार्फत केहीले मलाइ भेटेर पत्रिकामा लेखिदिन आग्रह गरेका थिए। राजधानीमा उपचार चल्दै गरेको कुरा मैले सुनसरीको इनरुवाबाट लेख्नु अलि सामयिक लागेन। प्रत्यक्ष देख्न भेटन पाएर लेख्नुको मर्म बेग्लै हुन्छ। म त्यसमा अलि सहज मान्छु। मैले काठमाडौं अफिसमै गएर आफ्नो अवस्था बताउन आग्रह गरेँ। उनीहरुले गरे/गरेनन् त्यो थाहा भएन। यो करिब आठ वर्षअघिको घटना थियो।
 
तीन महिनापछि ती हवल्दारलाई इनरुवा महेन्द्रचोकस्थित घर ल्याइएछ। परिवारका सदस्यले फेरि मलाइ भेटे। त्यसबेला उनलाई धरानको बिपी प्रतिष्ठानमा साता-सातामा डाइलासिसका लागि लैजाने-ल्याउने क्रम चलिरहेको रहेछ। सशस्त्र द्वन्द्वको समय, अनि ट्रफिक नै भएपनि प्रहरीका हवल्दार। तैपनि मान्छे नै हो। उनले उपचारका लागि विभागको सहयोग र आफ्नो संचयकोष खर्च गरिसकेको थाहा पाएपछि मैले समाचार लेखेँ। छापियो। केहीपछि सुनेँ, उनी बितेछन्। समाचार छापिएपनि कतैबाट सहयोग जुटेनछ। त्यसपछि मलाई सहयोगको याचनासम्बन्धी समाचार लेख्न मन लाग्न छाड्यो। यो क्रम रोकिएको धेरै भएको थियो।
 
हाम्रो देश नै मगन्ते। आधाभन्दा धेरै हामी हुँदा खानेहरु नै छौँ। हुने खानेका मन सजिलै पग्लन्छ भन्ने छैन। मान्छे विलासिताले यति माथि पुगेका छन्, अरुको संवेदनाले सजिलै कोही पग्लन्छ जस्तो लाग्दैन। तैपनि बेलाबखत यस्ता समाचारले प्रमुखता पाएका छन्। दुःखीको दुःख हरणका लागि प्रयास भएका छन्। बेला-बेला यस्तो लाग्छ, वरपर मान्छेका भीडमा केही यस्ता देखिन्छन्, मन हुनेसँग दिन योग्य गच्छे छैन। हुनेसँग मन छैन। हुनेहरु मर्दा साथै लगिन्छ जसरी सोहोर्न लागिपरेका छन्। कतै यही भीडबाट यदाकदा दयालु भएर पनि निस्कन्छन्। यदाकदा अपवाद देख्न मिल्छ।
 
अरुका कुरा लेखिहिँडने सञ्चारकर्मी आफ्नै कुरा मनमा लुकाएर बाहिर हाँसेर हिडनुको विकल्प छैन। जे होस, साठी वर्षे गोविन्द भण्डारीलाई शब्दले सान्त्वना दिइयो। उनको पत्रकार सम्मेलनमा निकै नगन्य संख्यामा साथीहरु भेला भएका थिए। चिया-खाजा र भत्ताको व्यवस्था थियो भने हलमा कुर्सीमा नअँटेर पनि उभिनेको जमात धेरै हुने थियो। अनि सबै टेलिभिजन, रेडियो र छापाका साथीहरु समाचार बनाउन तँछाड मछाड गर्थे। उनको कार्यक्रममा त्यस्तो केही भएन। 

आयोजक र अतिथि बस्ने आठवटा कुर्सीमा उनी एक्लै थिए। पत्रकारले सोधे -'सहयोग जुटयो भने जम्मा गरिदिन बैंक खाता छ ?' उनी अकमकाए अनि छोरा पदमलाई फोन लगाए। 'सिद्धार्थ बैंक गोंगबु शाखामा ०१६१५०१३०८४ नम्बरको पदम भण्डारीको खाता छ' भन्ने जानकारी फोनपछि सुनाए। पत्रकारले टिपे, खिचे।
 
उनले आफ्ना कुरा बताइरहँदा बाहिर अर्का टोली अर्को कार्यक्रम गर्न पालो कुरेको देखियो। त्यसपछि हतार-हतार उनको कार्यक्रम समापन भयो। मैले उनलाई पत्रकार महासंघको माथिल्लो तलामा लगेँ। अनि बेग्लै बसेर उनका कुरा सुनेँ। भनेँ, 'पत्रकारले लेख्ने हुन्, सहयोगी निस्कनु/ननिस्कनुमा हाम्रो भूमिका खबर दिनेसम्म मात्रै हो।' उनलाई धेरै कोट्याउनु पनि उचित थिएन। तैपनि उनका कुरा नबुझी लेख्नु पनि भएन। आज कान्तिपुरमा उनको समाचार छापिएको छ । जो यस्तो छ -

तीन छोरा नै मृगौला पीडित
विराटनगर - साठी वर्षे गोविन्द भण्डारीका लागि यो उमेर छोराछोरीको रेखदेखमा जीवनयापन गर्ने हो, तर मृगौला पीडित तीन भाइ छोराको पिरलोले उनको आँखाबाट आँसु थामिन सकेको छैन । मोरङ, उर्लाबारी-३ का भण्डारीका जेठो छोरा रुद्रको दुवै मृगौलाले काम नगरेपछि निधन भएको छ भने कान्छो छोरा पदमलाई आमाको मृगौला प्रत्यारोपण गरिएको छ । सिकिस्त अर्का माहिलो छोरा बद्री साताको दुईपल्ट डाइलासिस गराइरहेका छन्, जसलाई गोविन्द आफ्नै मृगौला दिन तयार छन् तर उपचार खर्च उनीसँग छैन ।
रुद्र पाँच वर्षअघि बिरामी परेका थिए । ज्वरो आइरहने, पेट दुख्ने समस्या लामो भएपछि धरानस्थित बीपी प्रतिष्ठानमा भर्ना गरिँदा उनका दुवै मृगौलाले काम गर्न छाडेको चिकित्सकले बताएका थिए । निम्न आर्थिक अवस्थाको भण्डारी परिवारले भर्ना गरी उपचार चलाइरहन सकेन । घरमै राखिएका रुद्रलाई निकै साह्रो भएपछि मात्रै फेरि उपचार गर्न ल्याइयो तर उनी बाँच्न सकेनन् ।
'माहिलो छोरो कतारमा तीन वर्ष बसेर फर्कियो,' गोविन्दले भने, 'माहिलो र कान्छो दुवै सँगसँगैजस्तो बिरामी परे, दुवैको किड्नी फेल भएको रहेछ ।' आफन्तको सल्लाहमा उनले सिलिगुडी लगेर रामदेवको औषधि चलाए । चार/पाँच महिना चलाएको ओखतीले काम गरेन ।
'कान्छोलाई बेथाले च्याप्दै ल्यायो, माहिलोको रोग भर्खर सुरु भएको रहेछ,' उनले भने, 'जग्गा बेचेर कान्छोका लागि उपचार चलाइयो । अस्ति असोजमा उसकी आमाको एउटा मृगौला डाक्टरले उसलाई लाइदिए । यतिखेर माहिलो सिकिस्त छ ।'
सहयोग र ऋणबाहेक जग्गा बेचेको १४ लाख रुपैयाँ पनि छोराहरूको उपचार गर्दागर्दै सकिएको छ । अब उनी माहिलो छोरालाई आफ्नै मृगौला दिन चाहन्छन् तर उपचार खर्च छैन । 'लिन सक्ने जति ठाउँबाट सहयोग र ऋण लिँदालिँदै २५/२६ लाख सिध्दियो,' सोमबार विराटनगरमा गोविन्दले भने, 'अब रनभुल्लमा छु ।' मृगौला प्रत्यारोपण गरिएका कान्छोलाई ६ महिना ओखती चलाउनुपर्ने, मृगौला दिएकी श्रीमतीको पनि औषधोपचार र सातामा दुई पटक माहिलो छोराको डाइलासिस खर्चले गोविन्द 'कता जाने ? के गर्ने ?' भन्ने पिरलोमा छन् ।
परिवारका आधा सदस्य राजधानीको महँगीमा डेरा गरी बसेर वीर अस्पतालमा माहिलो छोरा बद्रीको उपचार चलाइरहेका छन् ।
वृद्ध गोविन्द सहयोग खोज्न भौंतारिँदै छन् । पेसाले किसान भण्डारी परिवारलाई गाविसले सहयोग नगरेको होइन । स्थानीय केदार चौहान भन्छन्, 'गाविसले सिफारिस गरेपछि सरकारले ५० हजार सहयोग गरेको हो, तर धेरै खर्च लाग्ने उपचारमा ५० हजार सकिन बेर लागेन ।' चिकित्सकले मृगौलाको रोग वंशाणुगत पनि हुन सक्ने बताएका छन् । 'वंशाणुगत हुन सक्छ तर वंशाणुगत नै हो भनेर प्रमाण आएको छैन,' वीर अस्पतालका नेफ्रोलजी विभाग प्रमुख डा. राजेन्द्र अग्रवालले भने, 'यो समस्या अल्पोर्ट सिन्ड्रोम हुन सक्छ तर प्रमाणित गर्ने कुनै साधन छैन ।' डा.अग्रवालका अनुसार वंशाणुगत किटान गर्न 'जेनेटिक कोड' हेरेर भन्न सकिने भए पनि मुलुकमा यो सुविधा उपलब्ध छैन ।

(प्रकाशित मिति: २०६८ पुस १२)

अपडेट 


मृगौलापीडितलाई सहयोगको पहल


विराटनगर - मृगौलापीडित मोरङ उर्लाबारी ३ का गोविन्द भण्डारी परिवारका लागि सहयोगको पहल सुरु भएको छ । काठमाडौं बाँसबारीका शरद शर्मा र इलु शर्माले १० हजार रुपैयाँ पदम भण्डारीको सिद्धार्थ बैंक गोंगबु शाखाको ०१६१५०१३०८४ नम्बरको खातामा जम्मा गरिदिएका छन् । पुस ११ गते सोमबार कान्तिपुरमा 'तीन छोरा नै मृगौलापीडित' शीर्षकमा ६० वर्षे गोविन्द भण्डारीका परिवारबारे समाचार छापिएको थियो ।
 
सभासद मोती दुगडले गोविन्दलाई भेटी सक्दो सहयोग गर्ने बताए । उनले भने, '८ लाख खर्च हुनेमा त्यसको आधाजति भए पनि नव नेपाल निर्माण पार्टीका तर्फबाट सहयोगको पहल गर्छु ।' बिरामीका सबै कागजात ल्याउन लगाएर हेरेपछि सहयोगको प्रक्रिया अघि बढाएको उनले बताए । समाचार पढेर आफू भावुक भएको दुगडले बताए, 'मेरो पार्टी संसद्को ३० औं नम्बरको सानो पार्टी हो, बजेट छैन । जसरी हुन्छ अधिकतम सहयोग गर्छु ।'
 
भण्डारीका तीन छोराहरू रुद्र, बद्री र पदमको आपसमा केही वर्षको अन्तरमा दुवै मृगौला बिग्रिएका थिए । रुद्रको निधन भइसकेका छ भने २५ वर्षका कान्छा पदमलाई असोज अन्तिम साता आमा विष्णुमायाको एउटा मृगौला प्रत्यारोपण गरिएको छ । सातामा दुईपटक डाइलासिस गराइरहेका २८ वर्षीय बद्रीलाई गोविन्द आफ्नै मृगौला दिन चाहन्छन् । मृगौला दिने र प्रत्यारोपण गरिने दुवैको नियमित स्वास्थ्य जाँच, औषधि उपचारका लागि खर्च अभाव भएपछि पत्नी र छोराहरूलाई राजधानीमा डेरामा राखेर उनी पैसा जुटाउन घर फर्केका छन् ।

(प्रकाशित मिति: २०६८ पुस २१)
***
अपडेट 
पछिल्लो अपडेट के हो भने त्यो धेरै ढिला थाहा भयो। दुगडले गोविन्दसँग तिनको सबैजसो कागज लिए, फोटोकपी राखेर निवेदन दिन लगाए। धेरै कुदाए तर सहयोग गरेनछन्। उर्लाबारीका एक जना साथीले सुनाए - भण्डारी परिवारमा वियोग थपिएछ। त्यो परिवार फेरि सहयोगको याचना गर्दै मिडियामा आएन। 

Sunday, December 25, 2011

तिम्रो कवितामा के छ



एउटा समूह, जसका सबै सदस्य आफैं सर्जक छन्। उनीहरू स्कुल-स्कुल पुग्छन् र, छक्क पर्छन्। मोतिराम राष्ट्रिय साहित्य प्रतिष्ठानको नामबाट नेपाली भाषामा सिर्जनशीलताको खोजी गरिरहेकाहरू नवौं शृंखलासम्म आइपुग्दा विद्यार्थीलाई विषय टिप्न सक्ने वरिष्ठ कवि भन्न रुचाउने भएका छन्।
 
प्रतिष्ठान अध्यक्ष ज्योति जंगल भन्छिन्, 'विषय टिप्ने क्षमता अचम्मको भेटिएको छ। जति कार्यक्रम चलाउँदै आयौँ, त्यति नै हामीले पनि सिक्न पाएका छौँ।' फेरिएको समयसँगै स्कुलस्तरका बालबालिका अभिभावकका सोच र भोगाइलाई कवितामा उतार्न सक्ने भएको भान हुन्छ। उनी भन्छिन्, 'धेरैलाई हाम्रो राजनीतिले प्रभाव पारेको भेटिन्छ।' संविधानसभा, नयाँ संविधान, सभासद, उनीहरूका चरित्र, संघीयताका मुद्दा, महँगी, दलका रवैया, मागपिच्छे चक्काजामका प्रवृतिले बालमनोविज्ञानमा पारेका असर कवितामा भेटिने उनले बताइन्।

दलका सयौं नेता, एउटै कुर्सी तानातान
आफ्नो माग पुरा नभए ढुंगामुडा हानाहान ।। 
(अविष दाहाल, कक्षा १०) 

दुई साताको फरक पार्दै विद्यालयलाई जानकारी गराएर चलाइएको विद्यालय कविता कार्यक्रमलाई 'भाषाको ज्ञान बढाउने माध्यम' मान्छन् कवि तथा गजलकार मधु पोखरेल। उनले भने, 'हामीले स्थापितका रचनामात्रै सुन्नुपर्छ भन्ने होइन, यो अभियानले बालबालिकाका रुचि, क्षमता र उनीहरूलाई असर पारेका प्रवृत्तिबारे सूक्ष्म रुपमा बुझ्ने मौका जुटाएको छ।' उनको भनाइमा कविता र गजलमा रुचि राख्ने बाहेक पनि साहित्यबारे बुझन चाहनेलाई अभियानले समेटेको छ। भन्छन्, 'नानीहरूका कवितामा छलछाम छैन, एकप्रकारको सोझो प्रस्तुतिले हामी कता जाँदैछौँ र उनीहरू के सिक्दै रहेछन् भन्ने पनि देखाउँदो रहेछ।' 

धर्म ठान्छन् विद्यार्थीले परीक्षामा चोर्ने
नदिएमा शिक्षकलाई उल्टै दागा धर्ने
अभिभावकसमेत आइ विद्यालय घेर्ने
किन फेल पार्‍यो भनी गुरुलाई नै केर्ने ।। 
(अभिषेक काफ्ले, कक्षा ८) 

प्रतिष्ठानसम्बद्ध कवि गण्डकीपुत्र भन्छन्, 'बालबालिकाका कवितामा समय र प्रवृत्ति भेटिँदो रहेछ। हामीले धेरै यस्ता प्रतिभाशाली बालबालिका भेटेका छौँ, जसका प्रस्तुति कुनै मानेमा पोख्त सर्जकभन्दा कम छैनन्।' विद्यालय कवितायात्राका शृंखलापिच्छे विद्यालयहरूको सकारात्मक प्रतिक्रियाले नवोदित सर्जक जुटाउन सकिरहेको उनले सुनाए। 

गद्य, पद्य वा लेखनका नियमको जानकारीका कुरा बिर्सने हो भने उमेरमा जो पनि एकपटक कवि बन्छ। विषयको बन्धन छैन। उनी भन्छन्, 'तर, बालबालिकाका कुरा छुट्टै छन्। उनीहरू निष्कपट छन्।' अभियानले मंगलबार विराटनगरको अर्किड उच्च माविमा नवौं शृंखला पुरा गर्दा राजनीति, प्रवृत्ति र समसामयिकतामाथि व्यंग्य गरिएका कविता पुरस्कृत भए नै। देश, राष्ट्रियता, अनाथका रहर र विद्यालय कस्तो हुनुपर्छ भन्ने विषयमाथि गरिएका सिर्जनालाई पनि हौस्याइयो। गण्डकीपुत्रले कारण यसरी प्रष्ट्याए 'विषय लेखन क्षमता र प्रस्तुतिको शिल्पलाई हामीले हौसला दिने हो। बालबालिकाका कविताको स्तरमा भाषा र त्यसका प्रस्तुतिमा मिलेका सिलसिलालाई हौसला दिए पो नेपाली भाषामा उनीहरूको दख्खल बढ्छ।'

अभियान कसैद्वारा प्रयोजित छैन। अभियानकर्मी कोही पनि फुर्सदिला छैनन्। अभियानले आर्थिक फाइदा पनि दिएको छैन। तर, निरन्तरतामा बेलाबखत विराटनगरमा रहेका सिद्धहस्त सर्जकहरूलाई पनि जोडेको छ। साहित्यिक फाँटमा नाम चलेका स्रष्टाहरू अभियानको निम्तो मान्दै निर्धारित विद्यालयमा पुग्छन्। बालबालिकाका कविता सुन्छन्, अनि अतिथि कविका रुपमा आफ्ना सिर्जना उनीहरूलाई सुनाउँछन्। अभियानकी सदस्य शुभलक्ष्मी लम्साल भन्छिन्, 'हामी के लेख्छौँ, नानीहरूलाई के सुनाउनु पर्दो रहेछ भन्ने हामीले पनि थाहा पाउने अवसर भएको छ।' 

अभियानमा सकभर उपस्थिति नछुटाउने कवि खेम नेपाली भाषालाई बुझाउने र बुझने अवसर कार्यक्रमले जुटाएको ठान्छन्। उनले भने, 'हामी भाषिक अतिक्रमणको चपेटमा छौँ। न अंग्रेजी राम्रो छ न त नेपाली। कविता अभियानले कसेकम नेपाली भाषा जान्दा कोर्सकै लागि पनि राम्रो हुन्छ भन्ने स्कुलका सरहरूलाई पनि बुझाएको छ।' 

नवौं शृंखलामा निम्त्याइएका वरिष्ठ कवि कृष्णभूषण बलले पनि कविता सुनाए। उनले भने, 'मलाई नानीहरूका सिर्जना सुन्न मज्जा लाग्छ। यस्तो मौका मिलिरहे सकेसम्म छुटाउँदिन।' विद्यालय कविता यात्राको क्रमका लागि तालिका छैन। छोटो सूचनामा भेला हुने सर्जकहरू फेरि अर्को शृंखलाका लागि जुटिसकेका छन्।

***
(२०६८ पुस ९ कान्तिपुर कोसेली पूर्वाञ्चल संस्करण पानामा प्रकाशित) 

Saturday, December 17, 2011

उतरार्द्धको एउटा अभियानकर्मी


रातो झोला बोकेर लुखुर-लुखुर हिडदै गरेका भेटिन्छन् । अगाडि सानो टोक्रो भएको साइकलमा कहिलेकाही भेटिन्छन् । जगत सरका बारेमा बेलाबखत लेख्न थालेको सात वर्ष बितेछ । निकै अघि एउटा औपचारिक कार्यक्रममा निर्धारित समयमै पुगिएछ  या भनौ छिटो पुगिएछ । नेपाली चलन, तोकिएकै समयमा कार्यक्रम कहिले पो सुरु हुन्छ र । 
त्यहा केहीबेरको बसाइले मलाइ जसपाल भट्टीको 'फ्लप शो' धारावाहिकको एउटा एपिसोड सम्झाएको थियो । सुरु हुने भनिएको समयमा पुगेका प्रमुख अतिथि आयोजक र निम्त्याइएकामध्ये सबैभन्दा छिटो भएको । केही मान्छे आए । कुरा थालियो । 
रातो झोला बोकेका प्राविका त्यसबेलाका हेड सर जगतप्रसाद अर्यालसँग भेट भयो । उनले खातापत्र फुकाए । अनि आइपुगेका ३/४ जनालाई आग्रह गरे - '५ रुपैया दान दिनुस् । तपाइलाई बुढेसकालमा काम लाग्छ ।' उनको आग्रहले जिज्ञासा बढायो । थाहा भयो - बृद्धाश्रम बनाउनका लागि अभियान रहेछ । २०६२ सालको कुनै महिना थियो त्यो । विराटनगरको संसारीमाइस्थानमा भानुमोरङ प्रावि नामको एउटा स्कुल छ । उनी त्यसैका प्रधानाध्यापक रहेछन् । नगरभित्रको स्कुल, केटाकेटी बाहिर भुइमा पढन बसेको देखेर एक दिन त्यसको एउटा तस्बिर मैले पत्रिकामा पनि पठाएको थिए । 
जगत सरको अभियान राम्रो लाग्यो । उमेरछँदा यस्ता कुराको चिन्ता रहन्न । मरेपछि डुमै राजा । तर, असमायिक केही भइहालेन भने बृद्धावस्था सबैको आउँछ । उनको अभियान महत्वाकांक्षी लाग्दा लाग्दै पनि तरिका मन परेको थियो । मैले फिरेर त्यो दिन कार्यक्रमको समाचारको साटो उनकै बारेमा लेखे । पत्रिकाले पहिलो पानामामा एङ्कर समाचार बनाएको थियो । आज त्यो समाचारको कटिङ मसँग छैन । भएको भए ब्लगमा टाँसी राख्दा कहिलेकाही हेर्न मलाइ नै काम लाग्थ्यो । जे होस् त्यो कटिङ जगत सरसँग अझै सुरक्षित रहेछ । गत विहीवार बृद्धबृद्धाको टोली लिएर सर मेरो अफिसमा आउनु भएपछि मैले पत्रिकाको त्यो कटिङ देख्न पाए । समाचार छापिएका भोलीपल्ट सोही विषयमा सम्पादकीय पनि छापिएको रहेछ । त्यसपछि पनि बेलाबखत मैले बृद्धाश्रमलाई समाचारको विषय बनाएको छु ।  
जगत सरले २०६२ भदौमा स्कुलबाट अवकाश पाएका रहेछन् । त्यसपछि विराटेश्वर बृद्धाश्रम थाले । विराटनगरबाट जोगबनी जाने सडकछेउ ५ कठ्ठा जग्गामा भएको सानो घरमा अहिले बृद्धाश्रम सञ्चालनमा छ । विराटनगरका लागि यो नौलो छैन । कसैले दानपुण्य गर्न मन लागे वा दिवंगत अभिभावक सम्झनु परे बृद्धाश्रममा गएर खाना, फलफुल खुवाउने, दान दिने र लुगाफाटो वितरण गर्ने चलन नै बसेको छ । आश्रम बहालको जग्गामा सञ्चालनमा छ । यो नाफा कमाउने संस्था होइन । 
विहीवार जगत सर मेरो अफिसमा समाचार दिन आएका थिएनन् । उनले बताए- 'चार दिनदेखि घरदैलो अभियान छ ।' मासिक खर्च करीव डेढ लाख पुग्ने उनले बताए । विभिन्न परिस्थिति बृद्धबृद्धा अहिले आश्रममा ल्याइन्छन्, आइपुग्छन् । तर, न्युन मात्र आर्थिक सहयोग जुटेको छ । ५ रुपैया दानबाट र अन्य सहयोग गरि २५ लाख रुपैया जम्मा भएको रहेछ ।  अहिलेको अभियान आश्रमका लागि  आफ्नै जग्गा खरिद गरि भवन बनाउने रहेछ । उनले भने 'म अहिले तपाइजस्तासग सहयोग माग्न हिडेको ।' दुर्भाग्य, पर्समा ५ रुपैयाको नोट  मात्रै रहेछ । त्यही दिइयो । पठाइयो । तर, फेरि पनि समाचार लेख्न मन लाग्यो । र, पूर्वाञ्चल पानाका लागि समाचार लेखियो । 
जगत सरको अभियान महत्वाकांक्षी छ । उनी एक करोड रुपैया जम्मा होस् भन्ने चाहन्छन् । ६८ वर्षका यी बृद्धले महिनाभरिमा पाउने पेन्सनको रकम पनि आधा घरमा दिएर आधा बृद्धाश्रमकै लागि खर्च गर्ने गरेको थाहा पाउदा श्रद्धा लागेर आयो । जिविस र नगरपालिकाले बेलाबखत केही रकम सहयोग गरेपनि त्यो नियमित दिने योजना भित्र परेको छैन । ४० बृद्धबृद्धा पालिरहेको आश्रममा म बेलाबखत पुग्छु । सधै समाचारको मेला हुँदैन । तर, जीवनयात्रा टुंगिनअघि केही गरेरै जाने अर्याल सरको अभियान हेर्दा धेरैबेर कुरा गरिरहन मन लाग्छ । 

Tuesday, December 6, 2011

अचम्मका 'भिलेन' बाबा



मोटरसाइकलमा हिँडेका एक दर्जनको जमात जब बरगाछीबाट पूर्व लाग्छ, केही पसले झटपट सटरहरू बन्द गर्छन्। हातहातमा चम्किला तरबार छन् त निधारमा रुमाल बाँधेका छन्। भन्छन्, 'हेर न, फेरि कता झगडा गरेर आएछन् गुन्डाहरू। यता आए के गर्लान् डाँकाहरूले।' उनीहरूका पछिपछि आएको बसको छतमा हेरेपछि मात्रै सत्यता खुल्छ।

तरबार बोकेर हिँडेकाको जमातलाई बसको छतबाट क्यामेराले पछ्याइरहेको छ। केहीअघि लागेपछि मोटरसाइकलको अगाडि एउटा मारुती भ्यान देखिन्छ। भ्यानको अगाडि सिटमा बायाँपट्टि 'बाबा' बसेका छन्। कुर्ता-पाइजामा र इस्टकोट लगाएका, लामोलामो कपाल भएका। हावाले हल्लाएको कपालले घरिघरि अनुहार छेल्छ। उनी पन्छाउँछन्। घिनाघाटस्थित जनता क्याम्पसको हातामा पुगेपछि दुई निर्देशकमध्येका इन्द्र परियार चिच्याउँछन्, - 'कट कट, यो अगाडि भ्यान रोकेर हिँडेको सिन छ। यो सिन रिटेक गरौं।'

सहरका गुन्डा नाइके बाबाका भाइलाई कसैले कुटेर पठाएको छ । त्यो कुट्नेलाई तह लगाउन बाबा आफ्ना भाइलाई लिएर कलेज आएका छन् । क्यामेराम्यान अबुद्ध खनाल संकेत गर्छन्, 'कलेज ग्राउन्डमा बाबाको डिस्टेन्स र क्लोज दुई सट लिनुपर्छ ।' यो फिचर फिल्म 'स्नेह' को छायांकनका क्रम हो । आधा दर्जन रिफ्लेक्टर ठड्याइन्छ । बाबाको अनुहार उज्यालो जो देखाउनुछ । गाडीबाट ओर्लिएपछि बाबा दलबलका अगाडि आउँछन् । कलेजलाई राम्ररी हेरेपछि चिच्याउँछन्, 'सुनसान । बाबा आएपछि कलेज सुनसान ।'

दृश्य फेरि क्लोज सटमा छायांकन गरिन्छ । 'बाबाको भाइलाई हात लगाउने को हो ? त्यसलाई ज्यानको माया छैन ? म तीन गन्छु, बाहिर निस्की,' चिच्याएका बाबाको अनुहारका भाव फेरिन्छन्, 'लेडिज ? बाबाको भाइलाई पिट्ने लेडिज ? आखिर किन ?' बाबा बनेका राजकुमार साहले थाहा पाउँछन् - उनका भाइ कलेजमा लागूऔषध बेच्छन् । भेद खुल्छ । त्यसैले पिटाइ खाएका हुन् । उनलाई फोन आउँछ- 'जिविसमा टेन्डरको टाइम भएको छ ।' महिलालाई दुव्र्यवहार नगर्ने र दुर्व्यसनीलाई मन नपराउने अचम्मका यी गुन्डानाइके कलेजबाट त्यतिकै बाहिरिन्छन् ।

विकास चापागाईं, प्रीति शाही, देशभक्त खनाल, मिलन नेपाली, सीता न्यौपाने, जानकी तामाङ, भीम कुँवर र गजेन्द्र खतिवडा लगायत कलाकारको अभिनय रहने 'स्नेह' को सुटिङ डेढ महिनामा सिध्याउने लक्ष्य रहेको निर्देशक परियारले बताए । विराटनगरमा लामो समय सानो पर्दाका फिल्म र रंगमञ्चसँग जोडिएका परियार र विनोद पुडासैनीले यो फिल्म निर्देशन गरिरहेका छन् । देवी पाण्डे निर्माता रहेको फिल्मका लागि सुनसरी, मोरङ र झापाका विभिन्न स्थानमा छायांकन गरिने भएको छ ।

'सुटिङ थालेको बल्ल चार-पाँच दिन भयो,' परियारले भने, 'युनिट र मौसम दुवैले साथ दिएको छ । अहिलेसम्म करिब १५ प्रतिशत सुटिङ भयो ।'

आफैंले लेखेको कथाबारे उनले भने, 'प्रेमकथा भए पनि अहिलेका सामाजिक विसंगतिलाई यो फिल्मको कथाले समेट्छ ।'
***
(कान्तिपुर दैनिक, कला र शैली पृष्ठ, प्रकाशित मिति: २०६८ मंसिर २० )

Monday, November 28, 2011

दुर्घटनाजस्तै सर्पदंश



काठमाडौंमा
धेरै घर छन्। बहालमा बस्ने पनि उतिकै। उपभोग्य आवश्यकताका सवाल जे हुन्, घरबेटीले के रुचाउँदैनन्, डेरामा बस्नेले हेक्का राख्नैपर्छ। शैलेन्द्र बस्नेतका लागि त्यस्तै थियो। 'मलाई रहर लागेर जर्मन शेफर्ड कुकुर ल्याएँ,' उनले भने, 'अर्काको घर। बाहिर छाड्न मिलेन। बाँधेर पालियो। विस्तारै त्यो रिसाहा बानीको भयो। कहिलेकाही बाहिर निकाल्दा मलाई पनि नटेर्ने।' कुकुर उनको नियन्त्रणमै नआउने भएपछि विष दिएर तह लगाउनुको विकल्प भएन। पाल्ने रहर मेटिएन। आठ वर्षपछि विराटनगर-४ मा घर बनाएर आए। फेरि अर्को जर्मन सेफर्ड नै ल्याए। नाम उही पहिलेकैको राखियो - टाइगर।
 
'साथीहरूले हेर्न खोजेपछि मैले टाइगर टाइगर भनेर जोडले बोलाएँ, उ यहीँ ढोकाको कुनामा रहेछ,' उनले भने, 'उठ्यो। भुक्लुक्क ढल्यो। म त के गरौँ गरौँ भो नि।' गत असोज २४ गतेको बेलुकी साढे १० बजे बस्नेतको घरमा कुकुरको दसाले सबै आत्तिए। आधा घण्टाअघि त्यसले लामो र मोटो गोमन सर्प मारेको थियो। केहीले सल्लाह दिए- 'पानी खन्याइरहे विषको असर कम हुन्छ। भोलि उपचार गराउन सकिन्छ।' बस्नेत परिवारले त्यही गर्‍यो। चार घण्टापछि टाइगरको अवस्था केही सामान्य भए पनि उ अरूबेला जस्तो चनाखो थिएन।

घटनाको तीन दिनअघि उनको घर परिसरमा त्यो सर्प देखिएको थियो। गेटबाट बाहिर धपाउन खोज्दा  भागेन। बरु भित्रकै करेसाबारीमा लुक्यो। दोस्रो दिन सर्पले घरभित्र पस्न जालीदार झ्यालबाट चिहायो, सकेन। बाहिर पठाउने उपाय खोज्न शैलेन्द्र मोरङ जिल्ला प्रहरी कार्यालय पुगे। उपाय लागेन। समात्न जान्ने एकजनालाई घरमा ल्याए। फेरि देखिएन। तेस्रो दिन कुकुरले देख्यो, २० मिनेटको लडाइपछि मार्‍यो पनि।
  
डा. गंगाप्रसाद यादव भन्छन्, 'झगडा गर्दा त्यो कुकुरले टोकेर उसलाई विषको असर भएको हो। साँपले ठुँगेको होइन। ५ भाइल स्न्टीस्नेक भेनम दिएपछि निको भयो।' पशु सेवा कार्यालयमा सर्पले घरपालुवालाई टोकेका घटना यदाकदामात्रै आउने भएकाले उपचारका लागि विष प्रतिरोधक खोपको व्यवस्था छैन। 'मेरो जीवनमै यो पहिलो केस हो कुकुरलाई सापको विष लागेर उपचार गर्नुपरेको,' डा. यादव भन्छन्, 'यस्तो केसमा धेरै ढिला भए मान्छे बचाउन गाह्रो हुन्छ, जनावरको त कुरै के भो र !' सर्पको राजा मानिने गोमनले मजैले ठुँगीहाले कुकुर त के विष प्रतिरोध क्षमता अरू जीवमा विरलै होला।
 
०००
'भान्साको ढोकाछेउमा देखियो, लामो कालो-कालो छ,' विराटनगर-१६ का कृष्णबहादुर क्षेत्री भन्छन्, 'झटपट छिमेकी विष्ट भाइलाई बोलाइयो। उनले समातिहाले। घोर करेत रहेछ।' घर वरपर सर्प देख्तैमा समातेर तह लगाउन पाइहाल्ने सबै कृष्णबहादुरका परिवारजस्तै भाग्यमानी हुँदैनन्।

प्रहरीको लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइका हवल्दार प्रेमकुमार विष्ट भन्छन्, 'सबै ठाउँ यसरी सजिलै समात्न कहाँ पाइन्छ ! दुलामा, झाडीमा हुन्छ कि छानोमा।' ४४ वर्षीय विष्टले समात्न थालेको केटाकेटीदेखि नै हो। निमाविस्तरसम्म मात्रै पढेका उनलाई सर्पबारे वैज्ञानिकका कुरा थाहा छैन। 'मैले देखेको सर्पले त्यसै टोक्दैन, टोक्ने दुई अवस्था हुन्छन् - आत्मरक्षा गर्न वा रिसाएर,' उनी भन्छन्, 'धेरै सर्पहरू मान्छे देखेरै डराउँछन्। मार्नै पर्दैन, जान दिए भाग्छन्। तर, मान्छेको बानी मारेरै फाल्छन्।' समात्दा-समात्दै विष्टको परिचय उनको विभागभित्र मात्र होइन उपमहानगरभरि फराकिलो भएको छ।'
 
बोराको थैलामा हावा आउजाउ गर्न पोलिथिनका पाइपका टुक्रा लगाएर घरमा राखेका तीनवटा सर्प देखाएर उनले भने, 'दुइटा गोमन छन्। एउटा घोर करेत छ। सुरक्षित ठाउँमा लगेर छाडिदिन्छु। प्राणी हुन्, भरसक मार्न हुँदैहुँदैन।' खोटाङको सिम्पानीमा छँदा बितेको बालापन सम्झेर उनले भने, 'साथीहरू साँप मार्थे, म माला लगाउँथे। मज्जा लाग्थ्यो।' 

समात्ने साधन छैन। हातैले समात्दा भन्छन्, 'ठूलो छ भने पुच्छर समात्ने। त्यसले बेस्सरी बल गर्छ, अनि विस्तारै शिथिल हुन्छ। बल गर्न छाडेपछि तान्ने हो। नठुँगोस् भन्ने चाहि ध्यान पुर्‍याउनुपर्छ।'
 
समात्दा-समात्दै उनले देखेका छन्, आनीबानी प्रजातिपिच्छे फरक छन्। गोमन पछि हट्दैन। मान्छेले हिर्काउन-चलाउन थाले प्रतिकार गर्छ। धामन लोग्नेमान्छेको आवाज सुने भाग्छ। करेत सोझो सर्प हो, घरका छत र काठका ढाँचा खोजेर लुकी बस्छ। ढोडिया भनिने पानी सर्प छिटो टोक्छ र भाग्छ। 

विष्ट भन्छन्, 'डराउनु हुँदैन। झुल लगाएर सुत्नुपर्छ। सुत्नअघि ओछ्यान टक्टक्याउने गर्नुपर्छ। धेरै चिसो बेलामा सर्प न्यानो हुने ठाउँ खोज्दै ओछ्यानमा पनि लुकेको हुन सक्छ।' हालसम्म विभिन्न प्रजातिका करिब तीन सय सर्प समातेका विष्ट भन्छन्, 'टोकीहाले  आतिनु हुन्न। धेरैपल्ट मान्छे विषभन्दा म मर्ने भए भन्ने हतासले मर्छन्।' 
०००
झापाको कोरोवारी-२ मा चार वर्षकी बबिता राजवंशीलाई सर्पले टोक्यो। परिवारले औषधोपचारअघि झारफुक गराउन सोही गाउका पदम सतारकहाँ लगे। धुपध्वाँरमा डेढ घण्टा बित्यो। निको भएन। अवस्था बिग्रिएपछि गाउँकै ओमप्रकाश राजवंशीले मोटरसाइकलमा हाले। उपचार केन्द्रतर्फ हुइँकिए। बाटामै तिनको ज्यान गयो।  गत जेठ १७ को घटना सुनाएका दमकस्थित रेडक्रसको सर्पदंश उपचार केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीको भनाइ विष्टभन्दा कतिपनि फरक छैन। भन्छन्, 'हो नि। मान्छे विषभन्दा धेरै हिम्मत हारेर मर्छन्। टोक्नेबित्तिकै उपचारमा लैजान सके बचाउन सकिन्छ।'

उनी सावधानीका तरिका सुनाउछन् - ठुँगे बिरामीलाई खान दिनुहुँदैन। चोटमा चिर्ने-चुस्ने गर्नुहुँदैन। हिँडाउनु हुँदैन। सपोर्टका लागि हलुका पट्टी लगाएर सकेजति छिटो उपचारमा लैजानुपर्छ। 

दमक केन्द्रमा गत वर्ष उपचारका लागि १ हजार ९४ जना आएका थिए, चालु वर्ष गत साउनयता आएकाको संख्या ६६७ पुगिसकेको छ। सर्पदंशको उपचारमा आउनेहरू धेरै भएपछि रेडक्रसले तीन वर्षदेखि करिब ६ सय जनालाई मोटरसाइकल स्वयंसेवी तोकेको छ। बिरामीलाई केन्द्रमा पुर्‍याउँदा यी स्वयंसेवीलाई रेडक्रसले खर्च भएको इन्धन दिन्छ।
०००

सन् २००३/०४ को एउटा सर्वेक्षणले मुलुकका २६ जिल्ला सर्प प्रभावित मानेको छ। त्यसमा झापा, चितवन, सुनसरी र मोरङ अग्रणी छन्। पहाडका तुलनामा तराईमा यी सरिसृप बढी पाइन्छन्। राजधानीस्थित प्राकृतिक संग्रहालयका सर्पविज्ञ प्राध्यापक करनबहादुर शाह भन्छन्, 'सर्पले मान्छेलाई खोजी-खोजी टोक्ने होइन। र, जथाभावी मार्न थालियो भने प्रकृतिको पर्यावरणीय चक्रमा यसको सोझो असर देखिन्छ। मुसा बढ्छन्। मान्छेलाई अन्नले खान पुग्दैन।'

उनका अनुसार मुलुकमा हालसम्म ७९ प्रजातिका सर्प पाइएका छन्। यिनमा १९ प्रजाति विषालु छन्। विषालुमध्ये पनि गोमनका तीन र  करेतका पाँच प्रजाति पाइएका छन्। गोमनले एकपटक उसलाई सजिलो हुनेगरी डस्दा १५० देखि ३०० मिलिग्रामसम्म विष फाल्न सक्छ। वयस्क मान्छेको इहलीला सिध्याउन त्यसको १२ मिलिग्रामले नै पुग्छ। करेतले २० मिलिग्राम, गनगुहारीले ५०, रसेल भाइपर (टाटे खैरो) ले  २५० र राजगोमनले १०० मिलिग्रामसम्म विष फाल्न सक्छन्। करेत र गनगुहारीको १०/१०, टाटेको ४० र राजगोमनको १२ मिलिग्रामले मात्रै पनि मान्छे मार्न सक्छ।
 
धेरैजसो पहाडी क्षेत्रमा पाइने हरेउ सर्पले एकपल्ट डस्दा १४ मिलिग्राम विष फाल्न सक्छ। तर, यसको एक सय मिलिग्रामले मात्रै मान्छे मर्न सक्छ। 'असर हुन विषालु प्रजातिका भए-नभएको र उसले कस्तो अवस्थामा टोकेको हो भन्नेमा पनि भर गर्छ। विषको मात्रा अनुसार त्यसको पुरा असरको अवधि हुन्छ,' प्रा. शाह भन्छन्, 'विषालु छैन भने टोक्दैमा मान्छे मर्ने होइन। विषले स्नायुमा असर गर्छ। कहिलेकाही टोकेका कुनै भाग प्यारालाइसिस हुनसक्छ।'

एकपटक खाएपछि लामो समय नखाइ बस्न सक्ने र चिसो रगत हुने भएकाले वातावरणबाट शरीरको तापक्रम सन्तुलित बनाउने विशेषता यी सरिसृपका हुन्। सर्पले अण्डा पार्छ। छोपेर बस्दैन। उचित तापक्रम पाएर निस्कने बच्चाहरू बाहिरिदै सिकारी भएर बाँच्छन्। सरदर २० वटा बच्चा निस्किएभने मुस्किलले चार/पाँच वटामात्रै वयस्क हुने भाग्य पाउँछन्। हुर्कदैगर्दा सर्पलाई आहार बनाउने जीव पनि धेरै छन्। 

'सबै मांशाहारी हुन्छन्। मुसा, भ्यागुता, चरा, माछा खान्छन्, राजगोमनले चाहिँ आफूभन्दा साना सर्प नै खान्छ,' उनले भने, 'सर्प जसरी मान्छेले खाने हो भने एकैपटकमा ३०/४० केजीको खाना खान्थ्यो होला। सर्पले आफ्नो आकारभन्दा छ/सात गुना ठूलो कुरा खान सक्छ। चपाउने होइन, बिस्तारै सर्लक्क निल्छ।' देख्यो कि मान्छेले मारिहाल्ने गरेबाट सर्पका प्रजाति संकटमा परिरहेको उनले बताए। 'प्रकृतिले सबैका लागि खानेकुरा अनि त्यसको भूमिका निर्धारण गरिदिएको छ,' उनी भन्छन्, 'प्रकृतिमा एउटा जीव लोप हुन्छ भनेपनि त्यसको अभावमा पर्यावरणमा असर पर्छ-पर्छ। यो फोटोमै झट्टै देखाउन मिल्दैन, असर क्रमिक देखिन्छ।' 
०००

'ओहो, त्यो बेला सम्झँदा त मन ढक्क फुल्छ,' डा. सञ्जीवकुमार शर्मा भन्छन् 'कल्पना गर्नुस् त एउटा मान्छेलाई सयौं साँप भएको डिब्बाजस्तो कोठाभित्र पठाइयो।' तीन वर्षअघि तीन दिने एउटा तालिमको दौरान अष्ट्रेलियाको एलाइड विश्वविद्यालयमा आफुले पार गरेको एउटा चरण उनले बताए। 

'विशेष खालको लुगा लगाएर पसेपछि हामीलाई कसरी टोकाइबाट जोगिने भन्ने सिकाइएको थियो,' उनले भने, 'स्थिर भएर उभिइरहे सर्पले केही गर्दैन। हामीले सर्पको नेचर बुझन गर्ने प्राक्टिकलमध्येको त्यो एउटा विधि रहेछ।' डा. शर्मा हाल चितवनको भरतपुर, झापाको दमक र चारआलीमा सञ्चालित सर्पदंश उपचार केन्द्रका लागि अनुगमनको काम गर्छन्। 

यी केन्द्रलाई बेलायत, स्वीटजरल्याण्ड र जर्मन परियोजनाले एन्टीस्नेक भेनम उपलब्ध गराउन सहयोग गरेका छन्। उनको काम शोधमा आधारित छ। भन्छन्, 'सन् २००१ मा पूर्वका १० वटा अस्पतालमा गरेको अनुसन्धानमा सर्पले टोकेका ९८ जनाको मृत्यु भएको तथ्यांक भेटिएको थियो। अवस्था फेरियो, अहिले सयमा कम्तीमा तीनजना मर्छन्।' 

सर्पदंशको उपचारका दुई विधि छन्। टोकेको सर्प चिनेर त्यसको विष प्रतिरोध गर्ने मोनो भाइलेन्ट र जुनसुकैले टोके पनि सबैलाई उपयोगी हुने पोली भाइलेन्ट खोप विधि। 

'हामी अझै परम्परागत चरणमै छौँ, हामी पोली भाइलेन्ट विधिबाटै उपचार गर्छौ,' उनले बताए, 'विकसित देशहरूमा भने मोनो भाइलेन्ट विधि उपयोग गर्ने गरिन्छ।' सर्पदंशलाई सामान्य समस्या ठानेर सरकारले विशेष कार्यक्रमभित्र नपारेको उनको गुनासो छ।

विष प्रतिरोधका लागि उपयोग गरिने खोपमा पनि विषको मात्रा हुन्छ। हामीकहाँ भारतमा निर्मित खोप उपयोग गरिन्छ। कारण दुई देशको भौगोलिक अवस्था उस्तै भएकाले पाइने सर्पका प्रजाति पनि उस्तै हुनु हो। बजारमा किन्दा महँगो हुने भएकाले सरकारले विषविरूद्धको खोप निश्चित अस्पताल र उपचार केन्द्रलाई बर्सेनि उपलब्ध गराउने गरेको छ।
 
विराटनगरस्थित क्षेत्रीय मेडिकल स्टोरका प्रमुख भरत साह भन्छन्, 'अहिले पूर्वको १६ जिल्लामध्ये कम्प्लीकेसन रहेका केस धरानको बिपी प्रतिष्ठान पुग्छ। स्वास्थ्य मन्त्रालयमार्फत आएर हामीले उपलब्ध गराउने एन्टीस्नेक भेनम अस्पताल, आवश्यकता र उपयोगिता हेरेर वितरण गर्छौ।' उनका अनुसार मेची, कोशी र सगरमाथाका अस्पताल र उपचार केन्द्रलाई २०६६/६७ मा ७ हजार ९३, २०६७/६८ मा ६ हजार ६ सय र गत साउनयता हालसम्म ३ हजार ६ सय ३५ भाइल एन्टीस्नेक भेनम उपलब्ध गराइएको छ। 

'पहिले-पहिलेभन्दा उपचार अहिले धेरै सजिलो भएको छ,' प्रमुख साहले भने, 'तर, साँपले टोक्नु दुर्घटना भएजस्तै त हो।'

***
 (३ मंसिर ०६८ शनिवार कान्तिपुर कोसेलीमा प्रकाशित यो सामाग्रीका सम्पादनअघिको लेखोट ब्लगमा समावेश गरिएको छ ।) 

Monday, October 24, 2011

साहित्य, संगीत र चित्र



'भूगोलका सीमा रेखाहरूले मात्रै मुलुक सिंगो हुने होइन । सिंगो हुनका लागि जनताका विविधतायुक्त मन जोडिनुपर्छ । एक-अर्काका संस्कृतिको प्रवर्द्धन र भावनाको सम्मान गरिनुपर्छ ।' साहित्यमा पनि उत्तिकै दख्खल छवि बनाएका पूर्व मुख्यसचिव डा. विमल कोइरालाले यस्तो भनिरहँदा सभाहल तालीले गुञ्जायमान भयो । 'राष्ट्र बलियो हुन कला, संस्कृति र भाषासाहित्य बलियो हुनुपर्छ । राजनीतिले ल्याएको विभाजनलाई साहित्यले जोड्नुपर्छ,' उनी भन्दै थिए, 'अहिले हामी त्यही अभियानमा छौं ।'
नेपाली कला साहित्य डटकम प्रतिष्ठान र पूर्वाञ्चल साहित्य प्रतिष्ठानले गरेको 'मेरो राष्ट्र मेरो ध्येयः सिर्जना उत्सव' का लागि भेला भएका साहित्य पारखीले एक पटक विराटनगर फेरि सिर्जनामय अनुभव गरे । कार्यक्रमको भिन्न विशेषता के थियो भने साहित्यिक जमघटमा सांगीतिक सिर्जनाको प्रस्तुति र चित्र प्रदर्शनी एकसाथ भइरहेको थियो । साहित्य, संगीत र चित्रकलालाई एकसाथ अघि बढाउने अभियान अन्तर्गत सिर्जना उत्सव गरिएको थियो, सुकर्म ब्यान्डले 'मेरा राष्ट्र मेरो ध्येय' शीर्षकमा हालै कम्पोज क्लासिकल धुनसँगै तीनवटा अरू सेमी क्लासिकल धुनहरू पस्किए । डा. ध्रुवेशचन्द्र रेग्मीको सितार, श्याम नेपालीको सारंगी र प्रमोद उपाध्यायको तबलाबाट निस्केको सांगीतिक सिर्जना विराटनगरबासीका लागि भिन्न स्वाद थियो । 
'अब तिहारलाई पनि जोडौं है,' झन्डै ४५ मिनेटको प्रस्तुतिमा ध्रुवेशले 'देउसी-भैली' धुनका लागि श्याम र प्रमोदलाई आँखाले संकेत गरेपछि कार्यक्रम हलमा झन् खुसीको तरंग फैलियो । यसपछि गुन्जिएको 'देउसी रे...' र 'तिहारै आयो लौ झिलिमिली...'लाई दर्शकले खुलेर साथ दिए । कार्यक्रमको अर्को आकर्षण थियो कवि कृष्णभूषण बल । यस वर्षको योगेश्वर कलासाहित्य पुरस्कार ग्रहणका लागि स्टेज उक्लेका उनले 'नदी किनारको जून' शीर्षकको कविता पनि सुनाए । कवि-गीतकार तथा कार्यक्रमका प्रमुख अतिथि दिनेश अधिकारीबाट १५ हजार रुपैयाँ सहितको पुरस्कार थापेपछि बलले नै कविता वाचन शृंखला उद्घाटन गरेका थिए, उनलाई पछ्याउँदै उषा शेरचन, डा. विमल कोइराला, धीरेन्द्र प्रेमर्षि, विमल वैद्य, सुदीप पाखि्रन, ठाकुर बेलबासे, चंकी श्रेष्ठ, राधिका गुरागाईं, मणि लोहनी, नवराज सुब्बा, अरुणा वैद्य, रिता खत्री, कविराज पोखरेल, बद्री पलिखे, गण्डकी पुत्र, मीनकुमार नवोदित, मधु पोखरेल, शुभलक्ष्मी लम्साल, शिवनारायण पण्डित, दीपक शम्चु, पुनम अधिकारी, कोरियाली कवि किम यिङ लगायतले कविता सुनाए ।  
  पुनम, दीपक र शिवनारायण गत साता विराटनगरमै आयोजित प्रतियोगितात्मक कविता गोष्ठीमा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए, सिर्जना उत्सवकै अवसर पारेर उनीहरूले पनि पुरस्कार थापे । भाषाशास्त्री बालकृष्ण पोखरेलको समेत आतिथ्य रहेको कार्यक्रमको तेस्रो आकर्षण थियो, भित्तामा सजिएका चित्रहरू । 'चरा चित्र' मा स्थापित छवि बनाएका जीवनाथ पोखरेलका चित्रहरू साँच्चिकै लोभलाग्दा थिए । उनले सीमसार क्षेत्रका चरा र दृश्यलाई क्यानभासमा उतारेका थिए, कविता सुनिरहँदा दर्शकहरू बारम्बार उनका चित्रतिर नजर डुलाउँथे । वाचित कवितामाथि समालोचक डा. ज्ञानु पाण्डेले र कृष्णभूषणको व्यक्तित्व र कृतित्वमाथि डा. कुमार कोइरालाले बोलेका थिए । आयोजक दुई संस्थाका अध्यक्षहरू मोमिला र विवश पोखरेल चाहिँ व्यवस्थापनको चुस्ततामै केन्दि्रत थिए । निर्धारित ६ घन्टामै सकिएको कार्यक्रमले 'चित्र, साहित्य र संगीत'लाई एउटै थलोमा उभ्याएर 'राष्ट्र र राष्ट्रियता'को पक्षमा चेतना निर्माण गर्न सघाएको मोमिलाले दाबी गरिन्, विवशले चाहिँ पहिलो पटक भिन्न स्वादको कार्यक्रम आफ्नो थलोमा गर्न पाउँदा खुसी प्रकट गरे ।
(कान्तिपुर/कला र शैली पृष्ठमा ०६८ कात्तिक ०७ सोमबार प्रकाशित )

Saturday, October 22, 2011

मालबाहकका पुच्छर चहारेर



टाटाका ट्रक होस् हजार बीसका लागुन् नयाँ टायर
भारी होस् दस या कि नौ टन मिलोस् बाटो सफा डामर 
साथी हुन् कविजी चलोस् सुकविता शृंगारको सागर 
त्यो आनन्द सरी कहीँ अरू कुनै आनन्द के हुन्छ र ?
 (रमेश खकुरेलको बिदाइ कवितासंग्रहबाट)

'राष्ट्रपति डाक्टर, प्रधानमन्त्री पनि डाक्टर भए, चिन्ता नमान्नु अब राष्ट्रको उपचार चाँडै हुन्छ' को१ख १६६९ नम्बरको ट्रकको पुछारमा यस्तो लेखिएको छ। ट्रकका पछिपछि नजर दौडाउने एक दशकदेखिको सनकलाई जब पुस्तकाकार रूप  दिइयो, उनले नसमेटेको एउटा अंशअंकित तस्बिर भेटियो। त्यही ट्रकको पुछारको।  जसमा त्यसमा यस्तो पनि छ -

जय शिवशंकर भोला
हाम्रो नयाँ संविधान कस्तो होला
संघीय लोकतान्त्रिक गणतन्त्र
कसरी जोगाउने होला ।। 

सबैलाई थाहा छ- मुलुक हाँक्ने मुख्य जिम्मेवारीमा दुई व्यक्ति डाक्टर हुँदैमा देशले सजिलै उपचार पाउने अवस्था छैन। तर, जनताले अपेक्षा राख्न पाउँछन्। राष्ट्रपति र प्रधानमन्त्रीमाथिका अपेक्षाका पंक्ति पनि लेखिए। 'ट्रक साहित्य : संकलित सिर्जनाहरू' पुस्तकका सम्पादक सुविद गुरागाइँ भन्छन्, 'त्यो ट्रक मैले धरानमा देखें, रगंरोगन चलिरहेको थियो। असोज १ देखि अहिले सडकमा कुदिरहेको होला।' उनको संकलन सनकलाई फोटोग्राफीमा नवीन गड्तौलाले सघाएपछि यात्रा पुस्तकसम्म आइपुगेको हो। जोडी जता पुग्छ, ट्रकका पुछारमा लेखेका कुरामा नयाँपन के छ भन्दै खोज्छ। ट्रक, अनि त्यसमा लेखिएका शब्द लहर।

हिमाल छ पहाड छ, विभिन्न ताल छ,
बुद्ध जन्मेको देशमा बुद्धिको अनिकाल छ ।।

दशकअघि ना४ख ६२९० नम्बरको ट्रकका पछाडि लेखिएका यी हरफले संकलनको जिज्ञासा फुरेको सुनाएका गुरागाइँ इटहरीमा रहेर शिक्षण र पत्रकारिता गर्छन्। केही वर्ष राजधानी बसेर पत्रकारिता गरेपछि घर फिरेर केही नयाँ गर्ने सोच राख्ने उनी सामान्य रिपोर्टिङको दिनचर्याभन्दा भिन्न गर्न रुचाउँछन्। पृथक् गर्न खोज्ने बानीले नै उनलाई धेरैपटक एक्लो बनाउँछ।

सामान्य मान्छेका दिनचर्यादेखि माया-प्रीति, विरह, परिवार, समाज, आस्था, मोजमज्जा, ठट्टा, जिम्मेवारी, चिन्ता, दिक्दारी, महँगी, ट्राफिक नियम, सडकका जोखिम, देशप्रेम, राजनीति, पत्रकारिता, पर्यटन, सावधानी र जानकारी। गुरागाइँ भन्छन्, 'मान्छेले देख्ने, भोग्ने, सोच्ने र बेहोर्ने धरै खालका भाव ट्रकमा भेटिन्छन्। जति खोज्दै गयो, त्यति रमाइलो रहेछ।' 

उनले ना३ख ६०२४, बा २ ख ७४६५ र ना २ ख ७२६४ नम्बरका तीनवटा ट्रकमा एउटै सायरी भेट्टाए।

उकाली होस् या ओराली होस्
बीचमा एउटा ससुराली होस्
गोरी होस् या काली होस्
ससुरालीमा एउटा साली होस् ।। 

सामान ढुवानी गर्दै एक ठाउँबाट अर्को गन्तव्यका लागि हिँड्ने सवारी थरीथरीको बाटोमा यात्रा गर्छ। चालक, सहचालक, मिस्त्री र डेन्टिङ-पेन्टिङ गर्नेहरूका मानसिकता एकै खालका हुँदैनन्। उनीहरूका मुकाम र बाटामा रोकिने ठाउँ बसचालक र यात्रुभन्दा फरक छन्। स्टेरिङ, ब्रेक, बाटाका घुम्ती र यात्रारत जीवनका भोगाइ आफैंमा नौला छन्। ट्रक साहित्य तिनै भाषा बोल्छ। गुरागाईको पुस्तकमा ३१५ वटा मुक्तक, कविता, सायरी, मननीय भनाइ र विभिन्न अभिव्यक्ति समेटिएका छन्। 

साथमा सवारीसँग सरोकार राख्ने चालक, पेन्टर र ट्राफिक प्रहरीका भनाइ आफ्नै पाराका छन्। वीरगन्जका पेन्टर सीताराम साहले भनेका छन्, 'म पढेको छैन, सायरी आउँदैन। तपाई जस्तो दिनुहुन्छ, म त्यस्तै लेखिदिन्छु।' उनका भनाइमा सवारीका पछाडि लेख्नेहरू आफैंले आफ्ना भावना लेखेको भन्दैन। गाडी तयार पारेपछि साहुजी चालक र सहचालक खोज्छन्। अर्काको गाडीमा कर्मचारी भएर आएपछि यी दुईले सके थप्लान्, नसके जहाँ गाडीको डेन्टिङ-पेन्टिङ गरिन्छ, सर्जक अमूक हुन्छ। 

२०३० सालदेखि सवारीचालक रामहरि केसी अहिले १५ वर्षअघिबाट आफ्नै ट्रक कुदाउँछन्। उनले भनेका छन्, 'घर छाडेर बाहिर हिँड्दा अरूले भनेजस्तो रमाइलो हुँदैन। यो लाइनमा हिँड्नेहरू सबै ठीक छन् भन्न सकिन्न। कतिको गाडी कुदाउने चाल ठीक हुँदैन, कसैको बोलीवचन मीठो हुँदैन। तर, सबै खराब हुन्छन् भन्ने होइन।' 

कवि कृष्णभूषण वलका विचारमा ट्रकमा भेटिने शब्दजाल साहित्यमा नयाँ स्वाद हुन्। भन्छन्, 'कसले लेख्छ भन्ने थाहा हुँदैन। तर, धेरैमा मन छुने सामयिकताका लेखाइ भेटिन्छन्।' कलाकार विक्रम श्रीका भनाइमा ट्रकमा मुक्तक र सायरी मात्र होइन कलाको पुरातन इतिहास नै भेटिन्छ। यसका उपयोग गरिने रंग र चित्रले विभिन्न समय र भावलाई बोल्छ। 

कवि मनु मञ्जिल भन्छन्, 'ट्रक साहित्यमा समेटिएका भावहरूमा जीवनका विविधता छन्।' उनको भनाइमा कतै महाकवि लक्ष्मीप्रसाद देवकोटा त कतै भूपी शेरचनका शब्द पनि पैंचो लिइएका भेटिन्छन्। चिन्नेहरूले फलानोका कविता अंश भनिदेलान् तर, धेरै मालबाहकका पछिल्तिर ना४ख २५८२ र ना४ख ४८३६ मा लेखिएजस्तो सुर भेटिन्छ।
 
बिन्दास गाडी बिन्दास टुर
लभ्ली ड्राइभर आफ्नै सुर ।।
***
(२०६८ कात्तिक ५ शनिवार/कान्तिपुर कोसेली पृष्ठ घ)

Sunday, October 9, 2011

प्रयोगपरक गेडी


एउटा प्रयोगमाथि रूचि राख्नेहरूले इन्टरनेटको समाजिक सञ्जाल फेसबुकमा भेटघाट नियमित बनाए। एक-अर्काको 'स्टाटस' मा प्रतिक्रिया लेख्दै। आपसमा लेखाइ कसरी सुधार्ने र साहित्य सिर्जनाका विधाहरूमा दख्खल कसरी बनाउनेमा ध्यान केन्द्रित गरे। रहरलाई पुस्तकाकार रूप कसले दिने भन्नेमा विराटनगर रहेर कलम चलाउँदै गरेका टेकेन्द्र अधिकारी अघि सरे।

नटेरेकै चाम्रो भो, नभेटेकै राम्रो भो
दुनियाँले नबुझ्ने, मायाप्रीति हाम्रो भो
खोलीले,
फुट्यो बाँध, रूखो बोलीले ।।

'यो एकदमै नयाँ विधा भएकाले पहिलो काम आफैं थाल्ने रहर लाग्यो,' उनले भने, 'विधाका नाम सुन्नेहरू पहिले अचम्म मान्छन् अनि अलिपछि त्यसको गहिराइ नापजोख गर्छन्।' यो नौलो विधा रह्यो, गेडी। 'हुँदैन यसरी। तीन अक्षरको भए राम्रो होला। बरु गेडीका भन्नुस्,' प्राडा टंक न्यौपानेले सल्लाह दिए। अधिकारी मानेनन्। तर्क अघि सारे, नेपाली भाषामा मौलिक नयाँ विधा हो, नाम गेडी नै भएको ठीक। फेसबुके समूहमा चर्चा निरन्तर चल्यो। रोजगारी र अध्ययन सिलसिलामा विभिन्न देशमा रहेकाको जमातले अधिकारीलाई यसरी हौसला दियो, उनले डेढ महिनामै सयवटा गेडी तयार पारे। रोजगारीका लागि विदेश हान्निएकाहरूलाई गेडीमा यसरी उतारे।

किसानको छोरो म, विदेशमा बस्या छु
पराईको भूमिमा, काममा घुँडा धस्या'छु
रहरै,
बाध्यताले पार्‍यो ठहरै ।।

यी युवा सर्जकलाई हौस्याउनेमध्येकी संखुवासभाको शीतलपाटी-६ की मनु लोहोरुङ केही वर्षदेखि इजरायलमा छिन्। उनले गेडीलाई अर्थ्याइन् - 'सानो आकारको दाना अथवा फलहरूको बिउ। संवाद र नेपाली साहित्यको सानो तर महत्त्वपूर्ण। यसको संरचना र भावतत्वले नामको पूर्णता दिन्छ।' उनका भनाइमा गेडीका विशेषता यसको संरचनात्मक पक्ष हो। टेकेन्द्र गेडीमा बारम्बार म्याद थपिए पनि नबनेको संविधानको अवस्था लेख्छन्।

गोरु पनि ब्याएन, खुसी पनि ल्याएन
शान्ति कता हरायो, त्यसले टुंगो पाएन
तीरैमा,
संविधान, पर्‍यो भीरैमा ।।


थाइल्यान्डको बैंककमा रहेका खगेन्द्र पन्धाक लिम्बूले गेडी परिकल्पना गरे। गएको वैशाख ९ गते फेसबुकमार्फत उनले गेडी विधा परिकल्पना सार्वजनिक गरे। उनीसँग समाजिक सञ्जालमा जोडिएकाहरूले आ-आफ्नै पारामा अर्थ लगाए। लेख्न थाले। साइट, ब्लग र पत्रिकामा प्रकाशनको प्रयास थालियो। कतिले यसलाई नक्कल पनि भनिदिए। उनका शब्दमा कुनै ठेट लोकगीतको नक्कल होइन। तर, यसको संरचनाले झल्को दिन्छ। किनभने नेपाली मौलिकता र नश्ल यसको पृष्ठभूमि हो। 

पन्धाकका भनाइमा यो संरचनाको हिसाबले चतुस्र्पदीय आन्तरिक, मध्यानुप्रासीय तथा अन्त्यानुप्रासीय गेयात्मक लेखन विधा हो । प्रथम र दोस्रो पदको अन्त्यानुप्रास तथा तेस्रो र चौथो पदको अन्त्यानुप्रास मिल्नुपर्छ। उनका आफ्नै सूत्र र तिनका हिसाब छन्। प्रथम पद उठान, दोस्रो कथन, तेस्रो थेगो र चौथो बिट। संग्रहको जमर्कोलाई साकार बनाएर टेकेन्द्रले 'सय पाइला गेडीका' मा प्रेम, विरह, गाउँघर, जागिरे जीवन राम्रैसँग उतारेका छन्। दिक्कलाग्दो राजनीति र भ्रष्टाचारलाई पनि उनले तीखो व्यंग्य कसेका छन्।
 
देश पछि पर्दै छ, कुमतिले साँचो हो 
तल-तल झर्दै छ, सुमतिको खाँचो भो
गरौँ न,
मिलीजुली, भुँडी भरौँ न ।।

नेपाली विषयको प्राध्यापनमा अढाई दशक बिताइसकेका कृष्ण वस्ती भन्छन्, 'टेकेन्द्रका गेडी अनौठा छन्।' वस्तीका शब्दमा 'गेडीको धर्म र मर्ममा कविताका किरणहरू सबैजसो अभिव्यक्तिमा पाइनु प्रशंसायोग्य छ।' उनलाई मन परेको गेडी यस्तो छ - 

डाँडामाथि द्यौराली, हावा चल्यो सिरिरी
मायालुले बोलाको, बजाउँदै पिपिरी
पीपल,
माया भेटे, मनै शीतल ।।

हङकङ बस्ने विष्णुनन्द चाम्लिङ भन्छन्, 'म साहित्यकार होइन, न म गीतको विशेषज्ञ। तर, गेडीलाई लघु गीत भन्न मन लाग्छ।' ४३ वर्षअघि हिमाली साहित्यमार्फत् दिउल काव्यको प्रस्ताव गरेको सम्झेका भाषाशास्त्री बालकृष्ण पोखरेल गेडी पुस्ततकाकार स्वरूपमा देख्न पाएकोमा हर्षित छन्। पहिलो कृतिमै प्रयोगपरक लेखन समेटेका अधिकारी भन्छन्, 'यो फेसबुकमा सिर्जनशीलहरूलाई साथी बनाउन सकेको परिणाम हो। उनीहरू हौस्याइरहे। म लेखिरहेँ।' 

सयवटा उनका लेखोट पुस्तकमा नेपाली युनिकोड फन्टमा छापिएका छन्। किन ? 'युनिकोड तिनै फेसबुक साथीहरूलाई ध्यानमा राखेर हो। संग्रह डिजिटल फाइल पठाउँदा उनीहरूलाई पढ्न सजिलो होस् भनेर हो।'

***
(०६८ भदौ ३१ को कान्तिपुर कोसेलीमा प्रकाशित)