Friday, December 3, 2010

पिप्ली लाइभको झल्को

हभागी निस्कन भ्याउदैनन्, तानातान सुरु । 'यता आउनुस न यता । ल ल रेडी, अ भन्नुस त के भयो आज -' आमिर खानले बनाएका बहुचर्चित हिन्दी चलचित्र 'पिप्ली लाइभ' को झल्को दिने यो दृश्य कुनै नाटक वा सिनेमाको होइन । पिप्ली लाइभका पात्र नत्थाको गाउमा आत्महत्याको हल्लाका पछि लागेर च्यानलकर्मी दृश्य थियो । त्यहाँ लाइभ चलाउने ओभीभ्यान देखिन्थे । खोजी र चासो गर्ने पत्रकारको बानी उस्तै । 

बान्की मिलोस् नमिलोस् । कामको चिन्ता । यहाँ त्यस्तै झल्को दिने खालका दृश्य । फरक, यो गाउँमा नत्थाजस्ता पात्रमाथि आधारित भएर भीड आएको होइन । न त सेटलाइटका रिफ्लेक्टर जडित ओभीभ्यान छन् । 

रूखको आडमा ठड्याइएका बाँसमा इन्टरनेट कनेक्टर डिभाइस लागेका छन् । तीनमा रातो, पहेँला र हरियो रंगका साना बत्तिजडित इण्डिकेटर प्लीक प्लीक गरिरहेका छन् । मुन्तिर कतै डेस्कटप कतै ल्यापटपमा व्यस्त हातहरु । बेला बेला बोली सुनिन्छ । बेला बेला संकेतको भाव । क्यामेराको एङ्गल मिले नमिलेको इसारा । एउटाले बोल्दै गरेको आवाजले अरुलाई बाधा परेको छ । तर, चिन्ता परेको देखिन्न । 

भीड बीचबाट झिकेर एकातिर नेता ल्याइन्छ, अर्कातिर टीभी क्यामेराका अघि बोल्लानजस्ता लागेका सहभागी । टेलिभजन च्यानलको तँछाड मछाड । गोरखाको पालुङटार गाविसस्थित तान्द्राङटारमा भएको माओवादी छैटौं विस्तारित बैठकस्थल बाहिरका सम्झना हुन् । एक साता बितेको छ । अब सम्झना नै भन्नु उपयुक्त हुन्छ । 

काम विशेषले राजधानी हान्निएका बेला त्यहाँ जाने जिम्मेवारी आयो । ठाउँ देखिने, स्वाद फेरिने । सञ्चारकर्ममा नौलो ठाउँ पुगेर त्यहाँको रिर्पोटिङ अवसर पनि हो । त्यस्तै भयो । सुनसरी सदरमुकाम इनरुवाबाट वराहक्षेत्रको चतराघाट वा विराटनगरबाट लेटाङ बजार सम्झिएजस्तो लाग्यो पालुङटार गाविस । 

एउटै जिल्लाभित्रको गाविस पनि सदरमुकामबाट अलि असजिलो बाटो काटेर जानुपर्ने । जे होस, एकीकृत माओवादीले यहाँ गरेको छैटौं विस्तारित बैठकले सञ्चारमाध्यमको ध्यान खिच्यो । नखिचोस् पनि कसरी ! संविधानसभा चुनावमा सबैभन्दा धेरै सीट जितेको पार्टी । एक दसकदेखि मिडियालाई बारम्बार हिन्दी मसला सिनेमाजस्तो मसला समाचार दिइरहने दल । जे होस, पालुङटारको त्यो पाखोमा विद्युतीय र छापा माध्यमका पत्रकारको घुइँचो भयो ।

पालुङटार गाविस तनहुको तुरतुरेबाट करिब १२ किलोमिटर पूर्व-उत्तरमा पर्ने रहेछ । गोरखाको पुरानो एयरपोर्ट भएको गाउँ । 'तनहुँको तुरतुरे जाने स्थिति भएको अवस्था विद्यमान हो । मौका मिले दुलेगौंडा जाने पनि पार्टीको विचार छ ।' एक जना मित्रको फेसबुक स्ट्याटस यस्तो थियो । पढेपछि हाँस उठ्दो । अनि जिज्ञासा पनि हुने खालको । उनले राखेको स्टाटसका बारेमा त्यहीँ पुगेपछिमात्र ज्ञात भयो । मुग्लिनबाट पोखरा जाने बाटामा तुरतुरे र दुलेगौंडा दुवै पर्ने रहेछ ।

म साथीहरुसँग डुम्रेमा बास बसेँ । अनि बैठकस्थलमा कार्यक्रम चलुञ्जेल धाएँ । माओवादीका केही कुरा नौला, केही असजिला र केही हाँस उठ्दा लागे । अनि केही अरुले अनुसरण गरे हुन्थ्यो जस्तो । खबरका कुरा नगरौँ, जो छापा र विद्युतीय माध्यममा आएर बासी भइसकेका छन् । 

बैठकस्थल तान्द्राङटारमा थियो । पालुङटार गाविसको सानो बजार ठाटीपोखरीबाट २० मिनेट पैदल दूरिमा पर्ने । नेता सबैजसो ठाटीपोखरीका घरहरुमा बास बसेका थिए । कार्यकर्तालाई भेटेसम्म गाउँलेका घरमा बास, नभेटे त्यहाँको विद्यालयमा बसाइएको रहेछ । 

बैठक चलुञ्जेल त्यहाँको स्वास्थ्य चौकीमा दिनहुँ डाक्टर हाजिर थिए । उपचारका लागि आउनेलाई बाधा थिएन । स्वास्थ्य चौकीले पनि उपचार सेवा जारी रहेको जनाउ दिन रातो तुलमा लेखेर झुण्ड्याएको थियो ।

बैठकस्थलको ५०० मिटर पर पर्यवेक्षक र सञ्चारमाध्यमका गाडी पार्किङ गर्नुपर्ने थियो । अध्यक्ष प्रचण्डको प्राडो गाडी सिधै बैठकस्थल प्रवेश पाउथ्यो । अन्य नेता र लडाकु शिविरका गाडी बैठकको द्धार नजिक पार्किङ गर्न दिइएको थियो । सञ्चारकर्मीले बैठकको पहिलो र समापनका दुइ दिनमात्र सो ठाउँमा प्रवेश पाए ।

टेलिभजनहरुले बाहिरै बसेर लाइभ र रेकर्ड चलाइरहे । रेडियोकर्मीले मोबाइलबाट लाइभभन्दै बैठकस्थल बाहिर भेटिएकासँगका कुरा बजाए । छापामाध्यमका पत्रकारले नेता-कार्यकर्ता बैठकबाट बाहिरिदा पछ्याएर कुरा गर्दै समाचार लेखिपठाए । अनधिकृतलाई बैठकस्थलमा प्रवेश निषेध थियो । मोवाइल, क्यामेरा र रेकर्डर लैजान मनाही भए पनि सहभागी कतिले बाहिर ल्याएर रेकर्ड सुनाउथे । तस्बिर देखाउँथे । भित्र के भयो बताउदा गर्व महसुस गर्थे । नेताहरु बन्द सेसनमा भएका कुरा भन्न नमिल्ने भन्दाभन्दै वास्तवमा 'त्यसो भएको नभइ यस्तो भएको' भन्दै बताउँथे ।

संविधानसभा निर्वाचनमा धेरै सीट ल्याएका नाताले ठूलो पार्टी भएपछि माओवादीमाथि सबैको ध्यान हुनु अस्वाभाविक थिएन । तर, सो पार्टीले सूचना दिने प्रणाली व्यवस्थित गरेको देखिएन । जति कडाइ भने पनि भित्र भएका कुरा जस्ताको तस्तै बाहिर आउँथ्यो । जुन नेताका पक्षमा कुरा मिडियालाई दिन मन लाग्थ्यो परिचालित मान्छेहरु सोही अनुसार काम गरेका देखिन्थे । 

अहिले पालुङटार बैठकको समीक्षा भइरहेको अवस्था छ । नेताहरुले जे भनुन बजेट ल्याउन नदिन सदनमा गरेको तोडफोडको हंगामापछि पार्टी कता जान्छ र के गर्छ सबैका आँखा उनीहरुलाई पछ्याइरहेको अवस्था छ । यो पाटो समीक्षककै लागि छाडे पनि सात हजार सहभागी भए भनिएको बैठकमा कतै झगडा भएको सुनिएन । राजनीतिक दलकै कार्यक्रम भएपनि त्यसका लागि पालुङटारमा सडक खनिए । पानी पुर्‍याइयो । बिजुली पुग्यो र दुरसञ्चारको क्षमता थप गरिएको रहेछ । 

यद्यपि त्यहाँ निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायकको एउटा लाइन बाहेक इन्टरनेटको सुविस्ता थिएन । एनसेल र टेलिकमको सीडीएमएबाट पनि भने जति ब्याण्डविथ उपलब्ध थिएन । मेल चल्थ्यो । ठूला फाइल एटेचमेन्ट लिँदैनथ्यो ।

बाहिर चौरमा घाम ताप्दै उज्यालोमा आफ्नै अनुहारमात्र ऐना जसरी देखिने ल्यापटपको मोनिटर अघि घोरिनु एक साता दैनिकी बन्यो । बान्की नमिलेका तर, तिखा स्वर भएका टेलिभिजनकर्मीका अनुहार हेरेर भन्न केही मिल्ने अवस्था थिएन । मानौँ कुनै विशेष घटना भएको छ । त्यसरी उनीहरु चिच्चयाइ-चिच्याइ 'लाइभ'मा बोलिरहेका देखिन्थ्यो ।

आफूलाई समाचारजन्य तस्वीर मेल गर्न निकै असजिलो भए पनि काम चल्यो । दिनभरिमा पटक-पटक लाइभ चलाउने सञ्चारकर्मीहरुको तँछाड मछाड एक साता चलेको तान्द्राङटारमा अहिले फेरि कुनै च्यानलकर्मी फिरेका छैनन् होला । त्यहाँबाट फिरेर आएपछि अब कतै टेलिभिजनकर्मीले खिचिरहेको वा 'स्ट्याण्डअप' दिन उभिएको देखे तान्द्राङटार सम्झाइरहनेछ ।  

Saturday, November 13, 2010

धेरै सोचेर समस्यामा

विवाहका तीन वर्षपछि आफ्नो यौन क्षमतामा कमी आएको शंका गर्दै धरानका सगुन राई (छद्म नामथर) उत्तेजक औषधि खोज्दै विभिन्न क्लिनिक र सडक छाप चिकित्सकहरुकहाँ धाउन थाले।

पत्नीसँग संसर्ग सुरु नगर्दै वीर्य स्खलन भएर सधैं आजित भएका उनले क्लिनिक पुगेर सोध्ने गरेका थिए, 'सेक्सको समयलाई कम्तीमा एक घण्टा कायम राख्ने औषधि छ ? यौन क्षमता बढाउन अरु उपाय के के छन् ?' औषधि बिक्रेताले आधा दर्जन ब्राण्डका औषधि देखाएर यौन दुर्बलता कम गर्ने नाममा जे उपलब्ध छ त्यही दिएर उनलाई पठाए। क्लिनिकबाट ल्याएको औषधिले उनको समस्या समाधान भएन। झन् चिन्ता थपियो।
 
पत्नीबाट उनले नपुंसकको संज्ञा पाउन मात्र बाँकी थियो। यौन सन्तुष्टि आफूले दिन नसके जीवनसंगिनीको परायासँग सम्बन्ध बढला भन्ने पीरले मनमा घर गर्‍यो। धेरै दिन भौँतारिए। अन्ततः केही सातापछि एक दिन धरानकै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक रोग विभागमा पुगे। त्यहाँ परामर्श लिएपछि भने उपचार भयो। उनी मानसिक रुपमा शीघ्र पतनको सिकार भएका थिए।
 
परामर्श र साधारण औषधिकै भरमा चिन्तामुक्त भएपछि उनी भन्छन्, 'भन्न नहुने, नभनी पनि नहुने यस्ता समस्या धेरैका होलान्।' उनले भनेजस्तै छ समाज। यौनका कुरा गर्न धक मान्छ। समस्याबाट आजित भएपछि बाहिर नआउने भन्ने कुरा त छैन आखिर। क्लिनिक, नर्सिङ होम र अस्पताल लगायतका सबैजसो उपचार केन्द्रमा यौन विशेषज्ञ सजिलै उपलब्ध छैनन्। सडकमा पसल थापेर यौन शक्तिवर्धक ओखती पाइन्छ भनी माइक लगाउनेका वरपर झुम्मिने भीडमा सगुनजस्ता धेरैले समस्याको निदान पाउने आस गरिरहेका भेटिन्छन्। 

सडकमा बसेका झोले क्वाकले दिएका ओखती र सल्लाहको भरमा धेरै दम्पती यौन दुर्बलताको उपचार गर्नबाट बन्चित भएका छन्। कतिपय त भारतको जोगबनी, सिलिगुडीसम्म पनि जाने गरेका छन्। लुकीलुकी हेरिने नीलो चलचित्रमा देखाइएजस्तो क्रिडाको क्षमता किन नभएको होला भन्दै मनमा कुण्ठा पाल्नेहरु विस्तारै मनोविमर्शकर्तातर्फ परामर्शमा अग्रसर भएका छन्।
 
प्रतिष्ठानको मानसिक रोग विभागमा सगुनको भन्दा अलिक फरक घटना लिएर एक दम्पती आए। उमेरले भर्खरै ३० नाघेका उनीहरुको समस्या थियो- पत्नीको यौन चाहना एकाएक घट्यो। विवाह गरेको एक दसक बित्यो। दम्पतीमध्ये एक जनामा यौन इच्छा हराउन थालेपछि अर्कालाई चिन्ता लाग्नु स्वाभाविक थियो। पत्नीको चाहनामा कमी मात्र आएन, पतिलाई अस्वाभाविक लाग्ने सल्लाहसमेत दिन थालिन्। बिपी प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख प्राडा प्रमोद स्याङवाकहाँ आएका उनीहरुले समस्या सुनाए। संसर्गका बेला पत्नी भन्थिन्, 'मलाई चाहना छँदैछैन, दुख्छ। बरु, पैसा दिन्छु बाहिर कतै गएर तिम्रो यस्तो इच्छा पुरा गर।' यस्तो सल्लाह दिने गरी पत्नीमा शारीरिक र मानसिक रुपमा केही न केही गडबडी छ भन्ने लागेर उनीहरु मानसिक रोग विभागमा सुटुक्क समाधानको उपाय खोज्दै आएका थिए।

'उनीहरुको पारिवारिक-समाजिक परिवेश अध्ययन गरियो, अनि जाँच गर्न लगाइयो,' डा. स्याङ्वाले भने, 'योनीमा इन्फेक्सन थियो। त्यसैले त्यस्तो भएको रहेछ।' महत्त्वपूर्ण अंगमा हुने कुनै पनि संक्रमणले मान्छेको प्राकृतिक बानीमा फेरबदल हुनसक्ने उनले बताए। उपचारपछि उनीहरु फिरेका छैनन्। अस्पतालको बुझाइमा उपचार पाएकाले अब उनीहरु पुनः शिकायत लिएर आउने छैनन्।

खुला उपभोक्तावादी समाज, सहरिया जीवनशैली, चलचित्र, खानपान र रात्रिजीवन आदिको प्रभावले युवायुवती र दम्पतीले यौनलाई सुख-आनन्द दिलाउने प्रमुख शक्तिका रुपमा मानिरहेको अवस्था छ। तर, विभिन्न कारणले धेरैलाई सुखद अनुभव नभएका अवस्था पनि छन्।  जैविक, मनोवैज्ञानिक, सामाजिक, परिवारिक, धार्मिक, परम्परा र संस्कृतिलगायत जेसुकै मूल कारक हुन्, पीडितहरु भन्न नचाहेरै पनि शक्तिवर्धक अवस्थाको खोजी गरिरहेको डा. स्याङबा बताउछन्। भन्छन्, 'यौन क्षमता कति हो भन्ने नै थाहा नपाएका कारण धेरै दम्पतीहरु अनावश्यक मानसिक तनावमा पनि पर्ने गरेका छन् । यस्ता दम्पतीहरु धेरै छन् समाजमा।'

उनको बुझाइमा यौनउत्तेजना बढाउने औषधि, विधि र प्रक्रियाको खोजी आधुनिक समयमा मात्र भएको होइन, मानव सभ्यताको प्रारम्भदेखि नै यस्ता खोजी हुँदै आएका छन्। पछिल्लो समय जीवनलाई आनन्द र सुख अनुभव गराउने मुख्य कार्य मान्न थालिएपछि बढी वैज्ञानिक अध्ययन-अनुसन्धान भएका छन्। उनका अनुसार यौनलाई विज्ञानले पनि आधारभूत शारीरिक आवश्यकतामा राखेपछि सन्तुष्टि पाउनका लागि के गर्न सकिन्छ भनेर झन धेरै उपायका खोजी पनि भएका छन्।
 
यौन क्रिया मानिस त के कुनै पनि जीवजन्तु, पशुपक्षीको अस्तित्व नै नहुने यथार्थ एकातर्फ छँदैछ। अर्कातिर सन्तान उत्पादनका लागि मात्र भन्दा पनि चरम आनन्द लिने बानी परेकाहरु धेरैलाई दुर्बलताको कमजोरीमा परामर्श र उपचार सेवा लिइरहेको भेटन सकिन्छ। जुन जीवमा यौन दुर्बलताको असर पर्छ त्यसको वंश वा प्रजाति कुनै पनि बेला समाप्त हुने विषयमा वैज्ञानिकहरु पनि सहमत छन् । प्राणीमा यौन क्षमता प्रकृतिले नै दिएको हो। 
०००
यौन क्रियालाई सरल रुपले बुझने हो भने यो जटिल मानवीय व्यवहार भएको मनोविमर्शकर्ताहरुको भनाइ छ। यौनलाई सहज, आनन्ददायक, सुखदायक र दम्पतीको लागि सर्वस्वीकार्य बनाउन मानवीय शरीरको स्नायु प्रणालीदेखि समाज, धर्मसंस्कृति, रीति, खानपान, रहनसहन, समय र सान्दर्भिकताबीच सामान्जस्यता हुनुपर्ने उनीहरु बताउँछन्।
  
प्रकृतिले मानिसलाई यौन क्षमताले भरिपूर्ण बनाएपनि विभिन्न जैविक, सामाजिक, पारिवारिक, धार्मिक कारणले दुर्बल बनाउने गरेको छ। यौन दुर्बलताका कारणहरु बारे डा. स्याङबा भन्छन्, 'यौन दुर्बलता निम्ताउने प्रमुख कारणमा स्नायु प्रणालीको अहम् भूमिका हुन्छ। जसरी हाम्रो ब्रेनमा भोक प्यास, निद्रा थाहा पाउने स्नायु केन्द्रहरु हुन्छन्, त्यस्तै यौन चाहना कायम राख्ने हाइपोथेलामस स्नायु प्रणाली हुन्छ।' हाइपोथेलामस स्नायु प्रणालीमा कुनै कारणले क्षति पुगेमा यौन दुर्बलता देखिने उनी स्पष्ट पार्छन्। त्यस्तै शरीरको स्नायु प्रणालीमा विपरीत लिङ्गीप्रति आकर्षित हुने केन्द्र पनि हुन्छन्। ती केन्द्रमा पनि क्षति पुगेमा पनि यौनाकर्षणमा कमी हुने उनले बताए।
 
मेरुदण्डको पेरीफेरल सेन्ट्रल नर्भस सिस्टममा कुनै प्रकारको आघात परेर क्षति पुगेमा पनि यौन क्षमतामा कमी आउँछ। यी बाहेक अरु पनि कारणहरु हुनसक्छन्। यौनका बारेमा खुला समाज र बन्द समाजको प्रभावले पनि यौन क्षमतामा असर पर्ने गरेको छ। मनोवैज्ञानिक अध्ययनअनुसार खुला समाजमा यौनलाई सामान्य र सकारात्मक प्रक्रियाका रुपमा लिने गरिएकाले स्वतन्त्रता बढी छ। यसले यौन चाहना र क्षमतामा वृद्धि हुन्छ भने बन्द समाजमा पाप, घृणित काम, व्यभिचारीको रुपमा लिइने भएकोले यौन आनन्द लिएपछि पनि कतिपय अवस्थामा आत्मग्लानि भएको महसुस गर्दै मानिसहरु बाँच्न बाध्य छन्।
 
डा. स्याङबा भन्छन्, 'घर पारिवार र समाजको वातावरण अति धार्मिक परिवेशको भएमा पनि व्यक्तिको यौन क्षमतामा कमी आउन सक्छ। धार्मिक प्रवृत्तिका मान्छेले यौनलाई सामान्यतया सन्तान उत्पादनका माध्यमको रुपमा मात्र हेर्छन्। आनन्दका लागि होइन भन्ने संकुचित दृष्टिकोणका प्रभावले कतिपय अवस्थामा यौन क्षमता घट्न सक्छ।' यस्तै, महिला र पुरुषमा कुनै प्रकारको मानसिक आघात परेको बेला पनि यौन चाहना वा क्षमतामा कमी आउने गरेको उनी बताउँछन्। संसर्गका लागि परिपक्व हुनअघि नै बलात्कृत भएमा वा यौन दुर्व्यवहार खेपेका महिलामा पनि यौन चाहना कम हुने विभिन्न अनुसन्धानले देखाएको प्रसङ्ग कोट्याउँदै डा. स्याङबाले बताए, 'त्यस्ता महिलाले जिन्दगी भरि पुरुषलाई विश्वास नै गर्दैनन्। कतिपयमा यौनलाई हेर्ने दृष्टिकोण पुरै नकारात्मक भएको हुन्छ।'

शारीरिक-मानसिक तनाव भएको बेला पनि व्यक्तिमा यौन दुर्बलता उत्पन्न हुन्छ। नवविवाहित वा पहिलोपटक यौन सम्पर्क गर्दा विभिन्न डर त्रास, हतार आदिको कारण चाडै वीर्य स्खलन हुनु स्वाभाविक मानिन्छ। तर, यही घटनालाई लिएर कुनै पुरुषले आफ्नो शारीरिक कमजोरी मान्न थाल्यो भने त्यसले उसलाई अनावश्यक तनावतिर डोर्‍याउँछ। एक दुईपल्ट यौन सम्पक गर्दा शीघ्रपतन भएमा आफूलाई नपुंसक सम्झन थाल्दा यौन साथीले पनि थोरै मात्र प्रतिक्रिया दिनाले त झन समस्या बढाउने गरेको छ। 

चिकित्सकहरु यस्तो समस्यालाई प्रिमाच्योर इज्याकुलेसन भन्छन्। यौन साथीलाई पनि पुरुषमा हुने कतिपय यस्ता क्रियाहरु बारे थाहा नपाएर साँच्चै नै यौन सन्तुष्टि नदिने हो की भन्ने अन्धविश्वासले तत्काल प्रतिक्रिया जनाउने गर्छन्। जसले थप यौन दुर्बलता मात्र होइन मानसिक तनाव र चिन्ता बढाउन मद्दत गर्ने गरेको मनोचिकित्सकको भनाइ छ। 
यौन क्षमतालाई बढाउन र कायम राख्न जैविक पक्षको मात्र सुधार गरेर हुँदैन। सबैभन्दा पहिले त स्वस्थ रुपमा मनोवैज्ञानिक तयारी हुनुपर्छ। जैविक स्वस्थतासगै सामाजिक, मनोवैज्ञानिक, पारिवारिक वातावरण स्वस्थ भएमा स्वतः यौन क्षमता कायम रहने मनोवैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ।

***
(कान्तिपुर कोसेलीको २०६७/०७/१३ को पूर्वाञ्चल संस्करणमा  प्रकाशित प्रदीप मेन्याङ्बोको रिपोर्ट)

Tuesday, November 2, 2010

उडी जाउँ भने...

रो बोलाउँदा बोलाउँदै श्याम सरदार (१०) को स्वर भासिएछ । बोल्दा अनौठो सुनिन्छ । तर, चरो बोलाउन मरिहत्ते घटेको होइन । विराटनगर-इटहरी मार्गमा पर्ने बाँसबारी चोकबाट २ किलोमिटर पश्चिम बुढी खोलाछेउ मुढेरीमा मान्छेको आवाजको नक्कल गर्ने चिबे चरो हेर्नेको भीड छ ।

६ कक्षामा पढ्ने श्यामकै सिको गर्छन ३ मा पढ्ने संजीत सरदार । भन्छन् 'यसले मधेसी भाषा बोल्छ । मेजवान हिड् भन्यो भने नै जेबो भन्छ ।' केही हौसिएका उनलाई चरावार्ता मन परेको छ । 

भन्छन् 'साथी तोरा नाम कि छो  भन्यो भने श्याम भन्छ ।' उनलाई अघि लगाएर चराको आवाज सुन्न तम्सिएरका विराटनगर-५ खार्जीका छुतहरु दास (७०) ले मुख बिगारे । उनले भने - 'धत ! यसले त छाडा पनि बोल्दोरैछ !'  
०००

हाम्रा वरपर देखिने सबैजसो चराका आनीबानी एकअर्का प्रजातिमा फरक छन् । आवाज, बनोट र रुपरंग । 

अध्यापनमा झण्डै चार दसक बिताएका प्राणीशास्त्रका प्राध्यापक डा. भरतराज सुब्बा (६०) को घर सानो कुनै पुस्तकालयभन्दा कम छैन । उनी चरा चिन्छन् । र, केहीको आवाजको नक्कल पनि गर्न जान्दछन् । जानकारी जुटाउने क्रममा उनले संग्रह गरेका पुस्तकको भीडमा बेला बेला उनी हराएजस्ता देखिन्छन् । कुनै प्रजाति नयाँ लागे उनले फिजाउँने जर्नल, पुस्तक र पत्रिका कोठामा छरपस्ट हुन्छन् । जब पुरा कुरा मिल्छ अनिमात्र ती समेटिन्छन् । पछिल्ला एक दसकदेखि अध्यापनबाट जोगिएको समय उनले चराकै विषयमा अनुसन्धान गर्दै बिताउँदै आएका छन् । 

'मान्छेको बानीलाई जति दोष दिए पनि कम हुन्छ,' उनले भने 'उसले यी महिना रंगबिरंगी जीवका लागि सोचेको गरेको कमैमात्र देख्न सकिएको छ ।' साना बुट्यान र झाडीमा चरा स्वर सुनेर तिनको आवाजसहितको चित्र कैद गर्न क्याननको सानो क्यामेरा झिक्नअघि बाइनाकुलरले हेर्छन् । अनि बताउँछन् ,त्यसको प्रजाति , आनीबानी र पाउन सकिने स्थान ।

उनका अनुसार मान्छेको आवाजको नक्कल गर्ने प्रशस्त चरा छन् । तिनमा सुगा, मैना र चिबे भेट्न गाह्रो हुन्न । जताततै भेटिने भँगेरोदेखि झाडीझाडी डुल्ने मसिना फिस्टाका आकार र आवाज फरक छन् । भन्छन् - 'चरालाई केही डिस्टर्ब गर्नुहुन्न । उसले डिस्टर्ब फील गरेन भनेमात्र हामी उसको आवाज र बानीबेहोरा अध्ययन गर्न सक्छौँ ।' 
००००

दिनभरि कोसी ब्यारेजमा काट्दा यात्रा थुलुङ पटक्कै पट्यार नमान्नु अनौठो बानी भन्ने लाग्छ । एक दसकअघि थुलुङले सप्तकोसी किनारमा घण्टौं बिताउँदा उनलाई साथ दिइन्थ्यो । अहिले उनी भेट हुदा सुनाउँछन् 'मेरो फलानो चरोको फोटो यति हजारमा बिक्यो । फेरि फलानो ठाउँमा जाउँ है ।' 

निकोनको एनालग एफएम-१० बाट डी-७०० सम्म आइपुगेका उनी अहिले पनि चरा खिच्ने मापदण्डको क्यामेरा, लेन्स र बलियो ट्राइपोर्ट खोजिरहेका भेटिन्छन् । अनि खिचेका चराको आनीबानी अनि तिनलाइ प्राकृतिक व्यवहारमै कसरी तस्बिरमा उतार्ने भन्ने उनको चिन्ता अनौठो छ ।

राजधानी बाहिरको फोटोपत्रकारितामा प्रतिष्पर्धा न्यून छ । पत्रपत्रिकाले छाप्ने तस्वीरमा चरा र वन्यजन्तुले ठाउँ पाउन विशेष कुनै घटना हुनुपर्छ । अनि दैनिक अखबारका लागि काम गर्नेहरुले क्यारिअर चरा खिचेर बनाउन सक्ने अवस्था छैन । 

'त्यसैले मैले पत्रिकामा काम गर्नुको साटो आफैं स्वतन्त्र खोज्ने, खिच्ने र बेच्ने बाटो रोजेको हो,' यात्राको स्पष्टोक्ति यस्तो छ, 'एउटै चरा खिच्न ३/४ घण्टा जान्छ, समाचारका फोटो खिच्ने जिम्मेवारी भाको मान्छेले कसरी म्यानेज गर्ने ?' 

फरक धारका यात्रासँग कोशीटप्पुदेखि  गोसाइकुण्ड, लुम्बिनी,बर्दिया,कैलाली र कञ्चनपुरसम्म थरिथरि चराका सयौँ तस्वीर संग्रह छन् ।
 
०००
चराका तस्बिर सजिलो विषय होइन । सिमसारमै विद्यावारिधी गरेर गिद्ध संरक्षणका लागि काम थालेका डा. हेमसागर बरालको अनुभवमा नेपाल चरा पर्यटनको उपयुक्त गन्तव्य हो । भन्छन् 'यो अचम्मको क्षेत्र छ ।' चरा हेर्नैमा लागि आउने पर्यटकलाई नजिकबाट अनुभव गरेका उनको भनाइमा 'चरा हेर्न आउने मान्छे शान्त हुन्छ , उसले आफ्नो उदेश्यमा मात्र ध्यान दिन्छ ।' 

रैथाने केहीबाहेकका प्रजातिका पन्छी र पन्छीजन्य क्रियाकलाप सजिलै देख्न पाउनु भाग्य हो । समय लिएर पदयात्रा हिडेकाहरु चरा हेर्न र खिच्न धेरै समय लगाउछन् । चरा पर्यटनका क्षेत्रमा एक दसकभन्दा बढि अनुभव संगालेका डा. बराललाई कोसीटप्पु, लुम्बिनी र चितवन अनि बर्दियामा पाइने चराका प्रजाति, बानी र हुल हेन मिल्ने प्राय क्षेत्र कण्ठ छ । भन्छन् 'सम्भावना धेरै छ ।' 

नेपालमा चरा हेर्न उपयुक्त गन्तव्यहरुमा चितवन राष्ट्रिय निकुञ्ज, फुलचोकी डाडा, शिवपुरी निकुञ्ज, कोशीटप्पु, कोशी तटबन्ध, बर्दिया निकुञ्ज, लाङटाङ, गोसाइकुण्ड, अन्नपूर्ण क्षेत्र, थाकखोला, अन्नपूर्ण आधारशिविर, अरुणवरुण उपत्यका आदि क्षेत्र छन् । 

'चरा हेर्न आउनले हेरेर मात्र फिर्दैन, डा. वराल भन्छन् 'उसले कहा, कस्तो प्रजातिको वासस्थान कस्तो छ भन्ने जानकारी विश्वलाई दिन्छ ।' उनको अनुभवमा चरा अवलोकनकर्ताले विवरण खोज्न मद्दत पुर्‍याएका हुन्छन् । सप्तकोसी नदिको तटबन्ध आसपासमात्रै पनि उल्लेख्य संख्यामा चरा हेर्न पाइन्छ ।  

नेपाल पन्छी संरक्षण संघका अनुसार नेपालमा हालसम्म ८ सय ६४ प्रजातिका चरा भेटिएका सूची छ । यो संख्या विश्वमा पाइने कुल प्रजातिमध्येको ८ प्रतिशत हुन आउँछ । हामीकहाँ पाइनेमध्ये विश्वमै लोपोन्मुख भनिएका ३३ प्रजाति छन् । 

विज्ञहरुका अनुसार समुद्र सतहको ७५ मिटरदेखि सगरमाथाजस्तो उचाइ भएकै कारण मौसमी विविधिताले यहाँ चराका उल्लेख्य प्रजाति पाइएका छन् । कतिपय नयाँ प्रजाति भेटिँदा चराविद्हरुले हर्ष मान्दै त्यसको प्रचार गर्छन् । नेपालमा पाइनेमध्ये ६ सय प्रजातिका चराले यहाँ बच्चा कोरल्न सक्छन् । ६३ प्रकारका फिरन्ते प्रजाति रेकर्ड भएका छन् । फिरन्ते जाडो छल्न नेपालसम्म आइपुग्छन् । र, हिउँदपछि फर्कन्छन् । 

रैथाने धेरै प्रजाति भौगोलिक बनोटसँगै फरक-फरक ठाउँमा भेटिएका छन् । सिमसार रुचाउने चराको उल्लेख्य संख्या हामीकहाँ भेट्न सकिन्छ । 
०००

वातावरणीय दृष्टिले चराका आफ्नै प्रकारका विशेषताहरु छन् । विज्ञहरुका अनुसार सर्पजस्ता सरिसृपलाई आहार बनाउने चरा जहाँ छन् , त्यहाको वातावरण सन्तुलित र मानव बस्न योग्य छ भन्ने मान्नुपर्छ । सर्पले मुसालगायत साना जीव खान्छ । यस्ता जीव हुनका लागि अन्न बाली फल्नुपर्छ । अनि सर्प त्यहाँ बस्छ जहाँ उसको आहारा पाइन्छ । मानवबस्ती आसपास बस्न रुचाउने भँगेरा, काग, रुपी, गौँथली, सानो खैरो गिद्ध, डंगर गिद्ध र गरुडका केही प्रजातिलगायत थोरै चरा यस्ता छन् जसलाई सजिलै देख्न-सुन्न सकिन्छ । तर, अधिकांश पन्छी स्वतन्त्रता मन पराउँछन् । प्राकृतिक सन्तुलन रुचाउँछन् ।

चरा चित्रकारितामा तल्लीन इनरुवाको बलाहाका जीवनाथ पोखरेल भन्छन्, 'प्रकृतिमा यति विविधता छ कि हामी जे राम्रोसँग हेर्‍यो त्यही नौलो प्रकारको पाउँछौ ।' ६७ वर्षीय पोखरेलले चित्र बनाउन अघि चराका आनीबानी, बासस्थान हेर्छन् र कलामा रंगमात्र होइन मूर्ति जस्तै बनाएर फ्युजन गर्छन् । 

'जोगाउने कुरा जोगाउनु पर्छ भन्ने चेतना ठूलो कुरा हो,' उनी भन्छन् 'चराले गर्ने हानि कतै छ भने त्यो उसको बास नासिएपछिमात्र होला । तर, उसले हाम्रो वातावरण सन्तुलित राख्न धेरै ठूलो काम गरेको हुन्छ ।' 

Monday, October 25, 2010

हिउँचितुवा पच्छ्याउँदै

- आनन्द गौतम
                       ताप्लेजुङको  घुन्सा बस्ने हिमाली चुन्दाकको बाल्यकाल हिउँचितुवाको हैरानी खेप्दै बित्यो । त्यो जन्तुबाट आफ्ना पशु जोगाउन चिन्ता र चितुवालाई कसरी मार्ने भन्ने उनलाई सधैं लागिरहयो । गोठ लिएर जंगल जाने चुन्दाकको पहिलो ध्यान चौरी र याकलाई हिउचितुवाको आक्रमणबाट बचाउनका केन्द्रित रहन्थ्यो । चरनमा लगेका चौरी,याक र तीनका बाछाबाछीलाई हिउ“ चितुवाले आक्रमण गर्थ्यो । उनी चितुवा मार्न बाटो ढुकेर बस्थे । खम्बाछेन छेउको नाकथुनमा गोठ लगेको बेला चितुवाले चौरीको बाछा खाइदयो । रीसको झोकमा उनले चितुवाका तीन बच्चा मारिदिएको एक दसक अघिको घटनाको सम्झना अहिले पनि ताजै छ ।   
'गोठ रुङन बसेको थिए, चौरीका तीन बाछा हराए, उनले अतित सम्झँदै भने 'खोज्दै जाँदा बिरालाका जस्ता तीनवटा चितुवाका बच्चा भेटेको थिएँ । त्यसको नजिकै तीनवटै बाछा चितुवाले मारेर लडाएको रहेछ ।'  बाछा मारिएको घटना थाहा भएपछि बुवाआमाको गाली खाने डरले उनले चितुवाका तीनैवटा बच्चा उठाए । 'मैले बोरामा हालेर लगेको थिएँ, उनले भने 'बुवालाई देखाएँ अनि घुन्सामा बगाइदिएँ ।' घटनाको रातभर गोठमा माउ चौरीहरु बाछो खोज्दै कराए । नजिकको भीरमा आफ्ना बच्चा हराएको जनाउ दिदै 'हुँ हुँ' गर्दै चितुवाको रोएजस्तो आवाज आइरहयो । 'त्यो रातभर चितुवाले बच्चा खोज्दै कराएको सुनेर मैले नकाम गरेछु भन्ने भइरहयो, उनले भने 'त्यसपछि यिनलाई कहिल्यै केही गर्दिन भन्ने लाग्यो । मैले कसम नै खाएँ ।' 
तीनै घुन्साका चुन्दाक अहिले हिउचितुवाको सबैभन्दा नजिकका साथी बनेका छन । उनको अध्यक्षतामा यहा घाङलुङ हिउचितुवा संरक्षण समितिसमेत गठन  गरिएको छ । उनीसगै समितिमा आबद्धको दिनचर्या अहिले हिउचितुवाको संरक्षणका काममा बित्ने गरेको छ ।  
               स्थानीयस्तरमा संरक्षण समिति बनाएर काममा जुटेका गाउलेले लामो समयदेखि अहिले चितुवालाई नजिकबाट  नियाल्न भने पाएका छैनन् । उनीहरुले मांसाहारी यो जन्तुको संख्या याक, नाक मारेको संख्या, पाइला गणना गर्दै र त्यसको पिसाबको गन्धले अनुमान गर्दै आएका छन ।  बर्सेनी जंगलमा अलिअलि हिउ जम्मा हुन थालेपछि उनीहरुको खोजी अभियान सुरु हुन्छ । 'हिउ जमेको बेला संख्या पत्ता लगाउन सजिलो हुन्छ, स्थानीय डण्डु सेर्पाले भने 'यो बेला पाइलाको छाप देख्न सकिन्छ ।' उनका अनुसार ओडारहरुका चितुवाको गन्ध भेटिन्छ । ढुङ्गैढुङ्गा भएको अग्लो ठाउमा बस्न मन पराउने चितुवा रातीराती आहाराको खोजीमा सक्रिय हुन्छ । 
             चालु वर्षको अनुगमनले घुन्सा र आसपासको क्षेत्रमा हिउचितुवा ४५ देखि ५० वटाको संख्यामा भएको अनुमान  समितिका सदस्यहरुको छ । अघिल्लो बर्ष ३० देखि ३२ वटासम्मको आकडा थियो । लाक्पा छेतेन सेर्पाले भने 'यो बर्ष १५ देखि २० वटासम्म बढेको हुनुपर्छ । हामीले गणना गर्दा त्यस्तै पायौं ।' सेर्पाका अनुसार यो बर्ष मात्रै दुधपोखरी क्षेत्रमा चितुवाले चारवटा वस्तु मारेको छ । रामजेल, याङमा, जिङसाङलापास नाकामा र माथिल्लो गिरिगिल्लामा उल्लेख्य हिउचितुवा रहेको अनुमान गरिएको छ । 'नजिक जान सकिदैन, उनले भने 'टाढाबाट हामीले खिचेका फोटामा चितुवा स्पष्ट छैन ।'  
                ३ हजार मिटरदेखि ५ हजार ४ सय मिटरसम्ममा यो जन्तुका लागि करीब ३० हजार वर्ग किलोमिटर क्षेत्रफल उपयुक्त वासस्थान मानिन्छ । हिमाली भेगका आठ वटा संरक्षीत क्षेत्रमा पाइने यो जनावर कञ्चनजंघा संरक्षण क्षेत्रमा भने याङमा, ओलाङचुङगोला, घुन्सा, लेलेप, याम्फुदिन क्षेत्रमा पाइने तथ्यांकमा उल्लेख छ । हिमालीका अनुसार संरक्षण क्षेत्रको रामजेल, खाम्वाछेन, नाक्छेन्दा, जानु वेसक्याम्प, थाङगाछेन, नाङगोला पास, सिसियर, गिरिगिल्ला, रामदान, रोनाक, पाङपेमा, जिम्वुबारी, पियुङ, लुम्बासाम्बा, फाङजाथुङसा, घुन्साछागा, थाङगाछेनलगायतका क्षेत्रमा पाइन्छ । साइटिस अनुसूचीमा सूचीकृत यो जनावर नेपालका उच्च हिमाली क्षेत्रहरु शे-फोक्सुण्डो, अन्नपूर्ण, सगरमाथा, लाङटाङ, कञ्चनजंघा संरक्षण क्षेत्रमा पाइन्छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची-१ तथा आइयूसीएन रेड डाटा बुकमा समेत उल्लेख गरिएको छ ।  मुलुकमा यसको संख्या ५ सयको हाराहारीमा रहेको अनुमान छ ।  
              आठदेखि नौ बर्षसम्म बाच्ने यो जनावर हल्का खैरो रङमा कालो थोप्ला भएको ठूलो टाउको लामो पुच्छर भएको हुन्छ । जंगली भेडा, बाख्रा, कस्तुरी मृग, र मुसा प्रजाति खाएर बाच्ने यो जन्तुका लागि चोरीसिकार र वासस्थान विनास मुख्य संकट बनेको छ ।
            कञ्चनजंचा संरक्षण क्षेत्र आसपासमा स्थानीयवासीका लागि यो जन्तु घरपालुवा पशुको शत्रु हो । पछिल्लोपटक हिउचितुवाले खाएका घरपालुवा जनावरका लागि पशु बीमाको कार्यक्रम ल्याइएको छ । चितुवाले नै मारेको ठहर भएका करिब ३५ वटा पशुलाई बीमाअन्तर्गत क्षतिपूर्ति पनि दिइएको स्थानीयवासीले बताए । 'एउटा याक मारिदा १५/२० हजारको क्षति हुन्छ, डुण्डुले भने 'व्यक्तिगत क्षति सहेर हिउचितुवा जोगाउने कुरामा कोही सहमत थिएनन् । बीमा कार्यक्रमपछि मान्छेको धारणा फेरिएको छ ।' 
तस्बिरमा 
- हिमाली चुन्दाक र डण्डु सेर्पा खम्वाछेन क्षेत्रमा हिउचितुवा खोज्दै ।
- हिउचितुवाले खाएको याक हेर्दै अनुगमन समिति सदस्य ।
- मृत भेटिएको चितुवाको छाला नाप्तै ।
तस्बिरहरु : लेखक र कञ्चनजंघा संरक्षण समिति

(जैविक विविधताको विषय रुचाउनेका लागि पठनीय होला भन्ने उदेश्यले यो स्टोरी कान्तिपुर दैनिक कोसेलीको ०६६ चैत ६/ मार्च २०, २०१० को पूर्वाञ्चल संस्करणको अंकबाट साभार गरिएको हो । )

हिउचितुवाका बारेमा अझ बढी जान्न मन लागे तलको लिंकमा जान सकिन्छ 


Sunday, October 24, 2010

क्यामेरा ट्रयापमा मिल्के

रामायणका पात्र रामचन्द्र, सीता र लक्ष्मण। १४ वर्षको वनबास। दरबारबाट केही कुकुर साथै लागेर गए। कुकुर हराए। राम-लक्ष्मणले सकेजति खोजी गरे। भेटिएनन्। अन्ततः रामले बरदान दिए - 'तिमीहरु आफैं बाँच्न सक्ने होउ। मान्छेबाहेक भेटेका सबै खाउ। जहाँ रहेपनि आफैं आफ्नै पौरखमा बाँच।' ताप्लेजुङको फुरुम्बुका ७० वर्षीय देवी विष्टले यस्तो किंवदन्ती भनिरहँदा कुकुर खोजेर फिरेका तन्नेरी अम्बिकाप्रसाद खतिवडा (२९) छक्क परे। लाग्यो, खोजी गरेको विषय पौराणिक कथासँग जोडिएको पनि रहेछ।
 
फिरेर आएपछि उनलाई खान मन लागेको थिएन। कमजोरी महसुस भएको थियो। धूपध्वाँर अनि झारफुक गरिरहेका विष्ट यतिकै कहाँ थामिन्थे। 'त्यो मिल्केले आपतै खेलाको हो नि,' उनले भने, 'धन्य बाँचियो। मार्थ्यो होला।' गोठ गएका बेला वन कुकुरको समूहले उनको एउटा बाख्रो मार्‍यो। झट्ट देखे। कसेर झटारो हाने। छाउरोलाई लाग्यो। चिर्पटको तोडले छाउरोको इहलीला सकियो। कुकुर रिसाए। उनलाई घेरे। बाख्राको बथानमा चारपाउँ टेकेर घुस्रिएपछि आवाज लगाए 'गुहार गुहार कुकुरले मार्न लागे। गुहार।' अरु गोठाला आइपुगेपछि कुकुरको समूह त्यहाँबाट भागे। थोरै कुप्रा कायाका कालाकाला विष्ट चाउरी मुहारले बोले, 'त्यो बेला बाँचेकै हो नि। म तन्नेरी थिएँ त्यो बेला। त्यसपछि कहिल्यै जम्काभेट भएन।'
 
०००
सातो बोलाउन फुङलिङस्थित खतिवडाको घर आएका विष्टका किंवदन्तीका लेखोट कतै भेटिन्नन्। विराटनगरको गायत्री संस्कृत विद्यालयका शिक्षक पं कृष्णप्रसाद गुरागाईं भन्छन्, 'वाल्मिकीको रामायणमा त्यसरी रामसँगै वनबासमा कुकुर पनि गएको भन्ने प्रसंग कतै छैन।' पौराणिक कथाहरुमा मान्छेसँगै घरपालुवा र जंगली जनावरका प्रसंग जोडिएर नआउने भने होइनन्। 'हामीकहाँ नेपाल-भारतमा पढिने रामायण धेरै भाषामा अनुवादित छन्। १२१ भाषामा छन्,' उनी भन्छन्, 'चीन, कम्बोडिया र इण्डोनेशियामा पढिने रामायणमा हाम्राभन्दा केही प्रसंग फरक पनि छन्।' हालसम्मको अध्ययनमा हेक्का भएसम्म वनबासमा कुकुर साथै लागेर गए भन्ने कतै उल्लेख नभएको दाबी गुरागाईंको छ।
 
किंवदन्तीका लागि विश्वसनीय आधार हुनु जरुरी छैन। तर, अम्बिकाको खोजी ताप्लेजुङका विभिन्न गाउमा स्थानीयले 'वनकुकुर, ठाडाकाने, मिल्के' र अंग्रेजीमा 'ढोले' वा 'एसिएटिक वाइल्ड डग' भनिने जनावरको हो। मेचीअञ्चलको उत्तरवर्ती पहाडी जिल्ला ताप्लेजुङको नाङखोल्याङका जन्मिएका यी तन्नेरी अध्ययन सिध्याउन आफ्नै घरमास्तिर आँखाले नभ्याउने विकट पाखा र जंगलभित्र आइपुगे। पोखरास्थित वनविज्ञान अध्ययन संस्थानमा स्नातकोत्तरको अन्तिम वर्ष शोधका लागि उनले यो विषय छनोट गरेका हुन्। 
०००

'बल्ल बल्ल घर आइपुगेको छोरो जंगल पो जान्छु भन्छ, मत आत्तिए नि !,' आमा सुशीला (५४) भन्छिन्, 'दिनै मान्छे अपहरण, लुटपाट अनि मारे भनेर रेडियो फलाकिरहन्थ्यो, अनि डर लाग्दैन त ?' अम्बिकाले आमालाई आफ्नो खोजी बारे सुरुमा खुलस्त बताएका थिएनन्। तीन वर्षअघि घर आउदा उनले बाघको अध्ययनमा आफ्नो रूचि रहेको बताएका थिए। 'साउनको महिना पानी परेको परेकै छ, जताततै पहिरो जान्छ, खोलानाला बढेका हुन्छन्,' उनी थप्छिन्, 'आफ्नो सन्तानले कष्ट ब्योहोरेर केही गरोस् जस्तो कसलाई लाग्छ ? मलाई उ जाने कुरा ठीक लागेको थिएन।'
 
खतिवडाका पिता पेसाले शिक्षक हुन्। नाङखोल्याङकै प्राविमा २३ वर्ष पढाएपछि अवकाश लिएका देवीनारायण भन्छन्, 'उसको करका अघि हाम्रो के चल्छ। करिअरको कुरा हो।' मातापितालाई बलले राजी पारेपछि मात्र घरमा अम्बिकाको यात्राका लागि तयारी सुरु भयो। मकै भुटेर जाँतोमा पिँधी सातु बनाइयो। पहिल्यै बयममा राखेका कागतीको अचार, गुन्द्रुक, सातु घरबाट तयारी भएपछि बजारबाट ३० किलो चामल, केही प्याकेट बिस्कुट र चाउचाउ पनि पोकोमा हालियो। 

यात्राका लागि अम्बिकाले जीपीएस, एउटा अटोफोकस क्यामेरा र १६ वटा क्यामेरा ट्रयाप (स्वचालित क्यामेरा) केही दिनअघि व्यवस्था गरेका थिए। क्यामेरा ट्रयाप उनलाई अध्ययनमा सघाउन राष्ट्रिय प्रकृति संरक्षणको कोषको पहलमा चितवनको सौराहास्थित जैविक विविधता संरक्षण केन्द्रले उपलब्ध गराएको थियो। दुई भरियालाई अघि लगाएपछि उनको यात्रा सुकेटार, देउराली, फावाखोलाहुँदै  सिकैचाको काँडेभञ्ज्याङ पुग्यो। साउन २६ को बिहान ८ बजेको यात्रा त्यहाँ बटुवा बास बस्न बस्तीमा पुग्दा साँझको ७ बजेको थियो। 
०००
गन्तव्य याम्फुदिन ताकेर हिँडेको टोलीमा अम्बिका, उनीसँगै वातावरण विषयका साथी राजेश झा, तापेथोक गाविसबाट  भरिया आएका रेशम लिम्बू र अर्का एक छन्। दोस्रो दिन बिहानको यात्रा तेर्सो, उकालो लाग्दै तेल्लोक, पेदाङ, फुम्फेडाडाहुँदै मामाङ्खेको लक्ष्मी माविनजिक पुग्यो। १७९७ मिटर उचाइमा अवस्थित मामांखे हिउँदमा हिउँ झेल्ने सानो गाउँ हो। 'चिसो स्याँठ चलेको थियो, सिमसिम पानी पर्न थालेको थियो,' अम्बिका भन्छन्, 'दोस्रो दिन थियो। धेरै गलेको र भोक लागेको महसुस भएको थियो।'
 
भरियाले तोङ्बा खादै प्यास मेटाए। दुई विद्यार्थीका लागि हरिया मकै पोलेर खाने व्यवस्था भयो। तेस्रो दिन ६ घण्टाको यात्रापछि टोलीले याम्फुदीन-८ टेक्यो। त्यहाँका कञ्चनजंघा संरक्षण क्षेत्रका नर्सरी नाइके तार्सदीप गुरुङ भेटिए। पहिल्यै खबर गरेकाले मिल्केसँग सम्बन्धित सूत्र त्यहीँ फेला पर्‍यो। त्यहाँ भेटिएका गुरुङ हिउचितुवा संरक्षण समितिका सदस्य भएकाले वन्यजन्तु सम्बन्धित घटना टिपोटमा अभ्यस्त थिए। समितिले चलाएको पशुधन बीमा कार्यक्रमले उक्त क्षेत्रमा हिउँचितुवाले घरपालुवा मारे वा क्षति पुर्‍याए घटनाको प्रकृति हेरेर क्षतिपूर्ति दिने गरेको छ। समितिमा त्यसै साता स्थानीय टासी लामाले आफ्नो माउ गाई र चौरीको बाछो वन्यजन्तुले मार्‍यो भन्दै क्षतिपूर्ति माग्दै निवेदन हालेका थिए।
 
'टासीको गाई र चौरीको बाछो मिल्केले मारेको रहेछ,' गुरुङले सुनाए, 'टासीले पाइला देखेको रैछ, अनि उसको निवेदन आको हो।' गुरुङको भनाइलाई स्थानीय कञ्चनजंघा माविका प्रधानाध्यापक कुमार माबोले समर्थन जनाए। उनले भने, 'यो क्षेत्रमा हिउँचितुवाभन्दा वनकुकुरले नै मारेको घटना छन्।' सूत्र भेटेपछि टोलीले गाउँलेसँग छलफल र जानकारी बटुल्दै त्यो दिन बितायो। राजेश त्यहीँ बसेर जलवायु परिवर्तनको अध्ययन गर्ने भए।
 
त्यहाँबाट दुवै भरिया फुङलिङ फर्किए। हिमाली स्याँठको माथिल्लो यात्रामा टोलीका सदस्य फेरिए। अब अम्बिकालाई साथ दिन तार्सदीप, टासी लामा, लाक्पा शेर्पा र नयाँ दुई भरिया थिए। त्यहाँबाट ४५ मिनेट मास्तिरको भोटेगाउँमा दुई दिन टोली थामियो। अघिल्लो यात्रा एक दिनको हिडाइपछि याङ्मुङखर्क पुग्यो। त्यहाँको अर्को बिहानदेखि अम्बिकाले ब्याग फुकाए। क्यामेरा ट्रयाप झिके। अनि एक/दुई किलोमिटरको दुरीमा ठाउँ-ठाउँ क्यामेरा ट्रयाप राखियो। 'हामीले वनकुकुर हिड्ने बाटो पहिल्याएका थियौँ,' अम्बिका भन्छन्, 'अनि मात्र क्यामेरा फिट गर्दै अघि बढियो।' पानी थामिएन। छाताले छेलिँदै भिज्दै अघि बढ्दा अबको यात्रामा उनलाई साथ दिन टासी र लाक्पामात्र थिए।
 
०००
गोठ खोजेर बास बस्दै मिल्केको मलमुत्र पहिल्याउदै हिँडेको विद्यार्थीलाई हिमाली गाउँका लाक्पा र टासीले बेला-बेला आश्चर्य पनि जनाए। 'किन के खोजेको हो यस्तो !,' टासीले भने, 'जंगल-जंगल खोजेर पनि यस्तो पढाइ हुन्छ ?' अम्बिकाले बुझ्नेसम्म बताए। वनकुकुरको खोजी नेपालका लागि नौलो हो। यो जन्तु मान्छेनजिक आउँदैन। घरपालुवाभन्दा बढी चलाख र जंगलमा बासस्थान फेरि-फेरि विचरण गर्छ। विश्वमा यसको संख्या २५ सयभन्दा कम्ती छ। विश्व संरक्षण संघ (आइयूसीएन) ले यसलाई दुर्लभको सूचीमा राखेको छ।
 
हिमाली गाउँका सोझा बासिन्दाका मगजले धेरै पहिल्याउने कुरा थिएन। बाह्रैमास चिसो भइरहने। पानी र हिउँ पर्ने अनि गोठको बास बस्दै चौरी, भेडा, गाई-बाख्रा बाल्दै तिनीहरुबाटै आर्थिक उपार्जन गर्दै आएकालाई जन्तु सुरक्षित हुनुपर्छ भन्ने मात्र हेक्का छ।
 
टोलीले सामेवा देउरालीदेखि नयाँझोडेनी डाँडासम्म क्यामेरा ट्रयाप राख्दै गएपछि फर्कने तय हुँदा यात्राको बाटो कहालीलाग्दो थियो। अम्बिका सुनाउँछन्, 'ल्हासेको पहिरो खतरा थियो। हामी फिर्दा रात परेको थियो। अगाडि बढ्ने बाटो पहिल्याउन गाह्रो भयो।' बाटाका क्यामेरा जडानको काम सकिएर वनकुकुरले गरेका दिसा पहिल्याएर हेलखर्कहुँदै पेमादीनसम्म पुगियो। फर्कने बाटो दोस्रो थियो। राधाफोक, चैराम, सैसर , अन्धाफेदी, तोरनदीनहुँदै ल्हासे पुगेर गोठको बास भयो। 'खाना बोके पनि पानीमा भिजियो, लडियो, बिरामी परियो,' उनले भने, 'धेरै हिँडेपछिमात्र गोठ भेटियो। थकान धेरै भयो।'
 
गोठमा अम्बिका र लाक्पाको अवस्था उस्तै थियो। गोठका दिलकुमारले खाना बनाए। खाने व्यवस्था गरे। त्यो दिन गोठ बाहिर निस्केर अघि बढ्ने साहस जुटेन। यात्राको २० दिन बितिसकेको थियो। अम्बिका सम्झन्छन्, 'त्यहाँबाट फिरेर क्यामेरा ट्रयाप खोल्ने काम गर्दै हिडियो।' सबैमा २/२ जीबीका कार्ड थिए। झिक्दै आफ्नो क्यामेरामा हालेर रिभ्यु हेर्दै जाँदा चरा र चौरी धेरै क्याप्चर भएका थिए। 

अन्ततः १२ नम्बर क्यामेरा ट्रयापले वनकुकुर खिचेको पाएपछि उनले लामो सास फेरे। यो ठाउँ ३७५२ मिटर उचाइको सामेवा देउराली थियो। जहाँ भूइँको आडमा दोबाटोमा कीला ठोकेर राखिएको क्यामेरा १८ दिन बसेको थियो। जसमा १२४ एमबीमात्र मेमोरी स्पेस खर्च भएको थियो। क्याप्चर भएकामा तीन वटामा मात्र वनकुकुर थियो। दिनको १ः५९ बजेदेखि ५ मिनेटभित्र । 
०००
'एउटाले मात्र वनकुकुर भेटेछ,' अम्बिका भन्छन्, 'आँखाले प्रत्यक्ष देख्न नपाए पनि फोटो स्पष्ट थियो। काम चल्यो।' उनका अनुसार क्यामेराले तीनवटाको संख्यामा रहेकालाई खिचेको छ। यी तिनै क्यामेरा ट्रयाप हुन् जसलाई समय-समयमा बाघ गणनाका लागि पनि उपयोग गरिन्छ। उनलाई आफ्नो विषयभन्दा पृथक खिचाइमा आएका वन्यजन्तुलाई प्राथमिकता दिनु थिएन। तर, पदचाप थाहा पाएपछि आफैं खिच्ने स्वचालित क्यामेराले धेरै प्रजातिका चरा, याक र मलसाँप्रो पनि खिचेको छ। अहिले शोधको अन्तिम तयारीमा रहेका उनलाई लाग्छ संरक्षित क्षेत्रभन्दा बाहिर पनि वन्यजीवन भेटिन्छन्। तिनको अध्ययन र संरक्षण गरिनुपर्छ। 
पन्छी संरक्षण संघ प्रमुख डा. हुमबहादुर गुरुङको भनाइ पनि यस्तै छ।  भन्छन्, 'संरक्षित क्षेत्र घोषणा भएका एरियाबाहिर भेटिने पन्छी र जन्तु राष्ट्रिय वन, अनि सामुदायिक वनका एरियामा छन्।' घाँस-दाउराका लागि जोगाउनेहरुले वनको संरक्षण गर्दा वन्यजन्तुलाई पनि सकारात्मक प्रभाव परेको छ। तर, यिनलाई जोगाउन सामुदायिक वनकर्मीबीच विशेष खालका योजना चाहिने उनलाई लाग्छ। 

वन्यजीवन र पर्यावरणका विविधतालाई अध्ययनको विषय बनाउनेहरुबाट राष्ट्र र सम्बन्धित समुदायले जानकारीको लाभ पाउने अत्यधिक सम्भावना उपयोग हुन नसकेको अवस्था उनले देखेका छन्। गुरूङ भन्छन्, 'जहाँ जुन कुराको अध्ययन गरिन्छ, त्यसको महत्त्व स्थानीयले थाहा पाए भनेमात्र हाम्रो प्राकृतिक सन्तुलन बनिरहन मद्दत मिल्छ।'

*** 
(६ कात्तिक ०६७ मा कान्तिपुर कोसेलीमा प्रकाशित) 


बनकुकुरका बारेमा अझ बढी जान्न मन लागे तलका यी लिंकमा जान सकिन्छ  
http://en.wikipedia.org/wiki/Dhole
http://www.cuon.net/dholes/
http://www.sandiegozoo.org/animalbytes/t-dhole.html
http://www.predatorconservation.com/dhole.htm

Saturday, October 23, 2010

भुत्ते कुटनीतिका सिकार शरणार्थी

शुक्रबार दिउँसो राजधानीबाट प्रसारित हुने एउटा एफएम रेडियोमा फर्माइसी गीतको कार्यक्रम चलिरहेको थियो।  सञ्चालिकाले बारम्बार फोन गर्नेमध्येका एक स्रोताको फोन रिसिभ गरिन्। उनी मोरङ पथरीनजिक शनिश्चरे शिविरका कलर रहेछन्।

दसैं कस्तो बित्यो भन्ने कुराको प्रसंगमा उनले एकै सासमा भने - 'अन्तिम दसैं हो। अर्कोपालि कहाँ पुगिने हो। मजाले मानियो यसपालि।' तेस्रो मुलुक पुनर्वासअन्तर्गत शरणार्थी शिविरका भुटानी जनता अहिले अमेरिका-युरोपका विभिन्न मुलुक पुगेका छन्। भुटानले नेपालीभाषी जनतालाई बेघर बनाएपछि मोरङ र झापाका शिविरमा शरण लिएको दुई दसक नाघेको छ। उनीहरुका लागि घर फर्कन भरपर्दो कूटनीतिक पहल कहिल्यै हुन सकेन। पछिल्लोपटक उनीहरुका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिला इकाइले तेस्रो मुलुक पुनर्वासको उपाय सुझाएर कार्यान्वयनमा ल्यायो।

एफएमकी आरजेलाई उनको जवाफलाई महत्त्व दिनुभन्दा गीत रोज्न आग्रह गरिन्। आफूलाई फलानो भनेर चिन्ने सबैका लागि भन्दै उनले नयाँ हिन्दी फिल्मको गीत रोजे। छोटो संवाद सकियो। गीत बज्यो। ती स्रोतासँग संवाद लामो हुनसक्थ्यो। यद्यपि मनोरञ्जक कार्यक्रमका लागि त्यो शायद आवश्यक मानिएन। अथवा हुनसक्छ आरजेलाई शिविरका शरणार्थीको जीवन र अवस्था बारेमा बढी चासो भएन वा थिएन।

गत असार पहिलो साता राजधानीबाट आएका सञ्चारकर्मी मित्र दीपक अधिकारीका लागि झापाको शान्तिनगरस्थित टिमाइ शिविर जानुपर्ने भयो। भुटानबाट विस्थापित एक परिवारकी महिलासँग उहाँले अन्तर्वार्ता गर्नु थियो। उनका श्रीमान भुटानको कुनै जेलमा थिए। छोराछोरी काठमाडौंको  स्कुलमा पढ्दै। एक्ली महिला शिविरको छाप्रामा कुरुस-काटासँगै जीवनका दिन आँसूमा उनीरहेकी।

बेलडाँगी, खुदुनावारी र शनिश्चरे पुगे पनि टिमाइ पुगेको त्यो पहिलो अवसर थियो मेरा लागि। अघिल्ला तीन शिविर घुमेभन्दा टिमाइ फरक देखिएन। बाँस फोरेर छानो बनाइएका झुप्रा, त्यसअघिल्तिर घामबाट खाना पकाउने सौर्य चुलोमा भाडो। समूह-समूह बसेर आ-आफ्ना काम र गफमा तल्लीन शरणार्थी। भाषा नेपाली हो। त्यसैले हामीभन्दा भेषभूषामा फरक केही भेटिन्न। शिविरभित्र फलामका काम गर्नेहरु सानो छाप्रोमा घरेलु कृषि औजार बनाउन हतौडी र छिनो चलाइरहेका छन्।

बाहिरबाट चिहाउन सकिने ठूला छाप्रा भएको स्कुल। धेरै नानीहरु पढिरहेका छन्। स्कुलेका तस्बिर खिच्न थाल्दा उनीहरुका गुरुहरु नजिक आए। परिचय सोधे। अनि त्यहाँको अवस्था बताए। उनीहरुलाई भुटानकै भाषा, भूगोल र अवस्था बताउन शैक्षिक सामाग्री पर्याप्त रहेनछ। अनि पढाउनेहरु पनि एक/दुई गर्दै पुनर्वास कार्यक्रममा नाम निकालेर बाहिर जाने क्रम बढेपछि साना नानीहरुलाई अध्यापन गर्नेको अभाव बढ्दो रहेछ। टिमाइको प्राथमिक तह पढाइ हुने स्कुलमा करिब ६ सय बालबालिका रहेछन्। 

भित्ताबाहिरबाट घामको प्रकाश कक्षामा पसेको छ। ३ कक्षाको एउटा कोठामा एउटा फुच्चे सहपाठीहरुलाई राजेशपायल राइको आधुनिक गीत सुनाइरहेको छ -'बल्ल बल्ल भेट भो दर्शन नमस्ते।'

अनिश्चित भविष्य लिएर शरणार्थी जीवन बिताइरहेकाहरु अहिले धमाधम तेस्रो मुलुक गएका छन्। जान चाहनेहरु आफ्ना नाम सूचीमा पर्ला भनेर पालो पर्खिरहेका छन्। अनि नाम निस्केकाहरु जानका लागि बिदावारीमा छन्। 'तिनीहरुले मेरो घर खोसे तर, भविष्य खोस्न सक्दैनन्' यो विश्व शरणार्थी दिवसको नारा हो। यसले शरणार्थी व्यथा बोल्छ। तर, उनीहरुका लागि थातथलोमा फिराउनुको साटो अर्कै मुलुकमा बसाइ लैजाने क्रमले तीव्रता पायो। 

सन् २००८ मार्चदेखि सुरु भएको नेपालस्थित शिविरका भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रममा हालसम्म ३१ हजार गइसकेका छन्। पुनर्वास कार्यक्रमले गएका चार महिना भरथेग गर्ने, त्यसपछि उनीहरु आफैं कमाएर बाँच्न सक्ने हुनुपर्ने नियम छ।

पढेलेखेका युवा पुस्ताका लागि यो सहज हुनसक्ला। तर, वर्षौदेखि खेतीकिसानी गरेर जीवनका उर्जाशील समय व्यतीत गरेका शरणार्थीका लागि युरोप र अमेरिकाको जीवन सहज छैन। तापनि तत्काल तेस्रो मुलुक जानबाहेक अरु सहज विकल्प छैनन्।

शरणार्थी समस्या समाधानका घरफिर्ती, पुनर्वास र स्थानीयकरण। यी तीन विकल्पबाहेक अरु केही हुन सक्दैन।  ग्लोबल ट्रेण्ड रिपोर्टले विश्वमा शरणार्थी संख्या बढ्दै गएको र घर फर्कनेको संख्या घट्दो रहेको सार्वजनिक गरेको छ। 

गत वर्ष २ लाख ५२ हजार शरणार्थी स्वदेश फर्किएको तथ्यांक छ। जुन सन् १९९० यताकै सबैभन्दा कम हो। आफ्नो देश र घरभन्दा प्यारो मानिसलाई अरु केही नहोला। यस्ता आधारभूत अधिकारबाट शरणार्थीलाई बञ्चित नगर्न नेपालको दायित्व ठूलो छ। तर, कूटनीतिक पहलमा ध्यान पुर्‍याउन सधैं ढिलाइ भइआएकै हो। 

राजनीतिक संकटबाट नेताहरुले मुलुकलाई कहिल्यै शान्तिको सास फेर्न दिएको अवस्था छैन। बुद्धि फिरोस्। अनि शरणार्थीका मामिलामा सरकारले आफैंबाट पहल हुन नसक्ने हो भने अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गरेर अघि जाने बाटो पहिल्याओस्।

Tuesday, October 12, 2010

व्यवस्थालाई दोष दिएर पन्छिँदैमा कहाँ बन्छ देश !

'फेरि एकपटक म मेरो गरिब देशमा छु। जहाँ बिजुली, इन्टरनेटलगायत सुबिस्तासहित छैनन्। त्यसैले म फेसबुकका पोष्ट, म्यासेजहरुलाई निरन्तर फलोअप गर्न सक्दिन २ नोभेम्बरसम्म क्षमाप्रार्थी।' माथिका हरफ एकजना हितैषी दाईको गत बिहीबार विराटनगरबाट गरेको फेसबुकको स्टाटसबाट पैँचो लिइएका हुन्। 

उहाँको यस्तो स्टाट्सलाई आठ जनाले 'लाइक' भन्दै मन परेको संकेत गरे। नौ जनाले कमेन्ट लेखे। अनुमति नलिइ यहाँ लेख्ने भएकाले नाम उल्लेख नगरी पनि उनीहरुको कमेन्टमात्र पढौं। यस्ता थिए -

- हुन्छ नि हजुर । नेपाली सबैलाई इन्टरनेटको पहुँचमा कहाँ पुग्न सकिन्छ र। विदेशमा बसुञ्जेल हो रहेछ नियमित।
- हुन्छ नि हजुर।
- के गर्नु हाम्रो तीतो यथार्थ।
- केही छैन दाजु। फेसबुकमा भन्दा आफ्नो मातृभूमिमा टेक्दा खुशियालीले फेसबुकलाई केही क्षणका लागि भुलाइ दिन्छ नि। होइन र।
- भैगो नि त 
- तपाइँको देशभन्दा बढी धेरै फेसबुक चलाउनेहरु छन्।
- केही समस्या छैन। धन्दा नमानौ।
- आफ्नो देशलाई गरिब भनेपछि अरुले के भन्छ दाइ। मलाई त सिक्किमबाट काँकडभिटा आइपुग्दा तातो भए पनि आफ्नै देशको हावा मन पर्छ।
- नो प्रोब्लेम दादा।

***
धेरैले बिग्रेको राजनीतिलाई दोषारोपण गरेर देश छाडेका छन्। विराटनगरको आदर्श विद्यालय पढेका ती दाई हिजोआज उनी हाल नेदरल्याण्डको अल्ट्रिच बस्छन्। १९९७ मा पब्लिक पोलिसी म्यानेजमेन्टमा स्नातकोत्तर र त्यसको तीन वर्षपछि न्युयोर्कको कोलम्बिया विश्वविद्यालयबाट इकोनोमिक पोलिसी म्यानेटमेन्ट विषयमा स्नातकोत्तर गरेका उनी यो दसैंमा नेपाल भ्रमणमा छन्। साथीका माध्यमबाट फेसबुके साथी बनेका ती दाजुलाई तीन दिनअघि उद्घोषकै कार्यालयमा स्वागत गर्न पाइयो। मलाई उहाँको व्यक्तिगत जीवनबारे अझै पनि धेरै थाहा छैन।

विज्ञ व्यक्तित्व , साहित्यका रुचि र बाहिर बसेपनि देशका बारे चासो र चिन्ता राख्ने व्यक्ति भनेर चिन्छु। मेरो बुझाइ , सोचाइ र देशका बारे मैले सोचेजस्तै सोच सबैको हुनुपर्छ भन्ने होइन। तर, मलाई लाग्छ, केही समय बाहिर बसेपछि काम लाग्ने गिदी भएकाहरु देशमा हुनुपर्छ।
०००

समय परिवर्तन भएको छ। पढेकाहरु अझ पढ्न बाहिर जान्छन्। बाहिरै बस्दा रमाउँछन्। अनि उतै जान लालायित छन्। यहाँ श्रमको उचित मूल्य नपाएको अनुभव गर्नेहरुको लाम ठूलो छ। महिनाको हजारभन्दा बढी उनीहरु बाहिर पुगेका छन्। 

मेरो एउटा भाइ छ। काकाको एक्लो छोरो। लगातार जीमेल र फेसबुकको च्याटमा आइरहने। उसले एक दिन भन्यो, 'दाजु, म कहाँ छु थाहा छ?' मैले भने 'के कुरा गर्छस् ! हेटौडा त हो नि।' उसले भन्यो, 'म त कोरिया आइपुगेको छु नि। थाहा छैन?' मलाइ थाहा थिएन। उसले भनेपछि मात्र थाहा भयो। 

मैले उसलाई भन्नु नभन्नु भनेँ। मेरो भावना उसको भन्दा फरक छ भन्ने लाग्छ। उ कम्प्युटरको हार्डवेयरको काम गर्थ्यो। महिनाको २५/३० हजार घरैबाट धाएर कमाउँथ्यो। त्यति एउटा नेपालीका लागि पुग्ने कमाइ हो। जीवन चल्छ। सपना सबैका हुन्छन्। सबैले पछि हेर्दैनन्। अघि बढ्न नै चाहन्छन्। तर, जति गरेपनि जाँदा मान्छेले केही लादैन। जति परिश्रम, उपार्जन छन्, ती सबै छाडेर जानुपर्छ। 

छोराछोरी घरका लागि भर हुन्। अभिभावकका अत्यावश्यक बेलामा उनीहरु सँगै उभिन सकेनन् भने ती भन्दा दुःख लाग्दा कुरा के हुन सक्लान्। उसले भन्यो, 'म आइहालें। भनेजस्तो काम त छैन। तर, पनि केही महिना हेर्छु भएन भने फिर्छु।' उसका कुरा ठीकै होलान्। तर, उ घर फिरोस् र, घरका लागि चाहिएका बेला उभिएको सुन्न पाइयोस् भन्ने मलाई लाग्छ।

०००
धेरै बाहिर गएका छन्। इन्टरनेटको च्याटमा भेट हुदा देश चिन्ता गर्छन्। तर, यहाँ गर्नेका लागि कामका अवसर रहेछन् भन्ने उदारहण पनि नभएका होइनन्। गत आइतबार जर्मनीको बर्लिनमा डा. एल्ब्रेच्ट हेनिङ र उनकी पत्नी क्रिष्टिनाले क्वाडि्रका नागरिक पुरस्कार पाए। विश्वका विभिन्न भागमा नागरिक समाजका लागि केही गर्नेहरुलाई यो पुरस्कार दिइने रहेछ। जर्मनीमा जन्मेका डा. हेनिङ दुई दसकदेखि लहानमा छन्। उनले त्यहाँ सगरमाथा चौधरी आँखा अस्पताल सुरु गरे। अस्पताल लहानमा मात्र सीमित भएन। त्यो विराटनगरसम्म आइपुगेर मुलुकमै आँखाका रोगीका लागि सबैभन्दा बढि सेवा दिने संस्था भएको छ।
  
सबैमा विशेषज्ञता हुँदैन। तर, प्रयास नगरे केही हुन्न। जर्मनमा जन्मेका एक चिकित्सकले नेपालमा आएर केही गर्ने अभियान थाल्न सक्छन् भने नेपालीले गर्न नसक्ने भन्ने हुन्न। सबै प्रयासहरु सानो अभियानबाट थालनी हुन्छ। सकारात्मक प्रयासका लागि सहयोगी हातहरु खोज्न सकिन्छ।

सबैले डा. हेनिङ जस्तो अभियान चलाउँछु भन्ने सम्भव नहोला। तर, आफूले सक्ने र घर नजिक रहेर गर्न सकिने धेरै कामहरु छन्। देशलाई बुद्धि र बल अनि सकारात्मक सोच भएकाहरुको खाँचो जहिल्यै छ। 

नेदरल्याण्डका रहेर १९ वर्षपछि विरोटनगर फिरी यहाँको विद्युत-इन्टरनेटको व्यवस्थालाई दोष दिनेभन्दा आफैं केही अभियान थाल्नेहरु चाहिन्छ। दसैंका लागि बिदा लिएर घर आएकाहरुले केही त्यस्तो सोचलाई कार्यरुप दिन चाहे कति जाती हुन्थ्यो होला।

Tuesday, September 28, 2010

पर्दैन मछली जालैमा

ठूलो सहर माछो छटपटाउँदै छ। ४८ वर्षीय भरतमणि सुनुवारले च्याप्प अँठ्याए। समूहका कान्छा सदस्य उपेन लिम्बूले निकोन डी३००एस क्यामेरालाई फोटोबाट भिडियो मोडमा लगे। उनको संकेत पाएपछि 'सेभ महासीर' (सहर माछा बचाउँ) भन्दै सुनुवार चिच्याए, अनि माछालाई तमोर नदिमै छाडिदिए।
 
अत्याधुनिक बल्छी बोकेर वर्षका तीनपटक कोशी गड्तिरै गडतिर हान्निने यो धराने टोलीका लागि यसपटकको यात्रा रमाइलो छैन। मौसम, सवारीसाधन र शारीरिक श्रम यसका कारण होइनन्। 'पहिलेजस्तो माछा पर्दैन,' समूहका जेठा सदस्य टेकबहादुर लिम्बू (६१) कुरा खोल्छन्, 'पहिले एकै दिनमा १०/१२ किलोका माछा पर्थे। एक/दुईवटा परे पनि हामी मक्ख !' उनको समूहमा प्रायः चारजना हिड्छन्। खेमराज राई (४८), भरतमणि (४८) ,टेकबहादुर र उपेन (३४)।

उपेनका लागि बल्छी खेल्न हिडेको यो १४औं वर्ष हो। धरानमा कपडाको व्यवसाय गर्दागर्दै पनि अघिल्ला वर्षहरु उनी काम थाँती राखेर हिड्थे। अहिले केही फुर्सदको बेला आएको छ। तर, यात्रामा पहिलेजस्तो रोमाञ्च छैन। 

माघ-फागुन माछा पर्ने मुख्य समय मानेका उनीहरु वर्षको सुरु र असोजताका गरि तीनपटक निस्कन्छन्। कोशीमा जलयात्राका लागि अहिले मोटरबोट चल्छ। आउजाउ सजिलो र छिटो भएको छ। मुख्य फिसिङ स्पट मानेको सुनकोशी, तमोर र अरुणको संगम त्रिवेणी हो। यहाँसम्मको यात्रा अहिलेको वर्ष सजिलो छ। धरानबाट बढीमा ४० मिनेटको यात्रापछि चतराघाट। त्यहाँबाट मोटरबोटमा १५ मिनेटको जलयात्रा। तर, रोमाञ्च घटेको छ। 

०००
'हामीले भनेर हुने हो र ?,' उपेन भन्छन् 'करेन्ट लगाएर मार्छन्, तारजाली थापेर मार्छन्। भुरा पनि नबाँच्ने भएपछि माछा कसरी ठूलो हुन पाउँछ !' रहरका लागि माछा समात्न हिड्ने टोली अहिले रनभुल्लमा छ। पदमार्गमा उनीहरुले गाउँ नै उल्टिएर करेन्ट लगाइ, विष हाली अनि तारजाली थापेर माछा समातेको देखेपछि यस्तो भएको हो। भन्छन्, 'इण्डियामा त टुरिस्ट नै आएर फिसिङ गर्छन्, यो गेम हो। त्यहाँ संरक्षित क्षेत्र पनि छ। हामीकहाँ केही गर्न ढिला भइसक्यो।' उनको अनुभवमा जलवायु परिवर्तनले माछाको प्राकृतिक बासस्थानमा प्रभाव पारेको छ। त्यसमाथि जथाभावी मार्ने चलनले भुरासमेत नछाड्दा लोप हुने क्रम नजानिँदो पाराले डरलाग्दो बनेको छ। 

'माछी मारन हे दाइ हो' गीत सुन्दा जति मीठो अनुभूति हुन्छ त्यति नै नमिठो भुरा पनि नछाड्ने प्रवृति देखेर हुने उपेनको अनुभव छ। धेरै परिवार खालाछेउ बस्छन्। दाउरा, पानी र माछाका लागि खोलाको भर छ। तर, वर्षमा कुनै दिन यस्तो हुन्न, जहिले आज माछा नमारौँ, छाडिदिउँ भनुन्। 
समूहका जेठा सदस्य टेकबहादुरले जागिरे जीवनमा सिंगापुर, मलेसिया र ब्रुनाइको अनुभव गरेका छन्। ब्रनाइमा रहँदा बिदाका बेला समुद्रमा गएर माछा मारेको अनुभव उनीसँग छ। 'विदेशीले माछा खानका लागि मात्र मार्दैनन्, यो एकखालको सोख पनि हो,' उनी भन्छन् 'समात्छन्। अनि फेरि बाँच्नेगरी पानीमै छाडिदिन्छन्। हाम्रो सोख पनि त्यस्तै-त्यस्तै छ।' रिटायर्ड जीवनका फुर्सदका क्षण उनलाई नदि र पाखा घुम्दा रमाइलो लाग्छ। 

अनि साथ दिने टोलीमा माछा समात्ने फिसिङ रड लिएर हप्तौं घुम्न मन लाग्छ। 'मान्छे शान्ति पाउन चाहन्छ, त्यो पानीकीरोको ज्यान लिने मनशाय हुँदैन,' उनी थप्छन् 'कतिपल्ट कहाँ कति ठूलो अनि कति किलोको भेटिँदो रहेछ भन्ने जिज्ञासाले पनि हामीलाई घुमाउँछ।'  माछा मारेरैमात्र गुजारा चलेको ठान्नेहरुले पनि जोगाउनमा ध्यान नदिए कुनै समय नदिमा माछा नै नभेटिने अवस्था आउला भन्ने चिन्ता मनमा आउँछन् । भन्छन् 'हामीले मार्ने मात्र होइन जोगाउन पनि ध्यान दिनुपर्छ । जोगाएमात्र बढ्छ । फस्टाउँछ ।' 
०००
सुनकोशी, तामाकोशी, दूधकोशी, लिखु,तमोर, इन्द्रावती र अरुण नदि सुनसरीसम्म आइपुगेपछि सप्तकोशी बन्छन् । हिमालयबाट आउने स्रोतका कारण सातैवटाको जलस्तर हिउँदमा केही कम भएपनि पुरै कहिल्यै सुक्दैनन् । माछा पुग्न सक्ने स्रोतदेखि पुछारसम्म नै माझी परापूर्वकालदेखि सक्रिय छन् । सप्तकोशीमा झन भीड छ । माथिल्लो भेगमा डुङ्गा लिएर गइ जाल हान्ने चलन नदेखेकाहरु सप्तरीको हनुमाननगर आइपुगे भने आतिने अवस्था छ ।
  

दोलालघाटका माछा मन पराउनेहरु हुन् वा घुर्मी पुग्नेहरु, सबैका लागि सुनकोशी माछाको दरिलो स्रोत छ । सप्तकोशी नदिका माछा राजधानीमा खान चाहनेहरुका लागि अब सजिला दिन छैनन् । कोशीकै माछामा विद्यावारिधी गरेका डा. भरतराज सुब्बाले २०४३ देखि माछाका प्रकार र अवस्था चिनेका हुन् । कोशीको बानी, पानी र तिनमा आश्रतिहरुको प्रजाति केलाउँदै विद्यार्थी पढाउने उनका लागि सम्झेर ल्याउदा दिक्क लाग्छ । 'धेरै प्रजाति लोप हुने अवस्था छ, भन्छन् 'वर्षका केही महिना माछा मार्न पुरै बन्देज गरिनुपर्छ ।' 

दक्षिणबाट फूल पार्न माछा उत्तर लाग्छन् । उनीहरु गहिरो ठाउँ छाड्छन् । अनि फुलबाट सजिलै भुरा निस्कने स्थान छनोट गर्छन् । सबैतिर सिकार हुने भएपछि माछाका लागि सुरक्षित स्थान असम्भव हुँदै आएको उनको अनुभव छ । बग्ने पानी र जमेका पानी हुने जलाशयका माछाको प्रकृति र प्रजातिमा भिन्नता छन् । दुइ दसकअघि कोशीमा १ सय २२ प्रकारका जलचर पाइने तथ्यांक कसैले सार्वजनिक गरेको थियो । पछिल्ला समय यहाँ कति जलचर छन् भन्ने अनुसन्धानका लागि कसैले काम नगरेको उनी बताउँछन् । 

त्यसो त फैलावट ठूलो भएको सप्तकोशीमा अनुसन्धान चानचुने पनि छैन। नेपालमा पाइने माछाका विषयमा 'इथियोलोजी अफ नेपाल' नामक पुस्तकमा डा. तेजकुमार श्रेष्ठले रैथाने र आयातित प्रजाति गरि २३२ प्रजाति पाइने उल्लेख गरे पनि हिम नदीका प्रकृति र तराई भेगको जलप्रवाहमा पाइने प्रकारहरुको अध्यनन अझै बाँकी नै छ। 
०००
कोशी ब्यारेजमा पुग्नेहरुका लागि अहिले कोशीकै माछा खरिद गर्न वा खान पाउनु भाग्यमा भर पर्नुपर्ने भएको छ । बाह्रैमास एकैनाश माछा मार्ने चलन निर्वाध हुनुले यस्तो भएको हो । कोशी टप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव भन्छन् 'अहिले पहिलाजस्तो छैन । एक/दुइ किलो माछा पर्‍यो भने माझीले भाग्य मान्छन् ।'  रहु, सहर, जलकपुर, कोसिया,पौची र गोछलगायत भनिने माछाका नाम यहाँ चलेका हुन् । तर, ठूला आकारमा यिनलाई जालमा पार्न सक्नु युद्ध जिते बराबर छ ।  केही वर्षअघिसम्म यहा मारेर काठमाडौ र मुलुकका अन्य सहर पुर्‍याइने माछा अहिले आयातितको भरमा छ । कतिपय मत्स्यपालक किसानका पोखरीले पनि बजारको माग धानेको छ । यादव भन्छन् 'पहिले जसरी अब कोशीबाट बाहिर पठाउने गरि माछा पर्दैन ।' 

सुनसरी, सप्तरी र उदयपुर समेटेर संरक्षित भनिएको कोशी टप्पु वन्यजन्तु आरक्षको मुल क्षेत्र नदिको भंगालोबीच छ । संरक्षित क्षेत्र घोषणाका ३४ वर्षपछि पनि आरक्ष आसपासको बानी फेरिएको छैन । कतिपय मलाहा परिवारका युवाले पुर्ख्यौली पेशा छाड्नुका पछि संरक्षित क्षेत्रमा लागू नियमभन्दा दिनभरि जाल हान्दा पनि रितो भाडो बोकेर फिर्नुका निराशा बढि छन् । आरक्षका रेञ्जर अशोक रामको बुझाइमा जथाभावी माछा मार्ने चलनले आश्रतिहरुलाई नै अभर पार्ने अवस्था आएको छ । 'पानीमा पाइने माछा, घोघी र अरु जीवहरु मान्छेको मात्रै भोजन होइन यसले चराहरुलाई पनि जीवन दिन्छ, उनले भने 'मान्छेले सबै नाशेपछि यसको असर चक्र जसरी प्रकृतिमा पर्छ । यो धेरैले बुझेका छैनन् ।' 

आरक्षले संरक्षित क्षेत्रभित्र पनि नदिमा माछा मार्न अनुमति पूर्जी दिन्छ । तीन जिल्लाका करीव नौ सय माझी सप्तकोशीमा निर्भर छन् । आरक्षले डुङ्गा चढेर करेन्ट जाल लिइ माछा मार्न दिदैन । तर, माझीहरुले त्यो बानी छाडेका छैनन् । छरिता डुङ्गा र गस्ती गर्न पोख्त जनशक्तिको अभाव आरक्षलाइ छ । यसको फाइदा अनधिकृत रुपमा माछा मार्नेले उठाएका छन् । लामो घेरा राखेर एक ठाउबाट अर्को ठाउँ लामो समय थापिने करेन्ट जालले साना ठूला सबै आकारका माछालाई एकपटक फरेपछि फुत्कन दिदैन । यही जाल भुरासमेत नाश्ने कारक बनेको छ । संरक्षित क्षेत्रभित्र हुने अनधिकृत आवतजावत रोक्न आरक्षसग योजना र स्रोत नभएको कर्मचारी गुनासो गर्छन् । त्यसबाहेक जिल्लाहरुले माछामा लगाउने ठेक्का पनि छुट्टै छ । असारदेखि असोजसम्मका चार महिना माछाका लागि फूल पार्न उपयुक्त समय मानेका कतिपय माझी ती फुल नै भेटेपनि छाड्ने पक्षमा भेटिन्नन् । 
 
माझी मल्लाह सञ्जालका अध्यक्ष गुलावी मुखिया भन्छन् 'माछा जोगाउनु पर्छ भन्नेमा माझी कै हित छ । तर, सरकारले खाली बसेका समयका लागि केही सोचिदिनु पर्छ ।' वैकल्पिक पेशाको बाटो नदेखेका कारण नदि नै बाच्ने आधार भएको उनको गुनासो छ ।
 
पुराना मलाहाहरुले थरि थरिका जाल, नयाँले करेन्ट, विष प्रयोग गरि नदिमाथि हमला जारी राख्दा दिनदिनै माछा जालमा पर्ने अवस्था घटेको छ ।

Saturday, September 18, 2010

एउटा मध्यरात

राति १२ बजेपछि विराटनगरमा चिया खान मन लागे सजिलो छ - कोशी अञ्चल अस्पतालको गेट टुंगो। कामले महिनाका दुई साता १२ नघाएकै छ। छिटो नहुनुका पछि चिन्ता लिएर बस्नुभन्दा चिया खाएर निन्द्रा र थकान मेट्नु जाती हुन्छ धेरैपटक। धेरै निन्द्रा लागेका बेला बाइकको गतिमा ध्यानको सक्रियता कम होला भन्ने डर। अनि यदाकदा बाटा रोक्ने वर्दीधारीका प्रश्नमा उठ्ने रिस। चिया पिउञ्जेलको समयले घर पुग्नुका १० मिनेटलाई ऊर्जाशील बनाउने भान हुन्छ। हो/होइन कसले खोजोस्। चलेको यस्तै छ।
 
बजारका सडक सुनसान छन्। ९० किमि प्रतिघण्टाको स्पीडमा हुइकिँदा पनि दुर्घटना हुने डर छैन। अन्त कतै चिया पसल भेटिहाल्न सजिलो छैन त्यसैले मुख्य बजार छिचालेर पुगिने गेट चिया। लेट चिया।
  
ठेलामा चिया बेच्नेहरु तीन जना छन्। जसकोमा गएर खाए पनि हुने। एफएम घन्किएको छ। चिया घोटाइ मुख्य व्यापार। नजिकका औषधि पसलको चेपबाट तार तानेर ठेलामा झुण्डिएका सीएफएलको मधुरो प्रकाश। ग्यास चुलो र मट्टितेलका स्टोभ। 

बेला-बेला चिया छान्ने सफा पार्दा ज्वालामा राखेपछि एक प्रकारको गन्ध छ । केही डढेजस्तो । चुलो बलेका ठेलामा विस्कुटका पाकेटसँगै रजनीगन्धा र गुट्खा अनि सुर्तीका प्याकेट झुण्डिएका छन्। 'त्यो रेडिमेड चिया चाहिँ दिने हैन नि' भन्नै पर्छ। कारण, धेरैबेर पकाएर गाढा रंग परेको चिया। अनि चियापत्तीको थुप्रो भाँडोमा देखिन्छ। 

ग्राहक थपिए त्यहीमाथि पानी र दूध थपिन्छ। छिनमै तयार ! उसले त्यही दिन्छ। भनियो भने उसले नयाँ ग्राहकलाई नया वान लगाउँछ। नभए रेडीमेडमै परिन्छ। ठ्वास्स गन्हाउने, तिखो गुलियो, पानीको मात्र बढी भए पनि चिया। जे होस पानी परेको छैन। वर्षात भइरहे यहाँ सजिलै चुस्की लगाउने रहर अलि महँगो हुन्छ। चियाले निन्द्रा भगाउँछ।
 
छेवैमा बेञ्चहरु छन्। तिनमा रिक्शावालका आफ्नै भावभंगिमा। अनि बिरामीका कुरुवा। लामखुट्टे लाग्छ। आफैंलाई मन लागेको औषधि नशामा सुइ हानेर लिन पल्कने 'डाक्टर' भनिने भीडका सदस्य पनि यदाकदा भेटिन्छन्। तिनमा एउटा गफ दिइरहेको छ। अरु 'अँ अँ' भन्दै ज्ञानी मान्छे जसरी सुनिरहेका छन्। बेला-बेला यस्ता डाक्टर पाखुरा देखाउने भेस्ट, हाफपेन्ट र तीव्र पिकप भएको बाइकमा देखापर्छन्। अनि कोही मोबाइलमा राखेको गीत सुनाउँछन्। रिक्शावालको मोबाइलबाट गीत घन्कन्छ - 'मिस कल मार तारु कीस देबु का हो।'
 
अस्पताल अघिको मध्यरात बेग्लै प्रकारको छ। सबैको आ-आफ्नै धुन। बेला बेला प्रहरी गस्तीको भ्यान आइपुग्छ। दलबल ओर्लन्छ। चिया पिउँछ। गफ सुन्छ। अनि फेरि घुमन्ते ड्युटी बजाउन हुइँकिन्छ। एम्बुलेन्स साइरन बजाउँदै आउँछ। उसको हेडलाइटको तीब्र प्रकाश आँखा खाने खालको लाग्छ। हुन त प्रहरी भ्यानले पनि बत्ती डीम पार्न जानेको छैन। त्यो गाडीलाई लाग्छ- कसैलाई उसले बाधा पार्दैन। तर, हेडलाइटको तीव्र प्रकाशविरुद्ध मध्यरातमा कसले प्रहरीसँग प्रतिवाद गरोस्।

रिक्शावालहरु धेरै बिरामी लिएर आएका बस्छन्। कति चाहिँ अस्पतालबाट बिरामी अन्यत्र लानुपर्ने भए दोब्बर भाडा पाउने आसमा रातको ड्युटी बजाइरहेका भेटिन्छन्। सरकारी अस्पताल हो। दिनभर सुकिला स्वास्थ्यकर्मीले दाबी गरेका हुन् - अस्पतालले सेवा राम्रो दिएको छ। २४ घण्टा खटिए पनि 'जस' नाउँको केही पाइन्न। काममा हौसलाभन्दा निराशा दिनेहरु धेरै भए। उज्यालोमा उनीहरुका कुरा यथार्थ भान हुन्छ। तर, राउण्डका डाक्टर नआएर नजिकको नर्सिङ होममा बिरामी लैजान रिक्शासँग कुरुवाको चलेको भाडाको विवादले त्यो पुष्टि गर्दैन। बिरामीको अवस्था बिग्रिएको चिन्तामा कुरुवा भाडा घटाउनेमा बढी अडान राख्दैन। जसरी हुन्छ उसलाई आफ्नो मान्छे निको हुनुको चिन्ता छ।
  

छेवैमा बसेर चिया पिउँदा कतिको चुरोटको धुआँसगै गन्हाउने सास ठोक्किन्छ। धुआँले भन्छ, कोही-कोही चुरोटमा गाँजा भरेर पनि सर्को लिइरहेका छन्। यतिखेर कसैले कसैलाई वादविवाद गर्ने बेला होइन। कोही आफ्नै सुरमा व्यथा बकिरहेका छन्। 'हिजो किस्ताको पैसा बुझाउन पुगेन, मालिकले रिक्शा नै लग्यो,' उ भन्छ, 'आज अर्कैको लिएर आएको। भोलि चाहिँ दिन पुग्छ। मनग्ये भएको छ।'

एउटा बिरामी बोक्दा उसले भनेजति आएपछि अरुलाई कुदाउनु नकुदाउनु फरक नपर्ने भएको छ। त्यसैले उसले अलिकति ठर्रा लगाइसकेको रहेछ।
 
व्यथा साट्दा साट्दै उनीहरुका लबजमा समान्यसरह छाडा बोली चल्छन्। छेवैमा एउटी महिला पनि छिन्। उनलाई केही फरक परेजस्तो देखिन्न। पुरानो मैलो सारी, जिङ्ग्रङ्ग कपाल। शायद उ मागेर गुजारा गर्दी हो। केहीबेरमा उ पसलेलाई चिया माग्छे। पसले जवाफमा तथानाम गाली गर्छ। अनि पसलेको कामदार प्लाष्टिकको जगले टाउकैमा पर्नेगरी परबाट पानी हुत्याउँछ। भन्छ - 'जान्नस भने कुटाइ खान्छेस्। खेदी खेदी कुट्छु।' उ फत्फताउँछे अनि सानो पोको च्यापेर विस्तारै पर पर लाग्दै देखिन छाड्छे।
  
चिया पसल नजिकै कुकुरको एउटा समूह आपसी संघर्षमा देखिन्छन्। वर्षा भइरहने समय कम हुँदै आएको बेला हो यो। छिप्पिएपछि रात केही शीतल छ। त्यसैले ५ वटा डागोको संघर्ष एउटी कुकुर्नीका लागि चलिरहेको छ। धेरै हल्ला हुन्छ । अनि एउटा रिक्शावाल निस्कन्छ । र, ती कुकुरलाइ लखेट्छ। भागे पनि त्यो समूहको जुधाइ र भुकाइ घटेको होइन।

दिनभर भागदौडमा व्यस्त सहर सुतेको छ । उठेका कोही छन् भने यी चिया पसले, रिक्शाचालक, बिरामी, तिनका कुरुवा, उपचार गर्ने र नगर्ने डाक्टर। बैंकका पाले। बजारमा सटर कुर्न ड्युटीमा पालो परेकाहरु। अनि प्रहरी। चिया सिध्याएपछिको यात्रा जलजला मोड हुँदै ट्राफिकचोक, जनआन्दोलन चोक भनिने महेन्द्रको सालिक भत्काइएपछिको ठूटो चोक भएर बसपार्क। अनि रोडशेष हुँदै तल्लो बाटो मिल्सएरिया। 

सुनसान सडक। यदाकदा बुधहाट चोकमा बाइक रोकेर ढाडको झोला हेर्न खोज्ने प्रहरी आज भेटिएनन्। रोडशेषमा रोकियो। टोली यता रहेछ । झोला देखाइयो । अघि बढियो । कोशी प्रजेक्ट चोकमा अस्पताल गेट जस्तै कुकुरको समूह। यहाँ दुईवटा स्पीड ब्रेकर छन्। सैनिक टोल नाघेपछि कुकुर जुलुस देखियो। अचम्म ! आज कुकुरले मलाइ भुकेनन्। बाइक पच्छ्याउदै दौड लगाएनन्। 

त्यो सेतो-खैरो टाटे कुकुर आज ब्यस्त रहेछ। उजस्ता गन्न नभ्याइनेको भेला। करिब ५० हाराहारी होलान्। यतिकाको जमात एकैपटक पहिले देखेकै होइन। कति जोडिएका छन्। कति प्रयासमा छन्। यति संख्याका भेला मान्छेको हुँदो हो त कुनै हलबाट सिनेमा हेरेर फिरेकाको जमात आएछ जस्तो लाग्थ्यो होला। मनले भन्यो - 'कात्तिक आएछ।'

बाँसबारीचोकदेखि गौतम बुद्ध स्कुलसम्मको  बाटो चौडा, सडक बत्ती भएको छ। अशोक टेक्सटायल अघिको सडकमा धेरै खाल्डाखुल्डी। कुकुरले भुक्दै बाइकसग दौड खेल्न मन पराउने मेरा लागि यो तेस्रो स्थान हो। यहाँ आज उनीहरु भेटिएनन्। सडक सुनसान । सिम सिम पानी आयो। रेनकोट झिकियो। 

मोबाइल बज्यो। हेरें । ढिला किन भयो भनेर गृहमन्त्रीको ताकेता थियो। रिसिभ गरिसक्दा घर पुग्ने दूरी। नम्बर हेरेर गोजीमा राखियो। मोबाइल बजिरह्यो। चार नम्बर गियर। ५० को स्पीड। कसैका लागि हर्न दिनुपर्ने र ब्रेक लगाउनुपर्ने अवस्था थिएन। कतैबाट समयसुचक घण्ट ठ्याङ ठ्याङ गर्‍यो २ बजेछ।

Monday, September 13, 2010

महिला दुर्व्यसनीलाई जोखिम अधिक


विराटनगर- 'माल यति डोज लिँदा पनि केही नहुने। मेरो पेटमा के छ हौ !' वाक्यमा आनन्द, क्रुरता, निराशा, आक्रोस अनि अत्यास। धेरै खालका भाव छन्। लागूपदार्थ सेवनकर्ता महिलाले परामर्शदात्रीसँग यी धेरै भाव मिसाएर गरेको प्रश्न हो यो।

उनी गर्भवती छन्। प्रसूतिको समय अब धेरै टाढा छैन। तर, बच्चा जन्माउने कि नजन्माउने भन्ने दुविधा हटेको होइन। दिनहुँ जसो परामर्श दिने सामाजिक कार्यकर्ता भेटे पनि उनले पाउने सल्लाह गम्भीरतापूर्वक लिन्नन्। 

लागूऔषध प्रयोगकर्ताका लागि क्षति न्यूनीकरणका क्षेत्रमा काम गरेमध्येका तेस्रो वर्ष सुमी खड्कालाई बेला बेला अचम्म लाग्छ। भन्छिन्, 'आउनुहुन्छ। सोधेको कुराको जवाफ दियो। मन कता कता उडेको हुँदोरहेछ।' अघिल्ला दुई वर्ष उनले लागूऔषधका पुरुष प्रयोगकर्ताको क्षेत्रमा काम गरिन्। १० महिनायता आएको नयाँ कार्यक्रम अन्तर्गत महिलाका लागि गर्नु परिरहेको छ। छिटो नखुल्ने, मित्रता ढिलो गर्ने अनि झट्ट अरुलाई नपत्याउने बानी भएका महिला दुर्व्यसनीलाई पहिचान गरी परामर्श दिनु समाजिक कार्यकर्ताका लागि चुनौती बनेको छ। 'यतिको समय जेन्सहरुका लागि काम गरियो, ठीकै भयो,' खड्का भन्छिन्, 'महिलाका लागि काम गर्न धेरै मेहनत पर्छ।'

विराटनगर उपमहानगरपालिकाको भारतीय सीमासँग जोडिएका क्षेत्रमा लागूऔषध प्रयोगकर्ताका लागि आवतजावत निर्वाध छ। त्यसैले यहाँको रानी मिल्सएरिया हुँदै जोगबानी गएर लागूऔषधको 'डोज' लिइ फिर्नेको जमात दिनहु देख्न पाउनु नौलो छैन। सीमावारि बन्देज गरिएका लागूऔषध पारि खुला रुपमा पाइन्छन्। सीमापारका व्यापारीको मनग्ये आम्दानी हुने भएपछि प्रयोगकर्तालाई खान, लगाउन अवरोध हुँदैन। 

सिकारुहरु विभिन्न प्रकारका ट्याब्लेट, क्याप्सुल र फेन्सिडलजस्ता कडा प्रकारका 'कफ सिरप' खान्छन्। बढ्ता बानी परेकाहरु सूइबाट लागूऔषध नशामा लिन्छन्। सूइबाट लिनेहरुले एउटै सिरिञ्ज प्रयोग गर्दा एचआइभी संक्रमणको जोखिम बढ्छ। यही जोखिम कम गर्न यस क्षेत्रलाई लक्ष्य गर्दै विभिन्न संस्थाले क्षति न्यूनीकरण कार्यक्रम चलाएका छन्। यो अन्तर्गत यस्ता प्रयोगकर्तालाई 'ड्रप इन सेन्टर' मा बोलाएर परामर्श दिइन्छ। लागूऔषधको मात्रा घटाउने सल्लाह तत्काल अवलम्वन गर्न नसक्ने अवस्थाकाहरुलाई साटासाट नगरुन भनेर सिरिञ्ज नै वितरण गरिन्छ। संस्थापिच्छे संख्याको तथ्यांक फरक भए पनि यस क्षेत्रमा नियमित लागूऔषध सेवन गर्नेहरु आठ सयको हाराहारीमा छन्।

लागूऔषध प्रयोगकर्ता पुरुष हुनु नौलो छैन। तर, पछिल्ला केही वर्षदेखि यस क्षेत्रमा लागूऔषधका महिला प्रयोगकर्ताको संख्या बढ्दो छ। यिनमा काम गरिखाने, विवाहित, विभिन्न परिस्थितिपछि घर छाडेकाहरुको संख्या अधिक छ। रिचमण्ड फेलोसिपको महिला लागूऔषध प्रयोगकर्ताका लागि क्षति न्युनीकरण कार्यक्रमका प्रमुख काम गरिरहेका अभिषेक धिमालका अनुसार १० महिनाका अवधिमा ९७ जनामात्र महिला सम्पर्कमा आएका छन्। यीमध्ये मोरङका ५७ जना छन्। 

'धेरैको स्टाटस खुलाउन मिल्दैन तर, हामीले जोखिम घटाउन सम्पर्क बनाएका छौँ,' उनले भने 'धेरै अझै खुल्न चाहदैनन्। तर, उनीहरु अत्यधिक जोखिममा छन्।' पुरुषहरु जुनसुकै परिस्थितिका लागि तयार रहने भए पनि महिलाका लागि दुर्व्यसनभित्र पनि अधिक जोखिम भएको उनले बताए।

लत लागेपछि लागूऔषध सेवनका लागि जोसँग पनि सुत्न तयार हुनु र नशामा रहेका बेला त्यस्तामाथि बलात्कारका घटना हुनु मुख्य जोखिम रहेको उनको भनाइ छ। सम्पर्कमा आएकामध्ये केही गर्भवती छन्। उनीहरुलाई गर्भ कसको हो, राख्ने कि पतन गराउने भन्ने दुविधामै कानूनीतवरले गर्भपतन गर्न सकिने अवधि गुज्रिसकेको छ। 

यस्ता प्रयोगकर्तामा होटल रेस्टुरेन्टमा काम गर्ने अधिक छन्। पुरुष प्रयोगकर्ताको संगतले बानी परेकाहरु उनीहरुलाई नै साथी बनाइ लागूऔषधको 'डोज' लिन पारी धाउने गरेका छन्। मोरङ जिविसको एड्स समन्वय शाखाका अधिकृत झमक भट्टराई भन्छन्, 'उनीहरुलाई जोखिम धेरै छ। तर, खोजेर पनि उनीहरुको जोखिम घटाउने काम गर्न खोज्नुका पछि चुनौती अनगिन्ती छन्।' 

Friday, September 10, 2010

बानी फेर्दै बहिरा स्कुलमा बालबालिका


विराटनगर - 'छोरी बोल्दै बोलिन । पछि बोल्छे होलाजस्तो लाग्यो । स्वास्थ्यकर्मीले जिब्रोको मासु जोडिएको छ भनेथे । उपचार पनि चलाइयो । स्कुल पठाउन थालेपछि मात्र थाहा भयो उनमा सुन्ने र बोल्ने क्षमता रहेनछ । मोरङ सलकपुर-९ की जशोदा दाहाल भन्छिन्, 'थाहा पाइयो, दुई/चार दिन चिन्ता भयो । अनि यसलाई कसरी अरूसरह बनाउने भन्ने खोजी गर्न थालियो ।' गर्मी बिदा सकिएपछि खटिरा आएकाले छोरीलाई बिसञ्चो छ । 'बिसेक भएर केही दिनपछि स्कुल आउँछे है,' विराट बहिरा माविमा आएकी दाहालले भनिन्, 'पढ्न थालेपछि उसको बानी धेरै फेरियो । अहिले ऊ आफूसरह अरू सामान्य केटीभन्दा कम छैन ।'
जसोदाकी छोरी जानुका ७ कक्षामा पढछन् । स्कुलको बानी नलागुन्जेल जानुका जिद्दी थिइन् । उनलाई भनेको हुनैपथ्र्यो । 'सकिँदैन, हँुदैन भनेर बुझाउन नसकिने,' जसोदा भन्छिन्, 'अहिले ज्ञानी छ । फेरिएकी छ । ऊ धेरै कुरा बुझ्छे । पढ्छे, सघाउँछे पनि ।'
पढाइले आफ्नो सन्तानको बानीमा गरेको सुधार उनले मात्र अनुभव गरेकी होइनन् । धनुषा ननुपट्टी-२ का महेन्द्र चौधरीको घरमा पनि परिवारका सदस्यलाई त्यस्तै लागेको छ । महेन्द्रका पुत्र ललन १० कक्षामा पढ्छन् । राजविराजमा प्राथमिक शिक्षापछिको पढाइ गर्न विराटनगर आएका उनी अहिले सांकेतिक भाषामा पारंगत छन् ।
'स्कुल आएकै कारण आत्मविश्वास बढेको छ,' भन्छन्, 'म गाउँमै थिएँ भने पढ्नु किन पर्ने रहेछ भन्ने थाहा हुन्थेन ।' पढाइले आफू कान सुन्न र बोल्न नसक्ने भएकै कारण केही गर्न सकिन्न भन्ने हीनता हटाएको अनुभव उनलाई छ । यस्तै अनुभव मोरङ बेलबारी-४ घर भई ९ कक्षामा पढ्ने अफसाना खातुनलाई पनि छ ।
उनको परिवारमा ५ कक्षामा पढ्ने बैनी र अब स्कुल आउन थालेको सानो भाइ आशिकसहित तीनैजना उस्तै सुन्न र बोल्न नसक्ने छन् । 'स्कुल आएपछिको संसारै उज्यालो अनुभव हुने रहेछ,' अफसानाले संकेतमै भनिन्, 'हामी घरमै बसेका भए ज्ञानको आँखा कसरी खुल्थ्यो ।' अफसानाजस्तै खोटाङको माक्पा-३ का दाजु-बैनी मनिता र शेरबहादुर पनि पढ्न पाउँदा आफूहरूलाई फेरिएको अनुभव गर्छन् ।
यहाँ सुन्न र बोल्न नसक्ने बालबालिकालाई माध्यमिक तहसम्म पढाइन्छ । अहिले १० कक्षासम्म १ सय ४२ बालबालिका अध्ययनरत छन् । 'पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो जसबाट सुधारिन्छ,' प्रधानाध्यापक तुलसीराम श्रेष्ठ भन्छन्, 'पढ्ने-खेल्ने वातावरण मिल्दा आफू कुनै पनि हिसाबले कमजोर छैन भन्ने अनुभव हुन्छ ।'
यो विद्यालय अहिले पूर्व क्षेत्रकै बहिरा बालबालिकाको शिक्षा आर्जनको मुख्य थलो बनेको छ । कमजोर आर्थिक अवस्थाका केटाकेटीबारे श्रेष्ठ भन्छन्, 'तर, सिकाइ क्षमता अचम्मको छ । पढ्न थालेपछि उनीहरूको छिट्टै रिसाउने, हठ गर्ने बानी घटेको छ ।' बालबालिकालाई विज्ञान र गणित पढाउँदै आएका शालिग्राम चौधरीको अनुभवमा विद्यालयस्तरको पाठ्यक्रम सुन्न र बोल्न नसक्नेहरूका लागि सहयोगी बन्न सकेको छैन । 'कतिपय शब्दका संकेत छैनन्,' उनी भन्छन्, 'विज्ञानका कति कुरा त उनीहरूलाई कसरी बुझाउने होला भन्ने अलमल हुन्छ ।'

Monday, September 6, 2010

उनीहरु सोध्छन्

फेसबुके र जीमेलको च्याटमा भेटिनेहरुको साझा प्रश्नको उत्तर फर्काउदा फर्काउँदै अफलाइन बस्न मन लाग्छ। मलेसिया, कतार, अफगानिस्तान, पाकिस्तान, मालद्धीप्स्, मुम्बई, कोरिया, जर्मनी, टर्की, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नर्वे र अमेरिकाका विभिन्न राज्य। अनि अहिले झट्ट नाम लेख्न छुटेका कता हो कता। नेपाली जहाँ छन् , उनीहरु देश चिन्ताको  गर्ने रहेछन्। उनीहरु सोध्छन् 'को बन्छ प्रधानमन्त्री ? कहिले देशले राजनीतिक निकास पाउँछ ?' के हामी भविष्यवक्ता हौं र फ्याट्ट भन्दिउँ !

त्यसो त हामी नेपालीको बानी कुनै डाक्टरभन्दा कम कहिल्यै भएन। पेट वा टाउको दुख्यो, नभए अर्थोकै केही भयो भन्ने गुनासो भुइमा खस्न नपाउँदै उत्तर आउँछ 'मैले यस्तो औषधि खाथेँ, तँ पनि त्यो ट्राइ गर चट्टै हुन्छ चट्टै।' ओखतीका लागि दिइने यस्ता सजिला सल्लाहले कहिलेकाही गाह्रो पार्छ। पारेको छ। कारण, रोगको अवस्था, रोगीको उमेर, शारीरिक क्षमता आदि सबै हेरेर स्वाथ्यकर्मीले औषधिको सल्लाह दिने हुन्। परीक्षण बिना नै औषधि खाँदा टाउकोको दुखाइ कम गर्ने ओखती झाडापखाला रोक्न काम लाग्ला भन्दै खाएजस्तै हुन्छ। तर, यसरी दिनेजस्तो सल्लाह सुझावले नेपाली राजनीति चल्दैन। चलेको पटक्कै छैन। बेकम्माहरुको खेल। सबैलाई थुनेर सफा पार्नुजस्तो।

जनआन्दोलन-२ चलिरहँदा जब तत्कालीन राजाले दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरेका थिए। त्यसबेला छिमेकले हतारिएर सो वक्तव्यको स्वागत गर्दा पनि आन्दोलन थामिएन। नेताहरु नै छक्क परे। उनीहरुले कल्पना पनि गरेका थिएनन् अहिलेजस्तो ढलीमली होला भनेर। अहिले तिनै आन्दोलनमा सहीद भएकाहरुका परिवारले के सोच्दा हुन्  किन व्यर्थै गुमेछ हाम्रो आफन्तको ज्यान ?

च्याट साइटहरुमा साथी बनेकाहरु अहिले गाउँघरको हाल खबरभन्दा पहिले देशको राजनीति कता जाँदैछ ? के होला ? भन्ने सोध्न रुचाउँछन्। फेरि उही पट्यारलाग्दो विषय राजनीति। युवालाई चासो भएको विषय होइन। तर, अछुतो भइरहन पनि नमिल्ने। मलाई पटक्कै रुचि छैन । साँच्चै रुचि छैन। तर, पत्याए पो। बिग्रिएका सबैथोक राजनीतिसँग जोडिएको मुलुकमा हामी नै कहाँ सप्रिएकाहरुको श्रेणीमा छौँ र !  

सत्तामा शक्ति छ। र, शक्तिको आड पाउने दौडका लागि सबैको आ-आफ्नै धुन। हरेक सरकारी संयन्त्र दल र तिनको प्रभावलाई छाम्ने, अनि आफ्ना अनुकुलको बनाउने प्रयासमा रहेको दौडधुप देख्न पाउनु नौलो दृश्य रहेन।
शक्तिका लागि सत्ता। टिकिरहने अभ्यासका लागि सत्ता र अस्तित्व टिकाउने खुइल्याउने,पाखा लगाउने, हराउने, आउने-जाने सबैखालका अभ्यासका लागि दलहरुको एकमात्र ध्येय यही भइरह्यो। हाम्रो निराशा यहीँनेर छ। म्याद थपिएपछि नयाँ संविधानको माधवकुमार नेपालले दिएको राजीनामापछि रामचन्द्र र प्रचण्डको दौडले छायामा पारेको छ। छैटौं चरणमा पनि दुवैको सत्तालिप्साले लक्ष्य पाउन सकेन। पछारिएको पछरिएकै भए।

राजनीतिक समीक्षकहरुको राय जेसुकै रहोस् तर, मलाई लाग्छ आफ्नो मत पुगेको सरकार भएका बेला हतारिएर प्रचण्डले राजीनामा दिनु गलत थियो। गरे गरिहाले। अहिले त्यही सत्ता पाउन केही गर्न पछि परेनन्। लाज पनि पटक्क नहुने रहेछ। अनि तमाम विरोधका बाबजुद टिकिरहेको देखाएका माधवकुमार नेपालले पनि राजीनामा दिएको समय अनुपयुक्त थियो। न प्रचण्डले उनले भनेजस्तै रुक्मागद कटवालको केही बिगार्न सके, न त माधवकुमारले संकट टार्न सके। दुवैले संकट बढाएमात्र।

दुवैको राजीनामा प्रसंगमा मिलेको एउटै तन्तु - पार्टीको आन्तरिक दबाब। हुन त मान्छेलाई घरले आधार नदिने हो भने टिक्नै सक्दैन। अनि दुवैको घर भनेको पार्टी नै थियो शायद। दुवैका लागि क्षणिक आवेशमा बगेको आन्तरिक दबाब दिने तत्वका लागि देश ठूलो भएन। आन्तरिक कलह नै ठूलो भयो। दुवैले राजीनामा दिए। एउटाको सत्ताप्राप्तिको संघर्ष छैटौंपटक प्रधानमन्त्रीको चुनावमा भएको हारपछि पनि जारी छ। अर्काको सजिलो बाटोको ताक छ एमालेको झलनाथ समूह। न मिल्न सक्ने , न त अरुलाई सघाउन नै सक्ने। तर, जसरी पनि जस चाहिने। भूमिका चाहिने।

इतिहास बोकेको प्रजातान्त्रिक पार्टी भनाउने कांग्रेसलाई पनि पटक्क लाज लागेको छैन। जसरी पनि सत्ता चाहिएको छ। दलहरु बग्रेल्ती छन्। कोही मिल्न नसक्ने। कोही एकअर्कालाई सघाउन नसक्ने। यस्तो अवस्था कहिलेसम्म रहने ? नेपाली जनतालाई राजनीति बुझन गाह्रो भएन। र, यो लुछाचुँडीले अवरुद्ध पारेको निकासबीच राजनीतिको अर्थ राम्रो पटक्कै होइन भन्ने पारेको छ। 

दलहरुलाई नेतृत्व चयनको लुछाचुँडीमा छन्। गाइजात्रा देखाइरहँदा पनि जनताले तिरेको करले चलेको राजस्वमाथि विलासिता चलेकै छ। जो सरकार छाडेका छन्  र, जस जसले कामचलाउका रुपमा चलाएका छन्। सबैले राज्यको सुविधा उपभोग गरिरहेकै छन्।

मुलुक हाँक्ने जिम्मेवारीमा यस्तो भइरहे संयन्त्र बहकिनु अस्वाभाविक छैन। सुरक्षा, प्रशासनलगायत जिम्मेवार संयन्त्रको काम गराइमाथिको निगरानी र नियन्त्रण कमजोर भएको छ। निर्लज्ज नेताले सजिलोसँग फलाकेजसरी सहमति खोज्दा केही बिग्रँदैन। परिस्थिति सुध्रन पनि समय धेर लाग्दैन। सम्भावना कहिल्यै टर्दैन। 

तमासे जनताले सत्ता खोस्दैनन्। तर, उनीहरुलाई गर्ने खबरदारीमा पनि नागरिक समाज भनिने जमात चुप लागेर बसेको देख्ता उदेक लाग्छ। जसरी बजारमा बढेको महँगी र ठगीका समाचार सार्वजनिक भइरहँदा उपभोक्ता अधिकारवादी भनाउन मन पराउनेहरु चुप लागेर बस्छन्, त्यस्तै भएको छ नागरिक समाज। अन्यथा यति लुछाचुँडी चलिरहँदा पनि नेताहरुलाई सहमतिमा आउन सचेत बनाउने गतिविधि किन नभएको हो ? अचम्म छ। 

देशको राजनीतिक अवस्था यस्तो छ। अब के जवाफ दिनु ती च्याटमा आउनेहरुलाई। बरु ठीकै छ, आफैं अफलाइनमा बस्यो वा इनभिजिवल भयो। अनि को-को अनलाइन भएका छन् भन्ने हेर्‍यो। अनि आफ्नो काम गर्दै रह्यो।