Sunday, November 22, 2026

हाम्रो एकाग्रता किन कमजोर ? (किताबका कुरा)

के तपाईंले कहिल्यै सोच्नुभएको छ, दिनको ८ देखि १० घण्टासम्म कडा मेहनत गर्दा पनि जीवनमा किन अपेक्षित प्रगति गर्न सकिरहनुभएको छैन? 

बिहान आँखा खुल्नासाथ सबैभन्दा पहिले मोबाइलको स्क्रिन हेर्नुहुन्छ। काम गरिरहेका बेला प्रत्येक पाँच मिनेटमा ह्वाट्सएप, इन्स्टाग्राम वा इमेल जाँच गर्नुहुन्छ। राति ओछ्यानमा पल्टिएपछि भने मनमा एउटै कुरा खेलिरहन्छ -  आज पनि दिनभरि काम गरेर थाकियो, तर सबैभन्दा महत्त्वपूर्ण काम नै पूरा भएन।

यदि तपाईंको दैनिकी पनि यस्तै छ भने अब सचेत हुने बेला आएको छ। किनकि तपाईं एउटा यस्तो अदृश्य समस्याको सिकार भइरहनुभएको हुन सक्छ, जसले विस्तारै तपाईंको करिअर, आम्दानी र मानसिक क्षमतालाई कमजोर बनाइरहेको छ। 

आज हामी एउटा यस्तो पुस्तकबारे चर्चा गर्दै छौँ, जसले संसारका सफल र प्रभावशाली व्यक्तिहरूलाई अरूभन्दा फरक बनाउने काम गर्ने तरिका सिकाउँछ। त्यसैले यो लेख यतिसम्म पढेर नछाड्नुहोला, अन्त्यसम्म पढ्नुहोला। यसमा समेटिएका विचारले तपाईंले काम गर्ने शैली र जीवनलाई हेर्ने दृष्टिकोण नै बदल्न सक्छन्।

हामी अमेरिकाको जर्जटाउन विश्वविद्यालयका कम्प्युटर साइन्सका प्राध्यापक तथा न्युयोर्क टाइम्सका बेस्टसेलर लेखक क्याल न्युपोर्टको चर्चित पुस्तक ‘डीप वर्क : रुल्स फर फोकस्ड सक्सेस इन अ डिस्ट्र्याक्टेड वर्ल्ड’ अर्थात् ‘ध्यान भड्काउने संसारमा एकाग्रतासहित सफल हुने नियमहरु’ बारे कुरा गर्दै छौँ।

एकछिन रोकिएर आफैंलाई एउटा इमानदार प्रश्न सोध्नुहोस्। पछिल्लो पटक मोबाइल नछोई, कुनै सूचना नहेरी र कसैसँग कुराकानी नगरी लगातार एक घण्टासम्म एउटै काममा पूर्ण ध्यान केन्द्रित गर्नुभएको कहिले थियो? 

सायद तपाईंलाई सम्झन पनि गाह्रो भइरहेको होला। सम्झिए पनि त्यो निकै पुरानो कुरा हुन सक्छ। आजको डिजिटल संसारमा हाम्रो ध्यान सबैभन्दा मूल्यवान् सम्पत्तिमध्ये एक बनेको छ। ठूला प्रविधि कम्पनीहरूले तपाईंको ध्यान आफूतिर तान्न अर्बौं रुपैयाँ खर्च गरिरहेका छन्। यसका लागि उनीहरूले संसारकै तीक्ष्ण दिमाग भएका मानिसलाई काममा लगाएका छन्। उनीहरूको उद्देश्य एउटै छ - तपाईंले हरेक केही मिनेटमा मोबाइल उठाउनुहोस् र उनीहरूका एप खोलिरहनुहोस्। हामी पनि थाहै नपाई यो जालमा फसिरहेका छौँ।

क्याल न्युपोर्टले आफ्नो पुस्तकमा एउटा महत्त्वपूर्ण कुरा उठाएका छन्। अहिलेको संसारमा मानिसहरू दुई समूहमा विभाजित हुँदै गएका छन्। एउटा समूह त्यस्तो छ, जो दिनभरि व्यस्त देखिन्छ तर खास उपलब्धि हासिल गर्न सक्दैन। बिहानदेखि साँझसम्म उनीहरूलाई फुर्सद हुँदैन। तर वर्षको अन्त्यमा फर्केर हेर्दा देखाउनलायक ठूलो उपलब्धि केही हुँदैन। अर्को समूह त्यस्तो छ, जसले गहिरो एकाग्रतासहित काम गर्ने कला सिकेको छ। उनीहरू दिनमा तीन–चार घण्टा मात्रै काम गरे पनि त्यस अवधिमा यति गहिरो ध्यान केन्द्रित गर्छन् कि अरूले पूरै हप्ता लगाएर गर्ने काम उनीहरूले त्यही समयमा पूरा गर्न सक्छन्। 

यो पुस्तकको मूल सन्देश पनि यही हो - धेरै समय काम गर्नु मात्रै सफलता होइन, कति एकाग्रताका साथ काम गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ।

डीप वर्क र श्यालो वर्कबीचको भिन्नता

त्यसो भए आफ्नो छरिएको ध्यानलाई कसरी एउटै लक्ष्यमा केन्द्रित गर्न सकिन्छ? त्यसअघि क्याल न्युपोर्टले प्रयोग गरेका दुईवटा महत्त्वपूर्ण शब्द बुझौँ। ती हुन्– डीप वर्क र श्यालो वर्क।

पहिले श्यालो वर्क अर्थात् सतही कामबारे बुझौँ। श्यालो वर्क भन्नाले त्यस्तो काम बुझिन्छ, जसका लागि धेरै मानसिक शक्ति वा गहिरो एकाग्रताको आवश्यकता पर्दैन। ध्यान अन्यत्र हुँदा पनि यस्ता काम गर्न सकिन्छ। उदाहरणका लागि, इमेलको सामान्य जवाफ दिनु, कुनै स्पष्ट उद्देश्यबिनाको बैठकमा सहभागी हुनु, ह्वाट्सएपमा सन्देश पठाउनु वा अरूको सन्देश अगाडि सार्नु, तथ्यांक प्रविष्ट गर्नु र काम गर्दागर्दै सामाजिक सञ्जाल चलाउनु आदि सतही काम हुन्। 

यस्ता कामको सबैभन्दा ठूलो समस्या के हो भने यसले हामीलाई आफूले धेरै काम गरिरहेको छु भन्ने भ्रम पैदा गर्छ। तर वास्तविकता फरक हुन्छ। यस्ता कामले न नयाँ सीप विकास गर्छन्, न त कुनै ठूलो मूल्य सिर्जना गर्न मद्दत गर्छन्। सामान्य तालिम दिएपछि अरू व्यक्तिले पनि सजिलै गर्न सक्ने काम यिनै हुन्।

अब डीप वर्क अर्थात् गहिरो काम बुझौँ। कुनै पनि भट्कावबिना आफ्नो सम्पूर्ण मानसिक क्षमता एउटै कठिन र महत्त्वपूर्ण काममा लगाउनु नै डीप वर्क हो। जस्तै, जटिल सफ्टवेयरको कोड लेख्नु, पुस्तक वा अनुसन्धानपत्र तयार गर्नु, व्यवसायको कठिन समस्या समाधान गर्नु, कुनै प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नु वा नयाँ सीप गहिराइमा पुगेर सिक्नु। यस्ता काम गर्न सजिलो हुँदैन। यसका लागि दिमागले निकै मेहनत गर्नुपर्छ। तर यही कामले तपाईंलाई आफ्नो क्षेत्रमा दक्ष र अरूभन्दा फरक बनाउँछ।

यसलाई दुईवटा वास्तविक उदाहरणबाट बुझौँ। पहिलो उदाहरण माइक्रोसफ्टका संस्थापक बिल गेट्सको हो। उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुँदा संसारभरिका अनेक जिम्मेवारी थिए। त्यसका बाबजुद पनि उनी वर्षमा दुई पटक विशेष अभ्यास गर्थे, जसलाई ‘थिंक विक’ अर्थात् सोच्ने सप्ताह भनिन्थ्यो। त्यस अवधिमा उनी एक साताका लागि बाहिरी संसारबाट अलग हुन्थे। एउटा शान्त स्थानमा रहेको कुटीमा बसेर किताब पढ्थे, अनुसन्धानपत्र अध्ययन गर्थे र भविष्यका योजनाबारे गहिरिएर सोच्थे। त्यहाँ परिवारका सदस्य, साथीभाइ, फोन, इमेल र इन्टरनेटको पहुँच हुँदैनथ्यो। उनको त्यो एकान्त अध्ययन र चिन्तनको समयले माइक्रोसफ्टका महत्त्वपूर्ण रणनीति तथा प्रविधिको भविष्यबारे सोच्न सहयोग गरेको थियो।

दोस्रो उदाहरण चर्चित लेखिका जेके रोलिङको हो। सन् २००७ मा उनी आफ्नो चर्चित 'ह्यारी पोटर' शृंखलाको अन्तिम तथा महत्त्वपूर्ण पुस्तक ‘ह्यारी पोटर एन्ड द डेथ्ली ह्यालोज’ लेख्दै थिइन्। त्यतिबेला उनी संसारभरि चर्चित भइसकेकी थिइन्। घरमा बालबालिकाको चहलपहल, सञ्चारमाध्यमका फोन र दैनिक जिम्मेवारीका कारण उनलाई लेख्न कठिन भइरहेको थियो। त्यसपछि उनले एउटा विशेष निर्णय गरिन्। उनले स्कटल्यान्डको एडिनबर्गस्थित बाल्मोरल होटलमा एउटा कोठा बुक गरिन्। हरेक बिहान होटल पुग्थिन्, मोबाइल बन्द गर्थिन् र बाहिरी संसारसँगको सम्पर्क तोडेर लेखनमा केन्द्रित हुन्थिन्। अन्ततः उनले त्यही होटलको कोठामा बसेर आफ्नो पुस्तक पूरा गरिन्। यी उदाहरणले एउटा कुरा स्पष्ट पार्छन् - महत्त्वपूर्ण उपलब्धि हासिल गर्न प्रतिभा मात्रै पर्याप्त हुँदैन, त्यसलाई सही दिशामा लगाउने एकाग्रता पनि आवश्यक हुन्छ।

अब आफ्नो हिजोको दिन सम्झनुहोस्। तपाईंले काम वा पढाइमा बिताउनुभएको कुल समयमध्ये कति समय गहिरो एकाग्रतासहित काम गर्नुभयो र कति समय सामान्य काम तथा भट्कावमा बिताउनुभयो? यहाँ धेरैको मनमा एउटा प्रश्न आउन सक्छ। म त एकैपटक धेरै काम गर्न सक्छु। पढ्दै गर्दा सन्देश पनि हेर्छु, कार्यालयको काम गर्दै गर्दा गीत पनि बदल्छु र फेरि तत्कालै आफ्नो काममा फर्कन्छु। यसले के फरक पार्छ र?

ध्यान भंग हुँदा दिमागमा के हुन्छ?

यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने अब ध्यानसँग सम्बन्धित एउटा वैज्ञानिक अवधारणा बुझ्न आवश्यक छ। सन् २००९ मा व्यवसायसम्बन्धी प्राध्यापक सोफी लेरोयले मानिसको ध्यान र काम गर्ने क्षमताबारे अनुसन्धान गर्दै ‘अटेन्सन रेसिड्यु’ अर्थात् ध्यानको अवशेष भन्ने अवधारणा अघि सारिन्।

यसलाई एउटा उदाहरणबाट बुझौँ। मानौँ, तपाईं एउटा महत्त्वपूर्ण परियोजनामा काम गरिरहनुभएको छ। त्यही बेला मोबाइलको स्क्रिन बल्छ र ह्वाट्सएपमा सन्देश आउँछ। तपाईं काम रोकेर सन्देश पढ्न थाल्नुहुन्छ। तपाईंलाई लाग्छ, जम्मा ३० सेकेन्ड मात्रै त मोबाइल हेरेको हुँ। तर समस्या त्यति सामान्य हुँदैन। 

एउटा काम अधुरै छाडेर अर्को काममा जाँदा तपाईंको ध्यानको केही हिस्सा अझै पहिलो काममै अड्किरहेको हुन्छ। अर्थात् शरीर र आँखा नयाँ काममा पुगे पनि दिमागको एउटा हिस्सा पुरानै काममा अल्झिरहेको हुन्छ। त्यसपछि फेरि मोबाइल राखेर पुरानै काममा फर्किँदा पनि दिमाग तत्काल पूर्ण एकाग्रतामा आउन सक्दैन। अधुरो कामको प्रभावले ध्यान भंग गरिरहन्छ। त्यसैले कामबीच बारम्बार आउने अवरोधले एकाग्रता कमजोर बनाउँछ र कामको गुणस्तर घटाउँछ।

अब आफैं विचार गर्नुहोस्, तपाईंले हरेक १०-१५ मिनेटमा मोबाइल वा इमेल जाँच गरिरहनुभयो भने दिनभरि एकपटक पनि पूर्ण क्षमताका साथ काम गर्न सक्नुहुन्न। बिहानदेखि साँझसम्म व्यस्त रहँदा पनि मानसिक रूपमा थकित हुने तर उल्लेखनीय उपलब्धि हासिल नहुने कारणमध्ये यो पनि एउटा हो।

क्याल न्युपोर्टको पुस्तकले एउटा महत्त्वपूर्ण सिद्धान्त अघि सार्छ, काममा बिताएको समय र त्यस अवधिमा कायम गरिएको एकाग्रताको तीव्रताले नै उच्च गुणस्तरको काम उत्पादन गर्छ। अर्थात् तपाईं कति घण्टा काममा बस्नुभयो भन्ने मात्रै महत्त्वपूर्ण होइन, ती घण्टामा कति गहिरो ध्यान केन्द्रित गर्नुभयो भन्ने कुरा निर्णायक हुन्छ। यदि तपाईं १० घण्टा काममा बस्नुभयो तर एकाग्रता कमजोर रह्यो भने त्यसको प्रतिफल अपेक्षाकृत कम हुन सक्छ। अर्कोतर्फ, कसैले तीन घण्टा पूर्ण एकाग्रताका साथ काम गर्‍यो भने उसले तपाईंको भन्दा धेरै राम्रो नतिजा दिन सक्छ।

गहिरो एकाग्रतासहित काम गर्ने चार नियम

अब मुख्य प्रश्न आउँछ - चारैतिर सूचना, सामाजिक सञ्जाल, फोन र अनेक जिम्मेवारीले घेरिएको आजको जीवनमा डीप वर्कलाई कसरी आफ्नो दैनिकीको हिस्सा बनाउने? यसका लागि क्याल न्युपोर्टले पुस्तकमा चारवटा महत्त्वपूर्ण नियम बताएका छन्। यी नियम केवल सुन्ने होइन, व्यवहारमा उतार्ने प्रयास गर्नुहोस्।

पहिलो नियम हो - गहिरो काम गर्ने निश्चित प्रणाली बनाउनुहोस्। लेखकका अनुसार आज मन लाग्यो भन्दैमा तीन घण्टा एकाग्र भएर काम गर्छु भनेर बस्नु पर्याप्त हुँदैन। किनकि हाम्रो इच्छाशक्ति असीमित हुँदैन। यसलाई मोबाइलको ब्याट्रीसँग तुलना गर्न सकिन्छ। बिहान उठ्दा ब्याट्री पूर्ण चार्ज भएजस्तै हाम्रो इच्छाशक्ति पनि तुलनात्मक रूपमा बलियो हुन्छ। तर दिनभरि सानातिना निर्णय लिँदै जाँदा त्यो क्रमशः कमजोर हुँदै जान्छ। त्यसैले डीप वर्कलाई इच्छाशक्तिको भरमा नछाड्नुहोस्। यसलाई नियमित बानी र दैनिक कार्यतालिकाको हिस्सा बनाउनुहोस्।

लेखकले यसका लागि विभिन्न तरिका बताएका छन्। तीमध्ये धेरै मानिसका लागि उपयोगी हुन सक्ने एउटा तरिका हो - रिदमिक फिलोसोफी अर्थात् लयबद्ध कार्यशैली। यसको अर्थ हो, हरेक दिन निश्चित समय र निश्चित स्थानमा गहिरो काम गर्ने बानी बसाल्नु। उदाहरणका लागि, बिहान ६ बजेदेखि ८ः३० बजेसम्मको समय आफ्नो सबैभन्दा महत्त्वपूर्ण कामका लागि छुट्याउनुहोस्। यो समयलाई आफ्नो क्यालेन्डरमा निश्चित गर्नुहोस्। यस अवधिमा मोबाइल अर्को कोठामा राख्नुहोस्, साइलेंट मोडमा राख्नुहोस्, आवश्यक नपरे इन्टरनेट बन्द गर्नुहोस् र ढोका बन्द गरेर काममा केन्द्रित हुनुहोस्।

हरेक दिन यो नियम पालना गर्नुभएको दिन क्यालेन्डरमा एउटा चिह्न लगाउनुहोस्। केही दिनपछि त्यस्ता चिह्नको लामो शृंखला बन्नेछ। त्यसपछि तपाईंको लक्ष्य एउटै हुनुपर्छ - यो शृंखला नटुटोस्। काम सुरु गर्नुअघि केही नियम पनि बनाउनुहोस्। जस्तै, टेबलमा पानीको बोतल राख्ने, एक कप चिया वा कफी पिउने र आगामी दुई घण्टामा के काम पूरा गर्ने भनेर स्पष्ट योजना बनाउने। यस्ता साना तयारीले दिमागलाई अब एकाग्र भएर काम गर्ने समय सुरु भयो भन्ने संकेत दिन्छन्।

दोस्रो नियम हो - बोरियतलाई स्वीकार गर्नुहोस्। यो कुरा सुन्दा अनौठो लाग्न सक्छ। तर आजका युवाका लागि यो निकै महत्त्वपूर्ण छ। एकछिन सोच्नुहोस्, अहिले हामीलाई १० सेकेन्डको खाली समय पनि बिताउन कठिन हुन्छ। बैंकको लाइनमा बस्नुपर्‍यो भने मोबाइल निकाल्छौँ। ट्राफिक बत्ती रातो भयो भने मोबाइल हेर्छौँ। लिफ्ट चढ्दा होस् वा कसैलाई पर्खिंदा, हात स्वतः मोबाइलतिर पुग्छ। यहाँसम्म कि शौचालय जाँदासमेत मोबाइल साथमै लैजान्छौँ। यसरी हामीले आफ्नो दिमागलाई एउटा बानी बसालिरहेका छौँ। अलिकति खाली समय भयो कि तुरुन्तै सामाजिक सञ्जाल, भिडियो वा अन्य सामग्रीबाट मनोरञ्जन खोज्ने।

यसको असर के हुन्छ भने जब हामी कुनै कठिन वा केही समयसम्म ध्यान दिनुपर्ने काम गर्न बस्छौँ, दिमागले छिट्टै त्यसबाट उम्कन खोज्छ। मोटा किताब पढ्दा, कोडिङ गर्दा वा हिसाबकिताब गर्दा केही मिनेटमै दिक्क लाग्न थाल्छ। अनि मोबाइल हेर्ने इच्छा जाग्छ। क्याल न्युपोर्टको सुझाव छ – दिमागलाई बलियो बनाउन बोरियत सहने क्षमता पनि विकास गर्नुपर्छ। दिनमा केही समय जानाजानी केही नगरी बिताउनुहोस्। कसैलाई पर्खिरहनुभएको छ भने मोबाइल ननिकाल्नुहोस्। शान्त भएर बस्नुहोस्, वरिपरिको वातावरण नियाल्नुहोस् वा आफ्नै विचारमा डुब्नुहोस्।

लेखकले अर्को एउटा महत्त्वपूर्ण सुझाव पनि दिएका छन्। त्यो हो - इन्टरनेटबाट विश्राम लिनुभन्दा एकाग्रताबाट विश्राम लिनुहोस्। सामान्यतया हामी दिनभरि काम गर्छौं र बीचबीचमा इन्टरनेट चलाउनका लागि कामबाट विश्राम लिन्छौँ। लेखकले यसको ठीक उल्टो गर्न सुझाएका छन्। दिनभरि इन्टरनेट चलाउने समय पहिल्यै निश्चित गर्नुहोस्। जस्तै, बिहान ११ देखि ११ः३० बजेसम्म र साँझ ६ देखि ६ः३० बजेसम्म। त्यसबाहेक अन्य समयमा जतिसुकै इच्छा भए पनि इन्टरनेट नचलाउने अभ्यास गर्नुहोस्। 

काम गरिरहेका बेला कुनै कुरा गुगलमा खोज्नुपर्ने भयो भने तत्काल इन्टरनेट नखोली त्यसलाई कागजमा टिपेर राख्नुहोस्। आफ्नो निर्धारित इन्टरनेट समय आएपछि मात्रै खोज्नुहोस्। यसरी बिस्तारै दिमागलाई हरेक क्षण नयाँ सूचना खोज्ने र भट्किने बानीबाट मुक्त गर्न सकिन्छ।

तेस्रो नियम हो - सामाजिक सञ्जालको प्रयोगलाई नियन्त्रण गर्नुहोस्। यहाँ आत्तिनुपर्ने आवश्यकता छैन। क्याल न्युपोर्टले मोबाइल फुटाल्नुपर्छ वा सबै सामाजिक सञ्जालका खाता बन्द गरेर हिमालय जानुपर्छ भनेका होइनन्। उनको सुझाव व्यावहारिक छ। उनका अनुसार धेरै मानिसले सामाजिक सञ्जाल प्रयोग गर्दा ‘एनिबेनिफिट एप्रोच’ अपनाउँछन्। अर्थात् कुनै एपबाट एक प्रतिशत मात्रै फाइदा हुन्छ भने पनि त्यसलाई मोबाइलमा राखिरहन्छन्। उदाहरणका लागि, पुराना साथीको तस्बिर हेर्न पाइन्छ वा केहीबेर मनोरञ्जन गर्न पाइन्छ भने त्यही कारणले एप हटाउँदैनन्। तर त्यही एपले दिनको तीन घण्टा समय खाइरहेको हुन सक्छ।

लेखक यस्तो सोच बदल्न सुझाव दिन्छन्। उनी ‘क्राफ्ट्सम्यान एप्रोच’ अर्थात् कुशल कारीगरको दृष्टिकोण अपनाउन भन्छन्। एउटा दक्ष सिकर्मीले आफ्नो औजार राख्ने बाकसमा कामका लागि आवश्यक औजार मात्रै राख्छ। काम नलाग्ने वा अनावश्यक औजार बाकसबाट हटाउँछ। हामीले पनि आफ्नो जीवनमा यही सिद्धान्त अपनाउनुपर्छ। सबैभन्दा पहिले आफ्नो जीवनका मुख्य लक्ष्य स्पष्ट पार्नुहोस्। जस्तै, करिअरमा प्रगति गर्ने, राम्रो स्वास्थ्य कायम राख्ने र परिवारलाई पर्याप्त समय दिने। 

त्यसपछि मोबाइलमा भएका हरेक एपलाई हेरेर आफैंलाई प्रश्न गर्नुहोस् - के इन्स्टाग्राम वा फेसबुकमा घण्टौँ बिताउँदा मेरो करिअरमा उल्लेखनीय फाइदा भइरहेको छ? के यसले मेरो आम्दानी बढाइरहेको छ? के यसले मेरा सम्बन्धलाई बलियो बनाइरहेको छ? यदि कुनै एपले तपाईंका महत्त्वपूर्ण लक्ष्यमा खास योगदान गरिरहेको छैन भने त्यसको प्रयोगबारे पुनर्विचार गर्नुपर्छ।

लेखकले यसका लागि ३० दिनको एउटा अभ्यास पनि सुझाएका छन्। सामाजिक सञ्जालका एपहरू मोबाइलबाट हटाउनुहोस्। कसैलाई जानकारी दिनु पर्दैन। सामाजिक सञ्जाल छाड्दै छु भनेर पोस्ट गर्नुपर्ने पनि छैन। लगातार ३० दिन ती एपबाट टाढा रहनुहोस्। 

त्यसपछि आफैंलाई दुईवटा प्रश्न सोध्नुहोस्। पहिलो, तपाईं सामाजिक सञ्जालबाट टाढा हुँदा के संसारको काम रोकियो? दोस्रो, तपाईंको अनुपस्थितिले अरूलाई खासै फरक पार्‍यो? धेरैजसो अवस्थामा यसको जवाफ हुँदैन भन्ने नै हुन्छ। यसले सामाजिक सञ्जाल हाम्रो जीवनको अनिवार्य आवश्यकता होइन भन्ने कुरा बुझ्न मद्दत गर्छ। त्यसपछि यसको प्रयोगलाई आफ्नो आवश्यकता र प्राथमिकताअनुसार सीमित गर्न सकिन्छ।

चौथो नियम हो - अनावश्यक सतही काम घटाउनुहोस्। लेखकले आफ्नो दिनबाट अनावश्यक काम हटाउन दुईवटा उपयोगी विधि बताएका छन्। पहिलो हो, टाइम ब्लकिङ अर्थात् समयलाई निश्चित कामका लागि छुट्याउने विधि। हरेक बिहान काम सुरु गर्नुअघि डायरी वा क्यालेन्डर लिनुहोस्। बिहान ८ बजेदेखि राति ८ बजेसम्मको समयलाई साना–साना खण्डमा विभाजन गर्नुहोस्। 

प्रत्येक समयखण्डमा कुन काम गर्ने भन्ने पहिल्यै तय गर्नुहोस्। उदाहरणका लागि, बिहान ९ देखि ११ बजेसम्म परियोजना 'ए' मा गहिरो काम गर्ने, ११ देखि ११ः३० बजेसम्म इमेल र फोनको जवाफ दिने तथा ११ः३० देखि दिउँसो १ः३० बजेसम्म परियोजना 'बी' मा काम गर्ने। यसरी दिनको हरेक समयलाई कुनै न कुनै कामका लागि छुट्याउँदा अनावश्यक रूपमा समय बित्ने सम्भावना कम हुन्छ। बीचमा कुनै आकस्मिक काम आइपरेमा आत्तिनु पर्दैन। आफ्नो कार्यतालिकालाई आवश्यकताअनुसार मिलाउन सकिन्छ। मुख्य कुरा, हरेक समय के गर्ने भन्ने स्पष्ट योजना हुनुपर्छ।

दोस्रो विधि हो, निश्चित कार्यतालिका र काम बन्द गर्ने अभ्यास। आफ्नो काम सक्ने निश्चित समय तोक्नुहोस्। उदाहरणका लागि, साँझ ६ बजे। जब तपाईंलाई ६ बजेपछि काम बन्द गर्नुपर्छ भन्ने थाहा हुन्छ, तब दिनभरि उपलब्ध समयलाई बढी प्रभावकारी रूपमा प्रयोग गर्न थाल्नुहुन्छ। किनकि समय सीमित छ भन्ने बोधले कामप्रतिको एकाग्रता र गति दुवै बढाउँछ। साँझ ६ बजे काम बन्द गर्नुअघि एउटा निश्चित प्रक्रिया पूरा गर्नुहोस्। भोलि गर्नुपर्ने कामको सूची बनाउनुहोस्। इमेल बन्द गर्नुहोस्, ल्यापटप बन्द गर्नुहोस् र आजको काम सकिएको घोषणा गर्नुहोस्। 

त्यसपछि रातभरि कार्यालयका सन्देश जाँच्ने वा कामकै चिन्ता गरिरहने बानी छाड्नुहोस्। दिमागलाई पूर्ण विश्राम दिनुहोस्। यसले भोलिपल्ट नयाँ ऊर्जा र एकाग्रताका साथ काम गर्न मद्दत गर्छ।

आफ्नो समय र ध्यान आफैं नियन्त्रण गर्नुहोस्

साथीहरू, यो सबै कुराको अन्त्यमा म तपाईंहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। आँखा बन्द गरेर कल्पना गर्नुहोस्, आजभन्दा १० वा २० वर्षपछि तपाईं आफ्नो जीवनको एउटा यस्तो मोडमा उभिनुभएको छ, जहाँबाट पछाडि फर्केर बितेका दिन सम्झिरहनुभएको छ। त्यतिबेला के तपाईंलाई सन् २०२६ मा इन्स्टाग्रामको कुन रिल हेरेर हाँस्नुभएको थियो भन्ने याद आउला? कसको पोस्टमा के कमेन्ट गर्नुभएको थियो वा कुन वेब सिरिज हेर्न रातभरि जाग्नुभएको थियो भन्ने सम्झना रहला?

सायद रहँदैन। त्यतिबेला तपाईंलाई याद रहने कुरा अर्कै हुनेछ। तपाईंले आफ्नो अमूल्य समय र अद्भुत मानसिक क्षमताको प्रयोग गरेर के निर्माण गर्नुभयो? कुन काममा दक्षता हासिल गर्नुभयो? आफ्नो परिवार र समाजका लागि के योगदान दिनुभयो? आजको कोलाहलपूर्ण र भट्कावले भरिएको संसारमा गहिरो एकाग्रतासहित काम गर्ने क्षमता एउटा विशेष शक्ति बनेको छ। यो क्षमता अहिले धेरै मानिसमा कमजोर हुँदै गएको छ। जसले यसलाई विकास गर्न सक्छ, उसले आफ्नो क्षेत्रमा अरूभन्दा उत्कृष्ट काम गर्ने अवसर पाउँछ।

त्यसैले हरेक सूचनाको आवाजसँगै कठपुतलीझैँ चल्ने भीडको हिस्सा नबन्नुहोस्। आफ्नो समय, ध्यान र दिमागलाई आफ्नै नियन्त्रणमा राख्न सिक्नुहोस्। अरूले तपाईंको ध्यान कहाँ लगाउने भनेर निर्धारण नगरून्। तपाईं आफैंले आफ्नो प्राथमिकता तय गर्नुहोस्।

यदि यो लेखले तपाईंलाई आफ्नो काम गर्ने शैलीबारे सोच्न बाध्य बनाएको छ भने प्रतिक्रिया लेख्न नबिर्सनुहोला।  सन्देश तपाईंका साथीभाइ र आफन्तसम्म पनि पुर्‍याउनुहोस्। विशेषगरी, सधैं ‘मेहनत त धेरै गर्छु, तर समय नै पुग्दैन’ भन्ने कुनै साथी वा भाइलाई भन्नुस्। एउटा प्रतिबद्धता गर्नुस् - ‘म गहिरो एकाग्रतासहित काम गर्न तयार छु।’

(‘डीप वर्क : रुल्स फर फोकस्ड सक्सेस इन अ डिस्ट्र्याक्टेड वर्ल्ड’पुस्तकको एउटा अडियो बुकको टेक्स्टलाई सम्पादनसहित नेपाली भावानुवाद)

Tuesday, November 17, 2026

सकारात्मक सोच कति जरुरी ?

बिहानै कार्यालय पुग्ने हतार थियो, रमेशको मोटरसाइकल बिग्रियो। महत्त्वपूर्ण बैठक सुरु हुन आधा घण्टा मात्र बाँकी थियो। मोबाइलको ब्याट्री पनि सकिन लागेको थियो। सडकमा जाम थियो। उसले मोटरसाइकल हेर्‍यो, घडी हेर्‍यो र एकछिन टाउको समातेर बस्यो।

'आज त सबै बिग्रियो,' उसले मनमनै भन्यो।

त्यसैबेला उसको साथी आयो। अवस्था उस्तै थियो, समस्या उस्तै थियो। साथीले मोटरसाइकल हेर्‍यो र भन्यो, 'मोटरसाइकल अहिले बन्ने सम्भावना छैन। तर बैठक छुटाउनु र बैठकमा पुग्न नसक्नु एउटै कुरा होइन। ट्याक्सी बोलाऊँ। बाटोमा फोन गरेर बैठक अनलाइनबाट सुरु गरौँला।'

समस्या परिवर्तन भएन। तर समस्यालाई हेर्ने दृष्टिकोण परिवर्तन भयो।

रमेश कार्यालय पुग्दा बैठक सुरु भइसकेको थियो। उसले बैठकमा के गर्‍यो, त्यो अर्को कुरा हो। तर उसले त्यो बिहान एउटा महत्त्वपूर्ण कुरा बुझ्यो - सकारात्मक सोच भनेको 'सबै राम्रो हुन्छ' भनेर आफूलाई ढाँट्नु होइन रहेछ। 'जे भयो, त्यसबाट अब के गर्न सकिन्छ ?' भनेर सोच्न सक्नु रहेछ।

अर्ति दिने थुप्रै छन्, भेटइरहन्छन् - 'सोच सकारात्मक राख्नुपर्छ।' गहिरिएर हेरियो भने जसजसले सकारात्मक सोचको प्रवचन दिन्छन्, उनीहरुकै सोचाइमा त्यो नदेखिन सकिन्छ। जे होस्, हाम्रो जीवनको गति एक खास प्रकारको छ। सोच जेसुकै राख्नुस्, खोलाको पानी बगेजसरी समय चिप्लिएको छ। सकारात्मक सोच राख्दा यही चिप्लिरहेको समयको गतिमा आफूलाई बगाउन लय भेटिन्छ। नकारात्मकभन्दा सकारात्मक सोचले 'जीवनमा धेरै थोक बाँकी छन्, हामी सम्हालिएर अघि बढ्नुपर्छ' भने बाटो सजिलो पारिरहन्छ। जब यस्तो सोच्न थालिन्छ, यहीँबाट सकारात्मक सोचको वास्तविक मनोविज्ञान सुरु हुन्छ।

के हो सकारात्मक सोच ?

सामान्य भाषामा सकारात्मक सोच भनेको राम्रो पक्ष हेर्ने, आशावादी हुने र समस्याबीच पनि सम्भावना खोज्ने मानसिकता हो। तर मनोविज्ञानले यसलाई यति सरल रूपमा मात्र हेर्दैन।

सकारात्मक सोचको एउटा महत्त्वपूर्ण पक्ष मानिसले आफूलाई भएका घटनाको कारण कसरी व्याख्या गर्छ भन्ने हो। मार्टिन सेलिगम्यानको ‘learned optimism’ अवधारणाअनुसार निराशावादी व्यक्तिले खराब घटनालाई प्रायः स्थायी, व्यापक र व्यक्तिगत कारणसँग जोड्न सक्छ - 'म सधैं असफल हुन्छु', 'मेरो जीवनमै यस्तो हुन्छ,' 'सबै मेरो गल्ती हो।' आशावादी व्याख्याले भने खराब घटनालाई अस्थायी, सीमित र परिवर्तन गर्न सकिने रूपमा हेर्ने प्रवृत्ति देखाउँछ।

यसको अर्थ सकारात्मक सोचले तथ्य बदल्छ भन्ने होइन। यसले तथ्यप्रतिको हाम्रो प्रतिक्रिया बदल्न सक्छ। त्यसैले सकारात्मक सोचको सबैभन्दा स्वस्थ रूप हो - यथार्थवादी आशावाद।

अमेरिकी लेखक नर्मन भिन्सेन्ट पीले (Norman Vincent Peale)को 'द पावर अफ पोजिटिभ थिंकिङ' (सन् १९५२ मा प्रकाशित) सकारात्मक सोचलाई लोकप्रिय आत्मविकास साहित्यको मूलधारमा ल्याउने चर्चित पुस्तक हो। पुस्तकको उद्देश्य नै दैनिक जीवनका समस्यालाई सामना गर्न व्यावहारिक मानसिक उपाय प्रस्तुत गर्नु थियो।

पीलेको तर्क सरल छ - 'मानिसले आफूलाई निरन्तर असफल, कमजोर र असक्षम ठानिरह्यो भने त्यही विश्वासले उसको व्यवहार, निर्णय र आत्मविश्वासलाई प्रभावित गर्छ। उल्टो, आफूभित्र क्षमता छ भन्ने विश्वासले प्रयास गर्ने ऊर्जा बढाउन सक्छ।' उनको दृष्टिकोणमा विश्वास, आत्मविश्वास, आशा, प्रार्थना र सकारात्मक आत्मसंवाद महत्त्वपूर्ण उपकरण हुन्। समस्या आयो भने 'यो असम्भव छ' भन्ने मानसिक निष्कर्षमा पुग्नुभन्दा 'यसलाई कसरी पार गर्न सकिन्छ?' भनेर सोच्ने अभ्यास गर्नुपर्छ।

तर आजको मनोवैज्ञानिक दृष्टिले पीलेको विचारलाई जस्ताको तस्तै स्वीकार्नु उचित हुँदैन। सकारात्मक सोचले संसारलाई इच्छाअनुसार परिवर्तन गर्छ भन्ने दाबी वैज्ञानिक रूपमा धेरै बलियो छैन। 'राम्रो सोच्यो भने राम्रो नै हुन्छ' भन्ने सूत्र वास्तविक जीवनमा लागू हुँदैन। बिरामी मानिसले सकारात्मक सोचेर मात्र निको हुने होइन, बेरोजगार व्यक्तिले सकारात्मक सोचेर मात्र रोजगारी पाउने होइन।

पीलेको पुस्तकको उपयोगी पक्ष मानसिक आत्मविश्वास र आशाको महत्त्वमा छ। यसको सीमितता भनेको कतिपय पाठकले यसलाई वास्तविक समस्याको वस्तुगत विश्लेषणभन्दा ‘सकारात्मक सोचेर सबै समाधान हुन्छ’ भन्ने सूत्रका रूपमा बुझ्न सक्ने सम्भावना हो। त्यसैले आज पीलेलाई पढ्दा उनको सन्देशलाई यस्तो रूपमा लिन सकिन्छ - सोचले व्यवहारलाई प्रभावित गर्छ, तर सोचले वास्तविकताको नियमलाई रद्द गर्दैन।

यदि 'सकारात्मक सोच जन्मजात हो कि सिक्न सकिन्छ?' भन्ने प्रश्नको मनोवैज्ञानिक उत्तर खोज्ने हो भने अमेरिकी मनोवैज्ञानिक मार्टिन सेलिग्म्यान (Martin Seligman) को 'लर्न्ड अप्टिमिज्म' (सन् १९९०) महत्त्वपूर्ण पुस्तक हो। 

उनले आशावादिता (अप्टिमिज्म) लाई केवल खुसीका भावना मानेनन्। उनले मानिसले घटनालाई व्याख्या गर्ने तरिकालाई केन्द्रमा राखे। कुनै असफलता आयो भने त्यसलाई कसरी बुझिन्छ भन्ने कुराले त्यसपछिको व्यवहारमा ठूलो फरक पार्न सक्छ। उदाहरणका लागि, परीक्षामा असफल विद्यार्थीले 'म मूर्ख छु' भन्यो भने असफलता उसको सम्पूर्ण व्यक्तित्वसँग जोडिन्छ। 'यो विषय मैले राम्रोसँग पढिनँ' भन्यो भने समस्या एउटा विशेष क्षेत्रमा सीमित हुन्छ। पहिलो सोचले निराशा र निष्क्रियता बढाउन सक्छ; दोस्रोले सुधारको बाटो खोल्छ।

सेलिग्म्यानको व्याख्या शैलीमा तीन आयाम विशेष चर्चित छन् - स्थायित्व (permanence), व्यापकता (pervasiveness) र व्यक्तिवादिता (personalization) अर्थात् समस्या कति स्थायी हो, कति व्यापक छ र त्यसको जिम्मेवारी आफूमा कति लिने भन्ने। सकारात्मक व्याख्यात्मक शैलीमा खराब घटनालाई अस्थायी, सीमित र परिस्थितिजन्य रूपमा हेर्ने प्रवृत्ति हुन्छ।

यसबाट एउटा महत्त्वपूर्ण निष्कर्ष निस्कन्छ - आशावादिता केही हदसम्म सिक्न सकिने सीप हो।

सेलिग्म्यानको विचारले सकारात्मक सोचलाई ‘सधैं राम्रो सोच’ भन्ने सतही नाराबाट निकालेर मानसिक प्रशिक्षणको विषय बनाउँछ। आफ्नो विचारलाई प्रश्न गर्ने, प्रमाण खोज्ने, वैकल्पिक व्याख्या गर्ने र असफलतालाई सम्पूर्ण जीवनको फैसला नबनाउने अभ्यास गर्न सकिन्छ।

तर यसको अर्थ नकारात्मक भावना हटाउनु होइन। दुःख, डर, क्रोध र निराशा पनि मानव अनुभवका स्वाभाविक भाग हुन्। स्वस्थ आशावादले तिनलाई अस्वीकार गर्दैन, तिनलाई बुझेर अगाडि बढ्ने बाटो खोज्छ।

सकारात्मक सोचका बारेमा आफ्ना भनाइ राख्दै आएका अमेरिकी लेखक शान एचोरको 'The Happiness Advantage' (सन् २०१० मा प्रकाशित) पुस्तकले सकारात्मक मनस्थिति र सफलता बीचको सम्बन्धलाई सकारात्मक मनोविज्ञान तथा उनको अनुसन्धानका आधारमा व्याख्या गर्छ। उनको मुख्य दाबीमध्ये एउटा हो - हामी प्रायः 'पहिले सफल हुन्छु, त्यसपछि खुसी हुन्छु' भन्छौँ, तर केही परिस्थितिमा खुसी र सकारात्मक मानसिक अवस्था आफैंले प्रदर्शन, सिर्जनशीलता, प्रेरणा र लचिलोपन बढाउन सहयोग गर्न सक्छ।

एचोरले सकारात्मक मानसिकतालाई व्यवहारिक अभ्याससँग जोड्छन्। उनले ‘टेट्रिस प्रभाव’ (Tetris Effect) मार्फत दिमागले आफूलाई बारम्बार अभ्यास गराइएको ढाँचा चिन्न थाल्ने कुरा प्रस्तुत गर्छन्। अर्थात् मानिसले सम्भावना, समस्या वा नकारात्मकता - जुन कुरामा बढी ध्यान दिन्छ, त्यसतर्फ उसको मानसिक ध्यानको ढाँचा बलियो हुँदै जान सक्छ।

त्यस्तै 'जोरो इफेक्ट' (Zorro Effect)ले ठूलो परिवर्तनलाई साना, नियन्त्रण गर्न सकिने भागमा विभाजन गर्ने विचार दिन्छ। सामाजिक सम्बन्धलाई पनि मानसिक स्वास्थ्य र सफलताको महत्त्वपूर्ण आधार मानिन्छ।

एचोरको पुस्तकले एउटा रोचक उल्टो सूत्र प्रस्तुत गर्छ - सफल भएपछि खुसी हुने मात्र होइन, केही अवस्थामा सकारात्मक मानसिक अवस्था नै सफलताको आधार बन्न सक्छ। तर यहाँ पनि सावधानी आवश्यक छ। सकारात्मकता कुनै जादुई औषधि होइन। आर्थिक समस्या, सामाजिक अन्याय, गम्भीर रोग, सम्बन्धको हिंसा वा रोजगारी गुमेको अवस्था केवल मानसिक दृष्टिकोण परिवर्तन गरेर समाधान हुँदैन।

पुस्तकको उपयोगी सन्देश यही हो - मानसिक अवस्था व्यवहारसँग जोडिएको हुन्छ। त्यसैले साना सकारात्मक अभ्यास, सामाजिक सम्बन्ध, लक्ष्यलाई साना चरणमा विभाजन गर्ने बानी र सम्भावनातर्फ ध्यान दिने अभ्यासले जीवनको सामना गर्ने क्षमता बलियो बनाउन सक्छ।

अमेरिकी लेखिका, प्रेरक वक्ता र आत्मविकाससम्बन्धी विचारका चर्चित व्यक्तित्व लुई हे (Louise Hay) को 'You Can Heal Your Life' (१९८४) ले पनि आत्मप्रेम, सकारात्मक आत्मसंवाद, क्षमा र सकारात्मक सोचमार्फत जीवनमा परिवर्तन ल्याउने विचार प्रष्ट पार्छ। यसको मूल सन्देश सकारात्मक सोच, आत्मस्वीकृति र आत्मप्रेमसँग जोडिएको छ। 

लुई हेले पुस्तकमा मानिसको जीवनमा दोहोरिइरहने नकारात्मक विचार, आत्मदोष र आफूलाई अस्वीकार गर्ने प्रवृत्तिले भावनात्मक तथा व्यवहारगत समस्यालाई बलियो बनाउन सक्ने धारणा अघि सारेकी छन्। उनको दृष्टिमा परिवर्तन बाहिरबाट सुरु हुँदैन। मानिसले आफू र आफ्नाबारे बनाएको धारणा परिवर्तन गर्नुपर्छ। पुस्तकले विशेषगरी आफूलाई स्वीकार गर्न र 'म पर्याप्त छैन,' 'म योग्य छैन,' 'मलाई माया गरिँदैन' जस्ता आत्मनिन्दात्मक धारणालाई चुनौती दिन आग्रह गर्छ। 

यसको विकल्पमा सकारात्मक affirmation अर्थात् आफूलाई बारम्बार सकारात्मक वाक्य सम्झाउने अभ्यासलाई महत्त्व दिइएको छ। उदाहरणका लागि, 'म आफूलाई माया गर्छु,' 'म आफूलाई स्वीकार गर्छु,' 'म परिवर्तन र विकासका लागि खुला छु' जस्ता वाक्य दोहोर्‍याएर आफ्नो पुरानो मानसिक ढाँचा परिवर्तन गर्ने अभ्यास गर्न सकिने  विश्वास हेको छ।

उनका अनुसार क्षमा पनि मानसिक परिवर्तनको महत्त्वपूर्ण हिस्सा हो। अरूलाई मात्र होइन, आफूलाई पनि क्षमा गर्नुपर्छ। विगतका गल्तीलाई निरन्तर बोकेर हिँड्नुको सट्टा त्यसबाट सिकेर वर्तमानमा आफूलाई स्वीकार गर्नुपर्छ। उनले प्रेम, आत्मसम्मान, कृतज्ञता र सकारात्मक आत्मसंवादलाई मानसिक रूपान्तरणका आधार मानेकी छन्।

पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष शरीर र मनबीचको सम्बन्धबारेको धारणा हो। उनले कतिपय शारीरिक समस्यालाई भावनात्मक ढाँचा र विचारसँग जोडेर व्याख्या गरेकी छन्। तर यसलाई आधुनिक चिकित्साशास्त्रको प्रमाणित निष्कर्षका रूपमा लिनु हुँदैन। सकारात्मक सोचले रोग निको पार्छ भन्ने वैज्ञानिक प्रमाण छैन। उपचार आवश्यक अवस्थामा चिकित्सकीय उपचारकै विकल्प हुँदैन।

सबैभन्दा उपयोगी पक्षलाई 'सकारात्मक सोचले सबै समस्या समाधान गर्छ' भन्दा 'आफूलाई कसरी हेर्छौं, त्यसले हाम्रो भावना, व्यवहार र जीवनप्रतिको दृष्टिकोणलाई प्रभावित गर्छ' भन्ने सन्देश छ। 

सोच सकारात्मक बनाउने सूत्र हुन्छ ?

हुन्छ। तर, गणितको सूत्रजस्तो निश्चित र सबैलाई समान रूपमा काम गर्ने सूत्र होइन। मनोविज्ञानले सकारात्मक वा आशावादी सोच विकास गर्न केही अभ्यास पहिचान गरेको छ।

पहिलो, विचारलाई तथ्य नठान्ने। 'म असफल भएँ' एउटा घटना हो, 'म असफल मानिस हुँ' त्यस घटनाको व्याख्या हो। दोस्रो, स्थायी निष्कर्षबाट बच्ने। 'आज खराब भयो' र 'मेरो जीवन सधैं खराब हुन्छ' एउटै कुरा होइन। तेस्रो, समस्यालाई सीमित क्षेत्रमा राख्ने। एउटा परीक्षामा असफल हुनु सम्पूर्ण क्षमताको प्रमाण होइन।

चौथो, आफूले नियन्त्रण गर्न सक्ने कुरा छुट्याउने। के बदल्न सकिन्छ? के स्वीकार्नुपर्छ? पाँचौँ, प्रमाण खोज्ने। 'सबै मानिस मेरो विरुद्ध छन्' भन्ने सोच आयो भने त्यसको प्रमाण के छ? छैटौँ, वैकल्पिक व्याख्या खोज्ने। एउटै घटनाको एउटा मात्र अर्थ हुँदैन। सातौँ, कृतज्ञता, सामाजिक सम्बन्ध, व्यायाम, पर्याप्त निद्रा, लक्ष्य निर्धारण र आत्मकरुणाजस्ता व्यवहारले मानसिक स्वास्थ्यमा सहयोग गर्न सक्छन्।

सकारात्मक सोचका शक्ति के हुन् ?

सकारात्मक सोचको शक्ति मुख्यतः चार ठाउँमा देखिन्छ। पहिलो, यसले कठिन परिस्थितिमा प्रयास जारी राख्ने सम्भावना बढाउन सक्छ। दोस्रो, यसले असफलतालाई अन्तिम निर्णयको रूपमा नलिइ सिकाइका रूपमा हेर्न सहयोग गर्छ। तेस्रो, आशावादी व्यक्तिले समस्या समाधानका लागि सक्रिय 'सामना गर्ने रणनीति' (coping strategy) प्रयोग गर्ने सम्भावना बढी देखाउन सक्छ। अनुसन्धानमा 'स्वभाविक आशावाद' (dispositional optimism) सकारात्मक सामना र केही स्वास्थ्य सूचकसँग सम्बन्धित पाइएको छ। चौथो, सकारात्मक मानसिक अवस्थाले सामाजिक सम्बन्ध, प्रेरणा र लक्ष्यतर्फको व्यवहारलाई बलियो बनाउन सक्छ।

तर एउटा महत्त्वपूर्ण भिन्नता छ - सकारात्मक सोच (positive thinking) र सकारात्मक नतिजा (positive outcome) एउटै होइनन्। सकारात्मक सोचले तपाईंलाई राम्रो निर्णय गर्न मद्दत गर्न सक्छ, त्यसले हरेकपटक राम्रो परिणामको ग्यारेन्टी गर्दैन। किनकि जीवन हाम्रो सोचअनुसार मात्र चल्दैन। मेहनत गरेर पनि असफल हुन सकिन्छ, सावधानी अपनाउँदा पनि दुर्घटना हुन सक्छ, राम्रो निर्णय गर्दागर्दै परिणाम प्रतिकूल आउन सक्छ। 

सकारात्मक सोचको मूल्य परिणाममा मात्र होइन, परिणामपछि मानिसले आफूलाई कसरी सम्हाल्छ, गल्तीबाट के सिक्छ र अर्को कदम चाल्ने साहस कसरी जुटाउँछ भन्नेमा पनि हुन्छ। त्यसैले सकारात्मक सोचलाई सफलताको ग्यारेन्टी होइन, कठिनाइ सामना गर्ने मानसिक तयारीका रूपमा बुझ्नु उचित हुन्छ।

सोच कस्तो राख्ने भन्ने उमेरले निर्धारण गर्छ ?

उमेरले केही प्रभाव पार्छ, तर निर्धारण गर्दैन।

बालबालिकाको सोच परिवार, अभिभावक, विद्यालय र अनुभवबाट प्रभावित हुन्छ। किशोरावस्थामा साथी, पहिचान र सामाजिक स्वीकृतिको प्रभाव बलियो हुन्छ। वयस्क अवस्थामा जिम्मेवारी, करियर, सम्बन्ध र आर्थिक अनुभवले सोचलाई आकार दिन सक्छ। वृद्धावस्थामा जीवनका अनुभव, हानि, स्वास्थ्य र जीवनको अर्थबारेको दृष्टिकोण महत्वपूर्ण हुन सक्छ।

तर कुनै निश्चित उमेरमा पुगेपछि 'अब यो व्यक्तिको सोच यस्तो नै हुन्छ' भन्ने मनोवैज्ञानिक दाबी लाग्दैन। मानिसको मस्तिष्क र व्यवहारमा परिवर्तनको क्षमता रहन्छ। त्यसैले सकारात्मक सोच पनि अभ्यास, अनुभव र वातावरणबाट परिवर्तन हुन सक्छ।

सकारात्मक सोच जन्मजात हो कि आर्जित?

दुवैको केही भूमिका हुन्छ।

कतिपय व्यक्तिमा स्वभावतः आशावादी स्वभाव हुन सक्छ। उनीहरू कठिन घटनामा पनि सम्भावना देख्ने प्रवृत्तिका हुन सक्छन्। तर परिवार, सामाजिक वातावरण, शिक्षा, जीवनका अनुभव, सम्बन्ध, सफलता-असफलता र मानसिक अभ्यासले त्यसलाई बदल्न सक्छ।

यही कारण सेलिग्म्यानको 'learned optimism' अवधारणा महत्त्वपूर्ण छ। आशावादलाई केवल जन्मजात स्वभाव होइन, सिक्न सकिने व्याख्यात्मक शैलीका रूपमा पनि हेर्न सकिन्छ। अमेरिकन साइकोलोजिकल एसोसिएसन (APA) ले सिकाइको आशावादितालाई नकारात्मक घटनाका कारणलाई बाह्य, अस्थिर र विशिष्ट रूपमा व्याख्या गर्ने शैलीका रूपमा वर्णन गर्छ।

अर्थात् जन्मजात स्वभावले सुरुवातमा प्रभाव पार्न सक्छ। अनुभव र अभ्यासले त्यसलाई पुनःआकार दिन सक्छ।

सकारात्मक सोच भन्दैमा जेमा पनि सकारात्मक हुनु ठीक हो ?

हुँदैन।

यहीँबाट 'विषाक्त सकारात्मकता (toxic positivity) सुरु हुन्छ। आफ्नो प्रिय मानिस बितेको छ भने 'सकारात्मक सोच, सबै राम्रो हुन्छ' भन्नु संवेदनशीलता होइन। गम्भीर अन्याय भइरहेको छ भने 'यसमा पनि केही राम्रो पक्ष छ' भनेर अन्यायलाई सामान्य बनाउनु सकारात्मकता होइन। हिंसात्मक सम्बन्धमा रहेको व्यक्तिलाई “सम्बन्ध बचाउन सकारात्मक सोच” भन्नु खतरनाक हुन सक्छ।

दुःखलाई दुःख भन्न सक्नु पनि मानसिक स्वास्थ्यको हिस्सा हो। नकारात्मक भावना सधैं हटाउनुपर्ने शत्रु होइनन्। डरले खतरा देखाउन सक्छ। क्रोधले अन्याय भएको संकेत दिन सक्छ। दुःखले हानि स्वीकार गर्न सहयोग गर्न सक्छ। चिन्ताले तयारी गर्न प्रेरित गर्न सक्छ।

समस्या नकारात्मक भावना हुनु होइन, समस्या तिनले हाम्रो सम्पूर्ण सोच र व्यवहारलाई नियन्त्रण गर्नु हो।

त्यसैले स्वस्थ सूत्र यस्तो हुन सक्छ - 

  • यो खराब छ, तर म यसलाई कसरी सामना गर्न सक्छु ?
  • म दुःखी छु, तर म कमजोर भएको प्रमाण होइन।
  • असफल भएँ, तर यसबाट के सिक्न सक्छु ?
  • सबै मेरो नियन्त्रणमा छैन, तर केही कुरा मेरो नियन्त्रणमा छन्।

यही यथार्थवादी आशावाद हो।

सकारात्मक सोचका जोखिम

सकारात्मक सोचको सबैभन्दा ठूलो जोखिम वास्तविकतालाई अस्वीकार गर्नु हो।

यसले मानिसलाई जोखिम कम आकलन गर्न, समस्या समाधानमा ढिलाइ गर्न वा गलत निर्णयप्रति अत्यधिक आत्मविश्वासी बनाउन सक्छ। इच्छापूर्ण सोच (wishful thinking)ले सम्भावनालाई वास्तविकताभन्दा फरक ढंगले हेर्न सक्ने भएकाले निर्णयमा जोखिम ल्याउन सक्छ।

दोस्रो जोखिम हो - आफूलाई दोष दिनु। 'मैले पर्याप्त सकारात्मक सोचिनँ, त्यसैले असफल भएँ' भन्ने विचार आफैंमा अर्को मानसिक बोझ बन्न सक्छ। तेस्रो जोखिम हो अरूको दुःखलाई अमान्य बनाउनु। 'Positive vibes only' को संस्कृतिले दुःख, डर वा शोक व्यक्त गर्ने मानिसलाई नै गलत ठहराउन सक्छ। यस्तो forced positivity लाई विषाक्त सकारात्मकता (toxic positivity) भनिन्छ।

त्यसैले सकारात्मक सोचको स्वस्थ रूप 'नकारात्मक सोच हटाऊ' होइन। 'नकारात्मक सोच आयो भने त्यसलाई जाँच।'

सोच कस्तो लिने भन्ने कुरा व्यक्तिले निर्धारण गर्न सक्छ?

धेरै हदसम्म सक्छ, तर पूर्ण रूपमा होइन।

मानिसको सोचमा आनुवंशिक प्रवृत्ति, बाल्यकालीन अनुभव, सामाजिक वातावरण, आर्थिक अवस्था, सम्बन्ध, संस्कृति, शारीरिक स्वास्थ्य र जीवनमा भोगेका घटनाको प्रभाव हुन्छ।

त्यसैले 'सोच तिम्रो हातमा छ' भन्ने वाक्य आधा सत्य हो। हाम्रो नियन्त्रणमा विचार पहिलोपटक आउँछ कि आउँदैन भन्ने कुरा सधैं हुँदैन। तर त्यो विचारलाई स्वीकार्ने, जाँच्ने, त्यसमा विश्वास गर्ने वा त्यसअनुसार व्यवहार गर्ने प्रक्रियामा केही नियन्त्रण विकास गर्न सकिन्छ।

उदाहरणका लागि - 'म असफल भएँ' भन्ने विचार आयो। त्यसपछि दुई बाटा हुन सक्छन् - 'म असफल मानिस हुँ,' वा

'यो प्रयास असफल भयो। कारण के थियो ?

दोस्रो प्रश्नले सम्भावनाको ढोका खोल्छ। दर्शनले सकारात्मक सोचलाई कसरी हेर्छ?

सकारात्मक सोच आधुनिक सेल्फ-हेल्प उद्योगको आविष्कार मात्र होइन। मानिसले दुःख, नियन्त्रण, आशा, अर्थ र जीवनबारे हजारौँ वर्षदेखि सोच्दै आएको छ।

बाहिरी संसार होइन, आफ्नै प्रतिक्रियामाथि अधिकार

रोमन सम्राट तथा स्टोइक (Stoic) दार्शनिक मार्कस औरेलियस (Marcus Aurelius) को 'Meditations' मूलतः सार्वजनिक पुस्तकका रूपमा लेखिएको थिएन। यो उनको आफ्नै आत्मसंवाद र दार्शनिक अभ्यास थियो। Stoicism को मूल प्रश्नमध्ये एउटा थियो, कुन कुरा हाम्रो नियन्त्रणमा छ र कुन कुरा छैन? Stanford Encyclopedia of Philosophy ले औरेलियसको विचारमा सद्गुणलाई वास्तविक राम्रो र बाह्य उपलब्धि–हानिलाई सुखको अन्तिम मापदण्ड नमान्ने स्टोइक दृष्टिकोण देखाउँछ।

आजको सकारात्मक सोचसँग यसको सम्बन्ध गहिरो छ।

हामीलाई अरू मानिसले के भन्छन्, मौसम कस्तो हुन्छ, कसैले हामीलाई मन पराउँछ कि पराउँदैन, बजार बढ्छ कि घट्छ, रोग कहिले आउँछ आदि इत्यादि सबै पूर्ण रूपमा हाम्रो नियन्त्रणमा हुँदैनन्। तर, घटनाप्रति हाम्रो निर्णय, प्रतिक्रिया, व्यवहार र मूल्य केही हदसम्म हाम्रो हातमा हुन्छ।

Stoicism ले 'सबै राम्रो छ' भन्दैन। बरु 'जे भयो, त्यसप्रति तिमीले कस्तो प्रतिक्रिया दिनेछौ ?' भनेर सोध्छ। यो सकारात्मक सोचभन्दा अझ परको कुरा हो। यो मानसिक अनुशासन हो। यसको एउटा ठूलो पाठ आज पनि लागू हुन्छ, दुःखलाई अस्वीकार नगरी त्यससँग व्यवहार गर्न सिक।

दुःखभित्र पनि अर्थ खोज्ने शक्ति

भिक्टर इ फ्रयाङ्कल (Viktor E. Frankl) को 'Man’s Search for Meaning'(सन् १९४६) मा पहिलोपटक प्रकाशित भएको थियो। नाजी concentration camp मा कैदीका रूपमा भोगेको अनुभव र त्यसबाट विकसित उनको लोगोथेरापी (logotherapy) यस पुस्तकको केन्द्रमा छन्। फ्रयाङ्कलका अनुसार मानिसको गहिरो प्रेरणामध्ये एउटा अर्थको खोजी हो।

फ्रयाङ्कलको विचारलाई सामान्य 'सकारात्मक सोच' भनेर बुझ्नु ठूलो सरलीकरण हुनेछ। उनको विचार अझ कठिन छ। जीवनमा केही दुःख हामीले रोजेका हुँदैनौँ। केही घटना हामीले रोक्न सक्दैनौँ। तर ती परिस्थितिमा आफ्नो दृष्टिकोण, मूल्य र प्रतिक्रिया रोज्ने केही आन्तरिक स्वतन्त्रता मानिससँग रहन सक्छ।

यसको अर्थ दुःख राम्रो हो भन्ने होइन। पीडालाई महिमामण्डन गर्नु पनि होइन। बरु पीडा आएपछि पनि जीवनको अर्थ समाप्त हुँदैन भन्ने हो। यही विचारले सकारात्मक सोचलाई अर्को तहमा पुर्‍याउँछ। आशावाद भनेको 'भोलि सबै राम्रो हुन्छ' भन्ने विश्वास मात्र होइन। कहिलेकाहीँ आशावाद भनेको 'भोलि के हुन्छ थाहा छैन, तर आज म अर्थपूर्ण काम गर्न सक्छु' भन्ने पनि हो।

'यो परिस्थिति मैले रोजेको होइन, तर यसमा मेरो प्रतिक्रिया कस्तो हुनेछ भन्नेमा मेरो केही भूमिका छ।'

'सबै कुरा गुमे पनि मेरो मूल्य र उद्देश्य पूर्ण रूपमा समाप्त हुँदैन।'

फ्रयाङ्कलको दर्शनले सकारात्मक सोचलाई सुखसँग मात्र जोड्दैन, अर्थसँग जोड्छ। यसैले उनको विचार आज पनि resilience, suffering र human dignity को बहसमा प्रभावशाली छ।

अन्ततः सकारात्मक सोच के हो?

सकारात्मक सोच भनेको संसारमा समस्या छैन भन्ने विश्वास होइन। यो समस्या देखेर पनि समाधानको सम्भावना खोज्ने क्षमता हो। यो असफलतापछि आफूलाई गाली गर्नुको सट्टा कारण खोज्नु हो। यो दुःखमा 'म किन ?' मात्र होइन, 'अब के ?' भनेर सोध्नु हो।

यो आशा हो, तर अन्धो आशा होइन। यो आत्मविश्वास हो, तर अतिआत्मविश्वास होइन। यो यथार्थ स्वीकार्नु हो, तर निराशावादमा डुब्नु होइन। र, सबैभन्दा महत्त्वपूर्ण, सकारात्मक सोच भावनालाई दबाउने कला होइन, भावनालाई बुझेर त्यसबाट उपयोगी प्रतिक्रिया निर्माण गर्ने क्षमता हो।

सायद त्यसैले सकारात्मक सोचको सबैभन्दा वैज्ञानिक परिभाषा 'सधैं राम्रो सोच' हुन सक्दैन। बरु यस्तो हुन सक्छ, 'जे भइरहेको छ, त्यसलाई यथार्थ रूपमा देख, जे नियन्त्रणमा छ, त्यसमा काम गर। जे नियन्त्रणमा छैन, त्यसलाई स्वीकार र कठिनाइभित्र पनि अगाडि बढ्ने सम्भावना खोज।'

मानिसको जीवनमा सबै कुरा सकारात्मक हुँदैन। तर सबै नकारात्मक पनि हुँदैन। सकारात्मक सोचको वास्तविक शक्ति यही बीचको ठाउँमा छ, जहाँ मानिसले परिस्थितिलाई बदल्न नसके पनि त्यससँग सम्बन्धित आफ्नो अर्थ, प्रतिक्रिया र अर्को कदम बदल्न सक्छ।

Thursday, November 12, 2026

निर्णयले जीवन बदल्ने सात सूत्र

तपाइँ बारम्बार भन्नुहुन्छ - 'मैले जीवनमा यो गर्नु छ, गर्नै छ, गर्छु गर्छु।' तर हरेक भेटमा तपाइँले यसो भनिरहँदा म सोध्छु - 'के कारण गर्न सक्नुभएन ?' तपाइँसँग जवाफ रेडिमेड हुन्छन्, यो कारण त्यो कारण। यदि मैले भनेँ कि आजसम्म तपाईंले गर्न नसक्नुभएका कामको कारण डर होइन, बरु तपाईंले आफैं बनाएको बहाना हो भने ? 

यो कुरा एउटा यस्तो पुस्तकले भन्छ, जसका विश्वभर एक करोडभन्दा बढी प्रति बिक्री भइसकेका छन्। पुस्तकभित्र लुकेको सत्य तीतो पनि छ र स्वतन्त्र बनाउने खालको पनि। तीतो यस अर्थमा कि यो कुरा बुझिसकेपछि तपाईंसँग बहाना बनाउने ठाउँ बाँकी रहँदैन। स्वतन्त्र बनाउने यस अर्थमा कि जुन दिन तपाईंले यो कुरा बुझ्नुहुन्छ, त्यस दिनदेखि अरूले के भन्लान् भन्ने डरले तपाईंलाई रोक्न सक्दैन।

यदि तपाईंले कहिल्यै कसैको चित्त दुख्ला वा कोही रिसाउला भन्ने डरले आफ्नो सपना त्याग्नुभएको छ भने यो लेखलाई अन्तिमसम्म पढ्नुस्। किनकि अन्त्यमा म तपाईंलाई एउटा यस्तो प्रश्न दिनेछु, जसले आज राति तपाईंलाई सोच्न बाध्य बनाउनेछ।

आज हामीले चर्चा गर्न लागेको पुस्तक हो, ‘The Courage to Be Disliked’, अर्थात् ‘अरूलाई मन नपर्ने हुन सक्ने साहस’। यो पुस्तक जापानका दुई लेखक इचिरो किशिमी र फुमिताके कोगाले लेखेका हुन्। इचिरो किशिमी दार्शनिक हुन्। उनले लामो समयसम्म अल्फ्रेड एडलरको मनोविज्ञानको अध्ययन गरेका छन्। अर्का लेखक फुमिताके कोगाले यही गहिरो दर्शनलाई सहज संवादको शैलीमा प्रस्तुत गरेका छन्।

अब एडलर को हुन् त?

उनी अस्ट्रियाका मनोवैज्ञानिक हुन्, जो सिग्मन्ड फ्रायडकै समयमा थिए। फ्रायडको मान्यता थियो, मानिसको वर्तमान व्यवहारलाई उसको विगतले निर्धारण गर्छ। तर एडलरले यसमा असहमति जनाउँदै भने, मानिस आफ्नो विगतको कैदी होइन। यही फरक सोचबाट विकास भएको मनोविज्ञानलाई आज एडलरियन मनोविज्ञान भनिन्छ।

यो पुस्तक सन् २०१३ मा जापानमा प्रकाशित भएको थियो। त्यसपछि बिस्तारै विश्वका दर्जनौँ भाषामा अनुवाद भयो। आज यसका एक करोडभन्दा बढी प्रति बिक्री भइसकेका छन्। यस पुस्तकको प्रस्तुतिशैली निकै फरक छ। यो कुनै गह्रौँ सिद्धान्तले भरिएको पुस्तक होइन। यो दुई व्यक्तिबीचको बहस हो। एकातिर शान्त स्वभावका दार्शनिक छन् भने अर्कोतिर जीवनदेखि दिक्क भएका, रिसले भरिएका एक युवा छन्। ती युवा दार्शनिकका कुरालाई गलत साबित गर्न आएका हुन्छन्।

पाँच रातसम्म यी दुईबीच चल्ने बहस नै पुस्तकको मुख्य विषय हो। सबैभन्दा रमाइलो कुरा के छ भने ती युवाले उठाउने प्रश्न तपाईंको मनमा पनि आउन सक्छन्। जस्तैः यी त भन्नका लागि मात्रै हुन्, मेरो परिस्थिति तपाईंलाई के थाहा? के यस्तो सोच्नु स्वार्थी हुनु होइन र?

आजको भेटमा म तपाईंलाई यो पुस्तकका सातवटा महत्त्वपूर्ण विचारबारे बताउनेछु। प्रत्येक विचारले तपाईंलाई केही न केही सोच्न बाध्य बनाउनेछ। तर यी सातवटै विचार अन्तिमसम्म सुन्नुभयो भने आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण पहिलेको जस्तो रहने छैन।

त्यसैले सुरु गरौँ। पहिलो विचारले नै तपाईंको सोचको जग हल्लाउन सक्छ।

पहिलो विचार : तपाईंलाई विगतले होइन, उद्देश्यले अगाडि बढाउँछ। 

पुस्तकको सुरुवात नै एउटा चकित पार्ने कुराबाट हुन्छ। युवा भन्छन्, मानिस कहिल्यै बदलिँदैन। तर दार्शनिकको जवाफ हुन्छ, मानिस बदलिन सक्छ।

अब सोच्नुहोस्, हामी आफैंसँग कस्ता कुरा गर्छौँ?

मेरो बाल्यकाल कठिन भएकाले म यस्तो भएको हुँ। कसैले धोका दिएकाले म अरूलाई विश्वास गर्न सक्दिनँ। घरको अवस्था राम्रो नभएकाले म जीवनमा अगाडि बढ्न सकिनँ।

एडलर यी सबै सोचसँग असहमत छन्।

यहाँ दुईवटा शब्द बुझ्न आवश्यक छ। पहिलो हो ‘कारण र परिणाम’ अर्थात् कजालिटी। फ्रायडको सोच यही थियो कि आज हामीसँग जे भइरहेको छ, त्यसको कारण हाम्रो विगतमा हुन्छ। दोस्रो शब्द हो ‘उद्देश्यवाद’ अर्थात् टेलियोलोजी। एडलर भन्छन्, मानिस विगतका घटनाले धकेलिएका कारण मात्र अगाडि बढ्दैन। बरु उसले प्राप्त गर्न खोजेको उद्देश्यले उसलाई अगाडि बढाउँछ।

अब यसलाई एउटा उदाहरणबाट बुझौँ, जुन पुस्तकमा पनि उल्लेख गरिएको छ।

मानौँ, तपाईं एउटा क्याफेमा बसिरहनुभएको छ। त्यही बेला वेटरको गल्तीले तपाईंको कपडामा तातो कफी पोखिन्छ। तपाईं रिसले चिच्याउन थाल्नुहुन्छ। 

सामान्य सोचअनुसार कफी पोखिएकाले तपाईंलाई रिस उठेको हो। तर एडलरको प्रश्न फरक छ। के कफी पोखिएकै कारण तपाईंलाई रिस उठेको हो? कि आफ्नो कुरा मनाउन र अर्को व्यक्तिलाई दबाब दिन तपाईंले रिसलाई प्रयोग गर्नुभएको हो?

पुस्तकले यहाँ एउटा महत्त्वपूर्ण कुरा भन्छ, रिस एउटा औजार हो। तपाईंले रिसलाई प्रयोग गर्नुभएको हो, रिसले तपाईंलाई नियन्त्रण गरेको होइन।

अर्को उदाहरण पनि बुझौँ।

पुस्तकमा एउटा यस्तो व्यक्तिको चर्चा छ, जसलाई अरू मानिसको अगाडि जाँदा आफ्नो अनुहार रातो हुने डर छ। यही कारणले ऊ कसैसँग खुलेर कुरा गर्न सक्दैन।

तर एडलरको दृष्टिकोणबाट हेर्दा यसको वास्तविक कारण अर्कै हुन सक्छ। यदि उसले कसैलाई आफ्नो मनको कुरा भन्यो र उताबाट अस्वीकार भयो भने ऊ निकै दुःखी हुन सक्छ। त्यसैले अनुहार रातो हुने डरलाई उसले मानिसहरूसँग नजिकिनबाट बच्ने बहाना बनाएको हुन सक्छ।

अब सोच्नुहोस्, यो डरको पछाडि के छ? अस्वीकार हुने डर।

यही डरका कारण हामी आफैंले बनाएको पर्खालभित्र लुकेर बस्छौँ।

अब यसलाई आफ्नो जीवनसँग जोडेर हेर्नुहोस्। तपाईंले महिनौँदेखि ‘भोलिदेखि सुरु गर्छु’ भन्दै टारिरहेको काम के साँच्चै समय नभएर रोकिएको हो? कि त्यो काम सुरु गर्दा असफल भएँ भने बहाना बनाउने ठाउँ बाँकी रहँदैन भन्ने डरले रोकिएको हो?

एडलरको एउटा महत्त्वपूर्ण भनाइ यही हो, कुनै पनि अनुभव आफैँमा हाम्रो सफलता वा असफलताको कारण हुँदैन। त्यस अनुभवबाट हामीले के अर्थ निकाल्छौँ, त्यसैले हाम्रो व्यक्तित्व र व्यवहारलाई आकार दिन्छ।

दुई जना मानिस एउटै किसिमको कठिन परिस्थितिबाट गुज्रिन सक्छन्। एक जनाले त्यसलाई आफ्नो कमजोरी बनाउँछ भने अर्कोले त्यही अनुभवलाई आफ्नो शक्ति बनाउँछ। फरक घटना भएको होइन, फरक त उनीहरूले त्यस घटनाबाट निकालेको अर्थमा हुन्छ।

तर एउटा कुरा स्पष्ट पारौँ। यसको अर्थ तपाईंले भोगेको पीडा झुटो हो वा तपाईंसँग भएको घटना तपाईंको गल्ती हो भन्ने होइन। पीडा वास्तविक हुन्छ। पुस्तकले भन्न खोजेको कुरा यति मात्र हो कि विगतले तपाईंलाई त्यतिबेलासम्म बाँध्न सक्दैन, जबसम्म तपाईं आफैँ त्यसलाई आफ्नो बन्धन बनाउनुहुन्न।

त्यसैले आज राति आफैंलाई एउटा प्रश्न सोध्नुहोस्, ‘म कुन कामबाट बच्न आफ्नो विगतलाई बहाना बनाइरहेको छु?’

यसको जवाफ अलि तीतो हुन सक्छ। तर परिवर्तनको सुरुवात यहीँबाट हुन्छ।

अब दोस्रो विचारले हामी बदलिन चाहँदाचाहँदै पनि किन बदलिन सक्दैनौँ भन्ने कुरा बताउँछ।

दोस्रो विचार : तपाईं बदलिन चाहनुहुन्छ, तर बदलिनु किन कठिन हुन्छ?

युवाले दार्शनिकलाई सीधा प्रश्न गर्छन्, यदि मानिस बदलिन सक्छ भने सबै मानिस किन बदलिँदैनन्?

यहाँ दार्शनिकले निकै गहिरो कुरा बताउँछन्। एडलरले यसलाई जीवनशैली अर्थात् 'लाइफस्टाइल' भनेका छन्। यहाँ जीवनशैली भन्नाले तपाईंले लगाउने लुगा वा खानेकुरा भन्ने बुझिँदैन। यसको अर्थ तपाईंको सोच्ने तरिका र व्यवहार गर्ने बानी हो। तपाईं संसारलाई कसरी हेर्नुहुन्छ र आफैंलाई कसरी बुझ्नुहुन्छ भन्ने कुरा यसैभित्र पर्छ।

एडलरका अनुसार हामीले यो सोच्ने तरिका आफैंले रोजेका हुन्छौँ। प्रायः बाल्यकालको सुरुवाती वर्षमा यस्तो सोच विकास हुन्छ। र, जुन कुरा हामीले रोजेका हुन्छौँ, त्यसलाई फेरि बदल्न पनि सक्छौँ।

तर त्यसो भए हामी किन बदलिँदैनौँ?

पुस्तकको जवाफ सरल छ, मानिसलाई परिवर्तनभन्दा परिचित अवस्थामै बस्न सजिलो लाग्छ।

सोच्नुहोस्, तपाईं आफ्नो दुःखी जीवनसँग परिचित हुनुहुन्छ। त्यहाँ के हुन्छ, कसरी हुन्छ भन्ने तपाईंलाई थाहा छ। जीवन असहज भए पनि त्यसमा एउटा सुरक्षा महसुस भइरहेको हुन्छ। तर परिवर्तनको अर्थ हो, नचिनेको बाटोमा हिँड्नु। त्यहाँ असफल हुने जोखिम हुन्छ। अरूको मजाकको पात्र बन्ने सम्भावना हुन्छ।

पुस्तकले यहाँ एउटा चसक्क लाग्ने कुरा भन्छ, तपाईंलाई आफ्नो अहिलेको अवस्था मन पर्दैन। तर पनि तपाईं त्यही अवस्थासँग टाँसिएर बसिरहनुभएको छ। किनकि नयाँ जीवनको डर पुरानो दुःखभन्दा ठूलो भएको छ। यही ठाउँमा पुस्तकले ‘जीवनका झुट’ अर्थात् लाइफ लाइजको चर्चा गर्छ। यसको अर्थ हामीले आफ्नो वास्तविक जिम्मेवारीबाट बच्न बनाउने बहाना हो।

मेरो भाग्य नै खराब छ। मैले अवसर नै पाइनँ। परिवारले अगाडि बढ्न दिएन।

हामी यस्ता बहानालाई सत्य मान्न थाल्छौँ, किनकि तिनलाई सत्य मान्न सजिलो हुन्छ। तर जब तपाईं आफ्नो जीवनमा भएका सबै समस्याको दोष अरूलाई दिनुहुन्छ, तब आफ्नो जीवनको नियन्त्रण पनि उनीहरूकै हातमा सुम्पिनुहुन्छ।

राम्रो कुरा के छ भने एडलर भन्छन्, यदि तपाईंले आफ्नो जीवनशैली आफैंले रोज्नुभएको हो भने त्यसलाई आजैबाट बदल्न पनि सक्नुहुन्छ। यसका लागि वर्षौँको तयारी वा लामो समयको प्रतीक्षा आवश्यक छैन। आवश्यक छ त केवल एउटा निर्णय।

अहिलेसम्म हामीले बुझ्यौँ, हाम्रो जीवन धेरै हदसम्म हाम्रै छनोटबाट निर्माण हुन्छ। तर यदि परिवर्तन यति सजिलो छ भने जीवनको सबैभन्दा ठूलो समस्या के हो त? यसको जवाफ तेस्रो विचारमा छ।

तेस्रो विचार : अरूसँग तुलना गर्ने बानी छोड्नुहोस्।

पुस्तकको एउटा ठूलो दाबी छ, मानिसका अधिकांश समस्या अरूसँगको सम्बन्धबाट उत्पन्न हुन्छन्।

सोच्नुहोस्, तपाईंलाई आफ्नो तलब कहिले कम लाग्छ? जब तपाईंको साथीले तपाईंभन्दा धेरै कमाएको थाहा पाउनुहुन्छ। आफ्नो घर कहिले सानो लाग्छ? जब आफन्तको ठूलो घर देख्नुहुन्छ। आफ्नो अनुहार वा शरीरप्रति असन्तुष्टि कहिले बढ्छ? जब सामाजिक सञ्जालमा अरूको आकर्षक तस्बिर देख्नुहुन्छ।

यदि तपाईं एक्लै कुनै जंगलमा बस्नुभएको भए आफ्नो उचाइ, तलब वा घरको आकारप्रति त्यति धेरै चिन्ता गर्नुहुन्थ्यो होला र? समस्या तब सुरु हुन्छ, जब तपाईंको अगाडि अर्को व्यक्ति आउँछ र तपाईं आफूलाई ऊसँग तुलना गर्न थाल्नुहुन्छ।

एडलरले यसका लागि दुईवटा शब्द प्रयोग गरेका छन्।

पहिलो हो ‘न्यूनताको अनुभूति’ अर्थात् इन्फेरिओरिटी फिलिङ। यसको अर्थ आफू अरूभन्दा कमजोर वा कम भएको महसुस गर्नु हो। एडलर यसलाई नराम्रो मान्दैनन्। उनका अनुसार यही अनुभूतिले मानिसलाई अगाडि बढ्न प्रेरित गर्न सक्छ। ‘म अहिलेभन्दा अझ राम्रो बन्न सक्छु’ भन्ने सोचले नै मेहनत गर्ने प्रेरणा दिन्छ।

तर दोस्रो अवस्था खतरनाक हुन्छ। यसलाई ‘न्यूनताबोधको जटिलता’ अर्थात् इन्फेरिओरिटी कम्प्लेक्स भनिन्छ। जब मानिसले आफ्नो कमजोरीलाई अगाडि बढ्ने प्रेरणा बनाउनुको सट्टा बहाना बनाउन थाल्छ, त्यतिबेला यस्तो अवस्था पैदा हुन्छ।

म अंग्रेजी बोल्न सक्दिनँ, त्यसैले केही गर्न सक्दिनँ। मसँग पैसा छैन, त्यसैले मेरो जीवन यस्तै रहन्छ। यसको उल्टो रूप पनि हुन्छ, जसलाई ‘श्रेष्ठताबोधको जटिलता’ अर्थात् सुपेरिओरिटी कम्प्लेक्स भनिन्छ।

भित्रबाट आफूलाई कमजोर ठान्ने मानिसले बाहिरबाट आफूलाई ठूलो देखाउने प्रयास गर्छ। ठूलाठूला कुरा गर्नु, आफ्नो चिनजानको धाक लगाउनु, हरेक कुरामा आफ्ना उपलब्धि सुनाउनुजस्ता व्यवहार भित्रको हीनभावना लुकाउने उपाय हुन सक्छन्।

पुस्तकले भन्छ, जो मानिस साँच्चिकै आत्मविश्वासी हुन्छ, उसलाई आफ्नो प्रशंसा आफैं गरिरहनुपर्ने आवश्यकता हुँदैन।

त्यसो भए यसको समाधान के हो?

एडलर भन्छन्, अरूभन्दा माथि वा तल हुने सोच त्यागेर सबैलाई बराबरीको दृष्टिले हेर्न सिक्नुपर्छ।

हामी जीवनलाई एउटा सिँढीका रूपमा हेर्छौँ। धनी माथि, गरिब तल। हाकिम माथि, कर्मचारी तल। परीक्षामा पहिलो हुने माथि, असफल हुने तल। तर एडलरका अनुसार सबै मानिस बराबर हुन्। बराबर हुनुको अर्थ सबै मानिस एकै किसिमका हुनु होइन। तपाईं फरक हुनुहुन्छ, म फरक छु। तर फरक हुनुको अर्थ कोही ठूलो र कोही सानो हुनु होइन।

त्यसो भए तुलना कससँग गर्ने त?

पुस्तकको जवाफ निकै सुन्दर छ। अरूसँग होइन, आफ्नो आदर्श रूपसँग तुलना गर्नुहोस्। तपाईंको प्रतिस्पर्धा अरूसँग होइन, हिजोको आफ्नै अवस्थासँग हो।

अब चौथो विचार सुनौँ। यसले तपाईंले सायद जीवनभर पछ्याइरहेको एउटा कुरामाथि नै प्रश्न उठाउँछ।

चौथो विचार : अरूको प्रशंसाको भोको बन्नु नै तपाईंको बन्धन हो।

यो कुरा सुन्दा धेरैलाई अप्ठ्यारो लाग्न सक्छ। किनकि हाम्रो हुर्काइ नै यस्तै वातावरणमा भएको हुन्छ। 

शर्माजीको छोरालाई हेर। मानिसले के भन्लान्? हाम्रो इज्जतको सवाल छ। इन्जिनियर बन, डाक्टर बन, सरकारी जागिर खाऊ। त्यसपछि विवाह गर, बच्चा जन्माऊ। 

यही क्रम पछ्याउँदै हामी आफ्नो जीवन बिताउँछौँ। तर यस क्रममा हामी आफैंले के चाहेका थियौँ भन्ने कुरा बिर्सिन्छौँ। एडलरका अनुसार यसको जड हो, अरूबाट स्वीकृति र प्रशंसा पाउने चाहना। बाल्यकालदेखि नै हामीलाई सिकाइन्छ, राम्रो काम गरे पुरस्कार पाइन्छ, नराम्रो काम गरे गाली खाइन्छ। यही पुरस्कार र सजायको व्यवस्थाबीच हामी हुर्किन्छौँ। तर ठूलो भएपछि पनि हामी हाकिम, समाज र भीडबाट त्यही पुरस्कार र प्रशंसा खोजिरहन्छौँ।

यहाँ पुस्तकले एउटा चकित पार्ने कुरा भन्छ, प्रशंसा गर्नु पनि एक प्रकारको नियन्त्रण हुन सक्छ। जब आफूभन्दा माथिल्लो पदमा रहेको व्यक्तिले तल्लो पदमा रहेको व्यक्तिलाई ‘स्याबास, राम्रो गर्‍यौ’ भन्छ, त्यसमा एउटा लुकेको सन्देश हुन सक्छ– तिमीले राम्रो गर्‍यौ कि गरेनौ भन्ने निर्णय म गर्छु।

बिस्तारै अर्को व्यक्ति काम गर्नुभन्दा प्रशंसा पाउनकै लागि काम गर्न थाल्छ।

त्यसो भए एडलरको सुझाव के हो त?

प्रशंसाको ठाउँमा कृतज्ञता व्यक्त गर्नुहोस्। ‘स्याबास’ भन्नुको सट्टा ‘धन्यवाद, तपाईंले गर्दा मलाई निकै सहयोग भयो’ भन्नुहोस्। यसमा कोही ठूलो वा सानो हुँदैन। यसले बराबरी र आत्मीयताको भावना विकास गर्छ।

अब पुस्तकको नामसँग जोडिएको त्यो वाक्यमा जाऔँ, जसका कारण यो पुस्तक यति चर्चित भएको छ।

युवाले दार्शनिकलाई सोध्छन्, त्यसो भए मलाई कसैले मन पराउँदैन भने पनि वास्ता नगर्ने? दार्शनिकको जवाफ हुन्छ, कसैले तपाईंलाई मन पराउँदैन भने त्यसको अर्थ तपाईं आफ्नै सिद्धान्तअनुसार जीवन बाँचिरहनुभएको हुन सक्छ।

यो कुरा गहिरिएर सोच्नुहोस्। कसैले तपाईंलाई मन पराउँदैन भन्दैमा तपाईं गलत हुनुहुन्छ भन्ने हुँदैन। कहिलेकाहीँ त्यसले तपाईं अरूको इच्छाअनुसार होइन, आफ्नै मान्यताअनुसार जीवन बिताइरहनुभएको छ भन्ने देखाउँछ।

यदि तपाईं सबैलाई खुसी राख्न चाहनुहुन्छ भने हरेक व्यक्तिको इच्छाअनुसार आफूलाई बदल्नुपर्ने हुन्छ। यसको परिणाम के हुन्छ भने तपाईं न अरू कसैको आफ्नै व्यक्ति बन्न सक्नुहुन्छ, न आफ्नै।

तपाईंले जतिसुकै राम्रो काम गरे पनि कोही न कोही तपाईंलाई मन नपराउने व्यक्ति अवश्य हुन्छ। तर एउटा कुरा स्पष्ट पारौँ। यसको अर्थ अरूसँग असभ्य व्यवहार गर्नुहोस् वा जानाजानी अरूलाई चिढ्याउनुहोस् भन्ने होइन।

पुस्तकले भन्न खोजेको कुरा यति हो कि कसैलाई रिस उठ्ला वा चित्त दुख्ला भन्ने डरले आफ्नो जीवनका ठूला निर्णय नलिनुहोस्। अरूलाई मन नपर्ने जोखिम उठाउने साहस नै स्वतन्त्रताको मूल्य हो। त्यसैले आफैंलाई सोध्नुहोस्, ‘आज म कुन निर्णय अरूले के भन्लान् भन्ने डरले टारिरहेको छु?’

त्यो जागिर छोड्ने निर्णय हुन सक्छ। आफ्नै व्यवसाय सुरु गर्ने सोच हुन सक्छ। कुनै सम्बन्ध अन्त्य गर्ने निर्णय हुन सक्छ। अथवा मनले चाहेको बाटो रोज्ने कुरा हुन सक्छ। यदि अहिले नै तपाईंको मनमा कुनै जवाफ आएको छ भने कमेन्टमा यति मात्र लेख्नुहोस्, ‘म तयार छु।’ म हेर्न चाहन्छु, कति जना मानिस साँच्चिकै स्वतन्त्र हुन तयार हुनुहुन्छ।

अब पाँचौँ विचारतर्फ जाऔँ। यो कुरा बुझ्नुभयो भने तपाईंको आधाभन्दा बढी तनाव आजै कम हुन सक्छ।

पाँचौँ विचार : यो कसको जिम्मेवारी हो?

तपाईंको धेरैजसो तनावको कारण के हुन्छ? अरूले के सोच्लान्, के भन्लान् र कस्तो प्रतिक्रिया देलान् भन्ने चिन्ता।

एडलरले यसका लागि एउटा उपयोगी उपाय दिएका छन्। यसलाई पुस्तकमा ‘कामको विभाजन’ अर्थात् टास्क सेपरेसन भनिएको छ। यसको नियम एउटा मात्र छ। कुनै कामको अन्तिम परिणाम कसले भोग्नुपर्छ? जसले परिणाम भोग्नुपर्छ, त्यो काम उसैको जिम्मेवारी हो।

एउटा उदाहरण लिऔँ। तपाईंको बच्चाले पढाइ गरिरहेको छैन। यसले तपाईंलाई चिन्तित बनाएको छ। तर पढ्ने जिम्मेवारी कसको हो? बच्चाको। नपढेको परिणाम कसले भोग्छ? बच्चाले।

त्यसैले पढ्ने वा नपढ्ने निर्णय उसको जिम्मेवारी हो।

त्यसो भए के अभिभावक चुपचाप बस्ने त? होइन। तपाईंले उसलाई पढाइ किन आवश्यक छ भनेर बुझाउन सक्नुहुन्छ। सहयोग चाहिएको बेला आफू साथमा रहेको बताउन सक्नुहुन्छ। तर जबरजस्ती गर्न मिल्दैन। पुस्तकमा एउटा भनाइ छ, तपाईं घोडालाई पानी भएको ठाउँसम्म लैजान सक्नुहुन्छ, तर उसलाई पानी पिउन बाध्य बनाउन सक्नुहुन्न।

अब यसलाई आफ्नो जीवनमा लागू गरेर हेर्नुहोस्। तपाईं कुनै काम गर्नुहुन्छ। कसैले त्यसको प्रशंसा गर्छ, कसैले आलोचना गर्छ। तर उनीहरूको प्रतिक्रिया तपाईंको नियन्त्रणमा हुँदैन। उनीहरूले के सोच्छन् भन्ने कुरा उनीहरूकै जिम्मेवारी हो। त्यसका लागि रातभरि चिन्ता गरेर आफ्नो निद्रा बिगार्नु भनेको अरूको जिम्मेवारी पनि आफ्नै टाउकोमा बोक्नु हो।

यो नियम दुवैतर्फ लागू हुन्छ।

जब तपाईं कसैको जीवनमा उसको अनुमति वा चाहनाबिना हस्तक्षेप गर्नुहुन्छ, उसलाई के गर्नुपर्छ, कसरी बाँच्नुपर्छ भनेर निर्देशन दिनुहुन्छ, तब तपाईं उसको जिम्मेवारीमा प्रवेश गरिरहनुभएको हुन्छ। धेरैजसो सम्बन्धमा झगडा सुरु हुनुको कारण पनि यही हो। हामी अरूको काममा हस्तक्षेप गर्छौँ वा अरूलाई आफ्नो काममा हस्तक्षेप गर्न दिन्छौँ।

पुस्तकले भन्छ, मानिसका सम्बन्धहरू प्रायः यसैले बिग्रिन्छन्। तर एउटा कुरा बुझ्न जरुरी छ। यो सबै सुनेपछि कतिपयलाई लाग्न सक्छ, यसको अर्थ अरूको वास्ता नै नगर्ने हो? होइन। कामको विभाजन भनेको सम्बन्धको अन्त्य होइन, बरु सम्बन्धको सुरुवात हो। तपाईंले आफ्नो जिम्मेवारी र अरूको जिम्मेवारी छुट्याएपछि सहयोग गर्न सक्नुहुन्छ। तर अन्तिम निर्णय गर्ने अधिकार सम्बन्धित व्यक्तिकै हुन्छ।

त्यसो भए के हामी यसरी एक्लो हुन्छौँ त? यसको जवाफ छैटौँ विचारमा छ। मेरो विचारमा यो पुस्तककै सबैभन्दा सुन्दर पक्ष हो। 

छैटौँ विचार : खुसीको वास्तविक रहस्य सम्बन्ध र योगदानमा छ।

अहिलेसम्मका कुरा सुन्दा एडलरले सबैबाट टाढा भएर आफ्नै इच्छाअनुसार बाँच्नुपर्छ भनेका हुन् कि जस्तो लाग्न सक्छ। तर उनको भनाइ त्यस्तो होइन। एडलरको मुख्य विचार हो, सामुदायिक भावना। अर्थात् म अरूसँग जोडिएको छु र यो संसारको एउटा हिस्सा हुँ भन्ने अनुभूति। पुस्तकका अनुसार खुसीको वास्तविक रहस्य यहीँ लुकेको छ।

खुसी हुनु भनेको आफू अरूको काम आइरहेको छु भन्ने अनुभूति गर्नु हो। यसलाई एडलरले योगदान भनेका छन्।तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ। आफ्नो योगदान देखाउनका लागि मात्र काम गर्नु हुँदैन। यदि तपाईं अरूको प्रशंसा पाउनकै लागि सहयोग गर्नुहुन्छ भने त्यो फेरि स्वीकृति र प्रशंसाको भोक मात्र हो।

वास्तविक योगदान त्यो हो, जसबाट तपाईंलाई भित्रैदेखि आफ्नो उपस्थितिले कसैलाई फाइदा पुगेको अनुभूति हुन्छ। चाहे अरू कसैले त्यसबारे थाहा पाओस् वा नपाओस्।

त्यसो भए यो सबै कसरी सम्भव हुन्छ?

पुस्तकले तीनवटा कुरा बताएको छ, जुन एकअर्कासँग जोडिएका छन्। पहिलो, आफूलाई स्वीकार गर्नु।

आफ्ना कमजोरीसहित आफूलाई स्वीकार गर्नुहोस्। यहाँ पुस्तकले एउटा सुन्दर भिन्नता देखाएको छ। आफूलाई स्वीकार गर्नु र आफू अहिले जस्तो छु, त्यस्तै भएर सन्तुष्ट भई बस्नु एउटै कुरा होइन। आफूलाई स्वीकार गर्नुको अर्थ हो, ‘म अहिले जहाँ छु, त्यहीँबाट अगाडि बढ्न सुरु गर्छु।’

दोस्रो, अरूमाथि विश्वास गर्नु।

कुनै स्वार्थ वा फाइदा खोजेर होइन, अरू मानिसलाई पनि आफ्नो साथीका रूपमा हेर्नुहोस्। उनीहरूलाई शत्रु होइन, सहयात्री ठान्नुहोस्। यसमा धोका खाने जोखिम अवश्य हुन्छ। तर पुस्तकले भन्छ, विश्वासबिना गहिरो सम्बन्ध निर्माण हुन सक्दैन।

तेस्रो, अरूका लागि योगदान गर्नु।

यी तीनवटै कुरा एकअर्कामा जोडिएका छन्। जब तपाईं आफूलाई स्वीकार गर्नुहुन्छ, तब अरूमाथि विश्वास गर्न सक्नुहुन्छ। जब अरूमाथि विश्वास गर्नुहुन्छ, तब खुलेर सहयोग गर्न सक्नुहुन्छ। र जब अरूलाई सहयोग गर्नुहुन्छ, तब आफ्नो महत्त्व र उपयोगिता महसुस गर्नुहुन्छ। यसले आफूलाई स्वीकार गर्न झन् सजिलो बनाउँछ।

एडलरका अनुसार मानिसको जीवनमा तीनवटा प्रमुख सम्बन्ध हुन्छन्– काम, मित्रता र प्रेम।

हाम्रा धेरैजसो समस्या यिनै तीनवटा सम्बन्धमा उत्पन्न हुन्छन्। र यी सबैको समाधान एउटै हो, एकअर्कालाई ठूलो वा सानो नठानी बराबरीको सम्बन्ध निर्माण गर्नु।

अब सोच्नुहोस्, तपाईंको जीवनका सबैभन्दा राम्रा क्षण कुन-कुन हुन्? त्यो दिन, जुन दिन तपाईंले कुनै पुरस्कार पाउनुभयो? कि त्यो दिन, जुन दिन तपाईंले कसैलाई सहयोग गर्नुभयो र उसको अनुहारमा सन्तुष्टि देख्नुभयो? धेरैजसो मानिसको जवाफ दोस्रो हुन्छ। एडलरले भन्न खोजेको कुरा पनि यही हो। 

अब अन्तिम विचारतर्फ जाऔँ। मेरो विचारमा यो पुस्तककै सबैभन्दा गहिरो कुरा यही हो।

सातौँ विचार : जीवन एउटा नृत्य हो, कुनै गन्तव्य होइन।

हामी सबै जीवनलाई एउटा सीधा रेखाका रूपमा हेर्छौँ। पहिले पढाइ, त्यसपछि जागिर, त्यसपछि घर, विवाह र अनि बल्ल खुसी। हामी सोचिरहेका हुन्छौँ, यो कुरा प्राप्त भएपछि म खुसी हुन्छु। जागिरमा बढुवा भएपछि, गाडी किनेपछि वा ऋण तिरेपछि जीवन सहज हुन्छ। तर एउटा लक्ष्य प्राप्त गरेपछि अर्को लक्ष्य अगाडि आइहाल्छ।

पुस्तकले यही सोचलाई चुनौती दिन्छ।

दार्शनिक भन्छन्, जीवन कुनै सीधा रेखा होइन। यो त धेरै साना-साना क्षणहरूको शृङ्खला हो। यसलाई बुझाउन उनले नृत्यको उदाहरण दिएका छन्। नृत्य गर्ने मानिस कहाँ पुग्न चाहन्छ? कतै पनि होइन। नृत्यको उद्देश्य कुनै गन्तव्यमा पुग्नु होइन, नृत्य गर्नु नै हो। नृत्यका प्रत्येक पाइला र प्रत्येक चाल आफैँमा पूर्ण हुन्छन्।

पुस्तकले यहीँ भन्छ, वर्तमान क्षणमा ध्यान दिनुहोस्।

बितेको समयमाथि तपाईंको नियन्त्रण छैन। आउने समयमाथि पनि तपाईंको पूर्ण नियन्त्रण छैन। तपाईंको हातमा भएको कुरा केवल वर्तमान क्षण हो। अब पुस्तकको अर्को गहिरो कुरा बुझौँ।

दार्शनिक भन्छन्, जीवनको कुनै पूर्वनिर्धारित अर्थ हुँदैन।

पहिलो पटक सुन्दा यो कुरा डर लाग्दो लाग्न सक्छ। तर यसको अर्को पक्ष पनि छ। यदि जीवनको अर्थ पहिल्यै निर्धारण गरिएको छैन भने त्यसलाई अर्थपूर्ण बनाउने जिम्मेवारी पनि तपाईंकै हातमा छ। तपाईं जहाँ हुनुहुन्छ, त्यहीँबाट परिवर्तनको सुरुवात गर्न सक्नुहुन्छ। त्यसका लागि भोलिको प्रतीक्षा गर्नुपर्दैन। आज, यही क्षणबाट सुरु गर्न सक्नुहुन्छ।

अब एकपटक सोच्नुहोस्, यदि तपाईंलाई कसैले आलोचना गर्दैन भन्ने विश्वास हुन्थ्यो भने? यदि तपाईंको विगतले तपाईंको भविष्यको बाटो रोक्दैन भन्ने थाहा हुन्थ्यो भने? र यदि तपाईंको हातमा केवल यही वर्तमान क्षण छ भन्ने कुरा बुझ्नुहुन्थ्यो भने तपाईंले आफ्नो जीवन कसरी बिताउनुहुन्थ्यो?

अब यी सातवटा विचारलाई एकपटक सम्झौँ। पहिलो, तपाईंको विगतले होइन, तपाईंको उद्देश्यले तपाईंलाई अगाडि बढाउँछ। दोस्रो, तपाईं बदलिन सक्नुहुन्छ। परिवर्तनका लागि एउटा निर्णय नै पर्याप्त हुन सक्छ। तेस्रो, अरूसँग तुलना गर्ने बानी छोड्नुहोस्। सबैलाई बराबरीको दृष्टिले हेर्नुहोस्। चौथो, सबैलाई खुसी बनाउने प्रयास गर्दा तपाईं आफैँ आफ्नो जीवनको बाधक बन्नुहुन्छ।

पाँचौँ, आफ्नो जिम्मेवारी नभएको कामको बोझ नबोक्नुहोस्। छैटौँ, अरूका लागि उपयोगी बन्नुहोस्। खुसी त्यहीँ छ।र सातौँ, वर्तमान क्षणलाई पूर्ण रूपमा जिउनुहोस्। जीवनलाई गन्तव्यमा पुग्ने दौड होइन, एउटा सुन्दर नृत्यका रूपमा लिनुहोस्।

एउटा महत्त्वपूर्ण कुरा, यो भिडियो पुस्तकमा प्रस्तुत विचारहरूको सार मात्र हो। यो कुनै उपचार वा चिकित्सकीय सल्लाह होइन। यदि तपाईं गहिरो तनाव वा अवसादबाट गुज्रिरहनुभएको छ भने योग्य विशेषज्ञसँग परामर्श लिनुहोस्। सहयोग माग्नु पनि साहसकै काम हो।

यदि यो लेखले तपाईंलाई एकपटक भए पनि आफ्नो जीवनबारे सोच्न बाध्य बनाएको छ भने यसलाई त्यस्तो व्यक्तिसँग साझा गर्नुहोस्, जो सधैं ‘अरूले के भन्लान्’ भन्ने डरमा बाँचिरहेको छ। तपाईंले गरेको एउटा सेयरले पनि उसको जीवनको दिशा बदल्न सक्छ।

यी सातवटा विचारमध्ये कुन कुराले तपाईंलाई सबैभन्दा बढी छोयो? कमेन्टमा लेखेर बताउनुहोस्। म हरेक कमेन्ट पढ्नेछु। यति पढिदिनुभएकोमा धन्यवाद, फेरि भेटौँला। त्यतिन्जेल आफ्नो जीवनको लेखक आफैं बन्नुहोस्, केवल पात्र बनेर नबस्नुहोस्। धन्यवाद।

('द करेज टु बी डिस्लाइक्ड' पुस्तकको एउटा अडियो बुकको टेक्स्टलाई सम्पादनसहित नेपाली भावानुवाद)

Thursday, November 5, 2026

सोचेर मात्र होइन, काम गरेर बदलिन्छ जीवन (किताबका कुरा)

सोच्दैमा मात्रै जीवन बदलिने भए संसारका सबै मानिस सफल भइसक्थे। वास्तविकता के हो भने धेरै मानिसका सपना विचारको कमीले होइन, कामको सुरुवात गर्न नसक्दा अधुरा रहन्छन्। हामी सबैसँग केही न केही गर्ने इच्छा, योजना र सपना हुन्छन्। तर ती सपना पूरा गर्न पहिलो कदम चाल्न भने धेरैजसो मानिस हिचकिचाउँछन्।

जीवनमा लिइने केही निर्णयले हाम्रो भविष्यको दिशा नै बदल्न सक्छन्। त्यसैले मुख्य प्रश्न तपाईंसँग कति प्रतिभा छ भन्ने होइन, तपाईं आफ्नो लक्ष्यतर्फ पहिलो कदम कहिले चाल्नुहुन्छ भन्ने हो।

'द पावर अफ एक्सन' पुस्तकले यही विषयलाई केन्द्रमा राखेर मानिस किन काम सुरु गर्नुअघि नै हार मान्छन्, सानो प्रयासले कसरी ठूलो उपलब्धि हासिल गर्न सकिन्छ, डर र काम टार्ने बानीले कसरी हाम्रो प्रगति रोक्छन् र सामान्य मानिसले पनि निरन्तर प्रयासबाट असाधारण सफलता कसरी हासिल गर्न सक्छ भन्ने कुरा बुझाउने प्रयास गर्छ।

पुस्तकको मूल सन्देश स्पष्ट छ - सफलता प्राप्त गर्न धेरै सोचिरहनुभन्दा काम सुरु गर्नु महत्त्वपूर्ण हुन्छ। योजना बनाउनु आवश्यक छ, तर योजनालाई व्यवहारमा उतार्न सकिएन भने त्यसको कुनै अर्थ रहँदैन।

१. पर्खिरहने बानीले अवसर गुमाउँछ

कल्पना गर्नुहोस्, राति ११ बजेको छ। कार्यालयका सबै बत्ती निभिसकेका छन्। एउटा कोठामा भने कम्प्युटरको मोनिटर अझै अन छ। त्यहाँ बसेर एक युवक विगत तीन वर्षदेखि एउटै फोल्डर खोलिरहेको हुन्छ। फोल्डरको नाम छ - 'माई ड्रीम प्रोजेक्ट।'

त्यसमा व्यवसायका योजना छन्, नयाँ विचार छन्, लक्ष्य छन् र भविष्यमा सफल हुने अनेक सपना छन्। तर एउटा कुरा छैन, कामको सुरुवात।

हरेक रात ऊ भोलिदेखि काम सुरु गर्ने वाचा गर्छ। तर भोलिपल्ट कहिले समय हुँदैन, कहिले आत्मविश्वास पुग्दैन त कहिले अझै तयारी गर्नुपर्ने बहाना बनाउँछ। यसरी दिन बित्छन्, महिना बित्छन् र वर्ष पनि बित्छन्।

एक दिन उसले पुरानो फोल्डर खोल्दा आफ्ना धेरै विचार अरूले कार्यान्वयन गरिसकेको देख्छ। कतिपय अवसरको समय बितिसकेको हुन्छ। उसले बुझ्छ, आफ्नो सपना पूरा हुन नसक्नुको कारण अरू कोही होइन, आफैंले गरेको ढिलाइ थियो।

पुस्तकले यसलाई जीवनमा पर्खिरहने बानीले निम्त्याउने सबैभन्दा ठूलो क्षति मानेको छ।

हामी प्रायः सबै कुरा अनुकूल भएपछि काम सुरु गर्ने सोच राख्छौँ। जोखिम नहोस्, सबै प्रश्नको उत्तर भेटियोस्, आत्मविश्वास बढोस् र डर हराओस् अनि मात्रै काम सुरु गरौँला भन्ने ठान्छौँ। तर जीवनमा त्यस्तो ढुक्क लाग्ने अवस्था कहिल्यै आउँदैन।

पौडी खेल्न सिक्न चाहने मानिस किनारमा उभिएर मात्रै पौडीबाज बन्न सक्दैन। उसले पानीमा पस्नैपर्छ। त्यसैगरी कुनै लक्ष्य हासिल गर्न चाहने मानिसले पनि काम सुरु गर्नैपर्छ। जति धेरै समय पर्खिन्छौँ, त्यति नै डर र अन्योल बढ्दै जान्छ। त्यसैले पूर्ण तयारीको प्रतीक्षा गर्नुभन्दा उपलब्ध स्रोत र क्षमताअनुसार सानो सुरुवात गर्नु महत्त्वपूर्ण हुन्छ।

पुस्तकले एउटा महत्त्वपूर्ण कुरा सम्झाउँछ, गल्ती गरेर असफल हुनुभन्दा प्रयास नै नगर्नु ठूलो क्षति हो। किनकि गल्तीबाट सिक्न सकिन्छ, तर नगरेको कामबाट कुनै अनुभव प्राप्त हुँदैन।

२. इच्छा होइन, निर्णयले परिवर्तन ल्याउँछ

बिहान ५ बजे अलार्म बज्छ। विनोदले अघिल्लो रातदेखि नयाँ जीवन सुरु गर्ने निर्णय गरेको हुन्छ। बिहान चाँडै उठ्ने, व्यायाम गर्ने र आफ्नो व्यवसायको योजनामा काम गर्ने उसको लक्ष्य हुन्छ।

तर अलार्म बन्द गरेपछि मनमा अर्को विचार आउँछ - आज अलि आराम गरौँ, भोलिदेखि पक्का सुरु गरौँला। 

केही सेकेन्डमै उसले दुई विकल्पमध्ये एउटा रोज्नुपर्छ। ऊ फेरि सुत्न सक्छ वा आफ्नो निर्णयअनुसार उठ्न सक्छ। अन्ततः ऊ ओछ्यान छाड्छ। त्यो बिहान उसले कुनै ठूलो उपलब्धि हासिल गरेको हुँदैन। तर आफ्नो निर्णयअनुसार पहिलो कदम चालेको हुन्छ। उसको परिवर्तनको सुरुवात त्यहीँबाट हुन्छ।

पुस्तकले इच्छा र निर्णयबीचको फरकलाई महत्त्व दिएको छ। 'म सफल हुन चाहन्छु,' 'म व्यवसाय सुरु गर्न चाहन्छु' वा 'म आफ्नो जीवन बदल्न चाहन्छु' भन्नु मात्रै पर्याप्त हुँदैन। चाहनालाई निश्चित निर्णयमा बदल्नुपर्छ।

इच्छा परिस्थितिअनुसार बदलिन सक्छ। कहिले काम गर्ने जाँगर आउँछ, कहिले आउँदैन। कहिले आत्मविश्वास बढ्छ, कहिले घट्छ। तर निर्णय भने आफ्नो लक्ष्यप्रतिको प्रतिबद्धता हो। मानिसको दिमागले नयाँ कामलाई प्रायः जोखिमका रूपमा लिन्छ। नयाँ व्यवसाय सुरु गर्न खोज्दा असफलताको डर देखाउँछ। सार्वजनिक रूपमा बोल्न खोज्दा अरूले हाँस्ने चिन्ता गराउँछ। व्यायाम गर्न खोज्दा थकान सम्झाउँछ।

दिमागको उद्देश्य हामीलाई सुरक्षित राख्नु हो। तर यही सुरक्षाको चाहना अत्यधिक भयो भने मानिसले नयाँ अवसर खोज्न र जोखिम लिन छाड्छ। त्यसैले पुस्तकले भावनाभन्दा निर्णयलाई प्राथमिकता दिनुपर्ने बताउँछ। काम गर्ने इच्छा जागेपछि मात्रै काम गर्ने होइन, निर्णय गरिसकेपछि मन नलागेको दिन पनि आफ्नो लक्ष्यअनुसार अघि बढ्नुपर्छ।

३. काम टार्ने बानी ठूलो बाधा

भोलिपल्ट महत्त्वपूर्ण अन्तर्वार्ता छ। करणले त्यसका लागि ६ महिनादेखि तयारी गरिरहेको छ। किताब खुला छन्, ल्यापटप चालु छ र आवश्यक नोटसमेत तयार छन्। तर ऊ पढिरहेको छैन।

कहिले मोबाइल चलाउँछ, कहिले सामाजिक सञ्जाल हेर्छ त कहिले कोठा सफा गर्न थाल्छ। केही समय आराम गरेपछि पूरा ध्यान दिएर पढ्ने उसको सोच हुन्छ। तर रात बित्छ र तयारी अधुरै रहन्छ।

अन्तर्वार्तामा सहभागी हुँदा उसको सबैभन्दा ठूलो डर असफलता होइन, आफूले आफ्नो क्षमताअनुसार तयारी नै नगरेको पछुतो हुन्छ।

यसलाई पुस्तकले काम टार्ने बानी अर्थात् 'प्रोक्रास्टिनेसन' का रूपमा व्याख्या गरेको छ।

काम टार्नु भनेको अल्छी हुनु मात्रै होइन। धेरै सपना र योजना भएका मानिस पनि काम सुरु गर्न नसक्ने समस्याबाट गुज्रिरहेका हुन्छन्। कतिपय मानिस असफल हुने डरले काम सुरु गर्दैनन्। कतिपयलाई आफूले गर्ने काम पूर्ण हुनुपर्छ भन्ने लाग्छ। कतिपय तत्काल रमाइलो र सजिलो कामतर्फ आकर्षित हुन्छन्।

मोबाइल चलाउँदा तत्काल मनोरञ्जन प्राप्त हुन्छ। तर किताब पढ्दा, व्यवसायको योजना बनाउँदा वा नयाँ सीप सिक्दा परिणाम आउन समय लाग्छ। त्यसैले मानिसको मन तत्काल आनन्द दिने कामतर्फ बढी आकर्षित हुन्छ।

समस्या के हो भने हरेक पटक महत्त्वपूर्ण काम पछि सार्दा त्यसले हाम्रो आत्मविश्वास कमजोर बनाउँछ। आजको काम भोलिलाई सारिन्छ, भोलिको काम अर्को दिनलाई। यसरी काम अधुरै रहने चक्र सुरु हुन्छ।

पुस्तकले यो चक्र तोड्न एउटा सरल उपाय सुझाउँछ, काम गर्न मन नलागेको समयमा पनि सानो सुरुवात गर्ने। पढ्न मन छैन भने ५ मिनेट मात्रै पढ्ने। व्यायाम गर्न जाँगर छैन भने केही बेर हिँड्ने। व्यवसायको योजना बनाउन कठिन लाग्छ भने त्यसको एउटा सानो पक्षमा काम गर्ने।

यसरी सुरुवात गरेपछि कामप्रतिको डर र असहजता विस्तारै कम हुँदै जान्छ। त्यसैले प्रेरणा आएपछि मात्रै काम गर्ने होइन, काम सुरु गरेपछि पनि प्रेरणा प्राप्त हुन सक्छ भन्ने कुरा बुझ्नुपर्छ।

४. सानो उपलब्धिबाट ठूलो सफलता

एउटा युवा दौडको प्रतिष्पर्धामा लगातार पछि परिरहेको हुन्छ। मानिसहरूले उसमा प्रतिभा नभएको टिप्पणी गर्छन्। तर उसले हार मानेको हुँदैन।

उसले हरेक बिहान ५ मिनेट दौडने लक्ष्य राख्छ। अर्को दिन ६ मिनेट दौडिन्छ। त्यसपछि ७ मिनेट। यसरी उसले हरेक दिन आफ्नो क्षमता अलिकति बढाउँदै लैजान्छ।

तीन सय दिनसम्म उसले यही अभ्यास जारी राख्छ। एक दिन प्रतियोगितामा सहभागी हुँदा उसको प्रदर्शन पहिलेभन्दा धेरै राम्रो हुन्छ। उसले हासिल गरेको सफलता केही मिनेटको दौडको परिणाम मात्रै हुँदैन, त्यसअघि गरिएका सयौँ दिनका साना प्रयासको नतिजा हुन्छ।

पुस्तकले यसलाई 'मोमेन्टम' अर्थात् निरन्तर प्रयासबाट सिर्जना हुने गति र ऊर्जा भनेको छ।

हामी प्रायः ठूलो सफलता चाहन्छौँ। त्यसैले एकैपटक धेरै काम गर्ने योजना बनाउँछौँ। भोलिदेखि बिहान ५ बजे उठ्ने, दैनिक ४ घण्टा पढ्ने, व्यायाम गर्ने, नयाँ व्यवसाय सुरु गर्ने र पुराना खराब बानी छाड्ने निर्णय गर्छौँ।

तर केही दिनमै यस्तो योजना बोझिलो बन्न थाल्छ। त्यसपछि हामी फेरि पुरानै दिनचर्यामा फर्किन्छौँ। यसको कारण इच्छाशक्ति कमजोर हुनु मात्रै होइन। एकैपटक धेरै परिवर्तन गर्न खोज्नु पनि हो।

पुस्तकले सानो र निरन्तर प्रयासलाई प्राथमिकता दिन्छ। दैनिक थोरै पढ्नु, नियमित व्यायाम गर्नु, नयाँ सीप सिक्न केही समय छुट्याउनु वा आफ्नो लक्ष्यसँग सम्बन्धित एउटा काम पूरा गर्नु पनि प्रगति हो। हरेक दिन आफूले आफैंसँग गरेको सानो वाचा पूरा गर्दा आत्मविश्वास बढ्छ। आफूले थालेको काम पूरा गर्न सक्छु भन्ने विश्वास बलियो हुँदै जान्छ। त्यसपछि अर्को काम गर्न पनि सजिलो हुन्छ।

ठूला उपलब्धि एकै दिनमा प्राप्त हुँदैनन्। साना प्रयासको निरन्तरताले नै ठूलो परिणाम दिन्छ। बाहिरबाट हेर्दा कुनै व्यक्ति एकै रातमा सफल भएको देखिए पनि त्यसको पछाडि लामो समयको मेहनत र अभ्यास लुकेको हुन्छ।

५. असफलतालाई सफलताको आधार बनाउने

एउटा युवा उद्यमीको व्यवसाय बन्द हुन्छ। बैंक खातामा पैसा छैन, ऋण बढेको छ र साथीभाइले समेत साथ छाडेका छन्। उसले आफ्नो सपना पूरा गर्न धेरै वर्ष खर्चिएको हुन्छ। तर अन्तिम परिणाम असफलता हुन्छ।

त्यो रात ऊ गम्भीर तनावमा हुन्छ। आफूले गर्न खोजेको काम सही थियो कि थिएन भन्ने प्रश्नले सताउँछ। तर केही समयपछि उसले डायरीमा लेख्छ - यदि यो मेरो यात्राको अन्त्य हुन्थ्यो भने आज मैले नयाँ कुरा सिक्ने अवसर पनि पाउने थिइनँ।

उसको व्यवसाय बन्द भएको थियो, तर उसले सिक्ने र फेरि प्रयास गर्ने सोच बनाएको थियो। पुस्तकले असफलतालाई अन्त्यका रूपमा नभई सिक्ने अवसरका रूपमा लिनुपर्ने बताउँछ।

पढाइ, व्यवसाय, करियर वा व्यक्तिगत सम्बन्धमा सबैले कुनै न कुनै समयमा असफलता भोग्छन्। तर असफल भएपछि मानिसले त्यसलाई कसरी लिन्छ भन्ने कुराले उसको आगामी यात्रा निर्धारण गर्छ। एउटा प्रयास असफल हुँदैमा व्यक्ति असफल हुँदैन। त्यो प्रयासमा कहाँ कमजोरी भयो, के कुरा छुट्यो र अर्को पटक के सुधार गर्न सकिन्छ भन्ने कुरा बुझ्न सकियो भने असफलता पनि उपयोगी अनुभव बन्न सक्छ।

बच्चाले हिँड्न सिक्दा पटकपटक लड्छ। तर एकपटक लड्दैमा उसले हिँड्न छाड्दैन। ऊ फेरि उठ्छ र प्रयास गर्छ। यही सिकाइको प्रक्रिया वयस्क जीवनमा पनि आवश्यक हुन्छ। तर मानिस ठूलो हुँदै जाँदा असफलताभन्दा अरूका अगाडि असफल देखिने डर बढी हुन थाल्छ। यही डरले उसलाई नयाँ प्रयास गर्नबाट रोक्छ।

पुस्तकले असफल भएपछि आफूलाई दोष दिनुभन्दा एउटा प्रश्न सोध्न सुझाव दिन्छ - यो अनुभवबाट मैले के सिकेँ? यो प्रश्नले मानिसलाई समस्यामा अल्झिने व्यक्तिबाट समाधान खोज्ने व्यक्तिमा बदल्न सक्छ। असफलतालाई स्वीकार गरेर कमजोरी सुधार्दै अघि बढ्न सक्ने मानिसले नै दीर्घकालीन सफलता हासिल गर्न सक्छ।

६. दैनिक अनुशासनले लक्ष्य पूरा गराउँछ

बिहान पौने ५ बजेको छ। सहरका अधिकांश मानिस निदाइरहेका छन्। एउटा युवा भने उठेर जुत्ता लगाउँदै छ। अघिल्लो रात उसलाई ज्वरो आएको थियो। जिउ दुखिरहेको छ। बाहिर चिसो छ। 

उसलाई हेर्ने कोही छैन। कुनै प्रतियोगिता छैन, न त उसको मेहनतको प्रशंसा गर्ने दर्शक नै छन्। तर पनि ऊ आफ्नो नियमित अभ्यासका लागि बाहिर निस्कन्छ। वर्षौंपछि ऊ सफल व्यक्तिका रूपमा चिनिन्छ। मानिसहरूले उसको उपलब्धि, पुरस्कार र सफलता देख्छन्। तर ती सफलताका पछाडि रहेका अनगिन्ती बिहान र नियमित अभ्यासबारे धेरैलाई थाहा हुँदैन।

पुस्तकको छैटौँ अध्यायले दैनिक अनुशासन र निरन्तर कामको महत्त्व बुझाउँछ। सुरुमा नयाँ कामप्रति उत्साह हुन्छ। केही दिनसम्म मानिस निकै सक्रिय हुन्छ। तर समय बित्दै जाँदा नयाँपन हराउँछ। काम सामान्य लाग्न थाल्छ। त्यसपछि मन नलाग्ने दिनमा काम छाड्ने सम्भावना बढ्छ।

यही समयमा अनुशासनको भूमिका महत्त्वपूर्ण हुन्छ।

अनुशासन भनेको आफूलाई सधैं दुःख दिनु वा आराम गर्न नपाउनु होइन। आफ्नो भविष्यका लागि अहिले आवश्यक काम गर्ने बानी विकास गर्नु हो। बिहान निश्चित समयमा उठ्नु, मोबाइलमा अनावश्यक समय खर्च नगर्नु, आफ्नो लक्ष्यसँग सम्बन्धित कामलाई प्राथमिकता दिनु र थकाइ लाग्दा पनि सकिने हदसम्म आफ्नो जिम्मेवारी पूरा गर्नु दैनिक अनुशासनका उदाहरण हुन्।

प्रेरणा सधैं एकनास रहँदैन। कहिले उत्साह हुन्छ, कहिले हुँदैन। तर नियमित अभ्यास गर्ने बानी विकास भयो भने मनस्थिति जस्तोसुकै भए पनि मानिस आफ्नो लक्ष्यतर्फ अघि बढिरहन सक्छ। हरेक दिन आफ्नो सानो प्रतिबद्धता पूरा गर्दा आफूले बोलेको कुरा पूरा गर्न सक्ने विश्वास पनि बढ्दै जान्छ। यही विश्वासले मानिसको व्यवहार र व्यक्तित्वमा परिवर्तन ल्याउँछ।

समग्रमा 'द पावर अफ एक्सन' ले के सिकाउँछ?

पुस्तकको मूल मान्यता के हो भने सफलता केवल सपना देखेर, योजना बनाएर वा प्रेरणादायी कुरा सुनेर प्राप्त हुँदैन। त्यसका लागि काम सुरु गर्नुपर्छ र सुरु गरेको कामलाई निरन्तरता दिनुपर्छ। यसले जीवनमा परिवर्तन ल्याउन छवटा मुख्य कुरामा जोड दिन्छ– अवसर पर्खेर नबस्ने, इच्छालाई निर्णयमा बदल्ने, काम टार्ने बानी त्याग्ने, साना उपलब्धिलाई निरन्तरता दिने, असफलताबाट सिक्ने र दैनिक अनुशासन विकास गर्ने।

यसको अर्थ सोच्नु, योजना बनाउनु वा तयारी गर्नु आवश्यक छैन भन्ने होइन। बरु सोचाइ र योजनालाई व्यवहारमा उतार्नुपर्छ भन्ने हो। त्यस्तै, हरेक काम हतारमा गर्नुपर्छ भन्ने पनि होइन। लक्ष्य स्पष्ट बनाएर आवश्यक तयारीसहित अघि बढ्नु महत्त्वपूर्ण हुन्छ।

पुस्तकले पाठकलाई आफ्नो बानी र व्यवहारमाथि प्रश्न गर्न प्रेरित गर्छ। के म साँच्चै समयको अभावले काम गर्न सकिरहेको छैन वा काम सुरु गर्न डराइरहेको छु? के म तयारीको नाममा काम टारिरहेको छु? के म ठूलो परिणामको अपेक्षामा सानो सुरुवात गर्न हिचकिचाइरहेको छु?

यी प्रश्नको उत्तर खोज्नु नै परिवर्तनको सुरुवात हुन सक्छ।

अन्ततः जीवन बदल्ने शक्ति कुनै चमत्कारमा होइन, हामीले दैनिक गर्ने साना काम र निर्णयमा हुन्छ। आज गरेको एउटा सानो प्रयासले भोलिको ठूलो उपलब्धिको आधार तयार गर्न सक्छ। त्यसैले भोलिदेखि गर्छु भनेर पर्खिनुभन्दा आजै एउटा कदम चाल्नु नै यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण सन्देश हो।

Tuesday, November 3, 2026

फ्रेमिङ इफेक्ट

मानिसले कुनै पनि सूचना, परिस्थिति वा विकल्पलाई कसरी प्रस्तुत गरिएको छ (अर्थात् त्यसको 'फ्रेम' वा ढाँचा के छ) भन्ने आधारमा आफ्नो निर्णय बदल्छ भने त्यसलाई मनोविज्ञानमा फ्रेमिङ इफेक्ट (Framing Effect) भनिन्छ।

सरल भाषामा भन्नुपर्दा, कुनै घटना वा तथ्य आफैंमा अपरिवर्तनीय भए पनि त्यसलाई देखाउने वा भन्ने तरिकाले मानिसको सोच्ने र निर्णय गर्ने क्षमतामा ठूलो असर पार्छ। जब सूचनालाई सकारात्मक ढंगले (लाभ वा फाइदालाई अगाडि सारेर) राखिन्छ, मानिसहरू सुरक्षा र न्यूनतम जोखिम छान्छन्। तर जब त्यही सूचनालाई नकारात्मक ढंगले (घाटा वा जोखिमलाई अगाडि सारेर) प्रस्तुत गरिन्छ, मानिसहरू डर वा घाटाबाट बच्न थप जोखिम मोल्न तयार हुन्छन्।

यो वस्तुनिष्ठ तथ्यभन्दा पनि सूचना प्रस्तुतकर्ताको भाषा, शैली र संरचनाबाट प्रभावित हुने एक प्रमुख संज्ञानात्मक पूर्वाग्रह (Cognitive Bias) हो।

दुई व्यावहारिक प्रसंग

लगानी र वित्तीय निर्णयमा रमेशको अलमल

रमेश (वर्ष ३८) सेयर बजार र वित्तीय लगानीमा चासो राख्छन्। उनले हालै दुईवटा फरक-फरक म्युचुअल फन्ड कम्पनीका विवरण पत्र (Prospectus) अध्ययन गरे। 

  • फन्ड 'क' - 'हाम्रो फन्डले विगत ५ वर्षमा ८० प्रतिशत सफलता दर कायम गरेको छ र लगानीकर्ताको साँवा सुरक्षित राखेको छ।' 
  • फन्ड 'ख' - 'हाम्रो फन्डमा विगत ५ वर्षको अवधिमा केवल २० प्रतिशत पटक मात्र उतारचढाव वा घाटाको जोखिम देखिएको छ।'

तथ्यांकीय हिसाबले फन्ड 'क' र फन्ड 'ख' को नतिजा ठ्याक्कै एउटै थियो। ८० प्रतिशत सफलताको अर्थ २० प्रतिशत जोखिम नै हो। तर, रमेशले फन्ड 'क' को सफलता सकारात्मक फ्रेम मात्र देखे। उनलाई फन्ड 'ख' जोखिमपूर्ण र असुरक्षित लाग्यो। उनले बिना कुनै गहिरो वित्तीय विश्लेषण फन्ड 'क' मा आफ्नो ठूलो रकम लगानी गरे।

यो प्रसंगमा रमेश तथ्यबाट होइन, सूचनालाई कुन शब्दमा सजाएर प्रस्तुत गरियो भन्ने कुराबाट नियन्त्रित भए।

स्वास्थ्य उपचारमा सुनिताको त्रास र निर्णय

सुनिता (वर्ष ५२) विगत केही समयदेखि घुँडाको कडा दुखाइबाट पीडित थिइन्। चिकित्सकले उनलाई एउटा सानो शल्यक्रियाको सुझाव दिए। सुनिताले निर्णय लिन नसकेर दुईजना फरक चिकित्सकसँग सल्लाह लिइन्। पहिलो चिकित्सकले भने - 'सुनिताजी, यो प्रविधिको शल्यक्रियामा ९५ प्रतिशत बिरामी पूर्ण रूपमा निको भएर सामान्य जीवनमा फर्किएका छन्। सफलताको दर निकै उच्च छ।'

दोस्रो चिकित्सकले भने - 'यो शल्यक्रिया गर्दा ५ प्रतिशत बिरामीमा जटिलता आउने वा अन्य असर देखिने जोखिम रहन्छ।' पहिलो डाक्टरका कुरा सुन्दा सुनिताको मनमा आशा र भरोसा जाग्यो। तर जब उनले दोस्रो डाक्टरलाई सुनिन्,  दिमागमा त्यो '५ प्रतिशत जोखिम' ले यति ठूलो रूप लियो कि उनले अहिले अपरेसन नै नगर्ने सोच बनाइन्।

दुवै डाक्टरले भनेका कुरा एउटै थियो, तर 'सफलता' र 'जोखिम' को फरक-फरक फ्रेमिङले सुनिताको मानसिक स्थितिमा गहिरो अन्योल र डर पैदा गरिदियो।

मनोवैज्ञानिक के भन्छन् ? 

फ्रेमिङ इफेक्टको सिद्धान्त र व्यावहारिक अध्ययनमा तीन जना प्रख्यात मनोवैज्ञानिकहरूको योगदान विश्वभर आधारभूत मानिन्छ।

अध्ययनको ऐतिहासिक सन्दर्भ : सन् १९८१ मा काहनेमान र त्वेर्स्कीले 'Asian Disease Problem' नामको एउटा प्रसिद्ध प्रयोग गरेका थिए। जसमा ६०० जना मानिसको ज्यान जोखिममा रहेको काल्पनिक महामारीको स्थितिमा सहभागीहरूलाई दुई फरक-फरक तरिकाले विकल्पहरू (फ्रेम) दिइएको थियो। जब मानिस बचाउने कुरा सकारात्मक रूपमा राखियो, सहभागीहरूले निश्चित विकल्प रोजे। 

तर जब उही अवस्थालाई मानिस मर्ने नकारात्मक फ्रेममा राखियो, सहभागीहरूले अनिश्चित र जोखिमपूर्ण विकल्प रोजे। यस अध्ययनले मानव तर्कहीनता (Human Irrationality) लाई विश्वसामु छर्लङ्ग पारिदियो।

के यो कुनै खास उमेर वा उमेर समूहलाई हुन्छ?

फ्रेमिङ इफेक्ट कुनै खास उमेर वा उमेर समूहमा मात्र सीमित हुँदैन। यो मानव मस्तिष्कको सोच्ने र सूचना प्रशोधन गर्ने (Information Processing) स्वाभाविक संरचनासँग जोडिएको विषय भएकाले सबै उमेरका व्यक्तिमा देखिन्छ।

यद्यपि, उमेर र जीवनको अनुभव अनुसार यसको प्रभावको मात्रा फरक हुन सक्छ।

  • बालबालिका र किशोरकिशोरी : यिनीहरूको मस्तिष्कको अघिल्लो भाग (Prefrontal Cortex) पूर्ण रूपमा विकसित भइसकेको हुँदैन। त्यसैले यिनीहरू विज्ञापन, साथीभाइको दबाब (Peer Pressure) र आकर्षक शब्दहरूमा सजिलै प्रभावित हुन्छन्।

  • वयस्क (Adults) : पेसागत, वित्तीय, राजनीतिक र पारिवारिक निर्णय गर्दा वयस्कहरू निरन्तर फ्रेमिङको शिकार भइरहेका हुन्छन्। अत्यधिक तनाव वा हतारमा निर्णय गर्दा वयस्कहरूमा यो पूर्वाग्रह झनै बढी देखिन्छ।

  • वृद्धवृद्धा : उमेर ढल्किँदै जाँदा जटिल सूचनाहरू विश्लेषण गर्ने क्षमता (Fluid Intelligence) मा केही कमी आउन सक्छ। अध्ययनहरूका अनुसार, वृद्धवृद्धामा सकारात्मक फ्रेम (Positive Framing) तर्फ बढी आकर्षित हुने प्रवृत्ति (Socioemotional Selectivity) देखिन्छ।

फ्रेमिङ इफेक्टका लक्षणहरू कसरी थाहा पाउने?

फ्रेमिङ इफेक्ट कुनै शारीरिक वा बाह्य बिरामी होइन, त्यसैले यसका लक्षणहरू व्यक्तिको सोच, शब्द चयन र निर्णय प्रक्रियामा देखिन्छन्:

  • तथ्यभन्दा भाषा वा शब्दमा बढी बहकिनु : सूचनाको भित्री सत्यता नजाँची प्रयोग गरिएका आकर्षक वा डर लगाउने शब्द (उदाहरण : 'अन्तिम मौका,' '९९ प्रतिशत सुरक्षित') को आधारमा निर्णय लिनु।

  • तुलनात्मक अध्ययन नगर्नु : एउटै कुरालाई उल्टो पाटोबाट (नकारात्मक वा सकारात्मक) हेर्न असमर्थ हुनु वा अल्छी गर्नु।

  • हानिको डर (Loss Aversion) ले सिर्जित अस्वाभाविक व्यवहार : लाभ प्राप्त गर्ने सम्भावनाभन्दा पनि अलिकति हुने घाटा वा नोक्सानीबाट बच्न अनुचित जोखिम मोल्नु वा बिल्कुलै पछि हट्नु।

  • बाह्य प्रभावमा तुरुन्तै धारणा बदल्नु : एउटै घटनालाई एउटा सञ्चारमाध्यम वा व्यक्तिले सकारात्मक भनिदिँदा प्रफुल्ल हुनु र अर्कोले नकारात्मक ढाँचामा प्रस्तुत गर्दा तुरुन्तै निराश वा क्रुद्ध हुनु।

  • आवेगात्मक र हतारको निर्णय : गहन विश्लेषण गर्नुको साटो सूचना प्रस्तुतकर्ताले दिएको निष्कर्षलाई नै अन्तिम सत्य मान्नु।

यो कुनै विशिष्ट मनोरोग हो वा कुनै रोगको सुरुवाती लक्षण?

होइन, फ्रेमिङ इफेक्ट कुनै मनोरोग वा मानसिक विकार (Psychiatric Disorder) होइन।

यो मानव मस्तिष्कको एक सामान्य संज्ञानात्मक पूर्वाग्रह हो। मानिसको दिमागले दैनिक हजारौँ निर्णयहरू लिनुपर्ने हुन्छ। समय र ऊर्जा बचाउन मस्तिष्कले केही मानसिक छोटा बाटोहरू (Heuristics वा Mental Shortcuts) को प्रयोग गर्छ। फ्रेमिङ इफेक्ट यही मानसिक सर्टकटको एउटा उप-उत्पादन (By-product) मात्र हो।

मानसिक स्वास्थ्यसँग यसको सम्बन्ध : यद्यपि यो रोग होइन, तर केही मानसिक स्वास्थ्य अवस्था भएका व्यक्तिहरूमा यसको असर गम्भीर वा अस्वाभाविक हुन सक्छ:

  • चिन्ताजन्य समस्या (Anxiety Disorder) : चिन्ता वा एन्जाइटी भएका मानिसहरू 'Loss Frame' वा नकारात्मक फ्रेमप्रति अत्यधिक संवेदनशील हुन्छन्। साना नकारात्मक शब्दले पनि उनीहरूमा तीव्र त्रास उत्पन्न गराउन सक्छ।

  • उदासीनता (Depression) : डिप्रेसनमा रहेका व्यक्तिहरूले सकारात्मक फ्रेमहरूलाई बेवास्ता गर्ने र नकारात्मक फ्रेमहरूलाई मात्र सत्य मान्ने सम्भावना बढी हुन्छ।

आफूलाई कसरी जाँच्ने ? (Self-Assessment Test)

तपाईं फ्रेमिङ इफेक्टबाट कत्तिको प्रभावित हुनुहुन्छ भनेर थाहा पाउन आफ्ना दैनिक व्यवहार र विगतका निर्णयहरूलाई निम्न प्रश्नहरूको कसीमा ढालेर हेर्न सक्नुहुन्छ।

  • शब्दावलीको प्रभाव: के म कुनै उत्पादन किन्दा '१०% बोनस' लेखिएको देख्दा आकर्षित हुन्छु तर '१०% मूल्य वृद्धि' भनियो भने तुरुन्तै पछि हट्छु, भले नै दुवैको अन्तिम मूल्य उस्तै किन नहोस् ?
  • उल्टो पाटोको खोजी : जब मलाई कसैले कुनै प्रस्ताव वा योजना दिन्छ, के म आफैंलाई 'यसको दोस्रो वा नकारात्मक पाटो के हुन सक्छ?' भनेर प्रश्न गर्छु ?
  • सञ्चारमाध्यमको समाचार : के म कुनै समाचार पढेपछि त्यसको शीर्षकको भावना (Heading Tone) बाट प्रभावित न भई भित्री तथ्यांक मात्र विश्लेषण गर्न सक्छु ?
  • जोखिमको मूल्यांकन : के म साना घाटा वा गल्तीहरूबाट बच्नका लागि आफ्नो तर्क र क्षमताभन्दा बाहिर गएर जोखिम लिने गर्छु ?
  • प्रस्तुतकर्ताप्रतिको भरोसा : के मेरो निर्णय सूचनाको विश्वसनीयतामा भन्दा सूचना दिने व्यक्तिको प्रस्तुति शैलीमा बढी निर्भर हुन्छ?

यदि यी प्रश्नहरूमा तपाईंको उत्तर धेरैजसो 'म शब्द र प्रस्तुतिबाटै तुरुन्तै प्रभावित हुन्छु' भन्ने आउँछ भने, तपाईं आफ्नो निर्णय प्रक्रियामा फ्रेमिङ इफेक्टबाट बाक्लो रूपमा प्रभावित हुनुहुन्छ।

फ्रेमिङ इफेक्टबाट मुक्तिका अभ्यास र व्यावहारिक उपायहरू

फ्रेमिङ इफेक्ट मानव स्वभावकै एक हिस्सा भएकाले यसलाई शतप्रतिशत उन्मूलन गर्न नसकिए पनि सचेत अभ्यासद्वारा यसको असरलाई न्यून पार्न र परिपक्व निर्णय लिन सकिन्छ। यसका लागि निम्न अभ्यासहरू उपयोगी हुन्छन् -

+------------------------------------+-----------------------+
| अभ्यास/रणनीति | व्यावहारिक कार्यान्वयन विधि।
+------------------------------------+------------------------+
| १. फ्रेम रिभर्सल । प्राप्त सूचनालाई उल्टो ढाँचामा रूपान्तरण गरेर हेर्ने।
| २. वस्तुनिष्ठ डेटामा ध्यान । भावनात्मक शब्दहरू हटाएर शुद्ध अंक/तथ्यांक मात्रै टिप्ने।
| ३. ६० सेकेन्डको ढिलाइ (पज रुल)। सूचना पाउनेबित्तिकै निर्णय नलिनु, विश्लेषणात्मक सोच्ने।
| ४. तेस्रो व्यक्तिको दृष्टिकोण । 'मेरो ठाउँमा अर्कै कोही भए उसले कसरी हेर्थ्यो?'भनी सोच्ने|
| ५. चेकलिस्ट विधि । निर्णयका फाइदा र घाटाका वस्तुनिष्ठ सूचकहरू सूचीकृत गर्ने।
+------------------------------------+-------------------------+

१. सूचनाको पुनर्संरचना (Frame Reversal Technique) जब तपाईंको अगाडि कुनै सूचना वा प्रस्ताव आउँछ, त्यसलाई तुरुन्तै उल्टो फ्रेममा रूपान्तरण गर्नुहोस्। यदि कसैले "यो लगानीमा ९०% सफलताको सम्भावना छ" भन्छ भने, मनमै त्यसलाई "यसमा १०% सावाँ डुब्ने जोखिम छ" भनेर अनुवाद गर्नुहोस्। दुवै ढाँचालाई अगाडि राखेर हेर्दा दिमागले सन्तुलित रूपमा विश्लेषण गर्न पाउँछ।

२. भावनात्मक शब्द र भाषालाई अलग्ग्याउने (Decoupling Content from Tone) प्रस्तुतकर्ताले प्रयोग गरेका विशेषण (Adjectives) र प्रलोभन वा डर देखाउने शब्दहरूलाई हटाउनुहोस्। केवल शुद्ध तथ्यांक, सर्तहरू र गणितीय सम्भावनालाई मात्र एउटा कागजमा लेख्नुहोस्। जब सूचनाबाट 'भावनाको जलप' हट्छ, फ्रेमिङको प्रभाव स्वतः कमजोर हुन्छ।

३. निर्णय लिनुअघि 'पज' (Pause & Slow Down Strategy) ड्यानियल काहनेमानका अनुसार हाम्रो दिमागका दुई प्रणाली हुन्छन्: System 1 (छिटो, भावनात्मक र स्वचालित) र System 2 (सुस्त, तर्कपूर्ण र विश्लेषणात्मक)। फ्रेमिङ इफेक्टले System 1 मा प्रहार गर्छ। कुनै पनि महत्त्वपूर्ण निर्णय लिनुअघि केही समय (Pause) लिँदा System 2 सक्रिय हुन्छ, जसले फ्रेमिङको भ्रमलाई चिर्न मद्दत गर्छ।

४. विदेशी वा दोस्रो भाषाको प्रयोग (Foreign Language Effect) अनुसन्धानहरूले देखाएका छन् कि मानिसहरूले आफ्नो मातृभाषा भन्दा दोस्रो वा वैदेशिक भाषामा सूचना प्रशोधन गर्दा बढी तर्कपूर्ण निर्णय लिन्छन्। मातृभाषामा भावना र पूर्वाग्रहहरू छिटो जागृत हुन्छन्। जटिल वा वित्तीय निर्णयहरू अध्ययन गर्दा अलि बढी तार्किक भाषामा सोच्ने प्रयास गर्दा फ्रेमिङको प्रभाव घट्छ।

५. तेस्रो व्यक्तिको दृष्टिकोणबाट हेर्ने (Perspective Taking) 'यदि यो निर्णय मैले होइन, मेरो कुनै तटस्थ साथी वा विज्ञले लिनुपरेको भए उसले कसरी हेर्थ्यो होला?' भनेर आफूलाई परिस्थितिबाट अलिकति बाहिर निकालेर (Detached) हेर्ने बानी बसाल्नुहोस्। यसले प्रस्तुतकर्ताले सिर्जना गरेको मानसिक जालबाट मुक्त हुन सहयोग पुर्याउँछ।

फ्रेमिङ इफेक्टलाई बुझ्नु भनेको अरूले आफ्ना विचार, उत्पादन वा एजेन्डा कसरी पस्कन्छन् भन्ने कुरामा सचेत हुनु हो। जब हामी शब्दको चमकभन्दा पर गएर तथ्यको वस्तुनिष्ठ मूल्यांकन गर्न थाल्छौँ, तब हाम्रा निर्णयहरू बढी परिपक्व, व्यावहारिक र लाभदायी बन्न पुग्छन्।

विज्ञापन, मार्केटिङ र राजनीतिमा फ्रेमिङको पकड

फ्रेमिङ इफेक्टको दायरा केवल लगानी र स्वास्थ्य उपचारमा मात्र सीमित छैन। यसले हाम्रो दैनिक उपभोग्य वस्तुको किनमेलदेखि लिएर सार्वजनिक नीति र राजनीतिक क्षेत्रका निर्णयहरूसम्म गहिरो प्रभाव पारेको हुन्छ। मानिसहरू कसरी विज्ञापनको भाषामा बहकिन्छन् र राजनीतिक दलहरूले यसको कसरी फाइदा उठाउँछन् भन्ने कुरा बुझ्न यो पक्ष महत्त्वपूर्ण छ।

विज्ञापन र मार्केटिङमा भाषाको जादु : बजारमा सामान बेच्ने कम्पनीहरूले उपभोक्ताको मनोविज्ञानसँग खेल्नका लागि सधैं फ्रेमिङ इफेक्टको अत्याधुनिक प्रयोग गरिरहेका हुन्छन्। उदाहरणका लागि, कुनै खाद्य सामग्रीको प्याकेटमा '९९ प्रतिशत बोसोरहित (99% fat-free)' लेखिएको छ भने उपभोक्ताले त्यसलाई एकदमै स्वस्थकर र लाभदायक ठानेर हतारहतार किन्छन्। तर, यदि त्यही कुरालाई उल्टो पारेर '१% बोसोयुक्त' भनियो भने उपभोक्ताको मनमा हच्किने प्रवृत्ति देखिन्छ। 

गणितीय र वस्तुनिष्ठ हिसाबले हेर्दा दुवै वाक्यको अर्थ ठ्याक्कै एउटै हो, तर सकारात्मक फ्रेम (रहित/फाइदा) ले मानिसको मस्तिष्कमा तुरुन्तै सुरक्षित छ भन्ने भाव पैदा गर्छ। त्यस्तै, कपडा पसलहरूमा '३० प्रतिशत छुट (Discount)' भन्नु र 'अन्तिम ७०% मूल्य मात्र' भन्नुले पनि खरिद गर्ने निर्णयमा ठूलो फेरबदल ल्याउँछ।

राजनीति र सार्वजनिक नीतिमा जनमतको निर्माण : राजनीतिक क्षेत्रमा त फ्रेमिङ इफेक्टलाई एक शक्तिशाली हतियारकै रूपमा प्रयोग गरिन्छ। एउटै सरकारी नीति वा कर वृद्धिको प्रस्तावलाई सत्तारूढ दल र विपक्षी दलले आ-आफ्नो अनुकूलको फ्रेममा प्रस्तुत गर्छन्। सरकारले कर वृद्धिलाई 'देशको विकास, पूर्वाधार निर्माण र आत्मनिर्भरताको लगानी' भनेर सकारात्मक फ्रेममा राख्छ। 

यसले जनतामा राष्ट्रप्रतिको जिम्मेवारी र सकारात्मक भावना जगाउँछ। ठीक यसैको विपरीत, विपक्षी दलले सोही कर वृद्धिलाई 'जनताको ढाड सेक्ने करको भार' र 'महंगीको खाडल' भन्दै नकारात्मक फ्रेममा प्रस्तुत गर्छन्। यहाँ तथ्य (करको दर) एउटै भए पनि फरक-फरक फ्रेमिङका कारण आम नागरिकको धारणा पूर्ण रूपमा बदलिन्छ।

यसरी, विज्ञापनदाता, व्यापारीदेखि राजनैतिक नेताहरूसम्मले हाम्रो निर्णय क्षमतालाई प्रभावित गर्न शब्दहरूको कलात्मक प्रयोग गरिरहेका हुन्छन्। जबसम्म हामी यी अदृश्य फ्रेमहरूलाई चिनेर तिनको वस्तुनिष्ठ पाटो केलाउन सिक्दैनौँ, तबसम्म हामी बाह्य भाषा र शैलीको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन सक्दैनौँ।

***

सन्दर्भ सामग्री 

  • Kahneman, D., & Tversky, A. (1981).'The Framing of Decisions and the Psychology of Choice.' Science, 211(4481), 453–458.
  • Kahneman, D. (2011).'Thinking, Fast and Slow.' Farrar, Straus and Giroux.
  • Tversky, A., & Kahneman, D. (1986). 'Rational Choice and the Framing of Decisions.' Journal of Business, 59(S4), S251–S278.
  • Carstensen, L. L. (2006). 'The Influence of a Sense of Time on Human Development: Socioemotional Selectivity Theory.' Science, 305(5681), 184–190.