Sunday, December 27, 2015

कपुचे मोहनी

गोरखाको बारपाक पुगेको टोलीका केही सदस्य साहसिक पदयात्रा रुचाउने पर्यटकलाई यहाँ पठाउन सकिने गफ दिइरहेका थिए। हुन पनि हो, २०७२ वैशाख १२ को भूकम्पको केन्द्रविन्दु बारपाक पुग्न राङरूङ खोलाबाट ठाडो उकालो लाग्दा बाटो एकप्रकारको त्रास उत्पन्न गराउने खालकै भएको छ। 

उकालो छिचोल्दै गर्दा डाँडा धेरै ठाउँमा पहिरो जान ठिक्क परेजस्तो देखिन्छ। तर, आतंक बढाउने जतिसुकै खबर आउन, बारपाक पुगेपछि डर लाग्दैन। त्यो बस्ती आफैंमा अनुपम छ। डाँडाबाट हिमाल हेर्नु, जीर्णोद्धार गर्दै उभ्याउन थालिएका घरहरू हेर्नु अन्त सहजै पाइने दृश्यमध्ये पर्दैनन्। भूकम्पको घटनापछि मैले दोस्रोपटक पोखराबाट बारपाकको यात्रा गर्न पाएँ, टोली थियो पोखराका पर्यटनव्यवसायीको। 

त्यसो त पोखरेली पर्यटन व्यवसायी बारपाकबारे उति चासो राख्ने होइनन्। यहाँ आफ्नै खालको व्यापारकर्म छ। पदमार्ग जान इच्छ्याएर पोखरा आइपुग्ने पर्यटकलाई ट्रेकिङ एजेन्सी अन्नपूर्ण पदमार्गको फेरोमा जान हौस्याउँछ। संसारमै राम्रामध्येका परेको यो फेरोको यात्रा आफैंमा गजब छ। दिन धेरै बित्छन्। पाहुनाको जहाँ बास र विश्राम हुन्छन्, ती ठाउँको व्यापार चल्छ। त्यसैले यो परम्परागत प्याकेजबाहेक पाहुनालाई नयाँ रुट बताइदिएर जोखिम मोल्ने ट्रेकिङ एजेन्ट भेटिन गाह्रो छ।
 
म यतिखेर बारपाक र अन्नपूर्ण फेरोको कुरा गर्न लागिरहेको छैन। ट्रेकिङ गाइडका अगुवा जीवन सापकोटालाई बारपाक पुग्दा सोधेको थिएँ- 'पर्यटकलाई कहिल्यै कपुचे जाउ भन्नुभएको छ?' उनले 'छैन' भने । के थाहा भयो भने यो अनौठो नामको ठाउँबारे धेरै पोखरेली गाइडलाई थाहै छैन। म त्यो यात्राबाट फिरेका हुनाले जानकारी थियो। त्यसैले सोधियो। 

पोखराको काहुखोलाबाट ३९ किमी बसयात्रापछि सिक्लेस पुगिन्छ। सिक्लेस धेरैजना घुमन्ते पुगेको हुनहुपर्छ, नपुगेपनि यो सुन्दर गुरूङ गाउँको चर्चा सुनेको हुनुपर्छ। यो गाउँबाट मच्चिएर हिड्दा ८ घण्टाको दूरिमा पर्छ कपुचे हिमताल। 

अन्नपूर्ण-२ हिमशृंखलाबाट खस्ने हिमपहिरो जहाँ मुन्तिर आएर पानीमा परिणत हुन्छ, बस्छ, अनि भरिएर खोलाहुँदै बग्छ, यही ठाउँ कपुचे हो। निकै जोखिमपूर्ण छन् पुग्ने बाटा। त्यसैले यो ठाउँ दूरिले पोखराबाट नजिक भए पनि प्रचार पाउनबाट बञ्चित छ। अब यो क्षेत्रको थोरै आफ्नै यात्राको कुरा गरौं।

०००


कफु खोला र खरिया धाराले टापुजस्तो तेर्सो बनाएको हुगु पुग्दा साँझ पर्न लागेको थियो। हिउँ खसेजस्तो चिसो सिमसिम वर्षा थामिएको थिएन। ज्यान ओताउन मैले भरिया दाईको प्लाष्टिक पाएको थिएँ। दुइटा गोठ। छानोबाट धुआँ आइरहेको देख्ता कतिखेर पुगेर भूइँमा डङरंङ लड्नुजस्तो भएको थियो।

तरेर जाने ठाउँ अलि पर देखियो। पहिरो खसेका बडेमानका ढुंगा छिचोल्दै अघि बढ्दा कफु खोलामा काठको मुडा देखियो। गोठबाट केही मान्छे हामीलाई हेरिरहेका थिए। कालो भोटेकुकुर नौलो देखेर भुकिरहेको थियो। बल्लतल्ल ज्यान अड्याउने ठाउँ हुगुको गोठ पुगियो। अगेना छेउमा बसेर जुका फालियो। तिनले चुसेर बनाएका घाउ गन्ती गरियो। दुवै गोडामा गरेर ७ ठाउँ चुसेछन्। जुका झार्न बोकेको नुनको पोको ज्याकेटको खल्तीमा पानीले भिजेको थियो। जुकाले चुसेका ठाउँ साह्रै चिलाउँछ। 

दायाँ गोडाको एउटा घाउबाट बगेको रगत थामिन निकैबेर लाग्यो। केहीबेरमा केही लडेजस्तो ठूलो आवाज आयो। हामी ओत लागेको गोठका आँगनमा हिउँ फुटाएर छरेजस्तो सेतो भयो। साथीहरूले भने 'कपुचेमा हिमपहिरो गएछ। यो त्यही छर्को आइपुगेको हो।'

हामी सिक्लेसबाट पूर्व पहरै-पहरा बिहान १० बजे हिडेका थियौं । छपक्क मिलेका ढुंगाका छाना भएका घर। बस्ती मास्तिर अन्नपूर्ण हिमश्रृंखला भएको सिक्लेसमा पहिलो यात्रामा पुग्नेका लागि आतिथ्य आनन्दको लाग्छ। अलि पर्तिर, छेउछाउ घुम्न जाउँ भन्ने नलाग्न सक्छ। पोखराबाट साँझ आइपुग्दा मलाई पनि त्यस्तै लागेको हो। तर, हामी मुलुककै होचो ठाउँमा अवस्थित हिमताल हेर्नै भनेर निस्केका थियौं। अतः जान्न भन्न मिल्ने अवस्था भएन।

लगातार हिड्दा पनि ७ घण्टा लाग्ने सुनेपछि पुगेर मेरो हौसला अलि घटेको थियो। सकिँदैन होलाजस्तो लागेर साथीहरूलाई 'तपाईहरू जानुस्। म बरु सिक्लेसमै पर्खन्छु' भनेर  टार्न खोजेँ। यसका कारण थिए। पहाडी यात्रामा हलुका ब्याग, दरिलो लठ्ठी, सजिला स्पोर्टस् जुत्ता र छाता वा रेनकोट हुनैपर्छ। यीमध्ये मसँग भएका कुरा केही थिए भने लगाएका जुत्ता। तै साथीले छाड्ने भएनन्। हार्न मिलेन। उकालो-तेर्सो भीरैभीर र खोलाको बाटो हिँडियो। 

०००

सिक्लेसका चिबा (मुखिया) का मनबहादुर गुरूङका दाजु भीमबहादुरको घरमा खानाको प्रबन्ध थियो। हिड्नेबेला भाउजुले हरियो कपडाका टुक्रामा गा“ठो पारेका स-साना पोका दिइन। 'यो राख्नु । नुन हो। जुका लाग्छन्। दल्न काम लाग्छ,' उनले भनिन्। 

चिबाका दाजुले पनि सम्झाए 'बाटो सजिलो त छैन। तर, नआत्तिकन जानु। पुगिन्छ।' चिबा हाम्रा गाइडमात्रै थिएनन्, उनी आफैं पनि हाम्रा साथको यात्राबाट कपुचेको अहिलेको अवस्था हेर्न चाहन्थे। डा. हुमबहादुर गुरूङको जोडबलले हाम्रो यात्रा अचानक तय भएको थियो। पर्यावरणको क्षेत्रमा लामो समयदेखि भिजेका डा. गुरूङ केहीअघि नेपाल पन्छी संरक्षण संघका अध्यक्ष थिए। अहिले आफ्नै संस्था बनाएर काम गरिरहेका छन्। राजधानी बसे पनि आफ्नो पुरानो थलोमा संरक्षणको काममा उनलाई चासो रहेको गफगाफमा बुझियो।

जल तथा मौसम बिज्ञान विभागका अनुसार मुलुकका अधिकांश हिमतालहरू समुद्र सतहको चार हजार मिटरमाथि छन्। यात्राबाट फिरेपछि मैले विभागका निर्देशक ऋषिराम शर्मालाई फोन गरेको थिएँ। उनले कपुचे २४३७ मिटरमा छ भन्दा अचम्म मानेका थिए। 'हामीले अध्ययन र रेकर्ड गर्ने सबैको होइन। जहाँ कालान्तरमा जोखिम भन्ने अध्ययन हुन्छ, त्यसैको गर्छौं,' उनले भनेका थिए, 'कपुचे अध्ययन गरिनु जरुरी छ। यो पर्यटकीय सम्भावनाको हो भन्ने अनुमान गर्छु।'

००० 

हुगुमा दुई दसकअघि १२ वटा गोठ रहेछन्। अहिले एउटामात्रै छ। मह-सिकारी मेजा गुरूङको गोठ। मेजाका छोरा प्रकाश बाटो देखाउँदै सिक्लेसबाट हाम्रा साथै गएका थिए। गोठमा मुली भेटिएनन्। भेटिए प्रकाशकी आमा नौमाया, काठमाडौंबाट आएका ९ वर्षे भाञ्जा र गोठाला बसेका माइला भनिने मानबहादुर तामाङ।

मेजाको सिकार कथा सुन्नका लागि थुप्रै थिए। केही वृत्तचित्रमा पनि आएको सुन्न मिल्यो। हुगुको गोठहरू नयाँ पुस्ता सेनामा भर्ती जाने चलनले विस्तारै उठेका थिए। पुराना पुस्ताले गोठको भरको आम्दानीले सन्तान हुर्काएका थिए। नयाँ पुस्ता गोठ स्याहारेर बसेनन्, बरु अभिभावकलाई पनि सिक्लेस र पोखरामा घर बनाएर गोठ छाड्न बाध्य पारे। हेर्दा-सुन्दा रमाइलो लागेपनि मान्छेका बस्तीभन्दा टाढा गोठको बसाइ सुखको होइन।

मेजाका तीन भाइ छोरामा पनि एउटा हङकङ, अर्का आयरल्याण्ड रहेछन्। जेठा छोरा प्रकाश १४ वर्ष साउदी अरबमा काम गरेर फिरेका थिए। अब उनी आमालाई सघाइरहेका थिए। बजार पुगेर चाहिने सामान गोठ ल्याउने। गोठबाट घिउ, तरकारी बजार लैजाने। 'मैले पटक-पटक गरेर साउदीको गर्मिमा १४ वर्ष बिताएँ,' प्रकाशले भने, 'अब चाहिँ जान्न। यतै बस्छु। गरेदेखि यतै पेटपालो हुन्छ।'

नौमायाले छाड्न नसकेकै कारण मेजाको गोठ थामिएको थियो। हामी पुगेका बेला मेजा पोखरामा बन्दै गरेको घर कुरिरहेका छन् भन्ने सुनियो। गोठमा डेढ दर्जन भैसी र १४० बाख्रा पालिएका थिए। हुगुमा स्याउ हुने रहेछ। हामी पुग्दा केही पुराना गोठका संरचनासँगैका स्याउका बोटमा फूल लागेका थिए। 

कपुचे यात्रामा जानेका लागि हुगुको गोठ नै एकमात्र विश्रामको थलो हो। यहाँ नबसे ७/८ घण्टा वरपरको बाटोमा कतै बास छैन। हामीले पुगेको रात पाहुनाका लागि भात र ढिँडो रुचिअनुसारको भोजन व्यवस्था भयो। गोठमा आगो बालेर स्लीपिङ ब्यागभित्र ज्यान लुकायौं।

०००

बिहानै चिया सुरुप्प पारेपछि अब थियो मात्र २ घण्टाको बाटो। पहाडका बाटाहरूमा सबैभन्दा उदेक लाग्दो कुरो के हो भने हिडिरहेकाहरूका लागि १ घण्टा भनिन्छ। अभ्यस्त नभएकाहरूलाई त्यही बाटो तीन घण्टा लाग्यो भने पनि अचम्म नमान्दा हुन्छ।

२०२५ मिटर उचाइको हुगुबाट दक्षिण-दक्षिण लेकाली जंगल छिचोलेर कपुचे पुगिने रहेछ। धेरै ठाउँ ठू-ठूला रुख लडेका थिए। गाडी आउजाउ हुने ठाउँका नजिक हुँदो हो भने ती सुकेका रुखका पात पनि बढारेर बोरामा कोचेर काम लाग्छ भनेर लैजानेहरू हुन्थे। बडेमानका सुकेका रुख झन कहाँ यसरी रहन पाउनु ! यहाँ भने रुखहरूमा लेउ पलाएका थिए। 
अघि बढ्दै गएपछि रुखहरूमा हिउँ अडिएको देखिए। भुइँभरि पनि छपक्क सेतो थियो। हामी पुगेको डिल २५४६ मिटर उचाइको रहेछ। यहाँबाट मुन्तिर तालकै सतहको उचाइ २४३७ मिटर। डिलबाट मुन्तिर झर्न सजिलो बाटो थिएन। यहाँ मान्छे नआउने भएकाले कतै गोरेटा रहेनछन्। हिड्न ठाउँ बनाइएको थिएन। माथि हिमालबाट बेला बेला हिउँका डल्ला लड्दै तालमा छप्ल्याङ्ङ-छप्ल्याङ्ङ गर्थे। घाम लागेको थियो। हावा चिसो थियो। 

ताल हेर्दा मदिराको गिलासमा आइसका टुक्रा तैरिएको सम्झाउने। तर, यहाँ गिलास थिएन। तमतन्न नीलो पानी भएको ताल। तैरिएका हिउँ। हामीले अघिल्लो दिनको कष्टपूर्ण हिँडाइको थकान सबै यहाँ बिर्सियौं। यात्रा थाल्दा यतिको उचाइका हिमताल देख्न पाइएला भन्ने पत्यार लागेकै थिएन। तर, यहाँ हाम्रा अघि ताल थियो। 

'यो ताल पहिले सानो आकारको थियो,' डा. गुरूङले सुनाए, '१० वर्षता आकार बढ्दै आएको हो।' यहाँसम्म आइपुग्ने पदमार्ग बनाउन सकेमात्रै पनि साहसिक पदयात्रा रुचाउनेहरूलाई पोखरानजिकै अनौठो गन्तव्य हुने उनले बताए। 

सिक्लेस पार्चे गाविसमा पर्छ। यो अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापअन्तर्गतको संरक्षण कार्यक्रम सञ्चालन भएको एरिया हो। वनजंगल छिचोलेर पुगिने यो ताल मादी नदिको मूल भएको स्थानीय संरक्षण समिति अध्यक्ष मनबहादुर गुरूङले बताए। हामीसँगै रहेका मनबहादुरले निकैबेर वरपर घुमेर बाटो बनाउन सकिने ठाउँ खोजिरहे। 

'वर्षको दुईपल्टजस्तो म यहाँ आउँछु,' उनले भने, 'यहाँ आउनलाई बाटो थोरैमात्रै सजिलो बनाउन सकियो भने सिक्लेस आएकाहरूलाई कपुचे घुम्न जाउ भन्न सकिन्थ्यो।' एक घण्टा हाराहारी समय ताल आसपासमा बिताएपछि हामी फेरि हुगु फर्कियौं। त्यो दिनको रात हुगुमै बित्यो। पाहा हन्टिङ र सिस्नुको फाँडोले माइला दाइले आतिथ्य गरे। 

धादिङको सेरदुङबाट २२ वर्षअघि सिक्लेस आएका माइलाको कथा बेग्लै थियो। उनी फेरि धादिङ गएनन्। 'गुरूङ भाषा बुझछु, अलिअलि आउँछ पनि,' उनले रमाइलो पारामा भने, 'नेपाली जस्तो पटट बोल्न जान्दैन।' निर्माण मजदुर भएर लमजुङका साथीसँगै आएका माइला मेजाको अनुरोधमा गोठमा चार वर्षदेखि अडिएका रहेछन्। जेठ र असार यार्सागुम्बा टिप्न जाने, अरुबेला गोठका बाख्रा चराउने दैनिकी। 

'मेरो बानी राम्रो छैन। अम्मल धेरै छन्,' उनले भने, 'पैसा नहुने होइन हुन्छ। चुरोट पिउन परो, रक्सी खान परो। सक्किइ जान्छ।' उनलाई आफ्नो दिनचर्यामा कुनै पछुतो रहेको कुराकानीले बुझाएन। हँसिला, ठट्यौला। 

०००

हुगुबाट सिक्लेस फिरेपछि थाहा भयो कपुचेको अध्ययन केहीअघि एकजना जापानी प्राध्यापकले गरेर गए। होटल नमस्तेका सञ्चालक धन गुरूङका अनुसार गत फागुन दोस्रो साता तेक्यो हेसे विश्वविद्यालयको स्कुल अफ इन्भाइरोन्मेन्टल इन्फर्मेशनका सहायक-प्राध्यापक जिरो कोमोरीले तालमा करीब २ घण्टा बिताए। अघिल्लोपल्ट ५ महिनाअघि आउँदा उनी मादी तर्न नसकेर तालमा पुग्न सकेका थिएनन्। पछिल्लोपल्ट पट्याएर बोक्न मिल्ने डुंगा लिएर आएका थिए।
 
'डुंगा लिएर तालमा घुम्यो,' गुरूङले भने, 'नापजोख पनि गर्‍यो।' कोमोरीलाई त्यहाँ पुर्‍याउन गाउँबाट आफूसहित तीनजना गएका उनले सुनाए। कोमोरीले ताल ४० मिटर गहिरो, ४ सय मिटर लम्बाइ र ३ सय मिटर चौडाइको निकालेको हिसाब आफूले पनि टिपेर राखेको उनले देखाए। 

'जाँदा डुंगा मलाइ छाडेर गएको छ', उनले भने।

गुरूङ भाषामा कपूचेको अर्थ 'हिउँ भत्केर खस्ने समथर भाग' भन्ने बुझिने रहेछ। पोखरा फिरेपछि कहिलेकाही ट्रेकिङ गाइड भेट हुन्छन्। 

म सोध्छु -'कपुचे जानु भएको छ ?' गएको छु भन्ने उत्तर मैले पाएको छैन। भूकम्पपछि यो ताल र जाने बाटोको अवस्थाबारे सिक्लेसवासीसँग बेलाबेला कुरा हुन्छ। बाटो उस्तै छ । भत्के-बिग्रेको छैन तर, सजिलो पनि छैन।

***
(२०७२ पुस ११ को कान्तिपुर, कोसेलीमा प्रकाशित)

Tuesday, November 17, 2015

फेवाको छठ, विराटनगरको सम्झना


आज
विराटनगरमा सिंघिया, केशलिया, सुनसरी-मोरङ सिंचाइ आयोजनाका नहर, आसपासका पोखरी र जलाशय सबैमा व्रतालु र दर्शनार्थी थिए होलान् । म पोखराबाट सम्झँदैछु । यहाँ नदिपुरबाट सेती नदि र लेकसाइडको केदारेश्वर मन्दिरको फेवातालघाटमा छठ मानिँदो रैछ । देशका अरू भूभागमा पनि यस्तै यस्तै होला । छठमा आस्था राख्ने जहाँ जहाँ छन्, उनीहरू नजिकका जलाशय पुगे नै होलान् ।
 
आफ्नो गाउँघरको छठ सम्झँदै मलाई भने पोखरामा योपल्ट शुन्य-शुन्य लाग्यो । हुन त लामो बन्दले थिलथिलो भएको जनजीवनमा मोरङमा पनि कति नै उत्साह हुँदो होला जस्तो पनि लाग्छ । मलाइ छठका अन्तरकुन्तर ज्ञान छैन । बालखैदेखि देख्तै आइयो । छरछिमेकले मानेको पर्वमा हाम्रो घरबाट पनि चढाउने दिइन्थ्यो । चढाउने दिएपछि व्रतालुलाई सघाउन पनि गइन्थ्यो । मन्ठापोखरी छठघाटमा ठेला ठेलेर जाँदा-आउँदाको स्कुलेबेला बेग्लै रमाइला थिए । पछि जब हातमा क्यामेरा आइपुग्यो, ठेला ठेलिएन । घाटघाट पुगेर त्यहाँका फोटो खिच्न छुटाइएन ।
 
समाजशास्त्रले भन्छ -'फरक फरक संस्कृति भएका जातजाति बसेको समाजमा एकअर्काले जानीनजानी एकअर्काका सजिला-अप्ठ्यारा संस्कारहरू अपनाउँछन् । एकअर्कामा सर्छ ।' संस्कृति सर्ने यो पाटो बडो गजबको छ । बुढापाकाले ज्ञानीको संगत गर्नु भनेपनि संगतले राम्रो सिक्ने की नराम्रो सिक्ने त्यो तपाइँ-हाम्रै जिम्मेवारी र रुचिमा निर्भर छ । तर, सामाजिक संस्कार भनेको सार्छु भनेर कसैले सार्दैन । मन पर्छ, अभ्यस्त भइन्छ, आफैं सरिसक्छ । कालान्तरमा यो सरेर आएको हो वा मौलिक भने खुट्याउनै गाह्रो पर्छ ।
  
हामीलाई सुकिला लुगा लगाउनुपर्ने, मिठो खानुपर्ने, पढ्नुपर्ने, चाडबाडमा रमाउनुपर्ने आदि बानीबेहोरा सबै शिक्षाले मात्रै दिएका पनि होइनन् । जातिसमुदायको आस्था, धर्मसंस्कारबाट पनि धेरैथोक सिक्दै र सिको गर्दै समाज अघि बढेको छ ।
 
मानव सभ्यताको इतिहास हेर्दा मान्छेका बस्ती खोला-जलाशय किनारबाट सुरू भएर कालान्तरमा फैलिएको भन्ने पढ्न मिल्छ । पानी जीवन हो । जतन गर्न जान्नै पर्छ । यही जतनको उपक्रमहरू धर्मसंस्कारका नियममा पनि समावेश भएर हामीलाई सिकाउन र डोर्‍याउन बनाइएका छन् । छठका घाटहरू पूजाका बेला सफा गरिनुका गुहृ कारण केलाउनुस् । हाम्रा आस्थाका इश्वरलाई सफा चाहिन्छ, त्यसैले हामी सफा हुनपर्छ, बस्नुपर्छ । वरपरको वातावरण सफा राख्नुपर्छ । यो धर्मलाईमात्रै चाहिएको हो ? पटक्कै होइन । हामीलाई नै आवश्यक भएकाले यस्ता नियम बनेका हुन् । प्रसादमा चढाइने खानेकुरा भगवानले खाने होइनन् भनेर अखाद्य पदार्थ प्रयोग गर्न मिल्दैन । किन ? किनभने ती खानेकुरा मान्छेले नै खाने हो । र, मान्छे स्वस्थ रहन आहारविहार उचित हुनुपर्छ ।

त्यसैले हामी बाँच्ने वातावरण स्वच्छ र स्वस्थ हुनै पर्छ । गरिखान गाह्रो पर्ने यो दौडधूपको दिनचर्या भएको समय मान्छे जसरी हुन्छ दिन बिताउने कसरतमा छ । तर, यही कसरतमा पनि हामीलाई स्वस्थ राख्ने विषयमा सोच्नु र काम गर्नु पनि जरुरी छ ।

सिंघिया योपल्ट कस्तो रह्यो मैले हेर्न पाइँन । यता फेवाताल भने हेरेँ, यतिखेर सफा छ । तर, खोला जसरी यसमा भित्र पसेर घुम्न मिल्दैन । सिंघियामा पाइन्ट घुँडा-घुँडा दोबारेर व्रतालुका फोटा खिच्दै हिडेका दिन आज मैले सम्झेँ । यहाँ म तालको बीचमा पसेर व्रतालुले  सूर्यलाई अर्घ दिएको खिच्न सम्भव भएन । त्यसैले पनि मलाई सिंघिया र परोपकारघाटको सम्झना आइरह्यो । तर, मैले आफ्नो गृहनगरबाट टाढा हुनुको एकुन्द्रो केदारेश्वर मन्दिर परिसरको पार्वती छठघाटमा मेटेँ । यहाँ नेपाल-भारत व्यवसायी समितिको पहलमा २०६८ मा घाट सिमेन्टेड बनाइएको रहेछ ।

धेरैजनाले एकैपटक पूजा गर्न मिल्ने ठाउँ छैन । तैपनि घाट र पानी दुवै सफा छ । हाम्रा मैला गोडाले यी ठाउँमा फोहर लाग्ला की जस्तो । मैले यहाँ व्रतालुलाई सघाउन आएका उनीहरूको परिवारका पुरुष सदस्यसँग कुरा गरेँ । धेरैले तराइ आन्दोलनका कारण घर गएकाहरू आउन नपाएर योपटकको सहभागिता घटेको सुनाए । उनीहरूमध्ये धेरै आफ्नो व्यापारमा परेको असरले चिन्तामा भेटिए । केही पटनाबाट यहाँ आएका रहेछन् । उनीहरूले त्यहाँ गंगा किनारको छठको भव्यताबारे आफ्ना संस्मरण सुनाए ।

राजनीतिले मुलुक जता डोर्‍याए पनि हामीले मिलिबसेको समाजमा एकअर्कालाई अपनाएका छौं । त्यसैले सद्भाव अझै कसिलो छ । यसपटकको देउसीमा मैले रमाइला दृश्य देख्न पाएँ । हुर्रा र घाटु नाच नाचेर मुस्लिमका पसलमा देउसेभैलेले खेलेको देख्न मिल्यो । गुरूङ समुदायका बालबालिकाले मिथिला पहिरनमा मैथिली गीतमा नाच्दै भैली खेलेको पनि हेर्न पाइयो । सबैतिर समाज लगभग उस्तै हो ।

हाम्रो पत्रकारितामा मैले जानेदेखि छठबारे काठमाडौंले रूचाउने यौटा शिर्षक छ - 'पहाडेले पनि छठ मनाए ।' विराटनगर रहँदाका बखत मेरो भागमा पनि पर्‍यो त्यो विषय । लेखियो । तर, अब लाग्छ, समाज मिलिबसेपछि एकअर्काको संस्कार सर्नु नौलो कहाँ हो । हामीले त्यसरी लेख्दा समाज अझै बिभाजित रछ, अर्काले मान्ने कुरो अर्कोले मनाएछन् भन्ने सन्देश पनि त त्यसमा लुकेको छ । एउटा उदार समाजबारे हामीले लेख्दा सबैलाई समान हिसाबले हेर्नै पर्छ । त्यो पुरानो शीर्षकबाट अलि अघि बढ्न र माथि उठ्न जरूरी पनि छ । 

Tuesday, November 10, 2015

सीता परियारको कथा


कथा होइन उनका बारेमा लेखिएको हो भन्नु ठीक होला । फरक क्षमता भएकाहरूलाई हामीले दयाका पात्र देखाउँन हुँदैन । गरिखाएका छन्, यसरी पनि बाँचेका छन् भनेर देखाउन पर्छ, किन ? किनभने त्यसको सिको अरूले गरून । प्रेरणा मिलोस् । त्यो प्रयास सदैव छ । तर, सबैका कथाले प्रेरणा दिन्छन्, खुसी दिन्छन् भन्ने छैन । सीताको मुल मर्का जे हो, त्यसको समाधान सहज छैन ।

उनका बारेमा मलाई मित्र/बन्धु भवसागर घिमिरेले भनेका थिए । उनी रेडियो कार्यक्रम बनाउने सिलसिलामा स्कुल पुगेछन् । सीताका बारेमा थाहा भएछ । अनि मेरो अफिस आए र, तपाइँले लेख्दा राम्रो भनेर त्यहाँका गुरूको नम्बर दिए । त्यसपछि नै मैले भेट्न सम्भव भएको हो । पहिलोपटक जाँदा उति धेर कुरा भएनन् । म दोस्रोपटक पुगेँ । उनका बारे बताउन सक्नेहरूलाई खोजी गरि भेटेँ । ९२४ शब्दमा उनका बारे लेखियो तर, लेख्ने प्रसंग भेला पार्न २ साता लाग्यो ।
 
कोसेलीको भित्री पातोमा प्रकाशित भएका दिन मलाई एलेनको इ-मेल आयो । सीतालाई पढुञ्जेलसम्म पढाइ खर्चमा दिइँदै आएको सहयोग नरोकिने उनले लेखेकी थिइन । मैले धन्यवाद दिएँ, जवाफ लेखेँ । उनीसँग ३/४ पटक इ-मेल संवाद भयो । सीतालाई सहयोग गर्ने फ्रान्सेली एनजीओसँग एलेन असन्तुष्ट रहिछन् । उनको तर्कमा जसले जसलाई सहयोग गर्छ, त्यो सहयोग पाउनेको अवस्थाका बारेमा पनि बेलाबखत सोधिखोजी गर्न र भेटघाट गर्न जरूरी हुन्छ । जो त्यो संस्थाले गरेन । मेरो जवाफले शायद उनको चित्त बुझेन । अहिले कुराकानी भएको छैन । 

समाजमा मान्छे अनेक भोगाइ लिएर बाँचेका छन् । यो बाँच्ने उपक्रममा मान्छेलाई पत्रकारबाट थुप्रै आसा रहेको भेट्छु । तर, पत्रकारले जे छ, जस्तो छ देखाइदिनु पर्छ, समाजले सक्ने काम गर्नुपर्छ । लेखेर मात्रै छुटकारा मिल्दैन, सामाजिक हुनुका नाताले कति ठाउँ कलमजीविले सम्पर्क र संवादको माध्यम पनि बनिदिनु पर्छ । सीताका हकमा लेखियो, सहयोग जारी रहने जानकारी मिल्यो । एकजनाले पढेर व्यक्तिगत सहयोग पठाउँछु पनि भन्नुभयो । मैले सम्पर्क नम्बर दिएको हो, के गर्नुभो थाहा छैन । यसको शिर्षक मैले 'जिन्दगीका अँध्यारालाई मनको दीप' राखेको थिएँ । छोट्टिएर, छरितो बनेर शिर्षक आयो ।
 
कान्तिपुरको कोसेलीमा १६ असोज २०७२ मा जे प्रकाशित भएको थियो ती यस्ता छन् । मुनि पढौं -

मनको दीप 
पढेर के बन्ने ? स्कुले सबैसँग उत्तर तयार हुन्छ । तर, उनीसँग रहेनछ । त्यसैले झट्ट भन्न अलमलमा परिन् । केहीबेर गमेपछि भनिन् 'खै के बन्ने बन्ने । मास्टर त होला नि ।' हाँसिन् । फेरि केही छुटेजस्तो गरेर भनिन् 'खासमा मलाइ गायिका बन्न मन हो ।' झण्डै दसक पुग्न लागेको स्कुलमा उनले आएकै साता एउटा बालगीत गाएकी थिइन । सान्त्वना पुरस्कारका कापी-कलम हात परेको थियो । त्यसयता उनले एक्लैछँदा आफैंलाई सुनाउन मात्रै गाउने गर्छिन् । 

हामी सीता परियारका कुरा गरिरहेछौं । पोखराको अमरसिंह उच्चमाविमा कक्षा १० की छात्रा । उनी देख्तिनन् । कुर्कुच्चामुनिका भाग या भनौं पाइताला छैनन् । तर, उनका लागि हरियोखर्क अस्पतालले बनाइदिएको खुट्टाको भरले त्यो नभएको आभास लगभग छैन जस्तो छ । २०३८ देखि विशेष शिक्षा कक्षाअन्तर्गत अमरसिंहमा सुरू भएको दृष्टिविहीनका लागि पढाउने काम अहिले पनि जारी छ । अहिले ५० हाराहारी त्यस्ता विद्यार्थी छन् । ३७ जना विद्यालयकै होस्टलमा बसेर पढ्छन् । सपांगकै कक्षामा मिसिएर उनीहरूले पढ्न पाएका छन् । यी ३७ मध्ये आजको कथा पर्वतको खुर्कोट-४ की सीताको मात्रै हो । अब पर्वका विदा सुरू भएका छन् । यहीसँगै सीता र होस्टल व्यवस्थापन दुवैलाई कसरी बित्छन् यी दिन भन्ने भएको छ ।
 
०००
खुर्कोटमा महिलाको बाख्रापालन अवलोकनका लागि कुश्माबाट सरकारी अधिकारीको एउटा टोली पुग्यो । टोलीकी महिला विकास अधिकृत लक्ष्मी जिसीले देखिन-एउटी केटी चार हातपाउ टेकेर हिडि्छन् । 'त्यो दिन त्यस्तै भयो । म हेरिरहेँ', उनले सुनाइन, 'सदरमुकाम आएका बेला भेट्नु भनेर हामी फर्कियौं ।' एक दिन महिला विकासमा तिनै केटी चार हातपाउ टेकेर आइपुगिन् । सुरिलो भाका हालेर मिठो गीत सुनाइन । 'मलाइ लाग्यो यो केटीको खुट्टा बनाइदिन पाए उभिन सक्थी । आ“खा नदेखे पनि केही सहारा मिल्थ्यो', उनले भनिन्, 'त्यसपछि मेरो काठमाडौं जाने काम थियो । उनलाई साथै ल्याएर हरियोखर्क अस्पताल भर्ना गरिदिएर गएँ ।'
 
पोखरा-१५ नयाँ गाउँको हरियोखर्क भनिने इन्टरनेशनल नेपाल फेलोसीपद्वारा सञ्चालित अस्पताल यस्तो ठाउँ हो, जहाँ कुष्ठरोगीसँगै अपांगता भएकाहरूको उपचार गर्छ । सीता अब यहाँ आइपुगिन् । अस्पतालका थुप्रै इकाइमध्येको एउटाले उनलाई नक्कली खुट्टा लगाएर कसरी उभिने, हिड्ने भनेर सिकायो । अक्युपेसनल थेरापी वार्डमा सिकाउनेहरू थिए- जुना गुरूङ, लक्ष्मी शाही र बेलायती थेरापिस्ट एलेन । 'कहिले आफ्नो खुट्टामा नउभिएकालाई उभ्याउन सजिलो हुँदैन', यसै साताको भेटमा शाहीले संवाददातासँग भनिन् 'उनलाई उभिन सिकाउनसँगै जिन्दगी कसरी असल हुन्छ भनेर परामर्श पनि आवश्यक थियो ।' यी काम अस्पतालमा गरिए । खुट्टा बन्यो । अस्पतालमै उनले सामान्य लेखपढको प्रौढ कक्षा पनि लिन पाइन ।

'मेरो २८ वर्षे जागिरे जीवनमा अस्पताल ल्याइएकाहरूमा सीता जति नजिक अरू कोही भएनन्', जुनाले सुनाइन 'त्यो केटीको गाउने र मादल बजाउन जान्ने कला बिछट्ट राम्रो छ ।' अस्पतालमा काम सकिएपनि उनका साथ अरु कोही आएका थिएनन् । पठाउने ठाउँ भएन । लिन आउने कोही भएनन् । एलेन, गुरूङ र शाहीकै पहलमा अमरसिंह स्कुलमा पढ्न पठाउने सल्लाह भयो । 'स्कुलले अन्धालाई मात्रै लिन्थ्यो । उनी त बहुअपांगता भएकी, उसमाथि विपन्न, दलित र महिला', जुनाले भनिन् 'एउटा स्कलरसिप दिलाएर पढ्न पठाउने कुरा मिल्यो । अरु त्यस्ता अस्पतालबाट २/४ हप्तामै घर जान्थे । सीतालाई चार महिनापछि बल्ल स्कुल र होस्टल मिल्यो ।' कक्षा २ भर्ना भएर पढाइ सुरू भयो ।

०००
छोरी सीताले सुनेकी थिइन बाबु बुद्धिराम परियार दमको रोगले थलिएका थिए । चार छोरी, दुइ छोरामध्येकी उनी कान्छी । थाहा पाउँदासम्म दिदीहरू बिहेबारी भइवरी घर गइसकेका थिए । एकजना दाजु अल्पआयुमै बिते । अर्का दाजु कामको खोजीमा भारत जाने भनेर हिडे । दाजु हिडेपछि भाउजु पनि बसिनन् ।
 
उनी ६ वर्षको छदा बुद्धिरामको निधन भएको थियो । त्यसको तीन वर्षछि आमा द्रुपति परियारको पनि निधन भयो । वर्षदन पनि नपुग्दैकी छोरी घरमा छाडेर सबै मेलापात गएका बेला आगोले दुवै पाइताला डढेका थिए । सीता हुर्कदै जाँदा चार हातपाउ टेक्ने भएकी थिइन । स्कुल जाने उमेर हुन थालेपनि भर्ना गरिदिने कोही भएनन् । घरमा बुढी हजुरआमाको साथमात्रै थियो । ९ वर्षको छँदा रुखबाट डालेघाँस काट्तै गरेको हेर्दा माथिबाट हाँगो खस्यो । बेरुलाका पातले दुवै आँखा घोचे । गाउँघरको समान्य उपचारले निको भएन । हिड्न नसक्ने केटीको दृष्टिशक्ति पनि गुम्यो ।
 
०००
'एकपटक गाउँमा एकजना सरले काठमाडौं गएर २/४ हप्ता तालिम लिए तिमीले गीतको एल्बम निकाल्न सक्छौं भन्नुभएको थियो', सीताले भनिन् 'जान पाइएन । अहिले ठीकै छ गाउन नपाए पनि पढ्न मिलेको छ ।' असरसिंहको छात्रावासमा विद्यार्थीका लागि कोचिङ कक्षा पनि चलाइन्छ । गणित पढाउने निरञ्जन लोहनीले भने 'सीताको पढाइ राम्रो छ । अबको हाम्रो फिक्री उनले कहाँ बसेर पढ्लिन् भन्ने छ ।'

त्यसबाहेक पनि वर्षेनी होस्टलले झेल्दै आएको समस्या बेग्लै छ । यहाँ बसेर पढ्ने सबै विद्यार्थीको घर छ । आफन्त छन् । विदामा लिन आउँछन् । सबै घर जान्छन् सीताबाहेक । उनलाई लिन कोही आउँदैन । स्कुलले पठाउने ठाउँ पनि छैन । 'बिदाको अवधिभरि बस्न स्कुलले कतै होटलमा राखिदिन पनि मिल्दैन', शिक्षक लोहनीले भने, 'छोरीमान्छे । त्यसमाथि बहुअपांगता छ ।' 

१० जोड २ का कक्षा भएपनि स्कुलमा ती तहका विद्यार्थीका लागि छात्रावासको व्यवस्था छैन । उनले १० पास गरेपछि जानुपर्छ । त्यससँगै होस्टलको वर्षेनी विदाका बेला कता बसाउने भन्ने दुविधा हट्नेछ । तर, उनको घर छैन । गाउँबाट सोधीखोजी गर्ने कोही छैनन् । के गर्छ स्कुलले ? स्रोत शिक्षक लोकबहादुर गुरूङले भने 'यो हाम्रालागि एकदमै गहन प्रश्न छ । के गर्ने ? कहाँ पठाउने ?' 

उनको गाउँमा रहेको एउटा उच्चमाविमा कुरा गरेर उतै आवास र अध्ययनको व्यवस्था गर्नेबारे आफूले विचार गरिरहेको उनले बताए । 'स्कुल पढाउनका लागिमात्रै नभएर विद्यार्थीको बासको चिन्ता पनि गर्नुपर्ने मानवीय पक्ष हेरिदिनै पर्ने भयो', उनले भने, 'अहिलेसम्म उनका लागि एउटा सामान्य फेलोसिपको सहयोग छ । १० सिध्याएपछि त्यो पनि हुँदैन । समाधानका लागि विचार गर्नुपर्ने पक्ष धेरै छन् ।' 

सीता आफैंलाई पनि थाहा छैन । १० कक्षाको अन्तिम परीक्षापछि ब्रेललिपीमा अभ्यस्त भएर पाएको शिक्षाको ज्योति कहाँ काम लाग्छ । कहाँ गएर बस्ने । कता पढ्ने । उनले भनिन् 'पछिको कुरा पछि होला । अहिले भने स्कुललाई दसैंतिहारको बिदा लाग्छ । त्योबेला कहाँ जाने भन्ने नै अप्ठ्यारो छ ।'

प्रज्वलनशील बस यात्रा


शीर्षक उही चिर-परिचित अति सुरक्षित भन्या जस्तो नै छ, जो हिजोका दिन इकान्तिपुरको ब्लगमा पढ्न मिलेको भन्ने ठान्नुभो भने ममाथि अन्याय हुन्छ भन्छु । गन्थन पनि उनै हुन नठान्नुस् । यता अलि सप्रसँग व्याख्याको प्रयास छ। 

तैपनि गन्थन त गन्थनै हो। तिनै ब्लग लेखनको लेखोटमाथि थपथाप। हिजो पोखरा फिर्दाको कुरा लेखियो, यसमा जाँदाका कुरा पनि समावेश छन्। फिर्दाका कुरा लेखेपछि लाग्यो, जाँदाका कुरा पनि त रमाइला थिए। आखिर जिन्दगी फ्याट्ट एक्सिडेन्टमा नपरुञ्जेल गज्जप-गज्जप देख्न-भोग्न मिल्छ/मिलेकै छ। अफिसको वेबसाइटमा प्रकाशित हुनेगरि लेख्दा भरसक छरितो लेखे निको मान्छन् भन्ने कुरा दिमाखमा घुमिरनी, अनि लेखमा लाग्या कति कुरो बिर्सिपठाउनी हुँदो रछ। नियन्त्रित अवस्थाको लेखाइ। भाषाका पनि सीमानामा बस्न पर्छ। नितान्त व्यक्तिगत गन्थन त डायरी जसरी आफ्नै ब्लगमा लेख्नुपर्छ भन्ने लागेर यताको जमर्को गरेको हो भनेर भन्नुस्।

दसैंको अल्झो
उसै पनि महान तथा गौरवशाली पर्व। घर जानै पर्छ। कारण- परिवार, मातापिता। जेठो छोरो दसैंमा कहिल्यै घरबाहिर रहेको इतिहास बनाउनु पाइएन। जान त जानु तर, कसरी पो ! म पोखरामा छु। घर विराटनगर। बीचमा मधेस आन्दोलित भाको क्षेत्र पर्छ।

बसपार्क पुगेँ। विराटनगर जाने बसको आउजाउ रोकिएको रछ। धरान र काँकडभिट्टाका लागि यौटा-यौटा चल्दै रछ। तिनमा इटहरीसम्म पुग्न पाए १९ किमि त हो, त्यहाँबाट ब्याट्री-रिक्शा वा अरू विकल्प हुन सक्छ। तर, चार दिनपछिसम्मका टिकट हाउसफुल। डिजल पाइँदैन। चल्दै रहेका बस पनि नियमित हुने/नहुने टुंगो रैनछ। टिकस पाइएन।

बसपार्क पुग्दा अखबारमा पढेको, टीभीमा देखेको बसका बिजोक दर्शन गर्नै मिल्यो। अगाडिका सीसा फुटेका छन्। बसहरू बिचरा भन्नु जस्ता छन्। फिरेर अफिस आएपछि फेसबुकमा यौटा स्टाटस लेखियो- 'यो बेला बसको यात्रा कतिको सुरक्षित छ ? कृपया जानकार मित्रले भन्दिनुस्न। बसपार्क पुगेर आज अहिलेका बसको अवस्था हेर्दा साह्रै-साह्रै ठीक जस्तो लागेन। हेलमेट लाएर पनि के बसमा हिड्नु !'

आठवटा कमेन्ट आए। तिनका आधारमा बसमै पनि जान सकिने बुझियो। तर, एक मनले लाग्यो - 'मसँग मोसा छ नि। त्यही लिएर जान पाए उता नि हिड्न सजिलो हुन्थ्यो।'

रौतहट-सर्लाहीका साथी शिव र अमनलाई फोन गरेँ। सोधेँ- 'मोटरसाइकलमा आउजाउ गर्दा कस्तो होला ?' दुवैले अति उत्तम भने, केहीबेर उनीहरूकहाँ पनि रोकिन पर्ने सर्तसहित। कुरो ठीकै थियो। म बाटाउँदी फोटा खिचिहिड्न रमाउने मनुवाका लागि मोसा यात्राभन्दा अरू रमाइलो के हुन्थो ! तर, बिगारो पेट्रोलले। त्यो पदार्थ नखुवाइ मोसा नकुद्ने। त्यो मोरोको हाहाकार। बल्लतल्ल प्रेसका नाताले ५ सयको पाइयो। प्लान त सक्सेस होला जस्तो भयो। 

हेटौंडामा काका-बडाबाका घर छन्। त्यताका दाजुभाइलाई फोन लाएँ- 'म मोसामा घर जान लाग्या। ७/८ लिटर पेट्रोल खोज्द्याओ।' उनीहरूले 'हुन्छ/आइज' भने। फेरि आफ्नै मनले भन्यो -'यति लामो बाटो त्यो जाबो स्प्लेन्डरमा के जान्छस्। दुःख हुन्छ। ढाड दुख्छ। फेरि उसैगरि आउन सक्लास् ?' यो बडो गम्भीर कुरो थियो।

म पोखरा आउँदा मोसा ढुवानीमा हाल्द्या थिएँ। ४/५ दिनपछि ट्रक चढेर आएको हो। हुन पनि ९९ सीसीको ७ वर्ष पुरानो मोसामा लामो दूरिको यात्रा सहज हुँदैनथ्यो। यो मेरो यसो यतैका वरपर घुम्नका लागि ठिक्कको वाहन हो।
   
अफिस बिदा अष्टमीबाट हुने थियो। नौरथा सुरू भएयता घरबाट छोरा, श्रीमती र आमाको फोन बिहान-बेलुकै आउन थालो - 'दसैं सुरू भइसक्यो। कहिले आउने ? कसरी आउने ?' आफैंलाई पनि लामो एक्लो बसाइ दिक्क लागेको थियो। बिहान-बेलुकै आफैं खाना बनाएर खानु, खाली काम काम भन्नु। दिक्क हुनु अस्वाभाविक थिएन/होइन। तर इच्छ्याउँदैमा पुगिहाल्न मान्छेका पखेटा हुन्नन्।
 
पोखराबाट काठमाडौं, त्यहाँबाट अरू विकल्प भएन भने पनि हवाईजहाजमा पुग्न त सकिन्थ्यो। तर, घरभन्दा टाढा रहेर ठिक्क-ठिक्क जीवन चल्ने पारिश्रमिकमा काम गर्नेका लागि हवाई भाडा महंगो। चाडबाडमा त्यसै पनि खर्च बढ्छ, किन पो खर्च बढाउनु ! 

उता भाइले टीका लाएर एकादसीको दिनदेखि चार दिन सपरिवार कोलकाता घुम्न जाने योजना फिक्स गरेको एक महिनाअघि नै हो। यो मोरो नाकाबन्दी सुरू भएयता मलाइ इण्डिया घुम्न जान मनै मरेको हो। तैपनि भाइ र मेरा केटकेटीको रेल चढ्ने, साइन्स सिटी घुम्ने रहर। भाइलाई एकपल्ट 'होस नजाउँ, टिकट क्यान्सिल गरिदे' भनेको पनि हो। तर, क्यान्सिल गर्दा नि पैसो लाग्ने रैछ भनेर उ मानेन। जाने कुरा निश्चित थियो। अनि निश्चित बेलैमा घर जान नपाए मैले दसैंमा धेर दिन घर बस्न नपाउने पनि।

विराटनगर बसपार्कको पोखरा काउन्टरमा एकजना मित्र छन्। ताराबहादुर (थर थाहा छैन)। तिनले एकपटक आफूले काम गर्ने जगदम्बा बसका सञ्चालकको मोबाइल नम्बर दिएका थिए। पोखरा पुगेपछि 'चिनजान गर्नु, भलादमी छन्' भनेर। पहिले ताराजीलाई फोन गरेँ। उनले भने -'हाम्रो विराटनगरवाला बस चलेको छैन। चल्ने टुंगो पनि छैन।' 

दिन बिते। बजारलाई दसैं लाग्यो, रेडियोले धुन बजाको-बजाकै। उनका बस सञ्चालकलाई फोन गरेँ। उनले एउटा नम्बर दिए, उतैका बस हेर्नेको। तिनलाई डायल गरेँ। उनले 'एकजना जान किन डराउनु हुन्छ ? म जसरी नि तपाइँलाई पठाइदिन्छु' भने। राहतै भो।

उनले एउटा नौलो कुरो सुनाए। विराटनगरका लागि एउटा बस जान थाल्यो। डायलमा चाहिँ छैन, त्यसैले टिकट पहिले पाइँदैन। ब्याग लिएर जाने टिकट लिने, चढ्ने, लान्छ। यो बडो उत्तम कुरो थियो। त्यसै गरियो। बसपार्क पुगियो।

पोखरा-इटहरी
२९ कात्तिक, शुक्रबार, दिउँसो २ बजे। म ब्याग लिएर बसपार्क पुगेँ। काउन्टरले 'टिकट छैन' भनेपछि मैले तिनै नम्बरमा फोन गरेँ। काउन्टर स्टाफलाई कुरा गराएँ। उनले ९७०/- मा बी११ को टिकट तुरून्तै दिए।

बस चढियो तर, त्यो सीटमा अर्कै अधबैंसे सुकिला तराईवासी भलाद्मी विराजमान ! हेर्दा लाग्थ्यो कुनै कलेज पढाउने होलान्। उनलाई नम्रसँग 'मेरो सीट यहाँ हो । मसँग टिकट छ। मलाइ बस्न दिनुस्' भनेँ। छाड्न मानेनन्। उनले भने 'टिकट-सिकट म जान्दिन। बसेपछि यो सिट म छाड्दिन। जे गर्नुहुन्छ गर्नुस्।' 

यो बसले मिलाउने कुरा थियो, ती सज्जनसँग मैले बहस गरिँन। कन्डक्टर कहाँ थियो, कोहो थाहै भएन। आएपछि भनम्ला भनेर छेउकै अर्को सीटमा बसेँ।

बसका सबै सीट भरिए। बीचमा पनि यात्रु उभिए। खलासीले छतमा २५ जना छन् भन्दै गरेको सुनियो। साढे ३ मा बस हिड्यो। लेखनाथको तालचोक नजिकनजिक पुगेपछि टिकट जाँचकी आयो। मैले टिकट देखाएँ र, आफ्ना कुरा भनेँ। उनको प्रत्युत्तर गज्जपको आयो -'त्यो तपाइँको सीट होइन। काउन्टरले काट्न गल्ती गरेको हो। तपाइँ केबिनमा जानुस् बस्न।' 

तर, तुरून्त उठेर अघि निस्कने ठाउँ थिएन। बसिरहेँ । नारायणगढ पुगेपछि फेरि उनी आए र, मलाइ केबिनमा जान भने। मलाइ जसरी पनि घर जानु थियो। यात्राका सकस यसअघि पनि धेरैखालका अनुभव गरेकै हो। यो पनि नौलो होला भन्ने लाग्यो। तर, केबिन भरिएको रहेछ। म थपिएँ। टाउका गनेँ। चालकसित १५ जना। अडेस लाग्न नमिल्ने, कतै ढल्कन नमिल्ने। बडो गज्जपको बसाइँ !

चालक करिब ५०/५५ उमेरका थिए। बेला-बेला गुट्खा खाइरहने। उनीसँग थोरै कुरा भयो। पोखराबाट विराटनगर पुग्न १५० लिटर डिजल चाहिनेमा पुग्दो नभएको उनले बताए। चितवनका केही पम्पमा इन्धन पाइने आसले बस घुमाएका पनि हुन्। उनको ट्यांकीमा कति परसम्म धान्नेगरी छ भन्ने बताएनन्। तर, उनको कुराअनुसार गाडीले डिजल पाएन भने हामीलाई बाटैमा कतै रोक्न सक्थ्यो। मकवानपुरको वासामाडीमा खाना खाइयो। खाना ठीकै थियो। कुख्रा-भात २५०/-
  
बर्दिबासपछि प्रहरीको स्कर्टिङ सुरू भयो। पूर्व-पश्चिम राजमार्गमा अहिले धेरै पुलहरू जीर्ण छन्। दोहोरो गाडी पास हुँदैन। आन्दोलकारीका ढुंगाको डर सबैलाई। बसहरू रेस खेलेजसरी उछिनाउछिन गर्थे। अनि अगाडि पुल आए एकोहोरो तीनवटा गाडी कसरी पास हुनु। त्यहीँ रोकिन्थ्यो। केहीबेरमा कुरो मिल्थ्यो, अलि पालोमा जान्थे।

बाटो लामो हो। तर, निदाउन मिल्ने अवस्था थिएन। मसँग क्यामेरा र ल्यापटप बोकेको ब्याग सधैं साथ हुन्छ। यो यात्रामा आफ्नो सदाकाल बोकिरहने ब्याग गह्रौँ लाग्यो। कतै राखौं, फुट्ने डर, नराखौं ठाम छैन, आफ्नै साथ राख्नै गाह्रो। जसोतसो बाटो कटिरह्यो। लहान पुगेपछि बसका पछिल्ला केही सीट खाली भए। चमेरे सीट र भुइँमा निदाएकाहरूलाई उछिन्दै एउटा सीटमा सरेँ। बल्ल सञ्चो भो।

इनरूवा ल्यायो। झुम्काको एउटा पम्पले तेल देला की भनेर बसले १ घण्टा अड्यायो। पाइएन। अनि इटहरीसम्मका ४/५ वटा सबै पम्प चहार्दै आयो। इटहरीबाट खलासीले हामीलाई भन्यो, 'तेल छैन। दुहबीमा ब्लक छ, उता गाडी पनि जाँदैन। लु तपाइँहरू उत्रनुस्।' ठीकै छ, रमाइलै भो, ल्याउन त नजिकै ल्यायो। 

हिजै बिहानदेखि मोबाइल चार्जमा नराखेकाले म ब्याट्री-ब्याकपको भरमा चलाउँदै आएको। एक त सामसङको एन्ड्रोइड धेर ब्याट्री खाने, उसमाथि मलाइ थ्रीजी धेर चलाउन पर्नी !  म बाटामा फेसबुक र टुइटर नेटवर्कले भेटे जति ठाममा चलाउँदै आएँ। अन्ततः दुइटै ब्याकपले हावा खाए। बिहान आफू जागियो। मोबाइल सुत्यो। घरबाट फोन आइरहेथ्यो, उठाउन खोज्यो, मोबाइल कामै नगर्ने भो।

यौटा ब्याट्री-रिक्शाले २०० रुपैयाँमा विराटनगर लगिदिन्छु भन्यो। यो १९ किमि गाडीमा २५ रूपैयाँ भाडाको बाटो हो। तैपनि बिस्तारै हेर्दै-हावा खाँदै जान पाइने। आन्दोलनकारीले रिक्शा नरोक्ने भनेपछि चढियो तीनजना यात्रु। जे होस् घर पुग्न मैले महेन्द्रचोकबाट फेरि अर्को त्यस्तै वाहन लिन परो। २ सयमा। ६ किमि गाडी चल्दा १५/- भाडा लाग्ने हो। 

बन्द छ, लुट छ। जे गरे नि छुट छ, आफूलाई घर पुग्नु छ।

ब्याट्री-रिक्शावालको गन्थन 
हुन त म हरेक यात्रामा साथ रहेका अपरिचितसँग कुरा गर्दै हिड्न रमाउँछु। तर, इटहरी झरेपछि यात्राले ज्यान गलेको जस्तो लाग्याथ्यो। निन्द्रा पुगेको थिएन। २ सयमा हामीलाई चढाउन पाउँदा ठूलो पुरस्कार जितेको जस्तो गर्ने रिक्शावाल खुब खुसी देखिए।

करिब ५५/५६ उमेरका। तराईवासी। घर सोनापुर, सुनसरी। यहाँको एउटा कारखाना काम गर्दागर्दै छाडेर सिटीरिक्सा किनेको रे। सवा ३ लाखमा। ८ घण्टा चार्जमा राखे ब्याट्रीले ६० किमि धान्छ। दिनमा २ हजार/२२ सय आम्दानी। मधेस आन्दोलन सुरू भएदेखुन खुबै फस्टाएछन् यस्ता रिक्शा। उनका अनुसार इटहरीमा ४ हजार र विराटनगरमा १४/१५ सयवटा पुगिसके। किन्न सहकारीबाट ऋण पाइने। दिनदिनै कुदायो, ऋणको किस्ता घटायो। नयाँ-नयाँ भएकाले मर्मत खर्च उति नलाग्ने। 

मधेस आन्दोलन फिर्ता भए, यातायात सहज भए रोजीरोटीमा असर पर्ने चिन्ता उनलाई थियो। भन्थे -'हेर्नुस् अझै २ महिना बन्द चलिरहे मेरो ऋण सकिन्छ। रिक्शा आफ्नै हुन्छ।' ए बाबै मान्छेका अनेक अनेक कुरा छन् ! मैले सुनिमात्रै रहेँ। उनले आफूले गरेको कमाइले खान लाउन, ऋण तिर्न पुगेर बचत पनि गरिरहेको सुनाए। आफू धेरै होसले, राम्रो ड्राइभ गर्ने पनि बताए। हामी ३ यात्रुमध्येका २ लाई मुनालपथ उत्रनु थियो।
 
उनीहरूले हाइवेभन्दा केहीभित्र पुर्‍याइदिन भने। रिक्शावाल मानेनन्। 'लोकल जान्न । अर्कैमा जानुस्' भने। मैले केही पैसा थपिदिने भनेपछि तुरुन्तै राजी भए। दोस्रा ब्याट्री-रिक्शाचालकसँग खासै वार्ता भएन। बरू उनलाई महेन्द्रचोकमा रोक्दा सोधे- 'भाइ, काठमाण्डुबाट आउनुभाको ?' पोखराबाट भनेपछि 'ल हुन्छ । म जान्छु, मिलाएर दिनुहोला। बरू आउनुस् चिया पिउँ, अनि जाउँला' भने। 

यो बेग्लै आत्मीयता लाग्यो। उनले यतिउति नभनेकाले मैले घर पुगेर उनलाई पनि २ सय दिएँ। यसरी ब्याट्री-रिक्शाले महेन्द्रचोकबाट रानी पुर्‍याएको खास भाडा ५०/- रछ। मलाइ केही दिनपछि मात्रै थाहा भयो। तर, मसँग ब्यागहरू पनि थिए। घरैमा लगिदिएकाले बढी भाडा तिरेकाका अफसोच लागेन।

लु अब तलका प्रसंग चाहि ज्युँकात्युँ इकान्तिपुरको ब्लगलाई लेखेका कुरा छन्। घरबाट फिर्दाका कुरा।
***
प्रज्वलनशील बस यात्रा
'केही हुन्न। किन डराउनु हुन्छ ! मिलाएरै राखेको छ। नडराउनुस्,' चालकले यति भनेर आश्वस्त पारे पनि मलाइ भने यात्रा अवधिभर दुई थान ब्याग र चामलको बोराको चिन्ताले छाडेन। विराटनगरबाट पोखराको यात्रा थियो।

काउन्टरको स्टाफ चिनजानको भएकाले टिकट पाउन अप्ठेरो परेको थिएन। उनले भनेकै दिन, सजिलो सिटको टिकट मिलाइदिएका थिए। यसपटक टिकट लिँदा नौलो लागेको कुरो थियो- काउन्टरले बस चढ्ने बेलामा मात्रै टिकट दिनु। कुन बसको पालो पर्छ, जान्छ/जाँदैन भन्नेमा बुकिङ नै अनभिज्ञ हुने अवस्था रछ।

घरबाट कार्यक्षेत्र फिर्नको हतारो थियो। साँझ ५ बजे आइपुग्नुपर्नेमा म १ घण्टा अघि नै पुगेको थिएँ। बसले भने ७ बजेमात्रै बसपार्क छाड्यो। ४ किलोमिटर अघि बढेपछि रोकियो। कञ्चनवारी मास्तिरको धिताल पेट्रोल पम्पमा लाइनमा बस्यो। करिब ५० वटा बस लाइनमा थिए। हाम्रो बसको पालो ३ घण्टापछि मात्रै आयो। यात्रुहरू भनिरहेका थिए -'इटहरीबाट स्कर्टिङमा ११ बजेमात्रै हिड्छ।'

मसँगैको सिटमा वीरगञ्जमा काम गर्ने सप्तरी, बरमझियाका एकजना भाइ परेका थिए। सँगै पछाडिको सिटमा राजबिराजका दुई इञ्जिनियरिङका विद्यार्थी थिए। उनीहरू पोखरा विश्वविद्यालयले लिने परीक्षाका लागि हिडेका रहेछन्। तीनैजनाले सप्तरीको एरियामा लामो दूरिका बस नरोकिने हुनाले विराटनगर आएर चढ्नु परेको सुनाए। अझ पथलैया जाने भाईले पोखरासम्मकै एक हजारको भाडा तिर्नु परेको गुनासो गरे। उनले भने, 'एक त घरबाट विराटनगर आएरमात्रै बस चढन् पाइन्छ, त्यहीमाथि काम बन्द हुँदा पनि नपुगी नहुने अवस्था छ। अनि भाडा जति लिए पनि पुग्न पाए हुन्छ भन्नु परेको हो।' उनी दसैंमा घर आएर अहिले फिर्दै गरेका थिए।

हालको मधेस आन्दोलनयता लामो दूरिका बसहरू सप्तरीका एरियामा रोकिँदैनन्। कतै केहीबेर रोकिए भने पनि ती प्रहरीको स्कर्टिङको पालोमा छन् भन्ने बुझे हुन्छ। डिजल हाल्ने पम्पमा लागेको निकैबेरमा बाहिर झरेर हेरियो। त्यहाँ उही बस काउन्टरका स्टाफ भेटिए। उनले भने -'हेर्नु दाइ, कति अप्ठेरो छ भने दुइटा बसले पाउने तेल एउटालाई मिलाएर दिन लाएपछिमात्रै विराटनगरबाट पोखरा पुग्न सकिन्छ। अहिले त्यही गरेको। अर्को बस थन्किएको छ।' 

बाटामा आन्दोलनकारीले ढुंगा हान्छन्, बसलाई क्षति पुग्छ भन्नेमा अब फिक्री गरेर बस्ने अवस्था नभएको उनले बताए। 'पेटले मान्दैन, गाडी नचलाइ के गर्ने ?,' उनले भने, 'अब तेलको संकटले पो त्यो आन्दोलनभन्दा अप्ठ्यारो छ।' यातायात मजदुर संगठनका पदाधिकारी बसहरूको सूची लिएर तेल हाल्ने पालो मिलाइरहेका थिए।

एक बोरा चामल, लुगाफाटा र किताब भएका दुईवटा ब्याग मलाइ बस कर्मचारीकै सल्लाहमा पछाडि डिक्कीमा राख्न लगाइएको थियो। बस तेलको लाइनमै रहेका बेला ट्राफिक प्रहरीको एउटा जीप आयो। करिब ३० लिटर पेट्रोल रहेको जर्किन त्यही पछाडिको डिक्कीमा राख्न लगायो। त्यो शायद पोखराका कुनै आफन्तका लागि पठाएका थिए। मेरा सामान रहेकै ठाउँमा त्यो पेट्रोल भरिएको जर्किनसँगै बोरामा बाँधिएका ४/५ वटा ग्यास सिलिण्डर राखिए। उत्रेर हेरेका हुनाले मलाइ त्यो पेट्रोल पोखियो भने त मेरा सामानलाई जोखिम हुन्छ भन्ने लागेको हो। 

पछाडिको डिक्की भरिएर पुगेन, अगाडि बायाँतिरको डिक्की र बसभित्रै पनि बोरामा सिलिण्डर लोड गरियो। पश्चिममा यस्तै सामानसहित हिडेको एउटा बस दुर्घटनामा पर्दा आगलागी भएर यात्रु जली मरेको खबरले मगजमा फन्को मारिरह्यो। थोरै बस चलेका छन्। जोखिम देखेर भैगो म यो बसमा जान्न भन्दा पनि विकल्प छैन। चालकसँगको छोटो कुराकानीपछि मैले आफ्नो डर बताएर गलफती गरिरहनु पनि उचित थिएन। किनभने इन्धन हाहाकारको अवस्था बुझेरै होला अरू कोही यात्रुले पेट्रोलियम पदार्थ बसमा राख्दा गुनासो गरेको सुन्न मिलेन।

***
वाइफाइ थियो, अन गरेन। गीत बजाएन। इटहरीबाट बस करिब साढे ११ बजे पश्चिम हुइकियो। बरू यात्रुलाई सुरूमै भनिएको थियो -'इटहरीबाट बस रोकिने एकैपल्ट पथलैयामा मात्रै हो। बीचमा कहीँ पनि रोकिँदैन है।' यो सूचना गजबको थियो। मलाइ सप्तरी, बरमझियाका पेँडा पसले र लालबन्दीका खानाका होटलहरू हिजोआज के गर्दा होलान् भन्ने लागिरह्यो। राजमार्गका यस्ता व्यापारमात्र छैनन्, यी क्षेत्रका यात्रुले पनि यात्राका लागि के गर्दा होलान् ! अनि सामान्य अवस्थामा हेटौंडा, चितवन, काठमाडौं र पोखरा जाने बसले मालसामान पनि बोक्थे। हुटमा केरा हुन्थ्यो, खसीबोका र केरा, फलफूल पनि बोक्थे। अहिले बोक्तैन रछन्।

हामी चढेको बसले डिक्कीमात्र होइन, भित्र पनि पस्न-निस्कनै अप्ठेरो हुनेगरि ग्यासका सिलिण्डर हालेको थियो। कथंकदाचित दुर्घटना भइहाले झट्ट निस्केर बाहिरिने ठाउँ सजिलो थिएन। त्यो देखेर मन चिसो भइरह्यो। दुर्घटना आफैं परेर सिकिने पाठ होइन, सवारी र यात्रु दुवैले सावधान रहनु पर्छ। सावधान हुने चिन्ताले मलाइ भने निन्द्रा परेन। छेउको भाइ उसको गन्तव्य नआउञ्जेल घुरिरहे।

पेट्रोलियम पदार्थ सामान्यतः यात्रु सवार गाडीमा ओसारपसार गर्ने वस्तु होइन। यदि हुन्थ्यो भने कुरो अर्कै हुन्थ्यो। तर, यो बीचमा कहीँ कतै बसले यात्रुबाहेक के-के बोकेको छ भनेर चेकजाँच भएन। अघिल्लो साता पोखरेली मित्र गनेस पौडेलले सुनाएका थिए। उनका लागि आफन्तले ल्याइदिएको एक ग्यालन पेट्रोल बसमा चेकजाँच गरेर प्रहरीले हेटौंडामा खोसेको थियो। तर, म सवार बसमा त पेट्रोल प्रहरीले नै राख्न लगाएका थिए। यो अभावको रन्कोमा कसले किन पो चेकजाँच गर्थ्यो !

यतिका लामो दूरिमा यात्रु चढाउन र झार्न भनेर बस साँच्चै रोकेन। यो दूरिमा कुनै यात्रुले 'भोक  लाग्यो, दिसा-पिसाब आयो, रोकौं' भनेको सुन्न पाइएन। योपल्टको यात्रामा भिन्न र रमाइलो लागेको कुरा यात्रु अधिकांशले आफ्ना खानेकुरा, पानी बोकेका थिए। शौचालय जानुपर्ने खाँचो चाहिँ कसरी व्यवस्थापन गरे भन्ने थाहा भएन।

इटहरी-पथलैया बीच राजमार्गमा बस कतै थोरैबेर अडियो भने ती ठाउँमा प्रहरीको स्कर्टिङका एरियाको पालो फेरिएर अर्को जिल्लाको टोलीलाई कुर्नका लागि मात्रै थिए। जसमा यात्रुले उत्रन मिल्दैनथ्यो। बाटामा देखिन्थ्यो- प्रहरीको एउटा पिकप गाडी अगाडि लाग्थ्यो, त्यसलाई पच्छ्याउँदै बस र मालवाहक गाडी पछिपछि लाग्थे। एउटाले थोरै गति घटाए अर्को गाडी अघि बढि जान्थ्यो। गति बढे दाँया-बायाँ रेस खेलाए पाराले बसहरू एकअर्कोलाई उछिनेर अघि जाने होडमा देखिन्थे। धेरै गाडीका अग्र भागका सीसा फुटेका छन्। 

केहीले चालक अघिल्तिर सानो भाग सीसा काटेका छन्। केहीले अगाडि ढुंगा छेल्न सीसामाथि जाली लगाएका छन्। स्कर्टिङबीचको यात्रा हेर्दा-खेप्दा द्वन्द्वग्रस्त मुलुकमा भएको भान पर्छ। पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व यसैगरि रात-रात सयौंको संख्यामा सवारी चल्न भने छाडेको छैन।

***

पथलैया नाघेपछि बल्ल स्कर्टिङको झन्झट हट्यो। परीक्षा दिन हिडेका दुई विद्यार्थीले मधेस आन्दोलनले मधेसका विद्यार्थीको पढाइमा असर पारेको गुनासो गरे। एउटाले भने 'यति लामो बन्द भएपछि अरू ठाउँको उही लेवलको स्टुडेन्टसँगको कम्पिटिसनमा मधेसका त पछि परिहाल्छन् नि।' अर्काले भने 'नेतालाई चिन्ता भए पो।'

मधेसको आन्दोलनले पढाइमा पारेको असरको चिन्ताबाट म पनि मुक्त थिइँन। बन्दको ४५ दिनपछि छोराको स्कुलबाट फोन आएको थियो -'बच्चालाई आउट ड्रेसमा भोलि बिहान ७ बजेदेखि स्कुल पठाइदिनु। आन्दोलनकारीले चलाउन नदिएकाले बस लिन आउँदैन।' मेरो घर र त्यो स्कुलको दूरि ५ किमि छ। सधैं बसमा जाने केटो अब कसरी जाला भन्ने चिन्ता पछि साइकल किनिदिएर दुर गरियो। सधैं कुदाइरहने बानी नपरेको १२ वर्षे केटो अबका दिन घर ढिला पुगे कतै दुर्घटनामा पर्‍यो की भन्ने चिन्ता हुन्छ। हुन पनि चोटै पारेर २ पल्ट लडिसक्यो। मेरो त यसरी भए पनि चलेको छ तर, अरू साना नानीहरू भएका अभिभावकलाई अझ कति गाह्रो होला भन्ने सोच्दा 'मलाइ ठीकै छ' भन्नुपर्छ।

साँझ ५ बजे चढेको बस बिहान ९ बजे जब मुग्लिन काटेर पोखरातर्फ सोझियो, अनि लाग्यो-'ठीकै छ। सुरक्षित पुर्‍याए त भैगो।' बाटामा अब बसले विभिन्न ठाउँ रोकेर सिलिण्डर झार्दै गयो। अनि बुझियो, राजमार्गका होटलहरूले यस्ता बसलाई ग्यास ल्याइदिन अह्राउने रहेछन्। तनहुँ, विमलनगरमा खाना खान आइपुग्दा झण्डै ११ बजेको थियो। यहाँसम्ममा ती बसभित्रका बोरामा बाँधिएका प्रज्वलनशील फलामे भाँडा सबै उत्रिसकेछन्।

१ बजे पोखरा बसपार्कमा रोकिएपछि म हतार हतार पछाडि डिक्की हेर्न पुगेँ। मेरा सामान सुरक्षित थिए। पेट्रोलको जर्किन जसरी राखिएको थियो, उसैगरि सुरक्षित नै रैछ। मेरा सामान झारिदिएर खलासी भाइले सोधे -'दाइले पनि पेट्रोल ल्याउनु पर्थ्यो नि। यहाँ कस्तो हाहाकार छ।' म मुस्काएँ, केही भनिँन। प्रज्वलनशील सामानसहितको यात्रामा पनि सुरक्षित आउन पाएकोमा आनन्द लागेको थियो। ज्यान सुरक्षित भए नै मान्छे अभावसँग लड्दै गर्छ भन्ने लाग्यो। 

Friday, September 11, 2015

भीडको मनोविज्ञान

ट्वीटरमा लेख्न मन लागेको हो। १४० भित्र संक्षेपीकरण गर्न सक्छु जस्तो लागेन। आज एकजना पूर्व सिडिओसँग भेट भयो। लामो कुराकानी भयो। 
कुरैकुरामा उनले सोधे - प्रहरीको गोलीले हुलदंगामा सामेल नै नभएका मान्छे मर्छन् नि थाहा छ ?
म - थाहा छ । हुन्छ यस्तो ।
उनी - किन मर्छन् थाहा छ ? आन्दोलनमा सरोकार नै नभएका त नमर्नु पर्ने होइन ? 
म त एकछिन अलमलिएँ । साँच्चै यो पक्ष विचारणीय छ ।
 
उनले नै भने - हेर्नुस् भीडको मनोविज्ञान बुझेर प्रहरीले काम गर्छ। गर्नुपर्छ। गरेन भने उ काम लाग्ने प्रहरी होइन। 
उनले बिस्तारसँग बताए।

प्रहरीले भीडमा गोली चलायो भने त्यो गोलीले एकजनामात्रै होइन उस्तै पर्दा सात जनासम्म ढाल्न सक्छ। र, भीडमा गोली चलाउने पनि होइन। भीडलाई तर्साउनु पर्छ। भीडमा गोली चलाए झन भयावह अवस्था हुन सक्छ। त्यसैले छेउछाउ, अन्त कतै चलाउँछ। मान्छे तर्साउँछ। एक-दुइ कसैको ज्यान गएर भीड जोगिन्छ भने जोगाउनु पर्छ भन्ने हुन्छ। तर्साउने काम गरिन्छ।
  
***
म सोचिरहेँ अमिल्दा कुरा धेरै छन् । प्रश्न गर्ने कोण धेरै छन् । अवस्था हेर्दा-पढ्दा मन पोल्छ । 

Monday, September 7, 2015

मिस्त्री

केही घण्टाअघि 
-एउटा त मज्जाले गुड्नेका लागि कति चल्छ ! ६ महिना होइन ?
- हो ६ महिनाभन्दा बढि टिक्दैन 
-मर्मत गर्न पनि समस्यै छ । हेर्नुस्न मेरो कति ठाउँ तारले, कति ठाउँ कपडाले बाँधेको छु ।
एकले मलाइ ती बाँधेर काम चल्ने बनाएका ठाउँ देखाए । म बोलेँ - किन र मर्मत गर्न पाइँदैन ? जसले तपाइँहरूलाई वितरण गर्छन् उनीहरूले सर्भिसिङमा मद्दत गर्दैनन् ?
उनले भने - गर्दैनन् । हामीले साइकल मर्मत गर्नेकोमा पुग्यो । त्यसले के चिज हो भनेर खोलखाल पार्दापार्दै केही सामान भाँच्छ की केही न केही अपुरै बनाइदिन्छ । हामी चढ्नेलाई बरू अलि आइडिया हुन्छ की यो के चिज हो, कसरी बनाउने, बिग्रेको के हो । हेर्दा समस्या जस्तो नबुझिने हाम्रो समस्या हामीसँगै छ । कता भन्न जानु ! जसरी हुन्छ बनायो, काम चलायो । अर्को कसले बाँड्ला र साटौं भनो पर्खियो ।

चिनेका टाउका नभेट्दा
बिजुली बेटुंगे छ । गइरहन्छ । गरिरहेको काम अपुरै हुन्छ । अफिसमा जेनेरेटर नभएको होइन । सानो-सानो छ । कति पावरको थाहा छैन । गार्डलाई चलाउन भन्छु । २ घण्टा पुगेपछि आएर भन्छन् - 'सर, २ घण्टा भो । तात्यो । २ घण्टाभन्दा बढि नचलाउनु भन्ने आदेश छ ।' यति सुनेपछि के लेखुँला, गरूँला भनेर फुराएको जाँगर हराउँछ । 
खाल्डाको बड्का अफिसबाट फोन आउँछ - खोइ यार समाचार ? माल-मेटेरियलमा बल गर्न परो । सुस्त हुन भएन । 
आउँछ-आइहाल्छ भनो । लाइनले पार्ने यी मसिना सास्तीका कथा के गरिरहनु । हत्ते छ । जिन्दगी । 
अँ साँची मास्तिरको संवाद २ जना अपांगसँगको हो । मलाइ दिक्क लागेका बेला एक्लै बाहिर निस्कन्छु । कहिले मोटरसाइकलमा । कहिले पैदलै । केही घण्टाअघि बिजुली तनाव मत्थर पार्न म निस्केँ । निस्किगएँ तर, जानु पो कता यो शहरमा ? सभागृह पुगेँ । 
जननी एफफमको आयोजनामा तीज महोत्सव चलिरहेको थाहा थियो । भित्र पसेँ । घरेलु सामानको मेला पनि आयोजना गरिएको कार्यक्रममा चिनेका टाउका एउटै भेटिँन । चिनेकाहरू भेटिएनन् भने त्यतिकै बकुल्लो भएर कता उभिनु ? निस्केँ । बाहिर एकजना ह्वीलचियरमा बेलाबेला देखिने अलि पाका उमेरका दाजै देखिए । हात उठाए । हँसिला भए । मलाइ नि नौलो भीडमा के गरौं भएराको । 
बाहिर गएर उनीहरूको छेउमा एउटा खाली कुर्सीमा बसेँ । अनि मलाइ अघि हात उठाउने दाइसँग यसो अौपचारिक टाइमपास कुराकानी त गर्नै परो । 

कुरा नहुँदाका कुरा
उनीजस्ता अर्का एक पनि सँगै थिए । र, अर्का एक सपांग पनि । म ती दाजैलाई नामले चिन्दिन । समाजमा सबैलाई नाम सोधीसोधी कहाँ चिनजान हुन्छ र ! पहिले पहिले पनि यही ठाउँमा उसैगरि बसेको देखेको हो । आज पनि उसैगरि देखेँ । 
मैले सोधेँ - के दाइ खबर ?
उनले भने - के हुनु यसो टाइमपास । 
यसो मुस्काएजस्तो गरियो । कुराको अरू प्रसंग थिएन । केहीबेर मौन बसियो । नजिकै चिसो पेयको स्टलबाट एउटी राम्री मैंया आइन । हातमा चारोटा बोटल लिएर । दुइजना अपांगलाई दिइन र हामी दुइ सपांगलाई अलि संकोच मानेर दिइन । मलाइ पनि लिन संकोच लाग्यो । 
मैले ती दाइलाई भने - म पनि लिनु र ? 
उनले भने - के हुन्छ त ! लिनुस्न् । 
ठीकै छ । सेक वेल बिफर यूज लेखेको सुन्तला रंगको झोल घटघट पारियो । सबै चुप । ती सपांग बोले - कार्यक्रमको तामझाम ठूलो छ । फाइदा भा होला !
अपांग१- भाको होला । भित्र ठूलो पोस्टर छ त्यसमा रेडबुलको फोटो छ । त्यसले स्पोन्सर गरेको भनेपछि यिनलाई घाटा हुने कुरै छैन ।
अपांग२- स्टल पनि पैसा लिएर राख्न देका हुन् । कहाँबाट हुन्छ घाटा ?
केहीबेर फेरि चुप बसियो । 
अनि अपांग२- हेर्नुस् हामीजस्ता असक्त भए पो दाता खोज्न नि गाह्रो । माग्दा नि कसैले पत्याउँदैनन् । माथिल्लो तला उक्लेर जान सकिँदैन । बाटामा भेटेर भन्ने हो । सहयोग दिनेले दिए नि सय/पचास । देख्नेले ल हेर यो त माग्न थालेछ भनिहाल्ने । 
मैले भने - महिलाको रेडियोले आयोजना गरेको रैछ । उनीहरूको टिम छ । यस्ता आयोजना गर्न सहयोग खोजे होलान् । अब महिला, शिक्षित, पत्रकार आदिले भनेपछि बिज्ञापन कता दिउँ भन्नेले त नपत्याइ सुख नि हुन्न । सहयोग गरिहाल्छन् नि । गरेकै होलान् ।
तीनैजनाले सहमति जनाए । फेरि चुप लागियो । कुराको प्रसंग हरायो । 
मैले भने - अफिसमा लाइन गयो । दिक्क लागेर यता आएको । 
तीमध्येका एक बोले - होइन होला । यता त आयो । मैले भर्खर जेनेटर बन्द गरेको ।
यति भनेपछि मैले उनी बिजुलीको काम गर्ने मान्छे रहेछन् भन्ने लख काटेँ । 
अपांग १- तपाइँको रूट फरक परेको होला । सबैतिर एकैपल्ट कहाँ काट्छन् । 
मैले बोलेको ठीक हो भनिरहन परेन । 

ह्वीलचियर संवाद
अपांग१ ह्वीलचियर छाडेर कुर्सीमा बसेका थिए । जसलाई मैले चिनेको थिएँ । शायद कतै केही काम गर्दा होलान् । म मर्निङवाक निस्कँदा कहिलेकाही सभागृह अगाडिको एउटा चियापसलमा रोकिन्छु । त्यहाँ टेबलमा पत्रिका हुन्छन् । चिया पिउन बसेका मान्छेका मोबाइलमा एफएम बजिरहेको हुन्छ । पसले बाबै गफी छन् । रमाइलो कुरा गर्छन् । चिया पसलमा देश, राजनीति, शहर र विदेशदेखि मान्छेका बिग्रेका घरबारका कुरासम्म हुन्छन् । मैले यी ह्वीलचियरमा बस्ने दाजैलाई चियाको पालोमा देख्छु । एकअर्काको नाम सोध्या छैन । उमेर ५५/६० जति हुँदो हो ।  
अब सभागृहको अहिलेको कुरा । अर्का अपांग उनको ह्वीलचियरमै थिए । हामी कुर्सीमा तीनजना । 
मैले सोधेँ- यसको चक्कामा हावा हाल्नु पर्छ/पर्दैन ? अनि बिग्रँदा कसरी मर्मत हुन्छ ?
अपांग१- पर्दैन । एकपल्ट हालेपछि सधैं चलेको छ । बिग्रने यसको ब्रेक हो । 
अपांग२ - साह्रै गाह्रो छ । सरकारले मर्मत केन्द्र खोलिदिनु पर्ने ।
 उनले बताए- कास्कीमा हजारजना हाराहारी यसरी ह्वीलचियरमा हिड्नेहरू छन् । नेपालमा वर्षमा सवा ९ लाख ह्वीलचियर बाहिरबाट ल्याइन्छ । नेपालमा कारखाना खोले नि हुने । चल्छ । एउटा ह्वीलचियर ढिलोमा १ वर्षमा फेरिन्छ । धेरै कुद्नेको ६ महिनामै । उमेर र ज्यानको आकारअनुसार साइज साइजका चाहिन्छ । 
अपांग२ ले उपचारका लागि इण्डिया पनि पुगेर आएको सुनाए । उता ट्राइसाइकिल चढ्छन् । हाम्रोजस्तो ह्वीलचियर देख्ता अचम्म मान्छन् । सोध्छन् - ये हजार ग्यारह सौ मे आता होगा ?
उनले भने - म त १ लाख पड्ता है । तुम्हारा ट्राइसाइकिल मिल्ता होगा ग्यारह-बारह सौ मे भन्दिन्छु । छक्क पर्छन् । हामी विदेशका यस्ता साधन चढ्छौं, इण्डियामा उनीहरूलाई जस्तो चाहिन्छ उस्तै बनाउँछन् । हाम्रो आरामदायी भनेर के गर्नु । उनीहरू जसरी ज्यानले सकिने मेहनत गर्न लाउने खालको छैन । विलासी छ ।

अपांग१ धेरै बोलेनन् । बीचबीचमा 'हो/होइन, अँ अँ' भन्दै रहे । 
अपांग२ बताउँदै गए - हेर्नुस्, यसमा हिड्दा सबैभन्दा अप्ठेरो कुरो मर्मतको चिन्तामात्रै होइन अरू पनि छन् । हेर्दा सजिलो केही छैन जस्तो लाग्छ । ट्वाइलेट गइन्छ, बाटामा फोहर कुल्चँदै गुडिन्छ । हातले चक्का घुमाउँदा हातैमा फोहर टाँसिन्छ । सबै ठाउँ झट्टै पानी पानी पाइँदैन । अनि हात फोहर भाको बिर्सेर कतिपल्ट त्यही हातले खाइन्छ । 
***
लामो कथा गरे । आधा/पौने घण्टा बसियो । अनि 'फेरि आउँला है दाजु हो' भनेर हिँडियो । उनीहरू पनि खुसी देखिए । 


Tuesday, September 1, 2015

काम सानो कहाँ हुन्छ र


समाचार जे बनाए पनि हुन्छ । विषय चयन र त्यसको प्रस्तुतिका भाषामा भर गर्छ - हामीले के दिन खोजेका हौं र, कति पठनीय छ । यहाँ मुन्तिर एउटा फीचर छ । मलाइ मन परेको विषयमाथि । काम कुनै पनि गरे हुन्छ । जसले अरुलाई अपराध लाग्दैन र, इमानदारीको पेसा हो, त्यो गरिखान पर्छ । मलाइ त्यस्ता विषय मन पर्छ । सबैले मेरै रोजाइका विषयमा लेख्नु पर्छ भन्ने होइन तर, मुलुकमा हुनेखाने र हुँदा खानेका कुरा चल्दा यस्ता मान्छेहरुका कुरा लेखिनुपर्छ जस्तो लाग्छ, जो देशमै बसेर गरिखान सकिन्छ, संघर्षबाट भाग्न हुँदैन, स्थिति फेरिन्छ भन्ने उदाहरण हुन् । लेख्ने भन्दैमा थोरै गरेर हामीले कहिलेकाही पगरी लाइदिन्छौं, जो पछि ती पात्रलाई भारी हुन्छ । उसको सँगै हाम्रा नि शिर निहुरिन्छ । त्यसो चाहिँ गर्न हुँदैन ।

पोखरा आएपछि मर्निङ वाकमा निस्कँदा एउटा पसलमा १४/१५ वटा साइकलमा मुडा, कुचो, चटाइ आदि घरेलु उपयोगका सामान लोड भइरहेको देखिने । मान्छेका हतार । लोड गर्‍यो, हिड्यो । खुब रमाइलो दृश्य । गन्ती र लेनदेनमा ती पसले साउजीको हतार पनि हेर्न लायक ।

अनि म सधैं जाने डेरीमा दूध लिन मान्छेका लाम । भैंसीको दूध लिटरको सय, गाइको ८० । अलि ढिला पुगे दुवै फिनिस । भाडा किन्न जाने पसलमा तराइ मूलका नम्र साहु । चरक अस्पताल नजिकैको सस्तो बजारका फलफूल पसले । म तरकारी किन्दा उनकोबाट एकाध किलो स्याउ पनि किन्छु । उनले सधैं भन्छन् 'बोहोनी त गरिदिनुस् ।' मलाई उनको बानी अचम्म लाग्थ्यो । बोहोनी गरिदिउँ भनेर स्याउ किन्यो, आँप पनि बोहोनी भाको छैन, अनार पनि, केरा पनि भन्ने । 

विराटनगरमा मेरो घर नै चौधरी टोलमा छ । मलाहा चौधरी । वरपर निकै घर ठाकुर छन् । तिनका सैलुन छन् । बजारमा मैले सधैं कपाल काट्नेमध्येका दुइ ठाउँ थिए/छन्- ओमप्रकाश भाइ र मामाजीको सैलुन । विराटनगर जुट मिल बन्द भएपछि मिल्स एरियाको बजार छिन्नभिन्न छ । ओमप्रकाशको सैलुन रहेको पसलको लाइनका घर भत्काइए । उनी बोडर छेउ पुगेका छन् । अब म मामाजी कहाँ जान्छु/जान्थेँ । १८० रुपैयाँमा दारी, कपाल काट्न मिल्ने । मालिस पनि गरिदिने ।
 
पोखरा आएपछि सहकर्मी शिव शर्माले त्यस्तै एउटा मान्छे भेटाए । दिलु सिंह । रमाइला । गफी । आउजाउ गरिरहँदा यहाँ मलाइ उनी नौलो लाग्न छाडेको छ । उनलाई फोन गरेर 'लु म आउँछु, भीड त छैन होला नि' भन्दै हेन्सम पार्लर गए हुने । साना पसल खोल्दा सैलुन । त्यसैलाई अलि बढि लगानी थपेर सञ्चालनमा ल्याए पार्लर भनिने रहेछ ।
 
यी वरपरका गरिखाने पेसाका सोझा मान्छे राजनीति र देश चिन्ता पनि गर्छन् । कुरा सुन्छु । विचार आयो - यीमध्येका केही मान्छेका कुरा लेखौं । सहकर्मी शिवजीका साथ उक दिनभरि घुमियो । फलफूल, सैलुन, घरायसी सामान र भाडाका पसलमा गइयो र, उनीहरूका नितान्त व्यक्तिगत कुरा सोधियो । अनि बन्यो समाचार ।
 
सधैं लाग्छ, हाम्रै वरपर काम छन् । थरिथरि पेसा छन् । इलमका काम सिक्नेले भोको बस्नु पर्दैन । र, इलम नसिके पनि सानातिना व्यवसाय गर्नेले पनि जीवन राम्रै गुजार्छन् । अलि नियालेर हेरे विभिन्न पेसा गर्न मान्छेहरू घर-परिवार, गाउँ छाडेर नयाँ ठाउँ आएका छन् । खाली सिसी-पुरानो कागजको आवाज नै सम्झनुस् । की त सम्झनुस् तरकारी, फलफूल र चटपटेका आवाज । के तपाइ-हामीले आफ्नै गाउँका तन्नेरीलाई मोटरसाइकल, कुकर र ग्यास स्टोभ मर्मतको पसल खोलेर बसेको देखेका छौं ? यी पनि त राम्रै आम्दानी दिने पेसा हुन् ।

मलाई साग फलाएर लाख, कुखुरा पालेर करोड, टमाटरले मनग्ये आम्दानी आदिका समाचार दिँदा हाम्रा प्रस्तुति ठीक लाग्दैनन् । मान्छे कुनै पनि पेसामा टिकिरहन निकै उतारचढाव झेल्छ । हामी सफलताका कथामात्रै टिप्छौं, जोखिम र, उसले खाएका हण्डरका कुरा हुन्नन् । समाचार पढेर कसैले 'आहा ! यो पो गर्नु परो । आम्दानी गज्जप रछ' भन्यो भने हात हालेपछि सराप्छ । पेसाका जोखिमबारेका जानकारी खोइ देको ?  

त्यसैले धेरैजसो यस्ता खबर लेख्दा सतप्रतिसत सही सूचना पाठकसम्म पुग्दैन । कसैको सफलताका कथा लेख्दा त्यो चरणसम्म आइपुग्न उसले गरेर संघर्षका कुरा दिनै पर्छ । कतिपल्ट लेख्दा छुट्छन् । कतिपल्ट लेखे पनि वाक्यका बुनाइ नजान्दा सम्पादन गर्ने साथीको काँटछाँटको सिकार भइदिन्छन् । 

खबर ती मात्रै होइनन् जो फ्रन्ट पेजमा आउँछन् । भित्री पानामा पनि गहकिला कुरा हुन्छन् । विषयचयन गर्दा प्राय सामान्य मान्छेका कुरा भित्री पृष्ठमा पर्छन् । जो धेरैका दृष्टिमा छुट्छन् । पढेकाहरूका लागि ठीकै छ । नपढेका वा छुटाएकाहरूका लागि यो पनि भित्री पृष्ठमा प्रकाशित भएको एउटा खबर हो । नितान्त सामान्य खबर । 

अब मूल खबर

***
काम सानो कहाँ हुन्छ र !

पोखरा- पर्यटकीय नगरी भन्दैमा यहाँका सबैको व्यवसाय पर्यटन होइन । पश्चिमका विभिन्न जिल्ला सामान पठाउनेसँगै धेरै फुटकर व्यापार छन् । र, तिनमा लागिपरेकाहरू धेरै छन् । केही भिन्न पेशा व्यवसायमा लागेका तन्नेरी, जसले गर्दै-सिक्दै व्यवहार चलाउन जाने । उनीहरूको लगनशीलताको  कहानी रमाइला छन् । फलफूल पसले राजुप्रसाद त्रिपाठी, पार्लर सञ्चालक दिलु सिंह, घरायसी सामानका विक्रेता रामचन्द्र सञ्जेल र भाँडा पसले निरज सोनी गरिखाने मामिलामा उदाहरणीयमध्येका छन् ।

***
'गाउँबाट आएकाहरू देख्यो की केही भनिहाल्लान भनेर अप्ठ्यारो लाग्थ्यो । देख्नेहरूले पनि भनिहाल्थे - लु हेर मुखियाको नाति सडकमा बसेको !', यहाँको चरक अस्पतालनजिकै सस्तो बजारका फलफूल पसले राजुप्रसाद त्रिपाठीले भने, 'व्यापार यस्तो कर्म रछ गर्न जाने दिन फेरिन्छन्, नजाने बिल्लीबाठ भइने ।'

कास्कीको कालिका-४ का त्रिपाठी सस्तोबजारको छाप्रोमा पसल थाल्नु दुर्इ वर्षघिसम्म सडकमा थिए । ठेलामा व्यापार गर्थे । 'म प्रहरीमा थिएँ । २०६२ मा जागिर छाडियो', उनले भने, 'त्यही साल सासुको सल्लाहले ठेला किनेँ, बाउबाजेले नगरेको पेसा फलफूल व्यापारमा हात हालेँ ।' 

स्नातकसम्म पढेको मान्छे गाउँमा राम्रै इज्जत । सडकमा व्यापार थाल्दा सुरू-सुरूमा निकै अप्ठ्यारो भएको उनले बताए । 'हेर्नुस् हाम्रो समाज यस्तै छ । पैसा खर्च गर्न जान्ने, सीप गरिखाए पेसाको स्तर हेर्ने,' उनले भने, 'गरिखान लाज मान्न हुँदैन । २० हजार हालेर मेरो जसरी काम गरेपनि ठाउँ ठीक भो र मेहनत गरे दिनमा हजार रूपैयाँसम्म कमाउन सकिन्छ ।' ४० वर्षीय त्रिपाठीले पहिले पोखरा-४ गणेशटोलमा घर बजाएका छन् । दुई छोरीलाई स्कुल पढाएका छन् । श्रीमान-श्रीमती पालोफेरो पसल चलाएका छन् । 

उनले भने 'हामीलाई एकैपल्ट धेरै आम्दानी हुने पेसाको आस हुन्छ । तर, गर्दै जाँदा सानो पेसाबाट पनि राम्रै गुजारा हुने मैले आफैं गर्दै सिक्दै जानेको छु ।' बिक्री हुने भनेर किनेका फलफूल नबिक्दा सड्ने, खेर जाने भइदिँदा सुरूसुरूमा निराश भएपनि बिस्तारै यो पेसाको गाह्रोसाह्रो व्यवहारले सिकाएको उनको भनाइ छ ।

*** 
स्याङजाको मालुंगा-८ का ३६ वर्षीय दिलु सिंह एक दसकदेखि कपाल काट्ने पेसामा छन् । पृथ्वीचोकनजिकै उनको हेन्सम पार्लर छ । बरालिएर हिड्ने दिलुले आठ कक्षापछि पढेनन् । केही वर्षभारतको दिल्ली गएर काम गरे । फिर्दा कपाल काट्ने सीप सिकेर आए । घर बसेनन् । विदेश जाने चक्करमा लागे । म्यानपावर जाली परेकाले उनको डेढ लाख रूपैयाँ गुम्यो तर, जान पाएनन् । 

पोखरामा ब्युटीपार्लर चलाउने चिनु गुरूङकहाँ काम पाए । पछि उनैको पुरानो पार्लर आफैंले किनेर चलाउन थाले । 'महिनाको १५ सयको जागिरबाट काम थालेको मान्छे । आज म आफ्नै पार्लर चलाउँछु', उनले भने, 'सीप भए भोको बस्नु पर्दैन । काम भनेको सानो-ठूलो हुँदैन । मैले बुझेको यही हो ।' उनले पोखरामा रहेर धेरैलाई आफ्नोजस्तो सीप सिकाएका छन् । तर, धेरैले उनी जसरी काम भने गरेका छैनन् ।
 
बाहिरबाट उपमहानगरमा आएर नाइको पेसा गर्नेहरु गल्लीचोक जतासुकै भेटिन्छन् । तर, अत्याधुनिक औजारसहित व्यवस्थित हिसाबले पार्लरको नाम दिएर सिंह जसरी सञ्चालन गर्नेहरू औंलामा गन्न सकिन्छ । 'उतारचढाव हुन्छ । काम छाडेर अर्थोक गरुँजस्तो सबैलाई हुन्छ,' उनले भने, 'तर, आफ्नो क्षमताअनुसारको काम गरिएन भने मान्छे भएको स्तरबाट पनि तल झर्छ भन्ने मलाइ लाग्छ ।' 

उनको जस्तो पार्लर थाल्न अहिले तीन लाख हाराहारी लगानी पर्छ । 'हाम्रा पहाडे केटाहरू सिक्न त सिक्छन् तर, म जसरी पार्लर खोलेर बस्ने थोरै छन्,' उनले भने, 'नेपालीको बानी नेपाली पैसा थोरै भाउ भएको बुझिने भएको छ । त्यसैले विदेश जाने ताकमा हुन्छन् ।' समयको उतारचढावले दिलुलाई धेरैथोक सिकाएको छ । उनले हेयरस्टाइलका धेरै तरिका र ट्याटु बनाउन पनि सिकेका छन् । 

'कतिपय कुरा हामीले साधनमा तत्काल लगानी गर्न नसकेर थाल्नै गाह्रो छ । तर, म हार मान्दिन बिस्तारै गर्छु,' उनले भने, 'एकैपल्ट धेरै आस गरेपनि क्षमता र लगानीभन्दा धेर आउने होइन । निराश बस्नुभन्दा काममा घोटिनु सजिलो लाग्छ ।'

***
आफन्तको साथ लागेर हेटौंडाबाट पोखरा हान्निएका रामचन्द्र सञ्जेलको सभागृह चोकमा घरायसी समानको पसल छ । एकाविहानै उनको पसलबाट १४/१५ जना साइकलमा बेच्नेले सामान लैजान्छन् । मुडा, चकटी, कुचो, डोको र भान्साका सामान आदि उनले बेच्छन् । 

'म २० वर्षको हुँदा आएको अहिले ४० को भएँ,' उनले भने, 'यही पेसा थालियो । न कहिले विदेश जान मन लाग्यो, न अरु पेसामा हात हाल्न ।' पोखरा आएका केही महिना उनले आफन्तको त्यस्तै पसलमा काम गरेका थिए । उनीहरूले नै बेग्लै त्यस्तै पसल गर्न सघाएपछि बाटो खुल्यो । 'हामीले देख्ता मान्छेले जे पेसा पनि गरेर खानसक्ने हो जस्तो लाग्छ । तर, होइन उसलाई त्यो पेसामा मन लाग्नु पर्छ । खट्न सक्नुपर्छ', उनले भने, 'सबै पेसा सबैलाई सुट गर्दैन ।'

उनीबाट बिहानै सामान लगेर साइकलमा १० हजारको सामान डुलाउनेले मज्जाले खट्दा दिनको एक हजारसम्म नाफा जोगाउँछन् । उनले भने 'तर, सबैको समय उस्तै पर्छ, उतिकै खट्छन्, बिक्री हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।' तीन छोरा, एक छोरीका पिता सञ्जेल कारोबार गर्नका लागि पुँजीसँगै ज्यान दिएर खट्न सक्ने इच्छाशक्ति जरुरी हुने सुनाउँछन् । 

'कतै पनि पैसा फल्दैन, मेहनत गर्नैपर्छ,' उनले भने, 'खट्न सकिएन भने डुबिन्छ ।' उनले देखेका छन्, साइकलमा व्यापार गर्नेहरू पनि बर्सेनि आधाजसो 'यसो गर्दा चल्छ की' भनेर ट्राइ गर्न आएका हुन्छन् । 'आधाले त बीचैमा काम छाड्छन्, अरु नै पेसामा जान्छन्', उनले सुनाए, 'केही पुराना छन् जो निरन्तर गरिरहेका छन् । र, उनीहरूको व्यापार राम्रो छ ।' गर्न खोज्नेका लागि साइकलमा सामान डुलाउनेदेखि बाटाछेउ बसेर बेच्नेसम्मका धेरै भएको बताएका उनले भने 'काम सानो हुन्न । गरेर खान लाज मान्न र, खट्न पछि सर्नु हुँदैन । समयकालले सबै ठीक गर्दै लैजान्छ ।'

***

सिर्जनाचोकमा रहेका धेरै पसलमध्ये एउटा भाँडाकुडाको पनि छ । राधे राधे भाँडा पसल । सञ्चालक हुन् ४१ वर्षीय निरज सोनी । मूल घर पर्साको मनिहार । पिता पोखरामा काँधमा बोकेर भाँडा बेच्थे । उनी ४ कक्षा पढ्दै गर्दा बुवाको साथ लागेर पोखरा आए । 

'धेरै खटाइ भएकाले बुवालाई टीबी (क्षयरोग) लागेछ । काम गर्न नसक्ने हुनुभो । अनि मैले थालेँ,' उनले भने, 'एउटा मान्छे राखेको थिएँ, उ र म बुवा जसरी नै भाँडा बेच्थ्यौं ।' बिस्तारै उनले वीरगञ्ज र जनकपुरबाट भाँडा ल्याएर नगरका पसलमा बेच्न थाले । 'पेमेन्ट रोकिदिँदा/ढिला हुँदा चालु पुँजीमै असर पर्थ्यो । म दिक्क भएँ', उनले भने, 'अनि ५० हजार हालेर आफैं पसल थालेँ । चल्दै गयो ।' 

बीचमा उनले पसल गरेको घर बिक्रीहुँदा थलो छाड्न पर्‍यो । सारेर पनि पसल छाडेनन् । ३२ लाख ५० हजारमा माइक्रोबस किने । अनि त्यसको कन्डक्टरको काम गर्न थाले । 'यसबीचमा राम्रो ठाउँमा सटर पाइयो,' उनले सुनाए, 'गाडी बेचिदिएँ, फेरि पसल चलाउँदै छु ।' 

चार छोरी, एक छोराका पिता सोनीलाई पोखराले मोहनी लगाएको छ । 'कुनै अम्मल भएन भने, व्यभिचारतिर लागिएन भने सानो व्यवसायले पनि मान्छेलाई इज्जतको जिन्दगी दिन्छ भन्ने उदाहरण म आफैं हुँ,' उनले भने, 'धेरै नाफा लिन्न । त्यसैले मेरा पुराना ग्राहक खोज्दै मैंकहाँ आउँछन् ।' 

पोखरा-८ सिमलचौरमा घर बनाउँदै गरेका सोनीले नगरमा धेरै उतारचढाव देखेका छन् । 'एकैपल्ट धेरै खोज्दा भएको पनि जान्छ त्यसैले म कसेर लिन्न । जायज लिन्छु,' उनले भने, 'व्यवसायमा टिकिरहन सजिलो छैन तर, एउटा सामानले पुँजी ब्लक गर्‍यो भने हतास हुनुभन्दा अर्को चल्ने चिज ल्यायो, बेच्यो । चल्छ ।'

***

Thursday, August 20, 2015

फोटोग्राफीमा सजिलो समय

'हेर्नु हेर्नु', कमलले यति के भनेका थिए, म रेडी भै हालेँ। सडकमा घुँडा टेकेर बसेँ, अनि पोजिसन लिएँ। उनले थाहा पाइहाले। उठे। हाँसे र, नाटकीय पोजमा खडा भइरहे। सिकार उम्केर हिस्स परेको सिकारी पाराको मेरो मुहारमा बलजफ्ती मुस्कान ल्याएँ। केही बोलिँन। अनि हामी पनि उसैगरि बस कुर्ने लाममा उभियौं।

यो २०५९ हिउँदको कुनै महिना थियो। कमल रिमाल भाइ (विराटनगरका सञ्चारकर्मी) र म अघिल्लो दिन उदयपुरको तपेश्वरी गएका थियौं। साँझ अबेर इनरूवा फिरियो। बास मेरो डेरामा।
 
***
ती बेहुला थिए। जो बस रोकिने ठाउँको सडकपेटीमा बसेर नङ काट्दै थिए। उनको पछाडि एउटा पाइपमा मास्तिर सानो प्लेट थियो, जसमा बसको चित्र थियो। थाहा पाइहाले। उठे। फोटो पोज दिए। मुस्कुराए। मैले खिचिँन। मानवीय अभिरूचिको एउटा स्न्याप थोरै ढिलाइले छुट्यो।

यो प्रसंग मलाई फोटोग्राफीका कक्षामा सुनाउन बडो रमाइलो लाग्छ। जहाँ-जहाँ मैले कक्षा लिएको वा छलफलमा परेको छु, सुनाएको छु। त्यो स्न्याप छुट्नुको कारण पनि थियो। मेरो एनालग भीभीटार क्यामेरामा लो-लाइटमा खिच्नेगरी आइएसओ, सटर, एपरेचर सेटिङ थियो। बिहानीपख खिच्नका लागि सेटिङ चेञ्ज गर्दै ढिला भएछ। निमेषभरमै छुट्छन् फोटोका विषय। त्यो यस्तै सम्झनामा रहेको दिन बन्यो।

***
अबको डिजिटल समय हाम्रा साथमा धेरै छरितो प्रविधि लिएर आएको छ। हात-हातमा मोबाइल छन्। तिनमा फोटो-भिडियो खिच्नकै लागि थुप्रै अप्सन छन्। फोटो अब ती पुराना जमानाको स्टुडियोवालले मात्रै खिच्ने कुरो रहेन। र, फोटो अखबारमा काम गर्नेले मात्रै खिच्ने भन्ने पनि रहेन।

डिजिटल युगले हामीलाई पत्रिकाको साटो अनलाइन मात्रै हेर्ने बनाउन अझै कम्तीमा एक दशक लाग्दो हो। अखबारकै कुरा गरे त्यसो त अबको समय सबै समाचारमा फोटा अनिवार्य जस्ता छन्। कतै गयो भने अनलाइनबाट संवाददातालाई फोन आउँछ - समाचारसँगै फोटा चाहिन्छन् ? राम्रो खिच्नुस्, छिटो पठाउनुस्।

अखबारका अफिस र हामी कारिन्दाको शैलीबारे मैले केहीअघि पनि लेखेको छु। ती निजी मामिलाका पनि कुरा छन् , केही सबैका भोगाइ पनि छन्।

***
संवाददाताका आफ्ना समस्या छन्। तैपनि सामान जोरजाम गरेर लागिपरेकाहरू टिकेका छन्। अँ तपाइँलाई सामान चाहिएको होला ? आफ्नै चलाउँदै हुनुहुन्छ ? बिग्रियो ? बनाउन चिन्ता नलिनुस् पैसा हामी पठाइदिन्छौं। तपाईका लागि नयाँ बडी र लेन्स हामी दिन्छौं। बरू लेन्स के-कस्तो चाहिन्छ ? फ्ल्यास पनि चाहिन्छ ? कार्ड कतिको लाउनु हुन्छ ? चाहिन्छ ?  आदि-आदि सुन्न कान लालायित हुन्नन् । किनभने कसैले यस्तो भन्दैन।

भनिने कुरा थोरै फरक छन्। फोटो राम्रो पठाउनुस्। छिटो पठाउनुस्। अलि धेरै पठाइदिनुस्न। लु भएन कस्तो खिचेको ? ए तपाइँ त राम्रै खिच्नुहुन्छ ल गज्जपको फोटो पठाउनु होला। 

पठाइन्छ। अनि धेरैपल्ट आफूलाई ठीकठीकै वा औसत जस्तो लागेका स्न्याप न्युज डेस्कका जिम्मेवारका रोजाइमा परिदिन्छन्। कुनै राम्रैगरि छापिए भने नि कान लाग्ने २/४ वटा प्रशंसाका पर्तिर केही हुन्न। निराश नहुनुस्। यहाँ यस्तै छ।

Monday, August 17, 2015

मान्छे, यौन र जीवन

आत्तिनु भो ? ढुक्क हुनुस् प्रवचन दिने मुडमा छैन । एउटा घटना सम्झना भयो । सञ्चारकर्मीका जीवनमा धेरै घटना हुन्छन् । 

त्यसो त मान्छेको व्यक्तिगत जीवन नै घटनाहरूको संगालो भन्नुहोला । हो पक्कै । तर, हामी जो अरूका खबर लेख्छौं, हाम्रा कुरा भन्दैनौ । भन्न मिल्दैन, सिकाइएको छैन । अझ भनौं त्यो हाम्रो प्राक्टिसमा परेन । एकाध लेखिन-देखिन थालेका छन् । ती बिस्तारै बढ्लान् । अहिले म ५५ वर्ष र १३ वर्षका दुइ मान्छेका कहानी सम्झन चाहन्छु । 

बेलुकी अबेर प्रहरीको जिल्ला कार्यालयबाट फोन आयो - 'छोरीलाई करणी गर्ने बाबुलाई समातेका छौं । इप्रकाले भोलि यहाँ ल्याइपुर्‍याउँछ ।' ल्याएपछि भेटेर कुरा गरौंला भनियो । खबर लेख्न अरूबेला हतारै हुन्थ्यो । तर, योपल्ट विषय सुन्दै जाँगर आएन । 

'थुक्क त्यस्तो पनि बाउ हुन्छन् !' भन्न मन लाग्यो । जमाना फ्याक्सकै थियो । लेख्ने, कागज फ्याक्समा हाल्ने । फोटो भए, खिच्ने, ल्याब पुग्ने, क्यामेरालाई ज्याकेट लाइदिएर रील काट्ने, डेभलपरबाट नेगेटिभ बाहिरिएपछि राम्रो आउने छानेर धुलाउने । अनि खामबन्दी गरेर आफ्नो अखबारको अफिसमा कुरियर सर्भिसबाट पठाउने ।  

त्यो रात अबेरसम्म निन्द्रा परेन । कस्तो बाउ होला भन्ने भइरह्यो । 

***
इनरूवा सुनसरीको सदरमुकाम । मेरो कार्यक्षेत्र । दिउँसो १२ बजे फोन आएपछि गइयो । मलाई खबर गर्ने प्रहरी निरीक्षकले भने 'हिरासतमा राखेको मान्छेसँग तपाईले सवालजवाफ गर्छु भन्नुभो भने मैले मिल्दैन भन्छु । के गर्नुहुन्छ ?' मैले भने 'हेर्न दिनुस् । अनुहार हेर्छु । केस टिप्छु । तपाईको भनाइ लिन्छु, अनि सम्भव छ भने छोरी भेट गराइदिनुस् ।' कुरा मिल्यो ।

उनले त्यो बाउको हुलिया बताए । हामी हिरासत कोठाको बाहिर पु्ग्यौं, जहाँबाट भित्रका सबैलाई देख्न सकिन्थ्यो । ४/५ जना थुनुवा बसेर तास खेल्दै थिए । हुलिया बताएको मान्छे कुनामा एक्लै थियो । हामीले हेरेको देखेर उभियो । सतर्क भयो । करीव ५ फीट हाइट । झुस्स दाह्री । दुब्लो-पातलो ज्यान । 

उ एकाएक कराउन थाल्यो । हिरासतका फलामे डण्डी समातेर चिच्याउन थाल्यो । 'डण्डी बांगो भो, उ उ ...' उसले बेसुरे मान्छे जस्तो केके भन्न थाल्यो सबै सम्झनामा छैनन् । तर, यति हो उसले प्रहरी र हामी प्रहरीजस्ता नदेखिने युवकलाई यस्तो देखायो मानौ हामीले ठान्ने छौं  -उसको मगज खुस्केको छ । यो पागल हुनुपर्छ ।

बाहिरिँदा तिनै प्रहरीले फेरि भने 'तपाइँहरू नौलो मान्छे देखेर यसले एक्टिङ गरेको हो । यो पुरै सद्दे छ । हामीसँग मजाले कुरा गरेको हो । बयान दियो । मुद्दामा म्याद थपेर ल्याएको हो ।' उसलाई हाडनाता करणीसँगै नाबालकलगायत केके मुद्दा चलाउने भन्ने बारेमा तिनले बताए । 
***
बाहिर छानो हालेको चौतारो थियो । जहाँ प्रहरीले सबैलाई पहिले पर्खन लगाएर मात्रै भित्र पस्न दिन्थ्यो । मैलो मैलो लुगा लगाएकी एउटी दुब्ली-दुब्ली गोरी केटी थिइ । कुपोषण हुँदा मान्छेको अनुहार, हातगोडा दुब्ला-पातला हुन्छन् । भुँडी नसुहाउने गरि पुटुस्स उकासिएको हुन्छ भनेर हामीलाई स्वास्थ्यकर्मीले पोषणका कार्यक्रममा भनेको सम्झना भयो । उनी त्यस्तै थिइन । उनै रहिछन् मैले भेट्न खोजेको बाबुकी छोरी । 

प्रहरीले चिनाइदिए । तर, सोध्न कसरी थाल्ने भन्ने अलि संकोच भयो । तैपनि मैले 'बैनी, यस्तो कसरी भयो ?' भने । पहिले रोइन । मैले रूँदा डिस्टर्ब गरिन । अनि आँसू पुछ्दै उनले भनिन् 'मेरो बाबालाई छुटाइदिनुस् । जे भो हाम्रो कुरा हो । पछि जे होला होला । मेरो बाबालाई छुटाइदिनुस् ।' यो मेरो प्रश्नको उत्तर थिएन । र, म यतिखेर उनलाई मैले सोधेको कुरा भन्नैपर्छ भन्ने मुडमा पनि थिइँन । 

बिस्तारै उनको कुराको कन्तुरो फुक्यो । म सुन्दै गएँ । प्रश्न गर्नै परेन । 

***
५ वर्षअघि आमा मरिन् । एक्ली छोरी । जनबनी गरेर गुजारा गर्ने छाप्रामा बाउ-छोरी मात्रै भए । एउटा रात बाबुले रक्सी खाएर आएका थिए । जबरजस्ती गरे । दुख्यो, रोइन । बाउले करणीपछिको बिहान 'कसैलाई भनिस् भने तँलाई मार्छु, म पनि मर्छु' भनेर तर्साए । छोरी बोलिन । बाहिर भनिन । 

घटनाको एक सातापछि फेरि उस्तै रात दोहोरियो । त्यसको बिहान पनि उसैगरि तर्साए । त्यसपछि जब जब बाबु मातेर आउँथे करणीको क्रम नियमित बन्यो । उनले स्कुल जान छाडिन् । साथी भेट्न छाडिन् । आफ्नो अवस्थाबारे कसैलाई भन्न सकिनन् ।

नजिक आफन्त थिएनन् , जहाँ छोरी भागेर जान सक्थी । खपेर बस्दाका महिना बित्न थाले । छिमेकीले शंका गरे । एउटा साँझ त्यही क्रममा प्रहरी टोली आयो । पक्रेर थाना लग्यो ।

***
स्वास्थ्य जाँचको कुरो त्यो साँझ प्रहरीले बतायो -' ७ महिनाको गर्भ रछ । केटीलाई हामीले माइती नेपालको जिम्मा लगायौं ।' यस्ता घटना पहिले लेख्नु परेको थिएन । हाडनाता करणीका अरू धेरै घटना सुनेपनि यस्तो नजिकबाट यस्तो अकल्पनीय देख्न-सुन्न परेकै थिएन ।  खबर लेखियो 'उफ ! कस्तो बाबु'  

माइती नेपालको एउटा आवधिक गृह इटहरीमा छ । खबर छापिएका केही हप्तापछि त्यता जाने काम पर्दा म एकजना साथी लिएर त्यहाँ पनि निस्केँ । त्यहाँका कर्मचारीले ती छोरीको आनीबानी राम्रो भएको बताए । उनी सिलाइकटाइ सिक्न थालेकी थिइन । मसँग फेरि कुरा भएन । 

***

कैयौं महिना बिते । माइती नेपालका कर्मचारीले उनको छोरी जन्मिएको जानकारी मलाइ फोनमा दिए । आमा-बच्चा सकुशल । उनले आफ्नो सन्तानको बाबुलाई कस्तो नातामा सम्झँदी हुन् भन्ने लागिरहन्थ्यो । केहीपछि अदालतको फैसला आयो । फेरि एउटा खबर लेखियो -'बाबुलाई सर्वस्वसहित १७ वर्ष जेल सजाय ।'  

फर्केर हेर्दा १३ वर्ष बितेछ । उनीहरू कहाँ छन् भन्ने अहिले मलाई थाहा छैन । कहिलेकाही नारायण वाग्ले दाइले एकपल्ट भनेको सम्झन्छु -' हामी चट्याङ परे जस्तो खबर लेख्छौं । एकपल्ट लेख्यो, फलोअपमा ध्यानै छैन । धेरैपल्ट सुरूमा लेखेकोभन्दा पनि फलोअप जोडदार हुन्छ भन्ने बिर्सनु हुँदैन ।' 

केही खबर त यस्ता हुन्छन्, जसलाई लेखेपछि बिर्सन नै मन लाग्छ । केही खबर सम्झनामा रहिरहन्छन् । अहिले ब्लगमा लेख्न मन लागेको कुरो सकियो । साहित्य छाँटेर नतन्काउँ होला । कसो ?     

Thursday, August 13, 2015

देब्रे हातेको दिवस



ट्वीटर चलाउन थालेपछि मात्रै थाहा भो International Lefthanders Day भन्ने पनि रैछ  । अघिल्लोपटक साथी अजय दासले यो दिन सम्झाए । योपल्ट मैले उनलाई । रमाइलो भो । मलाइ नि एकाबिहानै @Uzzwal999 भाइको ट्वीट पढेपछि थाहा भो । उनी पनि उस्तै । 

यही मेसोमा उनको ब्लग पढियो । देब्रे हुनुको गुलियो-अमिलो अनुभूति बडो मजाले लेख्या रैछन् । रमाइलो लाग्यो । केही लेख्न मन लाग्यो । तालु खुइलेका कुरा एकपल्ट सञ्चारकर्मी साथी यज्ञशले बडो मजाले लेखेका थिए । म पनि थोरै कुरा खोज्छु । देब्रे-हाते जिन्नगीका । मनरूपी इन्टरनल हार्डड्राइभबाट संस्मरणका केही पुराना फाइल खोजुम् है ।
 
मान्छेलाई तबसम्म मात्रै ती कुरा असहज अनुभव हुन्छन्, जबसम्म कुनै खास समस्या या वचनको सामना तिनैका कारणले होस् । समय बित्यो । अब असहज छैन । यो प्रष्ट बुझम् । 'तपाइँ लेफ्टी ?' यति भनेका कति मान्छेसँग संसारका प्रतिभा र नाम कहलिएका लेफ्टीबारे फरर भन्ने 'दिमाख चटाइ' भेटिरहिन्छ । एक मनले त कैलेकैले साला जिन्दगीमा केही नै पो गर्न सकिएनछ, हेर त लेफ्टी कस्ता-कस्ता हुनी रछन् झै नी लाउँने । अनि फेरि बखान गर्नेलाई हेरेर माया नि लाग्छ । मानौ उनले लेफ्टी हुन चाहेका थिए, भएर जन्मन पाएनन् । जे होस् मान्छेलाई भेटमा गर्न गफ चाहिन्छन् र, बोल्छन् । ठीकै छ ।
 
अनि अगाडिको गन्थन फुलबुट्टाको मुन्तिर छ ।  

***
मिल्स मावि, विराटनगर-२०, मिल्सएरिया । म पढेको स्कुल । क्लासमा देब्रेले लेख्ने मबाहेक थिएनन् । 'यसले गु धुने हातले लेख्छ, खान पनि यसैले होला' भन्दै साथी जिस्क्याउँथे । सर/मिसले पनि देब्रेहाते भएकै कारण म नजरमा परेको थिएँ ।
 
पढाउन जाँगर नचलेका दिन देब्रे-हाते महात्मय सुन्न मिल्थ्यो । दिमाख दायाँ सक्रिय हुुनेको बायाँ हात-गोडा चल्छन् । धेरै जनामा नगन्यमात्रै यस्ता जन्मिन्छन् । ठूल्ठुला मान्छे छन् । क्रिकेट खेले राम्रो । लेफ्ट ह्याण्डस खेलाडी पनि हुन्छन् । थाहा छ - अमिताभ बच्चन पनि लेफ्टी हो ।  कलाकार छन्, वैज्ञानिक, राजनीतिक नेताहरू आदि इत्यादि ।

लेखा पढाउने भूराज राइ सर भन्नुहुन्थ्यो -'तिमीले मास्टर भए राम्रो हुन्छ । लेख्दा ब्ल्याक-बोर्ड छेलिँदैन । विद्यार्थीलाई हेर्न सजिलो हुन्छ ।' सानैदेखि एउटा रहर के थियो भने जसरी हुन्छ सबैले मलाइ चिन्नुपर्छ । साथीभाइ, गुरू/गुरूआमा, पियन दाइ सबैले देब्रे-हाते भनेर चिन्छन् । त्यही सही । अरू को छ र ! बिस्तारै अरू पनि भेटिए । एकाध कक्षामा अरू पनि रछन् भन्ने थाहा भो ।
 
साथीहरू भन्थे -'लेफ्टीको दिमाख तेज हुन्छ । अक्षर राम्रा हुन्छन् । ट्यालेन्ट हुन्छन् ।' सुन्यो गमक्क पर्‍यो । कापी पल्टायो, आफैंलाई चित्त नबुझ्ने अक्षर छन् । न म्याथमा सिपालु, न इङलिसमा । हैट !

म सम्झन्छु मिस कौशल्या थापा । करिब ६ फीट हाइटकी । बडेमानका आँखा । ठूलो सोर । उहाँले गाली गर्दा हामी बालखको डरले पेन्ट भिज्छ जस्तो हुने । मेरा अक्षर साह्रै साना थिए। त्यसैले मलाइ कराउनु हुन्थ्यो -'यही पारा हो भने तिमी कलेज जाने बेलासम्म अक्षर लेन्स लाएर हेर्न पर्ने हुन्छ । अलि ठूलो लेख । बुझिने लेख । ठूलो लेख्दा बिस्तारै ठिक्कको राम्रो हुँदै जान्छ ।'
 
मैले स्कुलको फेसबुक ग्रुप बनाएको छु । एडमिन दिनका लागि भरलाग्दा साथी भएनन् । अप्डेट सन्तोषजनक छैन । तैपनि स्कुलको समुहमा थुप्रैजना जोडिएका छन् । मभन्दा केही ब्याच सिनियर उदय अर्याल दाइलाई एडमिन शेयर गरेको हो । तर, हामीलाई आ-आफ्ना कामले घर र स्कुलभन्दा धेरै टाढा पुर्‍याएको छ । उदय दाइले एकपल्ट कौशल्या मिसको फोटो शेयर गर्नुभो । मैले थाहा पाएँ -उहाँ अहिले क्यानडा हुनुहुन्छ । मैले मिसलाई अक्षरका ती ठूलो सोर गर्दाका कुरा कमेन्टमा लेखेँ - 'मेरो अक्षर राम्रै भएका थिए मिस । तर, हिजोआज कम्प्युटरले बिगारेको छ ।'


***
देब्रे हातको निसाना खुबै कडा हुन्छ । स्कुल जाँदा आँप र लिचीको सिजनमा गोजीमा ढुंगा बोक्यो । लायो निसाना टुइँ टुइँ । देब्रे चल्ने भन्दैमा संस्मरणको महात्मय नै लेख्यो होला भन्ठान्नुभो भने गलत हुन्छ । दिमाखबाट संस्मरणका थुप्रै पुराना फाइल डिलिट भएछन् । अतः कुरा धेर छैनन् । 

अहिले नि सम्झना हुने कुरो चाहिँ बालखमा घराँ खान बस्दाको छ । तीबेला आमा साह्रै कडा अनुशासनमा राख्न खोज्नुहुन्थ्यो (हुन्त अहिले नि त्यस्तै हुनुहुन्छ । कुट्नु चाहिँ हुन्न । ;) । देब्रे-दाहिने हात कुन हो भनेर म बिर्सन्थेँ । 
भात खाइरा बेला 'तँलाइ दिसा धुने र भातखाने हात नि हेक्का हुँदैन !' भनेर ठ्यामठ्याम चड्काउँदा त अहो ! हैट । भातै छाडेर रूँदै ट्युवेल दौड्यो । हात धोयो अनि 'लु म भातै खान्न' भन्दै दङ्ग्यायो । खाँदाखाँदैको भात छाडेर हिँड्दा अन्नले सराप्ने अर्को त्रास बढाउने डाइलग अजंगको लाग्थ्यो । त्यो त अहिले म नि छोरोलाई भन्छु ।
 
त्योबेला दङ्ग्यायो अनि केहीबेरपछि फेरि खान बस्यो । कुटाइ बिर्सियो चल्थ्यो । कुटाइ र ठूलो सोरका डरले कहिलेकाही हातमा डटपेनले हातमा लेख्यो - दाहिने । 'हात राम्ररी धोएर मात्रै खाने' भनेर आमा आफैं अगाडि उभिएर निर्देशनात्मक आदेश दिनुभो भने लेखेको नि मेटिन्थ्यो । अनि परो फसाद !
 
घर त घरै हो । हामीमात्रै हुन्छौं । कुटाइ-रुवाइ, ठूलो सोर र आँसू अरूले देख्दैनन् भन्ने ढुक्क हुने । मनलाई बढी चोट अनुभव हुने अवस्था चाहिँ कतै पाहुना गएका बेला हुने । त्यहाँ पनि आमाले त्यसै गर्नुहुन्थ्यो । देख्नेका लागि म केहीबेर हाँसो र केहीपछि दयाको पात्र हुन्थेँ । यस्तो पटक्क मन पर्दैनथ्यो ।
 
म किन देब्रे-दाहिनेमा झुक्किन्छु ! साह्रै नरमाइलो लाग्थ्यो । बिस्तारै एउटा आइडिया आयो । जुन हातले लेख्छ-त्यो देब्रे हुुँदै हो, किन कन्फ्युज भाको होला !
 
अनि खान बस्ता पानीले थालमा केही लेख्न खोज्यो । जुन हातले लेख्न जान्दैन, त्यो नै खानाखाने हात । क्या मज्जा ! जुन हातले लेख्न सक्छ, त्यो देब्रे । यो उपाय बडो जाती । सधैं काम लाग्ने । 

***

इटहरीमा मामाघर । ठूलामामाको स्टेसनरी पसल थियो । मलाइ कथा पढ्न खुब रूचि लाग्थ्यो । सिनेमा हेर्न ज्यान दिन्थेँ । मामालाई सिनेमा हेर्ने मान्छे मन नपर्ने । ठुलोमामा र ममा दुइटा समानता थिए । उहाँ पनि देब्रे हाते । उहाँलाई पनि 'डस्ट एलर्जी' । किताब जतनसाथ पढेर जस्तो लगेको हो उस्तै फिर्ता गर्ने सर्तसहित दिनुहुन्थ्यो ।
 
एक दिन भन्नुभो -'राजु (मेरो घरको नाम) तिमी पनि दाहिनेले लेख्ने प्राक्टिस गर । म त दुवै हातले लेख्छु ।' शायद यो २०४३/४४ सालको कुरा हुँदो हो । यो मेरा लागि त्यो बेला  घोर आश्चर्यको विषय थियो । उहाँले पालैपालो दुवै हातले लेखेर देखाउनुभो । घर फिरेर कोसिस गरिहेरेँ । अहँ म के सक्थेँ ! आ जेसुकै होस् देब्रे भए नि केही छेकिएको छैन भन्ने भयो ।
 
***

२०४८ पछि जब कलेज गइयो, देब्रे-हाते निकैजना भेट भए । रमाइलो भयो । यो कुनै अनौठो कुरो होइन भन्ने भयो । धेरै कार्यक्रमहरूमा देब्रे-हाते भेट हुन थाले ।  पहिले पहिले देब्रेले लेखेको देख्ता अचम्म मान्थे । सोध्थे मान्छे । अब त कौन पुछे खेसारी के दाल बराबर ।
 
मोरङको लेटाङमा एउटा कार्यक्रममा एक जनाले भनेको सम्झन्छु-'प्रत्येक २२ जना मान्छे भेला हुँदा त्यहाँ भरसक एकजना देब्रे-हाते हुन्छन् ।' फर्मुला कतिको पक्का हो भन्ने थाहा छैन । त्योबेला भने ती मान्छेले बोलेको पुगेको थियो । सबैतिर संख्यामा दाबी लाग्छ भन्ने नि केही छैन । त्यो भनाइ सम्झँदा अनौठो नि किन पो मान्न छ र । आखिरमा जुन हातले लेखे नि गतिलो बनाउन-भनाउन निधार बलियो हुन जरूरी छ । श्रमसँगै मान्छेलाई समयले साथ दिएको हुनुपर्छ । लडिलडि आउने केही होइन ।

मनोविज्ञानले भन्दो रछ - मान्छेमा गुण २ प्रकारको हुन्छ । जन्मजात र अर्जित । जन्मजात आउने केही गुण मान्छेमा आमा या बाबुको २५ पुस्तासम्मको आउन सक्छ/नआउन पनि सक्छ । जिनसम्बन्धी बिकार र केही खास गुण पुस्तौंपुस्ता सन्तानमा सरिरहने रहेछ । 

कुरा बडा द्विविधावाला छ । प्रष्ट चाहिँ के हो भने यो गुण मेरो मावलातिरबाट आको हुनपर्छ । मैले मामाको कुरा भनिसकेँ । मामा बित्नु भो । उहाँको आमा (मेरी हजुरआमा) ९१ वर्ष पुग्नुभो । हुनुहुन्छ । उहाँ देब्रे हातले लेख्नुहुन्छ । कहिलेकाहीँ मावला पुग्दा भन्नुहुन्छ 'ए यो आएछ । तँ पनि तेरो ठूलोमामा जस्तै । म जस्तै देब्रे-हाते ।' बडा खुसी लाग्छ । 

कुरो सकियो । फेरि अर्को विषयमा गन्थन गरम्ला ।       

Saturday, August 1, 2015

एउटा केटोको सम्झनाले ...

 
यो लेखोट २०७२ साउन १६ को कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। एउटा व्यक्तिमाथिको फीचर। एउटा बसाइको लेखाइ लामो थियो। ती आधा छोट्टिएर प्रकाशित भएको छ। संक्षिप्त प्रकाशित हुँदाहुँदै पनि पत्रिकामा सबै कुरा पुरै छन्। जेजे सम्पादन गरियो/गरिए/भए, ती फाल्दा नि मर्म फालिएको छैन। तर, मलाइ यता ब्लगमा भने पहिलो मूल लेखाइ नै राख्न मन लाग्यो। जसमा मूल विषयभन्दा फाल्दा नि हुने गन्थन धेर छन्/भएका रछन्।
 
पोखरा आएपछि एकपल्ट लेकसाइड घुम्दाको साँझ हेल्पिङ ह्याण्ड्समा पुगेको हो। दोस्रोपटक नि पुगेपछि यिनका बारे लेख्न पर्छ भन्ने लाग्यो। त्यहाँ काम गरिरहेकाहरूका बारे चासो लाग्यो। धेरैले लेखेको र फोटो स्टोरी पनि गरिसकेको साथीहरूले सुनाउनु भयो। 

अबको चासो थियो- यी दृष्टिविहीन र बहिरालाई काम दिएर-लिएर व्यवसाय गरेकाको कथा। के कारणले यिनले यस्तालाई साथ लिए ? मान्छे सबलांग छन्। राम्रा-मिजासिला छन्। जुन व्यवसाय पनि गरिखाने योग्य देखिन्छन्। साथी केशवशरण लामिछानेले एक दिन बिहान भेटघाटको समय मिलाए। सर्त राखेर गइयो - 'यो विषय तपाइँ नलेख्नुहोला। म लेख्छु।' कुरो मिल्यो। भेट भयो। 

तर एक महिना बित्यो, मैले लेख्न भ्याइँन या भनौं अरू कामको चापले भुलायो। दीनेश थापाका कुरा सुनिसकेर एउटा मुडमा बसेर ती कुरा शब्दमा उन्न जरूरी थियो। जो अलिपछि मात्रै सम्भव भयो। यो बीचमा मित्रले आफूलाई आइपरेको टास्कमा एउटा फीचर लेख्नैपर्ने भयो। अतः मित्रले लेखेँ, नरिसाउनुस् भन्नुभो। ठीकै छ। हाम्रा काममा यस्तै पर्छ।

हामी धेरैपल्ट मान्छेका राम्रा काम र बानीमात्रै टिप्छौं। अँध्यारा पाटा छुट्छन्। कतिपय विषयको कथाले माग्दैन। कतिपल्ट हाम्रा जानकारीमा हुँदैन या भनौं खोजिँदैन। यहाँ पनि एउटा पात्रको नितान्त व्यक्तिगत भोगाइका कुरा उनिएको छ।
 
लेख्ने मामिलामा म अलि ढिला भएँ। तर, अब कथा एउटै एउटै बेला पारेरमात्रै आआफ्ना अखबारमा पठाउने सल्लाह भयो। त्यसै गरियो पनि। मेरो एक साता रोकियो, साथीको गत साता प्रकाशित भयो। उनको आएपछि मैले नछाप्नु पर्थ्यो होला। तर, आफूले लेखेको परिश्रमको माया लाग्यो। मैले रोकिन। आज छापियो। धेरैपल्ट के लाग्छ भने लहरै थुप्रै जनाले क्यामेरा लिएर कुनै घटना खिचिरहँदा हरेकका फ्रेममा अलग-अलग समय र एंगल कैद हुन्छन्। यो कथा पनि त्यस्तै हो। 

एउटै कथालाई आ-आफ्नो पाराको प्रस्तुति। मेरा साथी केशवजीको भाषागत दख्खल निकै राम्रो छ। उनको हेरिकन आफू सिकिरा'छु भन्ने लाग्छ मलाइ। तैपनि हेर्नोस् एउटै परिकार बनाउने काम दिँदा भान्सेका हातले नि स्वाद फरक पार्छन् भन्ने मानौं। अरू कति कथाले हाम्रो बाटो हेरिरहेका होलान्।

ब्लगमा अपलोड गर्दागर्दै मेरो जीमेल इन-बक्समा भोजपुरबाट पुष्पराज ढकालको  मेल हेर्दैछु । उहाँले लेख्नुभएको छ - 'लेख सारै राम्रो लाग्यो । मेरो पनि एकजना बहिरा छोरी हुनुहुन्छ ५ कक्षामा पढ्ने १२ वर्षको। थ्याङ्क्यु दाई तपाईको लेखहरू फेरि पनि पढ्न पाइयोस शुभकामना छ तपाइलाई।' 

हामी लेख्ने, तस्वीर खिच्ने कर्म गर्नेहरूका लागि विषय धेरै छन्। जति मान्छे भेट्यो भोगाइका कथा फरक फरक छन्। यो पनि तिनैमध्येको एउटा चरण हो। जे होस् यहाँ पुरा कुरा छ। 

अब मूल कथा 
अन्नपूर्ण पदमार्गबाट २० दिनको यात्रा सिध्याएर अष्ट्रियाका तात्याना स्टोइल्स र पिटर हेर्खर ११ वैशाखमा फेवाताल किनारको लेकसाइड आइपुगेका थिए। भोलिपल्ट दुवैले जीवनकै पहिलो भूकम्प होटलमै अनुभव गरे। 'हामी हतार हतार बाहिर निकिस्यौं,' तात्यानाले भनिन्, 'जीवनकै अनौठो अनुभव थियो।' पोखरामा केही दिन थकाइ मारेर सगरमाथाको गोक्यो ताल हेर्न जाने योजनामा रहेका दुवैको यात्रा सूची फेरियो। जोडिए हेल्पिङ ह्याण्डस्को राहत वितरण र भूकम्पपीडितको घर बनाइदिने अभियानमा।

'यो अभियानमा जोडिने हामीमात्रै रहेनछौ,' पिटरले सुनाए, 'हामीजस्ता १०/१२ देशका अरु पनि रहेछन्। दीनेशको अभियानले हामीलाई यात्राको मजाभन्दा पनि पीडितको सहयोग गर्न पाएकोमा आत्मिक आनन्द महसुस भयो।' परिवार, साथी र आफन्तबाट समाजिक सञ्जालका मद्दतले दुवैले ६ सय यूरोको योगदानमात्र गरेनन्, राहत बाँड्न गोरखा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोक पनि पुगे। हाम्रो अहिलेको कथा यो होइन।  

पर्यटक रिझाउन अबेर रातिसम्म बत्ती झिलीमिली हुने पोखराको लेकसाइडमा थरिथरिका पसल, होटल र रेस्टुराँ छन्। यही भीडमा बहिरा र दृष्टिविहीनहरू काम गरिहेका भेटिने ठाउँ पनि छ। धेरैले यो हेल्पिङ ह्याण्डस्मा काम गरेर जिन्दगीको गाडी सजिलै गुडाएका बहिरा र दृष्टिविहीनका कथा पढेको हुनपर्छ। यहाँ त्यही कथा दोहोरिने छैन। 

फरक क्षमताकाहरूलाई साथ लिएर वर्षौदेखि काम गरिरहेका दीनेश थापाको बाटो मोडिएको कथा आज सुन्ने हो। २१ बहिरा, ३ दृष्टिविहीन, केही दोभाषेसहित ती फरक क्षमताका ३२ जनालाई काम दिएर-लिएर आफ्नो पेसा चलाइरहेका उनकै कथा ती इलमी हातहरूभन्दा केही मानेमा पृथक छन्। 

०००
  
काठमाडौंको गोकर्णका दीनेश पोखरा आएको १६ वर्ष बितेछ। 'बुवा आर्मीमा भएपनि घरखर्च चलाउन निकै मुस्किल थियो। घरको जेठो छोरो, पढाइ छाडेर म १४ वर्षको उमेरदेखि नङ्ग्रा खियाउन थालेको मान्छे,' उनले भने, 'अब त समय धेरै बित्यो। अवस्थामा आकास-पाताल फरक परेको छ।' मजदुरीबाट काम थालेर अरुलाई काम दिनसक्ने भएको भोगाइको कथा उनले किस्ता किस्तामा सुनाए।

'पहिलो काम घरमा धारा-पाइप फिटिङ गर्ने गरियो,' उनले भने, 'पहिलो कमाइ २१ सय हात परेको थियो। आफूलाई पाण्डा जुत्ता र आमाका लागि फरिया किनेको थिएँ।' राजधानीमा जति घर थपिन्छन्, उति नै सबैथरि इलमी मिस्त्रीले काम पाउँछन्। उनले यही बाटो सजिलो मानेका थिए। 'एकजना चिनजानका मान्छेले चुच्चेपाटीमा अढाइ-तले घर बनाए। धारा-पाइप, ट्यांकी फिटिङको ठेक्का ९ हजारमा दिए,' उनले भने, 'तर, काम सकिएर पैसा दिनेबेलामा ४५ सयमात्रै दिए। छिटो सक्नु थियो, मैले आफूमात्र काम नगरेर अरू दुईलाई पनि खटाएको थिएँ। घाटामात्र लागेन, कामसँगै दिक्क लाग्यो।'

काका नकुल थापा बानेश्वर इन्द्रेणी क्याफेमा बेकरीका सेफ थिए। प्लम्बरको पेसाबाट निराश भतिजलाई उनले बाँसबारीको एउटा बेकरीमा पिठो मुछ्ने काम लगाइदिए। हात हालेका काम छिटै सिक्ने बानी भए पनि उनी त्यहाँ तीन महिनाभन्दा बढी टिकेनन्। ठमेलमा सेफको दुई महिने तालिम लिए। त्यसपछि होटल सांग्रिलाको भान्सामा काका-भतिजसँगै भए। दीनेशले सुनाए - 'धेरै काम थोरै दाम। त्यसमा पनि मन रमाएन।'

कुरिनटार रिसोर्ट खुलेको थियो। त्यहाँ कामदार चाहिएको थाहा पाएका काकाले 'उता जा' भने। तर, मानेनन्। उनले भने, 'काकाले भन्नुभयो म १७ रुपैयाँमा घर पुछेर काम थालेको मान्छे। तँ १७ सय महिनाको दिँदा नि जाँदैनस् ?' उनले काकालाई योबेला टेरेनन्। 

बबरमहल रीभीटेडको सेज क्यारोलिन रेस्टुरेन्टमा काम गर्न मन थियो। त्यहाँ काम गरेपछिको अनुभवले जहाँ कतै पनि गरिखान अप्ठेरो पर्दैन भन्ने उनले बुझेका थिए। ६ महिनाको पर्खाइपछि उनले त्यहाँ काम पाए। दर्जा थियो- कुकको सबैभन्दा सुरुवाती मानिने थर्डकपी।' महिनाको वेतन १८ सय।

'त्यो डिसवासर प्रमोसन भएर आउने पोस्ट रहेछ। सबैलाई आफ्नो छेउ आफ्नै मान्छे ल्याउन मन हुन्छ,' उनले सुनाए, 'भाँडा माझ्ने मान्छे सेफको प्यारो थियो। त्यसैले मलाई सेफले असहयोग गर्न थाले। गाह्रो र हतपत जस नदिने काम लगाउन थाले। गलोस् र छाडेर जाओस् जस्तो गरे।' सन् १९९८ को कुरा थियो यो ।

०००
फ्रान्सेली साहुनी सेज क्योरोलिन आफैं राम्रो कुक थिइन। सेफ र भाँडा माझ्नेको असहयोगका बीच पनि उनले परिकार बनाउन सिक्दै गए। 'झेल्न नसकिने नै भएपछि मैले राजीनामा दिएँ तर, धेरै कस्टमर आउने भएकाले क्रिसमसको साँझ म रेस्टुरेन्टमा उसैगरि काम गर्न गएँ,' उनले सुनाए । १९० जनाका लागि सुप बनाउनुपर्ने। ४० जनाको ग्रुप आयो। २० ले खाए, २० ले त्यसपछिको सेकेण्ड कोर्स (अर्को परिकार) मागे। थापाको जिम्मा सलाद र स्याण्डबिचको सेक्सन थियो। 

केही भरपर्दा कामदारले क्रिसमसको केही दिनअघि नै राजीनामा दिएर गएका थिए। दोस्रो कोर्स अर्डरको १५ मिनेटमा तयार पारेर ल्याउनुपर्ने थियो। सुप बनाउने कारिगर थिएनन्। 'क्यारोलिनले हामीहरूलाई सोधिन् नो वन क्यान ?,' उनले भने, 'कोही नबोलेपछि उनी रुन थालिन। मैले आइ क्यान भनेँ।' त्यो दिन उनले रेष्टुराँको प्रतिष्ठा राखेको घडी थियो। 

'मलाइ साउनीले खाममा इनाम दिइन। ७० हजार रूपैयाँ रहेछ,' उनले भने, 'राजीनामा त दिएकै थिएँ। त्यो दिनदेखि काममा गइँन। उनले मेरा काकालाई फोन गरेर मलाइ लिन मान्छे पठाइछन्।' त्यसपछि तलब १८ सयबाट ८ हजार। बीमाका सुविधा पनि थपिए। सेज क्यारोलिनको रेष्टुराँले पोखरामा शाखा खोल्ने भयो। उनी यो थालनीका लागि सेफ बनेर काठमाडौंबाट पोखरा आइपुगे। 

'म १९ वर्षको थिएँ, १९ हजार तलब,' उनले सुनाए, 'बिस्ट्रो क्यारोलिन रेष्टुराले पोखरामा पर्यटकका लागि फ्रान्सेली परिकार पस्केको थियो, जो यहाँका लागि नौलो रह्यो।' पोखरेली रेष्टुरामा उनले चार वर्ष बिताए। 'कति अर्काकोमा काम गर्ने ? उमेर थियो, रहर थिए,' उनले भने, 'आफैं केही गर्ने। नाफा-नोक्सान आफ्नै लागि हिसाब गर्ने रहरले ५ लाखमा इस्ट-मिस्ट वेस्ट रेस्टुरा किनेँ।'

०००   
आफैंले रेस्टुरा किने पनि उनका लागि फ्रान्सेली रेस्टुराले एउटा सर्त गरेर मात्रै राजीनामा स्वीकृत गरेको थियो। सर्त - धेरै पाहुना आउँदा घण्टाको एक हजार रूपैयाँ पारिश्रमिक लिनेगरि भान्सामा सघाउन आउनपर्छ। यो क्रम बेला-बेला चल्दै रह्यो।

'मैले अर्काकोमा काम गरेर तलब थाप्नु र आफैं साउजी हुनुका बीचको फरक बल्ल बुझेँ,' उनले सुनाए, '१९ जना स्टाफ थिए। तलब दिने बेलामा जहिल्यै कताबाट जोरजाम गरेर पेमेन्ट गर्ने भन्ने चिन्ता लागिरहने।' सन् २००४ अन्त्यतिरको समय। त्यो एकजना गुरूङको रेस्टुरा थियो, जो अलि राम्रो अवस्थामा चल्न सकेको थिएन, जसलाई उनले किने। सशस्त्र द्वन्द्वका कारण मुलुकमा संकटकाल। पर्यटक आउन घटे।

रेष्टुराँ-होटल र पर्यटकका गाइडको सम्बन्ध डाक्टर र औषधि पसल चलाउनेको जस्तो हुन्छ। डाक्टरका प्रेस्क्रिप्सन बोकेर बिरामी त्यही पसल पुग्छ, जो नजिक छ वा जहाँ उसलाई जान भनिएको हुन्छ। यस्ता पुर्जी बोकेकाहरू आएमात्रै औषधि पसल नाफामा चलिरहन्छन्। 'टुर गाइड मेरा केही साथी थिए, त्यहीमध्येको एउटा साथी थियो शोभित,' थापाले सम्झिए, 'उसले चारजना टुरिस्ट लिएर मेरो रेस्टुरा पसेका दिन भान्सामा ग्यास थिएन। किन्नका लागि ७ सय रूपैयाँ थिएन।' शोभितले उनलाई दिएको एक हजारबाट ग्यास आयो। पाहुनाले खान्कीको ३७५० रूपैयाँ बिल तिरेर गए। शोभितले कमिसन लिएनन् जो उनका लागि उपकार भयो।

पोखरा पर्यटन व्यापारमा फेवाताल, अन्नपूर्ण पदमार्ग र पश्चिम पहाडका दृश्यावलोकन बेच्छ। टुर गाइड खुसी पार्छ। आफ्ना होटल र रेस्टुरा चलाउँछ। पोखरामा उनलाई उनलाई साथ दिन बिस्ट्रो क्यारोलिन रेस्टुरामा सँगै काम गरेका अमीर केसी उताको काम छाडेर आए। रेष्टुराको नाम इग्रेट भ्यू राखियो। ६ महिनापछि फेरि व्यवसाय खस्कियो, नाम फेरियो- इन्लाइटेड याक।
 
०००
जग्गाधनी भीमप्रसाद गुरूङ बेलायती सेनाका रिटायर्ड। मनकारी भएकाले रेष्टुराँको मासिक १८ हजार भाडामा कुनै बेला पुरै पैसा नदिएपनि कसिकसाउ गर्दैनथे। त्यताबाट सन्तोष भएपनि व्यापार घाटाले २ वर्षको भाडा तिर्न पुगेन। ऋण खोजेको पैसा लिएर बुझाउन जाँदा उनले एक वर्षको भाडा छुट गरिदिए। 

'इन्लाइटेड याकलाई ३ वर्षन्दा बढी धकेल्न सकिएन,' थापाले सुनाए, 'चप्पल चुँडिए पनि जोडेर लाउथेँ। ऋण खोजेर पनि स्टाफलाई तलब दिन्थेँ।' 

उनले सुने- काठमाडौंमा एउटाले दाउरामा पिज्जा बनाउँछ। पोखराका लागि यो नौलो तरिका थियो। गोरखपुरबाट भट्टी ल्याएर 'ला पिज्जा दलालेगो' को नामबाट उही रेस्टुराँ फरकरूपमा अघि बढ्यो। 'महिनामा एक लाख हाराहारी बिजनेस हुन थाल्यो। कुनै बेला एक दिनमा ३ सय ९५ वटासम्म बेचियो,' उनले भने, 'पहिले स्टाफले मन लगाएर काम नगलार्न जस्तो अवस्थाको मेरो रेस्टुरेन्टमा अब लोड बढी भएर भाग्लान् जस्तो हुन थाल्यो।'

०००
व्यवसाय एउटा मोडमा पुगेर सन्तोष भइरहेका बेला उनको मैंयासँग जोडी बाँधियो। वर्षदिनमा जन्मिएकी छोरीको नाम 'खुसी' राखियो। 'जिन्दगी यहाँसम्म ठीकै थियो,' उनले भने, 'अनि फेरि अर्को मोडले मलाइ पर्खिरहेको रहेछ।' 

एकपटक मैंयालाई खाना रुचेन। दुवै जाँचका लागि मनिपाल अस्पताल पुगे। रगत जाँचका लागि प्रयोग भएको सिरिञ्जबाट उनको हातको नसामा हावा पस्यो। 'डल्लो भयो। तीन दिनपछि पाक्यो,' उनले भने, 'हामी फेरि गयौं। अस्पतालले काट्यो, फाल्यो, त्यो ठाउँ खाल्डो भयो। इन्फेक्सन भएछ।' त्यही चोटले एक दिन अर्द्ध-बेहोस मैंयालाई अस्पताल उनले पुर्‍याए। सुरूमा सामान्य बिरामी भनेर एकअर्काका अभिभावकलाई ढाँटेका थापा दम्पती त्यो दिन समस्यामा परे।

अस्पतालले चलाएको उपचारले मैंया निको भइनन्। अवस्था बिग्रिएपछि आइसीयूमा राखियो। दुवैका आफन्त आए। भेन्टिलेटरमा राखिएकी मैंयाले रगत बान्ता गरिन्। शुक्रबार साँझ अस्पताल लगिएकी उनले शनिबार बिहान आफन्तले 'जसरी भए पनि काठमाडौं लैजानु पर्छ ' भन्ने सल्लाह हुँदाहुँदै देहत्याग गरिन्।

'दूधमुखे छोरीको रुवाइ। मेरो एक्लो जीवन। म पुरै टुटेँ,' दीनेशले भने, 'जिन्दगी फेरि कसरी ट्रयाकमा आउँछ भन्ने नै भएन।'  घटना पछिका तीन महिना उनको रेस्टुराँ बन्द रह्यो। 

०००

तीनजना बालकहरू झगडा गरिरहेका थिए। दीनेशले देखे। दुईले एउटालाई कुटे। ती शायद सडक बालकहरू थिए। 'कुटेको हेरिरहन सकिएन। गएर छुट्याएँ,' उनले भने, 'बढी कुटाइ खाने १२/१३ वर्षको रक्ताम्य केटालाई बोलाएँ, उसले सुनेजस्तो गर्दै गरेन।' पछाडिबाट कुममा हात राखेपछि उसले फर्केर हेर्‍यो। ऊ बहिरो थियो। ऊसँगै एउटा कुकुर हिड्थ्यो। उनले भने, 'त्यो दिन उसलाई खान दिएँ र, पठाएँ। त्यसपछि ऊ कहिलेकाहीँ मेरो रेस्टुराँमा आउँथ्यो।' 

यसबीच दीनेशले मैंयालाई गुमाए। तीन महिनापछि पोखरा आए। 'कुनैबेला १ करोड २० लाख दिने भनेर चाइनिज आउँदा नबेचेको रेस्टुरा अब म जतिमा भएपनि बेच्ने पक्षमा पुगेको थिएँ,' उनले भने, 'परिवार रहेन भने मान्छे कसका लागि खट्छ? कसका लागि काम गर्नु? भन्ने सोच दिमागमा थियो।' ५० लाखमा उनले राजेश गुरूङलाई बेचे। माथिल्लो तलाको रेस्टुरा बेचे पनि गुरूङले मुनिका चार कोठा नबेच्न उनलाई सल्लाह दिए। 

तिनै बेचबिखनको एउटा दिन उनले सुने- फेवातालमा एउटा केटाको लास तैरिरहेको छ। उनी हेर्न गए । त्यो उही केटो थियो, जसले कुटाइ खाएको देखेर उनले मन थाम्न नसकी छुट्याएका थिए। किनारमा त्यही कुकुर एकतमासले हेरिरहेको थियो। केटोको शव किनारमा निकालेर भीडले 'खाते कसरी मरेछ -' भन्दै थियो।

'मलाइ लाग्यो यो केटालाई बेलैमा मैले सहारा दिन सकेको भए मर्दैनथ्यो होला,' उनले भने, 'त्यसपछि यस्तो के काम हुन्छ जसले यस्तालाई सहारा हुन सक्ला भन्नेतिर दिमाग गयो।' स्पा र पश्मिना बुनाइको काम बहिराले गर्न सक्छन् भन्ने लाग्यो। उनले यस्तो काम गरिरहेका राजधानीका आफ्ना साथीसँग सल्लाह गरे। उनीकहाँ थन्किएका दुईवटा तान झिकाए।

गण्डकी बहिरा संघमा गए। पाँचजनालाई ल्याएर स्पाको कामका लागि तालिममा लगाए। काम थालनी भयो 'हेल्पिङ ह्याण्स्' को नामबाट। उनले नजिकका अरु जिल्लाका अपांग र बहिराका संघसंस्थामा पनि खबर गरे। चितवनबाट सातजना आए। बिस्तारै दृष्टिविहीन थपिए, बहिरा पनि सम्पर्कमा आउन थाले। दोभाषे राखिए। 'जिन्दगीमा यो मोड अचम्म लाग्दो थियो,' उनले भने, 'उनीहरू धेरै इसारामा कुरा गर्थे, जो म बुझ्दिनथेँ। तर, यही शैली मन परेको थियो।' 
०००    

सन् २०११ मा हेल्पिङ हृयान्ड्स स्पा र ह्याण्डी क्राफ्ट सुरु भयो। एकातिर स्पाको व्यापार छ, जहाँ पर्यटकलाई मसाजको सेवा दिइन्छ। यहाँ नौजना बहिरा र एकजना शिक्षकले काम पाएका छन्। अर्कातिर बाराहीचोक नजिकैको ह्याण्डीक्राफ्ट पसलबाट पश्मिना, स्वेटर, सल र यस्तै सामान बेचिन्छ। 

सामान राखेका र्‍याक हेर्दै भित्र पसे धागो र तानहरुमा हातहरू दृष्टिविहीन र बहिराका हातहरू पस्मिना पछ्यौरा, सलदेखि स्वेटर बुन्न निरन्तर खटिएको देख्न सकिन्छ। पर्यटकको आगमनमा पर्ने प्रभावसँगै व्यापारमा उतारचढाव सामान्य छ। तर, दीनेश काममा मोडिएको जीवनको यो बाटोमा व्यस्त छन्। बर्सेनि सेतो छडी खरिद गर्छन् र, जिल्ला-जिल्लामा वितरणका लागि पठाउँछन्।
 
काममा खटिएका फरक क्षमता भएकाहरू पनि खुसी छन्। महिनाको कम्तीमा पनि साढे ९ हजार।  तलबबाहेक हरेक पिसमा ३० देखि १ सय रुपैयाँको इन्सेन्टिभ। खानेबस्ने र स्वास्थ्योपचारको सुविधा। हातेतानले एक दिनमा ५/७ वटा तयार हुन्छ भने विद्युतीय तानले बढीमा २५ वटासम्म बनाउँछ। दिनमा १ सय २५ वटासम्म तयार हुन्छ। एउटा पस्मिना सल ६ सय ५० देखि १२ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ। 

थापाको उत्पादनलाई जर्मनको एउटा संस्थाले युरोपको बजारमा बेच्छ भने बेलायतमा पनि त्यस्तै अर्काे आउटलेट छ। 'जिन्दगी जसरी चलायो त्यसरी चल्ने रहेछ तर, एउटा एउटा मोडले मान्छेलाई कताबाट के गराउन पुर्‍याउँछ भन्ने थाहै नहुने,' उनी भन्छन्, 'बहिरा र दृष्टिविहीनलाई काम दिएर उनीहरूको खुसीबाट म आनन्द लिन्छु। म कुनै समाजसेवी होइन। जिन्दगी यसरी चल्छ भन्ने भयो, यतै बाटो मोडियो।'