आज मैले उनको पुराना तस्बिर खोज्ने क्रममा प्रधानमन्त्री भएका बखत २०६३ मा उनले मनाएको दसैंको लेखेको समाचार मेलको सेन्ट आइटमबाट भेटेँ। पत्रिकाका कटिङ जतन गर्ने जमाना गएछ शायद। कारण, ती खोजे पनि भेटिन्नन्।
त्यो दसैं विराटनगरको अस्पताल रोडस्थित कोइराला निवासमा तीन वर्षपछि आएको थियो। आफन्तको निधनले छेक्दाछेक्दै गरे पनि त्यो वर्ष निवासलाई टीका लगाउन बाधा परेको थिएन। मैले काम गर्ने दैनिक पत्रिकामा दसैं बिदा थियो। अखबार नछापिने दिनमा पनि रेडियो र टेलिभिजनका चुप लाग्दैनन्। उनीहरुलाई अप्डेट गराउने खबर चाहिन्छ।
म रेडियो र टेलिभिजनका लागि पनि काम गरिरहेको थिएँ। त्यसै त उनी विराटनगर आएपिच्छे चनाखो हुने नेपाली मिडियाको बानी, कोइराला दसैंमा कहाँ कहाँ जान्छन्, कसकसलाई भेट्छन्, के खान्छन् भन्ने खोज्नै पर्ने भयो।
त्यो बेला सम्झन्छु , दसैं त मैले पनि मान्नु थियो। घरलाई समय दिनुपर्ने थियो। कोइरालालाई पछ्याउँदा मेरो दसैं भने हतारमा बितेको थियो। घरमा खसी लडाएर बुवा र भाइलाई 'एकैछिनमा आउँछु है' भनेर कोइराला निवास चिहाउन आउनु परेको थियो।
अफिसका साथीहरु धेरैजसो बाहिर जिल्लामा घर भएकाले पनि त्यसबेला मलाई कुद्नै पर्ने बाध्यता आइलागेको थियो। पत्रिकाको बिदा सकिएपछि मैले कोइरालाको दसैं विषयमा लेखेको थिएँ। त्यसबेला कान्तिपुरको साप्ताहिक पत्रिका 'नेपाल' मा सम्पादक किशोर नेपाल हुनुहुन्थ्यो। उहाँले फोन गरेर म्यागजिनका लागि 'कोइरालाको दसैं' बारे लेख्न् लगाउनु भएको थियो।
उहाँले 'दैनिकलाई समाचार पठाएजस्तो झारा टार्ने मेलोको समाचार नहोस् है' भन्दा म कसरी के-के लेख्ने भनेर केहीबेर अलमलमा परेको थिएँ। तर, मैले त्यसबेला समाचार लेखेर पठाएँ। छापियो पनि। यस्तो थियो समाचार -
कोइरालाको दसैं
सधैं राजनीतिक जमघटको थलो बन्दै आएको विराटनगरको अस्पताल रोडस्थित कोइराला निवासमा यसपटक काम गर्नेहरुलाइ भ्याइनभ्याइ भयो। कारण निवासका ज्येष्ठ सदस्य गिरिजाप्रसाद कोइरालाले यहाँ दसैं मान्न आउने मात्र थिएन। 'यो पाला हामी निवासमा चार वर्षपछिको दसैं मान्दै थियौं' प्रधानमन्त्रीकी भाउजु नोना कोइरालाले भनिन्, 'बितेका तीन वर्षमा आफन्तहरुको बितेर दसैं छेकियो।'
त्यसो त कोइराला निवासमा जमघट नभएको दिन हुँदैन। प्रधानमन्त्री आएका बेला सुरक्षाकर्मीको तैनाथीसँगै कार्यकर्ता र गुनासो लिएर आउनेहरु प्रशस्त हुन्छन्। सरकारमा रहेकाहरु पाहुना भएर नआएका बेला पनि निवास आउने र नोना कोइरालासँग छलफल गर्नेको आवतजावत चलिरहन्छ। चिया-नास्ता र पानी दिने कामदारलाई सधैं व्यस्त देख्न सकिन्छ।
यसपटक सप्तमीमा निवास आइपुगेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण सदाभन्दा जमघट बढ्यो। थोरैमात्र औपचारिक कार्यक्रममा सरिक भएका उनी बिहानै काली मन्दिर गए। पूजा अर्चना गरे। जिल्ला-जिल्लाबाट भेट्न आएका कार्यकर्तालाइ समय दिएर उनीहरुका कुरा पार्टी सभापति तथा प्रधानमन्त्रीले मन लगाएर सुनेको अनुभव मोरङ कांग्रेस सभापति अमृत अर्यालको छ। उनले भने, 'सदाभन्दा यसपाली गिर्जाबाबुले कार्यकर्ताको कुरो राम्ररी सुन्नुभयो।'
जनआन्दोलन-२ पछि पुनः प्रधानमन्त्री बनेका गिरिजाप्रसादले राजाको हातबाट टीका लगाउने परम्परा तोडेर निवासमा भेला हुनु सबैको चासोको विषय त छँदै थियो, त्यसमाथि कार्यकर्तालाइ समय दिएर दिएर टीका लगाइदिनुलाई आफूले नौलो मानेको नोना कोइरालाले बताइन। 'यसपालि धेरै कार्यकर्ता आए र गिर्जाबाबुले उनीहरुलाई सकेजति समय दिनुभयो,' उनले भनिन्, 'पहिले-पहिले एक झमट टीका लगाइदिएर टार्ने मेलो यसपाली भएन, यो चाहिँ मलाई नौलो लाग्यो।'
प्रधानमन्त्री तथा पार्टी सभापतिले दसैंलाइ राजनीतिक परामर्शका लागि खर्च नगरेको सुनाउँदै उनले भनिन्, 'परिवारका भएजति भेला भयौं, गिर्जा बाबुले सबैलाई समय दिनुभयो।' निवासका कामदारहरु भने लामो समयपछिको दसैं पुरानै परम्पराको निरन्तरता भएको अनुभव गर्छन्। उनीहरुको अनुभवमा निवासमा पहिलेदेखिको पूजा गर्ने, बली दिने र पकवान खाने कार्यक्रम यसपटक राम्रैसँग भयो।
पुराना कामदार रामदेवको अनुभवमा प्रधानमन्त्री भैकन गिरिजाप्रसादको रुचि र रहर आम नेपाली परिवारका सदस्यहरुको जस्तै छ। 'अरुलाई लाग्छ होला प्रधानमन्त्रीले के खाँदा हुन्, के गर्दा हुन्,' उनी भन्छन् 'तर, गिर्जा बाबुको घरेलु जीवन साधारण छ।'
प्रधानमन्त्रीका भतिजा डा. शेखर कोइरालाले भने, 'मेरो नाता राजनीतिक होइन, मेरो काका जस्तो हुनुहुन्थ्यो परिवारिक उठबसमा उस्तो केही फरक छैन।' सजिवन, भुजा, कबाव, काँडे साग, गुँड लगायत गुलिया खानेकुरा मन पराउने काका उमेर ढल्के पनि उस्तै रहेको अनुभव डा.शेखरलाई छ। 'उहाँले मन पराएका खानेकुरामा हामी बन्देज गर्दैनौ,' उनले भने, 'के खाने, कति खाने ती कुरामा काका आफैं चनाखो हुनुहुन्छ।'
राजाको टीका लगाउन नजानुलाई 'आ-आफ्नो रुचि' मान्नुपर्ने बताएका उनले भने, 'हाम्रो दसैं रमाइलो भयो। परिवारका सबै भेला भएर मनायौं।' अघिल्ला केही वर्षहरु दसैं मान्न बाधा परे पनि यसपटक नौलो नभएको उनले सुनाए।
'नौलो यति हो, पहिले गिरिजाप्रसादको दसैं सञ्चारमाध्यममा चासोको विषय बन्दैनथ्यो। यसपटक बन्यो,' उनले भने, 'त्यस्तो खास परिवर्तनको हामी परिवारभित्रकालाई अनुभव भएन बरु सबै भेला भएर मनाउन पायौं। यो खुशीको कुरा रह्यो।'
दसैंमा पाँच दिन गृहनगर बसेका प्रधानमन्त्री कोइराला नवमीका दिन गत आइतबार दुई औपचारिक कार्यक्रममा सहभागी भए। मोरङ व्यापार संघ र ट्रेड युनियन क्षेत्रीय समितिले आयोजना गरेका कार्यक्रममा सरिक हुँदा उनले शान्तिप्रक्रिया र पार्टी एकीकरणका दुई प्रमुख मुद्दामा सबैको सहयोग चाहिएको दोहोर्याए। यसलाई उनले राजनीतिक जीवनको दुइ महत्त्वपूर्ण 'क्याम्पेन' को संज्ञा दिए। ट्रेड युनियनले विराटनगर बसपार्कमा राखेको कार्यक्रममा उनले भने, 'यो सफल भएन भने पनि मुलुक असफल हुँदैन। निकासको अर्को बाटो निस्कन्छ।'
सोही दिन बेलुकी प्रधानमन्त्रीले पूर्व क्षेत्रका सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुलाई कोठामा बोलाएर करिब एक घण्टा शान्ति सुरक्षाको स्थितिका विषयमा परामर्श गरे। 'त्यो बेला गिर्जाबाबुको कोठामा सेक्युरिटी अफ्सरबाहेक अरु थिएनन्,' नोना कोइरालाले भनिन्, 'प्रधानमन्त्रीले लामो गोप्य छलफल गरेको भनेको त्यही मात्र हो।' दसैं बसाइमा कोइरालाले आराम गर्ने र एक्लै बसेर चिन्तन गर्ने कामलाइ पनि समय दिएको नोनाले बताइन।
टीकाको दिन कोइराला निवासमा विद्युतीय सञ्चारमाध्यमका पत्रकारहरु निराश भए। कारण प्रधानमन्त्रीका सुरक्षामा खटिएका कर्मचारीले पारिवारिक टीकाको दृश्य खिच्न दिएनन्। अगाडि नै सम्पर्क गरेर नआएको कारण दर्शाएका सुरक्षाकर्मीले निवासभित्रको पारिवारिक टीकापछि कार्यकर्तामाझ आउदा भने खिच्न अवरोध गरेनन्।
निवासमा प्रधानमन्त्री कोइरालाले भाउजु नोनाको हातबाट टीका लगाएका थिए भने अन्य सदस्यलाई आफैंले लगाइदिएका थिए। त्यसपछि भेला भएका कार्यकर्तालाइ टीकाको कार्यक्रम भयो। पुराना दसैं झै प्रधानमन्त्री आफ्नी ९२ वर्षीया दिदी नलिनी उपाध्याय र माइजु रेणुकादेवी उपाध्यायको हातबाट टीका थाप्न उनको विराटनगर-१० स्थित घर पुगे।
पिताजी कृष्णप्रसाद कोइरालाका सन्तानहरुका प्रधानमन्त्रीका दुई दिदी जीवित छन्। नलिनीका छोरा रञ्जनकुमारका अनुसार कृष्णप्रसादकी जेठी पत्नी मोहनकुमारीका सन्तानहरु मातृका, नलिनी र इन्दिरा हुन् भने कान्छी दिव्य कोइरालाका सन्तानहरु विश्वेश्वर,केशव, तारिणी, गिरिजा र बुनुदी भनिने लक्ष्मी हुन्। दुवै आमाका सन्तानहरुमा हाल जीवित रहेका गिरिजाप्रसाद, नलिनी र इन्दिरा हुन्।
मातृकाप्रसादको राजाभक्ति पथको विरोध गर्ने नलिनी उपाध्याय नेपाली कांग्रेस मोरङकी पहिलो सभापति हुन्। उनी २००४ सालमा धनकुटा जेल पनि परेकी थिइन। रञ्जन भन्छन्, 'बाधा परेको बेलाबाहेक मामा (गिरिजाप्रसाद) सबैजसो दसैंमा टीका थाप्न आउनुहुन्छ। फरक यति हो, सरकारमा हुँदा सुरक्षाको लावालस्कर हुन्छ, नहुँदा रिक्शामा आएको पनि मलाइ सम्झना छ।'
नलिनी मुलुकका पहिला अटर्नी जेनरल कालीप्रसाद उपाध्यायकी पत्नी हुन्। वृद्धावस्थाका कारण मान्छे ठम्याउन गाह्रो पर्ने नलिनीले प्रधानमन्त्री भाइलाइ टीका लगाइदिइन। टीका थापेपछि उनले गोडामा ढोगे।
केहीबेर दिदीको घरमा बसेपछि प्रधानमन्त्री कोइराला खजराहास्थित माइजुको घर पुगे। त्यहाँ भेला भएका परिवारसँग भलाकुसारी र फोटो खिचाउने कार्यक्रमपछि निवास फिरेका प्रधानमन्त्रीको हातबाट टीका थाप्न कार्यकर्ताको जमात बढ्दो थियो। निवासमा पुनः झर्को नमानी टीका लगाइदिने कार्यक्रम जारी रह्यो।
टुरमुकाम कार्यालय
प्रधानमन्त्री भएपछि प्रत्येकपटक गृहनगर आउने प्रधानमन्त्रीलाई आफ्ना निवेदन र गुनासा लिखित तथा मौखिक रुपमा दिन आउनेको संख्या उल्लेख्य हुन्छ। विषय नबुझी भट्ट आश्वासन दिन गाहारो मान्ने कोइरालाका लागि यसपटक जिल्ला प्रशासन कार्यालयले 'टुर मुकाम कार्यालय'को व्यवस्था गर्यो।
टुरमुकाम कार्यालय
प्रधानमन्त्री भएपछि प्रत्येकपटक गृहनगर आउने प्रधानमन्त्रीलाई आफ्ना निवेदन र गुनासा लिखित तथा मौखिक रुपमा दिन आउनेको संख्या उल्लेख्य हुन्छ। विषय नबुझी भट्ट आश्वासन दिन गाहारो मान्ने कोइरालाका लागि यसपटक जिल्ला प्रशासन कार्यालयले 'टुर मुकाम कार्यालय'को व्यवस्था गर्यो।
एक अधिकृतसहित तीन जनाको टोलीले प्रधानमन्त्रीलाई आएका निवेदन र पत्र बुझ्ने काम गर्यो। कोइराला निवासको आँगन सुरु हुने ठाउँमा पाल टाँगेर फोनसेटसहित बसेका कर्मचारीले झट्ट जवाफ दिनुपर्ने भए सम्पर्क गर्ने र नभए कुरा बुझेर पत्र दर्ताको काम गरेको थियो।










