
तल झरेपछि त्यसलाई राखेर तस्बिर खिच्ने काम भयो । २४ कात्तिक २०६८ को घटना थियो यो । अब प्रेमलाई दुविधा भयो- चल्ला त्यही गुँडमा राखिदिने कि, के गर्ने ? उनले घर लिएर आए । यी 'बार्न अउल' भनिने गोठे लाटोकोसेराका बचरा थिए । सायद दुई महिना उमेरका हुँदा हुन् । 'मैले तिनलाई बचाउन सकिनँ,' विष्ट भन्छन्, 'बिरामी परेजस्ता भए । भेटेनेरीका मान्छेलाई सोधेर ओखतीमुलो पनि गरी हेरें । तर, पालैपालो मरे ।' विष्ट लाटोकोसेरोबारेका जानकार होइनन् । प्रहरी सेवामा रहँदा सर्प समात्ने कलाले उनलाई निडर र अर्काका लागि सहयोगी व्यक्तित्व बनाएको छ । जागिरे जीवनको अवकाशपछि अहिले सानो संस्था दर्ता गरी उनी सर्पकै लागि काम गर्छन् । कसैका घर-बारीमा सर्प देखिए उनको फोन बज्छ । गएर समात्छन् अनि सुरक्षित ठाउँमा लगेर छाडिदिन्छन् । 'मैले त्यसरी लाटोकोसेरो ल्याउनु हुँदैनथ्यो होला,' उनी सम्झन्छन्, 'त्यसलाई कुखुराको मासु त खान दिएकै हो ।'
***
भक्तपुरको ख्वप कलेजका वातावरण विज्ञान प्राध्यापन प्रमुख कमलराज गोसाईलाई रुची लाग्ने विषय लाटोकोसेराको जीवनशैली हो । पढाउनेबाहेकका फुर्सद उनी नोटबुक र क्यामेरा बोकेर गुँड खोज्दै हिँड्छन् । स्नातकोत्तर तहको पढाइ सिध्याउने बेला दुई वर्षअघि उनले मान्छे र त्यो निशाचरको द्वन्द्वलाई नजिकबाट अध्ययन गर्न पाए । 'बिजुलीको तारमा स्पोटेड उल (कोचलगाँडे लाटोकोसेरो) बसेको थियो, म त्यसको फोटो खिच्दै थिएँ,' उनी भन्छन्, 'मेरो रुचि देखेर गाउँलेले एउटा लाटोकोसेरोले दुःख दिएपछि मारेर फालिदिएको बताए । म त्यो चोक र घरमा पुगें ।'
भक्तपुरको चोछेस्थित एउटा पुरानो घरमा चारवटा बचरासहित गोठेको वास थियो । आवाज सुन्दा र अनुहार हेर्दा त्रास उत्पन्न हुने त्यो जीव मान्छे आउजाउ गर्दा 'स्वाँ स्वाँ फ्वाँ फ्वाँ' गर्थयो । 'एक दिन मान्छेका बच्चालाई झम्ट्यो भनेर माउ बाहिर निस्किएका बेला चल्ला सबै मारेर चोकमा फालिदिएछन्,' उनले भने, 'अनि घरबेटीले त्यसले गुँड लगाएका ठाउँ पनि टालेछन् ।' तर, त्यसले सजिलै त्यो घर छाडेन । ती घरका मान्छेहरू सिकार गरेर फाल्ने मुसा र त्यसले उकेलेका फोहोरले दुर्गन्ध फैलिएको बताउँथे । गोसाई भन्छन्, 'त्यसले फेरि पटक-पटक गुँड लगाउन खोजेछ ।' तर, घरबेटीले पुनर्बासको प्रयासमा त्यसलाई सफल हुनै दिएनन् । स्नातकोत्तर सिध्याएर आफैं पढेको कलेजमा प्राध्यापन थालेका उनले अझै यस्तो अध्ययन छाडेका छैनन् ।
'त्यसले परेवा सिकार गर्ने अनि जीउ खाएर टाउको फालिदिने गर्यो भनेर गाउँले भन्थे,' उनले भने, 'अझै त्यो एरियामा जाँदा-आउँदा बार्न अउल कराइरहेको सुनिन्छ ।' कमलका अनुसार अहिले पनि उनले भक्तपुर नगरपालिकाका २० स्थानमा यस्ता निशाचरको गुँड गणना गरेका छन् । बासका लागि अलि फराकिलो टोड्को, पुराना घर, अग्ला टुँडाल र छतको शीत छेल्न बनाइने सिलिङ लाटोकोसेरोको यो प्रजातिले बासस्थानका लागि छनोट गर्ने ठाउँ हो । 'साँझ पर्न सुरु भएपछि निस्कन्छ, करिब साढे आठ/नौ बजेसम्म आहारा खोजिसकेर गुँडमा र्फकन्छ,' उनले आनीबानी बताए, 'यसले वर्षमा दुईपल्ट फुल पार्छ । चारदेखि पाँचवटा चल्ला हुर्काउँछ ।'
यसले सिकारमा मन पराउने आहारा मुसा, खरायो, साना लोखर्के आदि हुन् । चराविद्हरूका अनुसार यसका भाले-पोथीले एक वर्षमा सरदर १ हजार ३ सय मुसा सिकार गर्छन् । जब गुँडमा पाँचवटा बचरा हुन्छन्, त्यो बेला चार महिनाको अवधिमा एक जोडीले तीन हजारवटा मुसा खाने गर्छन् । अन्न खाएर नास पार्ने मुसा सफायामा सघाउने भएकाले यो पन्छीलाई 'किसानको साथी' पनि भनिन्छ ।
साना-साना सरिसृप, चरा, चमेरा र कीरा-फट्याङ्ग्रालाई पनि यिनले आहारा बनाउँछन् । खेतबारी र घाँसे मैदानमा यसले सिकार खोज्छन् । सिकारलाई सिङ्गै निल्ने यो पन्छीले पच्न असजिलो भएका आहारा उकेलेर फाल्छन् । आवाज सुन्दा उस्तै मान्छे तर्सिने भए पनि यसको सुनौलो घेरावाल अनुहार अरू प्रजातिभन्दा निकै आकर्षक हुन्छ । मान्छेका जस्तै अगाडि फर्किएका आकर्षक आँखा भएको यो पन्छीले हेर्दा आँखा घुमाउँदैन । मुन्टो नै घुमाउँछ । अरू लाटोकोसेरो जसरी कराउँदैन, बरु यसले घुरेको आवाज आउँछ । यसका धेरै जोडी एकल परिवारमा बसेका भेटिन्छन् । तर, कतै-कतै चराविद्हरूले गोठे लाटोकोसेरोलाई ठूलो समूहमा बसेको पनि भेटेका छन् ।
अन्टार्टिका महादेशमा बाहेक संसारका सबै भूभागमा यो पन्छी पाइने विभिन्न वेभसाइटमा उल्लेख छन् । अमेरिकामा दुई सयवटा वन्यजन्तु पुनस्र्थापना केन्द्र छन्, जसमा लाटोकोसेरोको पनि उद्धार, उपचार र पुनस्र्थापना गरिन्छ ।
***
०६७ चैत ७ गते पोखरा-१३ का राजु आचार्यको फेसबुक भित्तोमा बधाई दिनेको ओइरो लाग्यो । लाटोकोसेराको अध्ययन र संरक्षणमा विशेष योगदान पुर्याएबापत उनलाई अमेरिकाको हस्टन नेचर सेन्टरले 'वल्र्ड उल हल अफ फेम स्पेसल अवार्ड' प्रदान गरेको थियो । अमेरिकाको मिनेसोटामा आयोजित अन्तर्राष्ट्रिय लाटोकोसेरा मेलाको अवसर पारेर उनलाई अवार्ड दिइएको थियो ।
सेन्टरले बर्सेनि लाटोकोसरो मेला गर्दै र यसको अध्ययन तथा संरक्षणमा काम गर्नेलाई हौस्याउन पुरस्कृत गर्दै आएको छ । उक्त अवार्ड पाउने उनी पहिलो एसियाली हुन् । उनको नेतृत्वमा 'प्रकृतिका साथीहरू'ले स्वयंसेवी संस्थाको रूपमा लाटोकोसेरा र मानिसको जीवनबारे अध्ययन गदै आएको छ । उनको समूहले मनाङ र मुस्ताङमा पाइने लाटोकोसेराको जीवनशैली अध्ययन गरिसकेको छ । अवार्ड पाए पनि आचार्यको टिमका काम गराइ फेरिएको छैन । काठमाडौंको बाफलमा सानो कार्यालय खोलेर बसेका प्रकृतिका साथीहरू चेतनामूलक कार्यक्रम लिएर कहिले मनाङ पुग्छन् कहिले चितवन । चितवनको मंगलापुर गाविसमा पर्ने शरणपुरमा गत फागुन तेस्रो साता तीनदिने 'लाटोकोसेरो तथा हुचिल महोत्सव' गरेका आचार्य भन्छन् 'हामीकहाँ जीवजन्तुलाई चाहिने पूर्वाधारमा सरकारी निकाय चनाखो छैन ।' विभिन्न मुलुकले चराका लागि अस्पताल खोलेको सुने पनि नेपालमा सुरु गर्न कतैबाट पहल नभएको उनको गुनासो छ ।
निशाचरको अध्ययनमै १३ वर्ष बिताइसकेका उनी भन्छन्, 'नेपालमा हालसम्म २१ प्रजाति देखिएको रेकर्ड छ । सरकारले संकटापन्न मानेको छैन ।' तर, पन्छी संरक्षण संघले तीन वर्षअघि नै निकालेको सूचीमा लाटोकोसेरोका आठ प्रजाति संकटमा रहेको उल्लेख छ । उक्त सूचीमा बार्न अउल भनिने गोठे लाटोकोसेरोको पनि नाम छ । पर्यावरणीय चक्रमा रात्रि विचरण गर्ने पन्छीहरू वातावरण शुद्धीकरणका सहयोगी हुन् ।
चरा र वन्यजन्तुको अध्ययन-संरक्षणमा लागिपरेकाहरूको अवस्था हामीकहाँ दातृकै भरमा निर्भर छ । सम्बद्ध दाताहरू विभिन्न विषयका गतिविधिका लागि संस्था, व्यक्ति र थेसिसका लागि अनुसन्धानमा लागेकाहरूलाई बजेट दिन्छन् । त्यस्ता बजेट हात परे काम गर्ने, अन्यथा कुरा मात्रै बढी गर्ने बानी यी क्षेत्रका अनुभवीहरूको छ । आचार्य भन्छन्, 'कतैबाट सानो पनि फन्ड जुटाउन सकियो भने काम हुन्छ । नभए व्यक्तिगत वा संस्थागत लगानी गरेर काम गर्ने बानी-हैसियत नेपालीले बनाउन सकेको देखिँदैन ।'
***
लाटोकोसेरोको पहिचान नेपालमा सन् १८२९ मै भएको एकथरी चराविद्हरू मान्छन् । तत्कालीन इस्ट इन्डिया कम्पनीका काठमाडौंका लागि आवासीय प्रतिनधि ब्राइड हड्सनले खोजी गरेको नेपालका संकटापन्न चरासम्बन्धी एउटा प्रकाशोन्मुख पुस्तकमा उल्लेख छ । आचार्य भन्छन्, 'यस्तो तथ्यांक पत्याउन सजिलो होइन । तर, हडसनले नेपालमा पाइने जीवजन्तुका बारेमा निकै खोजी गरेका रहेछन् ।'

इन्टरनेटको विश्वज्ञान कोष विकिपेडियामा बार्न अउलबारेमा विभिन्न तथ्य राखिएका छन् । निशाचरलाई दन्त्य कथासँग जोडेर गरिने वर्णनले यो लाटोकोसेरोलाई तर्साउने चरो भनिए पनि अहिले युरोप-अमेरिकामा शुभसूचक मानेर संरक्षण थालिएका छन् । जन्मको दुई वर्षसम्म धेरै जोखिममा रहने यो पन्छीका हरेक तीन जोडीमध्येका एउटाले मात्रै चल्ला हुर्काउन सक्षम हुन्छन् । ठूला सर्प र बिरालाले यसका बचरा सिकार गर्छन् ।
उड्दा-उड्दै सिकार गर्न सक्ने क्रियाशील लाटोकोसेरोको यो प्रजाति सेतो अनुहारमा सुनौलो घेरा भएकाले संरक्षण र अध्ययनमा लागेकाहरूका लागि अहिले पर्यावरण चक्रमा सुन्दर चराका रूपमा दरिएको छ ।
(२०६९ चैत १७ शनिवार कान्तिपुर कोसेलीको पृष्ठ २ मा प्रकाशित )
No comments:
Post a Comment