मान्छेको बनोट मांसाहारी होइन भनिन्छ। कारण, हामी पानी ल्याप ल्याप चाटेर खाँदैनौ, तनतनी पिउँछौं। तर, फलाहारी थोरै छन्, घाँस खाने थोरै छन्। मान्छेको ठूलो हिस्सा मांसाहारी छ। मासू खाने भएपनि धेरैलाई काटकुट हेरिहन मन पर्दैन। पकाएर सजाएर ल्याइदिए निल्ने चलन छ।
आज बिहान सशस्त्र प्रहरीका डीएसपी भोला गिरीले फोन गरे। भारतबाट अवैध भित्र्याइँदा सीमामा जफत गरिएका ब्रोइलर कुखुराका चल्ला सशस्त्र सीमा बलले नष्ट गर्दै रहेछ। खबर लेखिदिनुपर्ने।
मेरो ब्लगमा निकै अघि कुखुरा गाडदै गरेको तस्बिर छ। तस्बिरबाहेक मैले त्यसबेलाका केही कुरा लेखेको छैन। कारण, ती खान उमेर पुगेका कुखुरा थिए। तिनलाई लाठीले हिर्काएर मारेपछि गाडियो। त्यसबेला तीन बोरा तयारी मासू पनि थियो। तस्बिर लिन पुगेको मलाई बोराबाट झिकेर भुइँमा खन्याइदा दुई-तीनवटा कुखुरा कुहिएको र तिनबाट कीरा निस्किएको देख्दा धेरै दिनसम्म चिकेन परिकार खान मन लागेन। पछि फेरि कुरा पुरानो भो। दिनचर्या उस्तै।
आज अर्थात २०६५ फागुन २८ (मार्च १२)। विराटनगर-२० स्थित बन्द भएको मोरङ सुगर मिल परिसरमा अहिले सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय छ। यहाँ चल्ला नष्ट गर्ने योजना रहेछ। डीएसपी गिरीका अनुसार हिजो बेलुकी बरडंगा गाविसमा सशस्त्रको टोलीले बरामद गरेको चल्ला थिए। ३६०० वटा। उनका भनाइमा नेपालमा प्रचलित मूल्य प्रहरीकै हिसाबले २ लाख २७ हजार रुपैयाँ बराबरका।
सामान्यतः ब्रोइलर कुखुराका चल्ला राम्रो आम्दानीको स्रोत हो, यो व्यवसायमा लागेकाहरुका लागि। एउटा चल्ला सरदर ४५/५० दिनमा खान योग्य डेढ/दुइ किलोको हुन्छ। दाना र पाल्ने ठाउँ अनुकूल भए यसले छिटो आम्दानी दिन्छ।
हामीकहाँ लोडसेडिङको समय लम्बिएयता कुखुराको मासूको भाउ बढेको छ। यसको कारण हो, चल्ला उत्पादनमा आएको कमी। चल्ला कम भए कुखुरा पनि बढ्ने कुरा भएन। अनि आपूर्ति घटेपछि सस्तो कसरी हुन्छ ? नेपालका हृयाचरीले उत्पादन गरेका मात्रै चल्लाले हाम्रा पोल्ट्रीमा कुखुरा बढ्दैन। भारतमा बर्डफ्लु पुष्टि भएयता पन्छी र पन्छीजन्य पदार्थको आयातमा बन्देज छ।
खुला सीमाना। सरकारले बन्देज भनेरमात्र यसको कार्यान्वयनको पक्ष सजिलो छैन। भारतमा भात खाएर नेपाल आइ दिसा बस्नेदेखि नेपालमा मदिरा लडाएर भारत पुगी जरिवानामा पर्नु नौलो होइन। कतिपय स्थानमा दसगजामै गाउँघर छन्। अनि सीमानाबाट हुने ओसारपसारमा कुखुरा जाबो ठूलो कुरा कसरी होला ! भएको छैन। आएको आएकै छ। बेलाबखत प्रहरी र पशु क्वारेन्टाइनले समातेर नष्ट गरेको प्रदर्शनी पनि देखाएको देखाएकै छ।
अब फर्कौं चल्लाको प्रसंगमा। सशस्त्रको सीसुका परिसरमा खाडल खनियो। गएको तिहारमा यही ठाउँ नजिक अर्को खाडल खनिएको थियो, पटका गाड्न। अहिले चल्लाका लागि खाडल। खाडल तयार भएपछि चल्ला राखेका टोकरी र कुटका डिब्बा गाडीबाट झिकियो। चल्ला च्याउँ च्याउँ गरिरहेका छन्। अनि सशस्त्रका मुखमा मुखारी लगाएर र नलगाएर दुवैखाले जवानले चल्ला खाडलमा मिल्काए। मुचुल्का गरियो। अनि खाडलमा कुट र कागज हालियो। आगो लगाइयो। आगो बलिरहँदा चल्लाको आवाज नरमाइलो लागिरहयो। केही मिनेटमै आवाज कम भयो।
३६०० मध्येका दुई आगोबाट बाहिर फाल हाल्दै निस्किए। एउटालाई एक जवानले लातले फुटबल बनाए। त्यो फेरि आगोमै पुग्यो। अर्को निकै पर भाग्यो। मलाई हतार थिएन। यद्यपि त्यहाँ बसिरहन मन भएन। म निस्किएँ। मोटरसाइकल स्टार्ट गर्दा गर्दै सशस्त्रका जवानहरुले बोलेको सुन्दै बाहिरिए। उनीहरु भन्दै थिए - 'यो यत्रो संकटबाट जोगियो। यसलाई छाडिदिउँ। छोड दे। छोड दे। यो बाँचोस्। यसलाई केही नगरौं।' त्यो बचेको एउटालाई मारे वा छाडे। थाहा भएन।
बर्डफ्लुको उच्च जोखिमबीच पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारमा बन्देज सतर्कता हो। केही समयका लागि यो ठीक पनि हुनसक्छ। तर, नेपाली पैसा तिरेर यसरी ल्याइसकेपछि बरामद हुँदा मारेर, डढाएर गाडनुभन्दा तिनीहरु जोखिमयुक्त छन्/छैनन् परीक्षण गर्दा ठीक हुन्थ्यो होला।

1 comment:
यो त अत्ति भो नि ! चल्ला नष्ट गर्ने भन्दै मा, त्यसरी पनि चल्ला नष्ट गर्ने हो त ???
यो त प्रहरी को दानविय व्यवहार नै भो नि, कुनै अन्य विकल्प छैनन्, ती प्रतिबन्धित आयातित चल्लाहरुलाई नष्ट गर्न ???
Post a Comment