प्रथम र दोस्रो विश्वयुद्धसँग नेपालीको कुनै
साइनो छ भने पल्टनमा गएकाहरूले वीरगति पाएका, लडेर फिरेका घटनाहरू हुन्। श्रीकुमारी ४ वर्षकी छँदा उनका पिता इटालीमा
लडाइँका दौरान मारिएका थिए। यो २८ जुलाई १९१४ देखि ११ नोभेम्बर १९१८ को घटना थियो ।
करिब ५ वर्ष चलेको युद्धमा ९९ लाख ११ हजार
सैनिक मारिएको तथ्यांक छ। युद्ध नेपालमा भएको होइन तर पल्टनमा भर्तीको परम्परा
सुरु भएको लहरले नेपाली पनि होमिए । तिनै होमिएका मध्ये थिए कास्की विजयपुर
डिही गाउँका नैनसिंह गुरुङ ।
भारतमा ब्रिटिस शासन रहेका बेला छैटौं गोर्खा रोयल आर्मीमा भर्ती भएका उनी ८ मार्च १९१६ मा मारिए । उनले वीरगति प्राप्त गरेको खबर घरमा आइपुग्दा छोरी श्रीकुमारी ४ वर्षकी थिइन् । २ वर्षअघि नै उनकी आमाको निधन भइसकेको थियो । मामाले उनलाई बोकेर भारतको लेहरा भनिने ठाउँको सेनाको कार्यालयमा लगे । अधिकारीले त्यसबेला आजीवन मासिक १६ रुपैयाँ पाइने पेन्सनपट्टा थमाए । अहिले उनी १ सय ३ वर्षकी भइन् । बुबा नैनसिंहका विषयमा उनले भनिन्, ‘खै कुनै पनि कुरा सम्झन्ना ।’ ४ वर्षको छँदका घटना कसलाई पो संझना हुन्छ र ? त्यसमा पनि वृद्ध शरीर, ऊर्जासँगै स्मरण शक्ति पनि त घट्छ ।
तिनै श्रीकुमारीको बिहे पनि पल्टनेसँगै भयो । कृष्णबहादुर भनिने पतिराम गुरुङले कान्छी पत्नी बनाएर उनलाई भित्र्याए । सेवानिवृत्त भई घर आएर पोखराको मोहरिया टोलमा उनले कपडा पसल खोलेका थिए । पाँच दाजुभाइमध्ये पतिराम जेठा थिए । उनका सन्तान भएनन् । श्रीकुमारीले काइँला मनवर गुरुङका सन्तानलाई हुर्काइन् । मनवरका २ छोरा, २ छोरी थिए । कान्छी छोरी मधु ३ महिनाकी हुँदा मनवरकी पत्नीको निधन भयो ।
सन् १९६४ मा पतिराम दिवंगत भएपछि मनवरका सन्तान नै श्रीकुमारीका सहारा भए । उनको हातमा दुई वटा पेन्सनपट्टा थिए । एउटा पिताको, अर्को पतिको । पिताका तर्फबाट पाउँदै आएको पेन्सन २००७ मार्चबाट रोकियो । अधिकारीहरूले प्रथम विश्वयुद्धको पेन्सन दिन नमिल्ने तर्क गरे । अगाडि लिएको करिब ५ लाख ५० पनि फिर्ता गर्न भने ।
मनवरका जेठा छोरा तेजबहादुरले भारतीय पेन्सन कार्यालयमा ४ दशक जागिर खाएका थिए । उनले आफ्नी ठूलीआमाको पेन्सन रोकिनुको कारण खोजी गरे । ‘भारत छाडेर जाने बेला भारत, ब्रिटेन र नेपालका अधिकारीबीच एउटा सम्झौता भएको रहेछ,’ ७७ वर्षीय तेजबहादुर भन्छन्, ‘प्रथम विश्वयुद्धमा मारिने र घाइते हुनेको निवृत्तिभरण भारतले गर्ने, अनि दोस्रो विश्वयुद्धमा भारतको भारतले, ब्रिटिस सेनाको ब्रिटिसले नै गर्ने सम्झौता रहेछ ।’ पेन्सनमा पनि दोस्रो विश्वयुद्धताका सेवानिवृत्त, मारिएका र घाइते भएकाको हकमा आजीवन पेन्सन दिने नियम परिवर्तन गरिएको थियो।
श्रीकुमारीको वारेसनामा लिएर तेजबहादुर अलाहावाद अदालत पुगे । ‘धेरै धाएपछि अदालतले आमाले आजीवन पेन्सन पाउने नियम संशोधन गर्ने अरू कुनै नियम नदेखिएको भनेर २०१० फरवरीमा अदालतले पाउने पक्षमा फैसला दियो,’ उनले भने, ‘तर, सिभिल कोर्टमा त्यो मुद्दा छिनोफानो नहुने रहेछ, त्यसले लखनउको डिफेन्स कोर्टमा मुद्दा सारिदियो ।’
धेरै धाएपछि डिफेन्स कोर्टले ११ अप्रिल २०१६ मा श्रीकुमारीको पेन्सन रोक्न नमिल्ने फैसला मात्रै दिएन उनको पेन्सन रोक्ने अधिकारीहरूको पारिश्रमिकबाट करिब १ लाख जरिवाना हुने पनि ठहर गर्यो । साथमा मुद्दाको फैसलामा न्यायाधीश डीपी सिंह र एयर मार्सल अनिल चोपडाले वयोवृद्धलाई दु:ख दिनु मानवताको अपमान भएको भन्दै कवि सीबी ल्याङ्स्टनको ‘ओल्ड एज’ कविता पनि समावेश गरे । अहिले पेन्सन नियमित छ । श्रीकुमारी आफ्ना देवरकी छोरी मधुसँग बस्छिन्।
‘आमाले मुद्दामामिलाको लामो चक्करमा नलागौं, छाडिदिऊँ भन्नुभएको हो, दाजु मान्नु भएन,’ मधु भन्छिन्, ‘अधिकारको कुरा छाड्न हुँदैन भन्नुभयो र लागिरहनुभयो । त्यसैले मुद्दा जित्न सकियो ।’ पोखरास्थित भारतीय पेन्सन कार्यालयबाट पेन्सन पाउनेहरू ६५ हजार जनाको हाराहारीमा छन्। तिनमा प्रथम विश्वयुद्धमा मारिएका पिताको पेन्सन पाउने श्रीकुमारी एक्ली हुन् ।
भारतीय सेनाको रिटायर्ड कर्नेल कमलसिंह गुरुङ भन्छन्, ‘पेन्सनका लागि हैरानी धेरै छन् । ऐनले जे बोलोस् पेन्सन दिने अधिकारीहरू बेग्लै नियम बनाउँछन् ।’ श्रीकुमारीको रोक्का भएको पेन्सन पुन: सुचारु गराउन ऐन र प्रक्रिया बुझेका तेजबहादुरकै कारण मात्रै सम्भव भएको उनले बताए । ‘रिटायर्ड जीवनमा कोर्ट कचहरी गर्नुपरे पल्टनेले प्रक्रिया नै छाडिदिन्छन्,’ उनले भने, ‘तर, तेजबहादुर दाइको निरन्तरताले यो सम्भव भएको जस्तो लाग्छ ।’ श्रीकुमारीसँग न पिताको फोटो छ, न कुनै सम्झना तर पेन्सनले यी वृद्धालाई पिता सम्झाइरहन्छ।
(कान्तिपुर दैनिकमा २४ भदौ २०७३ मा ९ पृष्ठमा
प्रकाशित)
समाचार सुत्र
तेजबहादुर दाइ एक दिन मेरो अफिस आउनुभएको
थियो । त्यो दिन अरू पनि कामको चाप थियो । मुद्दाका सबै कागजात बोकेर आएका
बृद्धसँग धेरैबेर गफिन पाइएन । त्यसैले 'फुर्सद मिलाएर म आफैं भेट्न आउँछु' भनेर
पठाएँ । अर्को दिन बिहान म उहाँको घर पुगेँ ।
पोखरामा रंगशालातिरबाट अमरसिंह चोक नपुग्दै
उत्तरतर्फ लाग्ने मोड रक्षामार्गस्थित घर पुगियो । टीबी गुरुङ भनिने यी बृद्ध त्यहाँको
टोल संगठनका अध्यक्ष पनि हुनुहुने रहेछ । समाचार आओस् भन्ने चाहनाको कारण रहेछ
-'पेन्सन रोकिँदा रोकिनुको कारण खोजेर मुद्दा लड्न हिचकिचाउन नहुने संदेश दिनु ।'
करीब २ घण्टा गफियो । कागजात हेरियो ।
लखनउको डिफेन्स कोर्टले दिएको फैसलाको कपीमा
एउटा अनौठो लाग्ने कुरा कवि सीबी ल्याङ्स्टनको 'ओल्ड एज' कविता पनि थियो । त्यो
कवितामा बृद्धावस्था कति गाह्रो छ भन्ने लेखिएको छ । टीबी दाइकी बडिआमा श्रीकुमारीलाई
रामबजारमा भेट्न गइयो । उहाँ निकै उमेर भएका कारण धेरै सुर नपाउने भएसक्नु भएछ ।
बोल्दा गुरुङ भाषा बोल्ने । केही सोध्न परे आफूले सोध्यो, टीबी दाइ र उहाँकी बहिनी
मधुले अनुवाद गरेर भन्दिने । जे होस् कुराकानी भयो । गण्डकी मेडिकल कलेज र भारतीय
दुतावासबीच गत वर्ष एउटा सम्झौता भएको थियो । भारतीय सेनाका पेन्सनरलाई
स्वाथ्योपचार सेवा दिने बारे । त्यो बेला दुतावासका एकजना कर्नेलसँग भेट भएको थियो
। उनले पश्चिमाञ्चलमा मात्रै पेन्सनर नेपालका अन्य भेगभन्दा धेरै भएको बताएका थिए
।
बीचमा एक दिन रिटायर्ड कर्नेल पोखराको
माटेपानी बस्ने कमलसिंह गुरूङसँग भेट भएको थियो । भेटमा उहाँले पेन्सनका नियमहरू
सरकारले एकथरि बनाएपनि सम्बद्ध अधिकारीले नियममाथि नयाँ नियम बनाएर दिने झन्झटका
बारेमा बताउनु भएको थियो । त्यसैले श्रीकुमारीका कुरा २ कारणले रोचक थिए - १.
प्रथम विश्वयुद्धसँग सम्बद्ध । २. रोकिएको पेन्सन सुचारु गराउने अदालती आदेश र
कविता ।
यो समाचारका प्रमुख सुत्र टीबी दाइको कहानी
आफैंमा पृथक थियो । आफ्ना सबै फौजमा भर्ती गएपनि उनी भर्ती गएनन् । पछि बरू भारतीय
पेन्सन क्याम्पमै जागिरे भए । ४० वर्ष सह-कोषाधिकारी भएर जागिर खाएपनि उनले पेन्सन
पाएनन् । पेन्सन पाउनु पर्छ भनेर आफूजस्ता ४०/४२ जना कर्मचारीका तर्फबाट भारतीय
अदालतमा मुद्दा हाले । निकै वर्ष धाए । हारे । २ भाइ छोरा सानैछँदा श्रीमतीले छाडेर गइन ।
दोस्रो बिहे गरेनन्, छोरा हुर्काएर बसे । टोलमा विकासका काममा अघि अघि रहे । जे भए
पनि सीमित आकारमा कुरा श्रीकुमारीकै लेख्नुपर्ने थियो । लेखियो ।
यहाँनेर नौलो के थियो भने प्रथम विश्वयुद्धमा
मारिनेको पेन्सन परिवारका सदस्यले आजीवन पाउने । दोस्रो विश्वयुद्ध र त्यसपछिका
पेन्सनरका परिवारमा श्रीमती वा छोराछोरीले बालिग हुञ्जेलमात्रै पाउने नियम । टीबी
दाइका करीव एक डोका कगजपत्रमा केही हेरियो, केही हेरिएन । कुरा जति बुझियो, त्यति
नै समाचारमा लेखियो ।
मलाइ अंग्रेजी भाषाका कविहरूबारे त्यति जानकारी छैन । सीबी ल्याङ्स्टनका कविता बारे थाहा पाउन मैले केही जानकारलाई फोन गरेँ, जसजसलाई अंग्रेजी भाषाका कविताबारे थाहा होला भन्ने लाग्यो । केहीले खोजेर बताउने जवाफ दिए, केहीले ल्याङ्स्टन ह्युज हुनुपर्ने जवाफ दिए । तर, मलाइ कविता बारे धेर लेख्नु थिएन । तैपनि गुगल सर्च गरियो । त्यसले कवयित्री ल्याङ्स्टन बारे देखायो, उनका कविताको संग्रह पनि देखायो ।
Armed forces tribunal regional bench, Lakhnow को फैसला कपीमा बृद्धाको पेन्सन रोकेर आमाको अपमान गरिएकाले रोक्नेबाट एक लाख क्षतिपूर्ति अदालतमा जम्मा गर्नुपर्ने उल्लेख थियो । आमालाई कति गाह्रो छ, बृद्धावस्था कति असजिलो हुन्छ भन्ने जनाउन फैसलामा कविता पनि समावेश थियो । श्रीकुमारीको अवस्थाका हिसाबले पेन्सन आउनु/नआउनुले खासै महत्व राख्ने अवस्था थिएन । तर, अधिकार लिन लड्न पर्छ भन्नेमा टीबी दाइको अडान उचित नै लाग्यो ।
कुरा धेरै खालका थिए । श्रीकुमारी, उनका पिता, प्रथम विश्वयुद्ध, तेजबहादुरले नछाडेको अधिकार लिने मुद्दा, पेन्सनका प्रक्रिया । लेख्नका लागि प्रथम विश्वयुद्ध बारे पनि खोजेर पढियो । १९१४ देखि १९१९ सम्म भएको प्रथम विश्वयुद्धको २० वर्षपछि नै दोस्रो विश्वयुद्ध भएको रहेछ । एउटा लेखमा भेटियो, पहिलो विश्वयुद्ध सुरु गर्न जिम्मेवार जर्मन रहेको त्यहाँका इतिहासकार फ्रित्ज फिसरले लेखेका थिए । यसका लागि उनले निकै आलोचना खेप्नु पर्यो । इतिहासका केलाउनुपर्ने कुरा धेरै रहेछन् । तर, समाचारमा सबै लेख्न भएन । सीमित शब्दमा श्रीकुमारीकै मुद्दामा केन्द्रीत हुनु थियो । भइयो ।
कुरा धेरै खालका थिए । श्रीकुमारी, उनका पिता, प्रथम विश्वयुद्ध, तेजबहादुरले नछाडेको अधिकार लिने मुद्दा, पेन्सनका प्रक्रिया । लेख्नका लागि प्रथम विश्वयुद्ध बारे पनि खोजेर पढियो । १९१४ देखि १९१९ सम्म भएको प्रथम विश्वयुद्धको २० वर्षपछि नै दोस्रो विश्वयुद्ध भएको रहेछ । एउटा लेखमा भेटियो, पहिलो विश्वयुद्ध सुरु गर्न जिम्मेवार जर्मन रहेको त्यहाँका इतिहासकार फ्रित्ज फिसरले लेखेका थिए । यसका लागि उनले निकै आलोचना खेप्नु पर्यो । इतिहासका केलाउनुपर्ने कुरा धेरै रहेछन् । तर, समाचारमा सबै लेख्न भएन । सीमित शब्दमा श्रीकुमारीकै मुद्दामा केन्द्रीत हुनु थियो । भइयो ।
No comments:
Post a Comment